२०८३ बैशाख २२
२०८३ बैशाख २२

काठमाडौँ । म्यानचेस्टर सिटीले इङलिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई २-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड र माटेओ कोभाकिकले एक एक गोल गरेका थिए ।  हालाण्डले खेलको १८औं मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने कोभाकिकले खेलको ८४औं मिनेटमा गोल गरेका थिए ।

यो जितपछि डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले महत्वपूर्ण ३ अंक हासिल गर्दै नयाँ सिजनको शुरुवात गरेको छ भने चेल्सीले हारबाट नयाँ सिजनको शुरुवात गरेको छ । न्युज कारखाना

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड नयाँ सिजनको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिड मल्लोर्कासँग १-१ गोलको बराबरीमा रोकिएको हो । रियल म्याड्रिडका लागि खेलको १३औं मिनेटमा रोड्रीगोले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए तर खेलको ५३औं मिनेटमा मल्लोर्काका भेदात मुरिकीले गोल गर्दै खेल बराबरी गरेका थिए ।

यस खेलमा रियल म्याड्रिडका फेर्लान्ड मेन्डीले दोहोरो पहेलो कार्ड पाएपछि खेलको ९० मिनेटपछिको इन्जुरी समयमा मैदान छोडेका थिए ।

यो बराबरीपछि रियल म्याड्रिड र मल्लोर्काले एक एक अंक बाँडेका छन् र दुवैले नयाँ सिजनमा औसत शुरुवात गरेका छन् । यसै खेलबाट किलीयन एम्बाप्पेले ला लिगामा डेभ्यु समेत गरेका छन् । न्युज कारखाना

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले  ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।

रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी क्वाँटी

जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । काठमाडाँैको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गर्दछ ।न्युज कारखाना

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहानैदेखि सर्वसाधारणले रक्षाबन्धन गर्दा केही फरक नपर्ने जनाएको छ । तर, विशिष्ट व्यक्तिहरूले भने दिउँसो १ बजेपछि रक्षाबन्धन कर्म गर्नु ठिक हुने समितिले बताएको छ ।

समितिका अनुसार भाद्र ३ गते सोमवार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको छ । सो तिथिलाई देखाएर गणस्नान, उपाकर्म नूतन यज्ञोपवीतधारण, ऋषितर्पणी एवं रक्षाबन्धन आदि कृत्यहरूको काल सम्बन्धमा विभिन्न सामाजिक सञ्जालमा उठेका तर्कहरूले सर्वसाधारण जनतामा भ्रम पैदा भइरहेको भन्दै समितिले यसबारे स्पष्ट पारेको हो ।

समितिका अनुसार घण्टा मिनेटअनुसार सोमबार दिउँसो १: ३१ बजेसम्म भद्रा परेको छ । यसमा अन्य कर्म गर्न भएपनि भद्राभित्र रक्षाबन्धनलगायत जनैपूर्णिमा सम्बन्धी कर्म गर्न मिल्छ कि मिल्दैन भन्ने नै मुख्य प्रश्न रहेको देखिएको समितिले जनाएको छ।

समितिले भद्रामा श्रावणीसम्बन्धी काम र होलिकादहनको काम गरेमा श्रावणीको कामबाट राजा अर्थात् राष्ट्रप्रमुख र होलिका दहन गरेमा गाउँ एवं सहरको नाश हुन्छ भन्ने विषय स्पष्ट उल्लेख भएको बताएको छ ।

समितिले विशिष्ट व्यक्तिहरूले मात्र भद्रा कटाई सोमबार १ बजेर ३१ मिनेट बितेपछि रक्षाबन्धनको कर्म गर्नु मुनासिब देखिएको बताएको छ ।

समितिले साउन ३१ मै जारी गरेको विज्ञप्तिमा भनेको छ- ‘यस बीचमा गणस्तान आदि उपाकर्मका समस्त कर्म र रक्षाबन्धनको पनि पूजनादि गर्न हुने तर रक्षा सूत्रमात्र पूर्वोक्त व्यक्तित्वहरूले बाँध्न नहुने हुँदा भद्रापछि बाँध्नु उचित हुने शास्त्रीय व्यवस्था र परम्परा पनि रहेको देखिन्छ ।’न्युज कारखाना

आजको राशिफल बि.सं.२०८१ भदौ ०३ गते सोमबार ई.सं.२०२४ अगस्त १९ नेपाल सम्बत ११४४ गुंलाथ्व पुन्हि, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, श्रावण शुक्ल पूर्णिमा, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शोभन योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३६ बजे, सूर्यास्त साँझ ०५: ३७ बजे हुनेछ ।

आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३६ मिनेट देखि ०७ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज जनै पूर्णिमा÷रक्षा बन्धन, विश्व फोटोग्राफी दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आफ्नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । घरपरिवारमा सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ, तर पनि आज सबैले तपाईंकै रुचिअनुसार व्यवहार गर्ने समय छ । मिहिनेतले भविष्य सुध्रनेछ, करियर र व्यवसायप्रतिको चासो बढ्नेछ, उच्च शिक्षाका छात्रछात्राले भावी कार्यक्षेत्रका बारेमा जानकारी बटुल्ने दिन हो । आजका लागि शुभअङ्क १, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ । प्रेमीसँग कुनै विशेष समारोहका बीचमा भेटघाट हुनाले आन्तरिक आनन्द र प्रसन्नतामा बृद्धि हुनेछ, अचानक वैवाहिक बन्धनमा बाँधिने योजना पनि बनाउन सक्नुहुन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ नीलोरकालो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मित्र र सहयोगीहरूबाट लाभ मिल्नेछ । बहुप्रतीक्षित इच्छा र आकाङ्क्षाले पूणर्ता पाउनेछन् र लामो दूरीको यात्रा लाभदायक रहनेछ । परिस्थिति विपक्षमा रहेकाले यति वेला कुनै पनि नयाँ निणर्य लिनु हुँदैन, बरु व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला । जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ । नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कात्यायनी भगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आपसी समन्वय र तालमेलका लागि कुनै कुरालाई त्याग्नसमेत सक्नुपर्छ, नत्र बेकारका कुरामा आफ्नो जिद्दीपना प्रस्तुत गर्नाले अन्त्यमा निराशा र खिन्नता बढ्नसक्छ । आज आकस्मिक लाभ पाउने दिन हो । चिट्ठा, लटरी वा सट्टापट्टाबाट पनि आय हुने सम्भावना छ । समय राम्रो छ, समयको सदुपयोग गर्नुहोला । ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मन र शरीर भारी हुने समय छ, कामकाजमा पनि उत्साहको कमी हुनेछ । कुनै परिचित मान्छेको नराम्रो खबर सुन्दा दिक्क मान्नु हुनेछ । छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । बाल्यावस्थाका मित्रहरू, आत्मीयजन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने तथा रामरमाइलोमा सरिक हुने दिन हो, भावना र इच्छाहरूको कदर हुनेछ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शारदादेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो, आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ, अथवा आफन्तका निमित्त पनि समय दिनुपर्ने हुन्छ । परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने दिन हो, त्यस्तै मनोरञ्जनात्मक क्रियाकलापमा अलमलिंदा गर्नैपर्ने काममा बिलम्ब हुनेछ । भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला, किनभने आज चियोचर्चो गर्नेले तनावमा बृद्धि गर्नेछन् । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भ्रामरीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ । सँगीसाथी वा आत्मीयजनसित भेटघाट हुने वा सहकार्यमा कुनै काम सम्पन्न हुने समय छ, पारिवारिक माहौल र आर्थिक पक्षसमेत सुदृढ देखिन्छ । खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथरसहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भूमिनन्दनाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रियै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ, प्रतिस्पद्र्धीहरू पछि पर्नेछन्, लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्ने छ । एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ, जीवनशैली र उठबसमा परिवर्तन गर्नसके प्रेमजीवनमा समेत यसको सकारात्मक प्रभाव पर्नेछ । दैनिक र व्यवहारिक खर्चको मात्रा बढ्नेछ । कुनै गुप्त कारोबारका क्रममा हानि व्यहोर्नुपर्ने समय छ, सचेत भएर काम गर्नुपर्ने दिन हो । आजका लागि शुभअङ्क १, शुभ रङ नीलोरकालो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ छायापुत्राय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्नसक्छ । तालमेल र पारदर्शिता राखेर सम्बन्ध राख्नु ठीक हुनेछ, ससाना कुरा पनि लुकाउने वा छल्ने काम गर्नु हुँदैन, नत्र विश्वासको सङ्कट हुनसक्छ । शत्रु र प्रतिस्पद्र्धीले सामना गर्न सक्दैनन् । गरिएका प्रयासमा सुनिश्चित सफलता प्राप्तिको योग छ । धनसम्पत्तिको लाभ हुनेछ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कालभैरवाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

दाजुभाइ र दिदीबहिनीसँग सहायता आदानरप्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । घरमा अभिभावकवर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता पाउन सकिने दिन हो । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धनदाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)
न्युज कारखाना

काठमाडौं, २ भदाैं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि आन्दोलन आबश्यक भएको भन्दै राप्रपा नेपाललाई बलियो बनाउन जरुरी भएको बताएका छन् ।

काठमाडौं -७ द्वारा आयोजित क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले असफल साम्यवाद र पुँजीवादको विकल्पमा सम्बर्द्धनवाद(Liberal conservatism)को बैचारिक धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नु आबश्यक भएको जिकिर गरे ।

 

थापाले भ्रष्टाचार, धर्म परिबर्तन, बेरोजगारी अन्त्य र सुशासनको लागि जनता जाग्नुपर्ने भन्दै बिदेशी प्रभाव र दबाबबाट मुक्त गर्न स्वाधिनताको रक्षाको लागि आन्दोलन आबश्यक भएको थापाको भनाई छ । कार्यक्रममा डाक्टर बिष्णु भण्डारी ,राजाराम बर्तौला, अम्मर केसी ,उज्वल पोखरेल लगायतले बोलेका थिए ।न्युज कारखाना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न खेलाडीहरुलाई आग्रह गरेका छन् ।

नेपाल खेलकुद महासङ्घको केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै उनले अनेक प्रकारका शक्तिहरुले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड्काउन सक्ने भएकाले राष्ट्रिय एकतालाई कायम राख्न जोड दिएका हुन् ।

“यति सानो देशमा हामी धेरै जाति, भाषी र जाति मिलेर बसेका छौँ । यो हाम्रो सम्पन्नता र जीवित सम्पदा हो ।”, प्रधानमन्त्री ओलीले भने, “हामीले राष्ट्र र जनताको मन विखण्डित हुन दिनु हुँदैन । खेल क्षेत्र कुनै जात र धर्म विशेषको हुँदैन । यहाँ उत्कृष्टताका आधारमा खेलाडीको प्रतिनिधित्व हुन्छ । कुनै जातको वा धर्मको प्रतिनिधित्व खोइ भनेर सोध्ने वा भड्काउने काम यस क्षेत्रमा हुँदैन । यहाँ विधि, पद्धति र नियमको पालना हुन्छ । यो अनुशासनको कुरालाई समाजव्यापी बनाउने हाम्रो काम हुनुपर्छ ।” उनले जनताको शासनका रुपमा रहेको लोकतन्त्रमा विधि नमान्ने र सनकका भरमा चल्ने प्रवृत्तिले समाजलाई कहीँ नपुर्याउने पनि स्पष्ट गरे ।

अहिले समाजमा भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी नाटक गरेर जनता अल्मलाउने र भ्रष्टाचार नगर्नेलाई तथानाम गाली गरेर असत्य फैलाउन लागेकाले सत्यका पक्षमा प्रस्तुत हुन प्रधानमन्त्री ओलीले आग्रह गरे । “देशमा शान्ति, सुव्यवस्था र कानुनको राज नहोस्् भने वितण्डा मच्याउन खोज्ने, सरकार र देशलाई असफल पार्ने प्रयास पनि हुन सक्छन् । तपाईँहरुले यस तर्फ पनि सचेत भएर लाग्नुपर्छ ।”, उनको भनाइ थियो, “समाजमा योगदान नगरेकाहरुलाई तारिफ गरेर माथि उठाउने र लोकतन्त्रका लागि योगदान गरेकाहरुलाई गाली गर्ने काम भइरहेको छ । म तपाईँहरुलाई भन्न चाहान्छु, अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि  र सुशासन कायमका लागि बनेको हो । यसमा हामी शून्य सहनशीलता अपनाउँछौँ । अनुहार र मुख हेरेर कसैलाई पक्ष विपक्ष गरिँदैन । सभ्य, आधुनिक, समृद्ध र सुखी नेपालको विकासमा हामी लाग्नेछौँ ।”
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले खेल क्षेत्रलाई उठाउने र यसत्रका सबै विधालाई जीवनशैलीका रुपमा अपनाउने कामको नेतृत्व गर्ने जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । उनले बालबालिकादेखि बुढाबुढीसम्मलाई आफ्नो क्षमता र रुचिअनुसार खेल एक जीवनको अङ्ग भएकाले खेललाई व्यापकीकरण र सामाजिकीकरण गर्न आग्रह गरे ।

खेलले मनोरञ्जन, व्यायाम र प्रतिस्पर्धाको अवसर दिने बताउँदै उहाँले  सबै पेसा व्यावसायका मानिसका लागि खाना, काम, व्यायाम र व्यायामको प्रबन्ध नभए जीवन कुँजो हुने बताए ।

“नेपाली खेलाडीले विश्वस्तरका प्रतिस्पर्धामा स्वर्ण पदक नपाउने भन्ने के छ ? हामीले रसियाली र अरबियाली सबैसँग प्रतिस्पर्धा गर्न सक्छौँ । हामीले ओलम्पिकमा सहभागी मात्र हुन थालेका छौ । अब जित्नुपर्छ । उत्कृष्ट र प्रतिस्पर्धीरुपमा खेलेमा हामीलाई जीतका लागि केहीले पनि रोक्दैन । सरकारले यस क्षेत्रको विकासका लागि गर्नुपर्ने काम गच्छेले भ्याएसम्म गर्र्नेछ । कीर्तिपुरको रंगशालालाई स्तनोन्नति गर्न दिइएको प्राथमिकता यसैको उदाहरण हो ।” प्रधानमन्त्री ओलीले भने, “यस महासङ्घमा आबद्ध युवाहरुको उत्तरदायित्व खेलमा श्रेष्ठताका साथै समृद्ध, सुरक्षित, सम्मानित र न्यायोचित समाज निर्माणका लागि सचेत प्रयास गर्नु पनि हो । देशको स्वाधीनता, लोकतन्त्र, विधि र सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा र राष्ट्रिय झण्डलाई माथि उठाउनका लागि पनि उत्तिकै भूमिका हुनुपर्छ ।”न्युज कारखाना

काठमाडौँ । राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस भएको छ ।

आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधेयक पेस गरेका हुन् । मन्त्री चौरसियाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभामा समक्ष प्रस्तुत गरेका हुन्  ।

यसअघि प्रतिनिधि सभाबाट विधेयक पारित भइसकेको छ । अहिले विधेयकमाथि सांसदहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ । न्युज कारखाना

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई)अन्तर्गतको पर्यटन समितिले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेसँग छलफल गरेको छ ।

आईतबार मन्त्री पाण्डेलाई बधाइ तथा शुभकामना दिदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याईनुपर्नेमा जोड दिएको छ । यस्तै हवाई दुर्घटना न्यूनीकरण, दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल संचालन, नेपाल पर्यटन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालन समय सम्बन्धमा पनि सुझाव दिएको छ ।

परिसंघकोतर्फबाट सफल कार्यकालको शुभकामना दिनुहुँदै परिसंघका उपाध्यक्ष राज बहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागी नयाँ नीतिहरू ल्याउन जरुरी रहेको बताए । पर्यटन क्षेत्रका समस्या बारे जानकारी गराउदै उहाँले समाधानका उपाय समेत सुझाए ।

छलफलमा समिति सदस्य रवीचन्द्र सिंहले आगामी नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालनको समयावधि १४ घण्टाबाट बढाएर १६ घण्टा बनाउन आग्रह गरे । पर्यटकीय मौसम भएकाले सो मितिदेखि राति १० बजेसम्म संचालन हुने भनिएको समयावधि बढाएर राती १२ बजेसम्म गर्न उनले आग्रह गरेका हुन् । उनले सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको तर नेपालको हवाई टिकटको मुल्य धेरै भएकोले लक्ष्य अनुरुप पर्यटकहरु भित्र्याउन गाह्रो हुने बताए ।

उनले हवाई टिकटमा लगाईएको मुल्य अभिबृद्धी करलाई पुनरावलोकन गर्न जरुरी रहेको बताए ।

समिति सदस्य अशोक पोख्रेलले पर्यटन विकासका लागी नेपालले पहुँच बृद्धी गर्नु जरुरी रहेको बताए । जसका लागी नेपालबाट यूरोप जान आउनका लागी सहजीकरण गर्न नेपाललाई युरोपियन युनियनको सुरक्षा सुचीबाट हटाउन प्रभावकारी  पहल आवश्यक रहेको बताए । राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउनुपर्ने, नेपाल पर्यटन बोर्डलाई यसको उद्देश्य अनुरूप अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागी कामको प्राथमिकता हेरेर अगाडी बढ्ने बताए । २०८३ भदौ सम्ममा पोखरा र भैरहवा एयरपोर्टको समस्या समाधान हुने गरी काम गरिरहेको उनले बताए । पर्यटन ऐन तयारी अवस्थामा रहेकाले  चाडै आउने समेत जानकारी गराए । नेपाल एयरलाइन्सलाई सवल बनाउने विषयमा थप छलफल तथा सल्लाह सुझाव लिदै अगाडि बढ्ने बताए ।

सो अवसरमा परिसंघ पर्यटन समिति सभापति पम्फा धमला, सदस्यहरु हिक्मत सिंह ऐर, तिलक लामा, दिपकराज जोशीलगायतले सुझावसहित बधाई तथा शुभकामना व्यक्त गरे ।न्युज कारखाना

काठमाडौँ । नेपालले साफ यू-२० च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ ।

आजदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

नेपालको जितमा खेलको २४औं मिनेटमा निराजन धामीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ ।

अब नेपालले समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।