२०८३ भाद्र ४
२०८३ भाद्र ४

काठमडौँ, २९ असोज :

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आसन्न बडादसैँ, तिहार र छठ पर्व लक्षित छुट व्यवस्थासहित बजार अनुगमन कार्यक्रम कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कृषिमन्त्री डा बेदुराम भुसालले आसन्न राष्ट्रिय पर्वहरूका अवसरमा आम उपभोक्तालाई राहत पुगोस् भनी दुग्ध विकास संस्थानबाट उत्पादित दुग्धजन्य सामग्रीको मूल्यमा केही छुट दिने व्यवस्था गरिएको जानकारी दिनुभयो । संस्थानबाट उत्पादित दूधमा रु दुई छुटसहित प्रति लिटर ९५ रुपैयाँ, दहीमा रु २० छुटसहित प्रतिलिटर एक सय ७० रुपैयाँ, पनिर आधा केजीमा रु ५० छुटसहित ४५० रुपैयाँ तथा नौनी र घ्युउमा प्रति केजी रु सय छुटसहित क्रमशः एक हजार र एक हजार एक सय रुपैँयाका दरले चाडपर्व लक्षित मूल्य कायम गरिएको छ । यसैगरी मन्त्रालयले चाडपर्व लक्षित पशुपंक्षी तथा पशुजन्य बजार, खाद्य तथा दाना पदार्थसँग सम्बद्ध बजार र मासुजन्य चौपायाको बजार अनुगमन तथा प्राविधिक परीक्षण गरिरहेको स्पष्ट गरेको छ । सो अवसरमा मन्त्री डा भुसालले मुलुकभरका दुग्ध किसानले पाउनुपर्ने रकम एक महिनाभित्र भुक्तानी दिन दुग्धजन्य कारोबारमा संलग्न सबै संस्था एवं व्यवसायीलाई कडाइका साथ निर्देशन दिइसकेको जानकारी दिँदै स्वदेशी कृषकमैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकता दिई राहत, सहुलियत र अनुगमनका पक्षमा समग्र राज्य संयन्त्र क्रियाशील भइरहेको स्पष्ट गर्नुभयो । रासस

कर्णाली, २९ असोज :

कर्णाली प्रदेश प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा २७१ को उपधारा (२) बमोजिम आज उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । कर्णाली प्रदेशसभा सचिवालयबाट आइतबार प्रदेश प्रमुखको कार्यालयले निजामती सेवा विधेयक प्राप्त गरेको थियो । उक्त विधेयक प्रदेशसभाबाट यही असोज २२ गते सर्वसम्मतले पारित भएको थियो । विधेयक कर्णाली प्रदेशको राजपत्रमा प्रकाशनपश्चात् अब ऐन बनेर कार्यान्वयनमा जानेछ । यसले प्रदेश निजामती सेवाको गठन, सेवामा रहने तह तथा पदको व्यवस्था, दरबन्दी सिर्जना, माग, पदपूर्ति, सेवासुविधा, सरुवा, बढुवा, क्षमता अभिवृद्धि, वृत्तिविकास तथा उनीहरुको अभिलेखीकरणमा सहयोग पुग्नेछ । प्रदेशको प्रशासन सञ्चालन गर्न प्रदेश निजामती सेवाको गठन, सञ्चालन, सेवाका शर्त तथा निजामती कर्मचारीको व्यवस्थापनका सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केन्द्रीय निकायका रुपमा काम गर्ने ऐनमा व्यवस्था गरिएको छ । रासस

काठमाडौँ, २९ असोज :

नवरात्रको दोस्रो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । नवरात्रको दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । मार्कण्डेय पुराणलगायत ग्रन्थमा भनिएको छ— ‘ब्रह्म चारयितुं शीलं यस्या ः सा ब्रह्मचारिणी’ अर्थात् सच्चिदानन्द ब्रह्मस्वरुपको प्राप्ति गराउने स्वभाव नै ब्रह्मचारिणी हो । यसैले ब्रह्मतत्वको ज्ञान गर्न चाहनेले विशेष रुपमा ब्रह्मचारिणी देवीको विशेष रुपमा पूजा आराधना गर्ने गर्छन् । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ । यसैगरी राज्यका तर्फबाट नवदुर्गाको पूजा आराधना गरिने हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । वर्षमा चार नवरात्र पर्छन् । त्यसमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रमा विशेष रुपमा शक्ति स्वरुपा देवीको पूजा आराधना गरिन्छ । पुस र असारमा पर्ने नवरात्रमा केही साधकले देवीको आराधना गरेपनि आश्विन चैत्रमा जसरी मनाइँदैन । रासस

काठमाडौँ, २९ असोज :

अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारको प्रयासले मात्र सम्भव नहुने भएकाले सबै क्षेत्र र पक्षबाट सामूहिक प्रयास थालिनुपर्ने बताउनुभएको छ । महिला आर्थिक पत्रकार सङ्घ (फेजा) को औपचारिक उद्घाटन कार्यक्रममा उहाँले अर्थतन्त्र सुधारका लागि सबैले सहयोगको अपेक्षा सरकारले राखेको बताउनुभयो । “विस्तारै अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । सुधारका लागि सरकार र अर्थ मन्त्रालयको प्रयासले पुग्दैन । सबैले आआफ्नो क्षेत्रबाट लाग्न जरुरी छ”, अर्थमन्त्री डा महतले भन्नुभयो, “सामूहिक अठोटका साथ काम गरौँ । जहाँ अप्ठ्यारो छ, त्यसलाई फुकाउन अर्थमन्त्रालय तयार छ ।” आर्थिक सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको र सकारात्मक नतिजा पनि देखिँदै गएको उहाँको भनाइ छ । अर्थमन्त्री महतले मुलुकको अर्थ–सामाजिक विकासका लागि महिला सशक्तीकरणको आवश्यकता पनि औँल्याउनुभयो । हरेक क्षेत्रमा महिलाको सहभागिता बढाउँदै उहाँले जाने र समावेशी विकासको अवधारणा अँगालेपछि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा महिला सहभागिता बढेको बताउनुभयो । आर्थिक पत्रकारिताका क्षेत्रमा काम गरिरहेका महिलाको सीप तथा क्षमता विकासका लागि समन्वयकारी भूमिका निभाउने उद्देश्यले फेजा गठन भएको अध्यक्ष शर्मिला ठकुरीले बताउनुभयो । रासस

लुम्बिनी, २९ असोज 

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको बताउँदै तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताउनुभएको छ । उहाँले बजार मन्दीको अवस्थामा पुगेको भन्दै अर्थतन्त्र गम्भीर सङ्कटमा फसेकाले सामान्य ढङ्गबाट यो समस्याको समाधान हुन सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले अर्थतन्त्रको हिसाबमा हेर्दा मुलुकको अहिलेको परिस्थिति विशेष रहेकाले त्यसै बमोजिमको अग्रसरता र सरकारको निर्णय हुनुपर्नेमा हुन नसकेको बताउनुभयो । पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या साधानका लागि संसद्मा रहेका सबै राजनीतिक दल, आर्थिक क्षेत्रका विज्ञ र निजी क्षेत्रको विश्वास जितेर सरकारले गम्भीर कदम चाल्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । रुपन्देही उद्योग सङ्घको ४५औँ साधारणसभा तथा २३औँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले देशको अर्थतन्त्र मन्दीको अवस्थामा पुग्दासमेत सरकारले स्वीकार गर्न नसकेको र जनता र राष्ट्रका समस्या समाधान गर्न सरकारले चासो नदिएको बताउनुभयो । उहाँले सरकारको नीति र कार्यशैलीप्रति कुनै पनि उद्योगी, व्यवसायी सन्तुष्ट हुने अवस्था नरहेकोसमेत बताउनुभयो । “सरकारले उद्योगी र व्यवसायीहरूको टाउकामा लाठी बर्साएको छ, उद्योगीका समस्या सुनेर समाधान गर्न सकेको छैन र उल्टै उद्योगी र व्यवसायीलाई त्रसित गर्ने काम गरेको छ”, उहाँको आरोप छ । मुलुकको आर्थिक सङ्कटका कारण पूँजी पलायन हुँदै गएको र भएका उद्योग पनि बन्द हुने अवस्था सिर्जना हुँदै गएको उहाँको भनाइ थियो । अहिले देशका उद्योगहरूले आफ्नो क्षमताको ५० प्रतिशत मात्र उत्पादन गर्न सकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योगहरुमा उत्पादन घट्ेको छ, माग, आपूर्ति पनि घटेको छ ।” उहाँले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र र तिनाउ दानव करिडोर बन्न नदिने प्रयत्न भइरहेको भन्दै त्यो कार्य सफल नहुने बताउनुभयो । यस्तै प्रतिनिधिसभा सदस्य तथा एमाले नेता वासुदेव घिमिरेले देश आन्तरिक कारणले देशको अर्थतन्त्र थलिएको बताउनुभयो । उहाँले बैंक तथा वित्तीय क्षेत्रको चर्को ब्याजदरका कारण उद्योगी व्यवसायी धरासायी हुने अवस्थामा पुगेको बताउनुभयो । रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधव पौडेलले आर्थिक सङ्कटसँगै युवा शक्तिको पलायनले उद्योगको विस्तार र पुस्तान्तरणमा सङ्कट सिर्जना हुने डरलाग्दो अवस्थाले उद्योगीहरू पिरोलिएको बताउनुभयो । सो कार्यक्रममा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार २०७८ पत्रकार शेरबहादुर केसीलाई प्रदान गरिएको थियो । पुरस्कारको राशी रु ४५ हजार ५५५ सहित सम्मान पत्र रहेको छ । रासस

लुम्बिनी, २९ असोज 

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा पुगेको बताउँदै तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताउनुभएको छ । उहाँले बजार मन्दीको अवस्थामा पुगेको भन्दै अर्थतन्त्र गम्भीर सङ्कटमा फसेकाले सामान्य ढङ्गबाट यो समस्याको समाधान हुन सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले अर्थतन्त्रको हिसाबमा हेर्दा मुलुकको अहिलेको परिस्थिति विशेष रहेकाले त्यसै बमोजिमको अग्रसरता र सरकारको निर्णय हुनुपर्नेमा हुन नसकेको बताउनुभयो । पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या साधानका लागि संसद्मा रहेका सबै राजनीतिक दल, आर्थिक क्षेत्रका विज्ञ र निजी क्षेत्रको विश्वास जितेर सरकारले गम्भीर कदम चाल्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । रुपन्देही उद्योग सङ्घको ४५औँ साधारणसभा तथा २३औँ अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले देशको अर्थतन्त्र मन्दीको अवस्थामा पुग्दासमेत सरकारले स्वीकार गर्न नसकेको र जनता र राष्ट्रका समस्या समाधान गर्न सरकारले चासो नदिएको बताउनुभयो । उहाँले सरकारको नीति र कार्यशैलीप्रति कुनै पनि उद्योगी, व्यवसायी सन्तुष्ट हुने अवस्था नरहेकोसमेत बताउनुभयो । “सरकारले उद्योगी र व्यवसायीहरूको टाउकामा लाठी बर्साएको छ, उद्योगीका समस्या सुनेर समाधान गर्न सकेको छैन र उल्टै उद्योगी र व्यवसायीलाई त्रसित गर्ने काम गरेको छ”, उहाँको आरोप छ । मुलुकको आर्थिक सङ्कटका कारण पूँजी पलायन हुँदै गएको र भएका उद्योग पनि बन्द हुने अवस्था सिर्जना हुँदै गएको उहाँको भनाइ थियो । अहिले देशका उद्योगहरूले आफ्नो क्षमताको ५० प्रतिशत मात्र उत्पादन गर्न सकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उद्योगहरुमा उत्पादन घट्ेको छ, माग, आपूर्ति पनि घटेको छ ।” उहाँले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र र तिनाउ दानव करिडोर बन्न नदिने प्रयत्न भइरहेको भन्दै त्यो कार्य सफल नहुने बताउनुभयो । यस्तै प्रतिनिधिसभा सदस्य तथा एमाले नेता वासुदेव घिमिरेले देश आन्तरिक कारणले देशको अर्थतन्त्र थलिएको बताउनुभयो । उहाँले बैंक तथा वित्तीय क्षेत्रको चर्को ब्याजदरका कारण उद्योगी व्यवसायी धरासायी हुने अवस्थामा पुगेको बताउनुभयो । रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधव पौडेलले आर्थिक सङ्कटसँगै युवा शक्तिको पलायनले उद्योगको विस्तार र पुस्तान्तरणमा सङ्कट सिर्जना हुने डरलाग्दो अवस्थाले उद्योगीहरू पिरोलिएको बताउनुभयो । सो कार्यक्रममा उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार २०७८ पत्रकार शेरबहादुर केसीलाई प्रदान गरिएको थियो । पुरस्कारको राशी रु ४५ हजार ५५५ सहित सम्मान पत्र रहेको छ । रासस

पर्वत २९ असोज (रासस) :

पर्वतको विहादी गाउँपालिका–१ बाच्छामा मृत अवस्थामा चितुवा भेटिएको छ । आइतबार साँझ बाच्छाको गुणादीमा चितुवा मृत अवस्थामा भेटिएको हो । स्थानीयले खबर गरेलगत्तै डिभिजन वन कार्यालय पर्वतका कर्मचारी र बाच्छा प्रहरी चौकीको टोली उक्त स्थानमा पुगेको थियो । मृत चितुवालाई कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा बाच्छा प्रहरी चौकीको परिसरमा गाडिएको छ । डिभिजन वन कार्यालय पर्वतका प्रमुख नवराज बरालका अनुसार झण्डै दुई वर्षजति उमेरको देखिने चितुवा के कारणले म¥यो भन्ने पुष्टि हुनसकेको छैन । चितुवाको शरीरमा कुनै घाउ चोट भने नदेखिएको बरालले बताउनुभयो । चितुवा केही दिन अघिनै मरिसकेको र बताउँदै सड्न थालेर गन्धसमेत आउन थालेको बताउनुभयो । गत आर्थिक वर्षमा पर्वतमा नौ वटा चितुवा मृत फेला परेका थिए भने दुई वटाको जीवितै उद्धार गरिएको थियो । चालु आवमा गत भदौ १४ गते मोदी गाउँपालिका–७ राम्दादेउरालीमा चितुवा मृत भेटिएको थियो । रासस

मध्यविन्दु (नवलपरासी), २९ असोज :

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ मा दिदीबहिनी किसान समूहले पाँच वर्षदेखि सामूहिक पुष्पखेती गर्दै आएका छन् । स्थानीय महिला समूहमा आवद्ध भई विसं २०७६ देखि सामूहिक फूलखेती गर्दै आएका हुन् । सञ्चालनका समयमा छ कठ्ठा जग्गामा पुष्पखेती गरिएकोमा अहिले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै १५ कठ्ठा पुर्‍याइएको समूहमा आवद्ध लक्ष्मी अधिकारीले बताउनुभयो । “व्यावसायिक पुष्पखेतीबाट राम्रो आम्दानी भएको छ । चार÷पाँच जनाको समूह मिलेर खेती गरेका छौँ”, उहाँले भन्नुभयो, “बर्सेनी फूलको माग बढ्दो छ । स्थानीयस्तरदेखि जिल्ला बाहिरसमेत बिक्रीवितरण गर्ने गरेका छौँ ।” अधिकारीका अनुसार समूहले गत वर्ष खेतीका लागि रू डेढलाख खर्च गरेर रू पाँच लाख आम्दानी गरेको छ । “अरू खेती गर्नुभन्दा पुष्पखेती सहज भएकाले पनि दिदीबहिनीको यसतर्फ आर्कषण बढ्न थालेको छ”, उहाँले भन्नुभयो । गैँडाकोट–२ का सरिता कार्कीले सामूहिक पुष्पखेतीबाट राम्रो आम्दानी गरेको बताउनुभयो । तिहारमा मात्र नभएर पछिल्लो समय दैनिकरुपमा हुने औपचारिक कार्यक्रममा सयपत्री फूलको आर्कषण बढेकाले फूलको बजार राम्रो रहेको उहाँको भनाइ थियो । उहाँका अनुसार समूहले गरेको पुष्पखेतीमा कलकतिया, टेनिजवल प्रजातिका सयपत्री फूल लगाएका छन् । कावासोती नगरपालिका–७ की मिश्रा पराजुलीले आउँदै गरेको तिहारका लागि एक बिघा जमिनमा सयपत्री फूल लगाउनुभएको छ । चाडपर्वमा सयपत्री फूलको माग बढी हुने भएकाले आठ हजार बोट लगाएको उहाँले बताउनुभयो । “फूल व्यवसायबाट राम्रो आम्दानी भएपछि दुई वर्षदेखि स्थानीय बजारको मागलाई मध्यनजर गर्दै फूल उत्पादन गर्न थालेका छौँ”, पराजुलीले भन्नुभयो । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा सामूहिक पुष्पखेतीतर्फ किसानको आर्कषण बढ्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । नगदेबालीका रूपमा विकास गरी कम लगानीले धेरै आम्दानी लिन सकिने हुनाले जिल्लाका विभिन्न स्थानमा सामूहिक पुष्पखेती गर्न थालिएको केन्द्रका बाली संरक्षण अधिकृत मीरा चौधरीले बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लाको गैँडाकोट, देवचुली, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा सामूहिक पुष्पखेती गर्ने क्रम बढेको छ । “कृतिम मालामा प्रतिबन्ध लगाएपछि सामूहिक खेतीतर्फ स्थानीय उत्साहित भएको पाएका छाैँ”, चौधरीले भन्नुभयो, “जिल्लालाई फूलमा आत्मनिर्भर बनाउन केन्द्रमार्फत बीउ उपलब्ध गराउँदै आएका छौँ । रासस

काठमाडौँ, २८ असोज :

मुम्बई चलचित्र महोत्सव-२०२३ मा नेपाली चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) को लागि छनोट भएको छ । महोत्सव कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुनेछ । एभरेष्ट फिल्म एकेडेमीबाट चलचित्र अध्ययनमा डिप्लोमा गर्नुभएकी विदुर्षी गिरीले लेखनसँगै निर्देशन गर्नुभएको छोटो चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) को लागि छनोट भएको हो । सामाजिक कथा वस्तुमा आधारित उक्त चलचित्र ११ मिनेट लामो छ । “मैले गरेको पहिलो काम नै अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुँदा उत्साहित छु । विश्वभरका चलचित्रकर्मीसँग ज्ञान र अनुभव साट्नुका साथै त्यहाँ चलचित्र हेर्न र आफ्नो चलचित्रको प्रतिक्रियाका निमित तयार छु”, निर्देशक गिरीले भन्नुभयो । उहाँका अनुसार ‘फोकस साउथ एसिया’ विधा अन्तर्गत चलचित्र छनोट भएको हो । चलचित्रमा सोनिका शाही ठकुरी, सरिता गिरी, लोकेन्द्र लेखक, सुवास बम्जन, मारिया कार्कीलगायतका कलाकारले अभिनय गर्नुभएको छ । सोही महोत्सवमा चलचित्र ‘गाउँ आएको बाटो’ ‘साउथ एसिया प्रिमियर’ हुँदैछ । महोत्सवमा ‘द रेड सुटकेस’ र ‘गुराँस’ साउथ एसिया कम्पिटिसनअन्तर्गतको प्रतिस्पर्धामा छन् । महोत्सवमा दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर ः द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ । छोटो चलचित्रको विधामा आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स’ पनि प्रतिस्पर्धामा छ । महोत्सवमार्फत नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियकरण हुन सहयोग मिलेको जानकार बताउँछन् । महोत्सवमा ७० देशका दुई सय ५० चलचित्र प्रतिस्पर्धामा छन् । रासस

गलकोट (बागलुङ), २९ असोज :

बागलुङ नगरपालिका-५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खेपिङ हालियो । चर्खेपिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खेपिङ हालिएको थियो । यसअघि साझखोलामा लिङ्गे पिङ मात्रै हाल्ने चलन थियो । गत वर्ष बनाइएको चर्खेपिङ अहिले फेरि हाल्ने तयारी भइरहेको साझखोलाका स्थानीय जुना न्यूरेले बताउनुभयो । “यहाँ पहिले लिङ्गे पिङ थियो, गतवर्ष सामुदायिक वनको सक्रियतामा परम्पराको संरक्षण गर्ने उद्देश्यले लिङ्गेपिङको सट्टा चर्खेपिङ हालियो”, न्युरेले भन्नुभयो, “दश वर्ष अघि मालिकाको पञ्चासेमा चर्खेपिङ हालिएको थियो, त्यसयता चर्खेपिङ थिएन, गत वर्षबाट साझोखोलामा चर्खेपिङ हाल्न थालिएको हो ।” न्यूरेका अनुसार लिङ्गे पिङभन्दा चर्खेपिङ महँगो हुन्छ । उहाँका अनुसार गत वर्ष सुनाखरी सामुदायिक वन उपभोक्ता समितिमार्फत रु २० हजारमा काठ खरिद गरी पिङ तयार गरिएको थियो । लिङ्गे पिङ भने रु पाँच हजारमै तयार गर्न सकिने उहाँको भनाइ छ । यस्तै बागलुङ नगरपालिका–८ सिगानाको सायकोट गाउँमा दसँैं तिहारमा चर्खे पिङ नहालेको १० वर्ष पुग्यो । दश वर्ष अघिसम्म हालिँदै आइएको चर्खेपिङ गाउँमा युवाको सङ्ख्या कम हुन थालेपछि हराउँदै गएको हो । सिगानाको कायमारेमा १० वर्ष अघिसम्म दसँैं र तिहारमा हालिएको चर्खेपिङ लोप भएपछि पुन लिङ्गे पिङ हाल्न सुरु भएको थियो । दसैँमा भूँइ छाड्नुपर्छ भन्ने मान्यताले पनि पिङको महत्व बढेको पाइन्छ । पहिले लिङ्गे पिङमा प्रयोग हुने घाँस (बाबियो)को सट्टा अचेल डोरीको प्रयोग गर्न थालिएको छ । गाउँमा दसँै सुरु हुनु महिना अघिदेखि चर्खेपिङ बनाउनेको निकै उत्साह हुनेभए पनि पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण चर्खेपिङ लोप हुन थालेको हो । झन्डै दुई दशकअघि गाउँ–गाउँमा हुने मेला पर्वमा चर्खेपिङ अनिवार्य जस्तै थियो । तर अहिले यस्ता पिङको सङ्ख्या निकै कम भएको बागलुङ बजारका स्थानीय काजी गाउँले श्रेष्ठको भनाइ छ । “कतिपयले संरक्षणका लागि भए पनि चर्खेपिङ बनाउनुभएको छ, तर अहिले गाउँनैपिच्छे चर्खेपिङ देख्न पाइदैन”, श्रेष्ठले भन्नुभयो, “अब स्थानीय तहले चर्खेपिङ संरक्षण नगरे भविष्यमा चर्खेपिङ देख्न नपाउने अवस्था आउन सक्छ ।” गाउँका युवाहरु जम्मा भएर जङ्गलमा काठ काटेर चर्खेपिङ बनाउँदा निकै रमाइलो हुने भए पनि पछिल्लो समय गाउँमा युवाको सङ्ख्या कम भएपछि पिङ हाल्ने चलन पनि हराउँदै गएको हो । चर्खेपिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यकपर्ने हुँदा पनि अहिले लोपहुँदै गएको हो । हिजोआज वनमा काठ काट्न नपाइने नियम लगाएपछि काठ अभावले चर्खेपिङ राख्न छाडेको स्थानीय हरि सुनारको बुझाइ छ । केहीले जसोतसो संस्कृति जोगाउन फ्याट्टफुट्ट लिङ्गेपिङ राख्ने गरेको पाइए पनि पहिलेजस्तो गाउँघरमा पिङ राख्ने र खेल्नेको रौनक नभएको उहाँको भनाइ छ । युवा जनशक्ति विदेश पलायन हुनु, बाह्य संस्कृतिको प्रभाव गाउँघरमा पर्न थालेपछि यतिबेला दसैँले ढपक्कै छोए पनि गाउँघरमा पिङ राख्ने र खेल्नेको उत्साह नदेखिएको सुनारको भनाइ छ । रासस

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।