हेमन्त केसी,सुर्खेत, २३ असाेज ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य भएको छ। हिजाे सोमबार राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य भएको हो।
कुल ५४ घण्टा बसेको अधिवेशनले दुई वटा मात्र (कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक) बनाएको छ। यी दुवै विधेयक संसदबाट सर्वसम्मत रुपमा पारित भएका छन्।
विधेयकमध्ये कर्णाली प्रदेश प्रतिष्ठान विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणित गरेर कानुनका रुपमा लागू भइसकेको छ। सोमबारको बैठकले पारित गरेको प्रदेश निजामती कर्मचारी विधेयक भने प्रदेश प्रमुखले प्रमाणित गरेपछि कानुनको रुपमा लागू हुनेछ।
कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक थप छलफलका लागि विषयगत समितिमा पठाइएको छ।
प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनमा कुल ३९ बैठक बसेका सभामुख नन्द गुरुङ्गले जानकारी दिइन्। दोस्रो अधिवेशन गत जेठ १० गते सुरु भएको थियो।
दोस्रो अधिवेशनमै गत जेठ १४ गते प्रदेशसभाका मिनी संसदहरु (विषयगत समिति)ले नेतृत्व पाएका थिए। कुल ५४ घण्टा बसेको अधिवेशन मध्ये सबैभन्दा लामो २३ औं बैठक ३ घण्टा ३५ मिनेट र सबैभन्दा छोटो ३८ औं बैठक ७ मिनेट २३ सेकेन्ड बसेको थियो।
यही अधिवेशनले प्रदेशको नीति तथा कार्यक्रम र बजेट पास गरेको थियो।
काठमाडौं, २३ असोज ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावी माहोल तातिएको छ ।
निर्वाचनको मिति आउन एक सातामात्रै बाँकी रहँदा अध्यक्षका प्रत्यासीमध्येका एक राजेन्द्र कुमार शर्मा (आरके) सोमबार साँझ काठमाडौँ आइपुगेका छन । शर्मा काठमाडौँ आइपुग्दा एनआरएनए अभियन्ता र समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका छन ।

स्वागतका लागि शर्माको टीममा रहेका उम्मेदवार देखि मतदाता र अभियन्ताहरु एयरपोर्ट पुगेका थिए । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले आफू नेतृत्वमा पुगेमा एनआरएनएलाई सशक्त र सम्मानित बनाउन लागिपर्ने प्रतिबद्धता जनाए । यसअघि नै आफूले २ वर्षे कार्यकालमा गर्ने कामको फेहरिस्तासहितको बाचापत्र सार्वजनिक गरिसकेको उल्लेख गर्दै शर्माले त्यसको प्रभावकारी कार्यान्वयनमा आफ्नो जोड रहने प्रतिबद्धता जनाए ।
वैधानिक च्यानलबाट रेमिट्यान्स आउने व्यवस्था मिलाउन ढिलाइ भइसकेको उल्लेख गर्दै शर्माले भने एनआरएनए समृद्ध नेपाल निर्माणको बलियो साझेदार हुन चाहेको बताए । ‘देशमा आर्थिक क्रान्तिका कार्यहरु गर्न ढिलाइ भइसकेको छ। एनआरएनए समृद्ध नेपाल निर्माणको बलियो साझेदार हुन चाहन्छ’, उनले भने । अबको एक दशक जति दुख गरेर भएपनि देशको आर्थिक क्रान्तिमा होमिनुको विकल्प नभएको उनको भनाइ छ ।
उनले एनआरएनएलाई एकताबद्ध बनाएर लैजाने आफ्नो स्पष्ट योजना रहेको उल्लेख गर्दै भने, ‘एनआरएनए सबैको साझा चौतारी हुनुपवर्छ । धनीको मात्रै संस्था भयो भन्ने आरोप पनि छ । सबै यो संस्थामा समेट्ने गरी एनआरएनएलाई एकताबद्ध बनाउँछु ।’

उनले एनआरएनए अभियानकै क्रममा आफूले केही महिनामा विश्वका ४० वटा देश पुगेको भन्दै सो क्रममा विदेसिएका नेपालीहरुको पिरमर्कालाई राम्ररी बुझ्ने मौका पाएको बताए ।
शर्मासङ्गै एयरपोर्टमा एनआरएनए आईसिसि उपाध्यक्ष एबं आगामी अधिवेसनमा उपाधयक्षका उम्मेदवार रोविन्द श्रेष्ठ, एनआरएनए जापानका अध्यक्ष नबिन न्युरेसहितका पदाधिकारीहरुलाई स्वागत गरिएको थियो । शर्मालाई स्वागत गर्न एनआरएनए उपाध्यक्ष डिबी क्षेत्री, कोशाध्यक्ष लोक दाहाल, युवा संयोजक अब्दुल बासिद, अभियन्ता शनि ओली, बिभिन्न देशका एनआरएन अभियन्ताहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

एनआरएनएको ११ औँ विश्व सम्मेलन यही अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुँदैछ। विश्व सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका लागि हालसम्म शर्मासहित बद्री केसी, महेश श्रेष्ठ, रविना थापा र विनय अधिकारीसमेतले उम्मेदवारी घोषणा गरेका छन । हालसम्म उम्मेदवारी घोषणा गरेकामध्ये शर्मा बलिया उम्मेदवार मानिएका छन् ।
केही साताअघि कतारमा आयोजित कार्यक्रमबाट औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका शर्माले सो क्रममा ‘२४ महिना २४ कार्यक्रम’ नाम दिइएको बाचापत्रमा सार्वजनिक गरेका थिए । बाचापत्रमा उनले एनआरएनहरूबीच एकतालाई पहिलो प्राथमिकता दिएका छन् ।

उनले भनेका छन्, ‘मेरो नेतृत्वमा आईसीसी गठन हुने बित्तिकै सबै गैरआवासीय नेपालीलाई एकताको मालामा उन्ने अभियानमा लाग्नेछु । मेरो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्नेछ । यो मेरो पहिलो प्रतिबद्धता हो ।’ अहिले एनआरएनए दुई वटामा विभक्त छ । उनले एनआरएनएलाई एक बनाउँदै अघि बढाउने प्रमुख एजेण्डाका रुपमा अघि सारे पछि एनआरएनए अभियन्ताहरुले महत्वका साथ हेरेका छन् । जुन कुरालाई सोमबार विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुनः दोहोर्याएका छन् ।
उनले गैरआवासीय नेपाली अभियानले अब देशभित्र नै रोजगारी पाउने वातावरण बनाउनको लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि काम गर्ने पनि बाचा गरेका छन् । बैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षा कोषको कार्यक्रममा जोड्न जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने, समयसापेक्ष ज्ञान, दक्षता तथा सिपको कमीका कारण न्यून तलबमा काम गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न नेपाल सरकार तथा निजी क्षेत्रसंग सहकार्य गरी अविलम्ब आवश्यक प्रशिक्षण कार्यक्रम अगाडि बढाइने जस्ता प्रतिबद्धता उनले आफ्नो बाचापत्रमा समेटेका छन् ।
यस्तै श्रमिकको आर्थिक स्थिति सुधार्नका लागि काम गर्ने योजना पनि शर्माले आफ्नो बाचापत्रमा समेटेका छन् । श्रमिक र तिनीहरूमा आश्रित परिवारको आर्थिक र सामाजिक सुरक्षाका लागि विशेष पहल गर्ने, सामाजिक सुरक्षा कोषमा हाल कायम रहेका योजनाहरूलाई गैरआवासीय नेपाली मैत्री बनाउन पहल गर्ने शर्माको योजना छ ।
अहिले देशले प्राप्त गरिरहेको विप्रेषण रकम उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने र बैदेशिक रोजगारको विकल्प खोज्नुपर्ने देखिएको भन्दै शर्माले त्यसका लागि विशेष पहल गर्ने बताएका छन् । यस्तै, गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन गर्ने महत्वकाक्षी योजना पनि शर्माले अघि सारेका छन् ।
‘औपचारिक माध्यमबाट विप्रेषण पठाउने व्यक्तिलाई प्रोत्साहन गर्न पठाउने व्यक्तिको नामबाट भित्रिएको रकमको दुई प्रतिशत रकम सरकारले उक्त व्यक्तिको नाममा राखिदिने र पठाएको रकमको १० प्रतिशत रकम वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सहमतिमा ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ मा रहेको भविष्य सुरक्षा खातामा जम्मा गर्ने व्यवस्था मिलाउन पहल गरिनेछ । यसरी जम्मा हुँदै र बढ्दै गएको रकममा हरेक वर्ष एक निश्चित प्रतिशत ब्याज प्रदान गर्ने व्यवस्था मिलाउन पनि पहल गरिनेछ’, शर्माको बाचापत्रमा भनिएको छ ।
यस्तै, सांगठनिक पुनर्संरचना, सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासनमा जोड दिएका शर्माले अनलाइनबाट पञ्जिकृत सदस्यले भोट गर्ने र राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदको निर्वाचन एकैदिन हुने व्यवस्था मिलाउने पनि बाचा गरेका छन् ।
देशको विकासका लागि आर्थिक कुटनीति र लगानी प्रबद्र्धनको कार्यक्रम सञ्चालन गर्ने, नेपालको बढ्दो व्यापार घाटा कम गर्न हरेक एनसीसीले नेपालको वस्तु निर्यात प्रबद्र्धनका लागि पहल गर्ने कार्यक्रम सञ्चालन गर्ने, विश्वव्यापी मान्यताअनुसार १८० दिनभन्दा बढी समय नेपाल बाहिर बस्ने नेपालीलाई गैरआवासीय नेपालीको मान्यता दिलाउन पहल गर्ने, दोस्रो–तेस्रो पुस्ताका गैरआवासीय नेपालीलाई देशसँग जोडिरहन कार्यक्रम ल्याउने, भाषा र संस्कृतिको जगेर्ना गर्न पहल गर्नेलगायतका शर्माले गरेका छन् ।
शर्मा कतारलाई कर्मभूमि बनाएर व्यवसायमा संलग्न छन् । उनी एनआरएनएको हालका उपाध्यक्ष समेत हुन् ।
धनगढी, २३ असोज ।
नेकपा एमाले सुदुर पश्चिम प्रदेशको भावी नेतृत्वका लागि आज मतदान हुदैँछ ।
सुदुरपश्चिम प्रदेशका भावी नेतृत्वको लागि सहमतिको प्रयास सफल नभए पछि निर्वाचन समितिले आज मतदान गराउन लागेको हो । जसअनुसार आज साँझ ५ बजे देखी मतदान सुरु हुनेछ ।
प्रमुख निर्वाचन अधिकृत पदम पालले सार्बजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार हिजो साँझ ६ बजे मतदाता नामावली प्रकाशन गरिएको थियो भने राती ९ बजेसम्म उम्मेदवार दर्ता फारम बितरण गरिएको थियो ।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजे देखी ९ः३० बजेसम्म उम्मेदवारी दर्ता, ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ६ बजेबाट मतदान सुरु हुुनेछ ।
गत आइतवार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सो अधिवेसनको भावी नेतृत्वका लागि सर्वसम्मतको हिजो दिनभरी प्रयास गरिएको भए पनि सफल नभए पछि हिजो साँझबाट नै निर्वाचन प्रक्रिया अघि बढाईएको हो ।
प्रदेश अध्यक्षका लागि अछामका दुईजनाले दाबेदारी प्रस्तुत गरेका छन, जसअनुसार अछामका कृष्ण प्रसाद जैशी र कमल तिमिल्सिना रहेका छन भने कञ्चनपुरका वचन सिंहले पनि अध्यक्षमा दाबी गर्दै आएका छन । मुलतः तीन जना बिचमा प्रतिस्पर्धा हुने देखिएको छ ।
काठमाडौं, २३ असोज ।
सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।
पश्चिम एसियाको राष्ट्र इजरायलमा १० जना नेपालीहरुको हत्या भएको शोकमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो ।
सार्वजनिक बिदा नदिई राष्ट्रिय शोकको मात्रै घोषणा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिईन ।
जसअनुसार आज सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।
हिजो आकस्मिक रुपमा बसेको बिशेष मन्त्रीपरिषद बैठकले इजरायलमा मारिएकाहरुका पीडित परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय पनि थियो ।
पश्चिम एसियाली राष्ट्र इजरायलमा गत शनिवार प्यालेष्टाइनी अतिवादी समुह हमासले अचानक आक्रामण गरे पछि ‘पढने पनि कमाउने पनि’ कार्यक्रममार्फत इजरायल पुगेका १० जना नेपालीको हत्या भएको थियो । सोही हत्याको शोकमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको हो ।
काठमाडौं, २३ असोज ।
हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । साथै, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरुका थोरै स्थानहरुमा र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको संभावना रहेको छ। ती क्षेत्रहरुमा वर्षाका कारण हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौं, २२ असोज ।
विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिले कालोमोसो दलेका छन्।
काठमाडौंको एक होटलमा प्रसाईं दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन सकेर हलबाट बाहिरिएलगत्तै अज्ञात व्यक्तिले कालोमोसो दलेका हुन्।
प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषा गरेका थिए। आज उनैलाई कालोमोसो दलिएको हो।
काठमाडौ, २२ असोज
काठमाडौं : सेयर बजार घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । सूचक घट्दा कारोबार रकम पनि सुस्त नै छ । यस दिन नेप्से सूचक १२.५८ विन्दुले घटेर १९०८.६६ अंकमा आएको छ । सूचीकृत २ समूहमात्र बढेका छन् । १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
महँगो ब्याजदर, अपेक्षा अनुसार नीतिगत सुधार नहुनु अनि लगानीकर्तामा सकारात्मकभन्दा पनि नकारात्मक मनोभावना बढी हुनु नै सेयर बजार तल झर्नुको प्रमुख कारण मानिएका छन् ।
यस्तै, घटेको बजार सुधारका लागि नियामक निकायहरुले तत्परता नदेखाउनु, लगानीकर्ता शिक्षा र साक्षरताको कमी हुनु, ग्रामीण क्षेत्रसम्म बजारको पहुँच विस्तार नगरिनु पनि बजार सुधार हुन नसक्नुका थप कारण हुन् ।
यस दिन २८७ कम्पनीको ४३ लाख २७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ करोड ५१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अगाडि छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र हिमालयन लघुवित्त परेका छन् ।
काठमाडौं, २२ असोज ।
नेकपा एमालेले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणको घटनाप्रति निन्दा र भर्त्सना गरेको छ ।
‘इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा शनिबार अचानक गरिएको आक्रमणको घटनाप्रति हाम्रो पार्टी नेकपा (एमाले) निन्दा र भर्त्सना गर्दछ,’ सोमबार अध्यक्ष केपी शर्माले ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष ओलीले हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको निधन भएकोमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजनमा गहिरो समवेदनाका व्यक्त गरेका छन् ।
साथै उनले घटनामा परी घाइते हुनुहुनेहरूको तत्काल उपचार, अफ्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनु हुनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि फेरि नेपाल सरकारसमक्ष जोडदार माग गरेका छन् ।
विज्ञप्ति :
२२ असोज, २०८०
इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा शनिबार अचानक गरिएको आक्रमणको घटनाप्रति हाम्रो पार्टी नेकपा (एमाले) निन्दा र भर्त्सना गर्दछ । निर्दोष नागरिक, बृद्धबृद्धा र बालबालिकाको हत्या र अपहरण जस्ता अमानवीय कार्यले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान गर्दैन बरु थप बढाउन मद्दत गर्छ भन्ने हाम्रो पार्टीको ठम्याइ छ ।
नेकपा (एमाले) घटनामा परी निधन हुनेहरूप्रति श्रद्धाञ्जलीका साथै समस्त आफन्तजनप्रति समवेदना व्यक्त गर्दछ । यस आक्रमणमा नेपालीहरूको पनि ज्यान जानुका साथै ठूलो सङ्ख्यामा घाइते भएको समाचार आइरहेका छन् । कयौं अफ्ठ्यारो परिस्थितिमा परेको सूचना आइरहेका छन् ।
हामी यस घटनाबाट ‘लर्न एण्ड अर्न’ योजनाअन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न जानुभएका विभिन्न विश्व विद्यालयका विद्यार्थीमध्ये १० जनाको निधन भएकोमा अत्यन्त दुःखित छौँ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दशैँको मुखमा भएको यस पीडादायक घटनाबाट शोकमा पर्नुभएका परिवारजनमा गहिरो समवेदनाका व्यक्त गर्दछु । हामी सबै शोकमा छौँ । म सबैमा धैर्यधारण गर्न आग्रह गर्दछु ।
घटनामा परी घाइते हुनुहुनेहरूको तत्काल उपचार, अफ्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनु हुनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि म फेरि नेपाल सरकारसमक्ष जोडदार माग गर्दछु ।
केपी शर्मा ओली
अध्यक्ष
काठमाडौं, २२ असोज ।
काठमाडौं जिल्ला अदालतमा सोमबारदेखि पारिवारिक इजलास सुरु गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलासको शुभारम्भ गरेका हुन् ।
प्रधानन्यायाधीश श्रेष्ठले आगामी दिनमा अन्य अदालतमा पनि परिवारिक इजलास विस्तार गरिने जानकारी दिए ।
पारिवाररिक इजलासबाट महिलावादी अंश, नाता, घरेलु हिंसा, बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी मुद्दाको चाँडै न्याय निरूपण गर्न सहज हुने अपेक्षा गरिएको छ ।
काठमाडौं, २२ असोज ।
हमासको आक्रमणमा परेको इजरायलबाट नेपालीलाई उद्धार गर्न राप्रपाले माग गरेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले इजरायलमा रहेका रहेका नेपालीहरुको विवरण संकलन गर्न, उनीहरुको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कुटनैतिक पहल गर्न, जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्धार गर्न एवं स्वदेश फर्कन चाहनेहरुलाई आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकार र नेपाली दूतावास इजरायलको ध्यानाकर्षण गराएका हुन् ।
साथै हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्दै उनले आक्रमणको निन्दा गरेका छन् ।
प्रेस विज्ञप्ति
सिक्दै कमाउँदै कार्यक्रम (Learn & Earn)अन्तर्गत इजरायलमा रहेका १० जना नेपालीले हमासको आक्रमणमा परेर अनाहकमा ज्यान गुमाउनु परेको घटनाबाट अत्यन्तै दुःखी र मर्माहत भएको छु ।
राष्ट्रिय प्रजातन्त्र पार्टी निहत्था र निर्दोषहरुमाथिको हमलाको निन्दा गर्दछ । हमास आक्रमणका कारण निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
निधन भएकाहरुको शव यथासक्य चाँडो नेपाल ल्याउन आवश्यक प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउँदछु । साथै, इजरायलमा रहेका नेपालीहरुको विवरण संकलन गर्न, उनीहरुको अवस्थाबारे सत्यतथ्य जानकारी दिन, घाइतेको उपचार गर्न, बेपत्ता रहेकाको अवस्था पत्ता लगाउन कुटनैतिक पहल गर्न, जोखिमपूर्ण क्षेत्रमा रहेका नेपालीको उद्धार गर्न एवं स्वदेश फर्कन चाहनेहरुलाई आवश्यक प्रबन्ध मिलाउन नेपाल सरकार र नेपाली राजदुतावास इजरायलको ध्यानाकर्षण गराउँदछु।
राजेन्द्र लिङदेन
अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी