२०८३ भाद्र १०
२०८३ भाद्र १०

आरके श्रीवास्तव,राैतहट,२९ गते असार । 

लोकतान्त्रिक पत्रकार संघले आफ्नो संशोधित विधान अनुसार दिपक कुमारलाई भारतको बिहार प्रमुख संयोजक पदमा मनोनयन गरेको छ । संघका अध्यक्ष कामरेन्द्र वर्माद्वारा जारी गरिएको बधाई सन्देशमा दिपक कुमारलाई मनोनयन गरिएको जानकारी दिँदै उनको कार्यकाल सफल र उल्लेखनीय हुने विश्वास व्यक्त गरिएको छ ।

बधाई सन्देशमा लेखिएको छ, “देश, मधेश, पत्रकार एवं पार्टीको हितमा यहाँको कार्यकाल उल्लेखनीय रहने छ भन्ने विश्वासका साथ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।”

नवनियुक्त संयोजक दिपक कुमारलाई संघका पदाधिकारी, पत्रकार तथा शुभेच्छुकहरूले पनि सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन् । लोकतान्त्रिक पत्रकार संघले पत्रकार हितका मुद्दाहरूमा सक्रिय भूमिका खेल्दै आएको छ ।

 

सागर संगम ठाकुर, रौतहट, असार २८ गते

रौतहटको गरुडा नगरपालिका–८ जिगडियामा एक दिने नि:शुल्क आँखा शिविर सम्पन भएको छ।

स्थित जमिया दरुल उलोम मदर्शामा शुक्रवार एक दिने निःशुल्क आँखा शिविरको आयोजना गरियो ।नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल पुरेनवा गौरको आयोजना तथा डाक फाउण्डेशनको आर्थिक सहयोगमा वडा नम्बर -८ जिगडिया स्थित जमिया दरुल उलोम मदर्शामा शुक्रबार शिविर सम्पन भएको हाे । विहान ९ बजे देखि सुरु भएको शिविरमा गौर आँखा अस्पतालका नेत्र चिकित्सकहरु द्वारा ३७५ जनालाई आँखाको परिक्षण गरिएकाे थियो ।
एकदिने शिविरमा गरिएको परिक्षणमा ४० जनामा मोतिया विन्दुको रोग फेला परेकाे शिविरमा सहभागी डाक्टर सतेन्द्र पाण्डेले जानकारी दिनु भयो । वहाँका अनुसार माेतियाबिन्दु भएका विरामीहरुलाई आईतवार नि:शुल्क रुपमा शैल्यक्रिया गरिने बताए । शिविरमा १५४ जना विरामीलाई चश्मा तथा २८७ जनालाई औषधी वितरण गरिएको शिविरका कार्यक्रम संयोजक समेत रहेका पाण्डेले भने । उनका अनुसार मोतिया विन्दु भएका विरामीहरुलाई बसबाट अस्पतालमा लगेर शैल्यक्रिया आईतवार देखि हुने बताए । लायन्स क्लव रौतहट, चन्द्रनिगाहपुर ९५२४५, लायन्स क्लव रौतहट, चन्द्रपुर १७२५११, लायन्सक्ल क्लव चन्द्रनिगाहपुर गे्रटर १५५७६९, लायन्स क्लव समनपुर ०६६९७८, लायन्स क्लव चनद्रपुर प्राइड, लायन्स क्लव चन्द्रपुर फेमिना १४८२७६, लायन्स क्लव चन्द्रपुर ग्रिण सिटी १५०७०४, लायन्स क्लव भिजन नेपाल १११६६६, लायन्स क्लव चन्द्रपुर मेडिकोजको स्थानीय आयोजना रहेको शिविर कार्यक्रम संयोजक पाण्डेले जानकारी दिए ।

आरके श्रीवास्तव,राैतहट,२८ गते असार ।
मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै उच्च बजेट खर्च गरेर ऐतिहासिक सफलता हात पारेको छ । प्रदेश सरकारले उक्त वर्षमा चालु तथा पुँजीगत खर्च गरी कुल ७१.४८ प्रतिशत बजेट खर्च गर्न सफल भएको हो, जुन प्रदेश सरकार गठनपछिको सबैभन्दा उच्च खर्च प्रतिशत हो ।
यस उत्कृष्ट उपलब्धिको नेतृत्व गरेका अर्थमन्त्री सुनिलकुमार यादव (‘जितेन्द्र’) लाई सामाजिक सञ्जालदेखि जनस्तरसम्मबाट बधाई तथा शुभकामनाको ओइरो लागेको छ । रौतहटबासीहरूले उहाँको कार्यदक्षताको खुलेर प्रशंसा गरिरहेका छन् ।
रौतहट निवासी एक सामाजिक अभियन्ता एवम् पत्रकार संजय सहनी लेख्छन्: “हालसम्मको सफल अर्थमन्त्री हाम्रो रौतहटबासी आदरणीय जितेन्द्र दाईलाई बधाई तथा शुभकामना दिन चाहन्छु । मधेस प्रदेशको विकासका लागि तपाईं अझ शसक्त भएर लाग्नुस्, रौतहटबासीको साथ र आशीर्वाद तपाईंको साथमा रहिरहनेछ ।”
सात वर्षको तुलनात्मक विश्लेषण
मधेस प्रदेश सरकार गठनपछिका पछिल्ला सात वर्षको बजेट खर्च विवरण यसप्रकार रहेको छ ।
आर्थिक वर्ष र खर्च प्रतिशत यसप्रकार रहेको छ । २०७५/७६ मा ५१.७५%,२०७६/७७ मा ४०.६६%,२०७७/७८
मा ६५.४६%,२०७८/७९ मा ६३.८३%,२०७९/८० मा ५७.३२%,२०८०/८१ मा ५५.६४% रहेको छ । जबकि चालु आर्थिक वर्ष २०८१/८२ मा ७१.४८% रहेको छ ।
यसले देखाउँछ कि आर्थिक अनुशासन, कार्यान्वयन क्षमताको सुधार र दक्ष नेतृत्वका कारण बजेट खर्चमा सकारात्मक परिवर्तन आएको हो । साथै, खर्च दर बढेसँगै ‘फ्रिज’ हुने रकम उल्लेखनीय रूपमा घट्दै गएको छ । जसले नीति कार्यान्वयनमा सुधार आएको स्पष्ट संकेत गर्दछ।
यस ऐतिहासिक सफलताले मधेस प्रदेशमा विकास योजनाहरूले गति लिएको तथा जनताले सरकारप्रति विश्वास राख्न थालेको संकेत दिन्छ ।

अर्थमन्त्री यादवले भने, “बजेट खर्च वृद्धि गर्नुको मुख्य उद्देश्य भनेको जनता प्रत्यक्ष लाभान्वित हुने खालका विकास कार्यक्रमहरू समयमै कार्यान्वयन गर्नु हो । हामीले बजेट निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियालाई व्यवस्थित बनाएका छौं ।”

बज्जिकाञ्चल संवाददाता,मकवानपुर, २८ गते असार – लोहार समुदायको हकहित, पहिचान र अधिकार सुनिश्चित गर्न उद्देश्यसहित विश्वकर्मा लोहार सेवा समिति को मकवानपुर जिल्ला समिति गठन गरिएको छ । एक औपचारिक कार्यक्रमका बीच गठन गरिएको उक्त समितिको अध्यक्षमा रामपुकार ठाकुर चयन भएका छन् ।

समितिको गठन कार्यक्रममा विश्वकर्मा लोहार सेवा समितिका वरिष्ठ उपाध्यक्ष आशीर्वाद ठाकुर प्रमुख अतिथि तथा नेपाल विश्वकर्मा संघका अध्यक्ष विवेक शर्मा विशिष्ट अतिथि थिए । कार्यक्रमको सञ्चालन नेपाल विश्वकर्मा संघका सचिव रामलाल ठाकुर ले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्मा‌ले लोहार समुदायमाथि राज्यबाट हुँदै आएको विभेदको अन्त्यका लागि सबै लोहारहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले जातीय एकताको माध्यमबाट मात्र राज्यबाट प्राप्त हुने सेवा-सुविधाहरू सुनिश्चित गर्न सकिने धारणा राखे। शर्मा‌ले आफ्ना सन्तानलाई शिक्षित बनाउन र हरेक घरबाट सामाजिक तथा आर्थिक विकासको थालनी गर्न आग्रह गरेका छन् । साथै, उनले मकवानपुरमा बसोबास गर्ने सम्पूर्ण लोहार समुदायलाई नवगठित समितिमा आबद्ध हुन आह्वान गरेका छन् ।

प्रमुख अतिथि ठाकुरले संघीय शासन प्रणालीको वर्तमान सन्दर्भमा राज्यको हरेक तहमा समावेशी सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए । उनले लोहार जातिलाई परम्परागत शिल्पकलामा निपूर्ण, समाज निर्माणमा योगदान दिने समुदायको रूपमा चिनाउँदै यस जातिलाई राज्यले विशेष प्राथमिकतामा राखेर सेवा-सुविधा दिनुपर्ने माग राखेका छन् ।

कार्यक्रममा सहभागिता जनाएका मकवानपुरका लोहार समुदायका सदस्यहरूले नवगठित समितिले समुदायको आवाज बुलन्द बनाउने र भविष्यमा सामाजिक तथा सांस्कृतिक रूपमा ‘पिलर’ को रूपमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

यस समितिको गठनसँगै मकवानपुरमा लोहार समुदायको संगठित अभियान औपचारिक रूपमा सुरू भएको छ ।

काठमाडौं । 

 

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको सहयोगमा चल्ने चित्रको मार्फतबाट जनजनमा जनचेतना जगाउने परिकल्पनाका साथ सुरु गरिएको ‘जनचेतना नेपाल’ले असार २७ गते शुक्रबारको दिन श्री भीमसेन गोला माध्यमिक विद्यालयमा ‘विद्यार्थीहरूको सहभागितामा एकदिवसीय चलचित्र कार्यशाला २०८२’ सम्पन्न भएको छ ।

जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौलाको परिकल्पनामा, विपिन किरणको शब्द, बाबु बोगटीको आवाज तथा संगीतमा तयार गरिएको ‘कुरीतिलाई पन्छ्याउँदै’ नामक जनचेतनामूलक गीतबाट सुरु भएको कार्यक्रममा कवि सुरज पराजुलीले सोही अवधारणाको कविता प्रस्तुत गरेको थिए ।

कार्यक्रममा जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौला सभापतिको पदमा आसिन थिए भने प्रमुख अतिथिको रुपमा नाट्यकर्मी, चलचित्रकर्मी, चलचित्र  तथा नाटक निर्देशक, वरिष्ठ अभिनेता आशान्त शर्मा उपस्थित थिए । साथै विशिष्ट अतिथिमा अभिनेत्री, समाजसेवी मुना निरौला त्रिपाठी, वरिष्ठ अधिवक्ता समाजसेवी वासुदेव रिजाल, समाजसेवी, अभिनेता कविन्द्र त्रिपाठी, कवि,लेखक  निर्देशक तथा अभिनेता सुरज पराजुली, शिक्षाप्रेमी, समाजसेवी बिमला ढुङ्गाना, जनचेतना नेपालका राष्ट्रिय पर्वेक्षक तथा सामाजिक व्यक्तित्व सचित खतिवडा, भीमसेन गोला माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम पौड्याल लगायत विभिन्न कला संस्कृतिका धरोहरहरूको  उपस्थिति रहेको थियो । त्यसैगरी सोही विद्यालयका शिक्षक नवराज न्यौपाने र गणेश पहरी अतिथिको रुपमा उपस्थित रहेका थिए ।

जिज्ञासु विद्यार्थीहरूको विभिन्न जिज्ञासाहरूलाई मेटाउँदै प्रमुख अतिथि आसन्त शर्माले चलचित्र र नाटक बीचको फरक, चलचित्र र नाटकमा हुने विभिन्न किसिमका उपकरणहरूको प्रयोग, प्रविधिको प्रयोग, नेपाली चलचित्र तथा विश्व चलचित्रको इतिहास, अभिनयका कौशल, कलाकार तथा पात्रहरूको भिन्नता र नाट्य तथा चलचित्रमा विद्यमान रहेका सङ्घर्षका कुराहरु बताएका थिए ।

कार्यक्रमका विशिष्ट अतिथिहरू मुना निरौला त्रिपाठी, बासुदेव रिजाल, कविन्द्र त्रिपाठी, लगायतले चलचित्र तथा नाट्य क्षेत्रसँग सम्बन्धित रहेर आफ्नो धारणा व्यक्त गरेका थिए । साथै विद्यालयका प्रधानाध्यापक बलराम पौड्याल, शिक्षक नवराज न्यौपाने तथा शिक्षक गणेश पहरीको उपस्थितिमा कार्यक्रम अझ ज्ञानवर्धक बन्नमा टेवा पुग्यो ।

कार्यक्रमका सभापति बालकृष्ण निरौलाले आफ्ना गुरु मोहन निरौलाले दिएको मार्गनिर्देशनको सम्झना गर्दै चलचित्र विकास बोर्डले गरेका नयाँ कामको प्रशंसामा बिकास बोर्डका अध्यक्ष दिनेश डिसीले गरेका विभिन्न १० वटा कामको बारेमा चर्चा गरेका थिए । चलचित्र विधेयक, चलचित्र दिवस, आमाको पोस्टर अङ्कित हुलाक टिकट, ३३ वटा कामहरु डिजिटल रुपमा अनलाइनबाट नै सेवा सुरूआत, नेपाली चलचित्रमा पहिला शीर्षकको महत्त्वपूर्ण ऐतिहासिक पुस्तक प्रकाशन, पटकथा संग्रहालय, चलचित्रकर्मी क्षमता अभिवृद्धि वर्ष, सर्वाधिक व्यापार गर्ने २५ वटा चलचित्रहरूको सम्मान आदी विषयमा उनले चर्चा गरेका थिए । निरौलाले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै भव्य र सभ्य रुपमा कार्यक्रम सम्पन्न गरेका थिए ।

असार

एभरेष्ट इन्जिनियरिङ कलेज सानेपामा आज सम्पन्न गोष्ठीका प्रमुख वक्ता अमेरिकाको टेक्सास ए एण्ड एम अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रा.डा. माया प्रकास भट्टले सरकारले साथ दिएमा काठमाडौंको बागमती नदीलाई ६ महिना भित्र निर्मल गर्ने प्रविधि आफुसँग भएको दावी गरेका छन्।

त्रिभुवन विश्वविद्यालय तथा जापानको नागोया विश्वविद्यालयबाट स्नातकोत्तर गरी अमेरिकाका विभिन्न विश्वविद्यालयहरूबाट विद्यावारिधि तथा पोष्ट डक गरी अनुसन्धान तथा शिक्षण कार्यमा दुई दशक भन्दा बढि सेवा गरिसकेका प्रा.डा. भट्टले आफुले गरेका अनुसन्धान परिणामहरू तथा आफू सहितले विकास गरेका प्रविधिहरू प्रयोग गर्ने अवसर दिएमा नेपालका समस्याहरू समाधानमा सकेको योगदान गर्ने इच्छा प्रकट गरे। शुरुमा आयोन एक्सचेन्ज प्रविधिबाट नदीको पानीमा प्रदुषणको मात्रा घटाउने र त्यसपछि क्रमश आरओ, नानो फिल्टर जस्ता प्रविधिहरू प्रयोग गरी जतिसुकै दुषित पानी पनि प्रयोग गर्न मिल्ने गरी निर्मलीकरण गर्न सकिने कुरा आफ्नो अनुसन्धानबाट आइसकेको र त्यसको व्यवहारिक प्रयोग समेत सफल भइसकेको तथ्याङ्क प्रा.डा. भट्टले प्रस्तुत गरे।

अमेरिका तथा अन्य देशहरूमा भएको अनुसन्धानमा सम्मिलित भएर विभिन्न व्यवहारिक प्रविधिहरू विकास गरिसकेका प्रा.डा. भट्टले आफ्नै व्यक्तिगत पहलमा काठमाडौंको बागमती नदीको प्रदुषणको अध्ययन गरिरहेको र के कति कारणले उक्त नदीको पानी दुषित भइरहेको भन्ने विषयमा तथ्याङ्कको विश्लेषण समेत प्रस्तुत गरे। कुनै समयमा अहिलेको बागमती भन्दा आठ गुणा बढी प्रदुषित फ्रान्सको सीन नदी प्रविधिकै प्रयोगबाट केही दिन अगाडि निर्मल भएको घोषणा गरी सर्वसाधारणको लागि नदीमा पौडिन खुला गरेको छ। युरोपको राइन नदी कुनै बेला अहिलेको बागमती भन्दा कयौं गुणा बढी प्रदुषित थियो तर अहिले निर्मल भई पौडिन योग्य भएको छ।

विश्वव्यापी जलको उपलब्धता, गुणस्तर, चुनौती तथा समाधान विषयमा भएको गोष्ठीमा त्रिभुवन विश्वविद्यालय किर्तिपुर र त्रिचन्द्र क्याम्पसका स्नातकोत्तर विद्यार्थीहरू, तथा नेपाल इन्जिनियरिङ कलेज भक्तपुर र एभरेष्ट इन्जिनियरिङ कलेजका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो। मूल प्रस्तुती पश्चात त्रिभुवन विश्वविद्यालय किर्तिपुर र त्रिचन्द्र क्याम्पसका स्नातकोत्तर विद्यार्थीहरूले आआफ्नो थेसिसको विषय गोष्ठीमा प्रस्तुतिको विषयसँग सम्बन्धित भएकोले विभिन्न जिज्ञासाहरू राखेका थिए।

नेपालका विद्यार्थीहरूले विद्यावारिधी वा अनुसन्धानका प्रस्तावहरू पेश गरेमा सकारात्मक तवरले विश्वविद्यालयमा सिफारिस गर्ने तथा नेपालीहरूसँग अनुसन्धानमा सहकार्य गर्न तत्पर रहेको जानकरी दिँदै प्रा.डा. भट्टले आफ्नो ज्ञान तथा सीपको प्रयोग नेपाल गर्न सकिने बताए। जल तथा मौसमविद् समाज नेपालसँगको सहकार्यमा एभरेष्ट इन्जिनियरिङ कलेजले आयोजना गरेको उक्त गोष्ठी कार्यक्रम पश्चात एभरेष्ट इन्जिनियरिङ कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले प्रा.डा. माया प्रकास भट्टलाई कलेजको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए।

आरके श्रीवास्तव,राैतहट,२८ गते असार ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रिय सदस्य राजाबाबु साह आज जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच साहले औपचारिक रूपमा जसपा नेपालको सदस्यता ग्रहण गरेका हुन् ।

उनलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको सदस्यता प्रदान गर्दै टिकामाला लगाई पार्टीमा स्वागत गरेका छन् ।
कार्यक्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, जसपाका वरिष्ठ उपाध्यक्ष गोविन्द चौधरी, नेता राजकिशोर यादव तथा जयमंगल साह लगायतको उपस्थिति रहेको थियो ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै राजाबाबु साहले अब आफू मधेसको हक अधिकार र सामाजिक न्यायका लागि जसपा नेपालमार्फत सङ्गठित रूपमा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले वर्तमान अवस्थामा मधेसको राजनीतिक सशक्तीकरणका लागि वैकल्पिक राजनीतिक धार आवश्यक रहेको बताएका छन् ।

जसपा नेपालले हालै विभिन्न क्षेत्रका युवा नेताहरूलाई पार्टीमा आकर्षित गर्दै आएको छ । साहको प्रवेशलाई पार्टीले युवासशक्तिकरण र संगठन सुदृढीकरणतर्फको महत्वपूर्ण पाइला मानेको छ ।

आरके श्रीवास्तव,राैतहट,२८ गते असार । 

रौतहटकाे कटहरियामा आजदेखि टि–१० क्रिकेट प्रतियोगिता सुरु भएको छ । बाैधीमाई क्रिकेट क्लब कटहरियाकाे आयाेजना र कटहरिया वडा नम्बर ४ काे सहयोगमा प्रतियोगिताकाे दाेस्राे सिजन सुरू भएको छ । पाँच दिनसम्म चल्ने प्रतियोगितामा कटहरिया नगरका टिमहरूसँगै अन्य पालिकाका १८ वटा टिमहरूको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेल बलुवा र बहादुरपुरबीच सम्पन्न भयो, जसमा टस जित्दै बहादुरपुरले ब्याटिङ रोजेको थियो । प्रतियोगिताको उद्घाटन सत्रलाई ईप्रका कटहरियाका ईन्चार्ज विनोद राना मगर तथा स्थानीय जनप्रतिनिधिहरूले सम्बोधन गरेका थिए ।

कटहरिया–४ का वडा अध्यक्ष चन्दन कुशवाहाले उद्घाटन समारोहमा बोल्दै कटहरियामा पछिल्लो ५० वर्षदेखि क्रिकेटको इतिहास रहेको बताउँदै त्यसको परिणामस्वरूप रोहित सोनल जस्ता प्रतिभाशाली खेलाडीहरू जन्मिएको बताए । उनले ‘मिसन ८४’ अन्तर्गत टोल ग्राउन्डको स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिँदै, सीमित बजेट (२० लाख) मै शिक्षा, खेलकुद र प्रतिभा विकासमा काम गरिएको बताए ।

“एसईईमा ए प्लस ल्याउने विद्यार्थीलाई सम्मान गरेका छौं, वादविवाद तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेका छौं,” कुशवाहाले भने, “खेलकुद सामग्री वितरणदेखि लिएर क्रिकेट प्रतियोगिता हुँदै आएको छ।”

त्यस्तै, वडा नं. ३ का अध्यक्ष श्यामाकान्त यादवले युवाका लागि खेलकुद अपरिहार्य भएकोले आफू सधैं सहयोग गर्न तयार रहेको बताए । वडा सदस्य रामईश्वर यादवले खेलाडीहरूलाई खेलकुद सम्बन्धी समस्या नडराई साझा गर्न सुझाव दिएका थिए । वडा सदस्य दिलीप साहले वडा अध्यक्ष कुशवाहा स्वयं खेलाडी भएकाले कटहरियामा क्रिकेटको विकासका लागि अहोरात्र लागिपरेको बताए ।

 

कार्यक्रममा गायक सोनु कुशवाहाले “हमर चन्दन भईया कटहरियाके शान हबे, जनताके जान हबे” बोलको गीत गाएर माहोल उत्साही बनाएका थिए । उनले अध्यक्ष कुशवाहाको सोचमा सबै कटहरियावासीको साथ रहने विश्वास व्यक्त गरेका थिए ।

 

ईप्रका कटहरियाका ईन्चार्ज विनोद राना मगरले पनि खेलकुद स्वास्थ्य र अनुशासनका लागि अत्यावश्यक भएको बताउँदै युवालाई खेलमा लाग्न प्रेरित गरेका थिए ।

 

प्रतियोगिता आगामी पाँच दिनसम्म कटहरियाको विभिन्न टोल–टोलमा सम्पन्न हुने आयोजकले जनाएको छ ।

काठमाडौं ,आषाढ २७ 
 
 चलचित्र  ‘मन बिनाको धन’ को प्रदर्शन मिति तय भएको छ। टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको चलचित्र ‘मन बिनाको धन’ कात्तिक  २१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
 
बुधबार चलचित्रकी निर्मात्री बिष्णु माया मैनाली र वितरण कम्पनीहरूसँग सम्झौतापछि निर्माण टिमले आधिकारिक प्रदर्शन मिति तय गरेको हो ।
यो चलचित्र प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार खरिद गरेको छ  । 
 
चलचित्र  अशोक दर्जी,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन नेपाल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ । 
 
अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् । गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । दर्जी हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।
 
सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । फिल्मको निर्माता बिष्णु माया मैनाली रहेकी छिन् भने कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । 
 
फिल्ममा टंक बुढाथोकी संगीत,सौरभ लामाको  छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ । 

काठमाडौं ।

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ । गायक रोशन टमट्टा र गायिका संगीतबडुवालको स्वरमा प्रस्तुत गीतले लोकशैलीमा आधारित समसामयिक सन्देश बोकेको छ ।गीतका शब्द र संगीत स्वयं संगीत बडुवालले तयार गर्नुभएको हो । दीपक संगमबिगीतको संगीत जत्तिकै आकर्षक भिडियो पक्ष पनि तयार पारिएको छ । भिडियोमादीपकसंगम बिसी, मिराजविक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास),गणेश जीसी र मीना बडुवालको अभिनय छ ।मिराजविक्रम सिंहको निर्देशन र नृत्य निर्देशनमा तयार भएको भिडियोमा छायांकनर रंग संयोजन अमित बीकेले गर्नुभएको छ भने दृश्य सम्पादन राजेश बोहराले गर्नुभएकोछ ।शैली, लय र प्रस्तुतिकरणका दृष्टिले उत्कृष्ट बनेको यो गीतले विशेषगरी देउडागीतप्रेमी दर्शक–स्रोतामाझ लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ । गीतकोभिडियो गायक रोशनको अफिसियल युट्यूबमार्फत सार्वजनिक गरिएको हो ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।