बैतडी, २९ असोज
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज विहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएकोे जानकारी दिनुभयो । भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस
जुम्ला, २९ असोज
ऐतिहासिक सिंजा राज्यको सितकालिन राजधानी रहेको दैलेखको दुल्लु नगरपालिका र जुम्लाको सिजा गाँउपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । सिंजा गाउँपालिका उपाध्यक्षसहित पालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल दुल्लु पुगेर नगर प्रमुख भरतप्रसाद रिजालसँग भगिनी स्थापना गरेको सिंजाका अध्यक्ष धितालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ सङ्घीय सरकार भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईको उपस्थितिमा दुल्लुका नगर प्रमुख र उपप्रमुखसँग सिंजा र दुल्लु क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवद्र्धन, विकास एवं प्रचारप्रसारमा सहकार्य गरिने गरी भगिनी सम्बन्धको ऐतिहासिक निर्णय भएको छ ।” कल सांस्कृतिक, असल अभ्यास आदानप्रदान गर्ने र समस्या, चुनौती साँझा चासोका विषयमा दुई पक्ष हित हुने गरी सामूहिक पहलसम्बन्धी सिंजा खस भाषाको जन्मथलोसमेत रहेको सिंजासँग भगिनी स्थापना हुनु भनेकै गैरवको कुरा भएको दुल्लु नगर प्रमुख रिजालको भनाइ छ । दुल्लु नगरपालिका जनप्रतिनिधिलाई ऐतिहासिक सिंजा उपत्यका भ्रमणको निम्तोसमेत दिएको सिंजा गाउँपालिका उपाध्यक्ष सीतली रोकायाले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा दुई हजार बढी लाभान्वित जुम्लाको हिमा गाउँपालिकाले सञ्चालन गरेको पालिकाभित्र तीन दिने निःशुल्क मुटु रोग शिविरबाट यहाँका दुई हजार तीन सय ७३ लाभान्वित भएका छन् । गाउँगाउँमा मुटु रोगी बढे पनि अस्पताल पुगेर उपचार गराउने अधिकांश स्थानीयवासीको आर्थिक अवस्था निकै कमजोर रहेको छ । समयमै उपचार पाउन सकेका छैन । हिमाका नागरिकको मागअनुसार मुटु रोगसम्बन्धी विशेज्ञ डाक्टरबाट उपचार र स्वास्थ्य जाँच गरिएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादेर शाहीले भन्नुभयो, “गाउँपालिकाले विभिन्न समयमा स्वास्थ्य शिविर सञ्चालन गर्दे आएको छ । मेरो पहिलो प्रथामिकता नागरिकको स्वास्थ्य हो । ” हालसम्म करिब सातवटा विभिन्न रोगको शिविर सञ्चालन भई सम्पन्न भइसकेको उहाँको भनाइ छ । हिमाका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा पालिकाले गरिदिने नीति तथा कार्यक्रम बजेटबाट पारित भइसकेको छ । सामुदायिक विद्यालयका विद्यार्थीको मुटुको अवस्था थाहा पाउनको लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । मुटु जोगाउ काठमाडौँको प्राविधिक सहयोगमा दुई हजार तीन सय ७३ विद्यार्थी र अन्य स्थानीयवासीको मुटुको परीक्षण गरी उपचार गरिएको छ । परीक्षण गरिएकामध्ये १३ जनाको निःशुल्क शल्यक्रियाको लागि मनमोहन कार्डियो थोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर काठमाडौँमा रेफर गरिएको गाउँपालिका अध्यक्ष शाहीले दिनुभयो । बजार अनुगमन तीव्र जुम्लामा चाडबाड नजिकिएसँगै बजार हुने कालोबजारीलाई रोक्नका लागि अनुगमनलाई तीव्र बनाइएको छ । बडादसैँ र तिहारलाई ध्यानमा राखेर उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले बजार अनुगमनलाई तीव्र बनाएको छ । सदरमुकाम खलङ्गा बजारका खाद्यान्न पसलमा अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका बजार अनुगमन प्रमुख भगवती श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय, चन्दननाथ नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, उद्योग वाणिज्य सङ्घ , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र आन्तरिक राजस्व कार्यालयले संयुक्तरुपमा बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्र डिभिजन कार्यालय जुम्लाका प्रमुख डा ईश्वर सुवेदीले बताउनुभयो । अनुगमनका क्रममा उपभोग्य मिति सकिएका अखाद्य वस्तु नष्ट गरिएको छ । रु ३२ हजार दुई सय ८० मूल्य बराबरको खाद्य सामग्री पनि बरामद गरी नष्ट गरिएको छ । पछिल्लो दुई दिनमा जुम्ला बजारका ६८ पसल अनुगमन गरिएको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । चन्दननाथ नगरपालिकाको खलङ्गा बजारका विभिन्न स्थानको अनुगमनका क्रममा म्याद गुज्रिएका, कर छली गरेर बिक्री गरिएका वस्तु, जङ्कफुड, सूर्तीजन्य प्रदार्थ खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको आन्तरिक राजस्व कार्यालय जुम्लाका कर अधिकृत धनसिंह थापाको भनाइ छ । चाडपर्वको समयमा म्याद गुज्रेको सामान बजारमा आउन सक्ने, मूल्यवृद्धि हुनसक्ने भएकाले संयुक्त बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।रासस
अन्नपूर्ण (कास्की), २९ असोज
बझाङको साइपाल गाउँपालिका–१ का राजेन्द्रबहादुर धामीले विसं २०६८ सालदेखि पोखरामा च्याङ्ग्रा झार्न थाल्नुभएको हो । उहाँले गाउँमा च्याङ्ग्रा पालन गरी बर्सेनि दसैँको समयमा बेच्न पोखरा ल्याउने गर्नुहुन्थ्यो । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उहाँले बझाङको साविकको काँडा गाउँपालिका अध्यक्ष पदमा विजयी हुनुभयो । यसलगत्तै उहाँ सबै काम छाडेर गाउँलेको सेवामा लाग्नुभयो । गाउँलेकै आग्रहमा काँडा गाउँपालिकाको नाम साइपाल गाउँपालिकामा परिवर्तन गर्नुभयो । जनप्रतिनिधि भएर काम गर्दा उहाँले च्याङ्ग्रा व्यापार धेरै सम्झनुभयो । गाउँको सेवामा लागिरहँदा यसमै लत बसिसकेको थियो । जनताको सुख दुःखमा साथ दिँदादिँदै पाँच वर्ष बित्यो । विसं २०७९ मा पुनः स्थानीय तहको निर्वाचन हुने भयो । उहाँलाई फेरी जनप्रतिनिधि भएर काम गर्ने मन थियो । तर, पार्टीले टिकट दिएन । “पाँच वर्ष सेवा गरे अझै काम गर्ने मन थियो”, उहाँले भन्नुभयो, “पार्टीले टिकट दिएन् अनि फेरि परिवारले सम्हालेको च्याङ्ग्रा पालन तिर लागे ।” उहाँलाई पूर्वगाउँपालिका अध्यक्ष हुँ भन्ने दम्भ कहिल्यै भएन । काम भनेको सानो ठूलो हुँदैन भन्ने उहाँको सिद्धान्त छ । “म त पूर्वजनप्रतिनिधि हुँ भन्ने कहिल्यै लागेन । अहिले पनि गाउँलेको सेवामा हाजिर हुन्छु”, उहाँले भन्नुभयो, “काम सानो ठूलो लाग्दैन । मैले च्याङ्ग्रा पालनसँगै जडीबुटी खोज्ने र व्यापार पनि गर्छु ।” धामी अहिले पोखरामा च्याङ्ग्रा धपाइरहेको अवस्थामा भेटिनुहुन्छ । उहाँ दसैँका लागि एक सय २७ च्याङ्ग्रा लिएर शुक्रबार पोखरा आउनुभएको हो । “दसैँमा पोखरामा च्याङ्ग्रा धेरै बिक्री हुन्छ । यसैले बझाङदेखि तीन दिन तीन रात काटेर च्याङ्ग्रा लिएर आएको हुँ”, उहाँले भन्नुभयो, “मैले ल्याएको एक सय २७ च्याङ्ग्रामध्ये आफैँले पालेको ८० वटा छ । अरु गाउँलेसँग किनेर ल्याएको छु ।” सप्तमीसम्म ल्याएको च्याङ्ग्रा सबै बिक्री हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । यहाँको व्यापारबाट भएको आम्दानीले बझाङ दसैँ धुमधामले मनाउँने उहाँको योजना छ । “सप्तमीसम्म सबै बिक्छ । यसबाट दुई लाख जति नाफा होला की भन्ने सोचेको छु । के थाहा घाटा पनि हुनसक्छ”, उहाँले भन्नुभयो, “अष्टमीतिर घर फर्कने अनि दसैँ मनाउने भन्ने योजना छ ।” उहाँले पोखरा ल्याएको च्याङ्ग्राको मूल्य रु २५ हजारदेखि ५० हजारसम्म मूल्य तोक्नुभएको छ । उहाँले अन्य समयमा बझाङमै च्याङ्ग्रा बेच्ने गर्नुहुन्छ । यो व्यापारबाट उहाँले एक वर्षमा दशदेखि १२ लाख आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । “गाउँपालिका अध्यक्षमा जिताएर त्यहाँका जनताले अनुभव गर्ने अवसर दिनुभएको थियो । मैले उहाँहरुको सेवा पनि गरे”, उहाँले भन्नुभयो, “अहिले यो व्यापार गरिरहेको छु । दुवैतिर दुख नै छ । मलाई जनप्रतिनिधि हँुँदा र व्यापारी हुँदा उस्ताउस्तै लागेको छ ।” अवसर पाए पुनः जनताको सेवा गर्ने इच्छा रहेको बताउने उहाँ पार्टीले नपत्याए आफ्नै व्यापार व्यवसाय अघि बढाउने सोचमा हुनुहुन्छ । रासस
बैतडी, २९ असोज
वेमौसमी वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ । आइतबार बेलुका परेको असिनापानीले जिल्लाको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिका सहित पुर्चौडी नगरपालिकालगायतमा बाली नष्ट गरेको हो । असिनापानीले पाकेको धान, भटमास, कोदो, र तरकारी नष्ट गरेको डिलाशैनी–७ का मदन धामीले जानकारी दिनुभयो । पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ । दिनभरि मौसम सफा रहे पनि साझँपख वर्षा भएको छ । वर्षाका कारण खरफागलामा काटेर सुकाएको खर घाँस समेत क्षति भएको दोगडाकेदारकी अन्जु भाटले बताउनुभयो । हिउँदको महिनामा पशुचौपायाका लागि काटेर सुकाएको खर नष्ट गर्दा किसान चिन्तित बनेका छन् । हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खर फागालाको घाँस काटेर सुकाउने गरिन्छ । रासस
सुदूरपश्चिम, २९ असोज
काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पु¥याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा रु सात हजार नौसयबाट वृद्धि गरी रु सत्र हजारभन्दा बढी पु¥याएको गुनासो यात्रुको छ । चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “काठमाडौँदेखि नयाँ दिल्लीको हवाई भाडा रु सत्र हजारभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।” चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन । धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसारनै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताउनुभयो । “मन्त्रालयले स्वीकृत गरेको भाडादरअनुसार नै विमान कम्पनीले लिइरहेको देखिएको छ”, उहाँले भन्नुभयो, “चाड पर्वको बेला काठमाडौँबाट धनगढी फर्किने यात्रुको चाप बढ्दा अधिकतम भाडा र धनगढीबाट काठमाडाँै जाने यात्रु घट्दा न्यूनतम भाडा लिइरहेको देखिन्छ ।” भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ । हाल काठमाडौँ–धनगढीको भाडादर रु १४ हजार सातसय एकदेखि रु १७ हजार एकसय ८६ लिने गरिएको छ । धनगढीदेखि काठमाडौँसम्मको भाडा भने निम्नतम रु सात हजार नौ सय छ । गएको साउन महिनादेखि यात्रुको हवाई टकटमा मूल्य अभिवृद्धि कर(भ्याट) समेत जोड्ने गरिएको छ । यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाडाँैमा रु चारसय र धनगढीमा रु पाँच सय तोकिएको छ । धनगढी विमानस्थलबाट बुद्धएयर र श्री यएरलायन्सले काठमाडौँ–धनगढी–काठमाडौँसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेको छ । निजी क्षेत्रको समिट एयरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधबार र सोमबार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा हवाई सेवा दिन थालेको छ । रासस
काठमाडौँ, २९ असोज :
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल चीन प्रस्थान गर्नुभएको छ । चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उहाँ गए राति चीन प्रस्थान गर्नुभएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडाले राससलाई जानकारी दिनुभयो । खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरुसँग पनि भेटघाट गर्नुहुने कार्यक्रम छ । सो कार्यक्रममा सहभागी हुन नेता खनालको साथमा रविलक्ष्मी चित्रकार र प्रा डा युवराज सङ्ग्रौला पनि चीन प्रस्थान गर्नुभएको छ । नेतालगायतको टोली यही अक्टोबर २२ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस
फुङ्लिङ (ताप्लेजुङ), २९ असोज
पछिल्लो पुस्ताका चर्चित साहित्यकार टङ्कबहादुर भट्टराईद्वारा लिखित ‘ठाँटीको घाम’ उपन्यास सार्वजनिक भएको छ । घटस्थापनाका अवसरमा ताप्लेजुङ जिल्ला सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, पाथीभारा याङवरक गाउँपालिकाका अध्यक्ष केशरकुमार मेङ्म्बो, मेरिङ्देन गाउँपालिकाका अध्यक्ष यूक हां वीर हांगाम लगायतले संयुक्तरुपमा सो कृतिको विमोचन गर्नुभएको थियो । सो अवसरमा उहाँहरुले साहित्यकार भट्टराईलाई अगामी दिनमा निरन्तर लेखन जारी राख्न सुझाव दिनुभयो । ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत भट्टराईको यसअघि ‘साँझमा पारिलो तारा २०६८’ (कविता सङ्ग्रह) र ‘म पनि बग्दैछु साप्सु–२०७३’ कथा सङ्ग्रह प्रकाशित भइसकेका छन् । सामाजिक जनजीवनलाई जीवन्त एवं सटिकरुपमा उतारिएको सो ‘ठाँटीको घाम’ उपन्यासभित्र विभिन्न ५३ खण्डमा अलगअलग विषयवस्तु सरल र सहज भाषामा समेटिएका छन् । उपन्यास २४५ पृष्ठको छ । उपन्यासका लेखक भट्टराईले भन्नुभयो, “उपन्यासका कथावस्तु र पात्र मेरै गाउँ घर वरिपरिका हुन् । केही मेरो बुबाको साथीसमेत उपन्यासका वस्तुमा पात्रका रुपमा उभिएका छन् । गाउँ घरमा भएको सामाजिक यथार्थ परिवेश र समस्यालाई केन्दमा्र राखेर उपन्यासको भाव भूमि उनिएका छन् ।” सो अवसरमा कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार कमल भट्टराईले भन्नुभयो, “यस उपन्यासले समाजमा धेरै कुरा सिकाएको छ । उपन्यास मनदन पुरस्कार प्राप्तिका लागि दाबी गर्न योग्य छ । म एकपटक आम पाठकले उपन्यासलाई अध्ययन गर्न आग्रह गर्दछु । ” साहित्यकार तथा उपप्राध्यापक शान्तिराम नेपालले ‘ठाँटीको घाम’ उपन्यासले नेपाली समाजलाई नयाँ ढङ्गबाट व्याख्या, विश्लेषण गरेको जनाउँदै नेपाली उपन्यासमा यसले नयाँ आयाम थपेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “गालामा हात राखेर उपन्यासका कथा बगेजस्तै कोही कसैको मन उपन्यास पढ्दा बगिरहेको प्रस्ट नै अनुमान लगाउन सकिन्थ्यो । उपन्यासमा प्रस्तुत भएको विषयवस्तु, पात्रको चरित्रका बारेमा प्रस्तुत गर्दा प्रायः सबैले एक पटक आफ्नो बाल्यकालमा विद्यालय गएको सम्झना आइरहन्थ्यो ।” नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले उपन्यासमाथि समिक्षा गर्दै भन्नुभयो, “म दुई दशकदेखि पत्रिकारिता गर्दै आएको छु । मैले कलम चलाउनुभन्दा अघि त्यो कलम र त्यसको मसीले कसैमाथि अन्याय गरिहेको छ की भनेर सोच्न यो किताबमा लेखिएको हरफले सिकाएको छ । उपन्यासले पत्रकारले कलम चलाउनुअघि प्रयोग गरिने भाषा र विषयका बारेमा सोच्न सन्देश दिएको छ ।” उपन्यासमा रहेका विषय वस्तु हाम्रै छरछिमेक गाउँ घरको यर्थाका घटनालाई सिलसिलाबद्ध तरिकाले उठान गरेका उहाँले बताउनुभयो । “मैले किताब समाउँदै गर्दा र किताबका पाना पल्टाउँदै गर्दा सोचेको पनि थिइन, एकजना राष्ट्रसेवक कर्मचारीले कोही किन अनियमिततामा लुप्त हुन्छ, उसले त्यसरी कमाएको पैसा केमा खर्च गर्छ भन्ने कथामा समेटेको छ ।” पत्रकार गौतमले भन्नुभयो“यो उपन्यासले नेतालाई उच्च सम्मान दिएको छ । लक्ष्य र योजना भएको सक्षम नेतृत्वले समाजमा परिवर्तन ल्याउन सक्छ भन्ने देखाएको छ । समुदायमा भोट माग्नुअघि देखाउनुपर्ने चरित्र, समुदायले गर्ने मूल्याङ्कनका विषयमा प्रष्ट्याइएको छ । नेतृत्व समाजप्रति उत्तरदायी भए भोट माग्नु जानुपर्दैन जनताले आफँै नेतृत्व खोजेर आउँछन् भन्ने सन्देश दिएको छ । रासस
काठमाडौँ, २९ असोज :
कानुन र विकास निर्माणको पाटोबाट केही गर्न नसकेपछि निरासमा परेका मतदाताले आक्रोशले होइन, हाँसेर हेरिदिउन् भनी आशा थेग्न र भरोसा दिलाउन अहोरात्र जनताको घरदैलोमा पुग्दैआएको छु ।” सांसदसँग रासस संवादमा नेकपा (एमाले)का नेता हरिप्रसाद उप्रेती मुलुकमा जारी राजनीतिक अस्थिरता, युवा विद्यार्थीको विदेश पलायन, समाजमा देखिएको अविश्वास र आर्थिक सङ्कटका कारण आफू निर्वाचित भएको औचित्यसमेत पुष्टि गर्न धौ धौ परिरहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “जनप्रतिनिधि नै अलमलमा परेका बेला मतदाताको अनुहार के उज्यालो होला ! त्यो स्थिति छ । निर्वाचित भएको औचित्य आत्माले सोधिरहेको छ । पुष्टि गर्न सकेको छुइन ।” आफू जनप्रतिनिधि रहेकै बखत किसान, मजदुर, कर्मचारी, शिक्षक, विद्यार्थी, उद्योगी र व्यपारी कोही सन्तुष्टि नभएको घटनाले तनाव सिर्जना गरेको बताउँदै उहाँले केही लिएर जान नसके पनि जनताको सेवामा निरन्तर घरदैलोमै पुगेको जानकारी दिनुभयो । निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत विगतमा पाएको बजेटको अधिकतम सदुपयोग गरी जनतालाई उत्साहित बनाएको घटना सुनाउँदै उहाँले संविधान जारी भएपछि मुलुकले विकास र समृद्धिमा तीव्रता हासिल गर्छ भन्ने आशामा भरोसा दिलाउन चुकिएको प्रतिक्रिया दिनुभयो । विसं २०३६ देखि मुलुकको राजनीति परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलन र क्रान्ति सहभागी भई योगदान पु¥याउनुभएको छ । पार्टीभित्र शालिन र जनप्रिय नेताको परिचयन बनाउनुभएका उहाँ संविधानसभादेखि प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्दै आउनुभएको छ । समानुपातिक र समावेशी चरित्र मात्र होइन, मौलिक हक अधिकारका हिसाबले उत्कृष्ट रहेको संविधानमा साससमेत प्रदूषित वातावरणमा फेर्न नपर्ने तथा परेको खण्डमा मुद्दा हालेर क्षतिपूर्ति भराउन सक्ने प्रावधानतर्फ ध्यानाकर्षण हुन् जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । विकास निर्माणमा सांसद संलग्न हुन नपाउने हो भने त्यो विषय राज्यले उम्मेदवारलाई निर्वाचन अघि नै स्पष्ट पार्न पर्ने बताउँदै नेता उप्रेतीले राजनीति दलले पनि चुनावी घोषणपत्रमा यो गर्छाै, त्यो गर्छाैं भनी लामो फेरिस्त प्रस्तुत गर्न नहुने तर्क प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका बेला धारा, कुलो, बत्ती, सडक, पुल नभएको ठाउँमा पूरा गर्छांै भनिएको छ, निर्वाचन आयोग, अदालत र सरकारले त्यस बेला सांसद विकास निर्माणमा लाग्न हुन्न भनेर किन नबोलेको, जनताले घोषणापत्र हेरेर भोट हालेका हुन्, अहिले उनीहरुलाई धोका दिन मिल्छ !” संसद्भित्र रहेको समीकरणको आधारले कानुन निर्माणलाई कति प्रभावकारी र तीव्र तुल्याउन सकिन्छ भन्ने भूमिका निर्धारण गर्ने उल्लेख गर्दै सांसद उप्रेतीले विधेयक बनाउने भूमिकामा रहेको मन्त्रालयको तयारीमा धेरै कुरा निर्भर रहने धारणा राख्नुभयो । पूर्वमन्त्री उप्रेतीले भन्नुभयो, “नागरिकता विधेयक रोकिँदा धेरै अलमल र समय बर्बादी भयो, सुन प्रकरणले पनि धेरै दिन सदन प्रभावित रह्यो । कतिपय अवस्थामा ढिलाइ हुँदा अनियमिता रोक्न पनि सहयोग पुग्छ ।” सुनकै अक्षरले लेखिए पनि परिणाम सबै राम्रै दिन्छ भन्ने औचित्य पुष्टि गर्न कठिन हुने उल्लेख गर्दै उहाँले यति सानो मुलुकमा यति धेरै संरचना आवश्यक नरहेकाले खर्चलगायत कारणले सङ्घीयताको कार्यान्वयनमा चुनौती खडा गरिरहेको प्रतिक्रिया दिनुभयो । एक प्रश्नको जवाफमा नेता उप्रेतीले कोशी, मलङ्गवा, नेपालगञ्जमा सामाजिक सद्भाव र सहिष्णुतामा खलल पु¥याउन कोसिस भइरहेका बेला दिइने कतिपय उत्तेजनापूर्ण अभिव्यक्तिले असहिष्णुताका लागि बल पु¥याउनेतर्फ समयमै सचेत र सजग हुन आवश्यक रहेको सुझाव दिनुभयो । पछिल्ला निर्वाचनमा हुने गरेको खर्चले निष्ठाको राजनीतिक गर्ने ओझेलमा पर्ने र चुनावमा जति पनि खर्च गर्न सक्ने उद्योगी, व्यापारी र ठेकेदारको हाली मुहाली रहने परिस्थिति सिर्जना गरेकाले अभ्यासमा रहेको निर्वाचन प्रणालीमा व्यापक पुर्नविचार र सुधारको खाँचो उहाँले औँल्याउनुभयो । पूर्वमन्त्री उप्रेतीले भन्नुभयो, “खर्चका हिसाबले भ्रष्टाचार र निर्वाचन एक अर्काका पर्यायका रुपमा आएको देखियो । नागरिक अधिकार र लोकतन्त्रका लागि जीवन खर्चेका निष्टाको राजनीतिक गर्ने चुनाव नै लड्न नसक्ने भए भने तस्करी र माफियाको वर्चश्व रह्यो । चुनावी प्रणाली नसच्याए लोकतन्त्र नै धरापमा पर्न सक्छ ।” नेताका परिवारलाई धमाधम सासद बनाउने प्रवृत्तिले समानुपातिक निर्वाचनको औचित्यमा गम्भीर प्रश्न उठेको बताउँदै उहाँले अभ्यासमा रहेको निर्वाचन प्रणालीबारे निर्मम भएर सोच्न पर्ने अवस्था आएको प्रतिक्रिया दिनुभयो । एक प्रश्नको जवाफमा सांसद उप्रेतीले खर्चका हिसाबले प्रत्यक्षतर्फको सांसदको सङ्ख्या घटाउन र राष्ट्रियसभामा रहेको सङ्ख्या बराबर समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था कायम गर्न आवश्यक रहेकोे तर्क थियो । कतिपय सांसदले आवेगमा दिने अभिव्यक्ति र प्रस्तुत हुने शैलीबाट सदनको मर्यादा र अनुशासन स्खलीत भएको बताउँदै उहाँले आदर्श व्यक्तित्वको कम्जोर प्रतिनिधित्व तथा अरुलाई प्रहार गर्दा आफू सर्वश्रेष्ठ भइन्छ भन्ने मानसिकताको अस्वस्थ्य प्रतिस्पर्धाले त्यो अवस्था सिर्जना भएको टिप्पणी गर्नुभयो । सञ्चारमाध्यमलगायतका कारण भ्रष्टाचारका घटना सतहमा आउने र जनताले थाहा पाउने विषय महत्वपूर्ण कुरा भएको बताउँदै सांसद उप्रेतीले त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने घटनामा सबैको जोड बल हुनुपर्छ भन्नुभयो । विदेशी सहयोगमा स्थापना भई हाल रुग्ण अवस्थामा रहेको उद्योगलाई प्रभावकारीरुपमा सञ्चालनमा ल्याएर युवालाई रोजगारी सिर्जना गर्न सकिने बताउँदै उहाँले वीरगञ्ज चिनी उद्योग, बुटवल धागो कारखाना, गोरखकालीन रबर उद्योग र हेटौँडा कपडा उद्योगलाई नमूना बनाउन सकिने प्रशस्त सम्भावना रहेको विचार प्रकट गर्नुभयो । कृषि क्षेत्रको विकास गर्न अनुदान र आधुनिकीकरण गर्न आवश्यक रहेको बताउँदै नेता उप्रेतीले कुनै पनि सरकारले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन नसकेको धारणा राख्नुभयो । राज्यले आउन सक्ने चुनौतीलाई समयमै ध्यान पु¥याउन नसक्दा जीवनलाई मृत्युसँग साटेर ठूलो सङ्ख्यामा युवा विदेश पलायन हुन परेको घटना सुनाउँदै उहाँले जीवनप्रतिको मोह हराएकै कारण समाजमा अराजकताको स्थिति उत्पन्न गरेको विचार प्रकट गर्नुभयो । सांसद उप्रेतीले भन्नुभयो, “प्रकृतिक स्रोत र साधनले परिपूर्ण, सानो र सुन्दर देश छ, अनुशासित र दृढ सङ्कल्पित भई काम गर्नुपर्छ, अनि छोटो समयमै देशमा समृद्धि हासिल गर्न सकिन्छ, हामी त्यसमा काम गर्छाैं, त्यो विकास सन्ततिले होइन, हामीले नै भोग गर्न पाउँछौँ । रासस
बलेवा (बागलुङ), २९ असोज
नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय खुकुराको मासुको मूल्य केही वृद्धि हुँदा दसैँको समयमा खसीबोकाकै माग बढ्दो छ । हिमाली क्षेत्रबाट आउने च्याङ्गाको मूल्य प्रतिगोटा रु आठदेखि दश हजार मूल्य वृद्धि भएको छ । अघिल्लो वर्ष रु ४० हजारसम्म पाइएको च्याङ्ग्रा यो वर्ष रु ५० हजार बढी पर्ने व्यवसायी बताउँछन् । तर यस दसैँमा स्थानीय खसीबोकाको मूल्यमा भने अघिल्लो वर्षको भन्दा घटबढ छैन । चीनबाट मुस्ताङको बाटो हुँदै आउने च्याङ्ग्रा यो वर्ष नेपाल भित्रिएनन् । कोरला नाका नखुलेकाले चीनका च्याङ्ग्रा नेपाल नभित्रिँदा मूल्य बढेको व्यवसायी बताउँछन् । “दसैँअघिकै भाउमा स्थानीय खसीबोकाको कारोबार भएको छ, बजारमा एक किलो स्थानीय खसीको मूल्य रु एक हजार एक सय छ, जुन मूल्य अघिल्लो दसैँमा पनि थियो”, बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीका तिलक पौडेलले भन्नुभयो, “कुखुरा र च्याङ्गाको मूल्य बढे पनि स्थानीय खसीबोकाको मूल्यमा खास वृद्धि भएको छैन । खसीबोकाको मासुको मूल्य तोक्ने निकायले ध्यान नदिँदा वर्षौं एउटै मूल्यमा खसीबोका बिक्री गर्नुपरेको किसानको गुनासो छ । “च्याङ्ग्राको मूल्य हरेक वर्ष बढ्दो छ, सबैले किनेर खाएकै छन्, यहाँ किसानले दुःख गरेर उत्पादन गरेको खसीबोका दसैँका बेला ओझेलमा पर्छन्”, जैमिनीकै किसान भीम शर्माले भन्नुभयो, “व्यावसायिक उत्पादनमा लागेका किसानलाई समस्या छ ।” भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका अनुसार बागलुङ मासुमा आत्मनिर्भर छ । आव २०७८/०७९ को तुलनामा २०७९/०८० मा बाख्राको उत्पादन मात्रै १ दशमलव ३३ प्रतिशतले बढ्दो छ । २०७८/०७९ मा १२ लाख ७४ हजार खसीबोका र बाख्रा उत्पादन भएको जिल्लामा २०७९/०८० मा १२ लाख ९१ हजार खसीबोका उत्पादन भएको तथ्याङ्क छ । भेडाको समेत राम्रो उत्पादन हुने बागलुङमा ० दशमलव ३३ प्रतिशतले उत्पादन बढेको विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो । दसैँमा भैँसी, राँगा, बङ्गुर हाँस र खरायोलगायतका पशुचौपायको मासु प्रयोग हुने गरेको छ । “पहिले दसैँका बेला मधेसबाट खसीबोका आउँथ्यो अहिले त्यो बन्द भएको छ, बागलुङ बजारमा गाउँबाट खसीबोका आउँछन्”, उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले भन्नुभयो, “स्थानीय उत्पादन प्रयोगमा आउनु राम्रो पक्ष हो ।” स्थानीय उत्पादन वृद्धि हुँदा दसैँको बेला जिल्ला बाहिर जाने लाखौँ रुपैयाँ बाहिरिनबाट जोगिएको उहाँको धारणा छ । रासस
गोरखा, २९ असोज
गोरखाको अजिरकोट गाउँपालिकामा पालिकाभित्र सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य सामग्री प्रयोगमा निषेध गरिएकोे छ । गाउँपालिकाले पालिकाभित्र हुने सार्वजनिक कार्यक्रममा बाहिरबाट आयात गरेर ल्याइने खादा, प्लाष्टिकका बोतल र प्लाष्टिकजन्य सामग्री प्रयोगमा रोक लगाएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो । “स्थानीयरुपमा कृषकले उत्पादन गरेका फूलको प्रयोगमा जोड दिँदै बाहिरबाट हुने आयातलाई रोक्न गाउँपालिकाले यस्तो निर्णय गरेको हो”, उहाँले भन्नुभयो, “अबदेखि पालिकाभित्र हरेक सार्वजनिक कार्यक्रममा खादाको सट्टामा स्थानीयस्तरमा उत्पादन हुने फूल र फूलबाट बनेका वस्तुलाई प्रयोगमा ल्याइनेछ ।” अनावश्यक रुपमा खादाको प्रयोग बढ्दै जाँदा स्थानीयस्तरमा उत्पादित फूलले बजार नपाएर खेर जाने गरेको उहाँको भनाइ छ । खादा र प्लाष्टिकजन्य सामग्री भित्र्याउँदा पालिकाबाट एकातर्फ रकम बाहिरिने र अर्कोतर्फ किसानको उत्पादन, श्रम र पसिना खेर जाने अवस्था पनि आउने गरेकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिने पालिकाको नीति तथा योजनाअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष देवकोटाले बताउनुभयो । “अजिरकोट गाउँपालिका प्राकृतिक रुपमा एक भरिपूर्ण गाउँपालिका भएकाले यहाँको जङ्गलमा सप्तरङ्गी लालीगुराँसलगायतका अन्य विभिन्न प्रकारका फूल प्रसस्त रुपमा पाइन्छन्”, अध्यक्ष देवकोटाले भन्नुभयो, “तिनै उत्पादित फूलको अब भरपुर उपयोग गर्ने गरी योजना बनाएर काम गर्नुपर्छ, त्यसका लागि गाउाँपालिकाले चालेको पहिलो र महत्वपूर्ण निर्णय पनि हो ।” गाउँपालिकाले चालु आवको नीति तथा कार्यक्रमै पालिकाभित्रका सार्वजनिक कार्यक्रममा खादा र प्लाष्टिकजन्य सामग्री प्रयोगलाई हटाउने नीतिगत निर्णय गरेको थियो । सोहीबमोजिम कार्यपालिकाको बैठक बसेर पालिकाभित्र खादा र प्लाष्टिकजन्य सामनमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको अध्यक्ष देवकोटाको भनाइ छ । निर्णयसँगै अब सार्वजनिक कार्यक्रममा प्लाष्टिकका बोतलको पानी र अन्य प्लाष्टिकजन्य सामानको प्रयोग पनि गर्न नपाइएको उहाँले बताउनुभयो । पालिकाको निर्णयले पालिकामा पर्यावरण सुरिक्षत राख्न तथा अजिरकोटलाई स्वच्छ, सफा र हराभरा पनि सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको अध्यक्ष देवकोटाले बताउनुभयोे । रासस