२०८३ भाद्र ४
२०८३ भाद्र ४

काठमाडौँ, २८ असोज :

विधागत पत्रकारिताबारे दुईवटा आलेख प्रकाशन भएपछि प्राप्त केही टिप्प्णीले मलाई यस विषयमा लेख्न थप प्रोत्साहित गरेका छन् । प्रशंसा वा आलोचना होइन, यसबारेमा थप जानकारी चाहियो भन्ने कतिपय पत्रकार मित्रहरुको व्यक्तिगत आग्रहले मलाई यसै विषयमा थप लेख्न प्रेरित गरेको हो । विधागत पत्रकारिता शब्द अङ्ग्रेजीको ‘बिट रिपोर्टिङ’बाट अनुवादित छ । शब्दकोषहरूले साहित्यमा प्रयोग हुने विधाको अर्थ काव्य वा साहित्यमा प्रचलित नाट्य, कविता, कथाजस्ता ‘खासखास विषय, प्रकार वा किसिम’ भनेर परिभाषित गरेका छन् । त्यसैले बिट रिपोर्टिङलाई नेपालीमा विधागत रिपोर्टिङ र यसलाई समेट्ने पत्रकारितालाई विधागत पत्रकारिता भन्नु उचित देखिन्छ । हालै बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले प्रकाशन गरेको ‘विधागत पत्रकारिता हातेकिताब’को सम्पादन तथा परिचयात्मक खण्ड लेख्ने क्रममा सो पुस्तकका विभिन्न लेखक तथा अन्य नेपाली तथा विदेशी अग्रजहरूले यसबारेमा गरेका टिप्पणी रोचक पाइएको थियो । अनुसन्धाता तथा पत्रकार कुमार यात्रुका विचारमा फरक–फरक धारका सूचना सङ्कलन र सम्प्रेषण गर्नका लागि सञ्चारमाध्यमका सदस्यले विशेष मुद्दा वा विधाको जिम्मेवारी लिएर पत्रकारिता गर्ने भएकाले विधागत पत्रकारितालाई ‘कार्यक्षेत्र पत्रकारिता’ भन्न सकिन्छ । यसरी कुनै विषयमा समर्पित भएर गरिने पत्रकारितालाई ‘विषयगत पत्रकारिता’को सङ्ज्ञा दिन सकिने वरिष्ठ पत्रकार तथा लेखक श्रीरामसिंह बस्नेतको बुझाइ रहेको पाइयो । ‘स्टोरी’ तयार गर्न रिपोर्टरलाई सीमित समय दिइने भएकाले नै बिट रिपोर्टिङ हुने गरेको मिडिया समाजशास्त्रीहरूको भनाइ छ । बिट रिपोर्टिङ पत्रकारिताको सीमा भने होइन । तर, आम रिपोर्टरहरूले जुनसुकै कुरामा पनि रिपोर्टिङ गर्नुपर्छ र सबै कुराको केही न केही जानकारी राख्नैपर्छ तर विधागत पत्रकारहरू खास विषय वा विषय क्षेत्रबारे गहिरो जानकार हुनुपर्छ । एनबिसी न्यूजका वरिष्ठ सम्पादकीय निर्देशक जोय वाङका विचारमा पत्रकारितामा बिट भनेको विशेषज्ञताको त्यस्तो क्षेत्र हो जहाँ पत्रकारले समाचार–कथाद्वारा विशेषज्ञता प्रमाणित गरेको हुन्छ । यस मामिलामा मैले प्राप्त गरेको पृष्ठपोषण हो– विधागत पत्रकारिताभित्र खासमा कुन–कुन विधा पर्छन् त ? अनि ठ्याक्कै कतिवटा विधा हुन्छन् ? सुन्दा सामान्य लाग्ने यो वास्तवमा जटिल प्रश्न हो । यस लेखमा यसै प्रश्नको सेरोफेरोमा रहेर चर्चा गरिन्छ । विधागत पत्रकारिताभित्र पनि विविधता छ । कोही ज्यादै फराकिलो क्षेत्र समेट्ने विधा छन् भने कुनै खास विषयमा केन्द्रित छन् । त्यसैले विधागत पत्रकारितालाई अनेक आधारमा विभिन्न किसिममा विभाजन गर्न सकिन्छ । कतिपय विद्वानले प्रविधिका आधारमा बाँडेका छन्– छापा, रेडियो, टेलिभिजन र डिजिटल पत्रकारिता । माध्यमभित्रै अन्तरवार्ताकार, फोटो पत्रकार, कार्टुनिष्ट, ग्राफिक डिजाइनर, टिभी क्यामरापर्सन, पाण्डुलिपि सम्पादकआदि रुपमा विशिष्टीकरण गरेर छुट्याउनेहरू पनि छन् । रक्षा, अपराध, अदालत, राजनीति, खेलकुद, मनोरञ्जनजस्ता परम्परागत विधाका कुरा गर्नेहरू त छँदैछन् । अहिलेको समयमा कृत्रिम बौद्धिकता, पोडकाष्ट, मोजो (मोबाइल जर्नालिजम), डोजो (ड्रोन जर्नालिजम), डेटा जर्नालिजमजस्ता अत्याधुनिक रूपसमेत पत्रकारिता र विश्वविद्यालयका पाठ्यपुस्तकमा समेटिँदै पत्रकारिताका पुराना सीप, शैली र प्रविधिमाथि कडा दबाब पैदा गर्दैछन् । डिजिटल युगमा विधागत पत्रकारिता र सम्पादनका सम्बन्धमा सेज प्रकाशनले सन् २०२१ मा निकालेको एक पुस्तकमा सुरभी दहिया र शम्भु साहुले पनि यसबारे सविस्तार उल्लेख गर्नुभएको छ । प्रविधि र सीपको विकासका आधारमा भन्दा अलि फरक विश्लेषणसहित न्यूयोर्कमा मुख्यालय रहेको एनबिसी न्यूजका वरिष्ठ सम्पादकीय निर्देशक जोय वाङ पत्रकारितामा मुख्य तीन आधारमा बिट छुट्याउन सकिने ठान्नुहुन्छ । ती हुन्– भौगोलिक क्षेत्र विभाजन (टेरिटोरियल बिटस्), सरकारी निकायहरूको जस्तो क्षेत्राधिकार विभाजन (जुरिस्डिक्सनल बिटस्) र सामयिक विषयवस्तुका आधारमा विभाजन (टपिकल बिटस्) । यसलाई क्रमशः स्थानका आधारमा (लोकेसन बिटस्), निकाय वा संस्थाका आधारमा (एन्टिटी बिटस्) र विषयक्षेत्रका आधारमा बिट (सब्जेक्ट बिटस्) पनि भन्ने गरिएको छ । पहिला, टेरिटोरियल बिटको कुरा गरौँ । वाङले ‘मध्यपूर्व’ भनेर उदाहरण दिए जसरी नेपालको सन्दर्भमा हेर्दा यो विभिन्न ब्यूरो, जिल्ला, नगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क आदि छुट्याएर रिपोर्टिङ गरिने तरिकालाई लिन सकिन्छ । ठूला समाचार संस्थाले वाशिङ्गटन, लण्डन, मस्को, बेइजिङ, नयाँ दिल्लीजस्ता ठूला सहरमा आफ्ना विशेषज्ञतासहितका रिपोर्टर राखेका छन् । केही नेपाली मिडियाले पनि काठमाडौँ महानगर, भारत प्रवास, युरोप, अमेरिका, जापान, कोरिया, अष्ट्रेलिया, गैरआवासीय नेपाली, खाडी (अरब), मलेसियाआदि बिट छुट्याएको पाइन्छ । दोश्रो हो– जुरिस्डिक्सनल बिट विभाजन । अदालत, प्रहरी, सेना, संसद्, दल विशेष, परराष्ट्र, वैदेशिक रोजगारी, स्थानीय सरकार, बैंक, उद्योगआदि जसरी छुट्याइएको हुन्छ । विदेशी मिडियाले पनि कर्पोरेट मात्र नभनेर त्यसभित्र कम्पनी नै तोकेर वा न्याय विभाग, स्थानीय सरकारआदि भनेर पनि बिट छुट्याएको एनबिसी न्यूजका वाङको अनुभव छ । तेश्रो– टपिकल बिट । राजनीति, युद्ध, द्वन्द्व, मानवअधिकार, विपद् मामिला, आघात, महिला, बालबालिका, ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा, आन्तरिक सुरक्षा, यातायात, स्वास्थ्य, शिक्षा, पर्यटन, वातावरण, वन, जलवायु परिवर्तन, आर्थिक मामिला, सेयरबजार, बैंकिङ, सहकारी, ऊर्जा, संस्कृति, साहित्य, खेलकुद, मनोरञ्जन, सूचना प्रविधि, कृषि आदि हुन् । विधा नै नभने पनि पत्रकारिताका गुरू लालदेउसा राईले २१ वर्षअघि नै ‘अखबारी पत्रकारिता’ पुस्तिकामा समाचारको किसिम छुट्याएर विधागत पत्रकारिताको बाटो देखाइसक्नुभएको छ । उहाँका अनुसार समाचारको विषयवस्तुका आधारमा, समाचार पाइने ठाउँ वा स्रोतका आधारमा र समयको दृष्टिकोणबाट पनि समाचार के हो बुझ्न सकिन्छ । विधामात्रै भनेर पनि पुग्दैन । पत्रकारितामा प्रहरी, अदालत, स्वास्थ्यआदिजस्ता विधा त मिडियाअनुसार प्रायः आधारभूत विधा नै बनेका देखिन्छन् । त्यसबाहेक खेलकुद, मनोरञ्जन, आर्थिकआदि विधालाई हेर्ने हो भने त्यहाँभित्र पनि अनेक शाखा छन् । जस्तैः मनोरञ्जनभित्र चलचित्र, रङ्गमञ्च, टिभी, सङ्गीत, नृत्यआदि । खेलकुदभित्र प्रमुख खेलैपिच्छेका विशेषज्ञता । आर्थिक पत्रकारिताभित्र बैंक तथा वित्तीय संस्था (बिएफआई), सेयरबजार, बीमा, कलकारखाना, सेवा उद्योग, व्यापार तथा वाणिज्य, सहकारी, घरजग्गा, सूचना–प्रविधि उद्योगलगायतका अनेक उप–विधाको अभ्यास भइरहेको छ । विधाको विकास मिडियाको प्राथमिकताको आधारमा पनि हुने गरेको देखिन्छ । सम्पादक कपिल काफ्लेका शब्दमा विश्वमा पत्रकारिता युद्ध र व्यापारको समाचारका साथ उदाएको हो र त्यही कारणले गर्दा मानवअधिकार यसको पहिलो रोजाइको विषय नबनेको हो । काफ्लेको ठहर छ, “समाजले जुन विषयलाई महत्व दिन्छ, त्यसलाई नै समाचार बनाउने पत्रकारिताको धर्मअनुसार सञ्चारमाध्यममा यसले महत्व पाउन थालेको बुझ्न गाह्रो छैन ।” मान्छेका असीमित उत्सुकतासँगै पत्रकारिताका विधा पनि बढेका छन् । केही विधा अलि बढी लोकप्रिय छन् भने केही अलि कम । लोकप्रियताको मापन रुचि–समूहभित्र हुनुपर्छ । सञ्चार प्रतिष्ठान तथा तिनका सम्पादकीय नेतृत्वले पनि सोहीअनुरुप पत्रकारहरूलाई परिचालन गर्ने प्रचलन अन्यत्र जस्तै नेपाली पत्रकारितामा पनि बढ्दो छ । केही विधाको त लामै इतिहास बनिसकेको छ । विधागत पत्रकारिता आफैँमा पत्रकारिताको कुनै प्रकार भने होइन । पत्रकारिताको प्रकार भन्नुको अर्थ त अध्यापन र अनुसन्धान विधि नै अलग प्रयोग गर्ने साधारणतया एकार्कामा स्वतन्त्र पत्रकारिताका क्षेत्र हुन्, जस्तैः खोजी पत्रकारिता, फिचर लेखन, स्तम्भ लेखनआदि । भारत, गुजरातको अहमदावादस्थित नेशनल इन्स्टिच्युट अफ मास कम्युनिकेशन एण्ड जर्नालिजम (एनआइएमसीजे)का अनुसार विधागत पत्रकारिता विभिन्न प्रकारका पत्रकारिताको उपक्षेत्र हो र पत्रकारितामा विधा भन्नुको अर्थ नै कुनै पनि प्रकारको पत्रकारिताको गहिराइमा जानु हो । ‘अक्सफोर्ड रिसर्च इन्साइक्लोपेडिया अफ कम्युनिकेशन’को ‘बिट जर्नालिजम एण्ड रिपोर्टिङ’मा मेलानी म्यागिन र पिटर मौररले उल्लेख गरेअनुसार विधागत पत्रकारितामा गरिएको अनुसन्धान अहिलेसम्म दुई पक्षमा केन्द्रित देखिन्छ । पहिलो, स्थिर एवं उच्च आय भएका लोकतन्त्र र दोश्रो, पत्रकारिताको सबैभन्दा आधारभूत र प्रमुख विधाको रुपमा राजनीतिक पत्रकारिता । कथात्मक वा वर्णनात्मक पत्रकारिता पनि भनिने रचनात्मक तथा कथात्मक शैलीलाई सन् १९९० को दशकमा आएर ‘साहित्यिक पत्रकारिता’ वा ‘सृजनात्मक गैरआख्यान’को रुपमा ‘रि–ब्राण्डिङ’ गरिएको थियो । नेपालमा भने त्योभन्दा करिब एक शताब्दी अगाडि नै मोतीराम भट्टको अगुवाइमा सुधासागरबाट त्यस्तो ब्राण्ड देखापरिसकेको थियो । भट्टले नै रामकृष्ण बर्मासँग मिलेर वनारसबाट निकालेको गोर्खा भारत जीवनलाई हेर्ने हो भने त त्योभन्दा १२ वर्षअगाडि पुगिन्छ । पत्रकारिताको आकर्षक, कठिन र सजीव पक्ष फोटो पत्रकारिताको थालनी सन् १८९० मा बेलायतमा टेलिग्राफ पत्रिकाले गरेकोमा नेपालमा त्यसको करिब ३७ वर्षपछि गोरखापत्रले सबैभन्दा पहिला तस्वीर छाप्ने इतिहास बनाएको पाइन्छ । पत्रपत्रिकामा निकै लोकप्रिय र चर्चित व्यङ्ग्य चित्र (कार्टुन) विधा सन् १८४१ मा बेलायतबाट सुरु भएको ५५ वर्षपछि नेपाली पत्रकारितामा आइपुगेको हो । नेपालकै संसदीय पत्रकारिताको अभ्यासको कुरा गर्दा २०१५ सालमा संसद्को निर्वाचन हुनुअघिको सल्लाहकारसभा र निर्वाचनपछि बनेको संसद्को समाचार सङ्कलन गरेको अनुभव नेपाली पत्रकारहरूले गरेकै हुन् । त्यतिबेला समाचारमा त्रुटि हुँदा संवाददाता नै प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका अगाडि गृहमन्त्री सूर्यप्रसाद उपाध्यायसमक्ष स्पष्टीकरण दिन एकाबिहानै हाजिर हुनुपर्ने अनुभव भैरव रिसालजस्ता पाका पत्रकारहरूबाट अझै सुन्न पाइन्छ । पत्रकारिताका प्राध्यापक पी खरेलका विचार पढ्दा सांसदहरूले जनचासोका र आम जनताको सामूहिक हितका लागि कस्ता सुझाव एवं प्रस्ताव ल्याए र चुनावी क्षेत्रका साथै राष्ट्रिय मुद्दाबारे कसरी प्रस्तुत भए भन्ने जस्ता विषय नियालेर समाचार र विश्लेषण दह्रो किसिमबाट व्यावसायिक मान्यताअनुरुप पेस गर्नु नै संसदीय पत्रकारको धर्म हो भन्ने बुझिन्छ । विधागत नेपाली पत्रकारिताको अभ्यासका अनेक पक्ष छन् । निकै अगाडिदेखि आर्थिक पत्रकारिता हुँदै आए पनि २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि व्यावसायिक रूपमा यो विधा अगाडि बढेको हो । स्वास्थ्य पत्रकारिताको कुरा गर्दा जिन्दगी नै यस विधामा बिताएका पत्रकारले पनि नयाँ स्वास्थ्य चुनौती देखिने बित्तिकै यस प्राविधिक क्षेत्रको रिपोर्टिङ गर्दा गल्ती गर्ने सम्भावना हुन्छ, कोभिड महामारीको बेला यो स्पष्ट देखियो । शिक्षा क्षेत्र र नागरिकबीच संवाद गराउनुका साथै शिक्षकको क्षमता अभिवृद्धिमा सघाउन, शिक्षण पेसाको प्रतिष्ठा तथा विद्यार्थीको ज्ञान अभिवृद्धिमा सन्देश फैलाउन, सरोकारवालाबीच सार्थक सम्बन्धका उपाय पस्कन र नीति निर्माता, कार्यान्वयनकर्ता र उपभोक्ताबीचसेतु बन्नसक्ने शिक्षा पत्रकारिताको फराकिलो आयाम छँदैछ । विज्ञान पत्रकारहरूको ठूला काम वैज्ञानिकहरूलाई नागरिकसँग जोडिदिनु हो । यसरी विधाहरूको व्यापक आयाम र सम्भावना देखेपछि फेरि पनि एक पत्रकारको मनमा द्विविधा उत्पन्न हुनसक्छ– के आधारमा कुन विधा छान्ने ? आधार यत्ति हो– आफ्नो रुचि र विषयवस्तुमाथिको दखल । एक सम्पादकको दृष्टिले जहिले पनि सकेसम्म विषयवस्तुमाथि अर्जुनदृष्टि राख्न सकिने गरी विधा छान्नु उपयुक्त हुने सल्लाह दिइन्छ । एनबिसी न्यूजका सम्पादकीय निर्देशक वाङ पनि त्यसै गर्नुहुन्छ । जस्तै– “यदि तपाईं ‘बिजनेस रिपोर्टर’ हो भने त्यहाँभित्र पनि पुँजीबजार वा उद्योग विशेष वा आफ्नो रुचिको कुनै क्षेत्रमा ध्यान केन्द्रित गर्नुहोस् । तपाईंको क्षेत्रअनुसारका कम्पनीमाथि नजर राख्नुहोस् । कुन समाचार ‘अपडेट’का लागि कोसँग सम्पर्क गर्नुपर्छ, ध्यान दिनुहोस् ।” त्यति मात्रले पनि पुग्दैन, वरिष्ठ पत्रकार तथा प्राध्यापक रामकृष्ण रेग्मीका विचारमा त तपाईंको ‘समाचार संस्थाको वित्तीय क्षमता, आकार र जनशक्तिको स्थिति’ पनि बिटको निर्धारण हुनसक्छ । कुन संवाददातालाई कहाँ खटाउने भन्ने कुरा समाचार संस्थाले पनि विचार गर्नुपर्छ । प्राध्यापक रेग्मीका विचारमा एउटै समाचारदातालाई धेरै बिट दिँदा विशेषज्ञता हासिल गर्न सकिँदैन भने रुचि नभएको बिट थोपर्दा उत्पादनशील नहुनसक्छ । यस्ता पक्षलाई विचार गरी समाचार संस्थाको आवश्यकता र क्षमताअनुसार समाचारदाताको रुचि र योग्यतालाई ध्यानमा राखेर कार्यक्षेत्र चयन गर्नुपर्छ । अन्ततः पत्रकारले के आधारमा कुन विधा रोज्ने त ? भारतीय लेखक तथा पत्रकार (सन् १९१५–२०१४) खुशवन्त सिंहले रङ्गस्वामी पार्थसारथीको आधारभूत पत्रकारितासम्बन्धी एक किताबको भूमिकामा ४० वर्षअघि नै यसको सरल उपाय सुझाउनुभएको छ । झट्ट हेर्दा भावनात्मकजस्तो लाग्ने उहाँको स्पष्ट सिफारिस छ, “यदि तपाईं पत्रकारिताको दुनियाँमा अगाडि बढ्न चाहनुहन्छ भने आफ्नो हृदयको सबैभन्दा नजिकको विषयमा विशेषज्ञता हासिल गर्नुहोस् र त्यसैमा विशेषज्ञ बन्नुहोस् । रासस

ढोरपाटन (बागलुङ), २८ असोज :

आज विश्व ग्रामीण महिला दिवस । ग्रामीण महिलालाई घरको कामबाहेक आय आर्जनमूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउने उद्देश्यले १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विसं २०७० देखि आजकै दिन ग्रामीण महिलाको भूमिकालाई सम्मान गर्दै यो दिवस मनाउन थालिएको हो । यस दिवसका अवसरमा सम्झन र सम्मान गर्नका लागि काठेखोलाका महिला जिल्लामै उदाहरणीय छन् । नेपालमा सबैभन्दा बढी रेमिट्र्यान्स भित्र्याउने जिल्लामा पर्छ बागलुङ । यतिबेला गाउँमा बालबालिका, वृद्धवृद्धा र महिला मात्रै भेटिन्छन् । टोलछिमेकमा कोही बिरामी परे अस्पतालसम्म पुर्‍याउने मान्छे पाउन मुस्किल छ । खेतीयोग्य जमिन वनमाराले ढाक्न थालेपछि उत्पादनमा पनि कमी आउन थालेको छ । युवाशक्ति विदेशिएपछि घरपरिवार धान्ने जिम्मेवारी महिलाको काँधमा थपिएको छ । पहिलेपहिले ग्रामीण क्षेत्रका महिला विदेश जाने प्रचलन थिएन । अहिले उनीहरु पनि विदेश गएर आम्दानी गर्न थालेका छन् । महिला पनि विदेश जान थालेपछि गाउँ रित्तिने जोखिम बढेकामा यहाँका स्थानीय चिन्तित छन् । जिल्लाका गाउँदेखि बजारसम्मका अधिकांश युवाशक्ति विदेश पलायन हुँदैछन् । यसले अधिकांश गाउँ शून्य बन्दै गएका छन् । तर केही महिलाले भने गाउँमै बसेर उद्यम गर्नुका साथै अर्थतन्त्रलाई बलियो बनाएका छन् । त्यसमध्ये काठेखोला गाउँपालिका–४ तङ्ग्रामका महिला पनि पर्छन् । उनीहरुका श्रीमान् र छोराछोरी विदेशमा छन् । विदेशबाट पठाउने रेमिट्र्यान्सभन्दा बढी महिलाले गाउँमै खसीबोका बेचेर आम्दानी गर्दै आएका छन् । यस गाउँका धेरै महिला सहकारीमा आवद्ध भएर सामाजिक काममासमेत अग्रसर बन्दै आएका छन् । तङ्ग्राम गाउँका थुप्रै युवा विदेशमा छन् तर महिला भने उद्यमी बनेर गाउँमै वार्षिक करोडौँ रकम भित्र्याउने गरिरहेका छन् । गाउँबाट प्रत्येक महिना दुई सयको हाराहारीमा खसीबोका बिक्री हुन्छ । यस गाउँमा दुई सहकारी छन् । त्यसमा आवद्ध भएर महिलाले खसीबोका पालन गरी सहकारीमार्फत बिक्री वितरण गर्ने गरेका छन् । तङ्ग्राम गाउँमा रहेको सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीले वार्षिक रू दुई करोड चार लाख र वसन्त सहकारीले रू दुई करोड १० लाखको खसीबोका बेच्ने गरेका छन् । सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीले यस वर्षको दसैँमा छ सय खसीबोका बेच्नका लागि तयार गरेको सहकारीका सहप्रबन्धक नरमाया पुनले जानकारी दिनुभयो । यस सहकारीमार्फत प्रत्येक महिना महिलाले उत्पादन गरेको ६० खसीबोका बिक्री हुने भन्दै वार्षिक एक हजार तीन सय २० भन्दा बढी बिक्री गर्दै आएको उहाँले बताउनुभयो । सहकारीले वार्षिक करिब रू दुई करोड चार लाख ४० हजारको खसीबोका बिक्री गरिरहेको भन्दै यसले सहकारीमा आवद्ध महिलालाई सक्षम र आत्मनिर्भर बनाएको पुनले बताउनुभयो । “ यहाँका धेरै मानिस विदेशमा जान्छन् । हाम्रो लागि सबैथोक गाउँ हो । गाउँ छोडेर कतै जान मन लाग्दैन”, उहाँले भन्नुभयो, “रहेक महिना खसीबोका उत्पादन हुन्छन् । बजार पनि ठिकै छ । धेरै दिदीबहिनी खुसी हुनुहुन्छ ।” बढ्दो महँगीले महिला उद्यमीलाई असर पु¥याएको भन्दै उनीहरु कत्ति पनि विचलित नभइ आफ्नो पेसाप्रति प्रतिबद्ध भएर काम गरिरहेका पुनको भनाइ थियो । “यहाँका महिला अन्य ठाउँका महिलाका लागि प्रेरणाका स्रोतसमेत बनेका छन् । विदेश जाने तथा बजार झरेर विलासी जीवन बिताउने चाहना उनीहरुमा देखिन्न”, उहाँले भन्नुभयो । वसन्त सहकारीकी प्रबन्धक हेमा विकले गाउँमा उत्पादन हुने खसीबोकाले महिलाको जीवनस्तरलाई माथि उठाएको बताउनुभयो । यस सहरकारीले पनि दसैँ र तिहारका लागि छ सय बढी बोकाखसी बेच्नका लागि तयार गरेको उहाँको भनाइ थियो । विशेष गरी भदौ, असोज र कात्तिकमा उक्त सङ्ख्यामा खसीबोका बेच्ने लक्ष्यका साथ काम गरिने विकले जानकारी दिनुभयो । सहकारीमार्फत हरेक महिना एक सय देखि एक सय ५० सम्म खसीबोका बिक्री गर्ने भन्दै वार्षिक एक हजार पाँच सय वटासम्म बिक्री हुने उहाँको भनाइ थियो । सहकारीमार्फत वार्षिक रू दुई करोड १० लाख बढीको खसीबोका बिक्री गर्ने गरेको विकले बताउनुभयो । बजारभन्दा गाउँको वातावरण स्वास्थ्यका लागि उपयोगी हुने हुँदा यहाँका महिलाले गाउँलाईनै माया गरेर उद्यमसँग जोडिएका उहाँको भनाइ थियो । तङ्ग्राम गाउँबाट बजार झर्ने र विदेश जानेको युवा शक्तिको सङ्ख्या बढी भए पनि महिला कमै मात्रामा भएको विकले बताउनुभयो । “गाउँका प्रत्येक घरका एक/दुईजना सदस्य विदेश छन् । त्यसमध्ये धेरै त पुरुष नै हुनुहुन्छ”, उहाँले भन्नुभयो,“गाउँमा खसीबोका उत्पादन गर्ने महिलाको सङ्ख्या बढी छ । गाउँमा उत्पादन हुने खसीबोका सहकारीमार्फत बेच्ने गरेका छौँ । एउटै परिवारबाट कम्तीमा पनि पाँच/सातवटा खसीबोका बेच्ने गरेका छौँ । रासस

काठमाडौँ, २८ असोज:

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चालु आर्थिक वर्षमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का लागि दस वटासम्म जहाज खरिद गरिने बताउनुभएको छ । मन्त्री निवास पुल्चोकमा आज नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ज्ञापनपत्र बुझ्दै उहाँले निगमको जहाज थपेर भाडादरमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । दसैँअघि नै औपचारिकरूपमा विमान खरिद प्रक्रिया अघि बढाइने उल्लेख गर्दै मन्त्री किरातीले नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन दस वटासम्म जहाज थप्नैपर्ने आवश्यकता रहेको औंँल्याउनुभयो । निगमले आन्तरिक उडानका लागि तीन वटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारी गरेको छ । ती जहाज निगमको आन्तरिक स्रोतबाटै खरिद गर्नेगरी आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमले जनाएको छ । निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्वीनअटर जहाज मात्रै छन् । ती जहाजले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्दै आएका छन् । पर्यटनमन्त्री किरातीले आजैदेखि नेपालगञ्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दसँैभरी सञ्चालन गर्ने जानकारी दिनुभयो । उहाँले चाडवाडका बेला हुने कालोबजारी नियन्त्रण गर्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल र समन्वय गर्ने पनि बताउनुभयो । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा नेतृत्वको टोलीले चाडबाडका बेलामा हुने भाडादरमा हुने कालोबजारीलाई नियन्त्रण गर्न र सहुलियत भाडादरको व्यवस्था गर्न माग गर्दै पर्यटनमन्त्रीलाई ज्ञापन बुझाएको हो । देशका केही हिमाली जिल्लामा पुग्न हवाई यतायात मात्र विकल्पको रुपमा रहे पनि सरोकारवालाको कमजोरीले आम सर्वसाधरण हप्तौँ दिनसम्म विमानस्थल धाउनुपर्ने परिस्थिति रहेको भन्दै नेविसङ्घले चाडबाडका बेला सडकको पहुँच नभएका विशेषगरी हिमाली तथा दुर्गम जिल्लामा जनताको आवश्यकतालाई मध्यनजर गर्दै हवाई यातायातलाई सहज र सर्वसुलभ बनाउन माग गरेको छ । ‘दसैँ, तिहार, छठलगायत चाडपर्वका बेला आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा समेत स्वेच्छचारी ढङ्गले हवाई टिकटको मूल्य निर्धारण गरिएको हुँदा तत्काल त्यस विषयमा अनुगमन गर्दै सुक्ष्म निगरानीसमेत गर्न पर्यटनमन्त्री समक्ष अनुरोध गर्दछौँ’ ज्ञापनपत्रमा भनिएको छ । रासस

दमौली (तनहुँ), २८ असोज :

तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । असोज सुरु भएयता जिल्लाका सबै स्थानीय तहमा गरी डेङ्गु सङ्क्रमण हुनेको सङ्ख्या पाँच हजार ११ पुगेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या सात हजार नौ सय ४६ पुगेको छ । त्यसमध्ये ६५ प्रतिशत बिरामी तनहुँमा छन् । निर्देशनालयका अनुसार तनहुँमा पाँच हजार दुई सय ४२, कास्कीमा एक हजार पाँच सय ४४, गोरखामा पाँच सय ७४, म्याग्दीमा ९२, मनाङमा छ, बागलुङमा एक सय ७६, नवलपुरमा एक सय १०, स्याङ्जामा ५७, पर्वतमा छ, लमजुङमा एक सय ३९ सङ्क्रमित भएका छन् । डेङ्गुबाट प्रदेशभर सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँका पाँच र स्याङ्जाका दुई जना रहेका निर्देशनालयले जनाएको छ । तनहुँको व्यास नगरपालिकामा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित रहेका जनाउँदै मृत्यु हुने पाँचै जना व्यासका रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार व्यासमा मात्रै सङ्क्रमित हुनेको सङ्ख्या चार हजार तीन सय भन्दा बढी छ । आँबुखैरेनीमा ३९, ऋषिङमा एक सय २९, घिरिङमा आठ, देवघाटमा सात, बन्दीपुरमा ३२ र म्याग्दे गाउँपालिकामा ६७ जना तथा भानु नगरपालिकामा ७१, भिमादमा एक सय २६, र शुक्लागण्डकीमा दुई सय २१ सङ्क्रमित छन् । सङ्क्रमितमध्ये ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुष रहेको अधिकारीले जानकारी दिनुभयो । सबैभन्दा बढी सङ्क्रमित रहेको व्यास नगरपालिकाको वडा नं १ मा एक हजार २६, २ मा एक हजार एक सय ७५, ३ मा पाँच सय २७, ४ मा छ सय ८०, ५ मा सय एक सय ९०, ६ मा ६३, ७ मा ५४, ८ मा १४, ९ मा ४१, १० मा एक सय ३८, ११ मा एक सय १५, १२ मा ४७, १३ मा ६५ र १४ मा ३० जनामा सङ्क्रमण भएको छ । जिल्लाका ३४ स्वास्थ्य संस्थामा डेङ्गुको परीक्षण गरिएको छ । त्यसमध्ये सबैभन्दा बढी दमौली अस्पतालमा परीक्षण गरिएको छ । डेङ्गु सङ्क्रमित बढेसँगै अस्पताल तथा मेडिकलमा बिरामीको चाप बढ्दो छ । डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि सबै स्थानीय तहलाई ‘खोज र नष्ट’अभियान सञ्चालन गर्न परिपत्र गरिएको स्वास्थ्य कार्याका प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डेङ्गु ज्वरोबाट बच्न र सतर्कता अपनाउन सबै स्थानीय तहमा रहेका स्वास्थ्य शाखा र मातहतका स्वास्थ्य संस्थालाई परिपत्र गरी दैनिक सम्पर्क गर्ने गरिएको छ । सचेतनामूलक कार्यक्रमलाई पनि सँगै अगाडी बढाइएको छ ।” अधिकारीका अनुसार पालिकामा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको व्यवस्था मिलाउन सबै पालिकामा समन्वय गरी कमी हुन नदिने व्यवस्था मिलाइएको छ । स्थानीय अस्पतालहरूको दक्षता, क्षमताअनुसार उपलब्ध स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै बिरामीलाई उपचार गर्ने र जटिलता उत्पन्न हुनसक्ने भएमा वा विशेषज्ञ चिकित्सकको रेखदेखमा उपचार गर्नुपर्ने देखिएमा सुविधासम्पन्न अस्पतालमा समन्वय गरी प्रेषण गर्न सबै अस्पताललाई निर्देशन दिइएको उहाँले बताउनुभयो । “एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यसको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन्”, अधिकारीले भन्नुभयो । दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्याउनु यसबाट बच्ने प्रमुख उपाय रहेका उहाँले जानकारी दिनुभयो । रासस

काठमाडौँ, २८ असोज :

मलेसियामा जारी उन्नाइस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ । बहराइनले जितका लागि ७८ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले ११ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥र्यो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा नेपालले इरानलाई दुई सय ७४ रनले पराजित गरेको थियो । नेपालको जितमा देव खनाल र अर्जुन कुमालले समान ३२÷ ३२ रनको योगदान दिए । देवले २७ बलमा चार चौका र एक छक्काको मद्दतमा अविजित ३२ जोडेका हुन् । त्यसैगरी अर्जुन ३१ बलमा ५ चौकासहित ३२ रनमा आउट भए । ओपनर दीपक बोहराले चार रन जोडे । बहराइनका अन्स ओबैद सैइदले तीन विकेट लिए । त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइनले ३७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ७७ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ३४ रन बनाएका हुन् । त्यसबाहेक बहराइका अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बहराइनका कप्तान सीफे रमेशलले छ रन जोडे भने आयन ओबैद सैइदले तीन रन जोडे । सार्थक वैद्दराजु दुई रनमा आउट भए । बलिङतर्फ नेपालका दिपेश कँडेल एक्लैले छ विकेट लिए भने दुर्गेस गुप्ताले चार विकेट विकेट लिए । नेपालले अब आगामी कात्तिक २ गते साउदी अरेवियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिसी एसिया कप खेल्न पाउनेछन् । रासस

गण्डकी, २८ असोज :

पोखरा आसपासका प्राचीन बस्तीमध्ये एक हो आर्बा । पोखरा महानगरपालिका–१३ मा अवस्थित यो गाउँमा धार्मिक पर्यटनका धेरै सम्भावना भएर पनि प्रवर्द्धनको अभावमा ओझेलमा परेको छ । यस स्थानको पर्यटकीय महत्वलाई उजागर गर्ने लक्ष्यका साथ हाइकर्स क्लब नेपालले आफ्नो ३९औँं शृङ्खला आर्बामा सम्पन्न गरेको छ । हाइकिङका माध्यमबाट पोखरा र आसपासका पर्यटकीय सम्भावना बोकेका स्थलको निरन्तर प्रवर्द्धन गरिरहेको उक्त क्लबले आफ्नो पछिल्लो शृङ्खला आर्बामा सम्पन्न गरेको त्यहाँका अध्यक्ष कृष्ण रानाभाटले बताउनुभयो । “हामी पर्यटकीय बजारमा पुग्न नसकेका गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गरिरहेका छौँ”, उहाँले भन्नुुभयो, “पोखरा नजिक रहेर पनि आर्बाका धार्मिक पर्यटकीय गन्तव्यको गरिमा तथा महत्व अपेक्षित उजार हुन नसकेको अवस्थालाई दृष्टिगत गरी यो शृङ्खला आर्बामा केन्द्रित गरिएको हो ।” क्लबले प्रत्येक महिनाको अन्तिम शनिबार विभिन्न पर्यटकीय गाउँमा हाइकिङ सञ्चालन गरिरहेको अध्यक्ष रानाभाटले बताउँनुभयो । उहाँका अनुसार पोखरामा रही विभिन्न सेवा, पेसा र व्यवसायमा आवद्ध व्यक्तिका लागि हाइकिङ आकर्षणको विषय बन्न थालेको छ । क्लबले पोखराको काहुँ खोलाबाट हाइकिङ सुरु गरी भञ्ज्याङ, चिप्लेटी, डाँडागाउँ, दुुर्गा मन्दिर, उपल्लोथर, ब्याडा, उपल्लो गाउँहुँदै आर्वाको शिर महाप्रभुधामसम्म हाइकिङ गराएको सदस्य प्रितमबहादुर सेन ठकुुरीले जानकारी दिनुुभयो । हाइकर्स टोली महाप्रभुुधामबाट रतन पाण्डे माध्यमिक विद्यालय हुँदै पुनः काँहुखोलासम्म पदयात्रा गरी फर्केको उहाँले बताउनुुभयो । पोखराको दृश्यावलोकनसहित हिमाली दृश्य अवलोकन गर्दै एक दिवसीय हाइकिङ गर्न आर्बा उपयुक्त गन्तव्य ठहरिएको उल्लेख गर्दै सदस्य ठकुरीले यहाँका धार्मिक महत्वका स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताउनुभयो । दुई शताब्दीभन्दा अघिदेखि अस्तित्वमा आएका आर्बास्थित महाप्रभुधाम, मणिद्विपलगायत धार्मिकस्थललाई समेटेर धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्न सकिने महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष धर्मराज बरालले बताउनुभयो । पोखराको मुख्य बजारबाट नजिकै रहेको आर्वा प्राचीन धार्मिक एवम् ऐतिहासिकस्थल भएर पनि उचित प्रचारप्रसार र भौतिक पूर्वाधार विकासको अभावमा ओझेलमा परेको उहाँको भनाइ थियो । पोखरा उपत्यकाको दृश्यावलोकनसहित अन्नपूर्णदेखि लमजुङ हिमालसम्मका रमणीय दृश्य एकसाथ नियाल्न पाउनुका साथै ऐतिहासिक एवं धार्मिकस्थल पनि प्रत्यक्ष अवलोकन गर्न सकिने भएकाले यहाँको महत्व अझै बढेको छ । महाप्रभुधाम, मणिद्विपलगायत स्थानको प्रचारप्रसार एवं पूर्वाधार विकास गर्न सके यो क्षेत्रलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न सकिने अध्यक्ष बरालले बताउनुुभयो ।आजभन्दा झण्डै दुई सय वर्षअघि स्वर्गद्वारीबाट आउनुभएका महाप्रभुले यहाँ दुई महिनासम्म यज्ञ गरेर मनोकांक्षा पूरा गर्नुभएकाले यहाँको गरिमा बढेको बताइन्छ । उहाँकाअनुसार तत्कालीन समयमा महाप्रभुहरूले यज्ञ गरेका कुण्ड अझै सुरक्षित रहनाका साथै वरपरका गुफा, गणेश तथा शिवजीको मन्दिर, रतन पाण्डे मन्दिर आदि धार्मिक एवं ऐतिहासिकस्थल पनि छन् । यहाँको अर्को धार्मिक महत्वको गन्तव्य रतन पाण्डे मन्दिर हो । अध्यक्ष बरालका अनुसार आर्बावासीको कल्याणको कामना गर्दै प्राचीनकालमा विन्ध्याचलबाट रतन पाण्डेको शिला ल्याएर स्थापना गरी पूजाआजा गर्न थालिएको हो । प्रत्येक वर्ष धान रोप्ने र भित्र्याउने समयमा रतन पाण्डे मन्दिरमा आर्बालीले श्रद्धापूर्वक पूजाआजा गर्ने प्रचलन रहिआएको छ । पूजाका दिन आर्बा क्षेत्रमा हलो नचल्ने प्राचीन प्रचलन अझै पनि कायमै छ । महाप्रभुधाम, रतन पाण्डे मन्दिरसँगै यहाँको अर्को धार्मिक पर्यटकीयस्थल मणिद्विप पनि हो । आर्वामा बस्ती स्थापना हुँदा गाउँको पूर्वमा मणिद्विप नागेश्वर महादेव स्थापना गरिएको थियो । स्थानीयवासीका अनुसार शक्तिशाली शक्तिपीठका रुपमा रहेको यस मन्दिरमा धेरै पटक नाग प्रकट भएका छन् । मन्दिरमा श्रद्धा र भक्तिपूर्वक पूजा गर्दा निःसन्तान दम्पतीलाई सन्तान प्राप्त भएकाले टाढाटाढाबाट दर्शनार्थी आउने गरेको स्थानीयवासीले बताए । नागको दोषका कारण स्वास्थ्यलगायत समस्यामा परेका व्यक्ति पनि यहाँ आएर श्रद्धा रभक्तिपूर्वक पूजाआजा गरेर फर्केपछि समस्याबाट मुक्त भएको विश्वास कायमै छ । प्राचीनकालदेखि नै सन्यासी बस्दै आएको यस स्थानको खरले छाएको मन्दिर २०६२ मा पुनःनिर्माण गरिएको तत्कालीन मन्दिर निर्माण समितिका सञ्चार संयोजक शिरोमणि बरालले बताउनुुभयो । उहाँका अनुसार २०६३ सालमा हरिद्वारका महामण्डलेश्वरसहित विशिष्ट व्यक्तिको उपस्थितिमा मणिद्विपमा महायज्ञ गरी उक्त मन्दिरमा नर्मदा नदीबाट ल्याइएको शिला प्राण प्रतिष्ठा गरेर स्थापना गरिएको थियो । प्रतिष्ठापनका बेला शिलामा लामो समयसम्म पसिना आएको विषयलाई यहाँको धार्मिक महत्वसँग जोडेर हेरिएको छ । त्यसयता ती धाम तथा द्विपमा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन मेला लाग्ने तथा शतबीज छर्ने प्रचलन छ । शिलाको प्राणप्रतिष्ठा भारतबाट आएका १००८ स्वामी बालसन्त महामण्डलेश्वर रामेश्वरजी महाराज, १००८ स्वामी सोमेश्वरजी महाराज, १००८ स्वामी विष्णुराजजी महाराज, स्वामी सुतिक्षणजी महाराजलगायत सन्तमहन्तले गर्नुभएको थियो । महाप्रभधामुका साथै आर्वाका मणिद्विप तथा यहाँका दुर्गा, महाकाली, र राधाकृष्ण मन्दिरलगायत धार्मिकस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच राखिएको छ । आर्बाका धेरै पर्यटकीय सम्भावना प्रवद्र्धनको पर्खाइमा रहेको पोखरा महानगरपालिका–१३ का वडासदस्य बलबहादुर बरालले बताउनुभयो । यी स्थललाई प्रवद्र्धन गर्न सकेमा यस ठाउँलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सकिने उहाँको भनाइ थियो । रासस

नेपालगञ्ज, २८ असोज :

बाँकेको राप्तीसोनारी गाउँपालिका–९ की सीता शाहीलाई नियमित औषधि खानका लागि पैसाको जोहो गर्न धौधौ भएको छ । द्वन्द्वपीडित शााहीलाई औषधोपचारकै चिन्ता लाग्छ । द्वन्द्वमा दाजुभाइ गुमाएर अहिले पनि एक्लिएको महसुस गरिरहनुभएकी शाहीलाई उपचारमा पैँसा खर्च गर्नुपर्दा सबैभन्दा बढी असहज र पीडाबोध हुँदोरहेछ । “हामीलाई अहिले पनि एक्लो भएको अनूभव हुन्छ, त्यसैले स्वास्थ्य क्षेत्रमा द्वन्द्वपीडितलाई निःशुल्क औषधि र स्वास्थ्यपरीक्षण हुनुपर्छ”, उहाँले भन्नुभयो । विसं २०६० असोज १८ गते भाइ दीर्घराज शाह र विसं २०६० पुस २ गते दाइ शेरजङ्ग शाह गुमाउनुभएकी उहाँले स्वास्थ्य बाहेक पोषण, रोजगारी र शिक्षामा पनि द्वन्द्वपीडितको पहुँच स्थापना हुन नसकेको उल्लेख गर्नभयो । “लगाउने एक जोर राम्रो लुगा छैन, औषधि खाने पैसाका लागि अनेक ठाउँमा भौतारिनुपर्छ, तर पनि पैसा पाइदैन”, रासससँग कुरा गर्दै शाहले भन्नुभयो । उहाँले वास्तविक द्वन्द्वपीडितका घरको अहिले पनि व्यवस्थापन नभएको गुनासो गर्दै अहिले पनि मानसिक र शारीरिक रुपमा अस्वस्थ्य भएको बताउनुभयो । “द्वन्द्वको असर छोराछोरीलाई मात्रै होइन नातिनातिनासम्म पर्ने देखिन्छ, तर यसको व्यवस्थापन भए राम्रो हुन्थ्यो”, उहाँ भन्नुहुन्छ । शाहीले अहिले जीविकोपार्जन गर्न पनि कठिन भएको उल्लेख गर्दै स्थानीय सरकारले पनि केही नगरेको बताउनुभयो । “हामी व्यवस्था परिवर्तनका लागि आन्दोलमा लागेका थियौँ, हामीले त्यही आन्दोलनमा सबै गुमायौँ”, उहाँले भन्नुभयो । समाजमा सम्मानपूर्वक बाच्ने आधार तय हुनुका साथै द्वन्द्वपीडितलाई रोजगारी दिएर उनीहरुको परिवारलाई सरकारले संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । उहाँको परिवार अहिले पाँच जनाको छ । उहाँसँग मिल्दोजुल्दो समस्या जिल्लाको बैजनाथ गाउँपालिका– ८ टिटीरियाकी २१ वर्षीया विनिता चौधरीको पनि छ । “बुवाको हत्या भएपछि आमाले ‘डिप्रेसन’को औषधि खाइरहनुभएको छ, तर त्यो औषधि खान पनि पैसाको समस्या छ”, द्वन्द्वपीडित चौधरीले भन्नुभयो । विसं २०५८ मङ्सिर १७ गते भएको सो घटनामा बुवा गुमाउनुभएकी उहाँले रोजगारीका लागि अनेक ठाउँमा भौतारिनुपरेको जानकारी दिनुभयो । उहाँले घटनापछि कम्लहरि जीवन बिताएर प्रवेशिका परीक्षा पास गरेको बताउनुभयो । उक्त घटना हुँदा उहाँ १० वर्षको हुनुहुन्थ्यो । चौधरीले प्रवेशिका परीक्षा पास गरेपछि गाउँमा किराना पसल सञ्चालन गरेर कक्षा १२ सम्मको अध्ययन गरेको जनाउँदै भन्नुभयो, “बुवा शिक्षक हुनुहुन्थ्यो, उहाँको हत्या किन गरिएको हो, सत्य थाहा पाउनुपर्छ ।” उक्त घटनापछि मानसिक स्वास्थ्यमा असर भएको जनाउँदै उहाँले द्वन्द्वपीडितलाई स्वास्थ्य, शिक्षा र रोजगारीमा अवसरको सिर्जना हुनुपर्ने बताउनुभयो । “मैले अहिले पनि सानोतिनो काम गरेर आमाको औषधि खाने प्रबन्ध गरेकी छु”, उहाँले भन्नुभयो । चौधरीले द्वन्द्वपीडितका लागि शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्नेमा जोड दिँदै स्थानीय सरकारले पनि द्वन्द्वपीडितको आवाजको सुनुवाइ नगरेको गुनासो गर्नुभयो । “हामीले बोलाउँदा पनि जनप्रतिनिधि आउनुहुदैन यसले हामीलाई थप पीडा दिन्छ”, उहाँ भन्नुहुन्छ । सरकारले प्रदान गरेको राहतस्वरुप रु १० लाख पाए पनि त्यसको खास सदुपयोग नभएको जानकारी दिँदै चौधरीले किस्ता किस्तामा रकम दिँदा लिएका ऋण तिर्न खर्च भएको बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिका–१ की चन्द्रकला उप्रेतीका श्रीमान् बेपत्ता भएको वर्षांै बितेको छ । “पीडा व्यक्त गर्ने कुनै शब्द छैन, बेपत्ता परिवारको कुराको सुनुवाइ नै हुदैन”, उहाँले भन्नुभयो । द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालकी केन्द्रिय कोषाध्यषसमेत रहनुभएकी उप्रेतीले विस्तृत शान्ति सम्झौता भएको लामो समय बित्दा पनि बेपत्ता परिवार पीडाको जीवन जीउन बाध्य भएको बताउनुभयो । बेपत्ता परिवार सरकारी सेवा पाउनबाट समेत बञ्चित रहेको जानकारी दिँदै उहाँले सम्पत्ती नामसारी गरेर हस्तातान्तरण गर्न झन्झटिलो भएको बताउनुभयो । “छोराछोरीले वास्तविक परिचय पाएका छैनन्, त्यसैले त्यो द्वन्द्वकालीन दिनको पीडा भयावह छ”, उहाँले भन्नुभयो । द्वन्द्वपीडित उप्रेतीले आफ्नो श्रीमान्को वास्तविक अवस्था अझै पनि बाहिर नआएकाले सार्वजनिक गर्न माग गर्दै बेपत्ता परिवार अहिले पनि मानसिक रुपमा स्वस्थ्य नभएको बताउनुभयो । उहाँले स्थानीय सरकारले पनि द्वन्द्वपीडतको पक्षमा काम नगरेको उल्लेख गर्दै एउटा वडामा एक द्वन्द्वपीडितको अवधारणा ल्याएर उनीहको पक्षमा काम गर्न सकिने तर्क गर्नुभयो । “पीडितका लागि तत्कालको आवश्यकता पूरा गर्ने स्थानीय सरकारले हो र अहिलेसम्म बेपत्ता परिवारलाई भएको क्षतिको पनि परिपुरण हुनुपर्छ”, उहाँले भन्नुभयो । उप्रेतीका एक छोरा र छोरी हुनुहुन्छ । राप्तीसोनारी गाउँपालिका–४ का रामरतन चौधरीले द्वन्द्वपीडित भएर अहिलेसम्म कुनै सहयोग नलिएको बताउनुभयो । विसं २०५७ को द्वन्द्वको घटना स्मरण गर्दै उहाँले अबका दिनमा वास्तविक पीडितलाई निःशुल्क औषधि र स्वास्थ्य परीक्षणमा सुविधा उपलब्ध हुनुपर्नेमा जोड दिँदै द्वन्द्वपीडितलाई जीवन निर्वाह भत्ता आवश्यक भएको बताउनभयो । चौधरीले जे जस्तो भए पनि बाँच्नका लागि राज्यले खान र बस्नका लागि प्रबन्ध गरिदिन आग्रह गर्दै आफु अपाङ्ताको जीवन जीउन बाध्य भएको उल्लेख गर्नुभयो । नेपालगञ्ज–२२ की लक्ष्मी विष्ट सीपमूलक तालिम वा प्राविधिक शिक्षा पाए द्वन्द्वपीडितलाई राहत हुने बताउनुहुन्छ । उहाँका बुवा विसं २०६० मा बेपत्ता हुनुभएको थियो । बुवा बेपत्ता भएपछि आमाले अहिले पनि डिप्रेसनको औषधि सेवन गर्न बाध्य हुनुभएको जानकारी दिँदै उहाँले आमालाई एकल महिलाको सामाजिक सुरक्षाको भत्ताबाट समेत वञ्चित गरिएको बताउनुभयो । “वडामा जाँदा मृत्यु दर्ता गरेर आउन भन्छन्, तर बुवाको कुनै अत्तोपत्तो छैन”, उहाँले भन्नुभयो । सङ्क्रमणकालीन न्यायअन्तर्गत द्वन्द्वपीडितका लागि उनीहरुको पक्षमा काम गर्न बाँकेको राप्तीसोनारी गाउँपालिकाले अहिले विभिन्न वडामा द्वन्द्वपीडित सञ्जाल गठन गरेको छ । ती विभिन्न सञ्जालबाट द्वन्द्वपीडितका पक्षमा प्रभावकारी काम हुने वडा नं ४ का वडाध्यक्ष तथा प्रवक्ता मीनराज खड्काले जानकारी दिनुभयो । उहाँले प्रत्येक वडामा काम गर्नका लागि रु एक लाख बजेट विनियोजन गरिएको जानकारी दिँदै पीडितलाई सम्मान गर्ने र उनीहरुको चाहना बमोजिम छलफल गरेर काम गरिने बताउनुभयो । “यो बजेटलाई पनि बर्सेनी बढाउँदै लगिने छ”, उहाँले भन्नुभयो । नेपाल पिस विल्डङ् इनिसेएटिभको सहयोगमा सो कार्यक्रम सञ्चालन भएको गाउँपालिकाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म ६५ द्वन्द्वपीडितले जीवन निर्वाह भत्ता लिएका छन् । जिल्लामा एक सय २२ जना अपाङ्ता भएका द्वन्द्वपीडितले राहत लिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयका अनुसार जिल्लामा द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या दुई सय ८४, बेपत्ता ६२ र १४ अङ्गभङ्ग भएका छन् । सो कार्यालयका प्रमुख भोला महतले द्वन्द्वका नाममा गैरपीडितले पनि राहत लिएको उल्लेख गर्दै वास्तविक पीडितले राहत नपाएको बताउनुभयो । रासस

नलवपरासी (बर्दघाट सुस्ता पश्चिम), २८ असोज 

जिल्ला प्रहरीले रु दस लाखबराबरको अवैधरूपमा ल्याइएका औषधि बरामद गरेको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित नहरको बाँधमा प्रहरीले ती औषधि बरामद गरेको हो । दुईवटा कार्टुनमा राखेर अवैधरूपमा ल्याउँदै गरेको माईकोफेनोलेट, हेप्रिन इन्जेकसन पि, साइक्लोसपोरिन आइपी, माईकोफेनोलिक एसिड, टेलमिस्टार्टन, माईकोफोनोलेट, आर्थोरोपोईटिन इन्जेक्सन, डर्विपोइटिन अल्फा इन्जेक्सनलगायत औषधि प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताउनुभयो । ती औषधि रु नौ लाख ८१ हजार ६२ बराबरको रहेको उहाँको भनाइ थियो । भारतबाट एक व्यक्तिले पैदलै ल्याउँदै गरेको कार्टुनलाई प्रहरीले देख्नासाथ नजिक जाँदा औषधि छोडेर मान्छे फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद गरिएको उक्त औषधिलाई महेसपुरस्थित भन्सार कार्यालयमा पठाइएको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

बेलबारी, २८ असोज

पछिल्लो समय मोफसलमा नियमित गोल्डकप आयोजना गर्न नसकिरहेको अवस्थामा मोरङको बेलबारीमा भने छैठौँ संस्करणको डाँगिहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप आज सुरु हुँदैछ ।भारतको एक टोलीसहित नेपालका सात टोलीको सहभागितामा मोफसलमा गोल्डकपका लागि तयारी पूरा भएको आयोजक डाँगिहाट फुटबल क्लबले जनाएको छ । बेलबारी–११ लक्ष्मी मार्गस्थित लक्ष्मी मावि खेलमैदानमा सुरु हुने प्रतियोगिता कात्तिक ४ गते समापन हुने क्लबका अध्यक्ष विक्रम बान्तवा राईले बताउनुभयो । दैनिक छ हजार दर्शक अटाउने क्षमता भएको खेलमैदानमा चार हजार क्षमता भएको बाँसको प्याराफिट, रङ्गरोगन, खेलमैदान मिलाउने, पोष्टर टाँस्नेलगायत सम्पूर्ण काम सम्पन्न भएको छ । खेलको सुरुमा रु ५० रुपैयाको टिकट र सेमिफाइनलदेखि एक सय र दुई सयको टिकटको व्यवस्था रहेको खेल संयोजक भाइकुमार गरुङ बताउनुहुन्छ । बेलबारी नगरको गौरवको रूपमा जिल्लामै सर्वाधिक पुरस्कार राशि भएको गोल्डकपमा लिग च्याम्पियन टोली चर्च ब्वाईज काठमाडाँै, बिग्रेड ब्वाइज क्लब काठमाडाँै, सहलेश युवा क्लब सिरहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डाँगीहाट युथ क्लब, विर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल क्लब भोजपुर र युकेएफसी भारत गरी ८ वटा टोली सहभागी हुने भएका छन् । प्रतियोगितामा विजेताले रु आठ लाख र उपविजेताले रु पाँच लाखसहित पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेलमा प्रत्येक दिन म्यान अफ दि म्याच घोषित हुनेलाई रु पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडी, उत्कृष्ट कोचलाई खेलको अन्तिम दिन पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमानित रु ६२ लाख ९० हजार खर्च लाग्ने र रु ६९ लाख ४० हजार आम्दानी हुने अनुमान गरिएको छ । रासस

वालिङ (स्याङ्जा), २८ असोज :

यहाँको पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अक्षयकोषको सङ्ख्या ३९ पुगेको छ । वालिङ-१० फूलबारीमा तीन वर्षअघि पूर्णामृत भवानी मावी र कालिका आधारभूत विद्यालय एकापसमा मर्ज भएपछि विद्यालयमा अक्षयकोषको सङ्ख्या बढेको हो । विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुर्‍याउने उद्देश्यसहित दाताहरुले अक्षयकोषको स्थापना गर्नुभएको हो । पूर्णामृत भवानी माविका १९ र कालिका आधारभूत विद्यालयका २० गरी अक्षयकोषको सङ्ख्या ३९ पुगेको हो । “विद्यालयमा संस्थागत, सामूहिक वा व्यक्तिगतरुपमा पनि अक्षयकोष भएका छन्”, विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अर्यालले भन्नुभयो, “दाताहरुले जुन शीर्षकका लागि अक्षयकोष स्थापना गर्नुभएको हो सोही शीर्षकमा खर्च हुन्छ ।” विद्यालयको वार्षिकोत्सवका अवसरमा दाताकै उपस्थितिमा अक्षयकोषको रकम खर्च गरिने उहाँको भनाइ छ । हालसम्म विद्यालयमा स्थापना भएका अक्षयकोषमध्ये सबैभन्दा ठूलो राशिको रु तीन लाख ३३ हजार तीन सय ३३ र थोरै राशिको रु दश हजार ११ को रहेको छ । अक्षयकोषको व्यवस्थापन गर्नका शिक्षक गोपालधन सुवेदीको संयोजकत्वमा डिल्लीराम बगाले र अर्जुनप्रसाद तिवारी सदस्य रहेको ‘अक्षयकोष छात्रवृत्ति ब्यवस्थापन समिति’ गठन गरिएको छ । गरिब, जेहेन्दार, सर्वोत्कृष्ट छात्रछात्रा, अतिरिक्त क्रियाकलाप, अनुशासित विद्यार्थी लगायतका विभिन्न शीर्षकमा छात्रवृत्ति वितरण गर्ने गरिएको छ । विद्यालयमा हाल अक्षयकोषको कूल रकम रु सत्र लाखभन्दा बढी पुगेको छ । उक्त विद्यालय २०१९ सालमा स्थापना भएको स्याङ्जाकै पुरानो मध्येको एक विद्यालय हो । रासस

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।