२०८३ भाद्र ४
२०८३ भाद्र ४

काठमाडौँ, २८ असोज :

पशुसेवा विभागले काठमाडाँ उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्ने भएको छ । चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले पशुपक्षीको स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गर्ने भएको हो । उक्त टोलीले पशुपक्षीबाट नमूना सङ्कलन, रोग निदान र उपचार समेत गर्नेछ । विभागका महानिर्देशक डा उमेश दाहाले आज विज्ञप्ति जारी गरी कलङ्की खसी बजार, बल्खु कालिमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा टोली परिचालित हुने जानकारी दिनुभयो । नमूना सङ्कलनपछि स्वस्थ्य देखिएमा हरियो रङ र रोगी देखिए रातो सङ्केत गर्ने व्यवस्था मिलाइएको छ । गतवर्ष घटस्थापनादेखि नवमीका दिनसम्म मासुका लागि कूल ५४ हजार पशु काठमाडौँ भित्रिएका थिए । विभागले स्वस्थ्यकर र फुर्तिलो खसी, बोका, राँगा छनोट गर्न र मासु उत्पादन र बिक्री वितरण गर्दा सरसफाइमा ध्यान दिन पनि आग्रह गरेको छ । रासस

काठमाडौँ, २८ असोज :

नेपाल सरकारले युद्धकै अवस्थामा रहेको इजरायलबाट दुई सय ५४ जना नेपाली नागरिकलाई उद्धार गरी बिहीबार स्वदेश फर्काएको छ । मन्त्रिपरिषद्को निर्णयानुसार परराष्ट्र मन्त्री नारायणप्रकाश साउद नेपाली नागरिकलाई उद्धार गर्न नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत् स्यवम् इजरायल जानुभएको थियो । यही असोज २० गते इजरायलमाथि प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने चार जना घाइते भएका थिए । सोही आक्रमणमा परेका विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ । मन्त्री साउदले जोशीको खोजीका लागि इजरायल सरकार र अन्य मुलुकसँग समेत कूटनीतिक पहल भइरहेको बताउनुभएको छ । यसै सन्दर्भमा केन्द्रित रहेर राससका वरिष्ठ समाचारदाता भीष्मराज ओझाले मन्त्री साउदसँग गर्नुभएको कुराकानीको अंश : प्रश्न : इजरायल घट्नाक्रमपछि नेपालीको उद्धारका लागि सरकारले के कस्ता प्रयास गरिरहेको छ ? मन्त्री साउद : इजरायलमा प्यालिस्टाइनी हमास समूहको आक्रमणबाट सयौं नागरिकको हताहती भयो । ‘लर्न एण्ड अर्न’ कायत्र्रmममार्फत इजरायल गएका १० जना विद्यार्थीले आक्रमणमा परी ज्यान गुमाएका छन् । घाइते भएका चार नेपाली विद्यार्थीमध्ये एक जना अस्पतालबाट डिस्चार्ज भएर नेपाल आइसक्नुभएको छ भने अन्य उपचाररत हुनुहुन्छ । इजरायलमा विद्यार्थी बाहेक करिब चार हजार पाँच सय नेपाली नागरिक छन् । अधिकांश ‘केयर गिभर’मा कार्यरत हुनुहुन्छ । हमासको आक्रमणपछि नेपालीहरु त्यहाँ सन्त्रासको वातावरणमा बस्नु परेको थियो । मुलुकमा संसद, राजनीतिक दल, नागरिक समाज, र विद्यार्थीका अभिभावकबाट पटक–पटक विभिन्न तहबाट उद्धारका लागि निरन्तर आवाज पनि उठेको थियो । यी सबै कुरालाई दृष्टिगत गरेर नेपालीको उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेरो संयोजकत्वमा संयन्त्र बनाई निर्देशन दिनुभएको थियो । संयन्त्रको सिफारिसअनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गरी नेपालीको उद्धारका लागि विमानसहित म इजरायलको तेल अविव गई उद्धारमा जुटेको हुँ । पहिलो चरणमा दुई ५४ नेपालीको उद्धार गरेका छौँ । अहिलेपनि उद्धार जारी नै छ । प्रश्न : इजरायलमा नेपालीको पछिल्लो अवस्था कस्तो छ ? मन्त्री साउद : इजरायलमा आक्रमणपछि उद्धारको पर्खाइमा रहनुभएका दुई सय ५४ जना नेपाली नागरिकको उद्धार गरी नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत् स्वदेश फर्काइएको छ । नेपाल फर्काइएका बाहेक स्वदेश फर्कन चाहने दुई सय जनाभन्दा बढीको विवरण प्राप्त भएको छ । नेपाल फर्कन बाँकी रहेका नेपाली नागरिकलाई पनि क्रमशः फर्कन सहजीकरण गर्ने प्रकृया सुरु गरिएको छ । घाइते भई उपचारका क्रममा रहनुभएका चार जनामध्ये डिस्चार्ज हुनुभएका एक जनालाई विमानमार्फत् नेपाल ल्याइएको छ । अन्य उपचाररत हुनुहुन्छ । बेपत्ता विद्यार्थी जोशीको खोजी तीव्रता दिइएको छ । इजरायलमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गर्न चाहन्छु । प्रश्न : निधन भएका विद्यार्थीको शव कहिलेसम्म नेपाल ल्याइन्छ ? मन्त्री साउद : आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीको शव सुरक्षित रहेको इजरायली सरकारले स्पष्ट गरिसकेको छ । यसबाहेक एक हजारभन्दा सङ्ख्यामा इजरायली नागरिक र अन्य देशका नागरिकको पनि शव छ । त्यती नै सङ्ख्यामा आक्रमणकारीको पनि शव छ । तसर्थ ती सबै शवको परीक्षण गरी कानुनी प्रक्रियाअनुसार सम्बन्धीत देशलाई हस्तान्तरण गर्ने इजरायल सरकारले जनाएको छ । यस बारेमा इजरायल सरकारले आफू संवेदनशील भएको र आफै ती शव नेपाल ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । इजरायलका विदेश मन्त्री र यहाँस्थित इजरायली राजदूतसँग भएको संवादमा पनि उहाँहरुले सो कुरा दोहोर्‍याउनुभएको छ । हामी पनि सकेसम्म छिटो शव नेपाल ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न लागेका थियौँ । तर विभिन्न प्रक्रियाका कारण पहिलो चरणमा त्यो सम्भव भएन । प्रश्न : बेपत्ता विद्यार्थी विपिन जोशीको खोजीमा सरकारले के गरिरहेको छ ? मन्त्री साउद : विद्यार्थी विपिन जोशीको हाल वास्तविक स्थिति अज्ञात नै छ । प्रत्यक्षदर्शीका अनुसार विपिन आक्रमणको समय बङ्करमा हुनुहुन्थ्यो । आक्रमणकारीले प्रहार गरेको बमलाई हातले टिपेर सुरक्षाका लागि बङ्करबाहिर फ्याक्नुभएको थियो । पछि हमास विद्रोहीले थाई नागरिकसँगै विपिनलाई पनि आफूसँगै लगेका थिए । त्यसपछि उहाँ कुन अवस्थामा कहाँ हुनुहुन्छ भन्ने यकिन हुन सकेको छैन । इजरायलभित्रको परिस्थितिमा बारेमा हामीले पटक–पटक विभिन्न चरणमा विभिन्न तहमा इजरायल सरकारलाई खोजीका लागि आग्रह गरिरहेका छौ । साथै, प्रहरी, अस्पताललगायत सम्भाव्य सम्पूर्ण माध्यमबाट उहाँको खोजीलाई अझै तीव्र पारिएको छ । हमासको नियन्त्रणमा हो कि भन्ने आशङ्कामा हमाससँग सम्बन्ध भएका भनिएका मुलुकसँग कूटनीतिक पहल पनि सुरु गरिसकेका छौँ । प्रश्न : पर्खाइमा रहेका बाँकी नेपालीकोे उद्धार कहिले र कसरी हुन्छ ? मन्त्री साउद : उद्धार गर्ने नेपाली नागरिकको सङ्ख्या पर्याप्त भयो भने हामी यहाँबाट पुनः चार्टर्ड विमान लगेर भएपनि उद्धार गर्न तयार छौँ । तर त्यसो भएन भने पनि व्यावसायिक उडानमार्फत आउने नागरिकको खर्च सरकारले नै बेहोर्ने निर्णय भएको छ । यस बारेमा हामीले सूचना पनि जारी गरेका छौँ । स्वदेश फिर्ता गर्नका लागि हामीले त्यहाँस्थित नेपाली दूताबासलाई निर्देशन दिइसकेका छौँ । यसबारेमा सङ्ख्या निर्धारण गरेका छैनौ, तर यो निर्णय त्यहाँ रहेको सबै चार हजार पाँच सय नेपालीको हकमा लागू हुन्छ । तर मलाई सबै नेपाल अहिल नै आउँछन जस्तो लाग्दैन । धेरै केयर गिभर रुपमा गएका नेपाली इजरायली समुदायमा परिवार जस्तै भएर बसेका छन् । त्यहाँको सुरक्षा प्रोटोकलसँग उनीहरु अभ्यस्त पनि भइसकेको हुनाले उनीहरु हतार गरेर फर्कलान जस्तो मलाई लाग्दैन । प्रश्न : काम र अध्ययनका लागि लाखौँ नेपाली विदेश गएको अवस्थामा यो घट्नाबाट के पाठ सिक्न सकिन्छ ? मन्त्री साउद : विदेशमा हामीले कानुनी रुपमा र सुरक्षित रुपमा पठाएका नागरिकमाथि पनि साङ्घातिक आक्रमण भएको यस घट्नाले हामीलाई पाठ सिकाएको छ । कामदारलाई द्विपक्षीय सरकारको सहमतिमार्फत पठाउँदा सामाजिक सुरक्षा धेरै हुन्छ र कामदार सम्झौता गरेर पठाउनुपर्छ भन्ने हो । वास्तवमा रोजगारको अवस्था, सीप र जनशक्तिको अवस्था, श्रम सुविधा सबै निश्चित गरेर मात्र पठाउनुपर्छ भन्ने हामीले भन्दै आएका छौँ । सरकारले निश्चित मापदण्ड निर्धारण नगरी तथा सरकार संलग्न नभइ विदेश पठाउन हुँदैन भनेर हामीले केही दिन अघि मात्र प्रधानमन्त्रीको अध्यक्षतामा श्रम गन्तव्य भएका १० देशका राजदूत, दुई उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्री अन्य सरोकारवालासहितको बैठकमा सो विषयमा छलफल गरेका थियौं । यस विषयमा हामी सहयोग गर्न तयार छौँ । प्रश्न : इजरायलमा हाल रहेका नेपालीलाई केही सन्देश छ ? मन्त्री साउद : इजरायलमा हाल बाँकी रहेका नेपाली नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दछु । नेपाली दूताबासमा स्थानीय कर्मचारीलाई भर्ना गरेर भएपनि उपयुक्त जनशक्ति र संयन्त्र बनाउँदैछौ । आवश्यक सहयोगका लागि इजरायल सरकारले सहयोग गर्ने बचनबद्धता पनि व्यक्त गरेको छ । यस बीचमा सबै नेपालीलाई सुरक्षा प्रोटोकल आत्मसाथ गरेर बस्न आग्रह गर्दै फिर्ता गर्नका लागि सहजीकरण गरिरहेकोे अवगत गराउन चाहन्छु । यसमा आत्तिने कुरा छैन । प्रश्न : इजरायल घट्नापछि संयुक्त राष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमण स्थगित भयो, अब कहिले हुन्छ ? मन्त्री साउद : इजरायलको घट्नाक्रमले दुई महत्वपूर्ण भ्रमण स्थगित भएका छन् । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रस यही १३ अक्टोबरदेखि नेपाल भ्रमणमा आउने तालिका थियो । जुन केही हप्ताका लागि सरेकोे छ । उहाँहरुले नयाँ मिति प्रस्ताव गरिसक्नुभएको छ । यस सम्बन्धमा यकिन भएपछि हामी चाँडै भ्रमण तालिका सार्वजनिक गछौँ । नयाँ मितिको भ्रमणका लागि पनि हामीले गृहकार्य गरिरहेका छौँ । इजरायल घट्नासँगै प्रधानमन्त्री दाहाललाई आमन्त्रण गरिएको १७ अक्टोबरमा कतारमा हुने एसिया डाइलग फोरममा प्रधानमन्त्रीको प्रतिनिधित्व गरी मैले जाने भ्रमण तय भएको थियो । यही घट्नाका कारण उक्त भम्रण पनि हाल स्थगित गरिएको छ । प्रश्न : अन्त्यमा केही भन्न चाहनुहुन्छ ? मन्त्री साउद : सम्पूर्ण देशबासीलाई देश बाहिर भएको यो गम्भीर परिस्थितिमा धैर्यता र संयमता अपनाउन आग्रह गर्दछु । राजनीतिक दलले पनि यस्ता घट्नाको कुनै पनि हालतले राजनीतिकरण गर्न हुँदैन । कमी कमजोरी सरकारको तर्फबाट या अन्य निकायबाट पनि भएको हुन सक्छ तर त्यसबारेमा छलफल गर्ने अन्य उपयुक्त मञ्च र समय पनि हुन्छ । त्यसैमा गर्दा राम्रो हुन्छ । तर विपद् र सङ्कटका बेला हामी एक भएर त्यसको सामना गर्ने नेपालीको विशिष्ट परम्परा छ । यसका लागि म सबै राजनीतिक दल र समुदायलाई आग्रह गर्दछु । रासस

काठमाडौँ, २८ असोज :

नेपाल सरकार र आन्दोलनरत पालिकाका कर्मचारीबीच १९ बुँदे सहमति भएपछि पालिकाका कर्मचारीको आन्दोलन स्थगित भएको छ । विभिन्न माग राखेर विगत १४ दिनदेखि काठमाडौँमा आन्दोलनरत कर्मचारी र सरकारबीच गए राति सहमति भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय निजामती सेवा ऐनमा सङ्घ, प्रदेश र स्थानीय सेवाको कर्मचारीको सेवा सर्तका विषयमा न्यूनतम मापदण्ड समावेश गर्ने, स्थानीयका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समावेश गर्नुपर्ने मागमा प्रदेश कानुन निर्माण गर्दा मन्त्रालयले पहल गर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको पद रहने व्यवस्था गर्नुपर्ने र यस्तो पदमा ऐन प्रारम्भ भएको मितिले पाँच वर्षसम्म सङ्घीय निजामती सेवाका कर्मचारी खटाउने व्यवस्था समावेश गर्न उपयुक्त हुने गरी सहमति जुटेको छ । यसैगरी सङ्घ, प्रदेश र पालिका तीनै तहमा तहगत प्रणाली लागू गर्ने विषयमा पनि सहमति भएको छ । सरकार र आन्दोलनरत पालिकाका कर्मचारीको सहमति भएसँगै गए रातिदेखि आन्दोलन फिर्ता भएको वार्ता टोलीका संयोजकसमेत रहनुभएका प्रवक्ता भट्टराईले बताउनुभयो । सङ्घीय निजामती विधेयकमा आफूहरूलाई विभेद गरेको भन्दै कर्मचारी विगत १४ दिनदेखि काठमाडौँमा आन्दोलन गर्दै आएका थिए । वार्ता टोलीमा आन्दोलनरत कर्मचारीका तर्फबाट दीपक गौतमको नेतृत्वमा टोली बनेको थियो । रासस

काठमाडौँ, २८ असोज 

हनुमानढोकास्थित दसैँ घरमा विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन आज नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उपलब्ध गराएको उत्तम साइत बिहान ११ बजेर २९ मिनेटमा घटस्थापना गरिएको हो । विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजका दिनलाई घटस्थापना भन्ने गरिन्छ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गर्नाका साथै विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने प्रचलन छ । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकालीलाई शक्तिको, महालक्ष्मीलाई धनधान्य तथा ऐश्वर्यको र महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिक परम्परा छ । भगवती दुर्गाले दैत्यमाथि तथा रामले रावणमाथि विजय गरेको उत्सवका रुपमा नवदुर्गाको पूजा गरिँदै आइएको दसैँ घरका पूजारी सागर खरेलले बताउनुभयो । जमरा छरेपछि व्यक्तिमा सुख, शान्ति प्राप्त हुने तथा रोगव्याधी भाग्ने जनविश्वास र शास्त्रीय मान्यता रहेको उहाँको भनाइ थियो । राष्ट्रको कल्याण होस् जनता सुख, शान्ति र समृद्धिमा रहुन्, उन्नति प्रगति हुँदै जाओस् भन्ने हेतुले जमरा राखिएको पूजारी खरेलले बताउनुभयो । हनुमानढोकास्थित दसैँघरमा जमरा राखेपछि सर्वसाधारणले पनि घरघरमा घटस्थापना गर्ने परम्परा छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँघरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित चण्डी(सप्तशती) पाठ गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नजिकैको नदी वा चोखोस्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लितपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक माटो राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीकस्वरुप पहेँलो जमरा लगाइन्छ । नवरात्रको पहिलो दिन आज शैलपुत्री भगवतीको पूजा गरिन्छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चाँैथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा तथा आराधना गर्ने शास्त्रीय नियम छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा लिने गरिन्छ । वडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । रासस

मध्यविन्दु (नवलपरासी), २८ असोज :

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मुसहर बस्तीका १८ मुसहर परिवार वैकल्पिक पेसातर्फ लागेका छन् । नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका उनीहरुले माछा मार्न छाडेर आर्थिक उपार्जनका लागि अन्य वैकल्पिक पेसातर्फ लागेका हुन् । केही वर्षअघिसम्म काँधमा जाल बोकेर नदीमा माछा मार्न जाने बमबहादुर मुसहर हिजोआज साइकलमा तरकारी बोकेर हाटबजार जाने गर्नुहुन्छ । “वैकल्पिक पेसा नखोजे त भोकै मरिन्छ । तरकारी बेचेर मनग्य कमाइ भइरहेको छ । जीविकोपार्जनमा पनि सहज हुँदै गएको छ”, उहाँले भन्नुभयो । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती छेउको सानो घर र घरनजिकैको सामूहिक प्लटमा आफैँले फलाएका स्थानीय जातका तरकारी बेच्ने बमबहादुर कहाँ ग्राहक झुम्मिने गरेका छन् । उहाँले लुँडे, खोले साग, फर्सीको मुन्टा, लोकल खुर्सानी, केरुङ साग, मकै, बोडी र ताजा निगुरो बेच्नुहुन्छ । कावासोती हाटबजारमा प्रत्येक हप्ताको सोमबार, बुधबार र शनिबार बमबहादुर साइकलमा तरकारी बोकेर हाट लाउन जाने गर्नुभएको छ । “नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएको हाम्रो परिवार अहिले तरकारी बेच्न हाटबजार आउने गरेका छौँ”,उहाँले भन्नुभयो, “पुगेसम्म त आफैँले उत्पादन गरेका तरकारी बेच्छु । व्यापार त गर्नै पर्छ, कहिलेकाहीँ स्थानीय उत्पादन पनि खरिद गरेर बेच्ने गरेको छु ।” पूख्यौली पेसा सङ्कट आउन थालेपछि आफूहरू वैकल्पिक आयआर्जनको बाटोतर्फ लागेको स्थानीयवासी रमिया मुसहरले बताउभयो । “हुन त हाम्रो परम्परागत पेसा माछा मार्ने नै हो तर यो पेसामा समस्या आउन थाल्यो । नदीमा माछा पाइन छाड्यो”, उहाँले भन्नुभयो, “निकुञ्जको निगरानी पनि बढ्दै गयो । गैँडा, बाघलगायत जङ्गली जनावरको जोखिम भएकाले मुसहर समुदाय पेसा परिवर्तनतर्फ लागेका हौँ ।” पछिल्लो समय कृषि पेसाबाटै जीविकोपार्जन गर्दै आउनु भएका स्थानीयवासी धर्मबहादुर मुसहर मछुवारी पेसाभन्दा खेतीकिसानीले परिवारमा केही खुसियाली थपिएको बताउनुभयो । उहाँका अनुसार केही मुसहर परिवारले बस्ती छेवैको खाली जग्गामा खनिएको माछा पोखरीमा रहु, नैनी, कमनलगायतका उन्नत जातका माछा पालेर थप आयआर्जन पनि गर्ने गरेका छन् । माझी, मुसहर र बोटे समुदायका मानिसमा चेतनाको विकास भएसँगै माछा मारेर मात्र जीवन नचल्ने देखेर अन्य पेसा अँगाल्ने क्रम बढेको स्थानीयवासी सन्तबहादुर माझीले बताउनुभयो । “माझी, मुसहर र बोटे समुदायका मानिसहरू अहिले खेतीपाती, ज्याला मजदुरी, वैदेशिक रोजगारी र कतिपय सिकर्मी÷डकर्मी पेसातर्फ उन्मुख भएका छन्”, उहाँले भन्नुभयो, “पहिलेपहिले तराई क्षेत्रमा आवादी खुले पनि राज्यसँगको पहुँच नहुँदा जग्गा, जमिन जोड्ने कुराबाट वञ्चित मुसहर समुदाय कतिपय स्थानीय बस्तीका किनारमा झन्डै दुई पुस्तादेखि भूमिहीन अवस्थामै छन् ।” नदी, खोलाको माछा र निकुञ्जको निगुरो, तामामा आश्रित यो समुदाय पेसा परिवर्तन गरेर निकुञ्जबाट बाहिर निस्कने प्रयास गरे पनि आर्थिक उत्थानमा राज्यको नजरबाट भने ओझेलमै रहेको उनीहरुको गुनासो छ । रासस

गलकोट (बागलुङ), २८ असोज :

भाउ आकासिए पनि यहाँ मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन । कोसेलीका लागि र दसँैमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पनि व्यापार राम्रो छ । बागलुङका च्याङ्ग्रा व्यापारी बलबहादुर थापाले दसँंै लक्षित एक सय ५१ च्याङ्ग्रा जिल्लामा भित्राउनु भएको छ । मुस्ताङबाट हिँडेको पाँच दिनमा थापाले आफूसहित अन्य दुई जनाको सहयोगमा ती च्याङ्ग्रा यहाँ ल्याउनुभएको हो । लामो समयदेखि दसँै र तिहारको अवसरमा मुस्ताङ पुगेर च्याङ्गा ल्याउने गरेको बताउँदै थापाले यस पटक रू ७० लाखको लगानीमा च्याङ्ग्रा भित्र्याएको जानकारी दिनुभयो । उहाँका अनुसार एउटाको मूल्य रू ५० हजारसम्म पर्दछ । सानो च्याङ्ग्राको मूल्य ४० देखि ४५ हजार पर्ने भए पनि रोज्जा च्याङ्ग्रालाई रू ५० हजार भन्दा तल बिक्री गर्न नसकिने थापाको भनाइ थियो । “अहिले रोज्जा च्याङ्ग्रा रू ५० हजारमा बिक्री गर्ने हो । थोरै नाफा त राख्नु प¥यो । मुस्ताङबाट ल्याउदा दुःख धेरै छ”, उहाँले भन्नुभयो “महँगो भए पनि माग बढेको छ । अहिले चीनबाट नआउदा मुस्ताङ्का च्याङ्ग्रा थोरै मात्र निर्यात भएको पाइयो ।” थापाका अनुसार मुस्ताङको छोसेरबाट च्याङ्ग्रा बागलुङ ल्याउनुभएको हो । छोसेरबाट मुस्ताङको सदरमुकाम जोमसोमसम्म च्याङ्ग्रा व्यापारीले ल्याएका च्याङ्ग्रा आफूहरुले खरिद गरेर ल्याएको थापाको भनाइ थियो । थापासहित महेन्द्र केसी, यामबहादुर केसीले पनि यहाँका बजारमा मुस्ताङी च्याङ्ग्रा भित्र्याउँदै आउनुभएको छ । च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा महँगो भए पनि बिक्री हुने गरेको व्यापारीले बताउँछन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले दसँैमा भेडाच्याङ्ग्रा खोज्ने थापाले बताउनुभयो । मुस्ताङका भेडाच्याङ्ग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी तथा जिल्लाको उच्च हिमाली क्षेत्रमा पालिएका भेडाको माग अत्यधिक रहेको व्यापारीले बताएका छन् । यस वर्ष मुस्ताङबाट आठ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरिएको छ । रासस

काठमाडौँ, २८ असोज 

दसैँलगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन् । ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी लागू गर्दै यसपाली चाडपर्वका समयमा २९ हजार जनशक्ति परिचालन गरी निगरानी थालिएको सशस्त्र प्रहरीका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार २९ हजार एक सय ५४ सशस्त्र प्रहरी कर्मचारी सुरक्षा योजनाअन्तर्गत परिचालित भएका छन् । यस्तै तत्कालै खटाउन सक्ने गरी करिब तीन हजार सशस्त्र प्रहरी कर्मचारी रिजर्व फोर्सका रूपमा तयारी अवस्थामा राखिएको छ । यसपालीको चाडपर्वको समयमा सीमावर्ती इलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजनाअन्तर्गत आजैदेखि सशस्त्र प्रहरी परिचालित भएका छन् । देशभरका सशस्त्र प्रहरी बल इकाईले सीमा इलाकामा नागरिकको सुरक्षित एवं सहज आवगमनको व्यवस्था मिलाउनाका साथै आपत विपतमा परेका नागरिकको उद्वारकार्यमा सहयोग पु¥याउन भारत र चीनतर्फका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा एक सय २५ स्थानमा हेल्प डेस्क (नागरिक सहायता कक्ष) र ३३ स्थानमा हेल्थ डेस्क (नागरिक स्वास्थ्य सहायता कक्ष) स्थापना गरी निगरानी बढाएको छ । झापाको पूर्वी नाकास्थित काँकडभिट्टाको मेची पुल इलाकामा अवैध हातहतियार, विष्फोटक पदार्थ र लागुऔषध पहिचाहन गर्नसक्ने तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको जनाइएको छ । दसँै, तिहार, छठ तथा अन्य चाडपर्वमामा हुनसक्ने आपराधिक क्रियाकलाप रोकथाम एवं नियन्त्रण गर्न सशस्त्र प्रहरीको गस्ती, पट्रोल, चेक प्वाइन्टमा खटिनुका साथै मुख्य राजमार्गमा हुनसक्ने घटनालगायत दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा समयमै उद्वार गर्न ५३ स्थानमा एम्बुलेन्ससहितको आइआरटी टोली परिचालित हुने सशस्त्र प्रहरीले जनाएको छ । प्राकृतिक तथा मानवसिर्जित विपद्को अवस्थामा तत्काल परिचालन हुनसक्ने गरी सशस्त्र प्रहरीले धनकुटाको मूलघाट, बाराको निजगढ, धादिङको आदमघाट, म्याग्दीको बेनी, दाङको भालुवाङ, सुर्खेतको चिप्ले, डडेलधुराको अमरगढी र सिन्धुलीको खुर्कोट गरी आठ ठाउँमा स्थापना गरिएको विपद् व्यवस्थापन बेसमा आवश्यक स्रोत साधनसहित तालिम प्राप्त जनशक्ति तयारी हालतमा राखिएको जनाइएको छ । स्वास्थ्यकर्मीसहित सुविधा सम्पन्न आठ वटा एम्बुलेन्स र ठूलो दुर्घटना घटेको समयमा एकैपटक घाइतेलाई अस्पतालसम्म लैजान सकिने गरी मास क्याजुअल्टी भेइकल (एमसीबी)समेत सातै प्रदेश र उपत्यकामा तयारी हालतमा राखिएको छ । सोे योजनाअन्तर्गत पाँच सय ६३ स्थानमा पैदल गस्ती, तीन सय ६६ स्थानमा मोबाइल गस्ती, ३७ स्थानमा एलआरपी (लामो दूरीको गस्ती), दुई सय नौ स्थानमा क्युआरटी र तीन सय ७३ स्थानमा चेकप्वाइन्ट तथा पिकेट ड््यूटीमा सशस्त्र प्रहरी कर्मचारी तैनाथ गरिएको छ । उक्त ड्यूटीको अनुगमन सशस्त्र प्रहरी प्रधान कार्यालयबाट हुनेछ भने राजधानी लक्षित सुरक्षा योजनाको संवेदनशीलतालाई मध्यनजर गर्दै उपत्यकाका विभिन्न स्थानमा पाँचवटा अनुगमन टोलीसमेत परिचालन हुने योजना रहेको छ । रासस

चितवन, २८ असोज :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताउनुभएको छ । पश्चिम चितवनको शारदानगरमा आज तीनवटा खानेपानी आयोजनाको एकैसाथ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “देश बाहिर रहनुहुने नेपालीको हितमा सामाजिक सुरक्षा कोषको मात्रै होइन, नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको छ ।” प्रधानमन्त्री दाहालले सरकार सुशासन समाजिक न्याय आर्थिक समृद्धिको पक्षमा प्रतिबद्धता रहेको उल्लेख गर्नुभयो । “अहिले धेरै क्षेत्रमा सुधार देखिएको छ । तराईमा मिटरब्याजीको समस्या समाधान गर्नका निम्ति सरकारले लिएको पहल सार्थक भएको छ, त्यसबाहेक सुशासन र आर्थिक समृद्धिका क्षेत्रमा पनि काम भएका छन्”, उहाँले भन्नुभयो । वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी उनीहरूको भविष्य सुन्दर बनाउने सरकारले पहल गरेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रयास सामाजिक न्यायको काम हो । यसैबाट सरकारले समाजवादको आधार तयार गर्ने काम सुरु गरेको छ ।” प्रधानमन्त्री दाहालले देशको स्वाधिनता, स्वतन्त्रता र आत्मसम्मानलाई अभिवृद्धि गर्नका लागि आफ्नो विदेश भ्रमण फलदायी भएको बताउनुभयो । “म प्रधानमन्त्री भएपछि भएका भारत, इटली, संयुक्त राष्ट्रसङ्घको महासभा र चीन भ्रमणका क्रम जे सहमति र समझदारी भएका छन्, त्यसले नेपालको प्रतिष्ठा, राष्ट्रिय स्वाधिनता, असंलग्न र स्वतन्त्र परराष्ट्रनीतिलाई नयाँ उचाइमा पु¥याएको छ”, उहाँले भन्नुभयो । वर्तमान गठबन्धन सरकार सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनतालाई अझै बलियो बनाउने पक्षमा लागिरहेको उहाँको भनाइ छ । उहाँले मुलुकको राजनीतिक स्थायित्वका लागि भारत, अमेरिका र चीनँगको सम्बन्ध बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । संविधानको व्यवस्थाअनुसार सम्पूर्ण नेपालीहरूलाई स्वच्छ, गुणस्तरीय खानेपानीको व्यवस्था मिलाउने जिम्मेवारी राज्यको भएको उहाँको भनाइ थियो । सो अवसरमा खानेपानीमन्त्री महिन्द्र राय यादवले नेपाल धेरै प्रदूषण हुने मुलुकको सूचीमा विश्वको दशौँ नम्बरमा रहेको उल्लेख गर्दै यसलाई घटाउन सरकार लागिपरेको बताउनुभयो । उहाँले गठबन्धनको सरकार पाँच वर्ष टिक्ने र राजनीतिक स्थिरता कायम रहने उहाँको भनाइ थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरभित्र ९२ प्रतिशत नागरिकले स्वच्छ खानेपानी उपभोग गर्न पाएको भन्दै दुई वर्षभित्र शतप्रतिशत नागरिकलाई खानेपानीको पहुँचमा पुर्याउने बताउनुभयो । खानेपानी मन्त्रालयका सचिव रामआधार साहले सन् २०३० सम्ममा शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी पुर्याउने गरी काम भइरहेको बताउनुभयो । सो अवसरमा भरतपुर महानगरपालिका वडा नं १९ का पूर्ववडाअध्यक्ष कर्णबहादुर गुरुङ, खानेपानी तथा ढल व्यवस्थापन बिभागका महानिर्देशक कमलराज श्रेष्ठ, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना निर्देशक रत्न सापकोटालगायतले धारणा राख्नुभएको थियो । कार्यक्रममा शारदानगर जागृति सहरी खानेपानी तथा सरसफाइ आयोजना, जखडीमाई सहलगानी खानेपानी आयोजना र दिव्यनगर खानेपानी आयोजनाको संयुक्तरूपमा उद्घाटन गरिएको हो । शारदानगर खानेपानी तथा सरसफाइ आयोजनाबाट भरतपुर महानगरपालिका वडा नं १७, १९ र २० का तीन हजार पाँच सय ६४ घरधुरीका १९ हजार चार सय ४२ जना लाभान्वित हुनेछन् । उक्त आयोजना रु ३७ करोड ९९ लाख ४७ हजार तीन सय १६ को लागतमा निर्माण गरिएको हो । जखडीमाई सहलगानी खानेपानी आयोजनाबाट भरतपुर महानगरपालिकाको वडा नं १० र ११ का तीन हजार तीन सय ६८ घरपरिवारका १३ हजार पाँच सय ५२ जना लाभान्वित हुनेछन् । विसं २०७७ असार ८ गते निर्माण सुरु भई विसं २०८० साउन ३० गते सम्पन्न भएको सो आयोजना निर्माणका लागि रु २७ करोड १७ लाख २४ हजार पाँच सयमा ठेक्का सम्झौता भएको थियो । दिव्यनगर खानेपानी आयोजनाबाट भरतपुर महानगरपालिका-२६ ले साबिकको दिव्यनगर गाउँ विकास समितिका एक हजार आठ सय ५५ घरधुरीका नौ हजार दुई सय ७१ जना लाभान्वित हुनेछन् । विसं २०७८ असार ७ गते निर्माणको सम्झौता गरी विसं २०८० असोज ३ गते सम्पन्न गरेको हो । आयोजना निर्माणमा रु १० करोड ४४ लाख १७ हजार एक सय ९२ खर्च भएको छ । कार्यक्रममा खानेपानी आयोजना निर्माणमा सहयोग पुर्याउने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना निर्देशक रत्न सापकोटा र समयमा काम सम्पन्न गरेकामा निर्माण व्यवसायी सहदेव खड्कालाई सम्मान गरिएको थियो ।रासस

कर्णाली, २८ असोज 

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नेपाली मौलिकताको समाजवाद विकास गर्नुपर्ने बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमै समाजवादोन्मुख व्यवस्था उल्लेख गरिएकाले दलहरुले समाजवादका विषयमा बहस सिर्जना गरी नेपाली मौलिकताको समाजवाद र विकासलाई अपरिहार्य सर्तका रूपमा लिनुपर्नेमा जोड दिनुभएको हो । मुख्यमन्त्री शर्माले भन्नुभयो, “संविधानको प्रास्तवनामै समाजवादोन्मुख व्यवस्था भनिएको छ र हामी कांग्रेस, कम्युनिष्ट सबैले समाजवाद भनिरहेका छौँ । कस्तो समाजवाद हामीले चाहेका हौँ, त्यसको बहस गर्न जरुरी छ ।” त्यो बहसबाट अहिलेको सामाजिक अन्तर्विरोधलाई समाधान गर्न सकिने भन्दै उहाँले आर्थिक सम्पन्ता र सामाजिक न्यायलाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री शर्माले भन्नुभयो,“जनतालाई सुख र खुसी चाहिएको छ । आर्थिक सम्पन्तासँगै सुख र सामाजिक न्यायसँगै खुसी जोडिएको छ । प्रदेश सरकारले आर्थिक सम्पन्ताका लागि रोजगारी र सामाजिक न्यायका लागि जागरणका कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।” समाजवादी मोर्चा गठन नेकपा (माओवादी केन्द्र)का सुर्खेत जिल्ला अध्यक्ष जीतवहादुर रानाको संयोजकत्वमा समाजवादी मोर्चा गठन गरिएको छ । उक्त मोर्चाको सदस्यमा नेकपा (माओवादी केन्द्र)बाट टोपबहादुर दर्लामी, नेकपा (एकीकृत समाजवादी)बाट टोपबहादुर रास्कोटी, खड्क केसी, नेकपाका जीत सी, योजना सी र जसपाका तर्फबाट दीप नेपाली र गङ्गा देवकोटा सदस्य रहनुभएको छ । कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का जिल्ला सह–इञ्चार्ज कुलदीप भट्टले समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीबीच एकता जरुरी रहकाले त्यसका लागि मोर्चा गठन गरिएको बताउनुभयो । नेकपाका नेता भरत सीले सुशासन, शान्ति र समृद्धिका लागि समाजवाद अपरिहार्य भएको धारणा व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र नागरिक अधिकारको सुरक्षार्थ एक हुनाको विकल्प नरहेकामा जोड दिनुभयो । रासस

तनहुँ, २८ असोज :

बन्दीपुरमा १७ तले ‘क्वीन टावर’ नाम दिइएको पाँचतारे होटल निर्माण अन्तिम चरणमा पुगेको छ । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरमा निर्माणधीन उक्त होटल सम्पन्न भइसकेको छ । होटलमा रङगरोगन र फिनिसिङलगायत काम अन्तिम चरणमा रहेको बन्दीपुर केबलकार एण्ड टुरिजमले जनाएको छ । करिब ९० कोठा रहेको हिलटपमा ७८ कोठा प्रयोगमा ल्याइने छ । सेमिनारलगायत अन्य कामका लागि एक हजार बढी क्षमताको ठूलो सभाहलसमेत निर्माण गरिएको छ । होटलको सुरु तलाबाट सत्र तलासम्म क्यापसुल लिफ्टबाट सिधैँ ‘क्वीन टावर’सम्म जान सकिने व्यवस्था गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजमका प्रमुख इञ्जिनियर हरिदत्त पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केबलकारको प्रवेशद्वारमा रू २६ करोडको लागतमा अर्को सुविधा सम्पन्न आधुनिक होटल निर्माण भइरहेको छ । उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको जनाइएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबलकार निर्माण गरिएको छ । एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलकोन गर्दै उक्त केबलकारबाट पर्यटकले यात्रा गर्न सक्नेछन् । केबलकारको अहिले परीक्षण भइरहेको इञ्जिनियर पौडेलले बताउनुभयो । केबलकारको २१ डिब्बा यात्रु बोक्ने, छ रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ डिब्बा रहेका बताउँदै उहाँले एउटामा आठ जनासम्म यात्रु अटाउने क्षमता हुने जानकारी दिनुभयो । “एड्भेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ । यो सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको छ”, पौडेलले भन्नुभयो, “केबलभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिन सञ्चालन गर्ने योजना छ ।” उहाँका अनुसार केबलकारमा न्यूनतम रू ५० देखि रू २५ हजारसम्म टिकट शुल्क तोकिएको छ । पृथ्वीराजमार्गमा रहेको बटम स्टेशनबाटमाथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थीलाई रू पचास, पत्रकारलाई रू तीन सय पचास, अन्य यात्रुका लागि रू पाँच सय, रेष्ट्रो क्याबिनको रू २५ हजार र ६५ वर्ष माथिका नागरिकलाई टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ । केबलकार र पाँचतारे होटल गरी कूल रू तीन अर्ब ५८ करोडको लागतमा निर्माण सम्पन्न हुन लागेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । बन्दीपुर आउने पर्यटकले केबलकारमा सुतेरै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै मनोरञ्जन दिने कम्पनीको मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो । केबलकारभित्र रेष्ट्रो सुविधा केबलकारमा यात्रुको आवतजावतको समय पश्चात् साँझपख केबुलकारभित्र रेष्टुरेण्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिने कम्पनीका अध्यक्ष शर्माले बताउनुभयो । प्रत्येक दिन साँझ ५ बजेपछि यो सुविधा प्रदान गरिने योजना रहेको उहाँको भनाइ थियो । बन्दीपुरमा ठूलो सङ्ख्यामा आउने पर्यटकलाई लक्षित गर्दै केबलकार, रेस्ट्रोकार र तारेस्तरसम्मको होटल निर्माण गरिएको अध्यक्ष शर्माले बताउनुभयो । उहाँका अनुसार बटम स्टेशनबाट बन्दीपुरमा निर्माण गरिएको सत्र तले होटलभित्रै केबलकार पुगेर टुङिग्ने छ । “बटम स्टेशन (तल) हाइवेसँग जोडिएको छ । जहाँबाट सिधैँ माथि बन्दीपुरस्थित होटलभित्र पुग्न सकिन्छ”, उहाँले भन्नुभयो । बटम स्टेशनको भवन अन्य केबलकारको भन्दा फरक किसिमको टर्मिनल भवन रहेको छ । सोही भवनमा भिआइपी लन्च, ओपन रेष्टुरेन्ट (टुरिष्ट कोच), अतिथि स्वागत गर्ने लगायतका कार्य एउटै भवनबाट हुनेछ ।रासस

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।