अर्जुन यादव,रौतहट,२९ गते पुस ।
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा पवन कुमार केशरीले औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। नगरपालिकामा आयोजित एक संक्षिप्त तर अर्थपूर्ण कार्यक्रमबीच नगर प्रमुख प्रेमलाल साह र उप–प्रमुख परनिया देवी पटेलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत केशरीले पदभार ग्रहण गरेका हुन्।
कार्यभार ग्रहण कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख प्रेमलाल साहले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नगरपालिकाको समग्र विकास, सुशासन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने दिशामा सहकार्यको अपेक्षा व्यक्त गरे। उप–प्रमुख परनिया देवी पटेलले पनि नगरवासीको हितलाई केन्द्रमा राखी पारदर्शी र जवाफदेही प्रशासन सञ्चालन गर्न आग्रह गरिन्।
नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत पवन कुमार केशरीले आफ्नो जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै नगरपालिकाको प्रशासनिक कार्यलाई चुस्त, प्रभावकारी र जनमैत्री बनाउने बताए। उनले कर्मचारीहरूबीच समन्वय, नियम–कानुनको पालना र सेवा प्रवाहमा गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे। साथै, स्थानीय तहमा देखिएका समस्या समाधानका लागि जनप्रतिनिधि, कर्मचारी र समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
अर्जुन यादव,रौतहट,१० गते पुस ।
रौतहटको बौधिमाई नगरपालिकामा लागू औषध दुव्र्यसनविरुद्ध विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जेन्जी २.० र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त आयोजनामा तथा समुदाय–प्रहरी साझेदारीअन्तर्गत सञ्चालन गरिएको उक्त अभियानको उद्देश्य लागू औषध दुव्र्यसनको रोकथाम र नियन्त्रणका उपायबारे जनचेतना फैलाउनु रहेको थियो।

नगर प्रमुख प्रदीप कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थिति रहेको थियो। कार्यक्रममा लागू औषधले समाज, विशेषगरी युवापुस्तामा पार्ने नकारात्मक प्रभाव, यसको कारण तथा रोकथामका उपायबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमकै क्रममा प्रहरी उपरीक्षक रविन कार्की र प्रमुख जिल्ला अधिकारी भुसालले बौधिमाई नगरपालिका अन्तर्गत पर्ने बन्कुल बजार क्षेत्रमा संयुक्त अनुगमन गरेका थिए। अनुगमनले बजार सुरक्षा, व्यापारिक गतिविधि तथा समग्र शान्ति–सुरक्षाको अवस्थाबारे अवलोकन गरेको जनाइएको छ।

यस्तै, वडा नंम्बर ५ कोपवाको सामुदायिक भवनमा कक्षा ८, ९ र १० मा अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षक–प्रधानाध्यापकहरूको उपस्थितिमा जनचेतनामूलक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा प्रहरी नायव निरीक्षक तेजप्रताप सिंहले लागू औषधका प्रकार, असर, कानुनी प्रावधान तथा बच्ने उपायबारे जानकारी गराएका थिए।

कार्यक्रममा जेन्जी २.० का जिल्ला संयोजक सोनू कुशवाहा, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, शिक्षक, सुरक्षाकर्मी तथा सयौँ विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले लागू औषधमुक्त समाज निर्माणका लागि परिवार, विद्यालय, समुदाय र राज्यको संयुक्त भूमिका अपरिहार्य रहेकोमा जोड दिएका थिए।
अर्जुन यादव,०४ गते पुस ।
रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीमा नवनियुक्त वडा सचिव बिनोद प्रसाद साहले शुक्रबार औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहण समारोह नगर प्रमुख प्रेमलाल साहको रोहबरमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा अध्यक्ष वीरबहादुर साहले वडा सचिव साहलाई गम्छा र माला लगाएर स्वागत गर्नुभएको थियो।

पदभार ग्रहण गर्दै वडा सचिव साहले वडाका नागरिकसँग सुमधुर सम्बन्ध कायम गर्दै जिम्मेवारीप्रति इमान्दार र प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउने लक्ष्यका साथ अघि बढ्ने बताउनुभयो।
कार्यक्रममा वडा सदस्य खुबलाल दास, संजोगिया देवी, प्रमिला देवी, कार्यालय सहयोगी राजधरण यादव, युवा नेता रंजन साह, बन्हु दासलगायत स्थानीय समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित व्यक्तिहरूले नवनियुक्त वडा सचिवलाई सफल कार्यकालको शुभकामना दिँदै वडाको विकास र सुशासनमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
वडा अध्यक्ष वीरबहादुर साहका अनुसार नवनियुक्त सचिवको आगमनले वडाको प्रशासनिक कामकाज थप व्यवस्थित र प्रभावकारी हुने विश्वास लिइएको छ। स्थानीय तहमा सेवा प्रवाहलाई सहज बनाउँदै विकास निर्माणका कार्यलाई तीव्रता दिन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा वक्ताहरूले जोड दिएका थिए।
अर्जुन कुमार यादव,रौतहट,१७ गते मंसिर ।
रौतहटको राजदेवी नगरपालिकामा उपसचिव बिकाउ कुमार यादवले प्रमुख प्रशासकीय अधिकृतका रूपमा आज औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। नगरपालिकाले आयोजना गरेको विशेष समारोहका बीच यादवले हाजिरी जनाएसँगै स्थानीय तहको प्रशासनिक नेतृत्वमा नयाँ ऊर्जा थपिएको मानिएको छ।
कार्यक्रममा नगर प्रमुख भिखारी प्रसाद यादव प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। स्वागत मन्तव्यका क्रममा नगर प्रमुखले नयाँ प्रशासकीय अधिकृतको आगमनले नगरपालिका प्रशासनमा पारदर्शिता, कार्यकुशलता र सेवा प्रवाहको गति अभिवृद्धि हुने विश्वास व्यक्त गरे। उनले नगरपालिकाको समग्र विकास, सुशासन र जनसेवामा समन्वय एवं सहकार्यलाई निरन्तर अगाडि बढाइने बताए।
प्रमुख प्रशासकीय अधिकृत यादवले आफ्नो कार्यकाललाई नागरिकमैत्री, छरितो र प्रभावकारी सेवा प्रवाहमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्ति गरे। उनले स्थानीय तहमा देखिने विभिन्न प्रशासनिक चुनौती समाधान, सेवा प्रक्रियामा समयबद्धता, सुशासन, सूचना पहुँच र जनअभिमुख कार्यलाई प्राथमिकताका रूपमा अघि बढाइने बताए। साथै, नगरपालिका विकासका योजना, कार्यक्रम तथा बजेट कार्यान्वयनमा पारदर्शिता अनिवार्य हुने स्पष्ट पारे।
उनले जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय समुदायबीचको सहकार्य नै सफल स्थानीय शासनको मेरुदण्ड हुने बताउँदै सबैसँग खुलेर काम गर्ने प्रतिवद्धता दोहो¥याए।
उक्त कार्यक्रममा नगरपालिका कर्मचारी, जनप्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत तथा परिचय सत्र पनि सम्पन्न गरिएको थियो।
समारोहको अन्त्यमा नगर प्रमुखले सबै सहभागीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा नगर विकास र जनसेवामा संयुक्त प्रयास जारी राखिने बताए।
बज्जिकाञ्चल संवाददाता,जनकपुर,१७ गते मंसिर ।
२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत पाउने छाँट नदेखेपछि उनले मुख्यमन्त्री पदबाट प्रदेशसभाको बैठकमा नै राजीनामा गरेका छन् ।
यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
बर्दिबासको पानस कटेजमा झिसमिसेमै मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरेपछि विवाद बढेको थियो । त्यही निहुँमा संघीय सरकारले मधेशका तत्कालीन प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरेर जनकपुरका सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुखमा नियुक्तिको सिफारिस गरेको थियो ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिने क्रममा विपक्षी सात दल भने प्रदेश सभाको बैठकमा सहभागी भएनन् । विपक्षी बेन्च पूरै खाली थियो । बैठकमा एमालेका सांसद मात्र उपस्थित छन् । राप्रपाबाट मन्त्री बनेकी कञ्चन बिच्छा र नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी बिमला अन्सारी तुरुन्नम पनि बैठकमा उपस्थित थिइन् । कान्तिपुर
काठमाडौँ,१६ गते मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा नगरपालिकाको जनचेतनामूलक डकुमेन्ट्री निर्माण गर्ने बहानामा नक्कली काम देखाई सरकारी रकम करिब १० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारमा उजुरी परेपछि गरिएको अनुसन्धानका क्रममा कटहरिया नगरपालिकाले वार्षिक स्वीकृत कार्यक्रम र बजेट बिना नै बदनियतपूर्ण ढङ्गले ‘सरिता फाउन्डेसन’ नामक संस्थालाई डकुमेन्ट्री बनाउन दिएको खुलेको जनाएको छ । सम्झौता विपरीत जनचेतनामूलक डकुमेन्ट्रीमा मेयरको गुणगान मात्रै गाएको भिडियो बनाएको, उक्त भिडियो कतै प्रसारण समेत नभएको र नक्कली कागजात खडा गरी ९ लाख ९८ हजार ९ सय २१ रुपैयाँ भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारको भनाइ छ ।
अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिएकाहरूमा तत्कालीन प्रशासकीय अधिकृत साह, लेखापाल विवेक कुमार सहनी, सहायकस्तरका कर्मचारीहरू राम नरेश प्रसाद यादव, उमेश कुमार दास तत्मा, खरिदारद्वय कौशल किशोर चौधरी र छोटेलाल मिश्र तथा सरिता फाउन्डेसनकी निर्देशक सरिता कुमारी साह रहेका छन् ।
उनीहरू सातै जनाविरुद्ध ९ लाख ९८ हजार ९ सय २१ रुपैयाँ बिगो कायम गर्दै बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सभार ः मधेश खबर
अर्जुन कुमार यादव,मंसिर,१३ गते ।
रौतहट जिल्लाको इशनाथ नगरपालिका क्षेत्रमा पछिल्ला केही दिनयता तस्करी गतिविधि असाधारण रूपमा बढिरहेको छ। जयनगरदेखि रामपुर खाप, लतमरी हुँदै महुलिया नाका बोडरसम्मको क्षेत्रमा प्रत्येक रोहबरमार्फत निरन्तर रूपमा अवैध सामानको आवत–जावत भइरहेको स्थानीयवासीहरूले बताए । सो सीमावर्ती क्षेत्रको कमजोर निगरानी र रातिराति हुने गतिविधिले तस्करी झन् सहज भइरहेको भन्दै नागरिकहरू चिन्तित छन्।
स्थानीय स्रोतका अनुसार, भारतसँग जोडिएका यी नाकाहरूबाट दैनिक रूपमा विभिन्न प्रकारका उपभोग्य तथा प्रतिबन्धित वस्तुहरू अवैध रूपमा भित्रिने र बाहिरिने क्रम बढ्दो छ। सीमावर्ती बस्तीमा बसोबास गर्ने बासिन्दाले तस्करहरू समूहमा आयोजना गरेर नियमित रूपमा रोहबर प्रयोग गर्ने गरेको उल्लेख गरेका छन्। यसको असर बजार व्यवस्थापन, राजस्व सङ्कलन र स्थानीय सुरक्षामा प्रत्यक्ष रूपमा परेको जनाइएको छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले तस्करीले समग्र सामाजिक–आर्थिक संरचना प्रभावित बनाइरहेको भन्दै चाँडोभन्दा चाँडो कडा कदम चाल्न सरकारी निकायलाई आग्रह गरेका छन्। उनीहरूले सीमावर्ती नाकाहरूमा प्राविधिक निगरानी, नियमित गस्ती र स्पष्ट प्रशासनिक कडाइ लागू गरे मात्र समस्या नियन्त्रणमा आउन सक्ने धारणा व्यक्त गरेका छन्।
अर्जुन कुमार यादव,रौतहट,मंसिर ०८ गते ।
भारतबाट भन्सार छली गुजरा नगरपालिकाको मैरा हुँदै चन्द्रपुरतर्फ ल्याइँदै गरिएको २२ बोरा रासायनिक मलसहित चार वटा मोटरसाइकल रौतहट प्रहरीले बरामद गरेको छ। अवैध रूपमा मल ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले विशेष निगरानी बढाइरहेको समयमा रंगपुर चौकीबाट खटिएको टोलीले सो सामान नियन्त्रणमा लिएको हो।

प्रहरी सहायक निरीक्षक जीवनराम धितालको कमाण्डमा गएको प्रहरी टोलीले ना.२४ प.६२३२, बिआर.300N,बिआर,33Y र बिआ.05 N 8983 नम्बर प्लेट भएका चार मोटरसाइकलसहित भारतीय रासायनिक मलका २२ बोरा बरामद गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। बरामद गरिएको मल नेपाल भित्र्याइने क्रममा सीमा क्षेत्र हुँदै गुजरा नगरपालिका पार गराई चन्द्रपुरतर्फ लैजाने तयारी भइरहेको प्रहरीको भनाइ छ।

उता, प्रहरीले रोकेर जाँच गर्न खोज्नेबित्तिकै मोटरसाइकलका चालकहरू फरार भएका छन्। उनीहरूलाई खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अवैध मल तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाइ गरिएको प्रहरीले बताएको छ।
सञ्जय गुप्ता, सर्लाही २८ गते कार्तिक ।
गोडैता नगरपालिका–६ रामबन मा हामी सबैको आवाज नेपाल संस्थाद्वारा सञ्चालित सहयोग वितरण कार्यक्रम सम्पन्न भएको छ। रामचन्द्र रामको आर्थिक अभाव र दैनिक जीवनमा कठिनाइ भोगिरहेका स्थानीय विपन्न परिवारहरूको सहायताका लागि संस्थाले सञ्चालन गरेको “सूक्ष्म राहत तथा सहयोग वितरण कार्यक्रम” आज सफलतापूर्वक सम्पन्न भएको हो।

कार्यक्रमका क्रममा संस्थाले लक्षित लाभग्राहीलाई करिब १०,०५५ रुपैयाँ बराबरको ‘सुख–साराध’ काे लागी गरेको आयोजक समितिले जानकारी दिएको छ। संस्थाका प्रतिनिधिहरूका अनुसार यो सहयोग विशेषगरी आर्थिक कठिनाइ झेलिरहेका असहाय तथा विपन्न परिवारहरूको तत्काल आवश्यकता पहिचान गरी प्रदान गरिएको हो। सहयोग प्राप्तकर्ताले दैनिक उपयोगका सामग्री तथा आवश्यकताअनुसारको राहत पाएपछि कृतज्ञता व्यक्त गरेका छन्।

यस सामाजिक कार्यक्रममा ,रेडियो स्मार्ट को संचालक संजय बानियाँ आशिक पटेल, पूरसोतम साह लगायत स्थानीय सक्रिय अभियन्ताको उल्लेखनीय योगदान रह्यो। उनीहरूले सामुदायिक उत्थान, मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वका लागि यस प्रकारका पहलले महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरे। आयोजक तथा सहभागीहरूले विपन्न र सीमान्तकृत समुदायलाई निरन्तर राहत र सहयोग आवश्यक रहेको भन्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाए।
स्थानीय बासिन्दाले हामी सबैको आवाज नेपाल संस्थाले गरेको यो कदमलाई अत्यन्त सराहना गर्दै यसले समुदायमा सकारात्मक ऊर्जा फैलाएको बताएका छन्।
उनीहरूले दातृ निकाय, संस्था तथा व्यक्तिहरूलाई यस्तो सामाजिक अभियानलाई निरन्तरता दिन अपिल समेत गरेका छन्।
सहयोग वितरण कार्यक्रमले स्थानीय तहमा मानवीयता र समाजसेवाप्रतिको जागरण बढाएको भन्दै सबै पक्षले यसलाई सफल सामाजिक योगदानका रूपमा लिएका छन्।
आरके श्रीवास्तव,राैतहट,२२ गते कार्तिक ।
नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले शनिबार कटहरिया नगरपालिका–४ मा आयोजित पार्टीको वडा स्तरीय भेलामा “गौरवशाली इतिहास र उज्ज्वल भविष्य”को नारा दिएर जनतालाई एकता, विकास र स्वाभिमानको बाटोमा अघि बढ्न आह्वान गर्नुभएको छ ।

भेलाको अध्यक्षता महान कम्युनिस्ट नेता हरदयाल महतोका छोरा रामपुकार महतोले गर्नुभएको थियो भने कार्यक्रममा स्थानीय अगुवाहरू, ज्येष्ठ नागरिक, महिला, युवा र कटहरियाका सयौं जनताको उपस्थितिले उत्साहपूर्ण माहोल सिर्जना भएको थियो ।
भेलामा सम्बोधन गर्दै केन्द्रीय सदस्य कुशवाहाले कटहरियाको ऐतिहासिक योगदान र जनताको संघर्षको प्रशंसा गर्दै देशमा बढ्दो भ्रष्टाचार, लुटपाट र विदेशी हस्तक्षेपको विरुद्ध सचेत रहन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,“देश फेरि संकटको मोडमा छ । आतंक र अव्यवस्थाले जनजीवन असुरक्षित बन्दैछ । हामी हाम्रो प्यारो नेपाललाई सिरिया वा युक्रेन बन्न दिन सक्दैनौं। त्यसैले अब इतिहासले फेरि हामीलाई पुकारेको छ । राष्ट्र र जनताको हितका लागि एकताबद्ध भएर अघि बढ्न।”
उहाँले हरदयाल महतोको नेतृत्वमा भएको ऐतिहासिक संघर्षको स्मरण गर्दै कटहरियाको भूमिलाई “इतिहास बोल्ने भूमि”को रूपमा वर्णन गर्नुभयो । उहाँका अनुसार, विकासका प्रत्येक चरणमा कटहरियाले अग्रणी भूमिका खेलेको छ र भविष्यमा पनि जनताको अधिकार, समानता र न्यायका लागि निरन्तर संघर्ष जारी रहनेछ।

कुशवाहाले कटहरियाको आगामी लक्ष्यबारे चर्चा गर्दै भन्नुभयो,“अबको मुख्य लक्ष्य युवालाई रोजगारी, आमाबुबालाई निःशुल्क स्वास्थ्य सेवा, बालबालिकालाई गुणस्तरीय शिक्षा र किसानलाई बजारको पहुँच सुनिश्चित गर्नु हो ।
त्यसका लागि सबै दल, धर्म र वर्गभन्दा माथि उठेर हामी एक परिवार कटहरिया परिवार बनेर अघि बढ्नुपर्छ।”
कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष चन्दन कुशवाहा, सर्फलाल महतो, बिनोद साह र नजिर मियाँले पनि सम्बोधन गर्दै पार्टीका गतिविधि निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँहरूले कटहरिया नगरपालिकामा देखिएको बेथिती र विकासका अवरोधहरूबारे कडा टिप्पणी गर्दै पारदर्शिता र जवाफदेहिताको माग गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा उपस्थित जनसमुदायले एमालेको संगठन सुदृढीकरण, विकास र सुशासनका अभियानमा साथ दिने प्रतिबद्धता जनाएका थिए ।