बज्जिकाञ्चल संवाददाता,काठमाडौं १५ गते पुस ।
तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक
त्रिपाठीको सहकार्य प्रस्तावमा जसपा नेपाल पनि सकारात्मक
मधेशी दलहरुबीच सहकार्यका लागि जसपा नेपालसँग वार्ता
काठमाडौं ।
तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरुबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र सम्वादलाई तीव्र पारेको छ ।
सोही क्रममा आइतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र पूर्वमन्त्री ईश्वरदयाल मिश्रसहितको टोलीले जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवसँग सम्वाद गरेको हो ।
संविधान संशोधन र नेपालको वर्तमान अवस्थाबारे साझा एजेण्डासहित एकीकृत शक्ति निर्माणका लागि जसपा नेपालसँग गहन छलफल भएको जप्रपाका नेता एवं पूर्वमन्त्री मिश्रले जानकारी दिएका छन् ।
जनता प्रगतिशील पार्टीको प्रस्तावप्रति जसपा नेपाल सकारात्मक रहेको उनले बताए । उनका अनुसार जसपा नेपाल पनि मधेशी दलहरुबीच सहकार्यका लागि तयार रहेको छ ।
जसपा नेपालसँगको वार्ता सकारात्मक रहेको बताउँदै नेता मिश्रले यसबारे थप छलफलका लागि आगामी दिनमा फेरि छलफल हुने बताए ।
जप्रपा नेपालका हृदयेश त्रिपाठीले तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादवको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । जप्रपा नेपालको वार्ता टोलीमा ईश्वरदयाल मिश्र र मोहम्मद साबिर हुसेन सदस्य रहेका छन् ।
काठमाडौँ, पुस ६ गते ।
अमेरिकी ब्याट्सम्यान लाहिरु मिलान्थाले अर्धसतकीय पारी खेलेपनि नेपाल प्रिमियर लिग ९एनपिएल० को उपाधि जनकपुर बोल्टसले जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम बोल्ट्सलाई पाँच विकेटले हरायो । जितसँगै जनकपुरले एक करोड १० लाख रुपियाँ सुनिश्चित गरेको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपियाँमा चित्त बुझाएको छ ।
जितका लागि ए कसय ८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९।२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि सर्वाधिक ८७ रन बनाउनुभयो । कप्तान आरिफ शेखले ३३ र हर्ष थाकरले अविजित ३० रन बनाउनुभयो । गोरखापत्र
सुनसरी ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सुनसरीको दुहवीमा आज सम्पन्न १२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै संघीय सांसद भगबती चौधरीले वर्तमान विश्व आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाले ५९ लाख विपन्न सदस्यहरुलाई वित्तीय सेवा पुर्याइरहेकोमा प्रशंसा गर्नुभयो ।
ग्रामीण महिला उत्सुकता विकास मञ्चले २०५३ मा दुई रुपियाँ बचत गर्ने सदस्यहरूबाट बचत कार्यक्रम आरम्भ गरेको प्रसङ्ग स्मरण गर्दै पूर्वमन्त्री समेत रहनु भएको चौधरीले गरिब तथा विपन्न समुदायको बचत तथा वाणिज्य बैंकबाट प्राप्त कर्जा परिचालन गरेर लघुवित्त संस्थाहरुले ऋण प्रवाह गरिरहेकाले कसैले चाहँदैमा ऋण मिनाहा हुन नसक्ने समेत जिकीर गर्नुभयो । ‘गाउँघरमा छरिएर रहेका गरिब विपन्न नागरिकको बचतलाई एकीकृत गर्दै वाणिज्य बैंकहरुबाट कर्जा लिएर लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गरेका हुन्छन् । समुदायकै पुँजी भएकाले कसैले ऋण मिनाहा हुन्छ भन्दैमा ऋण मिनाहा हुँदैन ।’ लघुवित्त वित्तीय संस्थाले मुलुकको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै आर्थिक सशक्तिकरणकी अभियान्ता समेत रहनु भएको सांसद चौधरीले भन्नुभयो ।
साधारण सभाका विशिष्ट अतिथि गढी गाउँपालिकाका अध्यक्ष तथा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले लघुुवित्त संस्थाले विपन्न ग्राहक सदस्यहरुको जीवनस्तर उकास्ने र युवाहरुलाई रोजगारी दिइरहेको बताउँदै वर्तमान समयमा नेपालकै लघुवित्त क्षेत्रमा देखिएका विषम अवस्थालाई चिर्न सबै पक्षले आ–आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने बताउनु भयो । लघुवित्त संस्थाले महिलालाई आर्थिक सशक्तिकरणमा जोडेको बताउँदै उहाँले लघुवित्त क्षेत्रका सवल पक्षहरुको चर्चा गर्नुभयो ।
साधारण सभाले वित्तीय संस्थाका अध्यक्ष केशवराज पौडेलद्वारा सञ्चालक समितिको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साधारण सभाले शेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस शेयर तथा कर समायोजन प्रयोजनका लागि ०.७० प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन समेत गरेको छ । संस्थाको बोनस शेयर वितरण पछि वित्तीय संस्थाको चुक्ता पुँजी १ अर्ब १९ करोड ५९ लाख ५२ हजार ८७९ हुनेछ ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१ को नाफा÷नोक्सान हिसाब तथा नगदप्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०८०/८१ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयलाई पारित गरेको छ ।
सभामा वित्तीय संस्थाले २०८१ असार मसान्तसम्म ४० जिल्लाका ३८२ स्थानीय तह अन्तर्गत १५९ शाखा कार्यालय मार्फत २ लाख ८४ हजार ९६५ विपन्न परिवारका सदस्यहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको जानकारी गराइएको थियो । साथै यस अवधिमा वित्तीय संस्थाले २० अर्ब ९० करोड ९२ लाख ५५ हजार कर्जा प्रवाह गरेको जानकारी गराइएको थियो ।
साधारण सभामा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशीले अहिले लघुवित्तको क्षेत्रमा देखिएको जटिल अवस्था विस्तारै सामान्यतर्फ उन्मुख रहेको बताउनु भयो । वित्तीय संस्थाले शेयर सदस्यहरूलाई तुलनात्मक रूपमा सन्तोषजनक लाभांश वितरण गरेको बताउँदै उहाँले साधारण सभामा प्रस्तुत सुझावहरुलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौँ :
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले राजनीतिक समावेशितासँगै आर्थिक सशक्तीकरणको अभियान सुरु गरेका छन्। मायाको पहिचान नेपाल र सफल पार्टनर्सको सहकार्यमा आइतबारदेखि समुदायका सदस्य व्यावसायिक ज्ञान लिने कार्यशालामा सहभागी भएका छन्।
व्यवसायको आधारभूत ज्ञान र प्रस्तावित व्यवसाय/उद्यममा केन्द्रित कार्यशाला १० देखि १२ हप्तासम्म सञ्चालन हुनेछ। नयाँ व्यवसायका लागि अवसरको खोजी, बजारीकरण, बिक्री गर्ने कला, नगद प्रवाह व्यवस्थापन लगायतका विषयमा कार्यशाला केन्द्रित रहने मायाको पहिचान नेपालले जनाएको छ।
समुदायका सदस्यका लागि सुरु भएको आर्थिक रूपमा सशक्तीकरणको अभियान सुनौलो अवसर भएको संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले बताए।
कार्यशाला आफूसँग भएका व्यावसायिक सीपहरू विकास गर्न र आफ्नो उद्यमलाई अर्को स्तरमा पुर्याउनका लागि राम्रो अवसर हुने पन्तले बताए। ‘सफल पार्टनर्ससँग पहिलो साझेदारी हो,’पन्तले भने,’व्यवसाय गरिरहेका र सुरु गर्न लागेका समुदायका सदस्यहरूलाई यो कार्यशाला फलदायी हुने विश्वास छ।’
कार्यशालामा सहभागी समुदायका सदस्यहरूले चिया पसल, लञ्चबार, ठेला पसल, तन्दुरी, फार्म हाउस, होटेल, रेस्टुरेन्ट, होमस्टे, ग्रिन हाउस, हस्पिटालिटी, युनिसेक्स सैलुन, डकुमेन्ट्री निर्माण, अचार उद्योग, टेलरिङ, फेन्सी पसल सञ्चालन गर्ने चाहना व्यक्त गरे।
समुदायका सदस्यको व्यावसायिक ज्ञान कम्प्युटर र एआईले विस्थापित गर्न नसक्ने रहेको व्यावसायिक विज्ञ आशुतोष तिवारीले बताए। यी सबै आइडिया कम्प्युटर र एआईले अवरोध नगर्ने खालका रहेको उनले बताए।
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले प्रादेशिक छात्रवृत्ति वितरण गरेको छ । कलेजले आइतबार प्रादेशिक छात्रवृत्ति परीक्षामा सर्वोत्कृष्ट भएका पाँच वटा प्रदेशका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको हो ।
प्रादेशिक छात्रवृत्ति पाउनेहरुमा मधेश प्रदेशबाट अभिषेक कुमार यादव, बागमती प्रदेशबाट सुवास गिरी, गण्डकी प्रदेशबाट पार्वती पनेरु, लुम्विनी प्रदेशबाट विजयकुमार यादव र सुदुरपश्चिम प्रदेशबाट सरोज देउवा रहेका छन् । कोशी प्रदेश र कर्णाली प्रदेशबाट भने प्रादेशिक छात्रवृत्ति छनौट बाँकी रहेको छ । नयाँ शैक्षिक सत्रको भर्ना अभियान अझै केही दिन बाँकी रहेकाले दुई प्रदेशको प्रादेशिक छात्रवृत्ति वितरण गर्न बाँकी छ ।
छात्रवृत्ति पाउने विद्यार्थीहरुले क्रमशः इलेक्ट्रिक्स एण्ड इलेक्ट्रोनिक्स, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, विडिएच, सिभिल एण्ड रुलर इन्जिनियरिङ विषयमा अध्ययन गर्नेछन् । छात्रवृत्ति पाउने सबै विद्यार्थीहरुले सामुदायिक विद्यालय अध्ययन गरेका छन् । कलेजले प्रादेशिक छात्रवृत्ति प्रदान गरेर दूरदराजमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई इन्जिनियरिङ शिक्षा हासिल गर्ने अवसर दिएकोमा विद्यार्थीहरुले कृतज्ञता व्यक्त गर्दै मेहनत गरेर अध्ययन गर्ने बताए ।
कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै पोखरा विश्वविद्यालयको छात्रवृत्ति मापदण्ड अनुसार प्रादेशिक छात्रवृत्तिको परीक्षा लिइएको बताउँदै कलेज सदैव जेहेन्दार र मेहनती विद्यार्थीहरुको पक्षमा रहेको बताउनु भयो । कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले छात्रवृत्तिको मर्यादा र गरिमालाई कायम राख्नेगरी मेहनतका साथ अध्ययन गर्न सुझाउनु भयो । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको इन्जिनियरिङ शिक्षामा पहुँच पुगोस् भन्ने हेतूले कलेजले प्रादेशिक छात्रवृत्ति दिँदै आएको प्राचार्य भण्डारीको भनाई छ ।
कलेजले हरेक वर्ष ७० लाख बराबरको प्रादेशिक छात्रवृत्ति वितरण गर्ने बताउँदै प्राचार्य भण्डारीले भन्नुभयो,‘नेपाल इन्जिनियरिङ कलेजले वर्षेनी गरिब तथा जेहेन्दार विद्यार्थीलाई विभिन्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यस वर्षपनि विभिन्न प्रदेशहरुबाट प्रादेशिक छात्रवृत्तिमा विद्यार्थीहरुले प्रतिष्पर्धा गर्नुभएको छ । सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरुलाई इन्जिनियरिङ अध्ययन गर्न प्रेरित गर्नका लागि कलेजले यो छात्रवृत्ति प्रदान गरेको हो ।’
कलेजले हरेक वर्ष सामुदायिक स्तरमा कलेजका विकासमा उल्लेखनीय योगदान गर्दै आइरहेको चाँगुनारायण नगरपालिकाका ४ वटा वडाका दुई जना विद्यार्थी, कागेश्वरी मनहरा नगरपालिकाको वडा नं. ७ गरी ५ वटा वडा वाहेक चाँगुनारायण नगरपालिकाले सिफारिस गरेका गरिब, जेहेन्दार विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति र ५० प्रतिशत छुट सहितको छात्रवृत्ति दिँईदै आएको छ । यसका अलावा कलेजमा कार्यरत शिक्षक कर्मचारीका सन्ततीहरुका लागिपनि छात्रवृत्ति दिँदै आएको छ । इन्जिनियरिङ अध्यनार्थ भर्ना हुने विद्यार्थीको आर्थिक, शैक्षिक अवस्था हेरेर विभिन्न छुटहरु पनि दिइने गरिएको छ । मुनाफारहित शैक्षिक संस्था भएकाले हरेक वर्ष कलेजले करिब १५ करोड बराबरको विभिन्न छात्रवृत्ति र छुटहरु दिँदै आएको छ ।
त्यसो त सामाजिक उत्तरदायित्व अन्तरगत गतवर्ष जाजरकोट र रुकुमपश्चिममा गएको विनाशकारी भुकम्पबाट प्रभावित सामुदायिक विद्यालयका ५ जना विद्यार्थीहरुलाई पूर्णछात्रवृत्ति प्रदान गरेको थियो । नेपालका दुरदराजमा रहेका विद्यार्थीहरुले सर्वसुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्राप्त गर्न सकुन् भनेर कलेज स्थापना भएको र आगामी दिनहरुमा पनि सोही अनुरुप विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै लैजाने प्राचार्य भण्डारीले बताउनु भयो ।
कलेजमा स्नातक तहमा इन्जिनियरिङ विधामा सिभिल, सिभिल एण्ड रुलर, कम्प्युटर, इलेक्ट्रिक्स एण्ड इलेक्ट्रोनिक्स, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, सिभिल फर डिप्लोमा होल्डर्स तथा आर्किटेक्टको पढाई हुने गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, कलेजको शैक्षिक नतिजा, विद्यार्थीले प्राप्त गर्ने राष्ट्रिय, अन्तराष्ट्रिय अवसरहरुको मुल्यांकन गर्दै २०६० सालदेखी लगातार स्थायी अनुमति दिँदै आएको छ ।
काठमाडौं ।
कक्षा २ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजित राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिताको दोस्रो चरण भव्य रूपमा सम्पन्न भएको छ । नेपालको अग्रणी आईटी तालिम प्रदायक दूरशिक्षाले डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेकको सहकार्यमा आयोजना गरेको यस चरणमा ८० विद्यार्थीले भौतिक रूपमा उपस्थित भई प्रतिस्पर्धा गरेका थिए, जसमध्ये विभिन्न विधाबाट ९ जना विद्यार्थी फेब्रुअरी २०२५ मा यूकेमा हुने ग्लोबल कम्पिटिसनका लागि छनोट भएका छन् ।
ग्लोबल कम्पिटिसनमा छानिएका नेपाली विद्यार्थीहरूले अब भारत, हङकङ, मिडल इस्ट, यूके, अमेरिका, अष्ट्रेलिया लगायत देशका सहभागीसँग प्रतिस्पर्धा गर्नेछन् ।
दोस्रो चरणको कोडिङ प्रतियोगिताको उद्घाटन सूचना प्रविधिविज्ञ डा. राजीव पाण्डे सुब्बाले गरेका थिए । उनले यस प्रतियोगिताले बालबालिकाको तार्किक सोच, समस्या समाधान क्षमता र डिजिटल सीपलाई प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे ।
४०० भन्दा बढी विद्यार्थीले अनलाइनबाट परियोजना पठाएकोमा भौतिक प्रतिस्पर्धामा ८० जना छानिएका थिए । यस चरणमा विद्यार्थीहरूले अत्यन्तै प्रभावकारी प्रोजेक्ट तयार पारेको दूरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पाण्डेले बताए । “यो प्रतियोगिताले सहभागीहरूलाई आफ्नो कोडिङ सीप सुधार्न र समस्याहरूको समाधान गर्ने कुशलता अभिवृद्धि गर्न मद्दत पुर्याएको भने उत्कृष्ट प्रतियोगीलाई विश्वमञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको छ,” उनले भने ।
यस प्रतियोगितामा कक्षा २ देखि ४ का विद्यार्थीहरूले जुनियर ब्लक-आधारित कोडिङ, कक्षा ५ का विद्यार्थीहरूले सिनियर ब्लक-आधारित कोडिङ र कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले पाइथनमा आधारित रही विभिन्न थिममा प्रोजेक्ट तयार गरेका थिए ।
कार्यक्रममा ‘गर्ल्स हु कोड’ अभियान समेत सञ्चालन गरिएको थियो, जसले छात्राहरूको सहभागिता अभूतपूर्व रूपमा बढाएको आईसीटी फ्रेमकी अध्यक्ष मिना अर्यालले बताइन् । उनका अनुसार दोस्रो चरणको प्रतिस्पर्धामा ५० प्रतिशतभन्दा बढी छात्राहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगिताले बालबालिकाको समस्या समाधान, रचनात्मकता र डिजिटल साक्षरताको विकासमा ठूलो योगदान दिएको भन्दै अभिभावकहरूले पनि खुशी व्यक्त गरेका छन् । “हाम्रो बच्चाले यस्तो ठूलो मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्न पाउँदा गर्व लागेको छ । दूरशिक्षाले यस्तो अवसर प्रदान गरेकोमा धन्यवाद छ,” एक अभिभावकले भने ।
बालबालिकाको डिजिटल सीपको विकास गर्न र प्रविधिमा करियर सुरु गर्ने अवसर दिन यो प्रतियोगिता महत्त्वपूर्ण हुने आयोजकको विश्वास छ ।
आरके श्रीवास्तव,राैतहट,१७ गते मंसिर ।
राैतहटमा भएको उपनिर्वाचनकाे मत परिणाम बाहिर आएकाे छ । जिल्लाकाे तीन वटै वडाकाे परिणाम अबेर रात आएकाे छ । राजपुर नगरपालिका वडा नम्बर ६ काे वडा अध्यक्षमा नेपाली काँग्रेसका समसे आलम ७ सय ४४ मत ल्याइ विजयी भएका छन् भने ईशनाथ नगरपालिका वडा नम्बर ७ काे वडा अध्यक्ष नेपाली काँग्रेसकै शेख अब्दुल खलिक ६ सय २७ मत सहित विजयी भएका छन् ।
जिल्लाकाे दुई वटा वडामा नेपाली काँग्रेसले बर्चस्व जमाउँदा नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्णा यादवकै वडा गढिमाइ ८ मा भने नेपाली काँग्रेसलाई हार्न व्यहोर्नुपरेको छ ।
गढिमाइ ८ मा एकीकृत समाजवादी पार्टी कलम छापका वडा अध्यक्ष उम्मेदवार बजरंगी प्रसाद यादवले अप्रत्याशित जित निकाल्न सफल भएका छन् ।
उनी गढिमाइ ८ को वडा अध्यक्षमा समाजवादीका बजरंगी प्रसाद निर्वाचित भएका छन् । २ हजार २ सय ३७ मत खसेको यो वडामा यादवले ६ सय ५५ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार जिउती देवी यादवले ६ सय ३१ र नेपाली कांग्रेसका उम्मेदवार सुबाेध कुमार यादवले ६ सय १७ मत पाएका छन् ।
यस्तै जनता समाजवादी पार्टीका संदेश प्रसाद यादवले २ सय ५८,राष्ट्रिय मातृभूमि पार्टीका साहेबलाल राउतले ४० र जनमत पार्टीका सुरेन्द्र राउत कुर्मीले ८ मत पाएको निर्वाचन अधिकृत महमद मुनाले जानकारी गराएका हुन् ।
अन्तिम मत परिणाम सार्वजनिक हुँदा कलम छापका यादव २४ मतले विजयी भएका छन् । सुरुदेखि नै अग्रता कायम राख्दै आएका नेकपा एमालेलाई अन्त्यमा पछाडि पार्दै कलमका उम्मेदवार बजरंगी यादव अन्ततोगत्वा निर्वाचित भएका छन् ।
गढिमाइ ८ मा ८१.३१ प्रतिशत मतदान भएको थियो । साे वडामा २ हजार ७ सय ५१ मतदाता रहेकोमा २ हजार २ सय ३७ मतदाताले मतदान गरेका थिए ।
२०७९ सालकाे स्थानीय तहकाे निर्वाचनमा साे जसपाका रामअज्ञा यादव निर्वाचित भएका थिए । उनकाे निधन भएपछि साे वडामा उपनिर्वाचन भएको थियोे ।
आरके श्रीवास्तव,रौतहट,१६ गते मंसिर ।
रौतहटमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाको तीन वटै वडामा आज शान्तिपूर्ण रूपमा मतदान भएको छ । जिल्लाको गढिमाइ ८,राजपुर ६ र इशनाथ ७ मा रहेको मतदान केन्द्रहरुमा शान्तिपूर्ण अवस्थामा मतदान भएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले जनकारी गराउनु भएको हो । 
प्रहरीको कडा सुरक्षा र निगरानीले निकै शान्त तथा भयरहित वातावरणमा मतदान भएको देखिएको थियो । जिल्ला निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार गढिमाइ ८ मा ८१.३१ प्रतिशत,राजपुर ६ मा ६९.३६ प्रतिशत र इशनाथ ७ मा ६९.०८ प्रतिशत मतदान भएको जनाएको हो ।
गढिमाइ नगरपालिका वडा नम्बर ८ मा २ हजार ७ सय ५१ मतदाता रहेकोमा २ हजार २ सय ३७ मतदान भएको हो भने राजपुर नगरपालिका वडा नम्बर ६ मा २ हजार ५ सय ४६ मतदाता रहेकोमा १ हजार ७ सय ६६ मत खसेको छ ।
त्यस्तै जिल्ला दक्षिणी भेग इशनाथ नगरपालिका वडा नम्बर ७ मा २ हजार ७ सय ०७ मतदाता रहेकोमा १ हजार ८ सय ७० मत परेको छ । यसपालीको उपचुनावमा उत्साहजनक मत परेको छ ।
आज रातीदेखि नै मतगणना गरिने अधिकारी दासले जानकारी गराउनु भयो । यसको लागि बेलुकी ९ बजे सर्वदलिय बैठक बस्ने उनले बताए । सबै राजनितिक दलको ध्यान केन्द्रित रहेको रौहतटको गढिमाइ वडा नम्बर ८ मा विवादरहित तथा शान्तिपृर्ण रुपमा चुनाव भएको स्थानिय पत्रकार गुडु यादवले जनाएका छन् ।