काठमाडौँ । भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद अनवरुल अजिम अनार कोलकाताको फ्ल्याटमा मृत फेला परेका छन् । बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले कोलकाता प्रहरीलाई उद्धृत गर्दै यसको पुष्टि गरेका हुन् ।
कोलकाता प्रहरीले भने सांसद अनवरुलको शव न्यू टाउन क्षेत्रमा शंकास्पद अवस्थामा फेला परेको बताएको छ । यस घटनामा प्रहरीले ३ बंगलादेशीलाई पक्राउ गरेको छ । साथै यसलाई पूर्वनियोजित हत्याको रुपमा व्याख्या गरिएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार सांसद अनवरुल मे १२ मा उपचारका लागि कोलकाता आएका थिए । भोलिपल्टै उनी बेपत्ता भएका थिए । उनको फोन समेत अफ भएको थियो । यसपछि १७ मे मा बिहारको कुनै इलाकामा उनको फोन केही समयको लागि स्वीच अन भयो । प्रहरीका अनुसार उनको फोनबाट उनको परिवारका सदस्यहरूलाई नयाँ दिल्ली गएको सन्देश पठाइएको थियो ।
अनवारुल अजिम अनार प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीका सांसद हुन् । उनले २०१४, २०१८ र २०२४ मा झेनैदह–४ सिटबाट चुनाव जितेका थिए । अनवरुलको मृत्यु हुनुअघि उनका परिवारका सदस्यहरूले शेख हसिनालाई भेटेर मद्दत मागेका थिए ।
बंगलादेशी दूतावास पनि प्रहरीसँग निरन्तर सम्पर्कमा रहेको र बंगलादेश सरकारले सम्पूर्ण मामिलाको प्रतिवेदन मागेको मिडिया रिपोर्टमा उल्लेख छ ।न्युज कारखाना
काठमाडौँ । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।
सन्दीपले अमेरिकाले आफुलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् । उनलाई यस अघि २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप आइसीसी टी-२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए ।
पाटन उच्च अदालतले सफाई दिएपछि क्यानले उनलाई टिममा सामेल गर्ने प्रक्रिया शुरु गरेको थियो । न्युज कारखाना
काठमाडौँ । नेकपा एमाले नेता भीम रावलले मन्त्री र अरुका लागि फरक फरक कानुन हुन्छ भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमार्फत नेता रावलले गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानुन विपरित दुई नागरिकता र दुई राहदानी हुदा कारवाही नगर्ने तर कैलाश सिरोहियालाई नागरिकतामा विवरण फरक परेको भन्दै कार्यकक्षबाट पक्रिने भन्दै प्रश्न गरेका हुन् ।
उनले भनेका छन्-
गृहमन्त्री रवि लामिछानेसंग नेपालको कानून विपरीत विदेशको समेत गरी दुई नागरिकता र राहादानी हुँदा केही कार्वाई नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा ‘विवरण फरक परेको’भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने! के मन्त्री र अरूका लागि फरक-फरक कानून छ ? कानूनी राज्यको उपहास !न्युज कारखाना
काठमाडौँ । झापामा चोरीका मोटरसाइकलसहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-४ बस्नेहरू १९ वर्षीय प्रियङक कडेल, १९ वर्षीय कृष्ण घिमिरे, १९ वर्षीय नबिन बस्नेत तथा १९ वर्षीय दिपक भुजेल र सोही नगरपालिका-३ बस्ने १९ वर्षीय सम्रिक चुडाल रहेका छन् ।
पाँचथर जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा मोटरसाइकलहरू चोरी गरी झापाको सुरुङ्गा एरियामा चलाई रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी भएको प्रदेश ३-०२-००९ प ५२२१ नम्बर र मे.९ प ६४६१ नम्बरका २ थान मोटरसाइकलसहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको छ । न्युज कारखाना
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका सांसद विनोदकुमार शाह पुनः मन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री यमलाल कँडेलले शाहलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका हुन् । शाहले यसअघि गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए ।
तर शपथ बहिष्कार गरेको २२ औं दिनमा फेरि शाहले सोही मन्त्रालयको शपथ लिएका छन् । उनले आजै प्रदेश प्रमुख तिकल परियारसमक्ष शपथ लिएका छन् ।न्युज कारखाना
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्ने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय बिशाल हमाल, काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोईलाली गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने ४५ वर्षीय सैलेश कुमार झा रहेका छन् ।
पक्राउमध्ये बिशालले अमेरिका पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ७० हजार रूपैयाँ, प्रशान्तले अष्ट्रेलिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ र सैलेशले युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ४० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बिशाललाई काठमाडौं लाजिम्पाटबाट, प्रशान्तलाई काठमाडौं बागबजारबाट र सैलेशलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।न्युज कारखाना
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले म्याद थप गरेको छ ।
बुधबार अदालतमा दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको हो ।
सिरोहियालाई प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेस गरेको थियो । प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै गिरफ्तार गरेको थियो ।
जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।न्युज कारखाना
काठमाडौँ । नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले आफ्नो देशले प्यालेस्टाइनलाई राज्यको रुपमा मान्यता दिने बताएका छन् । उनले मे २८ मा नर्वेले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने बताए ।
नर्वेपछि अब आयरल्याण्ड र स्पेनले पनि प्यालेस्टाइनलाई राष्ट्रको रुपमा मान्यता दिन सक्ने विश्वास गरिएको छ । यस निर्णयको विरोधमा इजरायलले आयरल्याण्ड र नर्वेबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ ।
नर्वेका प्रधानमन्त्री स्टोरले गाजामा जारी युद्धले शान्ति र स्थायित्व हासिल गर्न प्यालेस्टाइन समस्याको समाधान आवश्यक रहेको कुरा ‘पूर्ण रूपमा स्पष्ट’ गरेको बताएका छन् । उनले नर्वेले दुई राज्य समाधान इजरायलका लागि राम्रो हुने विश्वास व्यक्त गरे ।
स्टोरले यो कदमले अन्य देशहरूलाई पनि त्यही बाटो पछ्याउन ‘बलियो सन्देश’ पठाउने बताएका छन् । यो निर्णय लगत्तै इजरायलले वार्ताका लागि आयरल्याण्ड र नर्वेबाट आफ्ना राजदूतहरूलाई तुरुन्त फिर्ता बोलाउने बताएको छ ।
इजरायलका विदेशमन्त्री इजरायल काइट्जले ट्विट गर्दै भने, ‘मैले आयरल्यान्ड र नर्वेलाई स्पष्ट सन्देश पठाइरहेको छु । इजरायलको सार्वभौमसत्तामा आँच पुर्याउने र यसको सुरक्षालाई खतरामा पार्नेहरूका सामु झुक्ने छैन । चुप लागेर बस्ने छैन । यदि स्पेनले पनि प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएको छ भने, तिनीहरू विरुद्ध कदम चालिनेछ ।
इजरायली विदेशमन्त्रीले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने निर्णयले विश्वलाई ‘आतंकवादलाई इनाम दिइन्छ’ भन्ने सन्देश दिएको पनि बताएका छन् ।न्युज कारखाना
काठमाडौं । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने ३६ वर्षीय पासाङ भन्ने सोनम तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक संजाल फेसबुक मार्फत विभिन्न आईडिहरूबाट सामान अडर्र गरी ग्राहकहरूसँग बार्गेनिङ गर्दै सामान देखाई रकम लिएर आउछु भनि ल्यापटप, मोबाइल क्यामेरा समेतका सामानहरूको जम्मा ७ लाख ९९ हजार रूपैयाँ मूल्य बराबरको सामानहरू लिई फरार भएका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलबाट पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
न्युज कारखाना
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा जाने निर्णय गरेको छ ।
सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ । जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा सहभागी गराउने निर्णय गरेको छ ।
केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सदनमा संसदीय छानबिन समिति गठनको मागलाई उठाउदै पहिलो चरणमा शुक्रबार काठमाडौँ केन्द्रित प्रदर्शन गरेको जानकारी दिएकी छन् ।न्युज कारखाना