२०८३ बैशाख २५
२०८३ बैशाख २५

काठमाडौँ । बलिवुडका सुपरस्टार अभिनेता अक्षय कुमारका फिल्मले पछिल्लो समयमा बक्स अफिसमा सफलता पाउन सकेका छैनन् । अहिले रिलिज भएको फिल्म सरफिरा बक्स अफिसमा असफल भएपछि अक्षयको समस्या बढेको छ ।

हरेक बर्ष कम्तिमा चार फिल्म रिलिज गर्ने अक्षय कुमारका पछिल्ला फिल्म लगतार असफल भएको समयमा सरफिराबाट उनले विशेष आशा राखेका थिए । तर यो फिल्मले पनि दर्शकको मन जित्न नसकेपछि उनी निराश भएका छन् ।

सरफिराको पहिलो दिन कमाई नै निकै निराशाजनक रहेको थियो ।  साताको अन्त्यमा फिल्मको कमाईमा केही सुधार भएपनि पहिलो सोमबारको कमाईमा उल्लेख्य गिरावट आएको छ । फिल्मले आइतबार ५.१ करोड कमाएको थियो । चौथो दिन सरफिराले १.४० करोड कमाएको थियो । योसँगै फिल्मले अहिलेसम्म १३.४० करोडको व्यापार गरेको छ ।

८० करोडको लगानीमा बनेको यो फिल्मले अब बक्स अफिसमा जादु देखाउने सम्भावना देखिएको छैन ।

यस अघि उनको अप्रिलमा रिलिज भएको बडे मिया छोटे मियाँले केवल ५९ करोड कमाएको थियो र फ्लप भएको थियो भने त्यसअघि गत अक्टोबरमा मिसन रानीगंजले ३३ करोड कमाएको थियो र बक्स अफिसमा असफल भएको थियो । सरफिरासँगै उनका लगातार तेस्रो फिल्म बक्स अफिसमा फ्लप भएका छन् ।

उनको फिल्म २०२३ को अगस्तमा ओएमजी- २ ले १५० करोड कमाई गरेको थियो र बक्स अफिसमा सुपर हिट भएको थियो । त्यसअघि रिलिज भएका सेल्फी, रक्षा बन्धन, सम्राट पृथ्वीराज र बच्चन पाण्डे फ्लप भएका थिए ।

सुधा कोंग्रा प्रसादले निर्देशन गरेको सरफिरामा अक्षय कुमार बाहेक राधिका मदन, परवेश रावल सीमा विश्वासलगायतको अभिनय रहेको छ ।न्युज कारखाना

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । आज अपरान्ह ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।

समाजवादी मोर्चाका प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि समाजवादी मोर्चाको बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र मोर्चाको आगामी रणनीति बारे छलफल हुने बताइएको छ ।

समाजवादी मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।न्युज कारखाना

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

मंगलबार सुन तोलाको ९ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मुल्य हो ।

यस अघि सोमबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ९ सय रहेको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ बर्षको कार्ययोजना बनाई कम्तिमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो ।

यसको सुरूवात भएको आर्थिक बर्ष २०८०/८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरि जम्मा ६०२२ जनाले तालिम सम्पन्न गरेका छन् । यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरि जम्मा ९११ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको  छ । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु  रोजगार/स्वरोजगार भएका छन् ।

महानगरको सानो प्रयासले एक आर्थिक बर्षमा १७०० भन्दा बढी नेपाली दाजुभाई दिदीबहिनीहरू रोजगार/स्वरोजगार भएका छन् । यद्यपि यो हाम्रो लक्ष्य भन्दा धेरै सानो संख्या हो । आर्थिक बर्ष २०८१/८२ मा दुवै योजनाहरूलाई थप परिस्कृत गरि लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरि बजेट तथा कार्यक्रमहरु तयार गरेको छ । सिप मेलामा फर्म भर्नु भएका सम्पूर्णलाई तालिमतालिका अनुसार तालिम उपलब्ध गराउने नै छौँ । समय र स्थान एसएमएस मार्फत जानकारी गराउने छौँ ।

महानगरले व्यवसाय, संघ संस्था कार्यालयका लागि सीपयुक्त दक्ष जनशक्ति आवश्यक परेमा काठमाडौँ प्लाजास्थित महानगरको श्रम बैंक वा वेबसाइटमा भएको लिंक मार्फत सम्पर्क गरी सेवा लिन सक्ने जनाएको छ । एउटै पदका लागि १० जना भन्दा बढी जनशक्ति आवश्यक भएमा सेलेबसमा आधारित तालिम दिई रोजगारीमा पठाउने व्यवस्था मिलाएको महानगरले जनाएको छ ।
न्युज कारखाना

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय १३ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय १३ जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३१ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्‍चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय १९ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना र गण्डकी प्रदेशमा १ जना र सुदूरपश्‍चिम प्रदेशमा १ जना गरी ७ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय ५ वटा घर, ७८ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ३ हजार ६ सय ३० घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत प्रहरीले गरिरहेको जानकारी दिएकोछ ।न्युज कारखाना

चितवन । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो । शवको पहिचान खुलेको छैन ।

नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शवको अहिले उत्खनन गर्ने काम भैरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

त्रिशूली बस दुर्घटनामा परि बेपत्ता भएका यात्रु मध्येकै शव भएको हुनसक्ने अनुमान छ । यसअघि गैरी क्षेत्रमै बस दुर्घटनामा परेका ३ यात्रुको शव फेला परेको थियो ।

हालसम्म १५ यात्रुको शव फेला परिसकेको छ भने कम्तिमा ४७ यात्रुको अवस्था अझै अज्ञात रहेको छ । सिमलता दुर्घटनामा परेका यात्रुको शव करिब १०० किमी तल गण्डक व्यारेजमा भेटिन थालेकोले सो क्षेत्रमा खोजी तिब्र पारिएको स्थानीय प्रशासनले जनाएको छ ।न्युज कारखाना

काठमाडौं । पूर्वप्रधान मन्त्री एवम् मदन पुरस्कार विजेता आख्यानकार लोकेन्द्रबहादुर चन्दको ‘रात्रिभोज’ कथा सङ्ग्रहको दोस्रो संस्करण प्रकाशित भएको छ।

वि.सं. २०६० मा बगर फाउन्डेसन नेपालबाट पहिलो संस्करण प्रकाशित यस कृतिको दोस्रो संस्करण वि.सं. २०८१ मा एलआरआई एडुकेसनल् फाउन्डेसनबाट प्रकाशित भएको हो। यस कृतिमा कृतिको नामकरण गरिएको रात्रिभोज कथासहित जम्माजम्मी १८ कथा समावेश छन्।

जीवन–भोगाइसम्बद्ध अनेक परिघटना एवम् मनोगत विम्बलाई बौद्धिकताको कसी लगाएर तथ्यपरक आलोचनाका साथ स्पष्ट मूल्याङ्कनसमेत गर्ने प्रखर सामथ्र्य भएका कथाकार लोकेन्द्रबहादुर चन्दले विभ्रान्त अन्तर्दशाका नेपथ्यमा नै मानवीय निष्ठा र आदर्शको घर–आँगन स्थापना गर्ने अभीष्टका साथ सामाजिक यथार्थमा आधारित पर्यवेक्षणयुक्त आख्यान सिर्जना गरी उच्च साफल्य प्राप्त गरेको पुस्तकका सम्पादक सुभाषचन्द्र भण्डारीले बताए।

उनले कथाका माध्यमबाट भ्रष्ट र अनैतिक आचरणको पर्दाफास गर्दै निखारिएको व्यङ्ग्यात्मक धारको चेत–अस्त्रबाट चोटिलो प्रहार गरेका छन्। उनले वस्तुतः सामाजिक विसङ्गतिले विषाक्तिएर विक्षत भएका असन्तुष्टि र आवेशयुक्त मनोद्वन्द्वका बियाँहरुलाई युगचेतनाको सुपोमा राखेर राम्ररी निफनेको भण्डारीले बताए।

‘हिउँको तन्ना’ र ‘विसर्जन’ (मदन पुरस्कार प्राप्त) पछि प्रकाशित तेस्रो कथासङ्ग्रह ‘रात्रिभोज’को दोस्रो संस्करण (वि.सं. २०८१) एलआरआई एडुकेसनल् फाउन्डेसन, काठमाडौंका तर्फबाट सुरुचिपूर्वक प्रकाशन गर्ने अभिलाषा सार्थक गरेकोमा शिक्षासेवी, समाजसेवी एवम् साहित्यपारखी शिवराज पन्तप्रति भण्डारीले आभार व्यक्त गरे।न्युज कारखाना

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोबाट रिपब्लिकन सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरेका छन् ।

ट्रम्पले सोमबार आफ्नो ट्रुथ सामाजिक सञ्जालमा यो घोषणा गरेका हुन् । भ्यान्स ट्रम्पको आलोचक थिए तर पछि उनको सहयोगी बने।

ओहायोबाट पहिलो पटक सिनेटरमा निर्वाचित भएका भ्यान्सको कन्जरभेटिभ मतको राम्रो आधार छ । भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनुले रिपब्लिकन पार्टीमा ठूलो संख्यामा कन्जरभेटिभ मतदातालाई आकर्षित गर्न सक्ने बताइएको छ ।

रिपब्लिकनबाट उपराष्ट्रपतिको दौडमा फ्लोरिडाका सिनेटर मार्को रुबियो, नर्थ डकोटाका गभर्नर डग बर्गमलगायत दौडमा रहेका थिए ।न्युज कारखाना

काठमाडौँ । पछिल्ला केही वर्षहरूमा पृथ्वीको सतह र अन्तरिक्षका बारेमा धेरै अनुसन्धानहरू भएका छन् । +प्रविधिको यो आधुनिक युगमा चन्द्रमा र मंगल ग्रहमा मानिस बस्ने कुरा त भइरहन्छ तर पृथ्वीको मूल (भित्री भाग) बारे धेरै कुराहरू विज्ञानको नसुल्झिएको रहस्य नै रहेको छ ।

यो किनभने पृथ्वीको केन्द्र बिन्दु लगभग ५ हजार किमी छ । यो गहिरो छ र आजसम्म मात्र १२ किमीको बारे जानकारी उपलब्ध छ । यस अवस्थामा, क्यालिफोर्निया विश्वविद्यालय र चाइनिज एकेडेमी अफ साइन्सेसका वैज्ञानिकहरूको टोलीले पृथ्वीको सतह भन्दा विपरीत दिशामा धेरै बिस्तारै घुम्ने पत्ता लगाए ।

वैज्ञानिकहरुको टोलीले अध्ययनको नतिजा अनुसार सन् २०१० यता विगत १४ वर्षमा पृथ्वीको परिक्रमाको गति घट्दै गएको जनाएको छ ।

तर ५ हजार किमीमा नपुगेर वैज्ञानिकहरू कसरी यो निष्कर्षमा पुगे ? पृथ्वीको कोरलाई विपरीत दिशामा घुमाउँदा पृथ्वीको सतहमा कस्तो असर पर्छ ?

पृथ्वीको संरचना र तहहरू वैज्ञानिकहरूले पृथ्वीको संरचनालाई तीनवटा फरक तहमा विभाजन गरेका छन्, क्रस्ट, आवरण (सतह र कोर बीचको चट्टानको ठोस तह), र कोर । अहिलेसम्म यो मूलको बारेमा धेरै धारणाहरु बनाइएको थियो ।

काल्पनिक कथा पनि धेरै छन् । सन् १८६४ मा प्रकाशित उपन्यास ‘जर्नी टु द सेन्टर अफ द अर्थ’ र त्यसमा आधारित फिल्म निकै चर्चित छन् । यसलाई सजिलो तरिकाले बुझ्नको लागि, हामी पृथ्वीलाई अन्डासँग तुलना गर्न सक्छौं । यसरी, अण्डाको बाहिरी खोल पृथ्वीको सतह वा क्रस्ट हुनेछ, अण्डा भित्रको सेतो तरल पदार्थ पृथ्वीको आवरण हुनेछ, र अण्डाको पहेंलो भाग (पहेंलो भाग) पृथ्वीको कोर हुनेछ ।

पृथ्वीको भित्री भाग फलामले बनेको छ र आकारमा गोलाकार छ ।

यसको रेदियास १२२१ किमी छ । यसको तापक्रम ५४०० डिग्री सेल्सियस छ, जुन लगभग सूर्यको तापक्रम (५७०० डिग्री सेल्सियस) बराबर छ । विगतमा गरिएका अध्ययनहरूले यो कोर पृथ्वीको बाँकी भागबाट अलग रहेको देखाएको छ । यो धातुको तरल पदार्थ मार्फत पृथ्वी भित्र स्वतन्त्र रूपमा काम गर्दछ । अर्थात्, यो पृथ्वी भित्र स्वतन्त्र रूपमा घुम्छ र यस समयमा पृथ्वीको बाँकी भागसँग यसको कुनै सम्बन्ध हुँदैन भनिन्छ ।

तर हालैको अध्ययनको नतिजाले झण्डै ४० वर्षमा पहिलो पटक पृथ्वीको सतहको तुलनामा विपरित दिशामा घुमिरहेको देखाएको छ । यस समयमा कोर पृथ्वीको आवरण भन्दा अलि ढिलो घुमिरहेको छ ।

भूकम्पको समयमा उत्पन्न हुने सिस्मिक तरंगहरू मार्फत पृथ्वीको केन्द्रको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।  जब पृथ्वीको सतहमा ठूला भूकम्पहरू आउँछन्, गडबडीबाट उत्पन्न लहरहरूको ऊर्जा पृथ्वीको भित्री भागमा जान्छ र सतहमा फर्कन्छ । वैज्ञानिकहरूको टोलीले पृथ्वीको गहिराइमा यात्रा गर्ने र सतहमा फर्कने यी तरंगहरूबाट निस्कने ऊर्जाको मार्गहरूको अनुसन्धान गरे ।

यसका लागि वैज्ञानिकहरूले सन् १९९१ देखि २०२३ को बीचमा साउथ स्यान्डविच टापुहरू वरपर रेकर्ड गरिएका १२१ भूकम्पबाट तथ्यांक संकलन र विश्लेषण गरेका थिए । त्यति मात्र होइन, उनीहरूले अध्ययनका लागि सन् १९७१ र १९७४ बीचको सोभियत आणविक परीक्षणका साथै फ्रान्सेली र अमेरिकी आणविक परीक्षणको डाटा पनि प्रयोग गरेका थिए ।

के कोर उल्टो दिशामा घुम्छ ?

पृथ्वीको कोर उल्टो दिशामा घुम्छ भन्न सकिँदैन । यो एक साधारण उदाहरण मार्फत व्याख्या गर्न सकिन्छ ।  तपाईं कारमा १०० किलोमिटर/घण्टाको गतिमा चलिरहनुभएको छ र तपाईंको साथी पनि आफ्नो कारमा १०० किलोमिटर/घण्टाको गतिमा यात्रा गर्दै हुनुहुन्छ । दुबै सँगै यात्रा गरिरहेका छन् । अब अचानक त्यो साथी २० किलोमिटर गयो । गति ८० किमी / घण्टामा घट्छ ।

अब तिम्रो छेउबाट हेर्दा त्यो साथी सडकमा पछाडी हिडिरहेको देखिनेछ किनभने तिमी अहिले १०० किलोमिटर/घण्टाको गतिमा गुडिरहेका छौ । त्यसैगरी, कोर पृथ्वीको परिक्रमा गतिको तुलनामा सुस्त हुँदै गएको छ, र उल्टो दिशामा घुमिरहेको मानिन्छ । त्यसैले यस अध्ययनको नतिजा पनि काल्पनिक रहेको बताउँछन् । अझै पनि पृथ्वीको मूल भागलाई हामीले पूर्ण रूपमा बुझेका छैनौं । अनुसन्धान अझै जारी छ । कोरको साइज पनि डाटाबाट अनुमान गरिएको छ । यसको कारण यो हो कि हामी ५ हजार  किलोमिटरको गहिराइमा पुग्न सक्दैनौं । सिस्मिक डाटा मार्फत, वैज्ञानिकहरूले निष्कर्षमा पुगेका छन् कि कोरको घुमाउने गति घटेको छ, जुन भविष्यमा परिवर्तन हुन सक्छ ।

के नतिजा आए ?

पृथ्वीको कोरको परिक्रमा गति कम हुनाले म्याग्नेटोस्फियरमा परिवर्तन हुनेछ । म्याग्नेटोस्फियर भनेको ग्रहको वरपरको क्षेत्र हो, जुन ग्रहको चुम्बकीय क्षेत्रद्वारा हावी हुन्छ । कोर फलाम र निकल जस्ता धातुबाट बनेको हुन्छ । त्यसैले जब यसको परिक्रमा प्रभावित हुन्छ, यसले पृथ्वीको सतहमा परिवर्तन ल्याउँछ ।

यी परिवर्तनहरूमा चुम्बकीय क्षेत्र महत्त्वपूर्ण कारक हो । जब पृथ्वी ब्रह्माण्डमा आफ्नो कक्षमा परिक्रमा गरिरहेको हुन्छ, पृथ्वी भित्रको धातुले बनेको यसको कोर पनि घुमिरहेको हुन्छ । यी दुवै गतिका कारण चुम्बकीय शक्ति उत्पन्न हुन्छ, यो पृथ्वीको वरिपरि बनेको चुम्बकीय क्षेत्र हो ।

यस चुम्बकीय क्षेत्रको विकिरणले पृथ्वीलाई सूर्यबाट जोगाउन ढालको रूपमा काम गर्छ। तर एकै समयमा, यो चुम्बकीय क्षेत्रले पृथ्वीको कक्षाको समयमा पनि परिवर्तन ल्याउन सक्छ । यसको अर्थ हाम्रो दिनको लम्बाइ निर्धारण गर्न चुम्बकीय क्षेत्रले पनि भूमिका खेल्छ । तर यसको प्रभाव धेरै छैन। यसले एक दिनको अवधिमा एक माइक्रोसेकेन्डसम्मको परिवर्तन ल्याउन सक्छ। यो हामीसँग भएको तथ्यांकमा आधारित छ । यो परिवर्तनको लागि कोरको परिक्रमा गति बढी जिम्मेवार छ र हामीले भविष्यमा थप अनुसन्धान गर्न आवश्यक छ ।न्युज कारखाना

काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुईजना कृषि प्राविधिक घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार पक्राउ पर्नेमा कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामी रहेका छन्।

कृषि प्राविधिकद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले पक्राउ गरेको हो।

उनीहरूले सेवाग्राहीबाट नगद ४ लाख १२ हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र निजहरूको साथबाट ४५ लाख ६० हजारको ५ थान चेक र अशोक सिंह धामीको नाममा काटिएको २ लाख ५० हजार ००० को २ वटा गरी .५ लाखको चेकसहित कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ४ बोराडाडीबाट नियन्त्रणमा लिइएको हो।

दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।