२०८३ बैशाख २३
२०८३ बैशाख २३

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

हाल देशभर साधारणतया बदली रहेको छ।   बागमती, गण्डकी, लुम्बिनी र कर्णाली   प्रदेशका  थोरै  स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित हल्का देखी मध्ययम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ ।न्युज कारखाना

आजको राशिफल बि.सं.२०८१ साउन ३२ गते शुक्रबार ई.सं.२०२४ अगस्त १६ नेपाल सम्बत ११४४ गुंलाथ्व एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल एकादशी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, विषकुम्भ योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३५ बजे, सूर्यास्त साँझ ०६: ४० बजे हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर १३ मिनेट देखि ०८ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज पुत्रदा एकादशी व्रत रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मान्यजन र उच्चपदस्थ व्यक्तिहरूबाट समर्थन र सहयोग जुटाउन सकिने छ, बलियो भाग्यबल रहेको छ । हाँकेरताकेका हरेक क्रियाकलापमा सफलता पाउन सक्नुहुन्छ । जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर स्थिर सम्पत्ति वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ । समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ । स्वास्थ्यस्थिति कमजोर हुने दिन हो । खानपानमा पनि अरुचि हुनसक्छ । आफ्ना कुरा छाडी आफन्त र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुनेछ । लक्ष्यप्रति ध्यानकेन्द्रित नहुने समय छ, चोटपटक वा दुर्घटनाबाट बच्न सावधानी अपनाउनु ठीक हुन्छ, अनि आज कार्यक्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन । आजका लागि शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । मन फुरुङ्ग हुने दिन छ । गीतसङ्गीत एवं ललितकलाका अन्य विषयहरूमा तथा सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्नेछ । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो, तर घरपरिवारको चाहनाअनुसार खर्चमा बृद्धि हुनसक्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ लक्ष्मीनारायणाभ्यां नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । प्रतिस्पद्र्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । अनावश्यक काममा समय खेर फाल्नु हुँदैन, कुनै महत्त्वपूर्ण घरायसी काममा सँगीसाथीको सहयोग लिन सकिने छ । क्षमता प्रदर्शन गरी प्रतिष्ठा आर्जन गर्न सकिने दिन हो । आजका लागि शुभअङ्क ६, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बुद्धिले भाउ पाउने समय हो, लेखन, कला वा संगीतजस्ता अतिरिक्त क्रियाकलापमा रुचि राख्नुहुन्छ भने आज सहकर्मीका माझमा प्रतिष्ठित बन्न पाइने छ । प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय हो, आज पार्टनरलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । आज सफलताले प्रतीक्षा गरिरहेको दिन हो, त्यसैले सानातिना कुराहरूको बेवास्ता गर्दै ठूला र राम्रा काम बनाउने प्रयास गर्नुपर्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ कलेजीरगाढा रातो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ घृणि सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ । नसोचेको धन प्राप्त हुने वा कतैबाट ऋणरसापटीमा रकम उठाउने समय हो, तर धनको स्थिरता र वचतमा ध्यान दिनु आवश्यक देखिन्छ । सहकार्य वा साझेदारीको काममा दौडधूप गर्नुपर्ने समय हो, कारोबारमा ध्यानकेन्द्रित हुनसक्दैन, तर पनि आर्थिक सन्तुलन कायम रहने दिन हो । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमश्चण्डिकायै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो । पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । व्यक्तित्व विकासका निमित्त प्रयास गर्ने समय हो । परीक्षारअन्तर्वार्ता आदिमा सफलता हात पर्नेछ, काममा सहयोगीको साथ पाइने समय छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ विघ्नविनाशिने नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आध्यात्मिक वा दार्शनिक विषयवस्तुप्रति मोह जाग्नेछ, नजानेको कुनै सीपका बारेमा समेत जानकारी बटुल्न सकिने छ, प्रयास गरेको काममा सफलता मिल्नेछ । दैनिक आम्दानीमा बढोत्तरी हुनेछ, कतिपय विषयमा बोलीकै भरमा काम सम्पादन हुनेछ, साथै हाकिम र सेवाग्राही दुवै पक्ष प्रसन्न रहनेछन् । मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ, तर कुनैकुनै कुराले तपाईंलाई एक्लो र खिन्न बनाउन सक्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बिक्रीबट्टामा बढावा हुने र थप हौसला जाग्ने समय हो । हिसाबकिताबमा देखिएको कमजोरी र त्रुटि सच्याएर अघि बढेमा अझ धेरै फाइदा लिन सकिने छ । सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ । बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्नसक्छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महाकालाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यक्तित्व विकास तथा भौतिक सुखसुविधा जुटाउने सिलसिलामा नयाँ विचार र भावनाको उदय हुनसक्छ, लक्ष्यप्रति गम्भीर भएमा हरेक काममा सफलता मिल्नेछ । लाभमूलक विषयमा लगानी गरेमा भविष्य सुध्रने छ । सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ । पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ । सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । आजका लागि शुभअङ्क २, शुभ रङ कलेजी र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हिरण्यगर्भाय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ समझौता वा करारका माध्यमबाट धन बढाउन सकिने छ, जग्गाजमीन, पेट्रोलियम पदार्थ, प्लास्टिकका वस्तुहरू र सञ्चारका सामाग्रीमा लाभ हुनेछ । सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ । कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजीरगाढा रातो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)
न्युज कारखाना

काठमाडौं, ३१ साउन । ईयूको सहयोगमा क्रिएसन नेपालले तीन प्रदेशका ९ जना युवाहरुलाई ‘ग्रीनसिफ्ट एम्बेस्डर’ का लागि छनौट गरेका छन् ।

 

ग्रीनसिफ्ट परियोजना अन्तर्गत वातावरण संरक्षण प्रति युवाहरुलाई सचेतना जगाउनका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौट गरिएको हो ।

बागमती प्रदेशबाट ओम न्यौपाने, आकृती सुवेदी र कृशल श्रेष्ठ, त्यस्तै लुम्बिनी प्रदेशबाट अनुशा क्षेत्री, प्रजिना आर्चाय र योगेश डुम्रे चयन भएका छन भने, मधेश प्रदेशबाट सुलभ चौरसिया, सोनाली साह र कैयुम राइन छनौट भएका छन् ।

 

करिब १ सय भन्दा बढी युवायुवतीहरुले निवेदन दिएका मध्ये ९ जना चयन गरिएको परियोजना प्रमुख युनिश घिमिरे जानकारी दिए ।

परियोजनाका प्रमुख युनिस घिमिरेले ग्रीनसिफ्ट परियोजनाको भिजन अनुसार दिगो भविष्य निमार्णका लागि योगदान र्पुयाउन युवाहरुको महत्वपूर्ण भूमिकाको बारेमा तीन प्रदेशका युवाहरूलाई सहभागी गराएर सशक्तिकरण र शिक्षित गर्न ‘ग्रीनसिफ्ट एम्बेस्डर’हरुले स्थानीय स्तरमा क्रियाकलापहरु सञ्चालन गर्ने बताए ।

छनौट भएका ‘ग्रीनसिफ्ट एम्बेस्डर’ युवाहरुले आ आफनो क्षेत्रमा स्थानीयसँग मिलेर वातावरण संरक्षण, वृक्षारोपण, युवा परिचालन, सामुदायिक सहभागिता र प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्नेछन् ।

ग्रीनसिफ्ट एम्बेस्डर’ले स्थानीय सरकारका निकायहरू, शैक्षिक संस्थाहरू, सामुदायिक समूहहरू र स्थानीय बासिन्दाहरू लगायत विभिन्न सरोकारवालाहरूसँग सहकार्य र सामूहिक कार्यलाई बढावा दिन सक्रिय नेतृत्व प्रदान गर्नेछन ।

ईयूको सहयोगमा ग्रिनसिफ्ट परियोजना चार बर्ष समायवधिका लागि बागमी, मधेश र लुम्बिनी गरी तीन प्रदेशको विभिन्न नौ स्थानीय तहमा विभिन्न क्रियाकलप सन्चालन गरीरहेको छ ।

 

क्रिएसनको नेतृत्वमा रेस्टलेस डेभलम्पमेन्ट र यूथ इनोभेसन ल्याब परियोजनाको कन्सोर्टियम पार्टनरका रुपमा रहेका छन । न्युज कारखाना

सकाठमाडौं, ३१ साउन ।
विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने  भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी दिएका हो ।

उपाध्यक्ष रेजरले लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वुद्धि लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिनु भएको छ ।

 

विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रुपमा नेपाललाई २०५ मिलियन  अमेरिकी डलर प्राप्त भएको थियो ।

अर्थमन्त्री पौडेलले नेपालमा स्थीर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्दै आयोजनाहरु समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ्ने बताए ।न्युज कारखाना

Oप्रसिद्ध धर्म गुरुहरूले भने – खनालले जगत गुरु आदि  शंकराचार्य र गुरु नानक देवको इतिहास ‘ब्रेक’ गरे

काठमाडौं, ३१ साउन।  विश्वमा ४५० वटा प्रसिद्ध धार्मिक तीर्थस्थलहरूको दर्शन गरेर ‘विश्व रेकर्ड’ राख्ने व्यक्ति को होलान्! सनातन धर्मका प्रसिद्ध भारतीय गुरुहरू भन्छन् – कि शंकाराचार्य हुन् कि गुरु नानक देव।

भारतीय गुरु नानक देवले करिब पाँच सय वर्षअघि २१ वर्ष लगाएर यतिका तीर्थस्थलको भ्रमण गरेर विश्वमा प्रसिद्धी कमाएका थिए।

 

त्योभन्दा अघि आदि गुरु शंकराचार्यले कति वर्ष लगाएर यतिको संख्यामा तीर्थस्थल भ्रमण गरेका थिए, यकिन छैन।

 

अहिले आएर नेपालका प्रदीप खनालले एकै वर्षमा ४५० वटा तीर्थस्थल भ्रमण गरेर आफू ‘विश्वमै पहिलो’ व्यक्ति भएको बताएका  छन्। खनाल गत जुलाई अन्तिममा ४५० वटा तीर्थस्थल भ्रमण पूरा गरेपछि चर्चामा छन्।

 

प्रसिद्ध सनातनी धर्मका गुरुहरूले आदि शंकराचार्य र गुरु नानक देवपछि तेस्रो व्यक्ति भन्दै खनालको प्रशंसा गरिरहेका छन्। उनीहरूले खनालले शंकराचार्य र नानक देवको इतिहास ‘ब्रेक’ गरेको बताएका छन्।

 

भारतका प्रसिद्ध जगतगुरु स्वामी ऋषिपाल आनन्दले भनेका छन्, ‘खनालले सयौं वर्षपछि विश्वमा आजसम्म कसैले नगरेको तीर्थयात्रा एकै वर्षमा पूरा गरेका छन्।’

 

भारतकै कल्की अवतार भगवानले त्यसमा थपेका छन्, ‘शंकराचार्य र नानक देवपछि नेपालका प्रदीप खनालले यतिका तीर्थस्थलको भ्रमण पूरा गरेका छन्। यो इतिहासमै दुर्लभ घटना हो।’

 

भारतको मणिकारण शिव मन्दिरको अन्तिम पटक भ्रमण गरेर नेपाल फर्केपछि खनालले आफूले ४५० औं तीर्थस्थल यात्रा सम्पन्न गरेको बताए। उनले भने, ‘यो कठिन भ्रमण पूरा गर्दा सनातनी धर्मगुरुहरूले मलाई विश्वमै पहिलो व्यक्ति ठान्दै बधाई दिइरहनु भएको छ।’

 

उनलाई अहिले फोन तथा सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिने सनातन धर्मप्रेमीहरूको ओइरो लागेको छ।

 

‘बधाई तथा शुभकामना आइरहेका छन्, विश्वमै मैले पहिलो पटक यो यात्रा पूरा गरेको छु भनी म आफूले दाबी गरेको हैन, विश्वप्रसिद्ध धर्मगुरुहरूले भन्नुभएको हो।’

छोटो समयमा ४५० तीर्थस्थलको भ्रमण गरी फर्किएका खनाल ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा आफूलाई दर्ज गर्न प्रयासरत् छन्। ‘त्यसका निम्ति गर्नुपर्ने कार्यहरूको तयारी गरिरहेको छु, हेरौं सफल हुन्छु भन्ने लागेको छ,’ खनालले भने।

 

खनाल धार्मिक तथा सांस्कृतिक अभियन्ता हुन्। उनी अन्तर्राष्ट्रिय मैत्री समाजका अध्यक्ष पनि हुन्।

 

धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पशुपतिनाथबाट तीर्थयात्रामा निस्किएका खनालले नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र चीनको तिब्बत गरी छ वटा राष्ट्रका ४५० तीर्थस्थलको भ्रमण सकाएको बताए।

 

उनले सन् २०२३ को जुनको अन्तिम साताबाट पशुपतिनाथको दर्शन गरी यात्रा प्रारम्भ गरेका थिए। सुरूमा भ्रमणमा निस्किँदा उनले ५२ शक्तिपीठ र १२ ज्योतिर्लिङ्गको दर्शन गर्ने लक्ष्य राखेका थिए।

 

तर, ती तीर्थस्थल भ्रमण गरेपछि उनलाई थप ऊर्जा प्राप्त भयो। ‘यो भ्रमणले मलाई विश्वका सबै प्रसिद्ध धार्मिकस्थलको दर्शन गर्ने प्रेरणा जगायो,’ उनले भने, ‘त्यसपछि म आफ्नो यात्रामा एकाग्र भएर लागें।’

 

खनालले चार वटा आदि शक्तिपीठ, १८ वटा महाशक्तिपीठ, ५२ वटा शक्तिपीठ, १०८ वटा सिद्धपीठ, चार धाम, सप्तपुरी, बाह्र ज्योतिर्गलिङ्ग, बुद्ध धर्मका १३ तीर्थस्थल, सिख धर्मका ११ वटा, गूरुद्धारा अन्य २३ ठाउँ कैलाश मानसरोबरदेखि कन्याकुमारी, अरुणाञ्चल प्रदेशको पर्शुराम कुण्डदेखि मध्य प्रदेशको अमरकन्टक, पाकिस्तानको हिङ्गलाज शक्तिपीठको अनिलकुण्डसम्म पुगेर स्नान गरे।

 

 

यस्तै, पाकिस्तानकै कटासराजको ६ हजार वर्ष पुरानो शिवलिंग र शिबजीको आशुँबाट बनेको कुण्ड,  नैमी सारान्याको चक्रतीर्थ र प्रयागराजको त्रिवेणी सम्म स्नान र  दर्शन गरेको खनालले बताए।

 

यसैमा खनालले भगवान शिवकी पत्नी सतीदेवीको अंग पतन भएका ६ देशमा रहेका ११६ तीर्थस्थलको भ्रमण गरेको बताए। विश्वमा सतीदेवीको अंग पतन भएका ठाउँबारे विवाद छन्।

 

सतीदेवीको अंग पतन भएका तीर्थस्थल कतै ४, कतै १८, कतै ५२, कतै ७६ र कतै १०८ वटा हुन् भन्ने दाबी गरिँदै आएको छ। तर, आफूले ११६ ठाउँमा सतीदेवीको अंग पतन भएको नयाँ तथ्य पत्ता लगाएको बताए।

‘मैले दाबी गरेको कुरा सबैलाई पत्यार नलाग्न पनि सक्छ, तर तीर्थस्थलको भ्रमणमा मैले ११६ ठाउँ सतीदेवीको अंग पतन भएको पाएँ,’ खनालले भने।

 

खनालको भ्रमणबारे सिलिगुडीका धर्मगुरु आचार्य मुक्तिनाथ अधिकारीले भनेका छन्, ‘सायद, यतिको भ्रमण दुई तीन महापुरुषले मात्र गरेका छन्, त्योमध्ये खनाल एक हुन्, इतिहासले तपाईंलाई त्यही दाँजोमा राख्नेछ।’

 

श्रीलंकाका हिन्दुवादी धार्मिक अभियन्ता बालाजीले खनालको भ्रमणबारे भनेका छन्, ‘असम्भव भन्ने केही छैन, यो कठिन यात्रा इतिहासमा दर्ज हुने छ, आगामी पुस्ताको लागि अध्ययन अनुसन्धानको बिषय बन्दछ,  तपाईंको भ्रमणले आगामी पुस्तालाई प्रेरित गर्ने छ।’

 

यस्तै, दिल्लीका सामाजिक कार्यकर्ता चमन शर्माले खनालले ‘आजसम्मको सनातन धर्म इतिहासमा कसैले पनि गर्न नसकेको काम’ भनेका छन्।

 

पशुपतिनाथका मुल भट्ट रावल गणेशले खनालको भ्रमणको श्रीगणेश गरेका थिए। उनले खनालले सम्पन्न गरेको तीर्थस्थल दर्शनको प्रशंसा गरे। उनले भने, ‘यो हामी विश्वका सबै सनातनी धर्मावलम्बीका निम्ति अनुकरणीय कार्य हो।’

 

४५० तीर्थस्थलको भ्रमण पूरा गर्दा शिवशक्ति शमागम टिमका सदस्य मंगेश भागवत र शिरडी की विनिता लेप्चाले साथ दिएका थिए। ‘उहाँहरूको योगदान म कहिल्यै पनि भुल्न सक्दिनँ, उहाँहरूप्रति म कृतज्ञ छु।’

भ्रमण पूरापछि उनले आगामी सन् २०२५ फेब्रुअरी महिनामा बनारसमा तीन दिने शिवशक्ति समागम अनुष्ठानको आयोजना गर्न लागेका छन्। यसका लागि उनले भारतका धार्मिक गुरुहरु र नेताहरुसँग छलफल गरेका छन् ।

 

उक्त अनुष्ठानमा कम्तीमा ५२ शक्तिपीठ, १२ ज्योतिर्लिङ्ग, चार धाम र विश्वका महत्वपूर्ण धामका गुरुहरूलाई बोलाउने तयारी उनको छ। ‘भारतका प्रधानमन्त्रीदेखि लिएर विश्वका सनातनी राष्ट्राध्यक्ष र धार्मिक अनुयायीहरूलाई समेट्ने मेरो प्रयास हुने छ,’ उनले भने।

खनालले यो तीर्थयात्रा नेपालको धार्मिक पर्यटन प्रवर्द्धन तथा विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउनका निम्ति गरेको बताए। ‘नेपालमा जति पनि पर्यटकीय क्षेत्र छन् ती ८० प्रतिशत धार्मिक तीर्थस्थल हुन्, बाँकी २० प्रतिशत प्राकृतिक क्षेत्र छन्,’ खनालले भने, ‘यो ८० प्रतिशत धार्मिक पर्यटनलाई सरकारले कसरी सदुपयोग गर्छ हेर्न बाँकी छ।’

 

भ्रमणका क्रममा आफूले विभिन्न राष्ट्रका प्रमुखहरूसँग नेपालको धार्मिक पर्यटन विकास र श्रीवृद्धिबारे कूटनीतिक रुपमा भेटेर कुराकानी गरेको खनालले बताए।

 

‘मैले विश्वमा सबैभन्दा बढी तीर्थस्थलको भ्रमण गरेर एउटा श्रेष्ठता हासिल गरेको छु, सनातनी धर्मावलम्बीहरूका निम्ति यो कठिन यात्रा हो, म आफ्नो योगदानको सदुपयोग होस् भन्ने चाहन्छु,’ उनले भने।

एक वर्षको यात्राको पूर्णता आफूले व्यक्तिगत लगानीमा सम्भव पारेको खनालले बताए।

 

यो यात्राका क्रममा आफूले अन्तर्राष्ट्रिय मैत्री समाज नेपालकी सचिव सिर्जना तिम्सिना र राष्ट्रिय संस्कार धाम, नेपालका प्रवक्ता विजय कुमार पन्तबाट महत्वपूर्ण सहयोग उनले पाएको बताए।

 

खनालले भारतका प्रसिद्ध जगत गुरु आदि शंकराचार्य र गुरु नानक देवको कारण आफूले तीर्थयात्रामा प्रेरणा पाएको भन्दै उनीहरूप्रति उच्च सम्मान रहेको बताए।न्युज कारखाना

गाजा, ३१ साउन । इजरायलले ४० हजार भन्दा बढी प्यालेस्टाइनीको हत्या गरेको छ ।

 

हमास– इजरायल बिच गत अक्टोबर ७ बाट सुरु भएको युद्धमा इजरायलले ४० हजार बढी सर्ब साधारण प्यालेस्टाइनीकाे हत्या गरेको हो  ।

 

गाजामा इजरायली सैन्य कारबाहीका कारण ४०,००० भन्दा बढी प्यालेस्टाइनी मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यो संख्या २.३ मिलियन जनसंख्या को १.७ प्रतिशत भन्दा बढी भएको हमासको भनाई छ ।

 

हजाराैं प्यालेस्टाइनी जनताको अनाहकमा मृत्युको साथसाथै स्याटेलाइट छवि विश्लेषणका आधारमा गाजाका लगभग ६० प्रतिशत भवनहरू युद्धबाट क्षतिग्रस्त वा नष्ट भएको जनाईएको छ ।

गत केही महिनामा दक्षिणी सहर रफाहमा सबैभन्दा बढी क्षति भएको इमेजरीले जनाएको छ ।न्युज कारखाना

मस्को, ३१ साउन । रुसको एक अदालतले युक्रेनलाई सहयोग गर्ने एक परोपकारी संस्थालाई ५१ अमेरिकन डलर दान गरेकोमा देशद्रोहको अभियोगमा एमेच्योर ब्यालेरिना केसेनिया कारेलिनालाई १२ वर्षको जेल सजाय सुनाएको छ ।

अमेरिकी र रुसी नागरिकता पाएकी कारेलिनाले गत साता बन्द ढोका पछाडिको सुनुवाइ पछि दोषी स्वीकार गरेकी थिइन् ।

उनी लस एन्जलसमा बस्दै आएकी थिइन् र २०२१ मा अमेरिकी नागरिक बनेकी थिइन्। मस्कोबाट १६ सय किलोमिटर पूर्वमा रहेको येकातेरिनबर्गमा गत जनवरीमा पारिवारिक भ्रमणका क्रममा उनलाई पक्राउ गरिएको थियो।

अभियोजकहरूले १५ वर्षको जेल सजाय माग गरेका थिए। येकातेरिनबर्गको अदालतले उनलाई उच्च राजद्रोहको दोषी पाए र उनलाई सामान्य शासन दण्डको उपनिवेशमा जेल सजाय सुनाएको जनाईएको छ ।

 

क्यारेलिनालाई रुसको एफएसबी सुरक्षा सेवाले युक्रेनी सेनालाई हतियार उपलब्ध गराउने युक्रेनी संगठनका लागि पैसा उठाएको आरोप लगाएको थियो। परोपकारी संस्था रजोमले एमेच्योर ब्यालेरिनाको गिरफ्तारीको बारेमा सुनेर आतंकित भएको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

 

रौतहट ३१ साउन। नेपाल बैंक लिमिटेडका सञ्चालक समिति सदस्य विवेक शमशेर जबराले सर्वसाधारण मानिसलाई पनि ऋण कर्जा दिनेबारे छलफल भईरहेको बताएका छन्।

 

कारोवार भएकालाई मात्र कर्जा प्रवाह गरिने सर्वसाधारण मानिसलाई नपाउने गुनासो बढेको कारण बैंक सञ्चालक समितिमा छलफल संगै कर्जा प्रवाह गर्ने बारे योजना बनाइरहेको जबराले स्पष्ट पारेका छन्।


रौतहटको कटहरिया स्थित नेपाल बैंक लिमिटेडले बिहीवार आयोजना गरिएको उदघाटन समारोहका  प्रमुख अतिथि जबराले नवनिर्मित भवनको उदघाटन गर्दै उक्त कुरा बताएका हुन्। रौतहटको तत्कालीन पुरेनवा गाविसमा जन्मेको र ३८ बर्ष पछि प्रमुख अतिथिको रुपमा आएर बोल्न पाउँदा अत्यन्तै खुसी लागेको उनको भनाई थियो।

 

नेपाल बैंक जनताकै बैंक भएकाले यसलाई अगाडी बढाउने जिम्मा पनी जनताकै रहेको जबराले बताएका छन। नेपाल बैंक र बाणिज्य बैंक बाट कर्जा लिएर समयमा चुक्ता नगरेकै कारण २० बर्ष अघि झण्डै बन्द हुने अवस्थामा पुगेको चर्चा गर्दै अब पुनः त्यस्तो अवस्थामा न आउन दिन हामी सबैको दायित्व रहेको जबराले बताएका थिए। यी दुई बैंक यदी कुनै कारणले बन्द हुन्छ भने त्यसको असर सरकारसँगै सबै माथि पर्ने उनले चेतावनी दिएका थिए।

 

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले देशभरिमा बैंकको २१९ शाखा र २०५ एटीएम सञ्चालनमा रहेको बताएका छन। उनले बैंकमा ६१ प्रतिशत सरकारको तथा ३९ प्रतिशत जनताको लगानी रहेको बताउँदै अहिले आधुनिक बैंकिङ सेवा दिइरहेको नेपाल बैंकमा जनताकाे २५० करोड रकम जम्मा रहेको जानकारी दिएका थिए। कुनै परियोजनाको लागी कर्जा लिनुपर्दा सानो लगानीमा शाखाले १५ दिन भित्र र ठूलो लगानीमा केन्द्र बाट १ महिना भित्र स्वीकृति हुनुपर्ने स्पष्ट पारेका थिए।

 

नेपाल बैंकका मधेश प्रदेश प्रमुख प्रदीप पाठकले प्रत्यक्ष रूपमा जनताको सेवा गर्ने लक्ष्यका साथ संचालित बैंकमा स्थानिय प्रबंधक, कर्मचारीले कुनै प्रकारले अनावश्यक आर्थिक लाभ लिन खोजेमा , बदमासी गरी हैरान गर्न खोजेमा सीधा आफूहरु लाई सम्पर्क गर्न ग्राहक संग अनुरोध गरेका थिए। गलत नियत राखेर काम गरेको जानकारी आएमा त्यस्ता कर्मचारीलाई नियमानुसार कडा कारवाहीको चेतावनी दिएका थिए।

 

उदघाटन कार्यक्रममा न्युज कारखानाकर्मी सञ्जय मिश्रा,कटहरिया ४ का वडा अध्यक्ष चन्दन कुशवाह, क्याम्पस प्रमुख गजेन्द्र यादव, ब्यापारीहरु योगेन्द्र साह, नसरुदिन अन्सारी, महाशक्ति निराला, सरोज यादव लगायतकाले द्वन्दकालमा बिस्थापित बैंक लाई पुनः स्थापित गराउन जिल्लामा कैयौँ पटक आन्दोलन गर्नुपरेको तथा पटकपटक काठमाडौं सम्म धाउनु परेको जिकिर गरेका थिए। कटहरियामै बैंक सञ्चालन हुँदा घरमै बसीबसी सम्पूर्ण सेवा पाएको बताउँदै बिगतमा केही कर्मचारीले बिना कमिसन कर्जा लगानी नगरेको गुनासो गरेका थिए।

जिल्लाको चर्चीत बजार कटहरियामा नेपाल बैंक लिमिटेड स्थापना भएको ५१ औं बर्षपछी आफ्नै भवन पाएको छ।  २०३० सालमा कटहरिया बजारमा स्थापना भएको नेपाल वैंकको ५१ बर्ष पछि गत आईतवार देखी आफ्नै भवनमा सञ्चालनमा आएपनि औपचारिक रूपमा आज उदघाटन भएको छ।

वैंकको नाउँमा दर्ता रहेको दुईकठा क्षेत्रफल जग्गामा कूल २ करोड ६४ लाख ६३ हजार ४४० रुपैयाँको लागतमा भवन निर्माण भएको हो। टेण्डर प्रक्रियाबाट कन्चन कन्स्ट्र्सन कम्पनीले ठेक्का सम्झौता अनुसार नेपाल बैंक लिमिटेड कटहरियाका शाखाको भवन निर्माण गरेको प्रबन्धक आनन्द कुमार यादवले बताएका छन।

२०८० फागुन १४ भित्र भवन निर्माण अवधी रहेकोमा केही प्राविधिक कारणले केही महिना ढिलो गरी आफ्नै भवनमा कारोवार सञ्चालन गरिएको प्रबंधक यादवले जानकारी दिएका छन। २०३० सालमा कटहरियामा बैंक स्थापना पछि लगातार ३० वर्षसम्म सो क्षेत्रमा सेवा प्रदान गरेको थियो। तत्कालिन विद्रोही माओबादी र सरकार बीच सशस्त्र द्वन्द हुँदा २०६१ सालमा असुरक्षाको कारण देखाउँदै बैंक गौर स्थानान्तरण भएको थियो। केहि समय कटहरिया शाखाको नामले छुट्टै सेवा दिएको पछी नेपाल बैंक गौर शाखामा मर्ज गरिएको थियो।

 

देशका अबस्था सामान्य हुँदा १० बर्ष पछि २०७१ साल देखि नेपाल बैंकले कटहरियामा पुनः सेवा दिँदै आएको छ। हाल कटहरिया शाखामा झण्डै ११ हजार ग्राहक रहेका छन। कटहरिया शाखामा नगद,कर्जा, सुनचाँदी कर्जा, ई बैंकिङ सेवा , आईपिएस सेवा लगायतको सेवा उपलब्ध रहेको प्रबंधक यादवले जानकारी दिएका छन। भवन निर्माण संगै नेपाल बैंक द्वारा एटिएम सञ्चालनको लागि प्रक्रिया सुरु गरिएकाले केही समय भित्रै उक्त सेवा उपलब्ध गराउने उनले जानकारी दिएका छन।

कटहरिया शाखा स्थापना कालदेखि नै बर्षेनी नाफामा रहँदै आएको जनाइएको छ।न्युज कारखाना

काठमाडौं, ३१ साउन ।प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण सम्बन्धि बनेको ऐन समय अनुकुल बनाउनुपर्ने बताएका छन् ।

भ्रष्टाचार निवारण ऐन २०५९को संशोधन गर्न बनेको विधयेककाबारे राज्य व्यवस्था तथा सुशासन समितिमा बिहिबार(आज) भएको छलफललाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

 

भ्रष्टाचार निवारण सम्बन्धमा २०५९ सालमा ऐन बनाउँदाको स्थिति र अहिले संसोधनको प्रस्ताव पेश गर्दाको स्थिति राजनीतिक र विज्ञान प्रविधिको विकासका हिसाबले धेरै फरक भएको बताउनुहँदै अध्यक्ष प्रचण्डले बदलिंदो अवस्था अनुसार ऐनको संसोधन आवश्यक रहेको बताए ।

अध्यक्ष प्रचण्डले भने ‘२०५९ सालमा यो ऐन बनाउँदा खेरिको स्थिति र अहिले संसोधनको प्रस्ताव पेश गर्दाको स्थितिसम्म आइपुग्दा राजनीतिक परिस्थितिमा फेरबदल आएको छ । एउटा सासन प्रणाली देखि अर्को शासन प्रणालमिा आइपुगेका छौं । अहिले संघिय लोकतान्त्रिक गणतन्त्र अनुसार पनि संसोधन आवश्यक छ।’

विज्ञान प्रविधिमा भएको नयाँ विकास अनुसार पनि उक्त ऐनमा संसोधन आवश्यक रहेको अध्यक्ष प्रचण्डले बताए । २०५९ देखि वा यो विधयेक संसोधनका लागि २०७६ सालमा पेश गर्दाको समयदेखि अहिले २०८१ सम्म सूचना प्रविधिमा भएको विकास अनुसार भ्रष्टाचार निर्मुलन गर्नका लागि उक्त ऐनमा संसोधन आवश्यक रहेको उनको धारणा थियो

त्यसैगरी, भ्रष्टाचारका आरोपीलाई अदालतले फैसला नगरेसम्म निलम्बन गर्ने कि नगर्ने भन्नेबारे पनि व्यापक छलफलको आवश्यकता रहेको उनले बताए ।

अध्यक्ष प्रचण्डले भने ‘आयोगले मुद्दा दर्ता गराउने बित्तिकै निलम्बन हुने स्थिति ठिक छ कि छैन ? अदालतले अन्तिम फैसला नगरेसम्म निलम्बन हुने व्यवस्था गर्ने कि नगर्ने ? के गर्दा उपयुक्त हुन्छ, सम्भव भएसम्म अन्य विज्ञसँग पनि राय सुझाव लिएर ऐनलाई परिमार्जित गर्नुपर्छ । विगतमा देखिएका समस्याहरूलाई व्यवस्थित गर्नेगरी गरियोस् । विधेयक परिमार्जनमा मेरो सहयोग रहन्छ।’

उनले अगाडि भने , ‘अदालतले टुंगो नलगाएसम्म टुंगिएको मानिदैँन। अदालतमा मुद्दा दायर हुनेबित्तिकै पदाधिकारी निलम्बित हुन्छ पछि फैसला गर्दा निर्दोष ठहर्‍याउँछ । त्यो बीचको क्षतिपूर्ति के हुन्छ भन्ने विषय जटिल छ । मान्छे निलम्बित भयो तर, अदालतको फैसला विलम्ब भयो र मान्छे अवकाशमा गएको अवस्थामा समाधान के त ? यसको जवाफ दिने हामीले यसै ऐनमार्फत् सम्बोधन गर्नुपर्छ ।’

हदम्याद कति समय राख्ने वा नराख्ने विषयमा छलफल गरेर निष्कर्षमा पुग्नु पर्ने अध्यक्ष प्रचण्डको भनाई थियो ।न्युज कारखाना

मुम्बई, ३१ साउन । स्त्री फिल्म ६ वर्ष पहिले २०१८मा रिलीज भएको थियो। २५ करोडको मामूली बजेटको यो फिल्मले १५० करोडभन्दा बढीको व्यापार गरेको थियो ।

 

फिल्मलाई अमर कौशिकले निर्देशन गरेका हुन् । फिल्ममा राजकुमार राव, श्रद्धा कपूर, अभिषेक बनर्जी, अपारशक्ति खुराना र पंकज त्रिपाठी देखिएका थिए । अब यो वर्ष अर्थात २०२४ हो र स्त्री–२ फर्किएको छ ।

 

एउटै निर्देशक, एउटै स्टारकास्ट र चन्देरीलाई आतंकित गर्ने पात्रसहित फर्किएको हो । हो, महिलाको बिदाइपछि अब चन्देरीमा एउटा गल्ती भएको छ । महिलाले पुरुषलाई उठाउने गर्दथे भने चन्देरी युवतीहरू शोषणको शिकार हुने गरेका छन् । अब चन्देरीमा कुनै समस्या परेमा बिक्की एण्ड कम्पनीले पक्कै समाधान गर्ने छ । जसमा पंकज त्रिपाठी पनि परेका छन् । ठीक छ, समस्या समाधान गर्ने जिम्मेवारी श्रद्धा कपूर, राजकुमार राव र उनीहरूका साथीहरूको छ।

 

रिस कसरी हटाउने ? बिक्की एण्ड कम्पनीलाई श्रद्धा कपुरले कसरी मद्दत गर्छिन् ? यी प्रश्नको जवाफ महिलालाई हेरेपछि मात्र थाहा हुनेछ । तर फिल्ममा कमेडी र हररको रमाइलो मिश्रण छ । फिल्मको पहिलो हाफ एकै छिनमा चल्छ र गतिको दृश्यले तपाईंलाई डराउने मात्र होइन, यसले तपाईंलाई विक्की र कम्पनीको गतिविधिले पनि गुदगुदी गर्छ।

 

तर दोस्रो हाफमा अमर कौशिक अलि अलमलमा पर्छन्। जसरी दृश्यहरू ह्यान्डल गरिएको छ र चीजहरू देखाइएको छ, वातावरण अलि तानिएको देखिन्छ। आराम गर्नुहोस्, स्त्री २ मा धेरै दिमाग लगाउन आवश्यक छैन्। त्यसपछि समय(समयमा तपाईंले केही क्यामियोहरू पनि देख्नुहुनेछ, त्यसैले तिनीहरूका लागि तयार हुनुहोस्। हो, सम्झनुहोस्, फिल्मले सन्देश पनि लिएको छ।

 

कलाकारको अभिनय

अहिले अभिनयको कुरा गर्ने हो भने राजकुमार राव उर्फ ​​बिक्कीको टाइमिङ गजबको छ । उनले बिक्कीको चरित्रलाई अरु कसैले नसक्ने गरी कैद गरेका छन् । त्यसपछि अभिषेक बनर्जी र अपारशक्तिले पनि राम्रो साथ दिन्छन्। तर मानिसहरूलाई हँसाउनको लागि, कहिलेकाहीँ तिनीहरूले कुरालाई अलि चर्को बनाउँछन्।

 

श्रद्धा कपुरले राम्रो काम गरिन् । उनको बारेमा जुन किसिमको गुमनाम र रहस्यमय छवि बनाइएको छ, त्यसलाई श्रद्धा कपूरले निकै इमान्दारीका साथ पर्दामा प्रस्तुत गरेकी छिन् । पंकज त्रिपाठीले संवाद बोल्ने तरिका रमाइलो छ । उनको वन लाइनरले फ्यानको मन छोयो ।

स्त्री २ निर्णय

स्त्री २ को फैसला बारे कुरा गर्दा, यो स्त्रीको प्रशंसकहरुको लागी एक उत्तम फिल्म हो। त्यसपछि डरलाग्दो कमेडी मन पराउनेहरूलाई पनि मन पर्छ। राजकुमार राव, श्रद्धा कपुर र पंकज त्रिपाठीका फ्यानले पनि यो फिल्म मन पराउने छन् । फिल्ममा धेरै दृश्य र चीजहरू अनौठो लाग्न सक्छ।

 

तर डरलाग्दो कमेडीको नाममा यी कुराहरूलाई बेवास्ता गर्न सकिन्छ। यसरी स्त्री २ को पूर्णलाभ तब मात्र लिन सकिन्छ जब यसमा मन नभई दिमाग लगाइन्छ।

 

रेटिंगः ४.५ तारा
निर्देशकः अमर कौशिक
कलाकारः राजकुमार राव, श्रद्धा कपूर, अभिषेक बनर्जी, अपारशक्ति खुराना र पंकज त्रिपाठी

न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।