काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।
विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले २९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।
शुक्रबार सूचना प्रकाशित गर्दै कालोसूचीमा राखिएका निर्माण कम्पनी तथा व्यवसायीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद काराबाहीमा सहभागी हुन पाउने छैनन्। कार्यालयका अनुसार १ देखि ३ वर्षसम्मका लागि कालोसूची राखिएको छ। न्युज कारखाना
रौतहट ।
रौतहट मोटरसाइकल चोरी गर्ने मोटरसाइकल सहित २ जना चोर पक्राउ परेका छन्। जिल्लाको परोहा नगरपालिका वडा नं. ६ बस्ने मोतीलाल प्रसाद कुर्मीको नाममा दर्ता रहेको ना २० प ५८३२ नम्बर को १२५ सि.सी. को सुपर स्पलेण्डर मोटरसाईकल आफ्नो घरको बरण्डामा पार्किङ्ग गरी राखेको स्थानबाट चोरी भएको भएको इलाका प्रहरी कार्यालय लाई
जानकारी गराएका थिए। ईलाका प्रहरी कार्यालय कोपवा पिपरियाबाट खटिएको प्रहरी अधिकृतको टोलीले खोजतलासको क्रममा विहान १० बजेको समयमा बौद्धीमाई नगरपालिका वडा नं.५ स्थित अन्दाजी २० बर्षिय भगत भन्ने अभिषेक यादव
र ऐ.ऐ. वस्ने अं. वर्ष २१ को मुकेश कुमार राम समेतलाई चोरी भएको मोटरसाईकल सहित नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले बिहीबार एक मन्त्रालयसहित चार कार्यालयमा छड्के जाँच निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री सिंहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पूर्वाधार विकास कार्यालय, वन निर्देशनालय र शिक्षा विकास निर्देशनालयमा छड्के जाँच निरीक्षण गर्नुभएको छ ।
कर्मचारीहरू कार्यालयमा नबस्ने, बसे पनि राम्ररी काम नगर्ने, काममा ढिलासुस्ती गर्ने जस्ता धेरै गुनासो आएकाले छड्के जाँच निरीक्षण गरेको मुख्यमन्त्री सिंहले बताउनुभयो । आर्थिक वर्ष समाप्त भई नयाँ आर्थिक वर्षको साउन र भदौ महिनामा कर्मचारीहरू कार्यालयमा नभेट्ने परिपाटी नै बनिसकेकाले छड्के जाँच सुरु गरेपछि अहिले कार्यालय कर्मचारीहरू भेट्न थालेको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘छड्केको क्रममा कार्यालयको निर्धारित समयमा कर्मचारी नआउने, आए पनि हाजिरी नगरी बाहिर हिड्डुल गर्ने र छडकेमा परेपछि कार्यालयमै रहेको तर हाजिरी गर्न बिर्सेको बहानाबाजी गर्ने जस्तो पवृति भेटिएको छ ।
’’ कर्मचारीहरू कार्यालयमा हाजिरी भइसकेपछि बाहिर जानुपर्दा कामको जानकारी गराई आदेश लिएर मात्र जानुपर्ने उहाँले निर्देशन दिनुहुँदै थप्नुभयो, ‘‘यदि कर्मचारी बिदामा बसेका छन् भने बिदा स्वीकृत गराएर मात्र बिदा बस्नु पर्छ ।’’ कर्मचारीको जुन काम कर्तव्य, जिम्मेवारी छ, त्यसअनुसार सेवाग्राहीको छिटोछरितो काम कारबाही गराउन, सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन छड्के जाँच गरिएको मुख्यमन्त्री सिंहले छड्के जाँचको क्रममा बताउनुभयो । यस्तो अनुगमनलाई निरन्तरता दिने उहाँले जानकारी दिनुभयो । यसअघि साउन ६ गते आइतबार मुख्यमन्त्री सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशका ११
वटा मन्त्रालयहरूमा छड्के निरीक्षण गर्नुभएको थियो । अर्थ, गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण, भौतिक पूर्वाधार विकास, स्वास्थ्य तथा जनसङ्ख्या, ऊर्जा सिँचाइ तथा खानेपानी, शिक्षा तथा संस्कृति, उद्योग, वाणिज्य तथा पर्यटन, श्रम तथा यातायात र खेलकुद तथा समाज कल्याण मन्त्रालयमा छड्के जाँच गर्नुभएको थियो । त्यसबेला पनि अधिकांश कर्मचारीहरूमा धेरै लापरबाही देखिएको थियो । खासगरी कार्यालयमा हाजिर नगर्ने, बिदा जाँदा स्वीकृति नलिने जस्ता समस्या भेटिएको थियो ।
काठमाडौं । हिन्दु धर्मावलम्बीले आज नागको पूजा गरेर नागपञ्चमी मनाउँदै छन्। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजार्चना गरी मनाइने गरिन्छ।
नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने धार्मिक विश्वास रहँदै आएको छ। यस्तै नागको पूजा गर्दा अग्नी, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वाससमेत रहेको छ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको मानिन्छ। वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिने र नाग रिसाए भने पानीको अभाव हुने धार्मिक मान्यता रहेको छ। त्यसैले नागलाई खुशी पार्न पूजा गर्ने परम्परा छ।
उदयकालको पञ्चमी तिथि भएकाले आज दिनभर नै घरघरमा नाग टाँस्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिष पण्डित सूर्यप्रसाद ढुंगेलले बताए।
काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ।न्युज कारखाना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
हाल देशको कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आन्शिक देखि साधारणतया बदली रहेको देखिन्छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दूई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
न्युज कारखाना
आजको राशिफल बि.सं.२०८१ साउन २५ गते शुक्रबार ई.सं.२०२४ अगस्त ०९ नेपाल सम्बत ११४४ गुंलाथ्व पञ्चमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल पञ्चमी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, सिद्ध योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३१ बजे, सूर्यास्त साँझ ०६: ४६ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बेलुका ०७ बजेर १० मिनेट देखि ०८ बजेर ५० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
रिसराग र अहङ्कार बढ्ने दिन हो, झैझगडा र मुद्दामामिलामा अघि नसर्नु होला, अनि स्वास्थ्यमा कमजोरी देखिएमा पटक्कै हेलचक्र्याइँ गर्नु हुँदैन । स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ । अवगाल खेप्ने समय हो, रिसराग, द्वेष र अहङ्कार मनमा लुकेर बसेका शत्रुहरू हुन् भन्ने बुझेर तिनलाई दमन गर्नु ठीक हुन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अलि धेरै मिहिनेत गर्नुपर्ने समय हो, किनभने आजको प्रयासले भविष्यका लागि स्कलरसीप, सहुलियत वा विशेष अवसर प्राप्त हुनसक्छ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् । कल्पना र भावनामा रुमल्लिन सकिन्छ, तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो । आजका लागि शुभअङ्क ५, शुभ रङ कलेजी÷गाढा रातो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन । कानून र प्रावधानलाई कडाइका साथ पालना गर्नुपर्छ । अधीनस्थहरूलाई बढी विश्वास गर्नुहुँदैन, बरु सहकर्मीका माझमा सद्भाव र समझदारी बढाउनु होला । व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमश्चण्डिकायै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पारिवारिक सौहाद्र्रता र सद्भावमा बृद्धि हुनेछ, परिवारका सदस्यहरू र आफ्ना साथीभाइसँगको भेटघाटले आनन्द र मनोरञ्जन प्रदान गर्नेछ । विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजु÷दिदी वा गुरु÷गुरुआमाको सहायता लिंदा लाभ पाइने छ । परिश्रमको प्रतिफल पाउने समय हो, यसबाट तपाईंको शक्ति र प्रतिष्ठामा बृद्धि हुनसक्छ । आफ्नो आन्तरिक ऊर्जा र मानसिक क्षमतालाई उपयोग गर्नुहोस्, कुनै पनि समस्यालाई सजिलै समाधान गर्न सक्नुहुन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ विघ्नविनाशिने नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ । आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ घृणि सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ । मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ । प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बुं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मनमा दुविधा छ वा बढी थकान र बोझको अनुभूति भएको छ भने आराम गरेर तन्दुरुस्त हुनु जायज हुन्छ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ । कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ, त्यसैले लक्ष्यप्रति सचेत हुनुपर्छ, सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महाकालाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रूप, लावण्य, सौन्दर्य र जीवनशैली देखेर अरु पनि प्रभावित हुनसक्छन् । आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने कामको शुभारम्भ हुनेछ । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन्, तर सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु ठीक हुँदैन । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो । आजका लागि शुभअङ्क २, शुभ रङ कलेजी र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हिरण्यगर्भाय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
लेखन÷प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो । मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला । भाग्य भरोसामा रहने होइन, स्वयं आफूलाई विश्वास गर्ने समय हो, परीक्षाको तैयारी गर्दै हुनुहुन्छ भने उत्तम परिणाम प्राप्त हुनेछ । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजी÷गाढा रातो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भास्कराय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुनेछ, अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुःखीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ । रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । आजका लागि शुभअङ्क ९, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं श्रीं श्रीं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निर्णय गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो । स्टाफहरूका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ । पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । आजका लागि शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । गीतसङ्गीत, साहित्य वा कुनै कलासम्बद्ध विषयमा रुचि जाग्ने दिन हो । सुख÷सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ लक्ष्मीनारायणाभ्यां नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)
न्युज कारखाना
हेटौंडा, २४ साउन। वीरगञ्जको घण्टाघरमा हेटौँडाका एक तीर्थयात्रीमाथि प्रहरीद्वारा कुटपिट भएको छ ।
बैकुण्ठधाम तीर्थयात्राबाट फर्किँदै गरेका यात्रीले घण्टाघरको तस्बिर र भिडियो खिच्दा प्रहरीले उनलाई समातेर मोबाइल खोसेको र पछि कुटपिट गरेको आरोप लागेको छ।
गत सोमबार साँझ तीर्थयात्राबाट फर्किँदै गरेको बससँग घण्टाघर चोकमा स्कुटर ठोक्किएको थियो । स्कुटर चालकले आफूलाई र स्कुटरलाई केही नभएको बताउँदै गएपछि बसका चालक र यात्रुसँग घण्टाघरस्थित प्रहरीले सोधपुछ गरेको थियो ।
सोही क्रममा बसबाट झरेका हेटौँडा-१८ का गणेशकुमार बरालले घण्टाघरको तस्बिर तथा भिडियो बनाउँदै गर्दा प्रहरीले टी-सर्टमा समातेर मोबाइल खोसेको बराल बताउँछन् ।
त्यसपछि, घण्टाघरस्थित प्रहरी बिटको कार्यालयभित्र लगेर बिना कारण कुटपिट गरेको गणेशसँगै बसमा रहेकी मैयाँ श्रेष्ठले बताइन् ।
उनका अनुसार गणेशलाई कुटपिट गरेर फिर्ता पठाएपछि यात्रुहरूले उपचार नगरेसम्म नजाने अडान राखेका थिए । पछि प्रहरीले नै नारायणी अस्पताल लगेर चेकजाँच गराएपछि अवस्था सामान्य रहेको भनेर कागजपत्र बनाएपछि उनीहरू फर्किएका थिए ।
बरालका अनुसार प्रहरी आई साह लगायत ४ जना प्रहरीले उनीमाथि हातपात गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले कुटपिट गर्ने प्रहरीलाई जिल्लामा फिर्ता बोलाइएको र विभागीय कारबाही स्वरूप स्पष्टीकरण सोधिएको जानकारी दिएका छन्।न्युज कारखाना
बाग्लुङ । गत मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ ।
पहिरोमा अझै दुई जना बेपत्ता रहेका छन्। पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन थापा अझै बेपत्ता रहेको जानकारी दिएको छ । पहिरोले घर पुरिँदा बेपत्ता भएकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरि खोजी भइरहेको उनको भनाइ छ ।
पहिरोले पुरेर मृत्यु भएका स्थानीय ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमल बुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता विक र ७० वर्षीया मैतीदेवी विकको शव मङ्गलबारनै फेला परेको थियो । तीन वर्षीय आरुस थापाको शव बुधबार दिउँसो भेटिएको थियो ।
पहिरोमा परी घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको छ ।
न्युज कारखाना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको वरियता हेरफेर गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद्मा वरियता हेरफेर गरेका हुन् ।
उपप्रधानमन्त्री र अन्यमन्त्रीहरुको स्थान यथावत रहेपनि कांग्रेसबाट प्रतिनिधित्व गर्ने दुई मन्त्रीको वरीयाता भने हेरफेर भएको छ । कांग्रेस सहमहामन्त्रीसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको १४औं स्थानमा बढुवा भएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल १६औं स्थानमा पुगेका छन् ।न्युज कारखाना
काठमाडौँ । काठमाडौँ महानगरले सेन्ट्रल एशियन भलिवल एशोसिएसन (काभा) महिला भलिवल नेसन्स लिगको उपविजेता नेपाली टोलीलाई सम्मान गरेको छ ।
बिहिबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सहित महानगरका पदाधिकारीले भलिबल खेलाडीलाई जनही एक लाख नगदसहित सम्मान गरेको हो ।
विहिबार उपविजेता नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिष्टलाई प्रोत्साहन गर्न नगदसहितको सम्मान प्रदान गर्दै नगर प्रमुख बालेनले, खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताए । त्यस अवसरमा खेलाडीलाई जनही १ लाख रुपैयाँ, टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिष्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
सम्मान प्राप्त गर्ने खेलाडीहरुमा क्याप्टेन अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ रहेका छन् । त्यस्तै खेलको टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव र थेरापिष्ट लोकेन्द्रबहादुर कुँवर रहेका छन् ।
खेलको प्राविधिक पक्षमा चर्चा गर्दै उपप्रमुख सुनिता डगोलले, उत्साह र जोश लिएर खेल मैदानमा जानु नै जित भएको उल्लेख गरेकी थिइन् । उनले भनिन्, ‘पदक प्राप्त गर्नु प्राविधिक कुरा हो । खेलमा जित र हार हुन्छ नै । सबैभन्दा महत्वपूर्ण कुरा त खेलाडीको उर्जा हो । महिला भलिवल टोलीमा हामीले त्यो उर्जा पायौँ ।’
सम्मानका क्रममा मुख्य प्रशिक्षक भट्टले, महानगरपालिकाको प्रोत्साहनले आगामी प्रतिस्पर्धामा दक्षिण एशियाली मुलुकहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्ने हौसला मिलेको उल्लेख गरे ।
काठमाडौँको दशरथ रङ्गशालामा बुधबार भएको फाइनल खेलमा ३-२ सेटले भारत विजेता र नेपाल उपविजेता भएका हुन् । राउन्ड रोबिन लिगमा नेपालले भारतमाथि विजय गरेको थियो । न्युज कारखाना