काठमाडौं । चन्द्रागिरी नगरपालिका-३ थानकोट खरीबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई प्रहरीले पक्राउ गरेको छ ।
समिले घरायसी विवादको क्रममा धारिलो हतियार चक्कु प्रहार गर्दा जाकिर गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका जाकिरको मेडपोइन्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
रौतहट जिल्लाको गरुडा नगरपालिकाका लेखापाल सत्यनारायण सहनीले विवाह समारोहमा बन्दुक पड्काएपछि उनीमाथि कारबाही हुनुपर्ने माग उठ्न थालेको छ । लेखापाल सहनीले पड्काएको बन्दूकको दृश्य अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको अवस्थामा उनको आलोचनासंगै शक्ति, पहुँचका कारण समाजमा त्रास वातावरण बनाउन खोजेको भन्दै उनलाई कारबाही गर्न आवाज उठ्न थालेको छ ।
उनको यस हर्कतले सरकारी कर्मचारीको आचरण र कानुनी जिम्मेवारीबारे गम्भीर प्रश्न खडा गरेको छ । गरुडा नगरपालिकामा कार्यरत लेखापाल सहनी सोही नगरपालिकाका वडा नम्बर ३ मलाही टोलमा आफ्ना एक आफन्तको छोरीको विवाह समारोहमा बन्दूक पड्काउँदै गरेको दृश्यसहितको भिडियोमा देखिन्छ ।
उक्त भिडियोमा उनीसंगै रहेका अर्का एक व्यक्तिले पनि बन्दूक चलाएको स्पष्ट देख्न सकिन्छ । घटनाले थप चर्चा तब पायो, जब बन्दूकको गोली लागेर विवाहमा प्रयोग गरिएको महँगो ड्रोन क्यामेरा नष्ट भएको दृश्य सार्वजनिक भयो । लाखौँ मूल्य पर्ने उक्त उपकरण फुटेको घटनापछि सामाजिक सञ्जालमा आलोचना झनै चर्किएको छ ।
सरकारी पदमा बसेका व्यक्तिले सार्वजनिक समारोहमा हतियार प्रयोग गर्नु कति उचित हो भन्ने प्रश्न व्यापक रूपमा उठिरहेको छ । यता लेखापाल सहनीले प्रयोग गरेको बन्दूकको लाइसेन्स छ वा छैन भन्ने विषय पनि स्पष्ट भइसकेको छैन । सम्बन्धित निकायहरू भने घटनाबारे मौनता साँधेका छन् ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले घटनाबारे जानकारी आएको स्वीकारे । तर यस विषयलाई सुरक्षा समितिको बैठकमा उठाउने भन्दै उनी पन्छिए । त्यसैगरि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्तासमेत रहेका डिएसपी विष्णु प्रदीप बस्यालले पनि सामाजिक सञ्जालमार्फत भिडियो देखेको जनाउँदै घटनाबारे गरुडा प्रहरी चौकीबाट थप बुझ्ने काम भइरहेको बताए ।
उनका अनुसार हालसम्म प्रहरीसंग सामाजिक सञ्जालमा देखिएको भिडियोबाहेक अन्य आधिकारिक विवरण छैन । गरुडा प्रहरी चौकीले पनि घटनाबारे आफूहरूलाई सामाजिक सञ्जालबाट मात्रै जानकारी आएको बताउँदै विस्तृत विवरण जिल्ला प्रहरी कार्यालयबाट नै जानकारी लिनु भनेका छन् ।
दुवै प्रहरी निकायले एक अर्कासंग बुझ्न भनि जवाफ दिनबाट पन्छिरहेको देखिन्छ । घटना सार्वजनिक भएको एक दिन बितिसक्दा पनि अनुसन्धानको स्पष्ट प्रगति सार्वजनिक नभएकाले स्थानीयवासीहरूमा जिज्ञासा र असन्तुष्टि बढ्दै गएको छ । गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद कलवारले पनि घटनाबारे जानकारी पाएको बताए ।
उनका अनुसार लेखापाल सहनीसंग एउटा लाइसेन्स प्राप्त बन्दूक रहेको बुझिए पनि विवाह समारोहमा प्रयोग गरिएको बन्दूक त्यहीँ हो वा होइन भन्ने विषय अझै स्पष्ट छैन । यसका साथै, उनले यस्तो कार्य किन र कसरी भयो भन्ने विषयमा प्रहरीले छानबिन गर्न आवश्यक रहेको बताए ।
यस घटनाले सरकारी कर्मचारीको आचरण, सार्वजनिक सुरक्षाको सवाल र कानुनी कार्यान्वयनको प्रभावकारितामाथि गम्भीर बहस शुरु गराएको छ ।जनकपुर टुडे
Raju Kumar
Raju Kumar
आरके श्रीवास्तव,रौतहट,०३ गते वैशाख ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा बिजुलीको बिल भुक्तानी र सुशासनको माग गर्दै स्थानीयवासीहरूले विरोध प्रदर्शन गरेका छन् । आज नगर क्षेत्रमा स्थानीयहरू सडकमा उत्रिएर नाराबाजी गर्दै नगरपालिकालाई दबाब दिएका थिए । प्रदर्शनका क्रममा “बिजुलीको बिल भुक्तानी गर”, “जिरो फाइलको सिद्धान्त लागू गर” लगायतका नारा लगाइएको थियो । आक्रोशित स्थानीयहरू नगरपालिकामा पुगेपछि प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद दहालले समस्याको समाधानका लागि दुई हप्ताको समय माग गरेका छन् । साथै उनले नदीको ठेक्का प्रक्रिया आगामी आर्थिक वर्षमा अघि बढाउने प्रतिबद्धता जनाउँदै विकास निर्माणका काम गुणस्तरीय बनाइने बताएका छन् ।
यता कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले यस विषयमा कार्यपालिका बैठक बस्ने जानकारी दिँदै बजेट सञ्चालन नभएको अवस्थामा पनि नियमअनुसार जहाँ सम्भव हुन्छ त्यहाँबाट बिजुली बिल भुक्तानी गराउन निर्देशन दिएकी थिइन् । प्रदर्शनकारीहरूको तर्फबाट स्थानीय नेता शिवपूजन यादवले नगरपालिकाको आश्वासनकै कारण सर्वसाधारणको बिजुली बिल बढेको आरोप लगाएका छन् । उनले समयमै बिल तिर्ने व्यवस्था नगरिँदा यस्तो अवस्था सिर्जना भएको बताए । साथै उनले नगरप्रमुखको नीतिका कारण नागरिकहरूलाई “भिख माग्नुपर्ने अवस्था” आएको टिप्पणी गर्दै छिटो कार्यपालिका बैठक बसेर निर्णय गर्न माग गरेका छन् ।
उनले माग सम्बोधन नभए राजीनामा दिन बाध्य पारिने चेतावनी समेत दिएका छन् । यसैबीच, उक्त विषयमा कार्यपालिका बैठकमा साँझ अबेरसम्म छलफल जारी रहेको बैठकको निर्ण सार्वजनिक भो नगरिएको सहकर्मी रुपेश यादवले जानकारी दिएका छन् ।
बज्जिकाञ्चल संवाददाता,रौतहट,चैत २५ गते ।
रौतहट जिल्लाको माधव नारायण नगरपालिका–५ मिठुअवास्थित श्री राधा कृष्ण माध्यमिक विद्यालयमा ६ कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । उक्त भवन च्वाईस नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको हो । निर्माण सम्पन्न भवनको नगर प्रमुख बैजनाथ प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद यादव तथा संस्थाका प्रमुख प्रदिक शर्मा लगायतको उपस्थितिमा एक कार्यक्रमबीच औपचारिक रूपमा उद्घाटन तथा विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
यसैबीच, सोही वडामा अत्याधुनिक सुविधा सम्पन्न ८ कोठे दुई तले बर्थिङ सेन्टर भवन निर्माणका लागि पनि आजै शिलान्यास गरिएको छ। स्थानीय स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यसहित उक्त भवन निर्माण गर्न लागिएको जनाइएको छ । स्थानीय तह र सहकार्य संस्थाहरूको संयुक्त पहलमा भइरहेको यस्ता पूर्वाधार विकासका कामले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । साथै, समुदायको समग्र विकासका लागि यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर अघि बढाइने जनाइएको छ ।
बज्जिकाञ्चल संवाददाता,रौतहट,चैत २५ गते ।
रौतहट मौलापुर नगरपालिकाकी नगरप्रमुख रीना कुमारी साह ‘नेपालका ५० प्रभावशाली महिला २०८२’ को सूचीमा पहिलो स्थान हासिल गरेपछि उनलाई आज बिरगंजमा विशेष समारोहबीच सम्मान गरिएको छ । ओम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले मेयर साहले महिला सशक्तिकरण, पारदर्शिता र सुशासन प्रवद्र्धनमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै मौलापुरलाई विकासको नमुना नगरका रूपमा स्थापित गर्न खेलेको भूमिकालाई सराहना गरे । सम्मान कार्यक्रममा सहभागीहरूले उनको नेतृत्व, दूरदर्शिता र समर्पणले स्थानीय तहमा सकारात्मक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै उदाहरणीय कार्यको अपेक्षा व्यक्त गरेका छन् ।
बज्जिकाञ्चल संवाददाता,रौतहट,चैत २५ ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज कटहरिया नपा ३ बिर्तीप्रष्टोका स्वास्थ्य चौकीमा पाठेघरको क्यान्सर पहिचानसम्बन्धी विशेष शिविर सञ्चालन गरिएको छ । एचपीभी डीएनए विधिमार्फत गरिएको उक्त स्क्रिनिङ कार्यक्रममा ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूको सक्रिय सहभागिता देखिएको थियो । शिविरमा कुल १५२ जना महिलाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ ।
महिलाहरूमा पाठेघरको क्यान्सर समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले स्थानीय स्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास लिइएको छ । साथै, यस्ता जनस्वास्थ्य केन्द्रित कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाइएको छ ।
सागर संगम ठाकुर, रौतहट, चैत २५ गते ।
रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच कर्मैयामा नाला निर्माण कार्यको शिलान्यास गरिएको छ । नगर प्रमुख प्रेमलाल साहले उक्त योजनाको भूमि पूजन गर्दै औपचारिक रूपमा निर्माण कार्यको शुभारम्भ गरेका हुन् । वडा अध्यक्ष पदका प्रत्यासी पवन ठाकुरको पहलमा शिलान्यास सम्पन्न भएको हो ।
अध्यक्ष प्रत्यासी ठाकुरका अनुसार करिब ९ लाख रुपैयाँको लागतमा झण्डै १५० मिटर लामो नाला निर्माण गरिने छ । उपभोक्त समिति मार्फत हुने नालाको निर्माणकार्य समितिमा स्थानीय रामबाबु पंडित रहनु भएको छ । स्थानीय तह स्थापना भएको करिब ८ वर्ष बितिसक्दा पनि काम हुन नसकेपछि स्थानीयहरु वर्षातको समयमा निकै सास्ती भोगिनु पर्ने बाध्यता रहदै आएको थियोे ।
साबिक गाबिस कर्कच कर्मैया वडा नम्बर( १ का स्थानीयहरुले टोलको समस्यालाई लिएर नगर प्रमुख साहलाई ताकेता गरेपछि त्यहाँ सडकको दुवै तिर नाला निर्माणकार्य शुरु गरिएको स्थानीयहरु बताए । शिलान्यास कार्यक्रममा वडा नम्बर–५ का वडा अध्यक्ष उपेन्द्र साह, इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराई, सञ्चारकर्मी तथा स्थानीय भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।