आरके श्रीवास्तव,राैतहट,२२ गते साउन ।
राैतहटकाे फतुवा विजयपुर नगरपालिकाले नगर कार्यपालिकाको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच प्रमुख प्रशासकिय अधिकृत श्री भरत प्रसाद यादवलाई कदर-पत्र प्रदान गरेको छ ।

२०८१ पुस २३ गते देखि सेवा दिइरहनुभएका यादवले आ.व. २०८१/८२ मा आर्थिक, प्रशासनिक तथा सेवा प्रवाहको क्षेत्रमा उल्लेखनीय सुधार गर्नुभएको योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले यादवलाई सम्मान पत्र प्रदान गर्दै उहाँले देखाएको प्रतिबद्धता, पारदर्शिता र सुशासनप्रति धन्यवाद व्यक्त गर्नुभयो । “उहाँको नेतृत्वमा नगरपालिकाको सेवा प्रवाह अझ प्रभावकारी र जनमुखी बनेको छ,” खातुनले भनिन्।

सम्मान समारोहमा प्रमुख समाजसेवी अच्युत मैनाली, प्रदेश सांसद प्रत्यासी शेख सेराज, शिक्षा संयोजक सुबोध प्रसाद यादव, पूर्व वडा अध्यक्ष तथा कार्यपालिका सदस्य उमाशंकर साह, कलवार, परमेश्वर यादवसहित थुप्रै स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।

समारोहमा वक्ताहरूले यादवको इमान्दारिता, कुशल प्रशासनिक क्षमता र नागरिक–मैत्री सेवा प्रवाहको प्रशंसा गर्दै उहाँको कार्यशैलीलाई उदाहरणीय भन्दै आगामी दिनमा पनि यस्तै सकारात्मक सुधार कार्य निरन्तर रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

नगरपालिकाले आगामी दिनहरूमा पनि दक्ष र समर्पित कर्मचारीहरूलाई प्रोत्साहन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

काठमाडौं ।
नेपाल इन्जिनियरिङ कलेज (नेक) ले शैक्षिक सत्र २०८२÷८३ का लागि समुदाय छात्रवृत्ति कार्यक्रम सार्वजनिक गरेको छ । सरकारी सामुदायिक विद्यालयमा अध्ययन गरेका गरिव, विपन्न छात्रछात्राहरूलाई लक्षित गरी पहिलो पटक छुट्टै समुदाय छात्रवृत्ति समेत प्रदान गरिने भएको हो । यसका साथै कलेजले मुलुकका सातै प्रदेशबाट एक÷एक जना गरी सात जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने पनि बताएको छ ।

कलेज प्रशासनका अनुसार, प्रदेश छात्रवृत्ति अन्तर्गत प्रत्येक प्रदेशबाट चयन भएका एक÷एक जना मेधावी विद्यार्थीलाई १००% शुल्क छुट दिइनेछ । यस छात्रवृत्तिका लागि एसइइ र +२ मा उच्च अंक ल्याएका, आर्थिक रूपले कमजोर, र इन्जिनियरिङ अध्ययनमा गहिरो रुचि भएका विद्यार्थीलाई प्राथमिकता दिइने जनाइएको छ । त्यस्तै, समुदाय छात्रवृत्ति अन्तर्गत सरकारी सामुदायिक विद्यालयमा +२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई पनि पूर्ण वा आंशिक शुल्क छुट दिइनेछ । यस कार्यक्रमले ग्रामीण तथा कमजोर वर्गका विद्यार्थीहरूलाई इन्जिनियरिङ शिक्षामा पहुँच बढाउने लक्ष्य राखेको छ ।
कलेजको भना समिति २०२५ का संयोजक रुपेश दही श्रेष्ठले बताए अनुसार, प्रदेश र समुदाय छात्रवृत्ति कलेजको समावेशी नीति र सामाजिक उत्तरदायित्वको अभिन्न अङ्ग हो । यसले राष्ट्रिय समावेशिता र समान अवसर प्रवद्र्धनमा सघाउ पु¥याउँछ, उनले भने ।

छात्रवृत्तिका लागि यथाशक्य छिटो सम्पर्क गर्न अनुरोध गरेको छ भने छनोट भएका विद्यार्थीहरूको नाम जतिसक्दो छिटो सार्वजनिक गने जनाइएको छ । आवश्यक कागजात, फारम तथा विवरणहरू नेक कलेजको वेबसाइट र कलेज प्रशासनिक कार्यालयबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

कलेजका प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले नाफा नलिने उद्देश्यका साथ सञ्चालित यस कलेजले देशमा वढी भन्दा वढी इन्जिनियरहरुको उत्पादन होस् भन्ने हेतुले विभिन्न छात्रबतिहरु प्रदान गरी अध्ययन अध्यापन गराइरहेको जानकारी गराए । गैरनाफामूलक रुपमा सञ्चालित कलेजले शान्त वातावरणमा गुणस्तरीय अध्यययन अध्यापन भइरहेको उनले जनाए । त्यसकारण अब इन्जिनियरिङ अध्ययन गर्ने सोच बनाइरहेका विद्यार्थीहरूलाइ नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालक समितिद्वारा सञ्चालित मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा स्थापित यस नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तहमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछु, उनले भने ।

पोखरा विश्वविद्यालयकै उत्कृष्ट कलेज, नेपाल इन्जिनियरिङ काउन्सिलबाट स्थायी मान्यता, १०० भन्दा बढी अनुभवी फुलटाइम फ्याकल्टी, शहरी कोलाहलबाट टाढा, शान्त तथा हरियालीयुक्त वातावरण, आफ्नै सुविधासम्पन्न भौतिक पूर्वाधार, ल्याब, पुस्तकालय तथा रिसर्चका सम्पूर्ण सुविधा, राष्ट्रिय, अन्तराष्ट्रिय एक्सपोजरको सुविधा, स्थानीय तह, प्रादेशिक, सञ्चालक समिति तथा विश्वविद्यालयगत छात्रवृत्तिहरू, काठमाडौं उपत्यका, काभ्रेसम्मको यातायात सुविधा, राष्ट्रिय, अन्तराष्ट्रिय गेस्ट लेक्चरहरूको व्यवस्था, समयानुकूल प्रविधियुक्त शिक्षण विधि, सर्वसुलभ शुल्क, गुणस्तरीय शिक्षा कलेजको विशेषताहरु रहेको बेलविस्तार उनले गरे । कलेजमा सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रूरल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्चर, इन्फरमेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ, ईलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ गरी सात वटा कायक्रमहरु सञ्चालनमा रहेको जनाइएको छ ।

नेपाल इन्जिनियरिङ कलेज पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त स्वशासित संस्था हो, जसले सूचना प्रविधि, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स लगायत इन्जिनियरिङका विभिन्न शाखामा शिक्षण प्रदान गर्दै आएको छ । कलेज भक्तपुरको चाँंगुनारायण नगरपालिका दुवाकोटमा अवस्थित छ ।
काठमाडौं ,
एसियाका पहिलो समलिङ्गी सांसद सुनिल बाबु पन्तले विश्व स्वास्थ्य सङ्गठन (WHO) र अमेरिकी मानसिक स्वास्थ्य सङ्घ (DSM-5 समिति) लाई खुला पत्र लेख्दै “Gender Dysphoria” वा “Gender Incongruence” लाई मानसिक रोगको सूचीबाट हटाउन माग गरेका छन्।
पन्तले पत्रमा भनेका छन्, “यी परिभाषाहरू सुरुमा ट्रान्सजेन्डर व्यक्तिहरूलाई स्वास्थ्य सेवा र कानुनी पहिचानमा पहुँच दिनका लागि ल्याइएका थिए भन्ने म बुझ्छु। तर अहिले यी वर्गीकरणले लैङ्गिक विविधतालाई रोगको रूपमा हेर्ने पुरातन र हानिकारक सोचलाई नै बल पुर्याइरहेका छन्।”
उनले इतिहास सम्झाउँदै भनेका छन्, “जसरी लामो वैज्ञानिक प्रमाण, अभियान र सांस्कृतिक पुनरावलोकनपछि समलैंगिकता मानसिक रोगको सूचीबाट हटाइयो, त्यसरी नै अब लैङ्गिक विविधताको सन्दर्भमा पनि गहिरो पुनर्विचार आवश्यक छ।”
पन्तले नेपाल, एसिया, अफ्रिका, आदिवासी र मातृसत्तात्मक समाजहरूको उदाहरण दिँदै लेखेका छन्, “तीन लिङ्ग, ट्रान्स वा नन-बाइनरी पहिचानलाई त्यहाँ कहिल्यै रोगको रूपमा लिइएन, बरु सामाजिक, सांस्कृतिक र आध्यात्मिक संरचनामा सम्मानका साथ स्थान दिइएको पाइन्छ।”
पत्रमा पश्चिमेली मनोविज्ञानले अपनाएको पुरुष–महिला दुई वटा मात्रै लिङ्गको सोचलाई उनले “सङ्कीर्ण र सांस्कृतिक रूपमा थोपरिएको” भन्दै आलोचना गरेका छन्। “आजका बालबालिकाहरूलाई फरक पहिचान प्रकट गर्नासाथ ‘गलत शरीरमा जन्मिएको’ भनिन्छ, जुन अवधारणा धेरै आदिवासी समाजहरूमा अस्तित्वमै थिएन,” उनले लेखेका छन्।
पन्तको ठम्याइमा यस्तो श्रेणीकरणले न केवल लैङ्गिक विविधता भएका व्यक्तिहरूमाथि कलङ्क लाग्छ बरु उनीहरूलाई दुईमध्ये एउटै ‘स्वीकृत’ लिङ्गको बाकसमा जबरजस्ती कोच्ने काम गर्छ।
उनले WHO र DSM समितिसामु चार वटा स्पष्ट माग राखेका छन्—
१. Gender Dysphoria / Gender Incongruence लाई मानसिक रोगको सूचीबाट हटाउने।
२. ट्रान्स, नन-बाइनरी र तेस्रोलिङ्गी व्यक्तिलाई सहयोग गर्ने नयाँ, गैर–रोग केन्द्रित ढाँचा विकास गर्ने।
३. लैङ्गिक विविधतामा सांस्कृतिक र आदिवासी समझदारीलाई समेटेर स्वास्थ्य नीतिमा समावेश गर्ने।
४. स्वास्थ्यकर्मीहरूलाई लैङ्गिक विविधतालाई ‘समस्या’ होइन, विविधता भनेर सम्मान गर्न आवश्यक प्रशिक्षण दिने।
उनले लेखेका छन्, “जसरी संसारले समलैंगिकतालाई रोग होइन भनेर स्वीकार गरिसकेको छ, त्यस्तै सोच अब लैङ्गिक विविधता प्रति पनि आवश्यक छ। धेरै संस्कृतिहरूमा यस्ता व्यक्ति ‘उपचार गर्नुपर्ने केस’ होइनन्, बरु समाजका पूजनीय सदस्य हुन्।”
चञ्चलाको आवाज: “लैङ्गिक पहिचानलाई रोग हैन, दैवी शक्ति ठान्नुपर्छ”
लिड नेपालकी कार्यकारी निर्देशक तथा ‘हाल मायाको पहिचान नेपाल’मा आबद्ध नुमा लिम्बु(चञ्चला) ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचानमाथि भइरहेका साँघुरा दृष्टिकोणको कठोर आलोचना गरेकी छिन्।
उनले सामाजिक सञ्जालमार्फत लेखेकी छिन्, “यदि हाम्रो जे पहिचान हो, त्यही पहिचानलाई स्थिर मानेर, लैङ्गिक पहिचान न…निकालेको भए, पहिचानको साँघुरो चौकोसमा यदि हामीहरूलाई नथुनिएको भए, लैङ्गिक सीमा रेखाहरूले पर्खाल हैन, पुल बनाएको भए, हाम्रो लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको जिन्दगी पनि हुन्थ्यो खुला आकाश जस्तै, जहाँ समुदायको लागि माया, सम्मान र समानताको घाम सबैका लागि उत्तिकै चम्किन्थ्यो।”
चञ्चलाले स्पष्ट रूपमा वर्तमान संरचना र सोचलाई चुनौती दिँदै थपेकी छिन्, “विपक्षीहरूले बनाएका साँघुरा खाँबोहरू उखालेर अब हामी आफैँ बनाउनेछौँ एउटै साझा आँगन, जहाँ न त कोही अल्प हुन्छ, न त कोही बहुल।”
उनी समावेशी जीवनको परिकल्पनामा दृढ देखिन्छिन्, “यही बाटो समावेशी जीवनको हो, जहाँ सबै स्वर गुन्जिन्छ एउटा सुन्दर गीत, ‘हामी सबैको अस्तित्व बराबरीका साथ।’ ”
उनले प्रश्न उठाएकी छिन्, “हामी तेस्रोलिङ्ग (वा ट्रान्सजेन्डर वा नन–बाइनरी) व्यक्तिहरूलाई मातृसत्तात्मक संस्कृतिहरूमा विशेष वा दैवी शक्ति भएको, आशीर्वाद दिन, श्राप दिन तथा रोग निको पार्ने शक्ति राख्ने व्यक्तिका रूपमा मानिन्छ। तर अहिलेको पितृसत्तात्मक बाइनरी प्रणालीले भने हामीलाई ‘जेन्डर डिस्फोरिया’ भएको रोगी ठान्छ। तपाईँ आफ्नै बारेमा के विश्वास गर्नुहुन्छ, तपाईँ ‘दैवी’ हुनुहुन्छ कि ‘रोगी’?”
गत शनिवार,
विद्यालोक धरान ग्रन्थको लोकार्पण भएको छ । प्रधान सम्पादक खेमनाथ दाहाल एवं सम्पादक रमेश दाहालद्वारा सम्पादित उक्त ग्रन्थलाई नेपाली वाङ्मयमा शीर्ष स्थान कायम गरेका वरिष्ठ गीतकार कालीप्रसाद रिजालको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको थियो । प्रवेशिका परीक्षा समूह— २०२५, धरानद्वारा यो ग्रन्थ प्रकाशन गरिएको हो ।

प्रकाशन व्यवस्था समितिका संयोजक भुपेन्द्र कार्कीद्वारा उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत मन्तव्यमार्फत स्वागत गरिएको उक्त समारोहका विशिष्ट अतिथि लब्धप्रतिष्ठित व्यक्तित्व सुरेशकुमार शर्मा, विशेष अतिथिहरुमा प्रा.डा. माधवप्रसाद पोखरेल वरिष्ठ, अधिवक्ता श्री हरिहर दाहाल, पब्लिक हाईस्कूलका प्रधानाध्यापक ईन्द्रमोहन झा, राजनीतिक विश्लेषक डा. सुरेन्द्र के.सी., धरान उपमहानगरपालिकाका पूर्व उपमेयर मञ्जु भण्डारी, पूर्व कामु सचिव सुरेशकुमार वर्मा, सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के.सी., अभिनेत्री प्रियङ्का कार्की आदि थिए ।

पब्लिक हाईस्कूल धरानका व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीको सभापतित्वमा भएको लोकार्पण समारोहमा प्रमुख अतिथि रिजालले एनिमेशन गरिएको विद्यालोक धरान ग्रन्थको भिडियो ब्यानर प्रोजेक्टरमार्फत समारोहको उद्घाटन गरेका थिए भने सोभन्दा अघि पं. स्व. छविलाल र पब्लिक हाईस्कूलका पूर्व प्रधानाध्यापक स्व. हरिहरप्रसाद वर्माको तस्वीरबिचमा सरस्वती माताको तस्वीरसहितमा माल्यार्पण तथा दियो बाली समारोहको शुभसाइत गरेका थिए ।
५३२ पृष्ठको ऐतिहासिक ग्रन्थ विद्यालोक धरान ग्रन्थलाई प्रमुख अतिथिसहित मञ्चासीन सबैले संयुक्त रुपमा लोकार्पण गरेका थिए । धरानको शैक्षिक इतिहासका बारेमा विशिष्ट अतिथि सुरेशकुमार शर्माले विस्तृत रुपमा आफ्नो वक्तव्यमार्फत प्रस्तुत गरेका थिए भने खेमनाथ दाहालले पुस्तक प्रकाशनको क्रममा भएका कुराहरुलाई व्यक्त गरेका थिए ।

यसैगरी लोकार्पित विद्यालोक ग्रन्थको बिक्रिवितरणबाट जम्मा हुन गएको रकमलाई अक्षयकोष खडा गरी त्यसबाट हुने आम्दानी धरानस्थित सामुदायिक हाईस्कूलहरुमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गरिने कुरा दाहालले बताएका थिए ।
प्रा.डा. कृष्णप्रसाद दाहाल र प्राडा. सजिता वर्माले ग्रन्थको विस्तृत समीक्षा गरेका थिए । त्यसगरी ग्रन्थको विवेचना गर्दै प्रा.डा. माधवप्रसाद पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यस्तै अभिनेत्री प्रियङ्का कार्की, इन्द्रमोहन झा, मञ्जु भण्डारी, राजेन्द्रकुमार भण्डारीलगायत मञ्चासीन विशेष अतिथिले ग्रन्थको महत्वका विवषयमा चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
त्यसैगरी प्रकाशक समूहका तर्फबाट अधिवक्ता देवीबहादुर घिमिरे, बलराम न्यौपाने आदिले ग्रन्थ प्रकाशनको बारेमा आफ्नो विचार व्यक्त गरेका थिए । समारोहमा ग्रन्थका सम्पादक रमेश दाहाललाई नेपाली भाषा साहित्यको क्षेत्रमा पु¥याएको योगदानसहित विद्यालोक धरान ग्रन्थमा उनको कुशल सम्पादकत्वले ग्रन्थलाई उत्कृष्ट तुल्याएको कुराको प्रशंसा गर्दै स–सम्मान कदरपत्र अर्पण गरिएको थियो । कदरपत्र मिलाप मासिकका प्रधान सम्पादक कृष्ण भुसालले वाचन गरेका थिए ।
चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीले सञ्चालन गरेको उक्त समारोहमा प्रमुख अतिथिसहित विशिष्ट एवं विशेष अतिथिहरुलाई स्मृतिचिह्न प्रदान गरिएको थियो ।
प्रमुख अतिथि कालीप्रसाद रिजालले ग्रन्थको महत्वको विषयमा चर्चा गर्दै प्रमुख अतिथिय मन्तव्य व्यक्त गरेका थिए ।
समारोहमा प्रवेशिका परीक्षा समूह–२०२५ धरानका विद्यार्थीहरु डा. सरोज धिताल, महेश अग्रवाल, रामकुमार श्रेष्ठ, जवाहरलाल श्रेष्ठ, आनन्द कार्कीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो भने प्रा. डा. यज्ञश्वर निरौला, डा. बुनु दाहाल, डा. शान्तिमाया गिरि, साहित्यकार बिक्रमभक्त जोशी, लक्ष्मण सिटौला, गायिका ऋतु कँडेल, साहित्यकार पार्वती भट्टलगायतका साहित्यकारहरु, पत्रकारहरु, बुद्धिजीविहरु, उद्योगी व्यवसायी एवं आआफ्नो क्षेत्रमा स्वनामधन्य व्यक्तित्वहरुको उपस्थिति थियो । समारोहका सभापति हरिबहादुर कार्कीले धन्यवाद मन्तव्यसहित सभा विसर्जन गरेका थिए ।
आरके श्रीवास्तव,राैतहट,२० गते साउन ।
उखु किसानहरू आफ्नो जायज हकका लागि फेरि सडकमा उत्रिएका छन् । रौतहटको डुमरिया स्थित श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रिज अगाडि मंगलबार उखु उत्पादक संघ रौतहटको नेतृत्वमा किसानहरूले टायर बालेर प्रदर्शन गरेका छन् ।
संघका अध्यक्ष अशोक यादवको नेतृत्वमा प्रदर्शनमा उत्रिएका किसानहरूले “सरकारले दिने भनिएको अनुदान तुरुन्त उपलब्ध गर, ७० रूपैयाँ प्रतिक्विन्टल अनुदान पूर्ण रूपमा दे, अनुदानमा गरिएको ३५ रूपैयाँ कटौती खारेज गर” भन्ने नारासहित आक्रोश पोखेका थिए ।
कटहरिया नगरपालिका–९ डूमरियास्थित मिलको मूलगेट अगाडि गरिएको प्रदर्शनमा किसानहरूले सरकार, उद्योग र व्यापारी त्रिपक्षीय वार्ता गरी आर्थिक वर्ष २०८२/८३ को उखु मूल्य निर्धारण र बाँकी अनुदान भुक्तानी गर्न माग गरेका छन् ।
किसान नेताहरूको चेतावनी: “माईतीघर मण्डलामा धर्ना दिन्छौं”
प्रदर्शनका क्रममा बोल्ने अधिकांश नेताहरूले सरकारका बेवास्ता नीतिका विरुद्ध राजधानी केन्द्रित आन्दोलनको चेतावनी दिएका छन् । नेपाली कांग्रेसका कुमार चौलागाई, एकीकृत समाजवादीका रामभरोस यादव, जसपाका राजकुमार दास तत्मा र संघ अध्यक्ष अशोक यादवले सरकारलाई तत्काल समस्या सम्बोधन नगरे राजधानीमा आन्दोलन चर्काउने बताए ।
उनीहरूले किसानका माग सम्बोधन नगरेको खण्डमा आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिए । संघले भदौ ८ गतेदेखि काठमाडौंको माईतीघर मण्डलामा धर्ना दिने कार्यक्रम घोषणा गरिसकेको छ ।
चिनी उद्योगसमेत चिन्तित
प्रदर्शनमा उद्योग सञ्चालकको आवाज पनि मिसिएको छ । बाबा बैजुनाथ सुगर मिलका सञ्चालक बैजु बाबराले सरकारले अनुदान नदिए किसानहरूले उखु उत्पादन घटाउने सम्भावना रहेको बताए । त्यसले गर्दा चिनी उद्योगहरू ५० प्रतिशत मात्र क्षमतामा चल्न बाध्य छन् यसले झन घाटा झेल्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।
“सरकारले ७० रूपैयाँमा कटौती गर्दै ३५ रूपैयाँ मात्र दिने निर्णय गरेको छ जुन किसानलाई स्वीकार्य छैन,” उनले भने, “यस आर्थिक वर्षदेखि त पूर्ण अनुदान नै हटाइएको छ। त्यसैले किसान आक्रोशित छन्।”
१ अर्ब ६० करोडको अनुदान अझै बाँकी
संघका अनुसार आर्थिक वर्ष २०८१/८२ को उखु अनुदानअन्तर्गत करिब १ अर्ब ६० करोड रुपैयाँ सरकारसँग बाँकी रहेको छ । चिनी उद्योगहरूले किसानलाई भुक्तानी गरिसकेको भए पनि सरकारी अनुदान रोकिएको किसानहरूको गुनासो छ ।
नेपाल उखु उत्पादक महासंघको सर्लाही हरिवनमा बसेको बैठकपछि त्रिपक्षीय वार्ता र बाँकी अनुदान तुरुन्त भुक्तानी गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो । पहिलो चरणमा साउन १८ गते जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाइएको थियो भने साउन २० गते आज चिनी मिल अगाडि प्रदर्शन गरिएको हो।
संघले सरकारले माग सुनुवाइ नगरे चरणबद्ध आन्दोलन गर्दै जनदबाब सिर्जना गर्ने बताएको छ।
यो आन्दोलनले फेरि एक पटक सरकार, उद्योग र किसानबीचको सम्बन्धलाई पुनः परीक्षणमा ल्याएको छ । किसानको माग तत्काल सम्बोधन नभए, देशव्यापी आन्दोलन चर्किने संकेत मिलेको छ ।
काठमाडौं ।
सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ ।
विभागले सोमबार सूचना जारी गर्दै सरकारले केहि नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ को व्यवस्था अनुसार अब जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था रहेको जानकारी गराउदैँ विभागबाट दर्ता तथा नविकरणको कार्य रोकिएको जानकारी गराएको हो ।
छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा थपिएको दफा ७ (ख) बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता अनिवार्य हुने व्यवस्था गरिएको छ । उक्त दफाअनुसार अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न इच्छुक व्यक्तिले तोकिएको दस्तुरसहित स्थानीय अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ । स्थानीय अधिकारीले आवश्यक जाँचबुझपछि अनलाइन सञ्चारमाध्यम दर्ता गर्न सक्ने उल्लेख छ ।
विभागले यसअघि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य नयाँ कानुनी व्यवस्थासँग मिलाउन आवश्यक भएको भन्दै अहिलेलाई स्थगित गरिएको जनाएको हो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२० गते साउन ।
राैतहटकाे बौधीमाई नगरपालिका कार्यपालिकाले एन आई सि एसिया बैंक, बंकुल शाखालाई एक ध्यानाकर्षण पत्र जारी गर्दै सामाजिक सुरक्षा भत्ता र वालपोषण भत्ताको वितरणमा ढिलाइ भएको भन्दै सुधारको माग गरेको छ ।
बाैधीमाई वडा नम्बर ४ का वडा अध्यक्ष तुरन्तनारायण यादवकाे नेतृत्वमा गएको नगरपालिकाकाे टाेलीले बुझाएको पत्रमा भनिएको छ कि २०८२/०३/२० गते नै रकम पठाइसकिए पनि एक महिना बितिसक्दा पनि वितरण तालिका सार्वजनिक नगरेको कारण लाभग्राहीहरू सेवाबाट वञ्चित छन् । नगरपालिकाले २४ घण्टा भित्र तालिका सार्वजनिक नगरेमा बैंकको दैनिक कार्यमा अवरोध गरिने चेतावनी दिएको छ ।
नगरपालिकाले बैंकसँग भत्ता वितरणमा सहकार्यको अपेक्षासहित सुधारको आग्रह गरेको छ ।
आरके श्रीवास्तव,राैतहट,२० गते साउन ।
राैतहटकाे फतुवा विजयपुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, लक्ष्मिनिया दो.मा मंगलबार एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ । बैठकको अध्यक्षता नगरस्तरीय भुमिहिन तथा अव्यवस्थित बसोबासी व्यवस्थापन सहजीकरण समितिका संयोजक तथा कार्यवाहक नगरप्रमुख अमबेया खातुनले गर्नुभएको हो ।
बैठकमा कार्यवाहक नगरप्रमुख खातुनले भूमिहिन तथा अव्यवस्थित बसोबासी समस्यालाई नगरपालिकाको प्राथमिक एजेन्डाका रूपमा लिएर समाधानतर्फ गम्भीर पहल गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजका सबै वर्गलाई सम्मानका साथ आवासको अधिकार सुनिश्चित गर्नु हाम्रो प्रमुख दायित्व हो । यस प्रक्रियामा पारदर्शिता, समावेशिता र निष्पक्षताको आधारमा काम अगाडि बढाइनेछ।”
बैठकमा भूमिहिन समस्या समाधानका लागि विभिन्न प्रस्तावहरू प्रस्तुत गरिएर विस्तृत छलफल गरिएको थियो । सम्बन्धित पक्षसँग समन्वय गर्दै आवश्यक नीतिगत तथा कार्यान्वयन योजनाहरू तयार पारिने निर्णय बैठकबाट गरिएको छ ।
खातुनको नेतृत्वमा बसेको यस बैठकलाई नगरपालिकाको सामाजिक न्याय प्रवर्द्धन गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ । उहाँले आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा भूमिहिन समस्याको समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२० गते साउन ।
लगातार ३ दिनसम्मको अविरल वर्षाका कारण कटहरिया नगरपालिका वडा नं १ अन्तर्गतको परसवनी टोल पुरै पानीले डुबानमा परेको छ । डुबानको खबर प्राप्त हुनासाथ समाजसेवी तथा मेयर पदका प्रत्यासी नसरूदिन अंसारी घटनास्थलमा पुगेर राहत तथा उद्धार कार्यको नेतृत्व लिनु भएको छ ।
स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूसँग समन्वय गर्दै अंसारीले तत्काल आवश्यक कदम चालेका हुन् । नगर उपप्रमुख रिता देवी यादव, वडा अध्यक्ष भुपेन्द्र महतो कोइरी, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष प्रेमशंकर यादव, विजयपुर लक्ष्मीनिया शस्त्र प्रहरी व्यास क्याम्पका इन्स्पेक्टर, पोखरभिडा सशस्त्र प्रहरी व्यास क्याम्पका सई तथा कटहरिया इलाका प्रहरी कार्यालयका सईको सहयोगमा पानी निकासको काम सुरु गरिएको थियो ।
मेयर प्रत्यासी अंसारीको पहलमा स्थानीय वासिन्दाको सहभागितामा सडक खनेर डुबानको पानी निकास गरिएपछि परसवनी टोलका बासिन्दा अत्यन्तै खुसी भएका छन् । “स्थानीय समस्यामा जनप्रतिनिधि बन्ने चाहना राख्ने व्यक्तिले यसरी अग्रसरता देखाउनु हामीलाई आशावादी बनाएको छ,” एक स्थानीय बासिन्दाले बताए ।
अंसारीले यस प्रकारको विपद् व्यवस्थापनमा स्थानीय र सरकारी संयन्त्रबीचको सहकार्यको महत्वलाई जोड दिँदै भने, “जनताको पीडा बुझेर काम गर्ने नेतृत्व अहिलेको आवश्यकता हो । यस्तो बेलामा जनता संगै उभिनु नै मेरो धर्म हो।”
स्थानीयवासीहरूका अनुसार विगतमा यस्तो समस्यामा सम्बन्धित निकायको ध्यान जाँदैनथ्यो, तर यसपालि अंसारीको सक्रियता प्रशंसनीय रहेको बताएका छन्।