काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए ।
कांग्रेसका सांसदहरुले अवरोध गरेपछि अध्यक्ष नारायण दाहालले गरेको अनुरोध कांग्रेसका सांसदहरुले अस्वीकार गरेका थिए ।
कांग्रेसले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेका छन् ।
कांग्रेसको अवरोधपछि अध्यक्षले राष्ट्रिय सभाको बैठक शुक्रबार १: १५ बजेसम्मका लागि स्थगित गरेका छन् ।न्युज कारखाना
सिरहा, ३ जेठ। सिरहाको अर्नमा गाउँपालिमा जग्गाको बिषयमा विवादको क्रममा आफ्नै छिमेकीले कोदालो प्रहारगर्दा एक जनाको मृत्यु भएको छ। अर्नमा २ ब्रहमपुरिका करिव ५५ वर्षिय बुधराम महतो र बाचाई महतो विच आज बिहान खेतको सीमाना विवादका क्रममा कोदालो प्रहारबाट घटनास्थलमै बुधराम महतोको मृत्यु भएको हो।
लामो समयदेखि जमिन विवाद रहेका उनीहरु आज विहान खेतमै भेटभएको बेला विवादचर्किएर कोदालो प्रहार गर्दा बुधरामको मृत्यु भएको वडा अध्यक्ष दिपेन्द्र महतोले जानकारी दिए।
वडा अध्यक्ष यादवले उनीहरुविच लामो समयदेखि जमिनको विषयमा मुद्दा–मकदमा चलिरहेको बताए। जमिनकै विवादका कारण आज यस्तो घटना भएको हुनसक्ने अध्यक्ष यादवको भनाइ रहेको छ।
हत्या घटना लगतै बचाई फरार भएका छन्। उनको खोजी भईरहेको प्रहरीले जनाएको छ। प्रहरीले अहिले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। श्व घटनास्थलमै रहेको छ।
मृतक महतोले लामो बिष्णुपुर चौकमा ग्यास सिलिन्डर, बिउबिजन तथा किटनासक विषादीको पसल संचालन गर्दै आएको बताइएको छ। न्युज कारखाना
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अवरोधलाई जारी राख्ने भएको छ । सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र सहकारीबारे छानबिन गर्ने प्रस्ताव राखे पनि कांग्रेसले अस्वीकार गरेको बताइएको छ ।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको अडान राखेको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सत्तापक्ष सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनमा तयार नदेखिएको बताए । कांग्रेस सचेतक सुशीला थिङका अनुसार अहिलेसम्म कुनै पनि सहमति भएको छैन। संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध हुने भएको छ ।
यस अघि आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सहमतिको प्रयास जारी रहेको भन्दै अपराहन्न ४ बजेका लागि सारिएको थियो । न्युज कारखाना
काठमाडौं । प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम कोकिनसहित तीन महिलालाई पक्राउ गरेको जानकारी दिएको हो ।
वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको पेटभित्र लागुऔषध रहेको शंका लागेपछि प्रहरीले प्रहरी अस्पताल लगेर पेटबाट १ किलो २६० ग्राम कोकिन निकालेको थियो ।
यस्तै जेठ २ गते धोबीचौरबाट पक्राउ परेकी युगान्डाकै लिलयान सु्सनसाथबाट १ किलो ३९४ ग्राम कोकिन बरामद भएको थियो। यसैगरी भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पाल जेठ २ गते पक्राउ परेकी थिइन् । उनको साथबाट ३९४ ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनैजना अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको प्रहरीले जनाएको छ । न्युज कारखाना
काठमाडौं । सरकारले फिनल्याण्ड सरकारबाट प्राप्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले जलवायु परिवर्तन अनुकल कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायत स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् ।
त्यस्तै सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ भने न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको प्रवक्ता शर्माले जानकारी दिएकी छन् ।न्युज कारखाना
काठमाडौँ । ‘वडा स्तरीय महिला सञ्जाल’, ‘मेलमिलाप कक्ष’ र ‘कानुनी सहायता’ काठमाडौँ महानगरपालिकाका सिकाइ योग्य काम भएको उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । कोशी प्रदेश, सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिकाकी उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य नेतृत्वको अध्ययन टोलीसँगको छलफलका क्रममा डंगोलले यस्तो बताएकी हुन् ।
‘मेलमिलापकर्ताको शुल्क विवादका पक्षले दिँदा मनोवैज्ञानिक असर देखियो । यसपछि हामीले एउटा मेलमिलाप सत्रको १ हजार ५ सय रुपैयाँ शुल्क महानगरपालिकाले नै तिरिदिएर पक्षहरुले प्राप्त गर्ने सेवा निःशुल्क बनाएका छौँ । यो पनि एउटा अनुकरणीय काम हो ।’ डंगोलले भनिन्, ‘धेरै मानिसहरु भएका कारण अन्य पालिकाका तुलनामा काठमाडौँमा स्वभावैले विवादका संख्या धेरै छन् । हामीले मेलमिलापका माध्यमबाट विवाद समाधान गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।’
भेटका क्रममा खाँदवारी नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक महेश्वरा श्रेष्ठ बज्राचार्यले भनिन्, ‘हामी निर्वाचित भएर आउँदा २९ वटा विवाद दायित्वमा थिए । हामी आएपछि २७ वटा थपिए । अहिले २७ वटा छिनिएका छन् । २९ वटा छिन्न बाँकी छन् ।’ उनले विवादलाई वडाबाट समाधान गर्ने प्रयास गरिएको बताइन् ।
भूगोल, सामाजिक संरचना, शिक्षाको स्तरका कारण पालिकाहरुपिच्छे फरक फरक विवाद हुन सक्छन् । महानगरपालिकाको न्यायिक समितिका सदस्य कुश ढकालले भने, ‘काठमाडौँमा सबै जिल्लाबाट मानिस आउने भएकोले यहाँ सबै खालका विवाद आउने गरेका छन् ।’
छलफलमा खाँदवारी नगरपालिकाका न्यायिक समिति सदस्य उदिम राई, उजुरी प्रशासक टंक डाँगीले खाँदवारी नगरमा दर्ता भएका उजुरी र यसलाई सुल्झाउन गरिएका अभ्यासमा कुरा गर्दै, लेनदेनका विवाद बढ्न थालेको, ज्याला मजदुरी जस्ता विषयमा उजुरीकर्ताले जसका विरुद्ध निवेदन दिनुभएको छ, उनी आउँछु भन्दै नआउने गरेकोले विवाद छिन्न कठिन भएको अनुभव सुनाएका थिए ।
यस्तै कानुनी सल्लाहकार किरण शाक्यले क्षेत्राधिकारका विषयमा समितिहरुका विचमा साझा धारणा निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यस क्रममा महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले, महानगरपालिकाले अबलम्बन गरेका कानुनी अभ्यास र महानगरपालिकाले जारी गरेका ऐनका बारेमा प्रस्तुतिकरण गरेका थिए । यस क्रममा खाँदवारी नगरपालिकाका कानुनी सल्लाहकार शाक्यले कागज धुल्याउने विषयमा सोध्नुभएको प्रश्नको जवाफमा आचार्यले, कागजलाई ४ भागमा बाँडेर धुल्याउने काम भएको बताए । ‘कहिल्यै धुल्याउन नमिल्ने, ५ वर्षमा धुल्याउन मिल्ने, १० बर्षमा धुल्याउन मिल्ने १५ वर्षमा धुल्याउन मिल्ने प्रकृतिको मापदण्डका आधारमा कागज धुल्याउने गरिएको छ ।’ आचार्यको भनाइ थियो ।
छलफलपछि टोलीलाई कानुन तथा मानव अधिकार विभाग, मेलमिलाप कक्ष, कानुनी सहायता कक्ष, सुनुवाई कक्षसहितका स्थानको अवलोकन गराइएको थियो ।
भेटपछि खाँदवारी नगरका प्रतिनिधि मण्डलले अहिलेसम्म जारी गरिएका कानुनहरु, स्थानीय उत्पादनका रुपमा रहेको रुद्राक्षको माला र व्रासलेट तथा सख्खर उपहार दिएका थिए । महानगरपालिकाकातर्फबाट अहिलेसम्म जारी भएका कानुनी संग्रह र विभागीय प्रमुख आचार्यले लेकह्का २ वटा पुस्तक प्रदान गरिएको गरिएको थियो । न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ ।
वैशाख १९ गते मेलाको उद्घाटनपछि कक्षाहरु सुरु भएका थिए । यस चरणमा १ हजार ५७७ जनाका लागि तालिमको कोटा थियो । यसमध्ये १ हजार ५०५ जना तालिममा सहभागी भएका छन् । ३० दिन र १५ दिनको तालिम अवधिमध्ये भोलि १५ दिनको अवधि सकिनेछ । आज र भोलि तालिम सम्पन्न भएका प्रशिक्षार्थीहरुको योग्यता परीक्षा र नयाँ प्रशिक्षार्थीका लागि अभिमुखीकरण सञ्चालन भइरहेको छ ।
दोस्रो चरणको कक्षा ज्येष्ठ ६ गते आइतबारबाट सुरु हुनेछ । यसमा १ हजार १३५ जनाको कोटा छ । यसका लागि १ हजार २६५ जनाको नाम सूचीकरण गरेर फोनमार्फत तालिममा आउन अनुरोध गराइएको छ ।
तालिमामा सहभागी हुनेले ९० प्रतिशत हाजिर अनिवार्य छ । तालिम सुरु गरेर कसैले छोड्न नपाउने व्यवस्था छ । तालिम निःशुल्क हो तर कसैले बिचमै छोडेमा तालिम वापतको शुल्क भुक्तानी गर्नुपर्नेछ ।
निःशुल्क सिपमूलक तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन परेको छ । यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिनुभएको हो । २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब टे«निङ्’ उपलब्ध गराउने लक्ष्यसहित आवेदन माग गरिएको थियो ।
वैशाख १९ गते अगाडि अनलाइनबाट आवेदन दिने ७ हजार ३८२ जनालाई पहिलो प्राथमिकतामा राखेको छौँ । उद्घाटनका दिन टुँडिखेलमै फाराम भर्ने ४ हजार १८२ जनालाई दोस्रो प्राथमिकतामा राखेका छौँ । यसपछि सिप मेलामा आएर आवेदन दिने १३ हजार ९९४ जनालाई तेस्रो प्राथमिकतामा राखेका छौँ । प्रशिक्षणमा बोलाउँदा यही मापदण्डका आधारमा बोलाएका हौँ ।
तालिममा समावेश १० क्षेत्र र ३० पेशासँग सम्बन्धित तालिममध्ये अटो इलेक्ट्रिक, इलेक्ट्रिक कार (इभी), डकर्मी, टाइल एण्ड मार्वल फिटिङ्, इलेक्ट्रिसियन, प्लम्बिङ्, रेफ्रिजेरेसन एण्ड एसी टेक्निसियन र आर्ट एण्ड स्कप्चर ३० दिन अवधिका हुन् ।
यस्तै बारिस्ता, फास्ट फुड कुक, बेकरी, बार टेन्डिङ्, वेटर, डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेट वर्किङ्, सीसीटिभी क्यामरा, मोवाइल रिपेयरिङ्, वेल्डिङ्, टेलरिङ्÷डे«स मेकिङ्, फेसन डिजाइनिङ्, नेल आर्ट, मेक अप आर्ट एण्ड आइलेस, आइलेस आर्ट एक्सटेन्सन, हेयर कट एण्ड स्टायल, सैलुन, स्क्रीन प्रिन्टिङ्, ज्योतिष र ज्योतिष पुरोहित १५ दिन अवधिका तालिम हुन् ।
हरेक वडाबाट १ सय जनालाई सहभागी गराउन फाराम पठाइएको थियो । यसको विवरण अद्यावधिक भइरहेको छ । कार्यक्रम शुभारम्भका दिन (वैशाख १९) टुँडिखेलमा आउनु भएका सहभागीहरूको ठुलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गर्नुभएपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो । त्यो एक दिनमा ४ हजार १८२ जनाले फाराम भर्नुभयो । त्यसदिनभन्दा अगाडि ७ हजार ३८२ जनाको आवेदन प्राप्त भइसकेको थियो । वैशाख २० गतेदेखि ३० गतेसम्म दिइएको फाराम भर्ने अवसरमा १४ हजार ३ सय जनाले फाराम भर्नुभयो । यस्तै अनलाइनबाट १३ हजार ९९४ जनाको आवेदन प्राप्त भएको छ ।
यससँगै समय समयमा विभिन्न पेशा (जुत्ता बनाउने, डकर्मी, मालीलगायत) सँग सम्बन्धित तालिमका लागि गरिएको आव्हानका क्रममा ५ हजार ६८९ जनाले आवेदन दिएका छन् ।
‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिएका छन् । यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हान गरिएको फाराममा ८ हजार ८८५ जनाले आवेदन दिए । जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिएका थिए ।
‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । न्युज कारखाना
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले दुई दिन चलेको केन्द्रीय कमिटीको बैठकले १८ बुँदे प्रस्ताव पारित गरेको छ । आठौँ केन्द्रीय कमिटी बैठकले प्रस्ताव पारित गर्दै लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने सार्वजनिक भएको उल्लेख गर्दै फिर्ताको पहल गर्न माग गरेको हो ।
बैठकबाट पारित प्रस्तावहरू:
१. हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को मिति २०८१ असार १६ देखि २० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न गर्नका लागि पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा सुभेच्छुकहरूमा यो बैठक वैचारिक, राजनीतिक, संगठानिक तथा भौतिक रूपमा योगदान गर्न आह्वान गर्दछ ।
२. कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तिय अपराध गरेको दुःखद घटनाहरू सार्वजनिक भईरहेका छन् । यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानको लागि छानविन समिति गठनगरी दोषिमाथि कडा कारबाही गरियोस् भन्ने माग गर्दछ ।
३. मुलुकका विभिन्न स्थानमा यो वर्ष डढेलो र आगलागीमा परी दर्जनौको संख्यामा सर्वसाधारण जनताको ज्यान गएको छ । कैयन घाइते र घरबार विहिन भएका छन्। यो बैठक आगलागीमा परी मृत्यु हुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्तगर्दै घाइतेहरूको निःशुल्क उपचार र धनजनको क्षति व्यहोरेका पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न सरकार समक्ष मागगर्दछ ।
४. आगामी मनसूनको समयमा सामान्य भन्दा अधिक वर्षाहुने प्रक्षपण गरिएका समाचारहरू प्राप्त हुन थालेका छन्। तसर्थ विषम मौसम पूर्वअनुमानलाई ध्यानमा राख्दै अधिक वर्षा र बाढी, पहिरोबाट हुने जनधनको न्यूनीकरण गर्नका लागि आवश्यक पूर्व तयारीमा रहन यो बैठक सरकारलाई आह्वान गर्दछ र नदी किनारा र बाढीले प्रभावित हुनसक्ने क्षेत्रका जनतालाई सतर्क रहन समेत अपिल गर्दछ।
५. वर्षाको सुरूवात भएपछि मुलुकभर रोपाईको गतिविधि तीव्र रूपमा अगाडि बढ्ने अवस्थामा धान रोपाईको लागि आवश्यक पर्ने बिऊबिजन र मलखाद्को आपूर्ति व्यवस्थाको सुनिश्चित गर्न यो बैठक सरकारसँग माग गर्दछ ।
६. अहिले हाम्रो आर्थिक जीवन दिनानुदिन सङ्कटपूर्ण बन्दै गएको छ । उद्योग व्यवसायहरू धमाधम बन्द हुँदैछन् वा अति कम क्षमतामा चलेका छन् । यसबाट उद्यमीहरूमा निराशा बढ्दैछ, रोजगारीका अवसरहरू पनि दिनानुदिन साँघुरिँदै गएका छन् । वैदेशिक रोजगारी र शिक्षाका लागि बाहिरिने युवाहरूको संख्या बढ्दैछ । उत्पादन मात्रै होइन मागमा पनि ह्रास आएको छ । उपभोक्ताको क्रयशक्ति घट्दैछ । यो बैठक, वर्तमान आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दछ । लगानी र उत्पादनको वातावरण बनाउन, उद्यमहरू डुब्न नदिन प्रभावकारी आर्थिक, वित्तिय तथा मौद्रिक नीतिहरूमार्फत् अर्थतन्त्रको वर्तमान निराशापूर्ण अवस्थामा जिम्मेवारीपूर्वक हस्तक्षेप गर्न सरकारसँग जोडदार माग गर्दछ ।
७. उचित ज्यालाको व्यवस्था गर्दै अनौपचारिक क्षेत्रका श्रमजीवीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा समावेश गर्न तथा श्रम निरिक्षण प्रणालीजस्ता संवैधानिक, कानूनी तथा नीतिगत व्यवस्थालाई प्रभावकारीरुपमा लागू गर्दै श्रमको अवस्थामा सुधार ल्याउन र राष्ट्रिय श्रम आयोग गठनका लागि आवश्यक निर्णय गर्न यो बैठक नेपाल सरकार र सम्बन्धित सबै सरोकारवालासँग जोडदार माग गर्दछ ।
८. नेपाली कच्चा पदार्थमा आधारित उद्योगहरूका लागि लगानीको वातावरण तयार गर्न, औद्योगिक विकासलाई तीब्रता दिन व्यवस्थापनमा सुधार गर्दा नाफामा जान सक्ने सार्वजनिक संस्थानहरूलाई सुचारु गर्न, औद्योगिक क्षेत्रको पूर्वाधार विकासमा तदारुकता देखाउन तथा लगानीमैत्री कानून एवम् छिटो–छरितो कार्यबिधि निर्माण गर्न यो बैठक सरकारसँग माग गर्दछ । वित्तीय सुविधामा निश्चित व्यावसायिक घरानाहरूको मात्र पहुँच हुने वर्तमान वित्तीय एकाधिकारको स्थितिको अन्त्य गरी अधिकतम रोजगारी सृजना गर्ने साना तथा मझौला व्यवसायीहरूलाई प्रोत्साहन गर्ने नीति तय गर्नुका साथै नेपालमा आयात हुने तयारी माल÷बस्तुमा भन्सार कमगर्ने तथा कच्चा पदार्थको आयातमा भन्सार दर बढी हुने व्यवस्थाहरूको अन्त्य गरी उत्पादनमैत्री कानूनी ब्यवस्था गर्न पनि यो बैठक माग गर्दछ ।
९. हाम्रो पार्टीले विभिन्न समयमा देशका आर्थिक तथा राष्ट्रिय महत्वका विविध विषय र समस्याहरू समाधान गर्नका लागि पार्टीको दृष्टिकोणसहितका मागपत्रहरु प्रधानमन्त्री समक्ष प्रस्तुत गरेकामा ती मागहरुको सम्बोधन गरी देशको आर्थिक अवस्थालाई सहजतातिर लैजान कुनै प्रयास नगरेकोप्रति यो बैठकको गंभीर रुपले ध्यानाकर्षण भएको छ । यो बैठक देशका समस्याहरु समाधान गर्नका लागि हाम्रो पार्टीले सम्माननीय प्रधानमन्त्रीलाई पेश गरेका मागपत्रहरुको कार्यान्वयन गर्ने दिशामा गंभीर बन्नका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
१०. प्यालेस्टायनी भूमि गाजा क्षेत्रमा ईजरायलले गरेको नृशंस आक्रमणप्रति यो बैठक निन्दा गर्दछ । यो बैठक प्यालेस्टायनी जनताको भूमि, स्वतन्त्र राष्ट्र र सार्बभौमिकताको रक्षाको लागि संयुक्त राष्ट्रसंघद्वारा पारित प्रस्तावहरुप्रति समर्थन जनाउँदै उक्त क्षेत्रमा यथाशिघ्र युद्धविराम गर्न आह्वान गर्दछ । त्यहाँ भईरहेको मानवीय संकट समाधान गर्न र मध्य पूर्व क्षेत्रमा दिगो शान्ति स्थापना गर्नका लागि आवश्यक पहल गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दछ ।
११. ईजरायलमा अध्ययन गर्न गएका नेपालका बिपिन जोशी लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने कुरा सार्बजनिक भएको छ । यो बैठक उहाँलाई सकुसल मुक्तगर्न सम्बन्धित अधिकारीहरू समक्ष अपिल गर्दछ र निजलाई सकुसल नेपाल फिर्ता ल्याउन पहल गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्दछ ।
१२. रूस–युक्रेन युद्ध लम्बिँदै र जटील बन्दै गएको, हतियारको अत्यधिक प्रयोग बढ्दै गएको र धनजनको क्षति त्यही रूपमा बढ्दै गएको छ । त्यसले आर्थिक विकासमा बाधा, खाद्यान्नको अभाव, महङ्गी, विश्वव्यापारमा तथा रोजगारीमा गिरावट, इन्धनको मूल्यमा बृद्धिजस्ता नकारात्मक प्रभाव बढ्दै गएका छन् । यो बैठक युद्धरत मुलुकहरू तथा यस युद्धमा प्रत्यक्ष—अप्रत्यक्षरुपले संलग्न मुलुकहरूलाई संयमित हुन र वार्ताद्वारा समस्याको समाधान गर्न अपील गर्दै त्यसमा प्रभावकारी भूमिका खेल्न संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संस्थाहरूलाई आह्वान गर्दछ ।
१३. अवैध बाटोबाट रूसी सेनामा केही नेपाली युवाहरू भर्ती हुन पुगेको खबरहरू प्राप्त भएका छन् । रोजगारीका नाममा यस्ता व्यक्तिहरू अन्तर्राष्ट्रिय मानवतस्करको चंगुलामा परेर युद्धको मैदानमा पुगेका छन्। यस्ता होनहार युवाहरु मध्ये केहीको मृत्यु भएको छ भने केही घाइते र वेपत्ता भएका छन । यो बैठक नेपाली युवालाई रूसी सेनामा भर्ती गरिने कार्य रोक्न, युद्धमा मारिएका र घाइतेहरुलाई क्षतीपूर्ति दिलाउन, रूसी सेनामा फसेका युवालाई स्वदेश फिर्ता गर्न, वेपत्ता भएकाहरुको खोजी गर्न र गैर कानूनी रूपमा रूसी सेनामा भर्ती गराउने दलालहरुलाई कारबाहीको दायरामा ल्याउन सरकार समक्ष मागगर्दछ ।
१४. जलवायु परिवर्तन, वातावरणीय सङ्कट, शस्त्रास्त्र होडवाजी, सूचनामा एकाधिकार, युद्ध तथा द्वन्द्वले सिर्जना गरेको विस्थापन तथा शरणार्थी सङ्कट, अभाव र भोकमरीजस्ता आज दुनियाँले व्यहोरिरहेका समस्याहरूको मुख्य कारण आजको विश्व पुँजीवादी साम्राज्यवाद हो र त्यसका दुस्परिणामहरूले मानवजातीको भविष्य अनिश्चित बन्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै त्यसका विरूद्ध संसारभरीका क्रान्तिकारी, प्रगतिशील तथा न्यायप्रेमी जनताले चलाएका सबैखालका अभियान, आन्दोलन तथा प्रतिरोधसँग यो बैठक ऐक्यबद्धता प्रकट गर्दछ ।
१५. श्रमजीवी शिक्षक कर्मचारीहरुको विचार र राजनीतिक स्वतन्त्रताको हकमा कुण्ठित गर्नेगरी कुनै पनि निर्णय नगरियोस् भन्ने कुरा यो बैठक सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छ । विचारमा स्वतन्त्रता तथा सेवा प्रवाहमा निष्पक्षता तटस्थता र गुणस्तरीयता’ को नीतिका साथ शिक्षक कर्मचारीहरुको अधिकारलाई सुनिश्चित गर्न यो बैठक सम्बधित पक्षसँग माग गर्दछ ।
१६. विशेषगरी तराई मधेसका विभिन्न क्षेत्रहरूमा बसोबास गर्ने विभिन्न समुदायबीच असहिष्णुता, वैमनश्यता फैलाएर द्वन्द सिर्जना गर्ने कार्य भैरहेको छ । यो बैठक यसप्रकारका द्वश, अशहिष्णुता र वैमनश्यता फैलाउने कार्यलाई कडाईका साथ रोक लगाउने, कार्वाहीको दायरामा ल्याउने र अशुरक्षित समुदायलाई सुरक्षाको प्रत्याभूति दिलाउने कार्यमा सरकार अग्रसर रहोस भन्ने माग गर्दछ ।
१७. ताप्लेजुब जिल्लामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुक्कुमलुब÷पाथीभारा क्षेत्रमा केबुलकार एक कम्पनीलाई राख्न दिने शर्तमा त्यहाँका आदिवासी लिम्बूहरुको मुन्दुमी पवित्रस्थल, जैविक विविधता, महत्वपूर्ण जडिबुटीको विनास तथा राष्ट्रिय फूल लालीगुँरासको लाखौं रूखहरू धमाधम काटिरहेको छ । यस जैविक विविधता र मुन्दुमी स्थल संरक्षणको लागि लिम्बूजन्य संघसंस्थाहरूले खबरदारी र सो विनासलाई रोक्ने प्रयत्न गरी रहेका छन्। यो बैठक पवित्र मुन्दुमी स्थलहरूको संरक्षणको आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्दछ र तत्काल उक्तकार्य रोक्न तथा उक्त क्षेत्रलाई संरक्षण र सुरक्षित गर्न सरकारसँग माग गर्दछ ।
१८. खाद्य अधिकार तथा खाद्य संम्प्रभुता सम्बन्धि कानून र नियमावलीलाई तत्तकाल कार्यान्वयन गर्न, दुद्य, उखु, तरकारी तथा अलैची किसानहरूका जायज माग तुरून्त पूरा गर्न यो बैठक सरकारसँग जोडदार रूपमा माग गर्दछ । न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय सभाको बैठक अपराह्न ४: ३० बजे बस्ने भएको छ। यसअघि अपराह्न १: १५ बजेका लागि तय भएको बैठक साढे ४ बजेका लागि सारिएको हो ।
बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठक सारेको सूचनामा उल्लेख छ । न्युज कारखाना
काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दैलेख नारायण नगरपालिका-९ घर भई काठमाडौं तार्केश्वर नगरपालिका लोलाङ बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार र गोरखा पालुङटार नगरपालिका-८ घर भई काठमाडौं टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय आयुष भन्ने आकाश बाबु विक रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-६ बौद्ध पिपलबोटबाट पक्राउ गरेको हो ।
उनीहरूले युएइ दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी कुवेत पुर्याई पीडितलाई घरेलु काममा लगाउनुको साथै शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएको खुल्न आएको छ । पीडितको आफन्तबाट प्राप्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट कुवेतस्थित नेपाली राजदुतावाससँगको समन्वयमा पीडितलाई वैशाख २७ गते नेपाल फिर्ता ल्याइएको थियो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत प्रहरीले खोजी गरिरहेको छ । न्युज कारखाना