२०८३ असार ५
२०८३ असार ५

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमलाई अवरोध नगर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो ।

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आफ्ना माग पूरा नभएसम्म अवरोध कायमै राख्ने निर्णय गरको छ । कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।

यसअघि मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरूसँग राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम अवरोध नगर्न आग्रह गरेका थिए । न्युज कारखाना

 

काठमाडौं । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज सुनुवाइ हुने भएको छ । यसअघि पटकपटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि गत वैशाख २३ गते पेशी न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजालसमा तोकिएको थियो। उक्त दिन हेर्न नमिल्नेमा परेपछि आजका लागि पेशी तोकिएको हो ।

अघिल्लो पेसीमा इजलासले मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । यसअघि वैशाख ३ गते उच्च अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्म मिति सच्याउन दिएको निवेदन र जन्ममिति स्पष्ट खुल्ने काजगात झिकाउन आदेश दिएको थियो ।

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला २६ ले जन्ममितिसम्बन्धी स्पष्ट हुने काजगात झिकाउन आदेश दिएको हो । यसअघि जिल्ला अदालतले पीडित गौशाला २६ को उमेर १८ वर्ष कटेको ठहर गरेको  थियो ।

पीडितको उमेर १८ वर्ष कटेको भएपनि सन्दीपले सहमतिबिना नै शारीरिक सम्बन्ध राखेको भन्दै दोषी ठहर गरेको थियो । लामिछानेले गत फागुन २० गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए। बलात्कार मुद्दामा आफू निर्दोष रहेको दाबी गरेका छन् ।

जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो ।

नाबालिग बलात्कार गरेको आरोपमा गौशाला-२६ ले लामिछानेविरुद्ध गत वर्ष भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।  तर,अदालतले जबरजस्ती करणीको जाहेरी दिने किशोरी नाबालिग नरहेको ठहर गरेको थियो ।

काठमाडौंको गौशालास्थित एक होटलमा लगेर बलात्कार गरेको आरोपमा पीडितले उजुरी दिएकी थिइन् । न्युज कारखाना

काठमाडौँ । भारतको बिहारका पूर्व उपमुख्यमन्त्री सुशील कुमार मोदीको निधन भएको छ । क्यान्सरसँग लडिरहेका मोदीको सोमबार दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

लोकसभा चुनावको घोषणापछि सुशील मोदीले आफ्नो बिरामी भएको जानकारी सार्वजनिक गरेका थिए ।

सुशील कुमार मोदीको निधनमा राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव, तेजस्वी यादवलगायतका नेताहरूले गहिरो शोक व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘पार्टीमा मेरा अमूल्य सहकर्मी र दशकौंदेखि मेरा साथी सुशील मोदी जीको असामयिक निधनबाट अत्यन्तै दुखी छु। बिहारमा भाजपाको उदय र सफलतामा उनको अमूल्य योगदान रहेको छ। आपतकालको कडा विरोध गर्दै उनले विद्यार्थी राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएका थिए ।’

लालु यादवले मोदीको निधनमा दुख व्यक्त गर्दै आफू विगत ५१–५२ वर्ष अर्थात पटना विश्वविद्यालय विद्यार्थी युनियनको समयदेखिको साथी रहेको लेखेका छन् ।न्युज कारखाना

धनगढी, १ जेठ । कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको हो।

निधन हुनेमा भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियार रहेकी छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो। न्युज कारखाना

काठमाडौँ । नेदरल्याण्डसले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि नेदरल्याण्डसले स्कट एडवर्ड्सको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेदरल्याण्ड्सको विश्वकप खेल्ने टिम:  स्कट एडवर्ड्स (कप्तान), आर्यन दत्त, बास डे लीडे, डेनियल डोरम, फ्रेड क्लासेन, लोगान भ्यान बेक, म्याक्स ओ’डाउड, माइकल लेविट, पल भ्यान मिकेरेन, साइब्रान्ड एंगेलब्रेच, तेजा निदामानुरु, टिम प्रिन्गल, विक्रम सिंह , भिभ किन्ग्मा, वेस्ले बारेसी । त्यस्तै रिजर्भ खेलाडीको रुपमा काइल क्लेन रहेका छन् ।

टी-२० विश्वकपमा नेदरल्याण्डस नेपाल रहेको समुह डी मै रहेको छ । यस समुहमा नेदरल्याण्डस र नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका रहेका छन् । नेदरल्याण्डसले विश्वकपमा आफ्नो पहिलो खेल जुन ४ मा नेपालसँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौँ । भारतको मुम्बईमा आँधीका कारण एक सय फिट अग्लो होर्डिङ ढल्दा १४ जनाको मृत्यु भएको छ ।

बृहन्मुम्बई महानगरपालिकाका अनुसार हाल ४३ घाइतेको अस्पतालमा उपचार भइरहेको छ । जबकि ३१ घाइते अस्पतालबाट डिस्चार्ज भएका छन् । एकजना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।

होर्डिङ बोर्ड पेट्रोल पम्पमा ढलेको र बर्षाका कारण ओत लिएका मानिसहरुलाई लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सोमबार साँझ जिमखाना नजिक भएको यो दुर्घटनापछि राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ), दमकल र प्रहरी टोलीलाई तत्काल राहत उपलब्ध गराउन घटनास्थलमा पठाइएको थियो । न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग छलफल गरेका हुन् ।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई अवरोध नगर्न आग्रह गरेको र सहकारीमा देखिएको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएको बताए ।

लेखकले कांग्रेसले आजै बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्ने जानकारी दिए ।

राष्ट्रपति रामचन्द पौडेलले आजै अपराहन्न ३ बजे बस्ने संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।न्युज कारखाना

वीरगंज । वीरगंज महानगरपालिकाले ‘कक्षा कोठामा मेयर’ कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिका–४ विर्तामा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयबाट उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले कक्षा कोठामै पुगेर विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिँदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अघि बढ्नु पर्नेमा जोड दिए । आफ्ना अग्रजको योगदानको सम्मान गर्दै शिक्षा प्रदान गर्ने गुरुहरुको सम्मानमा कमी नल्याउन पनि उनको जोड थियो ।

यसै शैक्षिक सत्रबाट विद्यालयमा डिजिटल कक्षा समेत संचालन गरेको महानगरले त्यसको उपयोगिता र प्रभावकारिताका विषयमा समेत मेयर सिंहले अवलोकन गरे । विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन उनले हप्ताको एक दिन विभिन्न विद्यालयमा पुगेर ‘कक्षा कोठामा मेयर’ कार्यक्रममार्फत एउटा कक्षा लिन लागेका हुन् ।

मेयर सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरुलाई उत्प्रेरणा दिँदा विद्यार्थीलाई अध्ययनका लागि झनै हौसला मिलेको त्रिजुद्ध मा.वि.का प्रधानाध्यापक नविन मिश्रले बताए । कक्षामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरुको हौसला बढाउन कक्षा लिएका थिए ।

मेयर सिंहले विद्यालयको अनुगमन समेत गर्दै त्यहाँ उपलब्ध साधन स्रोतको स्थिति तथा प्रयोगको अवस्थाको बारेमा समेत जानकारी लिएका थिए । यस्तै कक्षा पाँचका विद्यार्थीलाई मेयर सिंहले पुस्तक समेत हस्तान्तरण गरेका थिए । महानगरपालिकाले यसै शैक्षिक सत्रबाट यहाँका विभिन्न ३० वटा विद्यालयमा नेपाली भाषा सिकाईका लागि डिजिटल कक्षा समेत संचालन गर्न सुरु गरेको छ ।न्युज कारखाना

काठमाडौं, १ जेठ । मध्यबानेश्वरमा रहेको भ्याली भ्यु स्कुलले विद्यार्थी नेतृत्व चयनका लागि आमनिर्वाचनको  झल्को दिने गरी प्रयोगात्मक अभ्यास गराएको छ। आआफ्नो सदनको लिडर चुन्न वास्तविक निर्वाचनको आभास हुने गरी आइतबार विद्यार्थीहरू निर्वाचनमा होमिएका थिए।

आफ्नो सदनको कप्तान र उप-कप्तान छान्न विद्यार्थीले निर्वाचनका सबै प्रक्रिया अपनाएका थिए। उनीहरूले नामावली प्रकाशन, उम्मेदवारी दर्ता, मतदान चिह्न प्रदान, मौन अवधि, मतगणना, नतिजा घोषणा, शपथग्रहणलगायत प्रक्रिया अपनाएका थिए। विद्यालयले हरेक वर्ष विद्यालयभित्रका सदनहरूको नेतृत्व चयनमा यसरी नै निर्वाचन गराउँदै आएको छ।

४ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीले हरेक वर्ष यस प्रकारको चुनावी अभ्यास गर्दै आएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सन्तोष चापागाईं बताउँछन्। विद्यालयको मतदान प्रक्रियामा विद्यार्थीकै सक्रियता रहने गरेको र विद्यालय प्रशासनले सहयोग गर्ने गरेको विद्यालय संयोजक कृष्ण प्रसाद मैनालीले जानकारी गराए।
मतदान कार्यक्रमका लागि
विद्यालयका प्राचार्यलाई निर्वाचन आयुक्त नियुक्त गरी  निर्वाचन  आयोगसमेत गठन गरिएको थियो। यस्तो अभ्यासबाट विद्यार्थीले साँच्चै निर्वाचन कस्तो र कसरी हुन्छ? भनेर प्रत्यक्ष सिक्ने मौका पाउने प्राचार्य सुभाषचन्द्र भण्डारीको भनाइ छ। ‘देशको नेतृत्व चयन गर्दा जुन प्रकारको चुनावी अभ्यास अपनाइन्छ, विद्यालयले गरेको अभ्यास चुनावमा पनि सोही प्रक्रिया अपनाइएको छ,’ भण्डारीले भने।

विद्यालयका चारवटा सदनका उम्मेदवारले मत माग्ने, आफ्ना अजेन्डा प्रस्तुत गर्ने, मौन अवधिको पालना गर्नेलगायत नियम पालना गरेका थिए। ‘यसप्रकारको अभ्यासले विद्यार्थीले निर्वाचन के हो र कसरी गरिन्छ भन्ने कुरा राम्ररी सिक्न पाउँछन्, अर्को उनीहरूले आ–आफ्नो विद्यालय सदनको नेतृत्व पनि छान्छन्,’ प्राचार्य भण्डारीले भने, ‘यसप्रकारको अभ्यासले प्रयोगात्मक ज्ञान, सिप अभिवृद्धि गर्न र बालविकासमा पनि यथेष्ट सहयोग गर्छ।’ मतदान प्रक्रियाबाट सदनका लागि कप्तान,  उपकप्तानका लागि एक–एकजना विद्यार्थी निर्वाचित हुने व्यवस्था रहेको छ ।

अतिरिक्त क्रियाकलाप प्रयोगात्मक शिक्षाको बलियो आधार भएकाले विद्यालयले यस्ता खाले थुप्रै प्रयोगात्मक क्रियाकलाप गर्दै आएको भ्याली भ्यु स्कुलका माध्यमिक संयोजक दिपक मिश्रले प्रस्ट पारे। उनले विद्यार्थीहरूको चौतर्फी विकासमा विद्यालय सधैँ प्रतिबद्ध रहेको बताए।न्युज कारखाना

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज दिल्ली क्यापिटल्स र लखनउ सुपर किंग्सबीच खेल हुदै छ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा दिल्ली क्यापिटल्सको प्लेअफको सम्भावना कठिन देखिएको छ । १३ खेलमा १२ अंकसहित दिल्ली छैटौं स्थानमा रहेको छ र यो खेल दिल्लीको लिग चरणको अन्तिम खेल समेत हो । यो खेल जितेपनि दिल्लीको प्लेअफको सम्भावना निकै कम रहेको छ ।

अर्कोतर्फ लखनउको भने प्लेअफको सम्भावना कायम रहेको छ । १२ खेलमा १२ अंकसहित सातौं स्थानमा रहेको लखनउले बाँकी खेल्न रहेका २ खेल जितेमा प्लेअफको सम्भावना कायम रहेको देखिएको छ । त्यसैले पनि लखनउका लागि यो खेलमा जित महत्वपूर्ण रहेको छ ।

दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गरेका छन् र अहिलेसम्म शानदार प्रदर्शन गरिरहेका छन् । आइपिएलको प्रदर्शनले उनी भारतको टी-२० विश्वकप खेल्ने टिममा सामेल गरिएको छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अभिषेक पोरेल, यश धुल, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ ।

त्यस्तै जेक फ्रासर म्याकग्रुक, शाइ होप, ट्रिसटियन स्ट्ब्स,डेविड वार्नर जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।

त्यस्तै लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर, आयुष बदानी र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।

त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।