२०८३ बैशाख २५
२०८३ बैशाख २५

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

विहिबार सुन तोलाको ३ सयले घटेर एक लाख ४९ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्बाधिक मुल्य हो ।

यस अघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ८ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपियाँ घटेर तोलाको १८६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

काठमाडौं । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या १८३ पुगेको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा आज उक्त नियोगमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र उक्त विश्व संस्थाका लागि किरीबासका स्थायी प्रतिनिधि टेबुरोरो टिटोले हस्ताक्षर गरेका छन् ।

साथै दुवै देशका राजदूतले नेपाल र किरीबासबीच कूटनीतिक सम्बन्ध कायम भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिने पत्रमा पनि हस्ताक्षर गरे । त्यस अवसरमा दुवै मुलुकका स्थायी प्रतिनिधिले अल्पविकसित मुलुकका विकासका विषय, संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चमा पारस्परिक लाभका क्षेत्रमा साझेदारी गर्दै आपसी हित र साझा चासोका विविध विषयमा विचार आदानप्रदान गरेको उक्त नियोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बेलायतको उपनिवेशबाट १२ जुलाई १९७९ मा स्वतन्त्र भएको किरीबासको जनसङ्ख्या एक लाख २० हजार छ भने यो टापु राष्ट्र १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएको हो ।न्युज कारखाना

काठमाडौँ । मासन ग्रीनवूड फ्रेन्च क्लब मार्सेलीमा अनुबन्ध भएका छन् । म्यानचेस्टर युनाइटेडका फरवार्डले मार्सेलीसँग २०२९ सम्मका लागि सम्झौता गरेका हुन् ।

ग्रीनवूडलाई मार्सेलीले ३० मिलियन युरोमा किनेको बताइएको छ ।

२२ बर्षिय ग्रीनवुड यौन दुर्व्यबहारको आरोपमा पक्राउ परेकोमा अदालतले सफाई दिएपछि फुटबलमा फर्किएका थिए । तर म्यानचेस्टर युनाइटेडका फ्यानहरुले उनको विरोध गरेपछि उनलाई गत सिजन लोनमा स्पेनिस क्लब गेटाफेबाट खेलेका थिए ।

गेटाफेमा उनले उत्कृष्ट प्रदर्शन गर्दै ३६ खेलमा १० गोल समेत गरेका थिए ।न्युज कारखाना

काठमाडौँ । दुबईका शासक मोहम्मद बिन रसिद अल मकतूमकी छोरी शेखा महरा बिन्तले आफ्ना पति शेख मानालाई तीन तलाक दिएकी छन् । आफ्नो इन्स्टाग्राम अकाउन्टमा अङ्ग्रेजीमा पोष्ट गर्दै महराले लेखेका छन्, ‘तिमी अरुसँग व्यस्त छौ । म हाम्रो सम्बन्ध विच्छेदको घोषणा गर्छु ।’

महराले श्रीमान शेख मनालाई इन्स्टाग्राममा अनफलो गरेकी छिन् । यसबाहेक महराले श्रीमान्सँग पोस्ट गरेका सबै तस्विर पनि हटाएकी छन् ।

गत वर्ष विवाह गरेकी महराले यसै वर्ष मे महिनामा छोरीलाई जन्म दिएकी थिइन् । शेखा महराको जन्म सन् १९९४ मा भएको थियो । ३० वर्षीया शेखा महराले आफूभन्दा चार वर्ष कान्छो शेख मानासँग २०२३ को मे महिनामा विवाह गरेकी थिइन् । शेख माना एक उद्यमी हुन् । उनका अल्बाराडा ट्रेडिङ, दुबई टेक, जीसीआई रियल इस्टेट डेभलपमेन्ट कम्पनी र एमएम ग्रुप अफ कम्पनीहरू जस्ता कम्पनी रहेका छन् । यसबाहेक उनी एक ट्राभलर पनि हुन् ।

महरासँग सम्बन्धित केही व्यक्तिले शेखा महराले सम्बन्धविच्छेद नगरेको दाबी गरेका छन् । उनीहरुले उनको एकाउन्ट ह्याक भएको बताएका छन् । भने कैयौंले महरालाई समर्थन गर्दै सहासी राजकुमारी भनेका छन् ।न्युज कारखाना

 

रौतहट- बाराको कोल्हवी नगरपालिकास्थित करोडौंको लागतमा कृषि तथा पशु सेवाको लागि एकीकृत भवन निर्माण सुरू भएको छ।

कोल्हवी-१ स्थित कृषि तथा पशु सेवाको लागि एकीकृत भवन निर्माणका लागि मेयर रामप्रसाद चौधरी र उप-मेयर लक्ष्मी कुमारी चौधरीले सयुक्त रुपमा विधिवत पूजापाठ गरी उक्त भवनको शिलान्यास गरेका छन्।

आर्थिक करिडोर कार्यालय (रिड) बर्दिवास महोत्तरीको २ करोड ३९ लाख ४२ हजार ७७४ रुपैयाँ २७ पैसाको आर्थिक सहयोगमा उक्त भवन सीएम कन्स्ट्रक्सन जोरपाटी काठमाडौंले निर्माण गर्ने ठेक्का पाएको छ।

करिडोरले आफ्नो तेस्रो चरणको भवन निर्माण अन्तरगत उक्त भवन निर्माण गर्न लागेको पशु सेवा कार्यालय कोल्हवीका प्रमुख शम्भु पनुहरले जानकारी दिएका छन्।

ठेकदार कम्पनीले आगामी सात महिनाभित्र भवन निर्माणको काम पूरा गर्ने सम्झौता गरेको छ।

भवन निर्माणपछि कृषि र पशुको एउटै भवनबाट सेवा प्रवाह हुने भएकाले किसान तथा पशु पालकहरूलाई  सहज हुने वडा १ का अध्यक्ष राजहरण चौधरीले खुसी व्यक्त गरेका छन्।न्युज कारखाना

 

रौतहट- रौतहटमा जथाभावी रूपमा अरूको खेत हुँदै विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरिएको छ।

स्थानीय देवाही गोनाही नगरपालिका-७ गोनाही टोलका रामदरेश राय यादव र गुल्टेन राय यादवमाथि इलाका प्रहरी कार्यालय गरुडाले ज्यान सम्बन्धी मुद्दा दायर गरेको हो।

आरोपीहरूले विद्युतको पोलबाट जथाभावी आफ्नो खेतमा लगेको मोटरको तारबाट करेन्ट लागेर गत सोमबार दिउँसो देवाही गोनाही-७ का ४५ वर्षीय चुनिलाल पासवानको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको थियो।

पासवानको मृत्युपछि उनका आफन्तले दिएको लिखित किटानी जाहेरीको आधारमा मंगलबार रामदरेश र गुल्टेनमाथि कर्तव्य ज्यान मुद्दा दर्ता भएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।

गत सोमबार दिउँसो १ बजेर २० मिनेटमा करेन्ट लागेलगत्तै प्रहरीले पासवानलाई उद्धार गरी तत्काल उपचारको लागि शिवनगरस्थित एक निजी अस्पतालमा लगेकोमा उपचारको क्रममा मुत्यु भएको थियो।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले घटनालगत्तै पासवानको खेत हुँदै विद्युतको तार लगेका रामदरेश राय यादव, गुल्टेन राय यादव फरार रहेकाले उनको खोजी तथा घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

रौतहटमा आफ्नो खेतमा पानी पताउन जथाभावी रुपमा विद्युत पोलबाट लागेको तारबाट करेन्ट लागेर वर्षेनी कैयौं मानिसको मृत्यु हुने गरेको पाइएको छ।न्युज कारखाना

काठमाडौँ । इन्टर मियामीले अमेरिकन लिग सकर अन्तर्गतको खेलमा टोरोन्टो क्लबलाई पराजित गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले टोरोन्टोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा फेडेरिको रेडोन्डोले दुई गोल गरेका थिए भने डिएगो गोमेजले एक गोल गरेका थिए । त्यसैगरी डेरीक एटीएने जुनियरले टोरोन्टोका लागि एक गोल गरेका थिए ।

यस खेलमा हालै कोपा अमेरिका जितेका लियोनेल मेसी र उरुग्वेका सुपर स्टार खेलाडी लुइस स्वरेज खेलेका थिएनन् । मेसी कोपा फाइनलमा घाइते भएपछि इन्टर मियामीका केहि खेल गुमाउने भएका छन् ।

यो जितपछि इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २४ खेलमा ५० अंक भएको छ र अहिलेसम्म शिर्ष स्थानमा रहेको छ । त्यस्तै टोरोन्टो भने २५ खेलमा २७ अंकसहित आठौ स्थानमा छ ।न्युज कारखाना

काठमाडौं – भिजिट भिसामा कुवेत पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका-३ का ५७ वर्षीय झयन्द्रकुमार अधिकारी रहेका छन्। उनलाई मानव बेचबिखन ब्युरो काठमाडौंको टोलीले बुधबार ललितपुर महानगरपालिका-२४ बाट पक्राउ गरेको हो।

ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनले एक महिलालाई दुबईको कम्पनीमा काम लगाइदिने भन्दै विश्वास दिलाएका थिए। उनले त्यहाँ रहेका अर्का व्यक्तिसँग मिलेमतो गरी मासिक ४० हजार तलब हुने भन्दै महिलाको अन्तर्वार्तासमेत लएका थिए।

लागत खर्च भनी अधिकारीले महिलाबाट दुई लाख नगद लिएका थिए।

अधिकारीले सुरूमा भिजिट भिसामा महिलालाई २०७९ जेठ १६ गते दुबई पुर्‍याएका थिए। दुबईमा पुगेपछि अर्का व्यक्तिको जिम्मा लगाए।

मिश्रका अनुसार ती व्यक्तिले आफू बस्ने फ्ल्याटमा महिलालाई पुर्‍याए।

उनले ती महिलालाई घरेलु काममा लगाएर चरम यौनशोषण गरी गर्भपतन समेत गराएको खुलेको मिश्र बताउँछन्।

त्यसपछि ती व्यक्तिले दुबईमा भन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिस क्लिनर हो भन्दै २०८० वैशाख २८ गते दुबईबाट कुवेत पुर्‍याएर अर्का एजेन्टको जिम्मा लगाए।

त्यहाँ पुगेपछि ती एजेन्टले बन्धक बनाएर चरम यौन शोषण गरेको मिश्रले बताए।

आफूमाथि शोषण सहन नसकेर ती महिलाले एजेन्टलाई नेपाल फर्काइदिन अनुरोध गरिन्।

रकम बुझाउन भनेपछि उनले आफन्तमार्फत् ६ लाख ७५ हजार रुपैयाँ तिरेपछि ती एजेन्टले मुक्त गरिदिए। मिश्रका अनुसार त्यसपछि ती महिला २०८० मंसिर ३ गते नेपाल फर्केर ब्युरोमा जाहेरी दिएकी थिइन्।

अधिकारीलाई खोजी गरिरहेको प्रहरीले बुधबार पक्राउ गरी अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको मिश्रले बताए।न्युज कारखाना

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदको किस्तावापतको ४३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी जहाजको असार महिनाको किस्तावापत पूरा र वाइडबडी जहाजको आंशिकगरी असार मसान्तसम्मको रकम भुक्तानी गरेको हो ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो । निगमको पछिल्लो व्यवस्थापन सम्हालेयता २०८१ असारसम्म पाँच अर्ब ७९ करोड ७६ लाख ४२ हजार दुईसय ४९ किस्ता रकम भुक्तानी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

निगमले कोरोना महामारीका कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले उक्त अवधिको व्याजको व्याज, हर्जाना र जरिमाना छुट गरिदिन दुई कोषलाई अनुरोध गरेको छ । साथै किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाई सहजीकरण गरिदिन निगमले दुवै कोषलाई अनुरोध पत्र पठाइएको निगमले जनाएको छ ।न्युज कारखाना

चितवन । नारायणगढ– मुग्लिन सडकको सिमलतालमा गत असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव फेला परेको छ ।  प्रहरीकाअनुसार १९ मध्ये १४ शवको सनाखत भएको छ भने बाँकी पाँच जनाको सनाखत हुन बाँकी छ ।

सनाखत हुनेमा भारतका ऋषिपाल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप बिक, बाराका परमानन्द पण्डित, चन्द्रनिगापुरका किशोरकुमार चौधरी, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी र रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ । अरु पाँच जना पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

गएको शुक्रवार बिहान वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाण्डौबाट गौरको लागि छुटेको बाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपती डिलक्सको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

दुवै बसमा गरी ६५ यात्रु रहेकोमा तीन जनाले आफुलाई बचाएका थिए । अझै कम्तिमा ४३ यात्रु बेपत्ता छन् । त्रिशुलीमा बेपत्ता रहेका दुवै बसको नेपाली सेना र सशस्त्रका गोताखोरले खोजी रहेपनि अहिलेसम्म फेला पार्न सकिएको छैन ।न्युज कारखाना

 

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।