२०८३ बैशाख २८
२०८३ बैशाख २८

काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शनिबार राति सम्पन्न फाइनल खेलमा रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई २-० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा रियल म्याड्रिडले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो । रियल म्याड्रिडको जितमा डानी कारभाजल र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए । कारभाजलले खेलको ७४औं र भिनिसियसले ८३औं मिनेटमा गोल गरेका थिए ।

यो सहित रियल म्याड्रिडले १५औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । रियल म्याड्रिडले पछिल्लो पटक २०२२ मा च्याम्पियन्स लिग जितेको थियो ।

१८ पटक च्याम्पियन्स लिगको फाइनल खेलेको रियल म्याड्रिड फाइनलमा पुगेर तीन पटक मात्र उपविजेता बनेको छ । सन् १९६२, १९६४ र १९८१ मा रियल म्याड्रिड फाइनलमा पुगेर हारेको थियो । त्यस यता फाइनलमा पुगेर रियल म्याड्रिड अहिलेसम्म पराजित भएको छैन ।

त्यस्तै अर्कोतर्फ तेस्रो पटक च्याम्पियन्स लिगको फाइनल खेलेको डोर्टमण्ड भने दोस्रो पटक उपविजेता बनेको छ । यस अघि एक पटक १९९७ मा च्याम्पियन्स लिग जितेको डोर्टमण्ड पछिल्लो पटक २०१३ मा च्याम्पियन्स लिगको फाइनल खेलेको थियो । न्युज कारखाना

जनकपुरधाम, जेठ १९ गते । मुख्यमन्त्री सरोज कुमार यादवले जमुनी सिचाई आयोजना अन्तर्गत मोरहा पक्की बाँधको स्थलगत निरीक्षण गर्नु भएको छ । प्रदेश सरकारको लगानीमा समपुरक अनुदान अन्तर्गत हंसपुर नगरपालिका वडा नंं ४ र ९ मोरहामा निर्माणाधिन उक्त आयोजनाको सतर्कता केन्द्रको टोली सहित मुख्यमन्त्री यादवले आज स्थलगत निरीक्षण गर्नु भएको हो । २२ करोड ५३ लाख २३ हजारको कुल लागत मध्ये १० करोड ७४ लाख ५४ हजार ८६६ रुपैयामा ठेक्का साकारभई निर्माणाधिन उक्त पक्की बाँधको काम समयमा पुरा नहुने देखेपछि मुख्यमन्त्री यादवले सो निरीक्षण गर्नु भएको हो । निरीक्षणको क्रममा मुख्यमन्त्री यादवले बाँध निर्माणको कार्यलाई तिब्रता दिन ठेक्केदार कम्पनीलाई निर्देशन समेत दिनु भएको छ । ११ सय ६८ हेक्टर कृषि योग्य भूमि सिंचित हुने उक्त पक्की बाँधले १० गाँउका करिब १६ सय ५० घर परिवार लाभान्वित हुने बताइएको छ । निरीक्षणको क्रममा संघीय साँसद राम कृष्ण यादव, अनिता साह प्रदेश सांसद रामअशिष यादव, सतर्कता केन्द्रका सचिव राम आधार साह सहितका टोली र सम्बन्धित मन्त्रालय एवं कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बाँधको निरीक्षण पछि स्थानीय बासीहरुलाई सम्बोधित गर्दै मुख्यमन्त्री यादवले कृषिको विकास विना मधेशको विकास सम्भव नरहेकोले मधेश सरकार कृषि सम्बन्धित आयोजनाहरुलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनु भयो । उहाँले बाँध निर्माणमा कुनै प्रकारको समस्या हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । त्यसै गरि मुख्यमन्त्री यादव र प्रदेश सांसद राम अशिष यादवले प्रदेश सरकारको एक क्षेत्र पाँच किलोमिटर कालोपत्रे आयोजना अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नं. २ ख मा निर्माणाधिन कप्टौल , झिटकैया, तिसियाही हुँदै मधुकरही सम्मको सडकको स्थलगत निरीक्षण समेत गर्नु भएको छ ।

राैतहट,१९ गते जेठ । राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा नेपाल रेडक्रस सोसाइटीकाे उपशाखा गठन गरिएको छ । नेराेसाे राैतहट शाखा बाट आएको निर्वाचन मण्डलले निर्विरोध रूपमा चयन गराएका हुन् । नेराेसाे रौतहट शाखाका सभापति राजकिशोर यादवको प्रमुख आतिथ्यतामा उपशाखा गठन कार्यक्रम गरिएको हाे । गठन गरिएको शाखाकाे सभापतिमा कन्हैया प्र.यादव,महिला उप सभापतिमा मोहापती देवी,सचिवमा दिलिप कु.साह सोनार,काेषाध्यक्षमा रन्धिर कु.यादव चयन भएका छन् । यस्तै उपसचिवमा जितेन्द्र राउत जयसवार,उप काेषाध्यक्षमा श्याम सुन्दर यादव,महिला सदस्यमा मन्जु देवि रहेकी छिन् । त्यसैगरी सदस्यहरूमा अनिल कु. यादव,अवधेश कु. यादव,पप्पु प्र. यादव,धर्मेन्द्र यादव चयन भएका छन् । फतुवा बिजयपुर उपशाखाका लागि चयनित पदाधिकारीहरुलाइ प्रमाणपत्र वितरण गरिएको स्थानीय सुधिर यादवले जानकारी गराएका हुन् ।

काठमाडौँ । आइसीसी टी-२० विश्वकप आजदेखि शुरु हुदै छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिदै छन् ।

यस विश्वकपको पहिलो दिन दुई खेल हुने छन् । आजको पहिलो खेलमा आयोजक अमेरिका र क्यानडाबीच खेल हुदै छ । डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६: १५ बजेदेखि शुरु हुने
छ ।

त्यस्तै दोस्रो खेलमा वेस्ट इण्डिज र पीएनजी खेल्दै छन् । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज राति ८ : १५ बजेदेखि शुरु हुने छ ।

यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी हुदै छन् ।

२० टिमलाई हरेकमा ५ देशलाई राखेर ४ समुहमा बिभाजन गरिएको छ । समुह चरणको खेलपछि हरेक टिमका शिर्ष २ देश सुपर ८ मा पुग्ने छन् ।

समुह ए मा अमेरिका, क्यानडा, भारत, पाकिस्तान र आयरल्याण्ड रहेका छन् । त्यस्तै समुह बी मा अस्ट्रेलिया, इङल्याण्ड, नामिबिया, ओमान र स्कटल्याण्ड रहेका छन् ।

त्यसैगरी समुह सी मा वेस्ट इण्डिज, अफगानिस्तान, न्यूजील्याण्ड, पिएनजी र युगाण्डा रहेका छन् भने समुह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्डस, दक्षिण अफ्रिका र श्री लंका रहेका छन् ।

कसले कतिपटक जिते विश्वकप ?

इङल्याण्ड टी-२० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो । २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा इङल्याण्डले फाइनलमा पाकिस्तानलाई पराजित गरेर दोस्रो पटक उपाधि जितेको थियो । टी-२० विश्वकप्को यो नवौं सिजन हो । यस अघि सम्पन्न आठ विश्वकपमा सबैभन्दा बढी इङल्याण्ड र वेस्ट इन्डिजले २-२ पटक जितेका छन् । इङल्याण्डले २०१० र २०२२ मा विश्वकप जितेको थियो भने वेस्ट इन्डिजले २०१२ र २०१६ मा टी-२० विश्वकप जितेको थियो ।

त्यस्तै भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले एक एक पटक टी-२० विश्वकप जितेका छन् । भारतले टी-२० विश्वकपको पहिलो संस्करण २००७ मा जितेको थियो भने अस्ट्रेलियाले २०२१ मा. श्रीलंकाले २०१४ मा र पाकिस्तानले २००९ मा जितेको थियो । त्यस्तै टेस्ट खेल्ने प्रमुख राष्ट्र न्यूजील्याण्ड र दक्षिण अफ्रिका जस्ता देशले अहिलेसम्म टी-२० विश्वकप जित्न सकेका छैनन् ।

न्यूजील्याण्ड २०२१ मा उपविजेता बनेको थियो भने दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यस्तै आयरल्याण्ड र बंगलादेश एक एक पटक सुपर आठसम्म मात्र पुगेका छन् भने नेदरल्याण्डस एक पटक सुपर १२ मा, अफगानिस्तान एक पटक सुपर १० सम्म पुगेका छन् ।

त्यस्तै जिम्बाबे, नामिबिया र स्कटल्याण्ड एक एक पटक सुपर १२ सम्म पुगेका छन् ।

नेपालको विश्वकप यात्रा

त्यस्तै नेपालले भने १० बर्षपछि टी-२० विश्वकपमा कम ब्याक गरेको छ । नेपालले यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेपनि बंगलादेशसँग पराजित हुदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।

नेपाली टिम

विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् । विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

 

१९ जेठ, महोत्तरी विकास निर्माणका कामहरु प्रक्रियाविपरित हुन थालेपछी जिल्ला समन्वय समिती महोत्तरीले ध्यानाकर्षण जनाएको छ ।

अनुगमनको क्रममा विकासका योजनाहरु संचालन गर्दा होडिङ्ग बोर्ड नराखेको र काम सम्पन्न भएका ठाउँहरुमा कच्चा पदार्थ यथास्थितिमा छाडदा दुर्घटनाको जोखिम समेत बढेको समन्वय समितिको ठहर छ ।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै समन्वय समितिका संयोजक सुमनलाल कर्णले जिल्लाका सवै पालिकाहरुमा संचालनरत योजनाहरु ऐन, नियमको परिधिमा रहेर काम गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन ।

योजनास्थलमा होडिङ्ग बोर्ड नराख्ने र कुन योजना कति लागतको हो भन्ने समेत नखुलाउदा आम मानिसको सुचनाको हक कुन्ठित भएको संयोजक कर्णको भनाई छ ।

सार्वजनिक सडक ऐन २०३१ को दफा २१ लाई लिएर पनि समितिले ध्यानाकर्षण जनाएको छ । दफा अनुसार विकास निर्माणको योजना सकिएपछी मालसमान उक्त ठाउँवाट निश्चित ठाउँमा बिसर्जन गर्नुपर्ने व्यवस्था छ तर अनुगमनको क्रममा दुर्घटनालाई प्रोत्साहन गर्नेगरी मालसामान यथास्थानमा राखिएको र तत्काल उक्त सामान उठाउन निर्देशन समेत दिईएको छ ।

 

 

 

काठमाडौं । कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले एक रिपोर्ट प्रकासित गर्दै पुर्जाले हिमाल आरोहण गर्ने महिला आरोहीलाई यौन दुर्व्यबहार गरेको उल्लेख गरेको छ ।

न्यूयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टमा पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौंको होटलमा पुर्जाले दुव्यर्वहार गरेको आरोप लगाएकी छन् ।

उनले डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले नाम उल्लेख नगरी चर्चित आरोहीले आफुलाई दुर्व्यवहार गरेको अस्पष्ट घटनाक्रम उल्लेख गरेकी थिइन् ।

न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा लोताले आफ्नो पुस्तकमा उल्लेख गरिएको व्यक्ति पुर्जा भएको खुलासा गरेकी छन् । रिपोर्टमा पुर्जाले होटलको कोठामा लगेर दुर्व्यवहार गरेको सविस्तार उल्लेख गरिएको छ ।

उनले भनेकी छन्- ‘मैले इन्कार गर्दा गर्दै उसले मेरो कपडा खोल्न थाले, मैले महिनावारी भएको छ भन्दा पनि उनी रोकिएनन्, एकपटक मेरो गोप्य अंगसम्म हात पुर्‍याए ।’

उनले पुर्जा ब्रिटिस सेनामा प्रशिक्षण लिएको र बलियो भएकाले आफू निरिह बनेको र प्रतिवाद गर्न नसकेको बताएकी छन् । रिपोर्टमा यस विषयमा पुर्जाले प्रतिक्रिया नदिए पनि उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै आरोप अस्वीकार गरेको उल्लेख छ ।

रिपोर्टमा लता बाहेक क्यालिफोर्नियाकी डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमतिविना पटकपटक चुम्बन गरेको आरोप लगाएकी छन् । पुर्जाले विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड रहेका पुर्जा आफ्नो टेन्टमा आएर दुर्व्यवहार गरेको बताएकी छन् । डा. अप्रिलको आरोपमा पनि पुर्जाका वकिलले भने खण्डन गरेका छन् ।

यो घटनापछि दुवैले महिलाले आफु नाजिका साथीलाई बताएको र ती म्यासेजहरू न्यूयोर्क टाइम्सले अध्ययन गर्दा सत्य भेटिएको रिपोर्टमा दाबि गरिएको छ ।

पुर्जा आफ्नो एलाइट हिमालयन एड्भेन्चरमार्फत आरोहीलाई हिमाल चढ्न सहयोग गर्छन् । उनले कतारको राजपरिवार सदस्य आश्मा थानीदेखि रसियन मोडल भिक्टोरिया बोन्या जस्ता उच्च प्रोफाइलका महिलालाई समेत आरोहणमा सहयोग गरेका छन् ।

विश्वका ८ हजार भन्दा अग्ला सबै हिमाल चढेका पुर्जा बारे नेटफ्ल्क्सिले डकुमेन्ट्री नै बनाएको थियो ।

 

न्यूयोर्क टाइम्सको रिपोर्ट लिंक-  https://www.nytimes.com/2024/05/31/sports/mountaineering-sexual-harassment-abuse-nims-purja.html?smid=tw-share

काठमाडौं । अल हिलालले किङ कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै किङ कपको उपाधि जितेको हो ।

यस अघि निर्धारित ९० मिनेटको खेल निकै रोमाञ्चक बनेको थियो ।  १-० गोलले पछि परेको अल नासरले खेलको ८८औ मिनेटमा बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा खेलाइएको थियो ।  अल हिलालका लागि खेलको सातौँ मिनेटमा अलेक्जान्डर मिट्रोभिकले गोल गरेका थिए भने अल नासरका लागि आयम्यान याहाले बराबरी गोल गरेका थिए ।

यस खेलमा तीन खेलाडीले रातो कार्ड पाएका थिए ।  खेलको ५६औं मिनेटमा अल नासरका डेभिड ओस्पिनाले रातो कार्ड पाएका थिए भने खेलको ८७औ र ९०औं मिनेटमा अल हिलालका अलि अल्बूलायहि र कालीडोउ कोउलिबालीले रातो कार्ड पाएका थिए ।

३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको तिह्यो ।

पेनाल्टी सुटआउटमा अल हिलाल ५-४ ले विजयी भयो र उपाधि जितेको थियो ।

यो अल हिलालको लगातार दोस्रो र समग्रमा ११औ किङ कप को उपाधि हो ।

अल नासरले भने अहिलेसम्म १५ पटक फाइनल खेलेपनि केवल ६ पटक यो उपाधि जितेको छ ।  पछिल्लो पटक अल नासरले १९९० मा यो उपाधि जितेको थियो ।

काठमाडौँ । इजरायल र गाजाबीच जारी द्वन्द्वको बीचमा, सहायता एजेन्सीहरूले गाजा भोकमरीको कगारमा रहेको बताएका छन् । एजेन्सीहरूले गाजालाई पर्याप्त मात्रामा सहायता उपलब्ध गराउन नसक्दा यस्तो भएको बताएका छन् ।

इजरायली सेनाले रफाह सहरमा सैन्य कारबाही सुरु गरेपछि, यसले सहायता पुर्‍याउने ट्रकहरूको लागि मुख्य मार्ग रहेको राफा क्रसिंग बन्द गरेको थियो । गाजालाई सहायता दक्षिणमा राफा क्रसिङ र केरेम शालोम र उत्तरमा इरेज क्रसिङबाट आउँछ ।

संयुक्त राष्ट्र संघको एजेन्सीले गाजामा प्यालेस्टिनी जनसंख्यालाई सहायता प्रदान गर्दछ । यस निकायले यहाँका जनतालाई करिब ४० प्रतिशत राहत सामग्री उपलब्ध गराउँदै आएको छ ।

राष्ट्र संघको एजेन्सीका सञ्चार निर्देशक जुलिएट टुमाले गाजाको २.३ मिलियन जनसंख्यालाई हरेक दिन कम्तिमा ५०० ट्रकको मद्दत चाहिन्छ । गाजालाई सहायता प्रदान गर्ने स्वतन्त्र संस्थाहरू मध्ये एक एक्सनएड युकेले गाजामा पुग्ने सहायताको अभाव रहेको बताएको छ ।

यहाँको सम्पूर्ण जनसङ्ख्या अर्थात २३ लाख जनता खाद्य संकटको सामना गरिरहेका छन् भने पाँच वर्षमुनिका ५० हजार ४०० बालबालिकामा गम्भीर कुपोषणमा रहेका छन् ।  १ लाख ६० हजार गर्भवती र सुत्केरी महिलालाई कुपोषणबाट बच्न पर्याप्त खानाको आवश्यकता छ ।

राष्ट्र्संघ एजेन्सीको तथ्याङ्क अनुसार गाजामा सहायता प्रवाह मे अघिको दुई महिनामा उच्च स्तरमा थियो । मार्चमा, करिब ५ हजार सहायता ट्रकहरू केरेम शालोम र रफाह क्रसिङहरूबाट गुज्रिएका थिए । जहाँ अप्रिलमा ५ हजार ६ सय ७१ ट्रक अर्थात् दैनिक औसत १८९ ट्रक गुज्रिएका छन् ।

मेको सुरुमा इजरायली सेनाले रफाहमा आक्रमण गर्न थालेको थियो । इजरायली सेनाले ६ मेमा राफा क्रसिङ बन्द गरेको थियो । राष्ट्र संघका अनुसार केरेम शालोम वरपर लडाइँका कारण त्यहाँबाट आउने सहायता पनि घटेको छ । यस्तो अवस्थामा सुरक्षाको चिन्तालाई ध्यानमा राख्दै वैशाख १ देखि जेठ २८ गतेसम्म सहायता सामग्री पुर्‍याउने ट्रकको संख्या घटेर १ हजार ४७९ पुगेको छ ।

एक्सन एडले मे महिनाको सुरुदेखि नै पठाउँदै आएको सहायता गाजा जान नदिइएको वा थोरै मात्रामा पठाइएको जनाएको छ । जसका कारण खाद्यवस्तु पनि सड्न थालेको छ ।

‘रफा क्रसिङ बन्द छ, केरेम शालोम क्रसिङ इजरायली पक्षबाट खुला छ, तर यसको बाबजुद, गाजामा सहायता पठाउन यो क्रसिङ प्रयोग गर्नु सहायता संस्थाहरूको लागि खतरनाक छ,” एक्सनएडका मानवीय नीतिका प्रमुख जियादा इसाले बताएकी छन् । उनी भन्छिन, ‘यसले अप्ठ्यारो अवस्था सिर्जना गर्छ र जीवन बचाउने सहायताले भरिएका ट्रकहरू सीमाको अर्को छेउमा अड्किन्छन् ।’

यद्यपि, गाजालाई सहायता समन्वय गर्ने इजरायली सैन्य एजेन्सीले यी दावीहरूलाई कडा रूपमा अस्वीकार गर्दै आएको छ । अमेरिकी सशस्त्र बलहरूले गाजा शहरको ठीक दक्षिणी तटमा जोडिएको धेरै १०० मिटर लामो पियरहरू निर्माण गरेका छन् । यो तैरिरहेको जेट्टीलाई समुद्री मार्गबाट राहत सामग्री ल्याउन प्रयोग गरिन्छ ।

साइप्रसबाट सहायता आपूर्तिहरूले भरिएका ट्रकहरू जहाजहरूद्वारा घाटमा ढुवानी गरिन्छ । त्यसपछि यो समुद्र तट मा एक यार्ड मा तल छ । अमेरिकी सेनाले एक दिनमा करिब ९० ट्रक सहायता यहाँ पुग्ने अपेक्षा गरेको छ । सेनाले यो संख्या पछि १५० सम्म पुग्ने बताएको छ ।

तर, मे २८ मा आँधीका कारण घाट भाँचियो र त्यसको केही भाग मर्मतका लागि इजरायली बन्दरगाह एस्डोदमा लैजानुपरेको थियो । सहायता एजेन्सीहरूले पनि जहाजबाट गाजामा सहायता पुर्‍याउन धेरै सफल नभएको बताउदै आएका छन् ।

आईपीसी, विश्वभर खाद्य संकटको अनुगमन गर्ने संस्थाले गाजाका ११ लाख मानिसले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको बताएको छ । आईपीसीले उत्तरी गाजा अनिकालको कगारमा रहेको र २१०,००० मानिसहरू यसको सिकार हुन सक्ने बताएको छ ।

इन्टरनेशनल रेस्क्यु कमिटीका अनुसार भोकमरी भनेको चरम खाद्य अभाव हुने अवस्था हो, जसले कुपोषण, भोकमरी र मृत्यु निम्त्याउँछ । संगठनका अनुसार अब र जुलाईको बीचमा मध्य र दक्षिणी गाजामा भोकमरीको अवस्था सिर्जना हुनसक्छ र लाखौं मानिसहरू यसको सिकार हुन सक्छन् ।

युरो-मेड ह्युमन राइट्स मनिटर, एक मानव अधिकार संगठनका अनुसार, गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य केन्द्रका अधिकारीहरूले आधिकारिक रूपमा भोकमरीका कारण ३०  जनाको मृत्यु भएको रेकर्ड गरेका छन् । यो आँकडा रफाहमा भएको आक्रमणपछिको हो । दिनदिनै मानिसहरु भोकले मरिरहेको संस्थाले जनाएको छ ।

संगठनले संयुक्त राष्ट्र संघ र अन्य संगठनहरूलाई गाजा पट्टीमा औपचारिक रूपमा अनिकाल घोषणा गर्न माग गरेको छ । तर, कोगाटले अवस्था त्यति नराम्रो नरहेको बताएको छ ।

काठमाडौँ । रुस–युक्रेन युद्धको बीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रुसविरुद्ध हतियार प्रयोग गर्न अनुमति दिएका छन् । मिडिया रिपोर्टका अनुसार अमेरिकी अधिकारीहरूले युक्रेनले खार्किभलाई रुसी सेनाबाट जोगाउन अमेरिकी एटीएसीएमएस मिसाइल प्रयोग गर्न सक्ने बताएका छन् । यसको दायरा ३०० किलोमिटर छ ।

युक्रेनले यी हतियारहरूद्वारा रुसी सेनामाथि प्रत्यक्ष आक्रमण गर्न सक्ने अमेरिकी अधिकारीहरूले बताएका छन् । यद्यपि, तिनीहरू रूसी सिमाना भित्र भने प्रयोग गर्न पाउने छैनन् । रुसले १० मेदेखि खार्किभमा आक्रमणलाई तीव्र पारेको थियो । यसपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका र पश्चिमी देशहरूसँग आफूले दिएको हतियार रुसविरुद्ध प्रयोग गर्न अनुमति मागेका थिए ।

अमेरिकाले यसअघि युक्रेनलाई रुसविरुद्ध हतियार प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेको थियो । अमेरिकालाई डर थियो कि यदि आफ्नो हतियार रुसविरुद्ध प्रयोग भयो भने, रुसले यसलाई अमेरिकाको प्रत्यक्ष आक्रमण मान्न सक्छ ।

अमेरिकी अधिकारीहरूले युक्रेनले अमेरिकी हतियारको प्रयोगमा पहिले कुनै औपचारिक प्रतिबन्ध नरहेको बताए । तर, रुसविरुद्ध प्रयोग भए पुटिनले कडा कदम चाल्न सक्ने डर थियो । साताको सुरुमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विदेश नीति समयसँगै परिवर्तन वा परिवर्तन हुने बताएका थिए ।

दुई दिनअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई हतियार उपलब्ध गराउने देशलाई चेतावनी दिएपछि यो निर्णय गरिएको हो । पुटिनले युक्रेनबाट प्राप्त हतियार लिएर रुसमाथि आक्रमण गर्ने देशले गम्भीर परिणाम भोग्नुपर्ने बताएका थिए ।
पश्चिमी देशहरूले पनि हतियारको प्रयोगलाई अनुमोदन गरे

चार दिनअघि केही पश्चिमी देशहरूले पनि युक्रेनलाई रुसविरुद्ध आफ्नो हतियार प्रयोग गर्न आग्रह गरेका थिए । लाटभियाका राष्ट्रपति एडगर्स रिंकेभिक्सले यसका लागि अनुमति दिने पहिलो व्यक्ति थिए। त्यसपछि बेलायत र स्वीडेनले पनि त्यस्तै गरे ।

यसबाहेक केही दिनअघि बेलायतले युक्रेनमा लामो दुरीको स्टर्म स्याडो मिसाइल पठाएको थियो । यो क्षेप्यास्त्रले रुस भित्र २५० किलोमिटरसम्म मार गर्न सक्छ । यति मात्र होइन, स्विडेनले युक्रेनलाई सेल्फ एक्टिभ तोपको प्रविधि पनि पठाएको छ ।

अघिल्लो महिना फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पश्चिमी देशहरूले युक्रेनमा सेना पठाउन सक्ने बताएका थिए । जसमा रुसले पनि कडा आपत्ति जनाएको थियो । रुसी पक्षबाट यस्तो कुनै पनि प्रयासले गम्भीर परिणाम निम्त्याउने बताएको थियो ।

यद्यपि म्याक्रोनको भनाइलाई जर्मनीलगायत धेरै पश्चिमी देशहरूले अस्वीकार गरेका छन्। यसपछि पुटिनले प्रत्यक्ष रूपमा परमाणु युद्धका लागि तयार हुने धम्की दिएका थिए ।

काठमाडौँ । मलाइका अरोरा र अर्जुन कपूरले लामो समयदेखिको प्रेम सम्बन्ध टुंगाएका छन् । भारतीय मिडियाका अनुसार दुवैले आपसी सहमतिमा आफ्नो सम्बन्धलाई पूर्ण विराम लगाउने निर्णय गरेको बताइएको छ ।

मलाइका र अर्जुनले आफ्नो मित्रतालाई कायमनै राख्दै प्रेम सम्बन्धबाट छुट्टिने निर्णय गरेको रिपोर्टमा उल्लेख छ ।

अर्जुन र मलाइकाको सम्बन्धको २०१८ देखि सार्बजनिक रुपमा बाहिर आएको थियो, जब उनीहरू एक फेशन शो कार्यक्रममा सँगै देखिएका थिए । मलाइकाको ४५औं जन्मदिनमा उनीहरुले सामाजिक सञ्जालमा आफ्नो सम्बन्धको पुष्टि गरेकि थिइन् ।

यसलाई आधिकारिक बनाएपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थालेका थिए । कफी विथ करणमा अर्जुनको उपस्थितिमा पनि, उनले आफ्नो प्रेम जीवन र उनीहरूको सम्बन्धलाई अर्को स्तरमा लैजाने योजनाहरूको बारेमा कुरा गरेकी थिइन् ।

मलाइका अरोराले २०१७ मा अरबाज खानसँगको आफ्नो १९ बर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गर्दै लग भएकी थिइन् । अरबाजसँग उनको एक छोरा रहेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।