२०८३ भाद्र ४
२०८३ भाद्र ४

काठमाडौं,३० असोज ।

मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको छ ।


मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँगको विद्युत व्यापारका लागि जिआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो । इनरुवामै २२०÷१३२÷३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छ ।


हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००÷२२० केभी इनरुवा सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मरहरु छन् । जसको क्षमता ९४५ एमभिए छ  इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब ४ हजार मेगावाट विद्युत् आदान प्रदान हुन सक्ने छ । इनरुवा–ढल्केबर प्रसारण प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा पर्ने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीय रुपमा खपत गर्न र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डको रुपमा रहेको बताए ।


‘सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने छ, यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ, यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा  बंगलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बनेको छ ।’

 

मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महत्वपूर्ण मानिएको छ ।

अरुण तथा तमोर नदी र तिनीहरुका सहायक खोलानालामा निर्माण गरिएका÷हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् कोशी  करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिनेछ । कोशी करिडोरको इनरुवा–बसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुंगेसाँघु खण्ड निर्माणाधीन छ । यस्तै, तुम्लिङटार–शीतलपाटी २२० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ । अरुण हब–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको छ ।

आयोजना प्रमुख शुक्र देवकोटाले इनरुवा सबस्टेसनलाई आगामी दिनमा थप विस्तार गर्दै जान मिल्नेगरी निर्माण गरिएको बताए । बर्खाको समयमा तराईमा हुने डुवान, विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिकहरु आउन नसक्दा सबस्टेसनको निर्माण प्रभावित भएको थियो । २०७८ कात्तिकमा सबस्टेसन निर्माण क्षेत्रमा आएको बाढीले उपकरणहरुमा क्षति पुगी पुनः आयात गर्नु पर्दा निर्माणमा केही ढिलाइ भएको आयोजना प्रमुख देवकोटाले उल्लेख गरे ।

आयोजनाअन्तर्गत नै ४०० केभी ढल्केबर सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छ भने हेटौंडा सबस्टेसन निर्माणको अन्तिम चरणमा छ । इनरुवा र हेटौंडा सबस्टेसन निर्माणका लागि २०७५ पुसमा  ठेक्का सम्झौता भएको थियो । नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको इनरुवा सबस्टेसनको अनुमानित लागत १ करोड ४३ लाख अमेरिकी डलर र २० करोड ४८ लाख रुपैयाँ रहेको छ । सबस्टेसन निर्माण सुपरीवेक्षण एनइए इन्जिनियरिङ कम्पनीले गरेको थियो ।

काठमाडौं, ३० असाेज ।

सन्तोष अधिकारी फिल्मस्को व्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलिया को निर्माणमा तयार भएको फिल्म ‘चित्रा’को छायांकन ३० दिनमा सकिएको छ । फिल्मको निर्माणपक्षले कलाकार र प्राविधिकहरुको मिहिनेतका कारण एक महिनामै फिल्मको छायांकन सकिएको जानकारी दिएको छ । यो फिल्मको प्रदर्शन मिति पनि तय गरिएको छ ।

फिल्मलाई माघे संक्रान्तीको छेकोमा पौषको २७ गतेबाट नेपाल र अष्ट्रेलियामा रिलिज गरिने फिल्मका निर्माता तथा कलाकार सन्तोष अधिकारीले जानकारी दिए । फिल्मको निर्देशन घनश्याम लामिछानेले गरेका हुन् । निर्देशक लामिछानेका अनुसार फिल्मले एक रिटायर्ड बाबु र छोरीको कथालाई सुक्ष्म रुपमा उठान गरेको छ ।

 

यो फिल्ममा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ,  उज्वल ढकाल, दिपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय छ ।

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको ‘चित्रा’ मा  अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा समावेश छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रविण सिंहको नृत्य, सम्राट बस्नेतको एक्सन, महेश पौडेलको छायांकन छ । फिल्ममा प्रोडक्सन हेडमा प्रतिमा थापा, लाइन प्रोड्यूसरमा कृष्ण बहादुर थापा, कला निर्देशकमा डुक राज घिमिरे, मेकअपमा सोनाली शिल्पकार, निर्माण नियन्त्रकमा तेज विक्रम केसी र अनलाइन सम्पादनमा सन्देश शाहले काम गरेका छन् ।

फिल्ममा राजन राज सिवाकोटीको गीत संगीत छ । केदार पराजुली (श्री कृष्ण फिल्मस्)ले यो फिल्मको नेपालभरको वितरणको जिम्मा लिएका छन् । फिल्मको अष्ट्रेलिया अधिकार अविनास रोका मगरले लिई सकेका छन् । निर्माता अधिकारीको  ‘डलर एयुडी’ नामक फिल्मको छायांकन तिहार पछि  सुरु हुनेछ । ‘घर’ र ‘आमा’ फिल्मका सह–निर्माता समेत रहेका सन्तोष अधिकारीले निर्माण गरेको फिल्म ‘तीन जन्तु’ प्रदर्शनको तयारीमा छ ।

हेमन्त केसी सुर्खेत ,३० असोज ।

४१७ मेगावाट विद्युत उत्पादन क्षमताको जाजरकोटको नलगाड जलविद्युत् आयोजनाको  डिपिआर प्रतिबेदन तयार भएसँगै नलगाड हाइड्राेपावर कम्पनीले अर्को सहायक आयोजनाको रुपमा रहेको ताक्सुगाड जलविद्युत् आयोजनाको विद्युत खरिद ,बिक्री गर्न सम्झौता भएको छ ।

नेपाल विद्युत् प्राद्यिकरण कर्णाली प्रदेशसँग नलगाड हाइड्राेपावर कम्पनीले विद्युत खरिद, बिक्री गर्न सम्झौता गरेको हो । ७.१ मेगावाट क्षमता रहेको ताक्सुगाड जलविद्युत आयोजना यसै आर्थिक वर्षमा निर्माण कार्यमा लैजानका लागि विद्युत खरिद ,विक्री सम्झौता (पिपिए) को काम गरिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए । भेरी करिडोरमा सञ्चालनमा रहेको ३३ केभी र निर्माणधिण १३२  केभी प्रशारण लाइनसँग ताक्सुगाड ,नलगाड जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत जोडनका लागि पिपिए गरिएको हो । झण्डै ७ वर्ष देखि रुमलिएको नलगाड जलविद्युत आयोजनाको डिपिआर प्रतिबेदन तयार भएसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतकै पहलमा निर्माण कार्यमा लैजानका लागि लगानीकत्र्ताको खोजी देखि बिभिन्न प्राविद्यिक कुराहरु सम्पन्न गर्न प्रक्रिया सुरु भएको छ ।

नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट निर्माण गर्नका लागि आवश्यक पर्ने विद्युत उत्पादन गर्न ताक्सुगाड जलविद्युत आयोजना ७.१ मेगावाट निर्माण गर्न लागिएको हो । नलगाड हाइड्राेपावर कम्पनीको सहायक आयोजनाका रुपमा ताक्सुगाड रहदै आएको छ ।  ताक्सुगाड निर्माणका लागि कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले रकम बिनियोजन गरेको मन्त्री उर्मिला विकले जानकारी दिइन् । २० मेगावाट सम्मका विद्युत आयोजनाहरु प्रदेशले बनाउन सक्ने भन्ने लक्ष्यका साथ ताक्सुगाडमा प्रदेशले बजेट बिनियोजन गरेको मन्त्री विकले बताइन् । नलगाड जलविद्युत आयोजना निर्माण गर्दा प्रयोग हुने जग्गाको मुआब्जाको काम पुरा भएको इन्जिनियर पदम थापाले बताए । अब ५ सय भन्दा बढी घरको मुआव्जा दिन बाँकी रहेको उनले बताए । घरको मुआब्जा दिनका लागि प्रक्रिया सुरु भएपनि ह्रास कट्टी गर्ने की नगर्ने भन्ने एकिन नहुँदा घरको मुआब्जा दिन ढिलाई भइरहेको थापाले बताए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पहिलो चरणमा अर्थ मन्त्रालयमा पठाएको फाइल अस्वीकृत भएपछि फेरी यो पटक मन्त्री बस्नेतकै पलहमा फेरी अर्थमन्त्रालयमा ह्रास कट्टी नगरी घरको मुआव्जा दिन अर्थमन्त्रीसँग छलफल सुरु भएको छ । केही दिन अघि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह , संघीय सरकारका अर्थमन्त्री प्रकाशशरण महत , ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अर्थमन्त्री महतसँग नलगाड जलविद्युत आयोजना स्थलका घर टहराको मुआव्जा दिदा ह्रास कट्टी नगर्ने गरि मुआव्जा दिने विषयमा छलफल भएको थियो  ।

ह्रास कट्टी नगर्ने भनेको घरको सुरुको मूल्य भुक्तानी गर्नु हो । मन्त्री बस्नेतले अर्थमन्त्री विदेशमा रहनुभएकोले अहिले थप छलफल हुन नसकेकोले बताउनुभयो । उहाँ फर्केपछि बाँकी कुरा हल हुने जानकारी दिए ।  आफ्नो थाकथलो छाडेर बाहिर बसाई ,सराई गरेर जाने सर्बसाधारणले अन्य ठाउँमा बसाई व्यवस्थापन गर्नुपर्ने भएकाले ह्रास कट्टी नगर्दा केही राहत हुने पुर्वमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । नलगाड सरोकार समितिका अध्यक्ष समेत रहनुभएका सिंहले जनताहरुको पुरै जन्म भूमि छोडेर बाहिर गई आफ्नो बास बनाउने कुरामा ठट्टा गर्नु नहुने बताए ।

राज्यले जनताको मर्का बुझनुपर्ने समेत उहाँले बताउनुभयो । उत्ता ताक्सुगाड जलविद्युत आयोजना निर्माण स्थलका सर्बसाधारणलाई मुआव्जा दिनका लागि दररेट कार्यम गर्ने कार्य अन्तिम चरणमा पुगेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । ताक्सुगाड ७.१ मेगावाट ,नलगाड ४१७ मेगावाट र जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको विद्युत नलगाड नगरपालिका–७ दानीपिपलमा निर्माधिण सव स्टेशनमा जोडने लक्ष्य रहेको छ ।

दानीपिपल स्टेशनको मुआव्जाको काम पुरा भएर जग्गा अधिग्रहणको काम समेत पुरा भइसकेको छ । अब सव स्टेशन निर्माण चरणमा जाने योजना रहेको छ । जाजरकोट भरी विद्युतीकरण गर्नका लागि नयाँ तीन वटा सब स्टेशनको काम जारी रहेको छ । नलगाडको चौखामा सव स्टेशन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने , कुशेको समाइला र छेडागाडको वडावनमा मुआव्जाको दररेट टुंगो लागेर निर्माण चरणमा प्रवेश गरेको छ । चौखा सव स्टेशनले तल्लो डोल्पालाई समेत विद्युतीकरण गर्ने लक्ष्य रहेको छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र बगरमा निर्माण हुने सव स्टेशन सम्म विद्युत लिनका लागि चौखाको सव स्टेशन प्रयोग गरिने छ । साना ,ठुला सव स्टेशन निर्माणसँगै दानी पिपल सव स्टेशनबाट १५० किलोमिटर टाढाको दुरीमा रहेको सुर्खेतको भेरीगंगा नगरपालिकाको मैनतडामा लिएर अर्को सव स्टेशनमा जोडिने लक्ष्य लिइएको छ । यो ४०० केभीको डवल सक्रिट रहेको छ । ओभरहेड ट्रान्समिशन लाइनहरूको लागि नाङ्गो केबल र वितरण लाइनहरूको लागि प्राथमिक , माध्यमिक केबलको रूपमा यसलाई लिइएको छ ।

यो निर्माणका लागि १४ अर्ब रुपैयाँ खर्च हुने डिपिआरमा उल्लेख छ । त्यस्तै जाजरकोट जिल्ला भरी विद्युतीकरण गर्नका लागि ३ अर्बको ठेक्का समेत लागेको छ । अहिले ३३ केभी प्रशारण लाइनको विद्युतबाट जिल्लाका केही भागमा विद्युतीकरण गरिएकोमा १३२ केभी प्रशारण लाइन निर्माण कार्य जारी रहदा त्यसलाई नै सर्पोट पुग्ने गरेर काम भइरहेको मन्त्री बस्नेतको भनाई छ ।

जाजरकोटमा विद्युतको संरचना निर्माण नगरी छिमेकी जिल्ला डोल्पामा सबै काम गर्न समस्य हुने भएकाले पनि यहाँ कामलाई तिब्रता दिइएको छ । डोल्पामा विद्युतीकरण गर्नका लागि अघिल्लो वर्ष ठेक्का लगाएको छ ।

धनुषा, २९ असोजः

‘तोहरे भरोसे बरहम बाबा झिझिरी बनेलियै हो बरहम बाबा झिझिया पर होइयौ ने सवार अबोधबा बालक तोहर किछियो ने जनैछौं हो…।’ दसैँ सुरु भएसँगै जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलको घरआँगनमा अहिले यस्तै लोकभाकाका झिझियाका गीत गुञ्जिन थालेको छ । यतिबेला मधेस प्रदेशको राजधानी जनकपुरमा झिझियाको विशेष रौनक छाएको छ । यहाँका मठमन्दिरमा दसैँका लागि बनाइएका पन्डालमा साँझ महिलाले झिझिया नृत्य गर्दै रमाइलो गर्ने गरेका छन् । मिथिलाञ्चलको प्रसिद्ध लोकनृत्य झिझिया अहिले कुनै पनि सांस्कृतिक कार्यक्रममा अनिवार्य हुन थालेको छ । यो मिथिलाको तान्त्रिक अनुष्ठानको नृत्य भएको मान्यता छ । मैथिलीका साहित्यकार तथा वरिष्ठ पत्रकार रामभरोस कापडीले भन्नुभयो, “दसैँका बेला बोक्सी (डाइन)ले मसान सिद्धि तथा तन्त्रमन्त्रका लागि अनुष्ठान गरी सर्वसाधारणको ज्यान लिन सक्ने खालको शक्ति प्राप्त गर्छन् । त्यसैले यस्तो शक्तिको प्रतिवाद गर्न अर्को तान्त्रिक अनुष्ठानका रूपमा यो नृत्य आयोजना गर्ने गरिएको जनविश्वास छ । घटस्थापनादेखि सुरु हुने भिझिया नृत्यको तयारी पनि विशेष हुन्छ ।” झिझिया नृत्य प्रारम्भ गर्न पूर्वतयारी गर्नुपर्नेबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “एक वा दुईटा सफा घैँटो किनेर त्यसलाई सफासुग्घर गरी प्वालै प्वाल बनाइन्छ । घैँटोको मुखमा राखिएको ढकनामा मट्टितेल हालेर आगो सल्काइन्छ । त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ तर टाउकामा राखी नृत्य गर्नपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ ।” बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा झिझियालाई मन्त्रसहित छेकबार गरिन्छ । यसरी मन्त्रिएपछि पाँचदेखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिलाले टाउकामा आगो बलिरहेको घैँटो राखेर हातको सहारा बिना नाच्दै ब्रह्मस्थानमा पुगेर सबैभन्दा पहिले पूजा गरेर नृत्य गर्ने गर्दछन् । ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझिया औपचारिकरूपमा सुरु हुन्छ । त्यसपछि घरघरमा गएर नृत्य देखाउने परम्परा रहेको छ । क्षीरेश्वरनाथ नगरपालिका–६ नयाँटोलका पुरोहित इन्द्रकान्त झाका अनुसार झिझियामा भएको प्वाल तन्त्रमन्त्र गर्ने बोक्सी (डाइन)ले गन्न सफल भइहाले भने उनीहरू तन्त्र सिद्धि गरी निकै शक्तिशाली हुन सक्ने जनविश्वास छ । त्यसैले झिझिया टाउकामा राखेपछि महिला निरन्तर नाच्छन् । नाच सक्ने बित्तिकै दियो निभाएर झिझिया राख्ने गरिन्छ । मैथिली संस्कृतिका जानकार महेन्द्रनगरका रमापति चौधरीले भन्नुभयो, “महिलाद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य मिथिलाञ्चलमा पारिवारिक सुरक्षाका लागि लोक अनुष्ठानका रुपमा लिइन्छ । झिझिया नृत्य घटस्थापनादेखि सुरु भई दसैँभर प्रदर्शन गरिन्छ । गाउँघरमा भिझियामा १५–२० जनाको समूहले पारम्परिक वाद्यवादन ढोलक, झाइल, झामर लिएर गीत गाउँदै यो नृत्य गर्छन् ।” प्रत्येकको घरघरमा गई सामूहिक नृत्य गर्ने र त्यहाँबाट घरधनीले कोसेलीस्वरूप पैसा वा चामल दाल सहयोग दिने चलन छ । भिझियालाई तन्त्रमन्त्र र जादुटुनाको प्रतिकात्मक मानिए पनि अहिले अन्धविश्वासभन्दा पनि सांस्कृतिक उत्थानका लागि यसको संरक्षण आवश्यक रहेको उहाँको भनाइ थियो । यो नृत्य सातौँ शताब्दीदेखि सुरु भएको अनुमान गरिएको छ । झिझिया नृत्यको महत्वपूर्ण पक्ष यसको गीत हो । यस्तै गीतको धूनसँगै झिझिया नृत्य सुरु हुन्छ । अहिले यो नृत्य लोप हुँदै गएकाले मिथिला नाट्य कला परिषद्ले नेपाल भारतको विभिन्न ठाउँमा गरिने सांस्कृतिक कार्यक्रममा झिझियालाई विशेष प्रस्तुतिका रूपमा अगाडि बढाउँदै आएको छ । उक्त परिषद्ले केही वर्षयतादेखि पाँच सयभन्दा बढी झिझियाको नृत्य प्रदर्शन गरिसकेको छ । जनकपुरधामकै देवी चोकमा रहेका राजदेवी युवा क्लबले पनि दसैँको बेला प्रत्येक वर्ष झिझिया नृत्य प्रतियोगिताको आयोजना गर्ने गर्छ । दसैँकै बेला जनकपुरको राम युवा कमिटी, महावीर युवा कमिटी र रामानन्द युवा क्लबले पनि भजन सन्ध्यामा झिझियाको विशेष प्रस्तुत गर्ने गर्छ । रासस

हेमन्त केसीसुर्खेत, ३० असाेज ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो छवि कायम गरेको बताएका छन् ।

 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित नेपाल प्रहरीको ६८औं स्थापना दिवस समारोहलाई सम्बोधनलाई मुख्यमन्त्री शर्माले अपराध अनुसन्धान तथा नियन्त्रण एवं रोकथाममा प्रहरीले खेलेको भूमिकालाई अन्तर्राष्ट्रिय जगत्ले मूल्याङ्कन गरेको जनाए । उनले भने, “नेपाल प्रहरीले राष्ट्र निर्माण र जनताको शान्ति सुरक्षामा उत्कृष्ट काम गरेको छ । प्रहरी संगठनप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु ।”

 

कर्णालीको कठिन भूगोल रहेर भौतिक संरचनाविहिन अवस्थामा पनि प्रहरीले गरेको कार्यप्रति उच्च प्रशंसा गर्दै मुख्यमन्त्री शर्मा भने, “बास नपाएर प्रहरीले काम गर्नुपर्ने अवस्थाले सरकारलाई गम्भीर बनाएको छ । यो समस्या समाधानमा लाग्छौं ।” आर्थिक समृसद्ध र सामाजिक न्यायबाट समुन्न समाज निर्माण हुने भन्दै उनले अँझै पनि नागरिकको शान्ति सुरक्षार्थ दत्तचित्त भएर लाग्न प्रहरीलाई निर्देशन दिए ।

 

आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले संघमा प्रहरी ऐन तथा प्रदेशमा प्रहरी सुपरीवेक्षण ऐन पारित भइसक्दा पनि प्रहरी समायोजन हुन नसक्नुले संविधान र संघीयता कार्यान्वयनमा आशंका उठ्न थालेको बताए । उनले संविधान र संघीयताको परिपालना हुनुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले प्रहरी जनताको सारथी बनेर काम गरेको अनुभूति प्रकट गरे ।

 

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले संवैधानिक सर्वोच्चता र विधिमा रहेर प्रहरी संगठनले गरेको कामले उत्कृष्टता प्रदर्शन गरेको जनाइन् । विभिन्न चुनौतिका बाबजुद आफ्नो जिम्मेवारीको ओज प्रहरीले कायम राखेको उनकाे भनाई थियो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले शान्ति, सुरक्षा तथा अपराध अनुसन्धानमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको भन्दै नेपाल र नेपालीको शिर ननिहुरिने गरी काम गर्न सुझाव दिए ।

 

उक्त दिवस समारोहमा शान्ति, सुरक्षा र नागरिक हितमा उत्कृष्ट काम गरेको भन्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरको तर्फबाट मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल र जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकालाई सम्मान गरे ।

 

त्यस्तै, दिवसका अवसरमा चित्रकला, निबन्ध प्रतियोगिता, भलिबल र ब्याटमिन्टन प्रतियोगितामा भाग लिई प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने प्रतियोगीहरुलाई पुरस्कृत गरिएको थियो भने राष्ट्र सेवाको सिलसिलामा आफ्नो जीवन आहुती दिने अमर सहिद प्रहरीका परिवारलाई सम्मान गरिएको थियो ।

काठमाडौं, ३० असाेज ।

कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’को शुभारम्भ गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ सुरुवात गरेको हो ।


‘कान्तिपुर सिनेमाज्’मा इन्टरनेटको माध्यमबाट संसारभर रहेका दर्शकले मोबाइल फोन, एन्ड्रोइड, आईओएस, वेभ र स्मार्ट टीभीबाट ‘कान्तिपुर सिनेमाज’मा रहेका कन्टेन्ट सजिलै हेर्न सक्नेछन् ।


‘कान्तिपुर सिनेमाज्’मा दर्शकले सुरुवातमा ‘ज्याकी आईएम ट्वान्टी वान’ र ‘जुलेबी’ फिल्म हेर्न सक्नेछन् । यस्तै, सिरिज ‘ब्रह्माण्ड’ र ‘लभसूत्र’ पनि हेर्न पाउनेछन् । सर्ट फिल्म ‘मदर’, ‘खरानी’, ‘ऋतु’ र ‘मिस सेक्रेट’ लगायत पनि एपमा उपलब्ध छन् ।


कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । ओलीले शुभकामना दिदै नयाँ प्रविधिलाई आत्मसाथ गर्दै सुरु भएको प्लेटफर्मले सफलता पाउने विश्वास व्यक्त गरे । उनले भने–‘नेपालमा भारत र चीनको जस्तो ठूलो जनसंख्या छैन । यसैले, यहाँ थुप्रै फिल्म चलेर पनि कलाकारहरुलाई जीवन जिउन गाह्रो छ । धेरै जनसंख्या भएको मुलुकमा एउटा गीत चलेपनि जिन्दगी बन्छ । तर, यहाँ दीपकराज गिरी जस्ता कलाकारहरुलाई अझै भोली के हुने हो भन्ने चिन्ता छ ।’ ओलीले यस्तो परिस्थितीको बिचमा सुरु भएको ‘कान्तिपुर सिनेमाज्’ले विश्वभर रहेका नेपालीहरुको मन जित्न सक्ने भन्दै शुभकामना दिएका थिए ।
कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीले ‘कान्तिपुर सिनेमाज’मा मासिक २९९ रुपैयाँ तिरेर सबै सामाग्री हेर्न सकिने जानकारी दिए ।


पुरीले अनलाइन पेमेन्ट गरेर सब्स्क्रिप्सन गर्न सकिने बताउँदै ‘कान्तिपुर सिनेमाज’ नेपालको पहिलो सब्स्क्रिप्सन ढाँचाको ओटीटी प्लेटफर्म भएको दाबी गरे । ‘यो प्लेटफर्ममा नयाँ नेपाली फिल्म, सर्ट फिल्म र सिरिजहरू हेर्न पाउनुहुनेछ ।’ उनले अगाडि भने–‘संसारभर यस्ता खालका ओटीटी प्लेटफर्महरू छन् । जुन आज हलको विकल्पका रूपमा स्थापित भइसकेका छन् ।’ उनले, यस्तै प्रकारको प्लेटफर्मको विकास आफूहरुले गर्न चाहेको पनि बताए ।


कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘कान्तिपुर सिनेमाज’ दर्शक र मेकर दुवैका लागि उपयुक्त प्लेटफर्म हुन सक्ने बताए । विश्वभर रहेका नेपाली सिनेमाका पारखीका लागि ओटीटी राम्रो माध्यम भएको भन्दै उनले यसले नेपाली सिनेमालाई थप विस्तार गर्ने विश्वास व्यक्त गरे ।


नेपाली सिनेमाको ओटीटी रिलिज गर्न पनि मेकर तयार हुने अवस्था सिर्जना गर्न ‘कान्तिपुर सिनेमाज’ सफल हुने उनको धारणा थियो । यसले विश्वभरका नेपालीलाई जोड्ने माध्यमको काम गर्ने भुवनको भनाई थियो ।
कार्यक्रममा बोल्दै हाँस्य कलाकार दीपकराज गिरीले ओटीटी प्लेटफर्म संचालन गर्नु भनेको एउटा ठूलो चुनौतीको काम भएको भन्दै यसमा सफलता पाउनेमा विश्वास व्यक्त गरे ।


सानो बजार रहेकाले कन्टेन्टको आवश्यकता हुने र नयाँ सिनेमा पाउनु र दर्शकलाई दिन सक्नु नै ओटीटीका लागि मुख्य चुनौती भएको गिरीको भनाई थियो ।

यस्तै, कार्यक्रममा बोल्दै टेलिभिजन प्रस्तोता सुरज सिंह ठकुरीले ओटीटीबाट अन्य मुलुकका नागरिकहरुलाई पनि नेपाली बिषयवस्तुमा आकर्षित गर्न सकिने बताए । यसका लागि सब–टाइटल राखेको खण्डमा राम्रा सामाग्रीले नेपालीको मात्र नभएर विदेशीहरुको पनि मन जित्न सक्ने उनको भनाई थियो ।

काठमाडौं, ३० असोज ।

नेपाल सरकारले युद्धग्रस्त देश इजरायलबाट थप १९ नेपालीको उद्धार गरेको छ ।

प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेसँँगै स्वदेश फर्किन अनलाइन आवेदन दिएका थप १९ नेपालीलाई भारतीय विमानमार्फत उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अभिभबाट भारतको विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिए ।

नन्दसिंह भुल, सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाँण, आतिस गुरुङ, जुनु गुरुङ, मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा, दिलकुमारी अधिकारी कार्की, निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सिरता गुरुङ  र उर्मिला श्रेष्ठलाई उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारत हुँदै नेपाल फर्कने उनीहरूलाई नयाँ दिल्लीस्थित नेपाली दूतावासले सवारीसाधनको व्यवस्था गरेर नेपपाल पठाउने मन्त्री साउदले जानकारी दिए । उनीहरू मंगलबार बेलुका ७ बजेसम्म नयाँ दिल्ली आइपुग्ने छन् ।

 

यसअघि इजरायलबाट २५३ नेपालीलाई नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्काइएको थियो ।

हेमन्त केसीसुर्खेत, ३० असाेज ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको एक होटेलमा एक महिलाको शव फेला परेको छ । मुसिकोट नगरपालिका १ खलंगा बजारमा रहेको होटेल सत्कारमा एक महिला मृत अवस्थामा भेटिएकी हुन् । मृतकको पहिचान भने खुलेको छैन । होटेलको कोठा नम्बर १ मा महिलाको शव भेटिएको हो ।

 

प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका ठेगाना भएका विकास केसीको नामबाट गत आइतबार होटेलको कोठा बुक भएको देखिन्छ । सिरकले शव छोपेको अवस्थामा महिलाको शव रहेको छ । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली आउने भएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिमप्राप्त कुकुर र प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धान टोली आउन लागेको हो । कुकुरसहितको टोली आउन लागेकोले शव नचलाइएको र होटेलमै सुरक्षा दिइरहेको उनले बताए ।

काठमाडौं, ३० असोज ।

रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारीको पद गुमेको छ । एमाले त्यागेर अन्य दलको गएको भन्दै निर्वाचन आयोगले रिनाको मौलापुर नगर प्रमुखको पद गुमेको सूचना जारी गरेर जानकारी दिएको हो ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहेकी उनको नगरप्रमुखको पद गुमेको हो ।

एमालेबाट मौलापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी उनी सो पार्टी त्यागेपछि पद पनि गुमेको हो । एमालेको केन्द्रीय समितिको निर्णयसहित रिनाले एमाले त्यागेको जानकारी गराएकाले राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार उनको पद गुमेको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

 

आयोगले जारी गरेको सूचना

दल त्याग तथा पद रिक्त सम्बन्धी

सूचना

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको तर्फबाट संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका रौतहट जिल्ला, मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी प्राप्त हुन आएकोले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद स्वतः रिक्त भएको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्ने र सोही नियमको उपनियम (३) बमोजिम सूचना प्रकाशन भएपछि त्यस्ता सदस्यको पद स्वतः रिक्त हुने भनी आयोगबाट मिति २०८०÷०६÷२९ गते निर्णय भएको हुँदा यो सूचना प्रकाशन गरिएको छ ।

काठमाडौं ३० असोज, 

 रौतहटको मौलापुर नगरपालिकामा प्रमुख पद रिक्त भएको छ।निर्वाचन आयोगले मंगलबार सूचना निकालेर २०७९ को  स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित नगरपालिकाकी प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेपछि पद रिक्त भएको जानकारी दिएको हो

साह अन्य दलमा प्रवेश गरेको एमालेको केन्द्रीय समितिको निर्णय जानकारी भएसँगै पद रिक्त भएको आयोगले जनाएको छ। राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ को उपनियम (२) बमोजिम उनी निर्वाचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।

साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नी हुन्। थाहा खबर

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।