काठमाडौँ,०८ गते असोज ।
नेपाली कांग्रेसले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । यसका लागि वर्तमान मुख्यमन्त्री सतिश सिंहलाई दिएको समर्थन पार्टीले फिर्ता लिएको हाे ।
मधेश प्रदेश पार्टी संसदीय दलका नेता कृष्ण प्रसाद यादवले आजै समर्थन फिर्ता लिइएको जानकारी दिए। उनले अब कसरी अघी बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए।
“अहिले हामी छलफलमै छौँ । सरकारलाइ दिएको समर्थन फिर्ता लिएर सत्ताबाट बाहिरिएका छौँ‚” उनले भने।
सभार नेपालन्यूज
काठमाडौँ,०७ गते असोज ।
तुइन खोलामा ठूलो पहिरो खसेपछि नारायणघाट-मुग्लिन सडक आवागमन पूर्ण रूपमा बन्द भएको छ। सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार मंगलबार खसेको पहिरो शुक्रबारको भन्दा ठूलो छ। उक्त पहिरो पन्छाउन बुधबारसम्म लाग्ने अनुमान गरिएको छ।
‘आजैबाट पन्छाउने काम सुरु हुन्छ तर अँध्यारो भएपछि रोक्नुपर्छ। बुधबार बिहानैदेखि फेरि काम सुरु गरिन्छ,’ उनले भने।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी रवीन्द्र खनालका अनुसार सडक अवरुद्ध भएपछि दुबै तर्फका सवारीसाधन रोकिएका छन्। लगातार पहिरो खस्ने क्रम जारी भएकाले उनले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरे।
सभार हिमाल प्रेस
७ असोज, काठमाडौं।
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचन सरकारको उच्च प्राथमिकतामा रहेको बताएकी छन् ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी थिइन् ।
उक्त छलफलमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनको तयारीका सम्बन्धमा आयोगसँग परामर्श गरेकी हुन् ।
निर्वाचन आयोगले निकालेको विज्ञप्ति अनुसार छलफलमा प्रधानमन्त्री कार्कीले ‘प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको’ बताएकी छन् ।
साथै निर्वाचन सम्पन्न गर्न नेपाल सरकारको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति उपलब्ध गराइने प्रतिवद्धता प्रधानमन्त्री कार्कीको छ ।
आयोगका अनुसार प्रधानमन्त्री कार्कीले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाउने, निर्वाचनको लागि अनुकूल वातावरण तयार गर्न सरोकारवालाहरूसँग छलफल गर्ने भन्दै निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढाउन आग्रह गरेकी छन् ।
छलफलमा निर्वाचन आयोगको तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने मतपेटिका लगायतका निर्वाचन सामग्रीहरू मौज्दातमा रहेको बताए। मौज्दातमा नभएका अन्य सामग्री समेत स्वदेशमा उत्पादित सामग्रीलाई प्राथमिकता दिई प्रतिस्पर्धात्मक तरिकाले खरिद गरिने उनको प्रतिवद्धता छ ।
सभार ओनलाईन खबर
काठमाण्डौ,०७ गते आसोज ।
जेन–जी आन्दोलनको क्रममा अराजक समूहले गरेको आगजनी र तोडफोडले क्षतिग्रस्त अवस्थामा रहेको भवनबाटै मधेशको प्रदेशसभा बैठक सुरु भएको छ । जेन–जीको आन्दोलनपछि पहिलोपटक मंगलबार प्रदेशसभाको बैठक बसेको हो ।
बैठकमा मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीका सांसदहरू दुई कित्तामा बसेका छन् ।
पार्टीले मुख्यमन्त्री सतिशकुमार सिंहलाई फिर्ता बोलाए पनि उनले राजीनामा नदिने अडान लिएपछि केही सांसद सत्तापक्षमा बसेका छन् भने केही सांसद प्रतिपक्षमा बसेका छन् ।
जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो दलका मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलाउने पत्र प्रदेश प्रमुखको कार्यालय तथा प्रदेशसभा सचिवालयमा दिएका थिए । तर मुख्यमन्त्री सिंहले राजीनामा दिन नमानेपछि जनमतका बाँकी प्रदेशसभा सदस्य प्रतिपक्षमा बसेका हुन् ।
बैठकमा मुख्यमन्त्री सिंहले वर्तमान अवस्थामा संविधान र संघीयताको रक्षाका लागि आफूले राजीनामा नदिएको बताए । पार्टीले राजीनामा मागे पनि आफूले प्रदेशसभाबाट विश्वासको मतको सामना गर्ने उनले बताए ।
सभार शिलापत्र
आरके श्रीवास्तव,राैतहट,असोज ५ गते ।
मधेस प्रदेश सांसद पदका प्रत्यासी मोहमद सेराजले स्थानीय तहमा विद्यमान दलिय व्यवस्थालाई हटाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनले सेवा, विकास र जनउत्तरदायित्वमा आधारित शासन प्रणाली स्थापना गर्न स्थानीय सरकारलाई दलिय प्रभावमुक्त बनाउनु पर्ने धारणा व्यक्त गरेका छन् । “अब पार्टीको होइन, व्यक्तिको सोच, इमान्दारी र क्षमताले नेतृत्व चयन हुने वातावरण निर्माण गर्नुपर्छ,” सेराजले सामाजिक सञ्जालमार्फत जनसमुदायलाई सम्बोधन गर्दै भने, “स्थानीय तहमा नेतृत्व जनताकै घरबाट उठ्ने भएकाले राजनीतिक पार्टीको भागबण्डा होइन, जनताको सेवा गर्ने सोचको कदर हुनुपर्छ।
” उनको भनाइ अनुसार दलियकरणले स्थानीय शासनमा व्यक्तिगत र समुदायको आवश्यकता भन्दा माथि पार्टीको स्वार्थलाई प्राथमिकता दिइएको छ, जसले सेवा प्रवाहमा बाधा पुर्याइरहेको छ ।
राजनीतिमा छुट्टै पहिचान बनाइरहेका सेराजले अहिलेकाे वर्तमान परिस्थितिलाई मध्यनजर गरि यस्तो किसिमको धारणा सार्वजनिक गरेका छन् ।
आरके श्रीवास्तव,रौतहट,भदौ ३१ गते ।
मधेश प्रदेश अन्तर्गत रहेको जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार, गौरस्थित कारागार कार्यालयबाट भागेका केही कैदीहरू प्रहरी सम्पर्कमा आएका छन् भने अन्य कैदीहरूको खोजी कार्य अझै जारी रहेको छ ।
कारागार कार्यालय, गौरबाट २०८० साल भदौ २४ गते भागी फरार भएका ती कैदीहरूमध्ये सम्पर्कमा आएकाहरूलाई कारवाही प्रक्रिया अगाडि बढाइएको जनाइएको छ । प्रहरीका अनुसार अझै सम्पर्कमा नआएका कैदीहरूलाई अविलम्ब नजिकको प्रहरी कार्यालय वा गौर कारागार कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले जनाएअनुसार,
> “सम्पर्कविहीन कैदीहरूले स्वयं उपस्थित भएर जानकारी गराउनुपर्छ। अन्यथा, प्रहरी वा कारागारको सम्पर्कमा नआई फरार रहेमा कारागार ऐन २०७९ को दफा ४९ को (ग) बमोजिम, अझै थप ५ वर्षसम्म कैद सजाय तोकिएको छ।”
यस सन्दर्भमा जिल्लाको सूचना सम्प्रेषण शाखाले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित सबै पक्षलाई सहयोग गर्न र जानकारी भएमा फोन नम्बर ९८५५०४०९९९ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय राैतहटका अनुसार, सुरक्षा व्यवस्था थप कडा पारिएको छ र घटनाको अनुसन्धान तीव्र गतिमा अगाडि बढिरहेको छ ।
काठमाडौं,३० गते भादो ।
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथ लिएपछि उनले पदभार सम्हालेका हुन् ।
पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेका छन्। मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि उनले गरेका छन् ।
कार्की नेतृत्वको अन्तरिम सरकारमा तीन जना मन्त्रीहरु नियुक्त भएका छन् । ऊर्जा र भौतिक तथा सहरी विकासमा कुलमान घिसिङ, अर्थमा रामेश्वर खनाल र कानुन तथा गृहमन्त्रीमा ओमप्रकाश अर्याल मन्त्रीमा नियुक्त भएका हुन्। सभार आर्थिक न्यूज
काठमाडौं,३० गते भादो ।
अन्तरिम सरकारका तीन मन्त्रीले सोमबार (भदौ ३०) पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार (भदौ २९) राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत अधिकारी सहभागी थिए ।
सभार १२ खरी
काठमाडौं ,३० गते भादो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानविन गर्न समिति गठन हुने बताएका छन्। सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा देशभर घटेका हिंसात्मक घटनाको छानविनका लागि समिति गठन हुने बताएका हुन्।
उनले भने,’जेनजी आन्दोलनका नाममा देशभर हिंसात्मक घटना भएका छन्। उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन समिति गठन हुन्छ।’ गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने जानकारी दिए।
उनले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गएको बताए। आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए।
यही भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको जेनजी समूहको आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ भने सयौंजना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनका क्रममा देशभर ठूलो जनधनको क्षति भएको छ।
संसद भवन,सिंहदरबार,राष्ट्रपति भवन,सर्वोच्च अदालत,व्यापारी भवनलगायत आगजनीबाट ध्वस्त भएका छन्। सभार अन्नपुर्ण
काठमाडौं, भदौ ३० गते ।
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हाल्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उहाँले पदबहाली गर्नुभएको हो । उहाँ पूर्व अर्थसचिव पनि हुनुहुन्छ ।
राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँलाई आइतबार साँझ अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो ।