२०८३ असार ४
२०८३ असार ४

 

सर्लाही । सर्लाहीमा रहेका पुरातात्त्विक, धार्मिक र पर्यटकीय महत्त्वका स्थलहरू ओझेलमा परेका छन् । स्थानीय तहको बेवास्ताका कारण यी क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण कम हुँदै गएको छ । जिल्लामा विविध महत्त्व बोकेका पर्यटकीय स्थलहरु भएपनि अधिकांश पर्यटकीय स्थलको संरक्षणमा स्थानीय तहको ध्यान पुग्न सकेको छैन ।

 

पर्यटकीय स्थलको विकास तथा प्रचार प्रसारका लागि बर्सेनी बजेट विनियोजन भएपनि स्थानीय तह आफ्नो क्षेत्रमा रहेका पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धनमा चुकेका छन् । स्थानीय तहले संरक्षणमा चासो नदिँदा पर्यटकीय स्थल ओझेलमा पर्दै गएको स्थानीय बताउँछन् ।

 

मधेश प्रदेश कै अग्लो स्थानमा रहेको पर्यटकीय स्थल राजारानी थूम्कोमा पछिल्लो समय पर्यटक जानै छाडेका छन् । जिल्लाको उत्तरपूर्वी क्षेत्रस्थित ईश्वरपुर नगरपालिका १२ घारीबथानमा रहेको थूम्को प्रचार प्रसारको अभावमा पछिल्लो समय ओझेलमा पर्न थालेको छ ।

 

कुनै समय युवायुवती समूहमा वनभोज खाने र मनोरञ्जनका लागि पुग्ने थूम्को स्थानीय तहले नै संरक्षणमा चासो नदिँदा ओझेलमा परेको त्यहाँका स्थानीय बताउँछन् । थूम्कोमा धेरै पहिले राजारानी आएर बसेका कारण यसको नाम राजारानी थुम्को कायम गरिएको स्थानीय बूढापाका बताउँछन् ।

 

यस्तै अर्को पर्यटकिय महत्त्व बोकेको हरिपुर नगरपालिका ४ फरहदवास्थित ऐतिहासिक एवम् धार्मिक महत्त्वको जंगमुक्तेश्वर तथा हिरण्य गर्भेश्वर महादेवको जोर लिंगसहितको मन्दिर पनि ओझेलमा पर्दै गएको छ । राणा शासनका तत्कालीन श्री ३ जंगबहादुरले देहत्याग गरेको स्थानमा वीर शमशेरले बनाएको मन्दिर प्रचार प्रसारको अभावमा दर्शनार्थी पुग्न छाडेका छन् । यहाँ पनि स्थानीय तहको बेवास्ताका कारण यो मन्दिर ओझेलमा परेको छ ।

 

यी क्षेत्रको संरक्षण एवम् व्यवस्थापनमा स्थानीय तह जुटे पर्यटनको आकर्षक क्षेत्र बन्ने सम्भावना छ । यसका लागि स्थानीय तहसहित प्रदेश सरकार, पर्यटन मन्त्रालय र पुरातत्व विभागले संरक्षण र प्रचारमा जोड दिनु आजको आवश्यकता बनि सकेको छ ।न्युज कारखाना

 

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा कार्यालय खडा गरि झरेको कपाल पलाउँछ भन्दै विज्ञानलाई चुनौती दिइरहेको छ, सप्तऋषि आर्युवेद । सप्तऋषिले दुनियाँलाई बेकुफ बनाउँदै प्रचार प्रसारमा व्यस्त छन् । श्रीकेश तेलका नाममा झरेको कपाल पलाउँछ भन्दै विज्ञापन गरिरहेको छ ।

सप्तऋषि आर्युवेदले केश सम्बन्धी मात्र काम गर्ने मात्र नभई छाला तथा सौन्दर्य सम्बन्धी, पेट सम्बन्धी, मलद्वार, मोटोपन, सुगर, कोलेस्ट्रोल, प्रेसर जस्ता दीर्घरोगहरु, हाड जोर्नी, यौन तथा शारीरिक दुर्बलता, पिसाब सम्बन्धी समस्याको उपचार गर्ने भन्दै प्रचार गरिएको पाइन्छ ।

सप्तऋृषि आयुर्वेदले खुलेआम सर्वसाधारणहरुलाई ठगी गरिरहेको छ तर उपभोक्ता हकहितका लागि खुलेका दर्जनौँ उपभोक्तावादी संघ संस्था, उपभोक्तासँग सरोकार राख्ने सरकारी निकायहरू कानमा तेल हालेर बसिरहेका छन् ।

यसैलाई लिएर केहि व्यक्तीले प्रश्न पनि गरेका छन् । राम दुंगाना भन्छन्- ‘विश्वका अर्बपती धनाढ्यहरू धेरैको कपाल छैन । के उनीहरूले प्राकृतिक रुपमै कुनै प्रोडक्ट लगाएर कपाल उम्रिएको थाहा पाएमा भनेजति पैसा तिरेर त्यस्ता सामान किन्ने थिएनन् होला र ?’

यस्तो छ उनको तर्क
टाउँकोको कपाल झरेर टाउँको कपाल बिहिन भएकाहरुको कपाल उमार्ने भनेर प्रचार गरिएको श्रीकेश तेलले गरेको विज्ञापनमा जस्तो कसैको पनि वास्तविक रुपमा कपाल पलाएको छैन । केही मानिसहरुले आफ्नो टाउँकोमा उम्रिएका दश-बीस वटा मसिना रौं देखाएर पनि प्रचार गरिरहेका छन् । त्यो रौंहरु यत्तिकै पनि आउँछ । त्यस किसिमका कपाल बढेर खासै ठूलो पनि हुँदैन र मानिसको सौन्दर्यमा पनि खासै फरक पर्दैन ।

संसारका विकसित-धनी देशमा कपाल पुनः उमार्न सकिन्छ कि भनेर ठूला कम्पनी र बिज्ञहरुले लामो समय खर्चिएर गहिरो अनुसन्धान पनि गरेकै होलान् । किनकी कपाल उमार्न सकिने तेल,क्रिम या खाने औषधी बनाउँन सकेमा त्यस्तो product बनाउँने, ब्यक्ति या कम्पनी रातारात अर्बपती हुने पक्का छ । किनकी मानिसहरु कपाल नभएर गुमेको सौन्दर्य र आत्मविश्वास फर्काउँन जति महँगो भएपनी त्यस्ता product किन्छन् नै ।

विश्वका अर्बपती धनाढ्यहरू धेरैको कपाल छैन । के उनीहरूले प्राकृतिक रुपमै कुनै product लगाएर कपाल उम्रिएको थाहा पाएमा भनेजती पैसा तिरेर त्यस्ता product किन्ने थिएनन् होला ? कपाल सजिलै उम्रिने भरपर्दो product बजारमा अहिलेसम्म बनेको छैन । त्यसैको विकल्पमा अनुसन्धानकर्ताहरुले कपाल प्रत्यारोपण प्रयोगमा ल्याएका हुन् । यो चाँहि कपाल उमार्न लगभग सफल भएको विधी हो । कपाल प्रत्यारोपण गरिएका मानिसहरुको कपाल उम्रिएपछि before-after भनेर कपाल रोप्नु अघि र कपाल पलाईसकेको अवस्थामा hair transplant गर्नेहरुले विज्ञापन गर्छन् ।

श्रीकेश तेलले अहिले सम्म त्यस्तो विज्ञापन कहिकतै गरेको छ ?

मेरो कपाल झर्न शुरु भएपछि श्रीकेश तेलको जस्तै विज्ञापन देखेर धेरै पैसा यस्ता बेकारको product किनेर सक्काएँ । म ठगिएँ । म जस्तै ठगिनु होला भनेर सचेत गराएको हुँ । श्रीकेश तेल लगाएका कोही आफ्ना नजिकका र चिनजानका मानिसको बाक्लै कपाल आएको छ भने मात्र प्रयोग गर्नु होला । नभए टाउँकोमा पलाएको दुईचार वटा रौंले मानिसको सौन्दर्यमा खासै ठूलो फरक पर्दैन । यस्तो दश-बीस वटा रौं टाउँकोमा हुनु भन्दा चिल्लै भएको राम्रो बरु ।

अब बुझौं, वास्तवमा कपाल किन झर्छ ?

डा. कल्याण सुवेदीका अनुसार कुनै पनि दिनमा १०० ओटा जति कपाल झर्ने गर्छ । यदि तपाईंको कपाल लामो छ र तीन दिनमा एक पटक नुहाउनु हुन्छ भने नुहाएर भ्याउंदा करिब ३०० जति कपाल बाथरूममा देखिनुलाई सामान्य मान्नुपर्छ । यी झरेका कपालको जराबाट पुन कपाल पलाउन थाल्छ । तर, कसैको कपाल धेरै झर्ने तर थोरै मात्र पलाउन थाल्ने हुन्छ । यो प्रक्रिया महिलामा भन्दा पुरुषमा बढी देखिन्छ ।

उनी भन्छन्- “प्राकृतिक रुपमा पुरुषमा यो प्रक्रिया २० वर्षमा शुरु हुन्छ भने महिलामा ३० वर्षमा शुरु हुन्छ । प्राय कपालको संख्या लगभग ५०% जति कम नहुँदासम्म हामीलाई खासै चिन्ता महसुस हुँदैन वा हामीले पत्तो पाउदैनौ । कपाल झर्ने कारण धेरै हुन सक्छ । ति कारणहरुलाई मुख्यतय दुई भागमा विभाजित गरिन्छ । पहिलो scarring (कपालको जरा नष्ट भएको) र दोश्रो non-scarring (कपालको जरा नष्ट नभएको) । Scarring निकै कमलाई हुने गर्छ र यस समस्याबाट कपाल झरिसकेको भए उपचार सम्भव छैन । लगभग ८०/९०% को non-scarring हुने गर्छ र यसको उपचार छ ।”

कपाल झर्ने समस्याको उपचार के हुन् ?

डा. सुवेदी भन्छन्- ‘कपाल झर्ने प्रक्रिया प्राकृतिक हुनाले कपाल झर्न सम्पूर्ण रुपमा रोक्न सकिन्न । औषधिहरुले मुख्य गरी दुई किसिमले काम गर्छ (एक) कपाल झर्न कम गर्ने, (दुई) जरा जिउँदो रहेको तर कपाल उम्रन छाडेकोलाई फेरी सक्रिय बनाउने । तल बताइएका औषधि र विधिहरु जति छिटो शुरु गर्यो उति नै राम्रो परिणाम देखिन्छ । अर्थात् टाउको टक्लु हुनुअघि नै शुरु गर्दा राम्रो हुन्छ ।’

यदि अचानक टाउकाको बाहेक आँखी भौं र शरीरको अन्य भागमा पनि रौँहरु एकै पटक झर्न शुरु गरेको छ भने पहिला Biotin vitamin शुरु गर्ने । १ महिना दिनहु खाँदा झर्न रोकिएन भने तुरुन्त डाक्टरकोमा जाने । झर्न रोकियो भने ३/४ महिना थप खाने । टाउको चिलाउने पनि गर्छ भने तुरुन्तै डाक्टरकोमा जाने । Biotin खाँदै गर्दा रगतमा अन्य केहि कुराको पनि कमि छ कि भनेर जाँच गर्दा राम्रो हुन्छ ।

Androgenetic hair loss को लागि पहिला Minoxidil foam ५% (Rogaine brand अमेरिकामा हुनुहुन्छ भने) दिनको एक पटक कपालमा लगाउने । यसले कपाल थप झर्नबाट रोक्छ र केहि मात्रामा कपाल बढ्न सक्छ । Minoxidil संगै वा छुट्टै Finasteride औषधि खान सकिन्छ । यो औषधि पुरुषको लागि मात्र हो । डाक्टरको prescription बिना खानु हुँदैन र महिलाले खानै हुँदैन (फेरी दोहोर्याउँछु, महिलाले finasteride खान हुँदैन) ।

माथि भनिएको औषधि ४/५ महिना प्रयोग गर्दा कुनै राम्रो परिणाम नभेटिए Laser Energy प्रयोग गर्न सकिन्छ । हप्ताको २ दिन घरमै वा डाक्टरको अफिसमा गएर यो laser प्रयोग गर्न सकिन्छ । लामो समयसम्म कपाल उम्रन छाडेको तर नमरेको जरालाई laser energy ले पुन सक्रिय बनाउँछ । विदेशतिर हाम्रो शरीरको आफ्नै रगतबाट platelet (रगतको एक तत्व) छुट्याएर निकालिएको platelet rich plasma कपालको जरामा सुईद्वारा लगाईन्छ जसले कपाल उम्रन छाडेको जराबाट पुन कपाल पलाउन थाल्छ । यसो गर्दा पनि भएन भने hair transplant गर्न सकिन्छ ।

Alopecia areata को लागि Triamcinolone, Cyclosporone, Anthralin जस्ता लगाउने औषधि प्रयोग गर्नुपर्छ । अन्य खाने औषधि र लगाउने इन्जेक्सनहरु पनि हुँन्छन् । यी सबै औषधि डाक्टरको प्रत्यक्ष निगरानीमा प्रयोग गर्नु पर्दछ ।

Telogen effluvium को लागि पहिला कुन रोग वा अवस्थाको वा कुन तत्वको कमीले गर्दा भएको हो पत्ता लगाउनु पर्छ र त्यस कारक तत्वको उपचार गर्नुपर्छ । रोग पत्ता लगाउन रगत जांच गर्नुपर्छ । प्राय CBC, हर्मन (थाईरैड, टेस्टसटरोन) को मात्रा, ANA, Iron आदिको जांच गरिन्छ । अरु कसैलाई तपाईंको र कपाल झर्ने समस्या नभएको व्यक्तिको मुट्ठीले कपाल तान्न लगाउनुस् । यदि तपाईंको धेरै निस्क्यो भने तपाईंलाई यो समस्या हुन सक्छ । सामान्यतय १० ओटा कपाल एकै पटक तान्दा १ भन्दा धेरै निस्कनु राम्रो होइन । ३ भन्दा धेरै निस्कियो र कपाल झर्ने समस्या भैरहेको छ भने तुरुन्त डाक्टरकोमा जानु पर्छ ।

के तातो पानीले नुहाउँदा कपाल झर्छ ?

चिसो पानी र चिसो मौसम हुने ठाउँमाभन्दा तातो पानी र तातो हावा हुने ठाउँमा कपाल धेरै झर्न सक्छ तर यसरी झरेको कपाल पुन उम्रिन्छ । तातो पानीले नुहाउन रोक्नु पर्दैन ।

खाडीमा आएकाको धेरैको कपाल झर्ने गर्छ, कारण के होला ?

कपाल झर्न शुरु हुने उमेर र खाडी जाने उमेर लगभग उही हुने हुनाले नेपाल हुँदा नझरेको तर त्यहाँ गएपछि धेरै झर्न शुरु भएको महसुस हुन सक्छ । खाडीको तातो हावा पानी नेपालको पहाडी क्षेत्रभन्दा हल्का फरक हुँदा सामान्य रुपमा झर्ने कपाल अलि छिटो झर्ने पनि गर्छ । तातो हावा पानी भएकै कारण झरेको भए पुन पलाउँछ । अन्य कारण हो भने माथि भनेको जस्तो गर्नुपर्छ ।

के खुइली सकेको तालुमा पनि hair transplant गर्न मिल्छ ?

धेरैको मिल्छ र transplant गरेको मध्ये धेरै कपालहरु वर्षौंसम्म रहन्छ । यसरी transplant गर्ने रौँ आफ्नै टाउकाको कानभन्दा ठिक माथि र टाउकाको पछाडी तिरबाट निकालेर तालुमा वा अगाडी transplant गरिन्छ । आफ्नै शरीरको रौँको जरा हुनाले transplant गरेपछि शरीरले कुनै reaction देखाउंदैन र reaction हुन नदिने कुनै औषधि खानु पनि पर्दैन ।

न्युज कारखाना

काठमाडौँ । इरानमा शनिबार सात जनालाई फाँसी दिइएको छ । जसमा दुई महिला पनि छन् । इरानमा मे महिनामा अहिलेसम्म कम्तीमा ५० जनालाई फाँसी दिइएको छ ।

फाँसीमा झुण्डिएकामध्ये एक महिला र पाँच पुरुष लागुऔषध सम्बन्धी अपराधमा पक्राउ परेका छन् ।

यसै क्रममा मृत्युदण्डको सजाय पाएकी अर्की महिला पनि श्रीमानको हत्या गरेको अभियोगमा दोषी ठहर भएकी छन् । इरानमा यो वर्ष अहिलेसम्म २ सयभन्दा बढीलाई मृत्युदण्ड दिइएको छ । यो पछिल्लो दशकमा सबैभन्दा ठूलो संख्या हो ।

इरानी र्‍यापर टूमाज सालेही पनि हालैका दिनमा फाँसी दिइएकामध्ये एक छन् । सालेही इरानी सरकारविरुद्ध गाएका गीतबाट चर्चामा आएका थिए ।न्युज कारखाना

काठमाडौँ । बलिवुड अभिनेता अनिल कपुर फिल्म हाउसफुल सिरिजको पाँचौं फिल्ममा नहुने भएका छन् । मिडिया रिपोर्टका अनुसार उनले पारिश्रमिकका कारण यो फिल्म छोडेको बताइएको छ ।

योसँगै अर्जुन रामपाल १४ वर्षपछि यो फ्रान्चाइजीको हिस्सा बन्न सक्ने खबर पनि आएको छ । उनले फ्रेन्चाइजको पहिलो फिल्म हाउसफुलमा मेजर कृष्ण रावको भूमिका निभाएका थिए ।

यद्यपी निर्माताहरुले यी दुई कुराको आधिकारिक पुष्टि भने गरेका छैनन् ।

मिड डे रिपोर्टका अनुसार अनिल कपुर र फिल्मका निर्माता साजिद नाडियाडवालाबीच पारिश्रमिकको विषयमा कुरा नमिलेको बताइएको छ । जसका कारण अनिलले यो फिल्म छोडेका छन् ।

यो परिवर्तनपछि निर्माण पक्षले फिल्ममा नाना पाटेकरको चरित्रलाई पुन: लेख्न थालिएको छ । वास्तवमा, यसअघि फिल्ममा अनिल कपूरसँग उनको केमेस्ट्री देखिने थियो । बलिउड हंगामाको रिपोर्ट अनुसार अर्जुन रामपाल यो फ्रेन्चाइजीमा सामेल हुन सक्छन् ।

कास्टिङमा यति ठूलो परिवर्तन भए पनि हाउसफुल ५ को सुटिङ शेड्युलमा कुनै परिवर्तन नभएको रिपोर्टमा उल्लेख छ । फिल्मका निर्देशक तरुण मनसुखानीले अगस्टदेखि बेलायतमा छायांकन सुरु गर्ने भएका छन् । यो फिल्म यस वर्ष दीपावलीको अवसरमा रिलिज हुने भएको थियो । तर अब यो २०२५ मा रिलीज हुनेछ ।

निर्माताहरूले एक विज्ञप्ति जारी गर्दै भनेका थिए- हाउसफुल फ्रेन्चाइजको ठूलो सफलताको श्रेय दर्शकहरूलाई जान्छ । हाउसफुल ५ को कथा एकदमै फरक छ र जनतालाई पक्कै पनि मन पर्नेछ । यसलाई उत्कृष्ट भिएफएक्स पनि चाहिन्छ, जसका कारण रिलीज मिति विस्तार गरिएको छ। फिल्म ६ जुन, २०२५ मा थिएटरहरूमा रिलिज हुनेछ । न्युज कारखाना

काठमाडौँ । नेपाल अभ्यास खेलमा विन्डवार्ड्स भोल्क्यानोजसँग तेस्रो खेलमा पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा विन्डवार्ड्सले नेपाललाई ६७ रनले पराजित गरेको हो । विन्डवार्ड्सले दिएको २०६ रनको लक्ष्य पछाएको नेपालले १७.२ ओभरमा अल आउट हुदै १३८ रन मात्र बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५३ रन बनाए भने असिफ सेखले २३ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गर्दै विन्डवार्ड्स भोल्क्यानोजले २० ओभरमा २०५ रन बनाएको थियो ।

यो हारसँगै नेपालले ३ खेलको सिरिज भने २-१ जितेको छ । विश्वकपको तयारीका लागि सेन्ट भिनसेन्ट पुगेको नेपाली टिम अब अमेरिकाको हस्टन फर्किने तालिका रहेको छ । हस्टनमा नेपालले २२ मे सम्म प्रशिक्षण गर्ने भएको छ । त्यसपछि नेपालले अमेरिका र क्यानडासँग विश्वकप अघि अभ्यास खेल खेल्ने भएको छ ।

आइसीसीले  सार्बजनिक गरेको तालिका अनुसार नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।न्युज कारखाना

काठमाडौँ । जर्मनी बुण्डेसलिगामा बायर लिभरकुसेनले अपराजित रहदै सिजनको समाप्त गरेको छ ।

गएराती सम्पन्न सिजनको लिगको अन्तिम खेलमा लिभरकुसेनले अगस्बर्गलाई २-१ गोल अन्तरले पराजित गर्दै सिजनमा अपराजित रहेको हो । यस सिजनमा अपराजित रहदै पहिलो पटक लिभरकुसेनले बुण्डेसलिगाको उपाधि जितेको छ ।

लिभरकुसेन यसअघि ५ पटक उपविजेता बनेपनि लिगको उपाधि पहिलो पटक जितेको हो ।

लिभरकुसेन यस सिजनमा खेलेका सबै ५१ खेलमा अपराजित रहेको छ । त्यस्तै जर्मनी लिगमा भने लिभरकुसेनले ३४ खेलमा २८ जित र ६ बराबरी खेलेको छ । जर्मनी लिगमा लिभरकुसेनले ८९ गोल गर्यो भने २४ गोल खाएको छ ।

लिभरकुसेनले यस सिजनमा अझै दुई ट्रफी जित्न सक्ने देखिएको छ । लिभरकुसेन अब मे २३ मा युरोपा लिगको फाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्ने छ भने मे २५ मा जर्मनीको डिएफबी पोकलको फाइनलमा एफसी काइसेरस्लाउटर्नसँग खेल्ने तालिका रहेको छ ।
न्युज कारखाना

काठमाडौँ । फिल फोडेन यस सिजनको प्रिमियर लिगको उत्कृष्ट खेलाडी बनेका छन् ।

म्यानचेस्टर सीटी यस सिजनको लिगको उपाधि जितको नजिक रहेको बेला फोडेन यस सिजनको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । फोडेनले यस सिजनको लिगमा १७ गोल गरेका छन् भने कुल २५ गोलमा योगदान गरेका छन् ।

आइतबार हुने प्रिमियर लिगको अन्तिम खेलमा म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडलाई पराजित गरेमा लिगको उपाधि जित्ने छ ।

प्रिमियर लिगको उत्कृष्ट खेलाडीको सूचीमा फोडेनसहित म्यानचेस्टर सिटीकै इर्लिंग हालाण्ड, आर्सनलका मार्टिन ओडेगार्ड र डेकन राइस, लिभरपुलका भिर्गिल भान डाइक, न्यूक्यासलका एलेक्जेन्डर इसक, एस्टन भिल्लाका ओली वाटकिन्स तथा चेल्सीका कोले पाल्मर दौडमा थिए ।

चेल्सीका पाल्मर यस सिजनको उत्कृष्ट युवा खेलाडी घोषणा भएका छन् । न्युज कारखाना

काठमाडौँ ।  रोयल च्यालेन्जर्स बैंगलुरु इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले पराजित गर्दै प्लेअफमा पुगेको हो ।

बैंगलुरुले दिएको २१९ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ७ विकेट गुमाउदै १९१ रन बनाएपछि खेल बैंगलुरुले २७ रनले जितेको थियो । चेन्नईले प्लेअफमा स्थान बनाउन २०१ रन बनाउनुपर्नेमा चेन्नई सो रन बनाउन असफल भएको थियो ।

त्यसपछि बैंगलुरु समान १४ अंक भएपनि रनरेटका आधारमा प्लेअफमा छानिएको थियो ।

योसँगै यस सिजनको आइपिएलमा प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ ।  जसमा कोलकोता, राजस्थान, सनराइजर्स र बैंगलुरु रहेका छन् । कोलकोता अंक तालिकामा शिर्ष स्थानमा कायम रहेको छ भने बैंगलुरु चौथो स्थानमा रहने पक्का भएको छ ।  अब आज हुने अन्तिम खेलले दोस्रो र तेस्रो स्थानको टुंगो लगाउने छ ।

आइपिएलमा प्लेअफअघिका अन्तिम दुई खेल आज हुदै छन् ।  आज सनराइजर्स हैदरावाद र पञ्जाव तथा कोलकोता र राजस्थान खेल्दै छन् । न्युज कारखाना

काठमाडौँ । इजरायली सेनाले गाजामा तीन इजरायली बन्धकहरूको शव फेला पारेको छ । तीमध्ये एक केटीको शव पनि छ, जसलाई हमास लडाकुहरूले गाजाको सडकमा तानेर परेड गरेको थियो । नोभेम्बर २०२३ मा सेनाले यी बालिकाको काटिएको टाउको फेला पारेको थियो ।

युवतीको पहिचान इजरायली मूलकी जर्मन शनि लुकको रूपमा भएको थियो । २२ वर्षीय शनि ६ अक्टोबर २०२३ मा आयोजित नोभा म्युजिक फेस्टिभलमा सहभागी हुन आएकी थिइन् । यहाँ ७ अक्टोबरको बिहान, हमास लडाकुहरूले आक्रमण र गोलीबारी गरेर धेरै मानिसहरूलाई बन्धक बनाएका थिए ।

समाचार एजेन्सी एपीका अनुसार अन्य दुई शव २८ वर्षीय अमित बुस्किला र ५६ वर्षीय इत्जाक गेलेर्न्टरको रूपमा पहिचान गरिएको छ । तीनै जना आफ्नो ज्यान जोगाउन म्युजिक फेस्टिभबाट भागेका थिए तर हमास लडाकुहरूले समातेका थिए ।

इजरायली सेनाले गाजाको कुन क्षेत्रमा शव फेला परेको बताएको छैन । अहिले रफाह क्षेत्रमा सेनाले आक्रमण गरिरहेको छ । सेनाले रफाह क्षेत्रमा बन्धकहरूलाई कब्जामा लिएको सूचना प्राप्त भएको बताएको छ । उनीहरुको उद्दारका लागि सो क्षेत्रमा अभियान चलिरहेको छ ।

अक्टोबर ७ मा भएको आक्रमणमा २५३ जनालाई बन्धक बनाइएको थियो । तीमध्ये करिब १३० इजरायली नागरिक अझै हमासको बन्दीमा छन्। नोभेम्बर २०२३ मा एक हप्ता लामो युद्धविराम थियो । यस क्रममा धेरै बन्धकहरूलाई रिहा गरियो । त्यसयता युद्धविरामका लागि विभिन्न प्रयासहरु भएपनि सफलता भने पाउन सकेको छैन ।न्युज कारखाना

काठमाडौँ । प्रमुख चार दलबीच सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदल गठन गरिएको छ ।

संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् । छानबिन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र आजको संसद् बैठक सहजरूपमा अघि बढ्ने विश्वास गरिएको छ ।

छानबिन समिति गठन गर्ने विषयमा शनिबार छलफल भएको थियो । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरीलगायतसँग छलफल गरेका थिए ।

त्यसपछि प्रधानमन्त्रीले सत्तारुढ दलका नेतासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखकलगायतसँग छलफल गरेका थिए ।

आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक अपराहन्न १: १५ बजे बस्ने गरि बोलाइएको छ ।
न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।