२०८३ भाद्र ४
२०८३ भाद्र ४

टक्सार (भोजपुर), २८ असोज :

भोजपुरको दुर्गम साल्पासिलिछो गाउँपालिका–२ कुलुङको ठोटनेरीमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । सधैँ अन्धकार रहँदै आएको साल्पासिलिछोको दुर्गम गाउँमा पहिलोपटक बिजुली बलेपछि स्थानीयमा उत्साह देखिएको छ । जिल्लास्थित विद्युत् प्राधिकरण वितरण केन्द्रले आवश्यक सामग्री सहयोग गरेपछि स्थानीयको श्रमदानमा गाउँमा विद्युत् सेवा पुगेको हो । चाडपर्व नजिकिएसँगै यस क्षेत्रका ५० बढी घरपरिवारले विद्युत्को सेवा उपयोग गर्न पाएका हुन् । घरमा विद्युत् सेवा पुगेकामा खुसी हुँदै स्थानीय मानबहादुर विश्वकर्माले भन्नुभयो, “गाउँमा विद्युत् सेवा आउनासाथ बिजुली अफिस (प्राधिकरण)बाट मिटर ल्याएर जडान गरेका हाैँ । अन्धकारमा बस्नुपर्ने बाध्यता अब हटेको छ ।” साल्पासिलिछो क्षेत्रको सबै वडा तथा घरधुरीमा भने विद्युत् सेवा पुग्न नसकेको वितरण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख रामबाबु चौधरीले कार्यालयले दुर्गम क्षेत्रहरूमा समेत बजेटअनुसार विद्युतीकरणको कार्य गर्दै आइरहेको बताउनुभयो । जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने उद्देश्यले वार्षिक बजेट अनुसारका काम कार्यालयबाट तथा बोलपत्रका माध्यमबाट हुँदै आएको उहाँले जानकारी दिनुभयो । प्रमुख चौधरीले भन्नुभयो, “साल्पासिलिछोका सबै गाउँमा विद्युत् विस्तार गर्ने योजना अनुसार अहिले वडा नं २ मा विस्तार गरेका छौँ । विस्तारै सबैतिर विद्युतीकरण गर्दै जाने छौँ ।” वडामा पहिलोपटक बिजुली बलेपछि स्थानीय ७२ वर्षीय बलबहादुर लुइँटेलले भन्नुभयो, “यस क्षेत्रमा बिजुली कहिले आउँछ जस्तो लाग्थ्यो, आयो । बिजुली बल्यो विकास भनेको त यो नै हो नि ।” गाउँमा विद्युत् सेवा पु¥याउन सफल भएको भन्दै स्थानीयको उज्यालोमा बस्ने सपना पूरा भएको वडाध्यक्ष मानबहादुर खत्रीले बताउनुभयो । पालिकाले आफ्नो पहिलो प्राथमिकतामा विद्युत् सेवालाई राखेकाले अब सबैतिर विद्युत् विस्तार हुने उहाँको भनाइ थियो । साल्पासिलिछो पालिकाभित्र छ वडा छन् । अहिलेसम्म यहाँका केही वडामा मात्र विद्युत् सेवा पुगेको जनाउँदै अन्य वडामा विस्तार हुने क्रममा रहेको वितरण केन्द्रले जनाएको छ । रासस

काठमाडौँ, २८ असोज :

अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग फरक पर्नसक्ने बताउनुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आज स्वदेश फर्किनुभएका अर्थमन्त्री महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै आर्थिक र मौद्रिक नीतिमा दातृ निकायसँग नेपालको दृष्टिकोण मिल्नैपर्छ भन्ने नरहेको बताउनुभएको हो । “हामीले अवलम्बन गर्ने नीति र उहाँहरूको बुझाइ एउटै नहुन सक्छ । हामी आफ्नो विशिष्ट खालको नीति लिएर अगाडि बढ्नेमा उहाँहरू पनि सहमत हुनुहुन्छ”, मन्त्री डा महतले भन्नुभयो । दातृ निकाय र विकास साझेदारहरूले मौद्रिक नीतिमा हस्तक्षेप गरेको र नेपालको परिवेश नसुहाउने व्यवस्था जबर्जस्ती लागू गर्न खोजेको भन्ने आरोप निजी क्षेत्रले लगाउँदै आएको छ । चालु पुँजी कर्जा मार्गदर्शनलगायत व्यवस्थामा आईएमएफ हाबी भएको निजी क्षेत्रको बुझाइ छ । तर अर्थमन्त्री महतले भने कुनै पनि निर्णय नेपालको अवस्था र प्रकृति सुहाउँदो हुने भएकाले दातृ निकायले दिने सबै सुझाव र सर्त कार्यान्वयन गर्नैपर्छ भन्ने बाध्यता नरहने स्पष्ट पार्नुभयो । सहुलियतपूर्ण कर्जाका लागि विश्व बैंक र आईएमएफको संयुक्त वार्षिक बैठकमा नेपालले आफ्ना आधार प्रस्तुत गरेको अर्थमन्त्री महतको भनाइ छ । त्यस्तै, गरिबी निवारणका क्षेत्रमा लगानी गर्ने र नयाँ खालका वित्तीय लगानीका उपकरण पहिचान गरेर लगानी गर्नेबारे छलफल भएको उहाँले बताउनुभयो । माथिल्लो अरुण जलविद्युत् आयोजनामा विश्व बैंकले लगानी गर्न चाहेकोमा त्यसलाई कसरी अगाडि बढाउने भन्नेबारे पनि छलफल भएको जनाइएको छ । अर्थतन्त्री महतले नेपालको अर्थतन्त्रलाई गति दिने विषयमा थप कुनै प्रयास थाल्नुपर्ने आवश्यकता महसुस भएमा सरकारले त्यसको निर्णय लिनसक्ने पनि बताउनुभयो । केही दिनअघिमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक अवस्था सुधारका लागि सरकारले उच्चस्तरीय संयन्त्र निर्माण गर्ने बताउनुभएको थियो । यस्तो संयन्त्रबारे सरकारले कसरी तयारी गरिरहेको छ ? भन्ने राससको प्रश्नको अर्थमन्त्री महतले अवस्था र परिवेश हेरेर निर्णय दिने बताउनुभएको हो । त्यस्तै अर्थतन्त्रमा अहिले देखिएको समस्या तत्काल देखिएको नभई लामो समयदेखिका समस्या थपिँदै गएर यस्तो अवस्थामा पुगेको अर्थमन्त्री महतको भनाइ छ । “अहिले देखिएका समस्या तत्काल सिर्जित होइनन् र यी समस्या एकै झट्कामा समाधान पनि हुँदैन । क्रमशः सुधारका प्रयासका नतिजा देखिँदै गएका छन् । आर्थिक क्षेत्रलाई थप गति दिन के गर्ने भनेर सरकार लागिरहेको छ”, अर्थमन्त्री डा महतले भन्नुभयो । अर्थमन्त्री विश्व बैंकको र नेपाल राष्ट्र बैंकका गभर्नर आईएमएफको पदेन गभर्नर रहने व्यवस्था छ । यी बैठकमा वर्षभरिको कार्यसम्पादनमा देखिएका समस्या तथा हासिल भएका प्रगतिको समीक्षा गरी आगामी वर्षको रणनीतिका विषयमा प्रतिनिधि मुलुकबीच छलफल भएको छ । रासस

गलकोट (बागलुङ), २८ असोज 

नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ । अनिष्टको डरले बागलुङमा रहेको सीमान्तकृत माझी समुदायले भने जमरा नराखी नै दसैँ मनाउँदै आएका छन् । देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने जमराबिनै दसैँ मनाउँदै आएका छन् । उनीहरूले घरमा जमरा नराखेको वर्षौँ भएको बताएका छन् । जमरा राख्दा अनिष्ट हुने भन्दै पुस्तौँदेखि घटस्थापनामा जमरा नराख्ने गरेको माझी समुदायका स्थानीय देउकुमारी माझीले बताउनुभयो । “जमरा राख्दा अनिष्ट भएपछि राख्न छाडिएको हो भन्ने गर्छन् पाका पुरानाहरू”, माझीले भन्नुभयो, “घटस्थापनाको दिन जमरा छर्ने क्रममा कन्याहरूको मृत्यु भएको र त्यसपछि जमरा नराखी दसैँ मनाउन थालिएको भन्ने सुनिन्छ, अहिले दसैँको दिन कालिका मन्दिरमा छरेका जमरा लिएर टीकासँगै लगाइन्छ ।” माझीका अनुसार दसैँको दिन टीका, जमरा त लगाउँछन् तर जमरा भने मागेर वा मन्दिरमा पुगेर ल्याउने चलन छ । घरमा जमारा राखेपछि अनिष्ट हुने विश्वासले यहाँका १७ माझी परिवारले घरमा जमरा नराख्ने गरेको पाइन्छ । यसलाई माझी समुदायले आफ्नो परम्पराको रूपमा लिँदै आएका छन् । तीन पुस्ताअघिसम्म जमरा राखे पनि त्यसपछि ठूलै अनिष्ट घटना भएपछि जमरा राख्न छाडिएको सोमबहादुर माझीले बताउनुभयो । खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराख्ने चलन अहिले परम्पराका रुपमा स्थापित भइसकेको छ । “जुन वर्ष जमरा राख्यो, त्यो वर्ष घरकी कन्याको मृत्यु भएको भन्ने छ, जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको सुनिन्छ”, सोमबहादुरले भन्नुभयो । दसैँ मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो प्रचलनका रुपमा अन्य समुदायले लिँदै आएका छन् । माझीहरूले दसैँमा जमरा लगाउन हुने भए पनि जमरा राख्न नहुने मान्यता स्थापित भइसकेको छ । पुर्खौँदेखि कालीगण्डकी नदीमा माछा मारेर, डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ–१ रामरेखाका माझी समुदायले अहिले भने आफ्नो पेसा सङ्कटमा परेको बताउँछन् । दुई वर्षदेखि नदीबाट बालुवा निकाल्न नपाएको बताउँदै रोजीरोटीका लागिसमेत समस्या भएको दुःखेसो उनीहरूको छ । न्यून आयस्तर भएका सीमान्तकृत माझी समुदाय आश्रित भएको कालीगण्डकी नदीमा बालुवा निकाल्न नपाएपछि उनीहरू अन्य समुदायको घरमा पुगेर ज्याला मजदुरी गर्न बाध्य भएका छन् । रासस

राँझा (बाँके), २८ असोजः

नेपालगञ्जमा डेढ सय वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला यस वर्ष आजदेखि सुरु हुँदैछ । रामलीला मञ्चन गर्न भारतको वृन्दावनबाट राम, सीता, लक्ष्मण, हनुमान र रावणलगायतका कलाकार टोली शनिबार यहाँ आइपुगेको छ । भारत वृन्दावन धामका श्री जगदीशप्रसाद शर्मा नेतृत्वको २२ सदस्यीय सङ्गीतमय कलाकार टोली नेपालगन्ज आइसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिनुभयो । उहाँका अनुसार कलाकारको स्वागत तथा रामलीला महोत्सवको प्रचारका लागि आज दिउँसो २ बजेदेखि रामलीला मैदानबाट शोभायात्रा सञ्चालन गरिने छ भने राति आठ बजे रामलीलाको एक सय ५६औैँ संस्करण विधिवतरूपमा उद्घाटन गरिने छ । “यो वर्ष पनि विगतका वर्षमा जस्तै धुमधामले रामीलला महामहोत्सव सञ्चालन गर्ने तयारी पूरा गरेका छौँ”, अध्यक्ष कनोडियाले भन्नुभयो, “आजबाट सुरु हुने रामलीलाले नैतिक शिक्षा दिन्छ । जुन अहिलेको परिवेशमा निकै आवश्यक छ ।” रामलीलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुने गर्दछ । नेपालगन्जको ऐतिहासिक र धार्मिक परम्पराका रूपमा स्थापित रामलीलालाई जोगाइराख्न सहयोग सङ्कलन गरेर पनि महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले जानकारी दिनुभयो । एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगन गरिएको थियो । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ । ठूलो सङ्ख्यामा नेपालगन्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ । यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगन्जलाई चिनाएको उहाँको भनाइ छ । सञ्चालक समितिका अध्यक्ष कानोडियाका अनुसार रामगोपाल टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगन्जमा रामलीला महोत्सवको सुरुआत गरेका छन् । रासस

 घोराही (दाङ), २८ असोज :

गढवा गाउँपालिका–१ पत्रिङ्गा निवासी राजकुमार थारू कुमाललाई विगतमा जस्तो अहिले आफैँ माटो मुछ्ने, माटोका सामग्री बनाउँदा चक्का हातले घुमाउनुपर्ने र बनाएका भाँडा पकाउन दाउरा खोज्नुपर्ने समस्या छैन । परम्परागत पेसालाई आधुनिकीकरण गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय सरकारले माटोे मुछ्ने मेसिन, सामग्री बनाउन चक्का घुमाउने मोटरसँगै बनाएका माटोका भाँडा पकाउन आधुनिक भट्टी निर्माण भएपछि पछिल्लो समय माटोका भाँडा बनाउने काममा सहज भएको राजुकमारले बताउनुभयो । “पहिले जङ्गलबाट ल्याएको माटो मुछ्नै समस्या हुन्थ्यो, तर अहिले मेसिनबाट एकैछिनमा माटो तयार हुन्छ”, राजकुमारले भन्नुभयो, “प्रविधिका बारेमा थाहा नहुँदा काममा ढिलाइसँगै दुःख हुन्थ्यो, तर अहिले यी समस्या हटेका छन् ।” प्रविधिले गर्दा काम छिटो हुनुका साथै धेरै सामग्री उत्पादन गरेर बिक्री गर्दा आम्दानीसमेत बढेको उहाँको भनाइ छ । राजकुमारको जस्तै अनुभव सोही ठाउँ निवासी ५६ वर्षीय तारा थारू कुमालको पनि छ । लामो समय परम्परागत आफूले माटो मुछ्नेदेखि हातेचक्काको भरमा माटोका सामग्री बनाएका ताराले विगत एक वर्षदेखि मोटरको माध्यमबाट चक्का चलाएर माटोका भाँडा बनाउँदै आएको बताउनुभयो । “पहिलेको तुलनामा अहिले माटो मुछ्नदेखि बनाएका भाँडा पकाउनसमेत सजिलो भएको छ”, उहाँले भन्नुभयोे, “जसले गर्दा थकाइ नलाग्ने र छोटो समयमै धेरै काम गर्न सकिने भएको छ ।” माटोका भाँडा बनाउने पेसामा दुःख र मेहनत धेरै गर्नुपर्ने भएका कारण लामो समय गर्न नसक्ने अवस्था भएको भन्दै प्रविधिको सहजताले पछिसम्म पनि काम गर्न सकिन्छ कि भन्ने आँट पलाएको उहाँ बताउनुहुन्छ । “परम्परागतरूपमा पहिले काम गर्दा माटो मुछ्नेदेखि पकाउन समस्या थियो, कहिलेकाहीँ त मेहनत नै खेर जाने अवस्था हुन्थ्यो”, पत्रिङ्गा निवासी ताराले भन्नुभयो, “अहिले त्यो जोखिम छैन, प्रविधिको सहजताले माटो मुछ्ने, भाँडा बनाउनेदेखि पकाउनसमेत आधुनिक भट्टी बनेको छ ।” आधुनिक भट्टीका कारण कम दाउरामै धेरै सामग्री पाक्ने गरेको उहाँले बताउनुभयो । उहाँहरूले माटोबाट घैँटा, मट्टे, गमला, पाला, करुवा, हाँडी, खुत्रुकेलगायतका आकर्षक सामग्री तयार पारी बिक्री गर्दै आउनुभएको छ । पछिल्लो समय दसैँ, तिहारजस्ता पर्वमा बत्ती बाल्ने पाला, घरमा पुष्प रोप्नका लागि गमलासँगै विभिन्न सांस्कृतिक कार्यक्रममा चौधरी समुदायका महिलाले बोकेर लैजाने मट्टेलगायतका सामग्री राम्रै बिक्री हुने उहाँ बताउनुहुन्छ । उहाँले यसरी बनाइएका सामग्री पहिले बोकेरै बिक्री गर्न गाउँगाउँ जाने गरे पनि पछिल्लो समय घरबाटै बिक्री हुने गरेको बताउनुभयो । “पहिले बनाएका सामग्री बिक्रीका लागि आफैँ जानुपर्ने अवस्था थियो, तर अहिले घरबाटै बिक्री हुने गर्दछन्”, उहाँले भन्नुभयो, “हामीले बनाइदिन्छाँै, व्यापारी घरमै आएर लग्ने गर्छन् ।” विगतको तुलनामा कम बिक्री पछिल्लो समय माटोबाट बनेका सामग्रीको बिक्रीमा कमी हुँदै आएको छ । प्रविधिको विकाससँगै धातु तथा प्लास्टिकका सामग्रीको प्रयोग बढेपछि माटोबाट बनेका सामग्रीको बिक्रीमा कमी आएको गढवा गाउँपालिका–३ गैरा निवासी कमला कुमाल बताउनुहुन्छ । विशेषगरी प्लास्टिकका भाँडाको प्रयोग बढेपछि माटोका भाडा बिक्रीमा कमी आउनुका साथै केही परिवारले काम नै छोडेको उहाँको भनाइ छ । दसैँ, तिहारलगायतका पर्वमा बिक्री हुने पालालाई पछिल्लो समयमा झिलीमिली बिजुली बत्तीसँगै घैँटा, मट्टे, करुवा, गिलासलाई धातु र प्लास्टिकका गिलासले विस्थापित गरे पनि पछिल्लो समय परम्परागत सामग्रीले प्राथमिकता पाउन थालेपछि केही उत्साह थपिएको उहाँको भनाइ छ । उहाँका अनुसार पछिल्लो समय मट्का चियाका लागि गिलाससँगै कार्यक्रममा सजाउनका लागि गमला, मट्टेलगायतका भाँडा बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । रासस

जलेश्वर (महोत्तरी), २८ असोज :

बडादसैँको अवसर पारेर महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ । प्रत्येक वर्ष असोज र चैतको दसैँका बेला गरी दुईपटक मात्रै खोलिने गरेको यस मन्दिर आज बडादसैँ सुरु भएसँगै त्रिशूली देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताउनुभयो । वर्षमा मात्र दुईपटक खुला गरिने यस मन्दिरमा बिहान ४ः०० बजेदेखि नै पूजाअर्चना गर्ने दर्शनार्थीको घुइँचो लागेको छ । त्रिशूल धारण गरेकी त्रिशूलीदेवी भवानीको मन्दिर वर्षभरि खोलिदैन भने उनको प्रतिमा वर्षभरि कसैले हेर्न वा छुन पाउँदैनन् । असोज र चैतको दसैँमा पुजारीले विशेष पूजाआजा गर्ने, सर्वसाधारणले माताको दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था रहेको पुजारी पाठकले बताउनुभयो । जलेश्वरनाथ महादेव मन्दिरको त्रिशूली देवीको महोत्तरी, धनुषा, सिरहा र सर्लाहीलगायत भारतको सीतामढी तथा मधुवनीमा निकै प्रख्यात रहेको छ । यी जिल्ला तथा भारतका विभिन्न ठाउँबाट त्रिशूलीदेवी मन्दिरमा दर्शनका लागि हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् । दसैँमा त्रिशूली देवीको पूजा र दर्शन गर्न नपाएका भक्तजन पुनः वर्षभरि माताको मन्दिर खुल्ने प्रतीक्षा गर्नुपर्ने हुन्छ । त्यसैले दसँैभरि त्रिशूलीदेवी मन्दिरमा ठूलो भीड लाग्ने तथा लाखौँको भेटी र प्रसाद चढाइने गरिन्छ । त्रिशुली मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास रहेको र वर्षमा दुईपटक मात्रै माताको दर्शन हुने हुँदा सर्वसाधारणको आस्थाको केन्द्र बनेको छ । रासस

चितवन, २८ असोज :

नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया सङ्गीता भण्डारी रहेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ नौकिलो नजिक बाप्र०२०४६प १६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई पल्टिँदा चालक भण्डारीको मृत्यु भएको हो । आज बिहान ७ः४५ बजे दुर्घटना हुँदा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । रासस

महोत्तरी, २८ असोज :

असोज शुक्लपक्षको प्रारम्भसँगै महोत्तरीसहितका मिथिला क्षेत्रमा दशहारा (शारदीय नवरात्र, बडादसैँ) पर्व सुुरु भएसँगै चहलपहल बढेको छ । आज असोज शुक्ल प्रतिपदाका दिन शारदीय नवरात्र (दशहरा)को घटस्थापना विधिका लागि देवी शक्तिपीठ, दुर्गा प्रतिमा निर्माणस्थल र घरघरैजसो देवी आराधनाका मङ्गलधून बज्न थालेका छन् । मिथिलामा बोलीचालीमा ‘दशहारा’ भनिने बडादसैँ पर्वको पहिलो दिन नै मिथिलाक्षेत्र देवी भजनले गुञ्जायमान बनेको छ । देवी दुर्गाको आराधना गरिने मिथिलामा दुई नवरात्र प्रचलनमा छन् । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रलाई शारदीय र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मलाई वासन्ती नवरात्र भनिने गरिएको छ । शास्त्रीय विधानमा भिन्नभिन्न ऋतुका दुई नवरात्र उल्लेख भए पनि शारदीय नवरात्र नै मुख्य ‘दशहरा’ मानिदै आइएको छ । “शास्त्रीय विधानमा दुवै नवरात्रको उत्तिकै महिमा र समान पूजाविधिको व्यवस्था छ, तर मिथिलामा उल्लास र उत्सवको पक्षबाट सधैँ शारदीय नवरात्र नै मुख्य रहँदै आएको छ”, मिथिला लोकपरम्परा र कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का पण्डित महेशकुमार झा भन्नुहुन्छ, “शारदीय नवरात्रमा झिझिया नृत्य र ढोल बज्ने परम्परा मिथिलाका खास विशिष्ट हुन् ।” यद्यपि पछिल्ला केही दशकयता ‘दशहाराके ढोल’ र भिझिया नृत्य परम्परा हराउँदै गएको झाको ठम्याइ छ । शारदीय नवरात्रको पहिलो दिन आज मिथिला क्षेत्रका प्रसिद्ध देवी शक्तिपीठ र मन्दिरमा दशहारा पर्वको घटस्थापना गर्न एकाबिहानैदेखि पवित्र जलाशयबाट जल ल्याउन कलशयात्रा आयोजन गरिएका छन् । कन्या कुमारीहरू (अविवाहित किशोरी)ले आज धार्मिक महत्वका नदी र तलाउबाट नयाँ घडामा भरेर ल्याएका पूर्ण कलशको जलले देवी प्रतिमा र मन्दिर परिसर सिञ्चित गर्दै सोही जलको कलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिने मिथिला परम्परा छ । यस क्रममा महोत्तरीका प्रसिद्घ देवी शक्तिपीठ बर्दिबास नगरपालिका–४ स्थित पञ्चधुरा माईस्थान मन्दिर, औरही नगरपालिकाको सोनामाइस्थित सोनामाई मन्दिर, जलेश्वर नगरपालिका–१ स्थित सन्सारी माई र राजदेवी मन्दिरमा एक हजार आठ कन्याहरूले रातु नदी तथा लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड एवं भार्गवसरलगायतका धार्मिक महत्वका तलाउबाट नयाँ शुुद्ध घडामा भरेका पवित्र जल कलश यात्रासहित मन्दिर परिसरमा पुर्याउँदैछन् । घटस्थापना असोज शुक्ल प्रतिपदामा हुने र यसपालि हिजो शनिबार मध्यरातअघि (गएराति १०ः५३ मिनटदेखि) नै यो तिथि प्रारम्भ भएको हुँदा अन्य नक्षत्रादिको भोग अवस्थाले आज मध्याह्नपूर्व (साढे ११ बजेअघि, ठीक साइत ११ः२९ मिनेटको समय)भित्र घटस्थापना गर्न उत्तम हुने मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गको आधार दिँदै झाले बताउनुभयो । मिथिलामा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा शुभमुहुर्त पहिल्याउने परम्परा छ । यसबाहेक पर्वविशेषमा यस क्षेत्रका विभिन्न ठाउँमा बनाइएका देवी प्रतिमास्थलमा पनि आज कलशयात्रासँगै घटस्थापना सम्पन्न गरिँदै छ । आजै मन्दिरमा जौँ, तिल, गहुँ, धान, मकैसहितको जमरासमेत राखिने छ । पर्वका अवसरमा मिथिलाका गाउँ÷नगर बस्तीका कैयौँ ठाउँमा देवी प्रतिमा बनाइएका छन् । खासमा मधेस प्रदेशका मिथिला क्षेत्रमा महोत्तरीका पञ्चधुरा माई, सोनामाई, सप्तरीका सकरा भगवती, कङ्कालिनी माई, छिन्नमस्ता, जनकपुरस्थित राजदेवी मन्दिर (परापूर्वमा राजा जनकले पूजापाठ गर्ने कूलदेवी मानिएको) र बारा जिल्लाको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा पूजिन्छन् । नवरात्र प्रारम्भसँगै जताततै देवी दुर्गाका भजन गुञ्जिन थालेका छन् । हिन्दू परम्पराका सबै मैथिल घरपरिवारमा देवीको पूजाअर्चना गरिने र चण्डी पाठ गरिने परम्परा छ । दशैँ प्रारम्भसँगै महोत्तरीका गाउँ÷नगर बस्तीमा धमाधम लिङ्गे पिङ गाड्ने तयारीमा युवापुस्ता लागेका छन् । दशहारा पर्वमा ‘दुर्गा मेला’ आयोजन गरिने मैथिल परम्परा छ । यसअनुसार बस्ती–बस्तीमा जसो देवी दुर्गाका प्रतिमा बनाइएर उत्सवमयरूपमा ‘दुर्गा मेला’ को आयोजना गरिँदै छ । नवरात्र अवधिमा क्रमशः देवी दुर्गाका नौ रुप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुश्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदातृको आराधना क्रमशः प्रतिपदा (घटस्थापना)का दिनदेखि नवमीसम्म गरिन्छ । दशमीका दिन देवी पूजन विसर्जन गरेर प्रसादस्वरुप जमरा लगाएर मैथिल परम्पराको शारदीय नवरात्र सम्पन्न गरिन्छ । असत्यमाथि सत्यको विजयको प्रतीक मानिने यसै पर्व अवधिमा देवी दुर्गाले चण्ड–मुण्ड, शुम्भ–निशुम्भ र महिषासुरसहितका राक्षसको संहार गर्नुभएको देवीभागवत्मा वर्णित छ । यस अवधिमा देवी दुर्गाको उपासनाले मन, वचन र कर्ममा शुद्धता आउने तथा सधैँ सत्कर्म, सद्विचार र सद्आचरणमा प्रवृत भइने हिन्दू मैथिल जनविश्वास छ । रासस

सर्लाही, २८ असोज (रासस) :

सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका तीनवटा चिनी उद्योगलाई रु ४१ लाख क्विन्टलभन्दा बढी उखु बेचेका किसानले राज्यले उपलब्ध गराउनुपर्ने अनुदानबापतको प्रतिक्विन्टल रु ७० का दरले रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ उखु बेचेको सात महिना हुँदासमेत नपाएको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार दसैँको मुखमा पनि उखु बेचेको अनुदानबापतको रकम नपाउँदा जिल्लाका किसान निराश भएका छन् । उखु बेचेको अनुदानबापतको रकम नदिँदा जिल्लाका उखु उत्पादन किसानमा दसैँ कसरी मनाउने भन्ने चिन्ता बढेको अध्यक्ष मैनालीले बताउनुभयो । जिल्लाका इन्दुशङ्कर चिनी उद्योग हरिवन, महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौललाई आर्थिक वर्ष २०७९÷८० मा १८ हजार दुई सय ८६ किसानले ४१ लाख ७९ हजार तीन सय २४ दशमलव ९९ क्विन्टल उखु बिक्री गरेका थिए । त्यसमध्ये राज्यले दिनुपर्ने अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदासमेत नपाएको बागमती नगरपालिका–४ का किसान केदारनाथ प्रसाईँले गुनासो गर्नुभयो । अहिलेसम्म अर्थ मन्त्रालयबाट उखुको अनुदान रकम प्राप्त नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक पुरुषोत्तम बरालले बताउनुभयो । उहाँका अनुसार कार्यालयलाई रकम प्राप्त भएपछि करिब दुई साता आन्तरिक तयारी गरेपछि किसानको खातामै रकम पठाउन सकिने छ । सरकारले आव २०७९÷८० मा उखुको मूल्य प्रतिक्विन्टल रु छ सय १० निर्धारण गरेको र त्यसमध्ये चिनी उद्योगले प्रतिक्विन्टल रु पाँच सय ४० भुक्तानी गर्ने र बाँकी प्रतिक्विन्टल रु ७० सरकारले अनुदानबापत उपलब्ध गराउने सहमति भएको नेपाल उखु उत्पादन किसान महासङ्घका अध्यक्ष मैनालीले बताउनुभयो । उहाँका अनुसार राज्यले दिनुपर्ने अनुदानबापतको रकम उखु बिक्री गरेको सात महिना भइसक्दा समेत उखु उत्पादक किसानले नपाउँदा किसानमा थप निराशा छाएको छ । आफूहरुले पटक–पटक अर्थ मन्त्रालयमै पुगेर ताकेता गर्दा पनि सरकारले जिल्लामा अनुदान रकम पठाउन आलटाल गर्दै आएको अध्यक्ष मैनालीले आरोप लगाउनुभयो । गत वर्ष पनि दसैँको मुखैमा उखुको अनुदान रकम निकासा भएको थियो । रासस

मध्यविन्दु (नवलपरासी), २८ असोज :

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ घर मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन् । नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका मुसहर समुदाय माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन् । केही वर्षअघिसम्म काँधमा जाल बोकेर नदीमा माछा मार्न जाने बमबहादुर मुसहर हिजोआज साइकलमा तरकारी बोकेर हाटबजार जाने गर्नुभएको छ । “वैकल्पिक पेसा नखोजे त भोकै मरिन्छ, तरकारी बेचेर राम्रै कमाइ भएको छ”, उहाँले भन्नुभयो । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती छेउको सानो घर र घरनजिकको सामूहिक प्लटमा आफैँले फलाएका स्थानीय जातका तरकारी बेच्ने बमबहादुरकहाँ ग्राहक झुम्मिने गरेका छन् । उहाँले लुँडे, खोले साग, फर्सीको मुन्टा, स्थानीय जातको खुर्सानी, केरुङ साग, मकै, बोडी र ताजा निगुरो बेच्नुहुन्छ । कावासोती हाटबजारमा प्रत्येक हप्ताको सोमबार, बुधबार र शनिबार तीन दिन बमबहादुर साइकलमा तरकारी बोकेर हाट लाउन जाने गर्नुभएको छ । “नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएको हाम्रो परिवार अहिले तरकारी बेच्न हाटबजार आउने गरेका छौँ”, उहाँले भन्नुभयो, “पुगेसम्म त आफैँले उत्पादन गरेका तरकारी बेच्छु, व्यापार त गर्नैपर्छ कहिलेकाहीँ स्थानीय उत्पादन पनि खरिद गरेर बेच्ने गरेको छु ।” पुख्र्यौली पेसामा सङ्कट आउन थालेपछि आफूहरू वैकल्पिक आयआर्जनको बाटोतर्फ लागेको स्थानीय रमिया मुसहरले बताउभयो । “हुन त हाम्रो परम्परागत पेसा माछा मार्ने नै हो तर यो पेसामा समस्या आउन थाल्यो, नदीमा माछा पाइन छाड्यो”, उहाँले भन्नुभयो, “निकुञ्जको निगरानी पनि बढ्दै गयो, गैँडा, बाघजस्ता जङ्गली जनावरको जोखिमसँगै मुसहर समुदाय पेसा परिवर्तनतर्फ लागेका हौँ ।” पछिल्लो समय कृषि पेसाबाटै जीविकोपार्जन गर्दै आउनुभएका स्थानीय धर्मबहादुर मुसहर मछुवारी पेसाभन्दा खेती किसानीले नै परिवारमा केही खुसीयाली थपिएको बताउनुभयो । केही मुसहर परिवारले बस्ती छेउको खाली जग्गामा खनिएको माछापोखरीमा रहु, नैनी, कमनलगायतका उन्नत जातका माछा पालेर थप आयआर्जन पनि गर्ने गरेका छन् । माझी, मुसहर र बोटे समुदायका मानिसमा चेतनाको विकास भएसँगै माछा मारेरमात्र जीवन नचल्ने देखेर अन्य पेसा अँगाल्ने क्रम बढेको स्थानीय सन्तबहादुर माझीले बताउनुभयो । “माझी, मुसहर र बोटे समुदायका मानिस अहिले खेतीपाती, ज्याला मजदुरी, वैदेशिक रोजगारीमा र कतिपय सिकर्मी, डकर्मी पेसातर्फ उन्मुख भएका छन्”, उहाँले भन्नुभयो, “पहिले–पहिले तराई क्षेत्रमा आवादी खुले पनि राज्यसँगको पहुँच नहुँदा जग्गा, जमिन जोड्ने कुराबाट बञ्चित मुसहर समुदाय कतिपय स्थानीय बस्तीका किनारमा झन्डै दुई पुस्तादेखि भूमिहीन अवस्थामै छन् ।” नदी, खोलाको माछा र निकुञ्जको निगुरो, तामामा आश्रित यो विपन्न समुदाय पेसा परिवर्तन गरेर निकुञ्जबाट बाहिर निस्कने प्रयासमा रहे पनि आर्थिक उत्थानमा राज्यको नजरबाट भने ओझेलमै रहेको गुनासो छ । रासस

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।