काठमाडौँ । भारत काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ ।
भारतले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।
अब भारतले उपाधिका लागि नेपाल र इरानबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने भएको छ । दोस्रो सेमिफाइनल खेल आजै केहीबेरमा शुरु हुदै छ ।
त्यस्तै फाइनल खेल बुधबार अपराहन्न ५ बजेदेखि शुरु हुने छ ।न्युज कारखाना
काठमाडौँ । बंगलादेशकी विपक्षी दल बीएनपीकी नेतृ एवं पुर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई औपचारिक रुपमा रिहा गरिएको छ ।
बंगलादेशको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै खालिदा जियालाई हिरासतबाट रिहा गरिएको जानकारी दिएको ढाका ट्रीबुनले उल्लेख गरेको छ ।
साथै राष्ट्रपति कार्यालयले जुलाई १ देखि अगस्त ५ सम्म आन्दोलनमा सहभागी भएर हिरासतमा लिएका सबै विद्यार्थीहरुलाई समेत रिहा गरेको जनाएको छ ।
खालिदा जिया अनियमितताको आरोपमा २०१८ मा १७ बर्षको जेल सजाय काटीरहेकी थिइन् । त्यसपछि २०२० देखि भने कोरोना महामारीलाई ध्यानमा राख्दै उनलाई उनकै घरमा नजरबन्दमा राखिएको थियो । न्युज कारखाना
काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहमद शाह्बुद्दीनले संसद भंग गरेका छन् । ढाका ट्रीबुनका अनुसार राष्ट्रपति शाह्बुद्दीनले अन्तरिम सरकार गठनको मार्ग प्रशस्त गर्न संसद विघटन गरेका हुन् ।
राष्ट्रपति शाहबुद्धीनले तिनै सुरक्षा निकायका प्रमुख र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफल पछि संसद विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सोमबार आरक्षण विरोधी आन्दोलन चर्किएपछि शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिदै देश छोडेपछि बंगलादेशमा अन्तरिम सरकार बन्ने प्रक्रिया अगाडी बढेको छ ।
अब अन्तरिम सरकारको प्रमुख नोबेल पुरस्कार विजेता डा. मोहमद युनुस बन्ने चर्चा रहेको छ । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कोही कसैप्रति प्रतिशोध साँध्न नबनेको बताएका छन् ।
मंगलबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री ओलीले सरकार कसैप्रति प्रतिसोध साध्न नबनेको बताउदै अर्थतन्त्र सुधार गरेर देशको विकास गर्न यो सरकार बनेको बताएका हुन् ।
उनले भने- ‘तपाईहरुलाई भन्न चाहान्छु सरकारले कोही कसैप्रति आग्रह वा पूर्वाग्रह राख्दैन। कसैलाई दुख दिँदैनौं । दुख दिने नियती पनि हाम्रो छैन् ।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकारले कसैको अनुहार हरेर क्षमा दिने र कारबाही गर्नेतर्फ नजाने दाबी गर्दै भने- ‘देशलाई विकासको बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न सक्छौँ । भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ सुशासन कायम गर्न सक्छौँ । यसरी भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ । त्यसै गरेर भ्रष्टाचार निवारण ऐन २०५९ मा रहेको भ्रष्टाचारसम्बन्धी कसुरको परिभाषा, सार्वजनिक संस्था र कसुर र सजाय, अनुसन्धान तथा अभियोजन लगायतका विषयमा संशोधन अघि मैले भनेको प्रयोजनका लागि आवश्यक देखियो ।’न्युज कारखाना
काठमाडौँ । नेप्से परिसूचकमा १४५ अंकको ठुलो गिरावट आएको छ । मंगलबार नेप्से १४५.०५ अंकले घटेर २६५१.३२ को बिन्दुमा कायम भएको हो ।
आज ३२२ कम्पनीको ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर २ लाख ७१ हजार ५८७ पटक खरिदबिक्री हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८७४ बराबरको कारोबार भएको छ ।
आज थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडसहित सात कम्पनिको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको एक अर्ब ३९ करोड ७८ लाख ८० हजार ३८३ बराबरको १६ लाख १६ हजार ४३१ कित्ता शेयर किनबेच भएको छ ।न्युज कारखाना
काठमाडौँ । अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजले म्यानचेस्टर सिटी छोड्ने भएका छन् ।
अल्भारेज ला लिगा क्लब एटलेटिको म्याड्रिड जाने निश्चित भएको हो । एटलेटिकोले अल्भारेजका लागि कीर्तिमानी ९५ मिलियन युरो तिर्न सहमत भएको मिडिया रिपोर्टमा बताइएको छ ।
म्यानचेस्टर सिटीले अल्भारेजलाई स्पेनमा मेडिकल गर्न अनुमति दिएको र छिट्टै सम्झौता हुने भएको छ ।
नियमित खेल्न नपाएका अल्भारेज सिटीमा असन्तुष्ट रहेका थिए । अर्जेन्टिनालाई विश्वकप, कोपा अमेरिका जिताउन महत्वपूर्ण भूमिका खेलेका अल्भारेजले सिटीमा पर्याप्त खेल समय नपाउने निश्चित भएपछि क्लब छोड्ने निर्णय गरेका हुन् ।
२४ बर्षिय अल्भारेज २०२२ मा अर्जेन्टिनी क्लब रिभर प्लेटबाट सिटी आएका थिए । उनले सिटीमा दुई सिजनमा १०३ खेल खेल्दै ३६ गोल गरेका थिए । सिटीमा उनले धेरै जसो खेलमा सब्सटिच्यूटको रुपमा खेलेका थिए ।
सिटीमा उनले दुवै सिजनमा प्रिमियर लिगको उपाधि जितेका थिए भने २०२२-२३ मा एफए कप, च्याम्पियन्स लिग, युइएफ़्ए सुपर कप र २०२३ मा फिफा क्लब विश्वकप समेत जितेका थिए ।न्युज कारखाना
काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ ।
जसमा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-६ प्रभुदेवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-३ झुम्का बस्ने १९ वर्षीय रुपेश चौधरी र १९ वर्षीय उत्सव चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प १३१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै झापा, भद्रपुर नगरपालिका-९ निन्दा खोलाको पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय अरेन्जय राजवंशी र २५ वर्षीय कृष्ण राई रहेका छन् । प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले भारतबाट घोडामारातर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका-८ दोलु शुक्रबारे बस्ने २५ वर्षीय दिपेश माझीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ ।
समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, छात्राबासमा अवाञ्छित क्रियाकलाप हुने गरेको भन्ने गुनासो संवेदनशील रहेको विषयमा छलफल गर्दै मापदण्ड पालनामा प्रतिवद्ध हुन आग्रह गरेको हो ।
त्यस क्रममा उपप्रमुख डंगोलले भनिन्, ‘होस्टेलको अवस्था, सेवा सम्बन्धी व्यवस्थासँगै होस्टेलमा बस्ने छात्राछात्र तथा अन्य को होस्टेलमा बसेको हो, व्यवस्थित सूचना अभिलेखनबाट व्यवस्थापनको काम थालनी हुनेछ ।’ समूह विभाजन गरेर अनुगमन गर्न सकिन्छ । उनले होस्टेल संघको तथ्याङ्क उधृत गर्दै भनिन्, ‘उहाँहरु ४० हजार विद्यार्थी होस्टेलमा बसेको भनिरहनु भएको छ । यत्रो ठूलो संख्यामा मानिस बसोबास गर्ने ठाउँको अवस्था र वितरण हुने सुविधाको निगरानी अनिवार्य भएको छ ।’
४ जना बस्न मिल्ने कोठामा २०औँ जनालाई राखिएको छ । आवासीय भवनलाई व्यावसायिक बनाइएको छ । यसले जोखिम सिर्जना गरेको छ । छलफलमा वडा नं. १० का सदस्य सतिश तण्डुकारले भने, ‘रातको १० बजेपछि पनि होस्टलमा आवागमन भइरहन्छ । त्यसपछि को आउँछ, को जान्छ? किन आउँछ, किन जान्छ? थाहा हुँदैन ।’ छलफलमा वडा नं. २९ का सदस्य अनिल श्रेष्ठले भने, ‘होस्टेल विक्री गर्ने रोग थियो, यो महारोग भइसक्यो । घर लिने, निःशुल्क विद्यार्थी भर्ना गर्ने, त्यही संख्या देखाएर महङ्गोमा विक्री गर्ने भएपछि विकृति भयो ।’
शिक्षा अधिकारी गोविन्दप्रसाद शर्मा, विद्यार्थीहरुको हित जान्नका लागि भए पनि अनुगमन गर्नुपर्ने अवस्था आएको बताए । यस्तै राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्ले, घरधनी र होस्टल सञ्चालक मिलुञ्जेल कुनै समस्या नदेखिने, मिल्न छोडेका दिन सबै ठाउँमा समस्या देखिने गरेको बताउछन् ।
छलफलमा नेपाल होस्टल एशोसिएसन र होस्टल व्यावसायी संघ नेपालका पदाधिकारीले, बहाल कर आफैँले तिर्नु पर्ने, घरको मर्मत सम्भार आफैँले गर्नु पर्ने, पानी आफैँले जोहो गर्नु पर्ने भएकोले आफूहरु व्यावसायिक संकटमा रहेको धारणा राखे । यति भएर पनि मापदण्डको पूर्ण पालना गरेर चलेका होस्टेल पनि छन् ।
राम्रालाई प्रोत्साहन र नराम्रालाई सुधार गराउने बाटोमा हिँडौँ । उनीहरुको आग्रह थियो । हिजोआज होस्टलमा विभिन्न क्षेत्रमा रोजगारी गर्ने व्यक्तिहरु पनि बस्ने गरेका छन् ।
काठमाडौँ महानगरपालिकाले जारी गरेको छात्राबास सञ्चालन सम्बन्धी मापदण्ड २०८०
छात्राबास (होस्टेल) लाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउन तथा छात्राबासमा बस्ने विद्यार्थीहरु र सञ्चालकको अधिकतम हित गराउन छात्राबास सञ्चालन सम्बन्धी मापदण्ड २०८० जारी गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को खण्ड (ज) र दफा १०२ को (२) लाई आधार मानेर काठमाडौँ महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर मापदण्ड जारी गरिएको हो ।
मापदण्डबमोजिम महानगरपालिकाभित्र छात्राबास (होस्टेल) सञ्चालन गर्न कार्ययोजना, प्रतिवद्धतासहितको निवेदन, वडाको शिफारिस, छात्राबास राख्ने भवनको नक्सा र नक्सा पास प्रमाण पत्र, निर्माण सम्पन्न प्रमाण पत्रसहित कागजातसहित दर्ता प्रक्रियाका जानुपर्छ । आफ्नै घरमा आफैँले सञ्चालन गरेको जग्गाको लालपूर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनुपर्छ । स्थलगत अनुगमन तथा वस्तुस्थितिको जाँचपछि महानगरपालिकाको शिक्षा विभागले सञ्चालन अनुमति दिनेछ ।
छात्राबासभित्र न्युनतम सबै पूर्वाधार हुनुपर्छ । यसमा शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत, प्रत्येक छात्रछात्राका लागि पलङ्, दराज र टेबल फोहोरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध हुनुपर्छ । कोठाहरु फराकिला, खुल्ला हुनुपर्छ । कोठामा पर्याप्त प्रकाश हुनुपर्छ । हावा दोहोरो आउने जाने हुनुपर्छ ।
आगलागी जस्ता सम्भावित विपद व्यवस्थापनका लागि फायर इस्टीङ्ग्वीसर लगायत सामग्री तथा उपकरण, प्राथमिक उपचारको लागि सामग्री हुनुपर्छ । कोठा र शौचालयबाहेक अन्य स्थानको निगरानीका लागि सिसिटिभी क्यामरा जडान गर्नुपर्छ । हुलदंगा हुने, प्रदुषण हुने ठाउँमा छात्राबास राख्न हुँदैन । छात्र र छात्राका लागि सञ्चालन गरिने भवन आमनेसामने हुनुहुँदैन । एकबाट अर्कोको दुरी कम्तीमा २ सय मिटर हुनुपर्नेछ । एकै सञ्चालकले दुवै छात्राबास चलाउने भए आन्तरिक व्यवस्थापनको काम समेत छुट्टै भवनबाट सञ्चालन गर्नुपर्छ ।
सेवा सुविधा, जिम्मेवारी तथा कर्तव्य, अनुशासन, गोपनीयता, आचारसंहिता सम्बन्धी आन्तरिक नियम बनाउन सक्नेछन् । यस्ता नियम महानगरपालिकामा पेश गरेर सहमति लिनुपर्नेछ ।
महानगरपालिकाले तोकेको आकारमा स्पष्ट देखिने गरी परिचय पाटी राख्नुपर्छ । बस्ने छात्रछात्राको हालसालै खिचेको तस्विर, पहिचान देखिने सरकारी कागज राख्नुपर्छ । असम्बन्धित व्यक्ति भित्र आउन दिनु हुँदैन । शैक्षिक वातावरण मिलाउनुपर्छ । कोठाभित्र मदिराजन्य, लागू पदार्थ, सूर्तिजन्य पदार्थ ओसारपसार, विक्री वितरण र प्रयोग गर्न पाइँदैन । सञ्चालकबाट अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने भएकोले उमेर ३० बर्ष पूरा भएको हुनुपर्नेछ ।
मापदण्डमा छात्राबाससँग सम्बद्ध व्यक्तिको काम, कर्तव्य र अधिकार, वार्डेनको काम कर्तव्य अधिकार, छात्रछात्राको काम कर्तव्य र अधिकार, अनुगमनलगायत व्यवस्था छन् । शुल्क, दण्ड सजाय, विवाद समाधानसहित विषयलाई ५ वटा परिच्छेदमा व्यवस्था गरिएको छ ।
त्यस्तै छात्राबास सम्बन्धी प्रस्ताव, प्रतिवद्धता पत्रलाई अनुसूचीमा ढाँचा दिइएको छ ।न्युज कारखाना
गुल्मी । गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ ।
मुसिकोट नगरपालिका वडा नं- १ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक तथा साढे २ वर्षीय रियन्सी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी सोही स्थानका ३१ वर्षीय बिष्णु विक र उनकी श्रीमती २३ वर्षीय मुना विक घाईते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल लागिएको प्रहरीले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ । बंगलादेशमा जारी प्रदर्शन लुटपाटमा परिणत भएको छ । शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि अहिले देशको शासन सेनाले जिम्मा लिएको भएपनि लुटपाट र हिंसात्मक घटना रोकिएका छैनन् ।
राजधानी ढाकाका कैयौं क्षेत्रमा रातभर लुटपाट र आक्रमण भएको स्थानीय मिडियाहरुले जनाएका छन् । त्यस्तै प्रदर्शनकारीले ५० भन्दा बढी प्रहरी चौकीहरूमा आक्रमण र लुटपाट गरेको रिपोर्टमा उल्लेख छ ।
सोमबार कैयौं प्रहरी चौकीमा आक्रमण भएको थियो र धेरै ठाउँमा आक्रोशित भीडले प्रहरीसँग झडप गरेका थिए । कतिपय प्रहरी चौकीबाट प्रहरी भागेका थिए ।
मंगलबार पनि प्रदर्शनकारीहरुले प्रहरी चौकीमा आक्रमण गर्ने, आगलागी गर्ने र लुटपाट गर्ने क्रम रोकेका छैनन् ।
प्रहरी चौकी भित्रबाट पंखा, कुर्सी, टेबुललगायत सबै प्रकारका सामान लुटिएको थियो । सुरक्षा संकटका कारण प्रहरी चौकीमा ड्युटीमा रहेका प्रहरीहरु आइतबार नै प्रहरी चौकी छाडेर सुरक्षित स्थानमा गएका थिए । कैयौं प्रहरी चौकीका हतियार समेत लुटिएको बताइएको छ ।
बंगलादेशको सेनाको अहिले देशको शासन आफ्नो हातमा लिएपनि प्रदर्शनकारीविरुद्ध आक्रामक नहुने र कुनै किसिमको जवाफी कारवाही नगर्ने रणनीति बनाएका कारण स्थिति शान्त हुन नसकको बताइएको छ । प्रदर्शनकारी बंगलादेशको संसद, प्रधानमन्त्री निवाससहित कैयौं सरकार भवनमा प्रवेश गरेर उदण्ड मच्चाउदा समेत सेनाले हस्तक्षेप नगरेको बताइएको छ ।न्युज कारखाना