२०८३ भाद्र ४
२०८३ भाद्र ४

तनहुँ, २७ असोेजः

जिल्लाको आँबुखैरेनी गाउँपालिकामा व्यावसायिक फूलखेती थालिएको छ । यो वर्ष विदेशबाट आयात हुँदै आएकाले सयपत्री फूललाई प्रतिस्थापन गर्न फूलखेती थालिएको हो । आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह, आँधीमूल आमा समूह र मित्रता मावि परिसरमा गरी २६ रोपनी क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएको हो । महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न सय प्रतिशत अनुदानमा बिरुवा वितरणदेखि प्राविधिक सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले राससलाई जानकारी दिनुभयो । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री प्रवद्र्धन कार्यक्रमलाई अघि बढाएको हो । गत साउन २० गते रोपिएका बिरुवाबाट ढकमक्क फूल फुलेपछि बजारीकरण सुरु भएको गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । उक्त वडाका तीन स्थान गरी २६ हजार बिरुवाले उत्पादन दिन सुरु गरेको छ । फूल उत्पादन हुन थालेसँगै बजारका फूल व्यवसायीले स्थानीय उत्पादन किन्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँपालिका मातहत र सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रममा खादाको सट्टा फूलको माला प्रयोग गर्न समन्वय भइरहेको कृषि शाखाप्रमुखले बताउनुभयो । मालाको गुणस्तर हेरी थोकमा प्रतिमाला रु ४० देखि ६० मा बिक्री गर्ने योजना बनाइएको छ । खुद्रा मूल्य भने निर्धारण गरिएको छैन । अन्य ठाउँबाट ल्याइने फूल तथा मालाको तुलनामा सुपथ मूल्यमा यहाँ उत्पादित फूल बिक्री गर्ने लक्ष्य राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । दुईवटा आमा समूहलाई पहिलो वर्षमा रु ९० हजार पूर्ण रुपमा अनुदान प्रदान गरे पनि आगामी वर्षदेखि गाउँपालिकाले प्राविधिक सहयोग मात्रै गर्ने योजना रहेको छ । आमा समूहले पहिलो वर्षमा फूलखेतीबाट गरेको आम्दानीलाई बर्सेनि सयपत्री फूल व्यवसायलाई निरन्तरता दिनुपर्ने प्रावधान रहेको छ । मित्रता माविको हकमा भने ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत एकमुष्ट रु तीन लाख प्रदान गरेर आयआर्जनबाट पठनपाठनमा सहयोग गर्ने लक्ष्य राखेको छ । सोही वडास्थित धार्मिक पर्यटकीयस्थल आँधीमूलमा लाग्ने मेलामा पनि सयपत्री फूलखेतीले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यहाँ सुरु गरिएको फूलखेतीले प्रत्येक वर्ष बाहिरबाट फूल खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य हुने यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले जानकारी दिनुभयो । सधैँ चुल्होचौकामा सीमित हुने यस क्षेत्रका महिलाको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले थालेको कार्यले महिला उत्साहित भएका उहाँले बताउनुभयो ।रासस

चितवन, २७ असोज :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन आइपुग्नु भएको छ । भरतपुर महानगरपालिका प्रमुख एवं प्रधानमन्त्री पुत्री रेनु दाहालका अनुसार प्रधानमन्त्री दाहालले चितवनमा रहँदा भोलि आइतबार तीनवटा खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आइतबार साँझ चितवन बस्ने वा फर्किने टुङ्गो लागिनसकेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले आइतबार शारदानगर, जखडिमाई र दिव्यनगर खानेपानी आयोजनाको उद्घाटन गर्नुहुनेछ । शारदानगरको सो आयोजना रु ५५ करोड हाराहारीमा निर्माण गरिएको हो । आयोजनाबाट चार हजार घरपरिवारलाई खानेपानी सुविधा हुनेछ । सङ्घीय खानेपानी तथा ढल आयोजना चितवनका प्रमुख सुन्दर सुवेदीका अनुसार भरतपुर वडा नं ११ को जखडिमाई खानेपानी आयोजनाले तीन हजार पाँच सय परिवारलाई खानेपानी सुविधा दिनेछ । यो आयोजना रु २५ करोडको लागतमा निर्माण गरिएको हो । यसैगरी, भरतपुर महानगरपालिका–२६ दिव्यनगरको खानेपानी आयोजना रु १० करोडको लागतमा निर्माण गरिएको हो । यो आयोजनाबाट एक हजार सात सय परिवार लाभान्वित हुनेछन् ।

रासस

 

नवलपुर, २७ असोज :

नवलपुर र चितवनका थारु समुदायले आज यमोसा पर्व धुमधामका साथ मनाउन थालेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिक रुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाउँदै छन् । लोप हुने अवस्थामा पुगेकाले ‘यमोसा’ पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि यस वर्ष नवलपुर र चितवनका थारुहरुले सामूहिकरुपमा नै पर्व मनाउन लागेको थारु कल्याणकारिणीसभापति ललित चौधरीले बताउनुभयो । आदिमकालदेखि यहाँ थारु समुदायले मनाउने सांस्कृतिक विविधता रहेको यमोसा पर्वमा स्थानीय बिदाको माग गरेका छन् । कतिपय शैक्षिक संस्थाले यमोसा पर्वकै दिन आन्तरिक परीक्षा कार्यक्रम राखिदिनाले ‘यमोसा’पर्वको पुस्ताक हस्तान्तरण हुन नसकी लोप हुने अवस्थामा पुगेको थारु अगुवा बताउँछन् । थारु समुदायले मनाउँदै आएको महत्वपूर्ण चाडपर्वमध्ये ‘यमोसा’पर्व पनि एक भएको मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकुमार चौधरीले बताउनुभयो । यमोसा पर्व नवलपुर र चितवनका थारु समुदायले मात्र मनाउने एउटा महत्वपूर्ण चाड हो । यस चाडमा थारु समुदायका सम्पूर्ण व्यक्तिले पितृलाई तर्पण दिने गर्दछन् । यमोसा पर्व सोह्र श्राद्धको औँसीमा पर्ने भएकाले यस पर्वलाई थारु समुदायका व्यक्तिले पितृ औँसी पनि भन्ने गर्दछन् । दसैँको घटस्थापनाको ठीक अघिल्लो दिनलाई यमोसा भनिन्छ । वर्षभरिमा यदि परिवारमा सदस्यको मृत्यु भएको छ भने यमोसाकै दिनमा ‘बरखी’ समापन गर्ने गरिन्छ । एक वर्षभित्र मरेका परिवारको सदस्यको जुठो आजकै दिन फुकाउने चौधरीले बताउनुभयो । ‘यमोसा’ पर्व यहाँका थारुले दुई दिनसम्म धुमधामसँग मनाउँछन् । यमोसाको अघिल्लो दिनअर्थात् चतुर्दशीलाई मछुवारी (माछा मार्ने दिन) भनिन्छ । त्यस दिन व्यक्तिगत वा सामूहिकरुपमा खोलानाला, नदी, ताल, पोखरी आदिमा माछा मार्ने र गाउँघरमा खसीबोका काट्ने चलन रहेको उपप्रमुख चौधरीको भनाइ छ । दोस्रो दिनअर्थात् आज औँसीको दिन बिहानै पुरुष आफूले दाभी (सिरु÷कांस) काटेर ल्याउ“छन् । त्यसलाई केलाएर करिब एक हात लामो कुचो बनाउँछन् । त्यसलाई धोई पखालेर घर अगाडि गाईको गोबरले लिपपोत गरी उक्त सिरुको मुठा पिर्का वा कुर्चीमा राखेर पितृ स्थापना (पहुनी बेठोइ) गर्दछन् । पहुनीलाई विभिन्न प्रकारका पूmलले शृङ्गार गरिन्छ । पहुनीमा घाम नलागोस् भनी छाता वा छतिया ओढाइन्छ । पहुनीको अगाडि ल्वाङ, सुकमेल, पान, सुपारी, गुट्खा, सुर्ती, चुरोट, रक्सी (पितृले प्रयोग गर्ने अम्मलका वस्तुहरु) र पानी राखिन्छ । आजको दिन बिहानै बालबच्चादेखि बुढाबुढी सबैजना नुहाएर कुशे औँसीमा पुरोहितले काटेको कुश र पानीले पितृलाई तर्पण गर्दछन् । त्यसपछि आफ्नो क्षमताअनुसार नया“ कपडा वा सफा कपडा लगाएर पहुनीको अगाडि बसेर प्रत्येकले रक्सी र पानीको केही थोपा चढाउने (छाकी चढोइ) गरिन्छ । यदि यो एक वर्षभित्र परिवारका कुनै सदस्यको मृत्यु भएको छ भने आजकै दिन बोका काटेर पितृलाई रगत चढाउने गरिन्छ । छाकी चढाएर सकेपछि मात्र खानपिन सुरु हुन्छ । छाकी सकिएपछि सर्वप्रथम छोरी, ज्वाइ“ वा कुनै पाहुना बोलाएर स्वागतका साथ चौरासी व्यञ्जन खुवाइन्छ । यसरी पाहुनालाई खुवाउनुलाई ‘पितरी बेठोइ’ भनिन्छ । पाहुनालाई खुवाएर सकेपछि मात्र आपूmले खाने गरिन्छ । खानपिन पछि पाहुनाको कपालमा तेल लगाएर काइ“योले कोरीदिने र फूल सिउरीदिने गरिन्छ । त्यसपछि नाङ्लोमा पानी राखी पाहुनालाई छम्केर शितलता प्रदान गरिन्छ । त्यसलाई ‘पित्पित्रायन विद्हरइ’ भनिन्छ । आजको दिन घरमा जो कोही आए पनि पाहुना नै भनिन्छ र पाहुनालाई खुवाएरै पठाउने थारु समुदायको परम्परा छ । यमोसाको दिन पाहुनालाई पितृगणको रुपमा हेरिन्छ । यसरी खानपिन दिनभरि नै चलिरहन्छ । गाउ“का सबैजना एकैठाउ“मा भेला भई पिङ खेलेर (बरहा झुलके) रमाइलो गरिन्छ । पहिले पहिले एउटै रुखमा पा“च÷छ वटा पिङ लगाइन्थ्यो । केटाहरुले सा“झपख गाउ“को बाटोमा ‘म्वार्हा’ गाड्छन् र ठूलाबडाले त्यसलाई उखेल्ने प्रयास गर्छन् । आजको दिन बेलुकीपख केटाकेटीहरु समूह समूहमा मिलेर घर–घरमा ‘यमोसा’खान जान्छन् । हरेक घरमा विभिन्न किसिमका अनेकौँ परम्परागत गीत गाउ“दै यमोसा खान्छन् । यमोसा खाने क्रममा थारुहरुले विभिन्न मौलिक गीतहरु गाउने गर्दछन् । मौलिक थारु लोक गीत, तीम्वार्हा र बरहा, पितरी र पित्पित्रायन, पहुनी र छाकी सबै लोप हुन थालेको छ । पुस्तान्तरण नहुँदा थारुको मौलिक संस्कृतिसँगै गीत सङ्गीतसमेत लोप हुने अवस्थामा पुगेको छ ।  रासस

कर्णाली, २७ असोज :

एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु रु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ । विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु अवस्था सार्वजनिक गरेको हो । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा नारायणप्रसाद पौडेलले स्थापना कालमा उपकुलपति प्रा डा पदमलाल देवकोटा र रजिष्ट्रार सह–प्रा डा ठगेन्द्रप्रसाद गिरी हुँदाका बखत आव २०६८÷६९ मा रु ८३ लाख ९८ हजार तथा आव २०७८÷७९ सम्ममा रु एक अर्ब १२ करोड ५७ लाख पुगेको बताउनुभयो । “यसमा असुलउपर र सैद्धान्तिक एवं प्रक्रियागत बेरुजु परेको छ”, रजिष्ट्रार पौडेलले भन्नुभयो । वीरबहादुर पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । उहाँले असुलउपर गर्ने बेरुजुमा रु ६३ लाख ६६ हजार ९६४ मा केही प्रतिशत मात्र असुल भएको बताउनुभयो । रजिष्ट्रार पौडेलका अनुसार रु १२ करोड ४० लाख ५१ हजार बेरुजु सम्परीक्षण गरिएको छ । अझै करिब रु एक अर्ब बेरुजु विश्वविद्यालयले फछ्र्योट गर्न बाँकी छ । आर्थिक वर्ष २०७५÷७६ मा उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइराला र रजिष्ट्रार डा महेन्द्रकुमार मल्लको पदावधिमा सबैभन्दा बढी रु ४० करोड ५९ लाख ६० हजार (३६.०४) प्रतिशत बेरुजु आएको उहाँले बताउनुभयो । यहाँ असुलउपर गर्नुपर्ने बेरुजु पनि रहेको उहाँको भनाइ थियो । विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले करिब १३ वर्षको बेरुजुलाई सबै आफ्नो पालामा गरेकोजस्तो गरेर सामाजिक सञ्जाल तथा समाचार माध्यमबाट आएपछि त्यसको भ्रम हटाउन पत्रकार सम्मेलन कार्यक्रम गरिएको बताउनुभयो । रासस

काठमाडौँ, २७ असोज :

मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र हुनुहुन्थ्यो । हेलिकप्टरान आगलागी भएको छ । दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलार्ई फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको हो । उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो । हेलिकप्टर के कारणले दुर्घटना भयो भन्नेबारे थप अनुसन्धानपछि मात्रै थाहा हुने प्राधिकरणले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार हिमाली क्षेत्रमा तीव्र हावा चलेको र सोही हावाको बेगले अवतरणको क्रममा हेलिकप्टर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । रासस

विराटनगर, २७ असोज :

कोशी प्रदेशमा मुुख्यमन्त्री पद नियुक्तिका लागि पेश गरिएका हस्ताक्षर सनाखतको कार्य सम्पन्न भएको छ । प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङ्गको समुस्थितिमा सनाखत कार्य सम्पन्न भएको हो । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्री पदका लागि ४७ प्रदेशसभा सदस्यसहितको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाउनु भएको थियो । सोही हक दाबी गर्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि ४७ जनाकै हस्ताक्षरसहित माग दाबी गर्दा प्रमाणीकरणका लागि प्रदेश प्रमुख खापुङ्गले स–शरीर प्रमाण खुल्ने प्रमाणपत्रसहित कार्यालयमा उपस्थित भई सनाखत गर्न गए राति सूचना जारी गर्नुभएको थियो । तर आङ्बो पक्ष भने हस्ताक्षर सनाखतका लागि उपस्थित भएन । नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको हो । कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गर्नुभएको छ । रासस

कास्की, २७ असोज :

तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् । उक्त घटनामा संलग्न सातजना जनही रु एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । प्रहरीले पक्राउ परेकालाई स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रकृया अगाडि बढाएको थियो । प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमार्फत अदालत पेश हुँदा कास्की जिल्ला अदालतबाट उनीहरुलाई कारबाहीको फैसला गरिएको हो । कारागार चलान हुनेमा पोखरा महानगरपालिका–१७ हनुमान टोलका सुशील कार्की र पोखरा–५ का विनय गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यसैगरी घटनामा संलग्न पोखरा–४ का सुजित मुल्मी, पोखरा–५ का अभिनास गुरुङ, अरुण गुरुङ, पोखरा–९ का नितेश गुरुङ, विवेक गुरुङ र पोखरा–२० का मनिष थापा र पोखरा–११ प्रदीप गुरुङ जनही रु एक लाख धरौटी राखी तारेखमा छुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । उहाँका अनुसार अझै पहिचान खुलेका १० जना र पहिचान नखुलेका अन्य व्यक्ति फरार रहेकाले खोजी भइरहेको छ । यही असोज ८ गते लमजुङ सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमाया दुराको अस्पतालमा उपचारका क्रममा निधन भएपछि पोखरा महानगरपालिका–११ फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकलाई मृतकका आफन्तले कुटपिट गरेका थिए । बिरामीको मृत्युपछि उपचारमा डाक्टरको लापर्बाहीको कारण बिरामीको मृत्यु भएको र मृत्युको कारण खुलाउनुपर्ने माग राखी आन्दोलित भई उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेका थिए । अस्पताल तोडफोड गरेपछि कास्की प्रहरीले नौ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । पोखराको मणिपालका अस्पतालको घटनालाई लिएर कास्कीसहित देशभरका चिकित्सकले आकस्मिकबाहेकको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए । सरकारले चिकित्सक कुटपिट गर्नेलाई पक्राउ गरी कानुनी कारबाहीको प्रतिबद्धता जनाएपछि चिकित्सक काममा फर्किएका थिए । रासस

फुङ्लिङ (ताप्लेजुङ), २७ असोज :

फुङ्लिङ नगरपालिका–११ लालीखर्क क्षेत्र एक पर्यटकीय क्षेत्र हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पर्यटकले फुङ्लिङदेखि पहिलो क्यापहो लालीखर्क । विगतका वर्षहरुमा लालीखर्क क्षेत्र पर्यटकको भरिभराउ हुन्थो । तर अहिले किवीको बोट झाङ्किएर लालीखर्क भरिभराउ भएको छ । सरमुकाम फुङ्लिङ बजारदेखि सुकेटार विमानस्थल हँुदै लालीखर्क भएर सडक विस्तार भएसँगै लालीखर्क ओझेलमा पर्दै गयो । असोज, कात्तिक र मङ्सिरमा पर्यटकले खचाखच हुने लालीखर्क विस्तारै सुनसान बन्दै गयो । पर्यटकको राम्रो चहलपहल भएको समयमा यस क्षेत्रमा घर घडेरीसमेत किनबेच भएको थियो । धेरैले लालीखर्कमा घडेरी किनेर होटल सञ्चालन गरेका थिए । लालीखर्कको बिच भाग भएर अहिले सडक सिरिजङ्गा गाउँपालिकाको मांमाखे पुगेको छ । यस पदमार्ग हँुदै जाने पर्यटक गाडीमा हुत्तिएर मामांखे पुग्न थालेका छन् । लालीखर्कका होटल व्यवसायी भने धुलो खाँदै बस्नुपर्ने समय आएपछि बसाई सराई गर्न थालेका छन् । लालीखर्क क्षेत्रमा बसाइँसराइले घर खाली भएका छन् । विगतमा यहाँ १३ होटल सञ्चालनमा थिए । अहिले तीन परिवार मात्र बसोबास गर्दै आएका स्थानीय धनबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “लालीखर्क पहिला जस्तो छैन । सुनसान छ । मेरो परिवारका पनि सबैले घर छोडेर गइसकेका छन् । गाईबस्तुका कारण म यतै छु । किन्ने कोही आए बिक्री गरेर जाने सोच छ ।” लालीखर्कमा पर्यटक आउजाउ शून्य भयो । होटल बन्द भए । छरछिमेक घर छोडेर बसाई सरेर गए । पर्यकको खचाखच हुने लालीखर्कका फाँटमा उराठ लाग्नथाल्यो । पर्यटकको क्याम्प क्षेत्र सुनसान भएसँगै केही होटल सञ्चालकले आफ्नो घर त्यतिकै छोडेर बसाई सरेर गएका छन् । घर भने त्यतिकै छ । घरमा होटलको साइनबोर्डसमेत देखन सकिन्छ । तर अहिले कहीँकतै एउटा गिलास चियार पनि पाइँदैन । स्थानीय युवा शुक्रराज लिम्बूले भने सुनसान भएको लालीखर्कका फाँटमा सम्भावनाको खाजी गर्न थाल्नुभयो । रित्तिएको बस्तीमा उजाड बनाउने सपनाका साथ वैकल्पिक सम्भावनाको खोजी गर्ने क्रममा किवी खेतीले लिम्बूको मन तान्यो । लिम्बूले किवी खेती विस्तार गर्न थाल्नुभयो । लालीखर्कका फाँटमा किवीको बोट झाकिन थाल्यो । सात रोपनी क्षेत्रफल जमिनमा किवी खेती विस्तार गर्नुभएको लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “यो साल पनि राम्रै फलेको छ ।” लिम्बूले लगाएको किवी बगानबाट पहिलो पटक फल्न थालेको हो । अहिले प्रत्येक बोटमा दुईदेखि चार किलोसम्मको फल रहेको लिम्बूले बताउनुभयो । अर्को वर्ष भने राम्रो उत्पादन हुने सङ्केत देखिएको लिम्बूले बताउनुभयो । किवी विस्तार गरेसँगै लिम्बू आफ्नो नाममालालीखर्क कृषि फार्म दर्ता गर्नुभएको छ । फार्मको उद्देश्य राम्रो भएकाले कृषि ज्ञान केन्द्र ताप्लेजुङले रु पाँच लाख अनुदान दिएको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । अनुदानबाट किवीको फलामे थाङ्क्राको व्यवस्थापन गर्नुभएको लिम्बूले बताउनुभयो । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसान किवीको राम्रो बजार देखेपछि यसप्रति आकर्षित भएका छन् । ताप्लेजुङमा अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती गर्न थालेका छन् । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा माग निरन्तर बढ्दै गएको छ । गत वर्ष ताप्लेजुङमा किवी सुरुमा प्रतिकिलो रु छ सयसम्म खरिद÷बिक्री भएको किसानको भनाइ छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका बुद्ध काम्बाङले किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहेको बताउनुभयो । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने उहाँको भनाइ छ । किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था छ । रासस

सीता भट्टराई/काठमाडौँ, २७ असोज :

मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक निकायमा पुगेका सांसद जनताका आवाज सम्बोधन गर्न तथा कानुनी शासनको पालनातर्फ उन्मुख हुुनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत बताउनुहुन्छ । संसद्को गरिमा जोगाउन सांसद सधैँ तत्पर रहनुपर्ने उहाँको भनाइ छ । सांसदसँग रासस संवादमा सांसद बस्नेतले गरिमामय संसद्मा आइसकेपछि देश र जनताका पक्षमा सबै सांसद एकजुट हुनुको अर्को विकल्प नरहेको जिकिर गर्नुभयो । सांसद बस्नेतले भन्नुभयो– “पार्टीअनुसार सांसदका विचार फरक फरक होलान् । चुनावका बेला झण्डा फरक फहराए होलान् । तर गरिमामय संसद्मा गइसकेपछि नितान्त राष्ट्र र राष्ट्रियताको पक्षमा आवाज बुलन्द गर्नुपर्छ । कानुन निर्माण गर्ने ठाउँमा सांसद बाझिरहनु राम्रो हुदैँन । यसमा सबै सांसद सजग हुनुपर्छ ।” जनताका अपेक्षा अनुरुप संसदीय अभ्यास नभएको सांसद बस्नेतको ठहर छ । “संसद्मा जुन आशा राखेर हामी प्रवेश गरेका थियौँ । सोअनुरुप पाइएको छैन । हामीले उठाएका जनताका आवाजलाई सरकारले सुनेको छैन । फरक विचारको प्रतिनिधित्व हुन सकेको छैन । कुनै समय त सरकार छ कि छैन? भन्ने लाग्छ”, सांसद बस्नेतले भन्नुभयो । संसदीय अभ्यासलाई सफल बनाउन सानादेखि ठूला दलको उत्तिकै महत्व रहने हुनाले सबै सांसद राजनीतिक स्वार्थबाट बाहिर निस्केर मुलुकको समृद्धितर्फ एकजुट हुनुपर्ने उहाँको भनाइ छ । पञ्चायतकालदेखि नै राजनीतिमा प्रवेश गर्नुभएकी सांसद बस्नेत भेरी अञ्चल महिला संगठनको सचिव हुनुभयो । विसं २०५४ र २०७४ मा गरी दुईपटक उहाँ गुलरिया नगरपालिका–७ को वडाध्यक्षमा निर्वाचित हुनुभयो । विभिन्न सामाजिक सङ्घसंस्थामा आबद्ध रहँदै आउनुभएकी सांसद बस्नेतले सदनमा पेश हुने विधेयकमाथि बृहत् छलफल हुनुपर्नेमा जोड दिनुभयो । “सदनमा पेश हुने विधेयक सरकारको मात्र होइन । देशको विधेयक हो । जनतालाई सडकमा ल्याउने वातावरण सिर्जना गर्नुहुँदैन । देश र जनताको हित अनुकूल कानुन ल्याउन बृहत् छलफलको अभ्यास हुनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले आफ्नो पार्टी भ्रष्टचारविरुद्ध, विधिको शासनको कार्यान्वयनमा आधारित रहेको तर कतिपय विषय सदनमा बोल्न नपाएको गुनासो गर्नुभयो । मुलुकको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई आत्मसात् गरी एकता कायम गर्न, समाजिक सद्भावको संरक्षण र प्रवद्र्धन गर्न सबै ऐक्यबद्ध हुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले केही दिनयता देशमा फैलिएको अराजकतालाई निर्मूल पार्न सबै मिल्नुको अर्को विकल्प नरहेको उल्लेख गर्नुभयो । पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएकी सांसद बस्नेतले जनताले राम्रो कानुन बनाउन, हिजोका त्रुटिलाई सच्याउन, सबै वर्ग, समुदाय लक्षित कानुन बन्ने अपेक्षा गरेका छन् तर सोहीअनुरुप हुन नसकेको जिकिर गर्नुभयो । सांसद बस्नेत सरकारप्रति सन्तुष्ट रहने अवस्था नरहेको बताउनुहुन्छ । “कानुनतः विधिको शासन कार्यान्वयन भएको देखिँदैन । हत्या हिंसा, घाइते, लुटपाटका घटना भइरहेका छन् । धर्म संस्कृतिका नाममा अराजकता फैलिएको छ । मुलुकमा शान्ति, सुशासन कायम गर्न सरकार चुकेको छ”, सांसद बस्नेतले भन्नुभयो । रासस

खोटाङ, २७ असोज :

दिक्तेलमा आयोजना गरिएको १५ औँ जिल्लास्तरीय सितोरियो कराते प्रतियोगितामा ४७ पदकसहित दिक्तेल डोजो पहिलो भएको छ । नेपाल सितोरियो कराते सङ्घ खोटाङले दिक्तेलस्थित माटिकोरेस्थित बहुउद्देश्यीय कभर्ड हलमा आयोजना गरेको सो प्रतियोगितामा दिक्तेल डोजोले १५ स्वर्ण, १३ रजत र १९ कास्य पदक प्राप्त गरेको हो । तीन स्वर्ण, तीन रजत र सात कास्यसहित हलेसी डोजो दोस्रो तथा दुई रजत र पाँच कास्यसहित च्यास्मिडार डोजो तेसो भएको सङ्घका अध्यक्ष मिलन कसजूले जानकारी दिनुभयो । धितुङ डोजो दुई कास्य पदकसहित चौथो भयो । दिक्तेल डोजोका लागि सिबिहाङ राई, जिताहाङ राई, सुसम राई, शिशिर राई, प्रणयविक्रम राई, सोनाम राई, सन्देश राई विकास आचार्य, सरगम राई, सोमिया राई, समीक्षा राई, आयुश्मा राई, स्मृति राई, सुशीला राई र मुना श्रेष्ठले आ–आफ्नो तौल समूहमा स्वर्ण पदक जिते । यस्तै हलेसी डोजोका लागि सुनिल परियार, थर्डसन राई, डोमन राई, ओलिसा राई र रोजिना शङ्करले आ–आफ्नो तौल समूहमा स्वर्ण जिते । च्यास्मिटार डोजोका लागि सङ्गम राई र अनुप राईले रजत तथा अर्बिन राई, सन्देश राई, मिलन राई, दिक्षा राई र प्रयुसा राईले कास्य पदक प्राप्त गरे । धितुङ डोजोका मनिता दर्नाल र युकेश राईले कास्य पदक प्राप्त गरे । पुरुष एकल कातामा दिक्तेलका अभिशेक राईले स्वर्ण, सोनाम राईले रजत तथा विकास आचार्य र आयुस भुजेलले कास्य पदक पाए । महिला एकल कातामा दिक्तेल डोजोकै सोमिया राईले स्वर्ण, अनिशा राईले रजत तथा विसुका राई र करुणा राईले कास्य पदक पाए । रासस

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।