हुम्ला, २७ असोज :
वडादसैँ नजिकिदै गर्दा सिमकोटबाट नेपालगञ्ज तथा सुर्खेत जाने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ । नियमित रुपमा उडान नहुनु, टिकट महङ्गो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या भएको हो । सिमकोट बजारमा सिलाइकटाइको काम गर्दै आउनुभएकी पवित्रा परियारले नेपालगञ्ज जाने टिकट नपाएर यही बस्नु परेको बताउनुभयो । उहाँले ११ दिनदेखि नेपालगञ्ज जाने टिकट पाउन नसकेको गुनासो गर्नुभयो । दैनिक टिकटका लागि निजी एयरलाइन्सको काउन्टरमा धाउने गरे पनि टिकट सकिएको जवाफमात्र पाउने गरेको उहाँको भनाइ थियो । यहाँबाट नेपालगञ्जका लागि समिट, सीता, तारा र नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने गरेकामा अहिले समिट एयरले दैनिक एक–दुई उडान भर्ने गरेकाले टिकटको समस्या भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ । सीता, तारा र नेपाल एयरलाइन्सले हप्तामा एकदेखि चार उडान मात्र भर्ने गरेका छन् । राष्ट्रपति रनिङशिल्ड बालमन्दिर माविलाई हुम्लाको सिमकोटमा भएको गाउँपालिकास्तरीय पाँचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बालमन्दिर माविले स्वर्णपदकसहित विजेता भएको छ । बालमन्दिरले १३ स्वर्ण, आठ रजत र २३ कास्यपदक जित्दै कूल ९३ अङ्क प्राप्त गरी प्रथम भएको हो । मानसरोवर माविले १० स्वर्णसहित ९७ अङ्कका साथ द्वितीय भएको छ भने कैलाश माविले एक स्वर्णसहित प्रतियोगितामा तृतीय भएको छ । आयोजक कर्णाली माविका प्रधानाध्यापक रामराज शाहीले भलिबलमा छात्रातर्फ मानसरोवर मावि प्रथम भएको छ भने बालमन्दिर मावि द्वितीय र रामदेव मावि तृतीय भएको जानकारी दिनुभयो । उहाँका अनुसार भलिबलतर्फ छात्रको प्रतियोगितामा बालमन्दिर मावि पहिलो, कर्णाली मावि द्वितीया र मानसरोवर मावि तृतीय भएका छन् । गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल र उपाध्यक्ष सुशीला रोकाया भामले विजेता छात्रछात्रालाई पदक, प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभएको थियो । पाँच दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा सिमकोटका सात माविको सहभागिता थियो । रासस
रुकुमपश्चिम, २७ असोज :
नेपालका एक सय पर्यटकीय गन्तव्यस्थलमध्येको बाँफीकोट गाउँपालिकामा रहेको स्यार्पु ताल पनि एक हो । सो ताल जिल्लाको भने मुख्य पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । ताल अवलोकनका लागि आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउने गरेका छन् । वडा नं ३ र ५ को बीचमा पर्ने स्यार्पु तालले असारदेखि कात्तिकसम्म भरिभराउ भएर जो कसैको पनि मन लोभ्याइरहेको हुन्छ । सिमै छरी लेकबाट दादुरे हुँदै झर्ने निश्चल पानीले स्यार्पुलाई थप सुन्दर बनाएको छ । स्पार्पुगाउँ र दह गाउँको काखमा रहेको सुन्दर स्यार्पुले यहाँका स्थानीयलाई आन्तरिक तथा बाह्य पर्यटक आउँदा आर्थिकरुपमा टेवा पु¥याएको छ । करिब दुई दशमलव छ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको स्यार्पु तालको आकार भने वर्षा र हिउँदमा फरक हुन्छ । हिउँदको तुलनामा वर्षामा तालको आकार दोब्बर बढी हुन्छ । असारबाट भरिन सुरु गरेको ताल साउनको अन्तिमतिर आइपुग्दा पूरा भरिन्छ । स्यार्पु ताल अवलोकन गर्ने पर्यटकको सङ्ख्या पनि यो बेला धेरै हुने गरेको छ । शनिबारको समय मिलाएर फ्रेस हुन बिदाको दिन छिमेकी जिल्ला रुकुमपूर्व, सल्यान, रोल्पाबाट पनि पर्यटक आउने गर्छन् । ताल अवलोकनका लागि ‘बोटिङ’ गरेर आन्नद लिने भएकाले पनि स्यार्पु तालमा थप पर्यटकको आकर्षण हुने गरेको छ । तालमा आइसकेपछि तालको चारैतिर घुम्न आधुनिक डुङ्गाको व्यवस्था छ । आधुनिक डुङ्गा राखिनु तथा खान र बस्नका लागि घरबास सञ्चालन गरिनुले स्यार्पु घुम्न आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीय भूपेन्द्र मल्लले बताउनुभयो । “मान्छेहरू छुट्टी मनाउनका लागि आउने गरेका छन्, ताल हेर्न आएकाहरू डुङ्गा नचढी फर्किंदैनन्, तालले गर्दा स्थानीयको आयस्रोतसमेत बढेको छ”, मल्लले भन्नुभयो । स्यार्पु तालको छेउमै तालको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो । स्यार्पु ताललाई देशविदेशमा प्रचारप्रसार गरी बाह्य तथा आन्तरिक पर्यटक बढाउने उदेश्यले महोत्सव आयोजना गरिएको लोकदोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो । यही असोज ११ देखि २१ गतेसम्म महोत्सव आयोजना गरिएको थियो ।रासस
काठमाडौँ, २७ असोज :
ढोरपाटन (बागलुङ), २७ असोज :
बागलुङको काठेखोला गाउँपालिकाले गाउँगाउँमै पुगेर नागरिकलाई सेवा दिन थालेको छ । गाउँपालिकाले घुम्ती शिविरमार्फत योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण र ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिरहेको छ । शिविरमा नसर्ने रोगको निःशुल्क स्वास्थ्य परीक्षण, आयुर्वेद स्वास्थ्य सेवा, कृषि एवं पशु सेवा, वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सेवामा सहजीकरणसमेत गरिरहेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । गाउँपालिकाले आठवटै वडामा पुगी घुम्ती शिविरमार्फत नागरिकलाई सेवा प्रदान गर्न थालिएको अध्यक्ष थापाको भनाइ छ । हालसम्म वडा नं १ देखि ४ सम्ममा शिविर सञ्चालन गर्दा पालिकाले चालू आर्थिक वर्षका विभिन्न ७० योजना सम्झौता गरिसकेको उहाँले बताउनुभयो । नागरिकलाई सहज सेवा र योजना कार्यान्वयनलाई प्रभावकारी बनाउनका लागि गाउँगाउँमा पुगेर शिविर सञ्चालन गरेको अध्यक्ष थापा बताउनुहुन्छ । “यसपाली हामीहरु दूरदराजसम्म पुगेर नागरिकलाई सहज सेवा दिउँ भन्ने हिसाबले लागेका छौँ, घुम्ती शिविरमा जनप्रतिनिधि मात्रै हुनुहुन्न, त्यहाँ कर्मचारी, स्वास्थ्यकर्मी, पशु तथा कृषि प्राविधिक पनि हुनुहुन्छ, गाउँघरमा हुने समस्या सोही स्थानबाटै समाधान गरौँ भन्ने लागेको छ”, अध्यक्ष थापाले भन्नुभयो, “हाम्रो मुख्य उद्देश्य दसैँअगावै योजना सम्झौता गरिसक्ने हो, समयमै सम्झौता भयो भने समयमै योजना कार्यान्वयन गर्न पनि सघाउ पु¥याउँछ, यसले गुणस्तरीय काममा पनि सघाउ पुग्नेछ ।” वडा नं १ पालादेखि सुरु गरिएको शिविर वडा नं ८ लेखानीमा पुगेर सकिने उहाँको भनाइ छ । योजनाको प्रभावकारी कार्यान्वयन गराउने, पालिकाद्वारा हुने सेवा वडाबाटै उपलब्ध गराउने, सेवामा नागरिकको प्रभावकारी पहुँच बढाउने उद्देश्यका साथ एकीकृत घुम्ती शिविर गरिएको थापाले बताउनुभयो । हालसम्म शिविरमा सात सय ६२ जनाको स्वास्थ्य परीक्षण, आठ सय ८४ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, २१ जनालाई अपाङ्गता परिचयपत्र, दुई सय ७९ जनालाई आयुर्वेद सेवा, चार सय ९१ जनालाई कृषि तथा पशु सेवा र पाँच जनालाई रोजगार सेवा उपलब्ध गराइएको पालिकाले जनाएको छ । रासस
चितवन, २७ असोजः
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनले विश्वासको मत दिने वताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले कोशीका मुख्यमन्त्री गठबन्धनका पनि मुख्यमन्त्री भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो “कोशीको समस्या समाधान गरिएको छ । अन्ततः यसले गठबन्धनलाई बलियो बनाउनेछ,” आज बिहान नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, सोही पार्टीका अर्का नेता डा शेखर कोइराला र आफूबीच सहमति भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामी गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनाँै । अब कार्कीजी मुख्यमन्त्री हुनुभएको छ । उहाँ हामी सबैको साझा मुख्यमन्त्री हो ।” हाम्रो गठबन्धन कायम रहने भन्दै उहाँले गठबन्धनकै उम्मेदवारका रुपमा नेता कार्कीलाई लिइएको दोहो¥याउनुभयो । अर्को एक प्रश्नमा प्रधानमन्त्रीले कोशी प्रदेशमा सर्वपक्षीय सरकार बन्ने सम्भावना तत्काल नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्भावना हुन सक्छ । तर अहिले नै हुन्छ भन्न सकिँदैन । गठबन्धनकै सरकारले त्यहाँ निरन्तरता पाउनेछ ।” अर्थतन्त्रमा समस्या परेको स्वीकार गर्दै प्रधानमन्त्रीले यसलाई समाधान गर्न सरकार लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले अर्थतन्त्रमा धेरै दबाब परेको छ । यसका धेरै कारण छन् । विगतदेखिका समस्या छन् ।” प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार गठन भएसँगै अर्थतन्त्रलाई बिग्रन नदिन हरसम्भव प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुुभयो, “यी प्रयास पर्याप्त छैनन् । देशको अर्थतन्त्रलाई उकास्न विशेष प्रयास जरुरी छ ।” एक पृथक प्रसङ्गमा प्रधानमन्त्रीले निर्माण व्यवसायीले सम्पन्न गरेका परियोजनाको भुक्तानी दिने निर्णय सरकारले गरिसकेको बताउनुभयो । निर्माण व्यवसायीलाई गरिएको भुक्तानीले मात्र समस्याको समाधान नहुने भन्दै उहाँले समग्रमा ‘मेजर अप्रेसन’ गर्न छुट्टै संरचना खडा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बजेट वक्तव्य र नीति तथा कार्यक्रममा छलफल भइरहँदा देशको आर्थिक विकासको प्रारुपलाई नै नयाँ ढङ्गले विकास गर्न जरुरी छ । यो वर्ष हामीले भ्याएनौँ । अर्को वर्ष बजेट बनाउने क्रममा नयाँ शिराबाट जान्छौँ ।रासस
काठमाडौँ, २७ असोज :
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शैक्षिक क्षेत्रको विकासका निम्ति लगानी बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । स्थानीय शिवपुरी माध्यामिक विद्यालयको हीरक जयन्तीका अवसरमा आज आयोजित समारोहमा मन्त्री राईले उपलब्ध साधन र स्रोतको सीमाले भ्याएसम्म राज्यका तर्फबाट शिक्षामा लगानी गरिएको बताउनुभयो । “शिक्षा क्षेत्रमा जति लगानीको अपेक्षा गरिएको छ, त्यो हाम्रो अर्थतन्त्रको समस्या र सीमाले भ्याइरहेको छैन, कूल बजेटको कम्तीमा २० प्रतिशत रकम शिक्षामा लगानी हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि हामीले यसपटक ११ दशमलव २७ प्रतिशत मात्रै लगानी गर्न सकेका छौँ”, उहाँले भन्नुभयो, “मुलुकको अर्थतन्त्रमा सुधार आउने बित्तिकै सरकारले शिक्षामा लगानी बढाउँछ ।” शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको उल्लेख गर्दै मन्त्री राईले आगामी दिनमा शिक्षामा गरिने लगानी बढाउन सरकारले विशेष ध्यान दिएको बताउनुभयो । सीमित स्रोत साधनका कारण सरकारले चाहेर पनि शिक्षा क्षेत्रमा उल्लेख्य काम गर्न नसकिरहेको उहाँको स्वीकारोक्ति थियो । मन्त्री राईले संसद्मा पेस भएको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई समयानुकूल बनाउन सबैको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । शिक्षक महासङ्घसँग परामर्श गरी मस्यौदा गरिएको जानकारी दिँदै उहाँले सरकारका तर्फबाट आन्दोलनरत शिक्षकसँग समझदारीसमेत गरिएको बताउनुभयो । उहाँले विधेयक सदनबाट पारित भएपछि सार्वजनिक विद्यालयमा अध्यापन गरिरहेका शिक्षक तथा विद्यालय कर्मचारीले गुनासो गर्नुपर्ने अवस्था बाँकी नरहने दाबी गर्नुभयो । “गुणस्तरीय शिक्षा दिने वातावरण निर्माण गर्नसक्ने ऐन बनाउन त्यसको मस्यौदा सदनमा पेस भइसकेको छ । शिक्षा विधेयकलाई उपयुक्त ऐनका रुपमा ल्याउने जिम्मेवारी सांसदमा निहित छ । सो विधेयकलाई समयानुकूल बनाउन म पनि क्रियाशील हुनेछ”, मन्त्री राईले भन्नुभयो । नेपाली काङ्ग्रेका ससांसद प्रदीप पौडेलले सबै नागरिकको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै सरकारले सामुदायिक विद्यालयको पूर्वाधार तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । सार्वजनिक शिक्षाप्रति राज्य गम्भीर हुनुपर्छ भन्दै सांसद पौडेलले शैक्षिक पूर्वाधार र जनशक्ति व्यवस्था गर्न सरकार तयार हुनुपर्ने सुझाव दिनुभयो । “सार्वजनिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै छ, यस क्षेत्रमा राज्यले पनि लगानी बढाउनुपर्छ”, उहाँले भन्नुभयो । रासस
चितवन, २७ असोज :
चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सरको परीक्षण निःशुल्क गरिएको छ । अक्टोबर महिनाभरी स्तन क्यान्सरको बहिरङ्ग (ओपिडि) सेवा निःशुल्क गरिएको हो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले स्तन क्यान्सर स्क्रिनिङका लागि मेमोग्राम र ब्रेष्ट युएसजीमा ३० प्रतिशत छुट दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालले स्तन क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । यो महिनाको प्रत्येक शुक्रबार विद्यालय तथा क्याम्पसमा गएर छात्रालाई स्तन आफैँले कसरी परीक्षण गर्ने भन्नेबारे प्रशिक्षण दिने गरिएको देवकोटाले बताउनुभयो । “नौ कक्षाभन्दा माथिका छात्राका साथै विद्यालय र क्याम्पसमा कार्यरत महिला कर्मचारीलाई स्तनमा हुने गाँठागुँठी तथा गिर्खाको पहिचान कसरी गर्ने, कसरी आफैँले थाहा पाउन सकिन्छ भन्ने विधि सिकाउने गरिएको छ”, उहाँले भन्नुभयो । अस्पतालका अङ्कोलोजिष्ट डा सुवास ठाकुरले महिनाको एक दिन छुट्याएर आफ्नो स्तन आफैँले परीक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले गाँठागुँठी भेटिएमा चिकित्सकको परामर्श लिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्तनका सबै गाँठागुँठी क्यान्सर हुँदैनन् । तर गाँठागुँठी देखिए क्यान्सर हो÷होइन भन्ने यकीन गर्नुपर्छ ।” परीक्षणका क्रममा मेमोग्राम र युएसजी गरेर यकीन गर्न सकिने ठाकुरको भनाइ थियो । क्यान्सर इन्स्टिच्यूमा बढीमात्रामा मुख, जिब्रो, घाँटी, पाठेघर, स्तन र फोक्सोका क्यान्सर भएका बिरामी आउने गरेका उहाँले जानकारी दिनुभयो । कार्यक्रममा अस्पतालका निर्देशक डा दयाराम लम्सालले स्तन क्यान्सर समयमै पहिचान गर्नसके उपचार गर्न सहज हुने भन्दै पहिचान भएकामा निको हुने दर पनि उच्च रहेको जानकारी दिनुभयो । उहाँका अनुसार स्तन क्यान्सर महिलामा मात्रै नभएर पुरुषमा पनि हुने गर्दछ । हरेक एक लाख जनसङ्ख्यामा चार÷पाँच जना पुरुषलाई स्तन क्यान्सर हुने गरेको उहाँले बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनले हरेक वर्ष अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिना (ब्रेष्ट क्यान्सर अवारनेश मन्थ) का रुपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाउने गर्दछ । रासस
तुलसीपुर, २७ असोजः
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङस्थित घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन लागेको बताउनुभएको छ । आज तुलसीपुर उपमहानगरपालिका–१६ मा नेकपा ९माओवादी केन्द्र०ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री शर्माले तिहार लगत्तै बोलपत्र आह्वान गरिने जानकारी दिनुभयो । सञ्चार तथा सूचना प्रविधिमन्त्रीका अनुसार घोराही–तुलसीपुर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने सम्बन्धमा सर्वेक्षण भइसकेको छ र भौतिक पूर्वाधारमन्त्रीसँग त्यसबारेमा छलफल भइसकेको बताउनुभयो । हाल उक्त सडकखण्डमा सडक मर्मतको काम भइरहेको छ । यसअघि पाँच वर्षसम्म पनि चार लेन निर्माणको काम अलपत्र हुँदा आवागमनमा समस्या भएको छ । बेलाबेलामा यो जीर्ण सडकमा सवारी दुर्घटना हुने गरेका छन् । मन्त्री शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रमा स्नातक तहको अध्यापनका लागि भवन निर्माण गर्न रु ३० करोड बजेट विनियोजन गरेको बताउनुभयो । रासस
बेनी (म्याग्दी), २७ असोज :
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन हुन थालेको भन्दै श्रमदान जुटाएर पक्की पदमार्ग निर्माण थालिएको हो । नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले सुरु गरेको श्रमदान अभियानमार्फत उक्त पदमार्ग निर्माणमा स्वदेशमा रहेका स्थानीय श्रमदानमा जुटेका छन् भने प्रवासीले आर्थिक सहयोग गर्न थालेका छन् । निर्माण सुरु भएको १० दिन भएको भन्दै श्रमदान र आर्थिक सहयोग गर्नेको सङ्ख्या बढ्दै गएको नेकपा माओवादी केन्द्र भगवतीका वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवालले बताउनुभयो । “हामीले जीर्ण पदमार्गलाई पुनःनिर्माण गर्न अग्रसरता लिएका हौँ । श्रमदानमा सबै जोडिनुभएको छ । अहिले यो सबैको साझा अभियान बनेको छ”, उहाँले भन्नुभयो, “देश विदेशमा रहनुभएकाहरुले पनि सहयोग गरिरहनुभएको छ ।” भिरालो पाखो, पहिरो र वनको झाडी रहेकाले पदमार्गलाई दिगो बनाउन ढलान गरिएको कटुवालले बताउनुभयो । उहाँका अनुसार माओवादी केन्द्रका नेता कार्यकर्ताका साथै स्थानीयवासी श्रमदानमा जुटेका छन् । ढलानका लागि आवश्यक पर्ने, सिमेन्ट, बालुवा, गिटी र रडको व्यवस्थाका लागि स्वदेशका साथै विदेशमा रहेको भगवतीवासीले खार्थिक सहयोग गरिरहेका कटुवालले जानकारी दिनुभयो । यस पदमार्गको कुनौटादेखि च्युरीबास खण्ड अत्यन्तै जोखिमयुक्त थियो । कुनौटास्थित कालीगण्डकी नदी किनारमा रहेको घाटमा जानका लागि स्थानीय यही पदमार्गमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । गाउँमा दिवङ्गत भएकाको अन्तिम संस्कारका लागि घाट जाने मुख्य बाटो जोखिमपूर्ण बनेपछि श्रमदानमार्फत पदमार्ग बनाउन थालिएको पदमार्ग निर्माण समितिका संयोजक भगवान केसीले बताउनुभयो । उहाँका अनुसार यस अभियानमा जोडिनेको सङ्ख्या बढ्दै गएको छ । “बेनी–जोमसोम सडकखण्ड पुग्न तथा जङ्गलबाट घाँसदाउरा ल्याउनका लागि यही पदमार्गको प्रयोग गरिन्छ”, केसीले भन्नुभयो, “विभिन्न सहयोगदाताले आफ्नो आफन्तको स्मृतिमा यो पदमार्ग बनाउने अभियानमा सहयोग गरिरहनुभएको छ । रासस
पर्वत, २७ असोजः
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा राजनीतिकरण गर्न नहुने बताउनुभएको छ । पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा आज बिहान आयोजित एक श्रद्धाञ्जलीसभामा तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य हुन सकेमामात्र समृद्ध मुलुक बन्न सक्ने बताउनुभयो । मुलुकमा आएको राजनीतिक परिवर्तनपश्चात् विकास निर्माणका कामले जुन गतिमा अघि बढ्नुपर्ने त्यसअनुरुप हुन नसकेको बताउँदै समृद्धिका लागि राजनीतिभन्दा विकास निर्माणमा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष तिमिल्सिनाले जिल्लाका सातवटै पालिकाका सडक कालोपत्र गरिएका बताउँदै आफ्नो कार्यकालसम्म ६१ वटै वडाका सडक पिच गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय विकास निर्माणका कार्य गर्दा विनाससमेत निम्त्याइएकाले दिगो एवं फलदायी पूर्वाधार निर्माण आजको आवश्यकता भएको बताउनुभयो ।रासस