गुल्मी, २९ असोज :
गुल्मीको ईस्मा गाउँपालिकाले किसानलाई व्यावसायिकरुपमा पशुपालनतर्फ आकर्षित गराउन उत्पादनमा आधारित अनुदान रकम दिन सुरु गरेको छ । पछिल्लो समय धेरै किसानको पशुपालनतर्फ कम रुचि देखाएकाले पालिकाले प्रोत्साहनस्वरुप गाईभैँसी पाल्ने किसानलाई अनुदान रकम उपलब्ध गराउन थालेकोे हो । पालिकाभित्र पाँच भन्दा धेरै दुहुना गाईभैँसी पाल्ने किसानलाई मासिक रुपमा रू १० हजार अनुदान उपलब्ध गराउने निर्णय भए अनुसार अनुदान रकम वितरण गर्दै आइएको गाउँपालिका अध्यक्ष भगतसिंङ खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले चालु आर्थिक वर्षमा चार पशुपालन गर्ने फार्मलाई मासिक रू १० हजारका दरले अनुदान रकम उपलव्ध गराएको छ । उक्त फार्मले पाँच भन्दा बढी दुहुना गाईभैँसी पाल्दै आएकाले अनुदान रकम उपलब्ध गराइएको अध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार अनुदान पाउनेमध्ये वडा नं ५ मा रहेको नमुना कृषि तथा पशुपक्षी फार्ममा नौ दुहुना गाई, वडा नं–१ को गौरव कृषि तथा पशुपक्षी फार्ममा नौ, वडा नं ६ को घिमिरे कृषि तथा पशुपक्षी फार्ममा नौ र वडा नं २ मा रहेको गगन गृष्मा कृषि तथा पशुपक्षी फार्ममा आठ गरी ३५ वटा दूध दिने गाईभैँसी रहेका छन् । किसानलाई कृषि र पशु पालनमा प्रोत्साहन गर्दै थप हौसला प्रदान गर्न पालिकाले गत आवदेखि अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाकी उपाध्यक्ष अधिवक्ता पार्वती कँुवरले बताउनुभयो । “यसरी व्यावसायिक रुपमा सञ्चालनमा आएका फार्मको अवलोकन गर्दा किसानको मेहनत देखेर निकै खुसी लागेको छ”, उहाँले भन्नुभयो, “यसले ईस्मालाई दूधमा आत्मनिर्भर बनाउन थालेको छ ।” पालिकाले उपलब्ध गराएको अनुदानको रकमले व्यावसायिक किसानलाई थप ऊर्जा र हौसला थपिदिएको गगन गृष्मा फार्मका सञ्चालक गगन कुँवरले बताउनुभयो । पालिकाले गत आवमा छ फार्मलाई अनुदान उपलब्ध गराएको थियो । रासस
काठमाडौँ, २९ असोज :
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३८ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलब ७४ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट भएको छ । विभिन्न कम्पनीका ४८ लाख ३७ हजार आठ सय ९३ कित्ता शेयर रु एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो बैंकको रु छ करोड २४ लाख ७६ हजार आठ सय ९३ बराबरको कारोबार भयो । हाथवे इन्भेस्टमेन्ट नेपालको रु पाँच करोड २७ लाख दुई हजार सात सय ५९, सिटिजन लाइफ इन्स्योरेन्सको रु तीन करोड ६७ लाख २३ हजार दुई सय ६८, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको रु तीन करोड ५८ लाख २९ हजार पाँच सय ८४ र एनआइसी एशिया बैंकको रु तीन करोड ४३ लाख ३५ हजार छ सय ४१ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सात दशमलव ८७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो सात दशमलव ३१, सुपर मादी हाइड्रोपावर चार दशमलव शुन्य चार, कालीञ्चोक दर्शन लिमिटेड तीन दशमलव ९७ र सनराइज फोकस्ड इक्विटी फण्डका लगानीकर्ताले तीन दशमलव ८५ प्रतिशतले कमाएका छन् । यस्तै, सयपत्री हाइड्रोपावर र हाथवे इन्भेस्टको शेयर मूल्यमा १० प्रतिशतले गिरावट हुँदा नकारात्म्क सर्किट लागेको छ । नबिल ब्यालेन्स फण्ड दोस्रो नौ दशमलव ३१, मिड सोलु हाइड्रोपावर नौ दशमव शून्य छ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले आठ दशमलव ७७ प्रतिशतले गुमाएका छन् । रासस
काठमाडौँ, २९ असोज :
पर्वतीय पर्यटनको दिगो विकास, विस्तार र प्रवद्र्धनमा आपसी समझदारी र सहकार्यका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घबीच सम्झौता भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा पर्वतीय पर्यटनका लागि जनशक्ति विकास, तालिम एवं प्रशिक्षण लगायतमा सहकार्यका लागि सम्झौता भएको हो । सङ्घले नियमित रुपमा सञ्चालन गर्दै आइरहेको आधारभूत पर्वतारोहण र उच्च पर्वतारोहण तालिम प्रतिष्ठानले नगर्ने विषयमा पनि सम्झौता भएको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष उङदी छिरिङ र नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले पाँचबुँदे आपसी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । दुवै पक्षको समन्वय एवम् साझेदारीमा तालिमलगायत कार्यक्रमहरु सञ्चालन गर्ने समझदारी भएको छ । यसैगरी, संयुक्त रुपमा सञ्चालन गरिने तालिम कार्यक्रममा लागत साझेदारी गर्ने र दुवै पक्षले प्रमाणीकरण गर्ने सहमति भएको छ । प्रतिष्ठानका अध्यक्ष दावा शेर्पाले सम्झौताले दुवै संस्थालाई बलियो बनाउँदै समग्र पर्वतीय पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एउटै उद्देश्यका लागि जन्मेका दुवै संस्थाले पर्वतीय पर्यटन क्षेत्रको विकासका लागि सहकार्य गर्नु अपरिहार्य छ ।” सङघका अध्यक्ष नुरु शेर्पाले प्रतिष्ठानले सैद्धान्तिक र सङ्घले त्यसको प्रयोगात्मक अभ्यासमा दोहोरोपन नहुने गरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो । “सङघले गर्दै आएको काममा हस्तक्षेप होइन, सहकार्य हुने हाम्रो विश्वास छ । सहकार्यलाई कागजमा सीमित नगरी कार्यान्वयन गर्ने हामी प्रतिबद्ध छाैँ ”, सङ्घका अध्यक्ष नुरु शेर्पाले भन्नुभयो । सङ्घले तालिम सञ्चालन गर्दा प्रतिष्ठानको शैक्षिक कार्यक्रममा संलग्न विद्यार्थीलाई २० प्रतिशत कोटा सुरक्षित गर्ने सहमति भएको छ । यस्तै, सङ्घले प्रतिष्ठानबाट सञ्चालन भइरहेका स्नातक र स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीलाई हरेक शैक्षिक सत्रमा कम्तीमा एक/एकजनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने सहमति भएको छ । सहमति पत्रमा प्रतिष्ठानका विद्यार्थीको हकमा न्यूनतम सङ्ख्या पुग्ने भएमा छुट्टै तालिम सञ्चालन गर्ने व्यवस्था उल्लेख छ । उक्त सम्झौता पाँच वर्षसम्म कायम रहने बताइएको छ । रासस
काठमाडौँ, २९ असोज :
नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार तीन सय नौ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिनुभयो । उहाँका अनुसार असोज २७ बिहान ६ बजेसम्म ४७ हजार छ सय ४३, असोज २८ गते बिहान ६ बजेसम्म ५१ हजार दुई सय ७९ र आज बिहान ६ बजेसम्म ५१ हजार तीन सय ८७ यात्रु बाहिरिएका छन् । ट्राफिकले अघिल्लो दिन बिहान ६ बजेदेखि भोलिपल्ट ६ बजेसम्मको रेकर्ड राख्दै आएको छ । ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । चाडपर्वको यातायात सहजताका लागि ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र एक हजार आठ सय जनशक्ति परिचालन गरेको प्रवक्ता भट्टले बताउनुभयो । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमासमेत घर जाने यात्रुको भीड लागेको छ । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले हाल दैनिक २५ हजारभन्दा बढी यात्रु नयाँ बसपार्कबाट बाहिरिन थालेको बताउनुभयो । “लामो तथा मध्यम दूरीका सवारीसाधनमा अत्याधिक भीड लागेको छ, हामीले अहिले नयाँबसपार्कबाट बस छुट्ने समयसमेत अन्य समयको भन्दा अगाडि सारेका छौँ,” उहाँले भन्नुभयो । दसैँका लागि हालसम्म ७० हजार यात्रुले अग्रिम टिकट काटिसकेको लोत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिनुभयो । सरकारले दसैँकोे यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि असोज २६ गते देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको बताउनुभयो । यात्रुलाई सहज रुपमा गन्तव्यस्थल जानका लागि महासङ्घले केही बससमेत थप गरेको उहाँको भनाइ छ । रासस
महेन्द्रनगर (धनुषा), २९ असोज :
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी सेवा प्रवाहबारे जानकारी लिनुभएको छ । प्रयोगशालाले प्रदान गरेको सेवाका बारेमा उहाँले सेवाग्राहीसँग प्रत्यक्ष भेटेर जानकारी लिनुभएको हो । एउटा मात्र काउन्टर(लेनदेनका लागि व्यवस्था गरिएको एकाइ) हुँदा रसिद काट्न लामो समयसम्म कुर्नुपरेको सेवाग्राहीले गुनासो गरेपछि मुख्यमन्त्री यादवले काउन्टरसम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा श्रवण मिश्रलाई निर्देशन दिनुभयो । “सेवा प्रवाहमा तदारुकता ल्याएर सेवाग्राहीको काम छिटो छरितो होस्”, उहाँले निर्देशक मिश्रलाई निर्देशन दिँदै भन्नुभयो । प्रदेश सरकारको लगानीमा सञ्चालित उक्त प्रयोगशालाले दैनिक सयाैँ बिरामीको जाँच गर्नुका साथैसुलभ दरमा ल्याबसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । रासस
विराटनगर, २९ असोज :
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिनुहुनेभएको छ । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराउनुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्कीले असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो । रासस
काठमाडौँ, २९ असोज :
प्रेस काउन्सिल नेपालले वरिष्ठ कार्टुनिस्ट मोहनश्याम महर्जन ‘खोकना’लाई सम्मान गरेको छ । पे्रस काउन्सिल नेपालद्वारा आयोजित ‘सञ्चार माध्यममा कार्टुन र आचारसंहिता अन्तरक्रिया कार्यक्रम’मा उहाँलाई सम्मान गरिएको हो । सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणमणि हार्तम्छालीले प्रेस काउन्सिल नेपालले सिर्जनात्मक सन्देश दिने कार्टुन विधालाई स्थान दिँदै यस विधालाई थप उजागर गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “काउन्सिलले सिर्जनात्मक कार्टुनिस्टलाई जीवित बनाउन जरुरी छ ।” प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राजनीतिक व्यक्तिले कार्टुनको मर्म बुझिदिन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्टुनिस्टले बनाएको कार्टुनको व्यङ्ग्यलाई राजनीतिज्ञलाई अन्यथा नलिन र रचनात्मकरुपमा मात्रै लिन अनुरोध छ ।” कार्टुनिस्ट क्लबका अध्यक्ष वासु क्षितिजले कार्टुनिस्ट जहिले पनि राज्यको प्रतिपक्ष भूमिकामा रहने हुँदा कतिपय अवस्थामा दुःख पाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारबाटै कार्टुनिस्ट सधैँभरी त्रासमा रहेर काम गर्नुपर्ने अवस्थालाई काउन्सिलले सुरक्षा प्रदान गर्नुपर्छ । कार्टुनले राज्यको विकृति÷विसङ्गतीलाई उजागर गर्दछ भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।” कार्टुनिस्ट अविन श्रेष्ठले कार्टुन र पत्रकारिता गाँसिएको विषय भए पनि काउन्सिलले कार्टुन विधालाई स्थान नदिएको भनि दुखेसो व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “कार्टुनिस्ट पेसा लोपन्मुख हुन थालिसक्यो यसको अस्तित्व कायम राख्न काउन्सिलले भूमिका खेल्नुपर्छ । नवप्रवेशी कार्टुनिस्टलाई प्रोत्साहन गर्न त्रासको वातावरण अन्त्य हुनुपर्छ ।” बाह्रखरी डट कम अनलाइनका कार्टुनिस्ट राजेश केसीले कार्टुनिस्टहरुले आफ्नो परिचय नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रेस प्रतिनिधि पास कार्टुनिस्ट भनेर पाइदैन । कार्टुन विधालाई परिचय दिनुपर्छ । काउन्सिलले स्पष्टिकरणका लागि पत्र काट्दा विज्ञसँग छलफल गरेर मात्रै पत्र काट्नुपर्छ नभए काउन्सिलकै विज्ञतामाथि प्रश्न उठ्न सक्छ । रासस
काठमाडौँ, २९ असोज :
जिल्ला प्रहरी परिसर काठमाडौँले पठाओ र इनड्रइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ । काठमाडौँका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा विगतका केही आपाराधिक घटनामा यस्ता सवारी चालकको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलतालाई दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएको कारणले अफलाइन राइड शेयर नगर्ने तर्फ सचेत रहन अनुरोध गरिएको छ । रासस
काठमाडौंँ, २९ असोज :
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र जनकवि दुर्गालाल श्रेष्ठका जीवनी तथा नेपालभाषा साहित्यसम्बन्धी प्राज्ञिक अनुसन्धानात्मक पुस्तक बजारमा आएका छन् । एजुकेसनल पब्लिसिङ हाउसद्वारा प्रकाशित ती कृतिमा जितेन्द्र रसिककृत जोशीको जीवनी ‘सत्यको खोज’ र आर मानन्धरकृत जनकवि दुर्गालालको जीवनी ‘कवि–कविताको छविः दुर्गालाल श्रेष्ठ’ तथा प्रा डा कमलप्रकाश मल्लद्वारा ४४ वर्षअघि लिखित ‘क्लासिकल नेवार लिटरेचर’ (शास्त्रीय नेवार साहित्य) छन् । हालै आयोजित विमोचन कार्यक्रममा कवि श्रेष्ठले आफू अब आफ्नो शरीरमा हैन, जीवनी किताबमा रहेको बताउनुभयो । समीक्षक सुरेश किरणले दुर्गालाल जनताको कवि भएको र उहाँका बारे जान्न चाहनेलाई पुस्तक निकै महत्त्वपूर्ण रहेको बताउनुभयो । साहित्यकार तथा तथा अधिकारकर्मी मल्ल के सुन्दर र प्रा डा अभि सुवेदीले ‘शास्त्रीय नेवार साहित्य’ प्राचीन नेपालभाषामा लेखिएका सयौँ कृतिको गम्भीर अनुसन्धानको नतिजा रहेको र यसले अन्वेषकहरूलाई अझै थप शोध–अध्ययनका लागि ढोका खोलिदिएको विचार राख्नुभयो । लेखक रसिकले जोशी युगको ज्योति भएको र उहाँका बारे जति लेखे पनि नसकिने बताउनुभयो । जीवनी लेखक मानन्धरले कवि दुर्गालाललगायत अग्रज भाषिक योद्धाहरूको योगदानका कारण आज तामाङ र नेपाल भाषाले बल्ल सरकारी मान्यता पाउन सफल भएको जनाउँदै अब उहाँहरूको अंश बोकेर आफूहरू सबै जाग्नुपर्ने औँल्याउनुभयो । समीक्षक गोपीकृष्ण ढुङ्गानाले सत्यको खोज जोशीको जीवनको गहिराइमा पसेर लेखिएको र पुस्तकका हरेक परिच्छेद अनुसन्धानमूलक भएको जिकिर गर्नुभयो भने जोशीका ज्येष्ठ सुपुत्र अणुराजले ‘सत्यको खोज’ भित्र आफ्ना पिताको इतिवृत्तान्त समावेश रहेको स्वीकार्नुभयो । रासस
काठमाडौँ, २९ असोजः
त्रिशूली वाङ्मय प्रतिष्ठान साहित्यकार तथा उपप्राध्यापक आरएम डङ्गोलकै अध्यक्षतामा १५ सदस्यीय समिति पुनः गठन गरिएको छ । प्रतिष्ठान समितिका उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल, महासचिवमा राजेन्द्र सागर, सचिवमा लक्ष्मी रुम्बा र कोषाध्यक्षमा पुरु लम्साल तथा सदस्यमा शिवप्रसाद आचार्य, वैरागी जेठा, डा विक्रम तिमिल्सिना, प्रभाती किरण, पुरु विमल, कृष्णकिसु, उत्तम विचार, जितेन्द्रसिंह ठकुरी जया ओझा र पूजा श्रेष्ठ हुनुहुन्छ । नुवाकोटबाट राजधानी आई भाषा, साहित्य, संस्कृति, कला आदि क्षेत्रमा संलग्न स्रष्टाहरूका पहलमा विसं २०६६ असोज घटस्थापनाको दिन श्रीहरि फुयाँलका अध्यक्षतामा स्थापित प्रतिष्ठानले कविगोष्ठी, पुस्तक–पत्रिका प्रकाशन तथा पर्यटनसँग जोडी नुवाकोट, रसुवा, धादिङ, तनहुँ आदि क्षेत्रमा साहित्ययात्रा, जलयात्रा जस्ता कार्यक्रम गरिसकेको छ । प्रतिष्ठानले हरेक वर्ष घटस्थापनाका दिन काठमाडौँमा ‘शारदीय काव्य उत्सव’ आयोजना गर्ने गर्छ । यस वर्ष साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश सायमीका प्रमुख आतिथ्यमा सोमबार सो कार्यक्रम सम्पन्न भइसकेको छ । रासस