ललितपुर । ललितपुर महानगरपालिका-२ सानेपाबाट नेपाली एक हजार दरका ५ थान नक्कली नोटसहित सोही महानगरपालिका-१० बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी विट सानेपाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । न्युज कारखाना
पोखरा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी अन्नपुर्ण गाउँपालिका-३ धारापानी बस्ने ३७ वर्षीय बिपिन भन्ने केशव सुनारलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत कास्कीको २०७९ माघ १० गतेको फैसलाले ११ महिना ८ दिन कैद सजाय, १५ हजार रूपैयाँ जरिवाना र ४ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले अन्नपूर्ण गाउँपालिका-१ नौडाँडाबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएको छ । न्युज कारखाना
सल्यान । सल्यानको शारदा नगरपालिका-६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम बिष्टको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय डन राज बिष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
डन राजले जेठ ४ गते कुटपिट गर्दा गम्भीर घाइते भएका घनश्यामको जिल्ला अस्पताल सल्यान हुँदै कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारपश्चात घर ल्याउने क्रममा बिहीबार बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सितलपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । न्युज कारखाना
काठमाडौँ । रुसमा रहेको अमेरिकी सम्पत्ति जफत गरिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले यससम्बन्धी आदेशमा हस्ताक्षर गरेका छन् । यस मार्फत अमेरिकामा रुसी सम्पत्ति जफत गर्दा भएको नोक्सानीको क्षतिपूर्ति हुनेछ ।
२०२२ को फेब्रुअरी २४ मा सुरु भएको रुस-युक्रेन युद्ध पछि, अमेरिका र पश्चिमी देशहरूले रूसमाथि धेरै प्रतिबन्धहरू लगाएका छन् । यसका कारण रुसले निकै पीडा भोगेको छ । यस हानिको क्षतिपूर्तिको लागि, अमेरिकी सम्पत्ति जफत गर्न अनुमति दिइएको छ ।
फेब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमणपछि अमेरिका र पश्चिमी देशहरूले रुसको ३०० अर्ब डलरभन्दा बढीको सम्पत्ति जफत गरिसकेका छन् । उही समयमा, अमेरिकी संसदले गत महिना एक विधेयक पारित गर्यो, जसमा राष्ट्रपति जो बाइडेनलाई युक्रेनलाई सहयोग गर्न अमेरिकामा रहेको रूसी सम्पत्ति प्रयोग गर्ने अधिकार दिइएको थियो ।
यस कार्यको प्रतिक्रियामा, रूसले धेरै विदेशी लगानीकर्ताहरूको सम्पत्ति विशेष खाताहरूमा हस्तान्तरण गर्यो ।
पुटिनले हस्ताक्षर गरेको आदेशमा रुसी निकायले रुसी अदालतलाई अमेरिकामा रहेको आफ्नो सम्पत्ति गलत तरिकाले जफत गरिएको छ कि छैन भनेर र क्षतिपूर्ति माग गर्न सक्ने बताएको छ । अर्डरले घरजग्गा, चल सम्पत्ति आदि जस्ता सम्पत्तिहरू समावेश गर्दछ ।
रूसी सरकारको एक विशेष आयोगले अमेरिकी सम्पत्तिहरू पहिचान भएमा क्षतिपूर्तिको लागि प्रयोग गरिनेछ । आयोगलाई यो निर्धारण गर्न निर्देशन दिइएको छ कि कसरी रूसी धारकहरूले संयुक्त राज्यमा जम्मा गरिएका सम्पत्तिहरूको क्षतिपूर्तिको रूपमा रूसमा रहेको अमेरिकी सम्पत्तिहरू जफत गर्न खोज्न सक्छन् । यसपछि अदालतले अमेरिकी सम्पत्तिलाई क्षतिपूर्तिको रूपमा हस्तान्तरण गर्ने आदेश दिनेछ ।
रुसी सरकारलाई सेप्टेम्बरको अन्त्यसम्ममा अमेरिकी सम्पत्ति रोक्का गर्न अनुमति दिन आवश्यक कानुनी परिवर्तन गर्न निर्देशन दिइएको छ ।
२४ फेब्रुअरी २०२२ मा रुस-युक्रेन युद्ध सुरु भएको २ वर्षभन्दा बढी भइसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई कब्जा गर्न आक्रमण गरेका थिए । त्यसबेला पुटिनले यसलाई सैन्य कारवाही भनेका थिए ।
यस आक्रमणका कारण हालसम्म ४० लाखभन्दा बढी युक्रेनी नागरिकले देश छाड्नु परेको छ । यी मानिसहरू अहिले अन्य देशहरूमा शरणार्थीहरू जस्तै जीवन बिताइरहेका छन्। स्वदेशमै ६५ लाखभन्दा बढी युक्रेनी घरबारविहीन भएका छन् ।न्युज कारखाना
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पिच उप्किएपछी विमानस्थल झन्डै एक घन्टा अवरुद्ध भएको छ ।
विमानस्थलका प्रवक्ता सुवाष झाका अनुसार, धावनमार्गको चार्ली र डेल्टा ट्याक्सीवे सेक्सनको मध्यभागमा अलकत्रा र गिट्टी उप्किएपछि उडान बन्द गरिएको थियो ।
धावनमार्गमा अवतरण गर्ने जहाजले टावरलाई पिच उप्किएको जानकारी गराएपछि काठमाडौं विमानस्थलले सबै उडान रोकेको हो । मर्मतपछि अहिले भने विमानस्थल सञ्चालनमा आएको छ । न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय सभाको बैठक पनि स्थगित भएको छ । बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरुले उठेर बैठक अवरोध गरेका थिए ।
कांग्रेसले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसदको कारवाही अवरोध गर्ने अडान लिदै आएको छ ।
कांग्रेसले अवरोध जारी राखेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ १३ गते बिहान ११: ३० बजेसम्मको लागि स्थगित गरेका छन् । न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अभ्यास गरिरहेको सार्वजनिक निजी साझेदारी कार्यक्रमका विषयमा विभागका अधिकारीबिच समान वुझाइ विकास गर्न २ दिने तालिम आयोजना गरिएको छ । सार्वजनिक निजी साझेदारी एकाइले सबै विभागबाट एक एक जना प्रतिनिधि बोलाएर विभागसँग कस्ता कार्यक्रम हुन सक्छन्, यी कार्यक्रमलाई कसरी कार्यान्वयनमा लैजान सकिन्छ भन्ने विषयमा सैद्धान्तिक छलफल र व्यवसायिक कार्ययोजना निर्माणको अभ्यास गराइएको छ ।
तालिममा निजी साझेदारी कार्यक्रमको अवधारणा, परिचय र महत्व, नेपालको सन्दर्भमा सार्वजनिक निजी साझेदारी कार्यक्रमको सफल अभ्यास, सम्भावना र चुनौती, सार्वजनिक निजी साझेदारी अवधारणाका लागि सम्भावित र महत्वपूर्ण आयोजनाहरु, साझेदारी कार्यक्रमका अङ्गहरु र व्यवसायिक कार्ययोजना निर्माण अभ्यास, योजना छनोटका सूचक, विधि र प्रक्रियालगायत विषय समेटिएका थिए । यस्तै बजारीकरण र उत्पादन योजना, संस्थागत प्रबन्ध (संगठन र व्यवस्थापन) तथा वित्तीय योजना र योजना विश्लेषण तालिममा समेटिएका थिए ।
कार्यक्रममा महानगरपालिकाको सार्वजनिक निजी साझेदारी बोर्डका सदस्य एवं वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले नीतिमा समस्या भए जनप्रतिनिधिले काम गर्नु पर्ने, कार्यान्वयनमा समस्या भए कर्मचारीले काम गर्नुपर्ने बताए । यस्तै बोर्डका अर्का सदस्य एवं वडा नंं ३० का अध्यक्ष दलबहादुर कार्कीले, साझेदारीबाट गरिने कामको प्राथमिकता निर्धारण गर्नु पर्नेमा जोड दिए ।
सार्वजनिक निजी साझेदारी कार्यक्रमको मुख्य मर्म भनेको सबै पक्ष लाभान्वित हुनु हो । यसमा लगानी गर्ने पनि र नगर्ने पनि लाभान्वित हुनुपर्छ । लगानी गर्नेहरुको लगानी सुरक्षा तथा प्रतिफल र लगानी नगर्नेहरुका लागि सेवा उपभोगको अवसरले साझेदारी कार्यक्रम सफल हुने हो । यसमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण स्पष्ट बनाउनुपर्छ । कार्यक्रममा सहरी योजना आयोगका सदस्य डा. सुरजराज काफ्लेले धारणा राखे ।
सबै अवधारणा सबै ठाउँमा कार्यान्वयन अनुकुल नहुन सक्छन् । कार्यक्रममा आयोगका अर्का सदस्य प्रसुन्न बज्राचार्यले स्थानीय अवस्था र आवश्यकताबाट परियोजनाको ढाँचा एकिन गर्नु पर्ने बताए ।
एकाइका प्रमुख नरेन्द्रबिलास बज्रचार्यकाअनुसार महानगरपालिकाले २०५६ सालबाट सार्वजनिक जिनी साझेदारी अवधारणाअनुसार कार्यक्रम थालेको हो । यसपछि कति योजना सफल भए, कति योजना सफल बनाउन पुरक सम्झौता गर्नु परेको छ । कति योजनामा सम्झौता गरेर काम थालनी भयो तर कार्य सम्पन्न भएन । यसकारण विगतको अभ्यास अध्ययन विश्लेषण गर्नु र महानगरपालिकाले जारी गरेको ऐन कार्यान्वयन गर्न नियमावली तर्जुमा गर्नु अहिलेको आवश्यकता रहेको छ ।
तालिमका प्रशिक्षक विश्व कार्कीले, निजी साझेदारीका कार्यक्रम सञ्चालन गर्नु पूर्व कार्यक्रमका अन्तरपक्षमध्ये पनि लगानी, निर्माण, सञ्चालन तथा व्यवस्थापनको दायित्व, दिगोपना, हस्तान्तरणजस्ता पक्षमा स्पष्ट हुनुपर्ने र जोखिम आँकलन गर्नु पर्ने बताए । यस्तै अर्का प्रशिक्षक शुशिलकुमार शर्माले, साझेदारी कार्यक्रमबाट छिटो नतिजा प्राप्त हुने, सञ्चालन र व्यवस्थापनमा अपनत्व तथा दिगो उपयोगमा योगदान हुने बताए ।
तालिममा वातावरण व्यवस्थापन विभाग, पूर्वाधार निर्माण, सहरी यातायात सञ्चालन व्यवस्थापन जस्ता सञ्चालनमा रहेका परियोजनालाई प्रतिनिधि अवस्था मानेर यसका चरण, लाभ, हुनुपर्ने र भएको अवस्थाका विषयमा अन्तरक्रिया गरिएको थियो । यस्तै यी परियोजनाको व्यवसायिक कार्ययोजना निर्माण अभ्यास गरिएको थियो ।
तालिमपछि अधिकारीहरुमा साझेदारी कार्यक्रममा पीटु (पोलिसी एण्ड प्लेस) र एमथ्री (मनी, म्यानेजमेन्ट र म्यानपावर) कार्यक्रम सञ्चालन, व्यवस्थापन, स्वामित्व र लाभका विषयमा एउटै धारणा विकास भएको हामीले अपेक्षा गरेका छौँ । तालिमको नतिजाका विषयमा वरिष्ठ शाखा अधिकृत कविता राईले जानकारी दिइन् ।
सार्वजनिक निजी साझेदारी बोर्ड
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा सार्वजनिक निजी साझेदारी बोर्ड गठन भएको छ । उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत, प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष, डा. सुमननरसिंह राजभण्डारी बोर्डका सदस्य रहेका छन् । यस्तै वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, ९ का अध्यक्ष रामजी भण्डारी र ३० का अध्यक्ष दलबहादुर कार्की, सार्वजनिक निजी साझेदारी कार्यक्रमका विज्ञ सुदीप ढकाल सदस्य छन् । सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्य बोर्डको सदस्य सचिव छन् । न्युज कारखाना
काठमाडौँ । पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठूलो पहिरो गएको छ ।
मिडिया रिपोर्टका अनुसार अहिले भग्नावशेषबाट शव निकालिरहेको र मृत्यु हुनेको संख्या १०० भन्दा बढी हुनसक्ने आशंका गरिएको छ ।
अष्ट्रेलियाको सरकारी मिडिया एबीसीको रिपोर्टका अनुसार स्थानीयले १०० जनाको मृत्यु भएको बताएका छन् तर आधिकारिक तथ्यांक अहिलेसम्म उपलब्ध नभएको बताइएको छ ।
पपुवा न्यूगिनीको इन्गा प्रदेशको काओकलाम गाउँमा सो पहिलो गएको हो । पहाडमा राति पहिरोका कारण मानिस सुतेको बेला घरहरु ध्वस्त भएको रिपोर्टमा बताइएको छ । न्युज कारखाना
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाबाट एक कार्यक्रमकाबीच शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बैंक सञ्चालक समितिको जेठ १० गते बसेको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्था बमोजिम देवेन्द्ररमण खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्ति गरिएको थियो ।
पदभार ग्रहणको अवसरमा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यन्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्र्दै सबै सरोकारवालाले पाउने हिस्सामा बृद्धि हुने गरी कार्य गरिने बताए ।
चार्टड एकाउन्टेन्ट खनाल यसअघि बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृत थिए । २०६४ सालमा चार्टड एकाउन्टेन्टको रुपमा प्रवेश गरेका खनाल व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा एलएलबी तहको अध्ययन पूरा गरेका छन् ।
यस अघि रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी नियुक्त गर्नका लागि बैंकले बैशाख ७ गते दरखास्त आवेदन माग गरेको थियो । कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नवनियुक्त भएका खनाललाई बैंक सञ्चालक समिति, व्यवस्थापन समिति तथा बैंकमा क्रियाशिल ट्रेड युनियनका अध्यक्षहरुबाट बधाई तथा शुभकामना ज्ञापन गरिएको छ । उक्त कार्यक्रम कम्पनी सचिव हेमराज खरेलले सञ्चालन गरेका थिए । न्युज कारखाना
काठमाडौं । सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ ।
शुक्रबार सिंहदरवारस्थित कानून मन्त्रालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेको हो ।
कार्यदलका सदस्य महेश बर्तौलाले कांग्रेसले नयाँ प्रस्ताव ल्याएको बताउदै सहकारीको नाम मात्र उल्लेख गरेर छानबिन गर्नगरि प्रस्ताव आएको र आजै फेरी बैठक बसेर टुंगाउने बताए ।
यस अघि विहिबार बसेको कार्यदलको बैठक सकारात्मक भएको बताइए पनि निष्कर्षमा पुग्न भने सकेको थिएन ।
सत्ता पक्षले आज सहमति हुने दाबी गरेपनि कांग्रेसले भने आफुहरु आफ्नो मागमा अडिक रहेको प्रतिक्रिया दिएका छन् ।
कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।
कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समिति गठन नगरेसम्म संसदको कारवाही अगाडी बढाउन नदिने बताएपनि सरकारले आज बस्ने संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ ।न्युज कारखाना