२०८३ भाद्र ४
२०८३ भाद्र ४
हेमन्त जोशी/ काठमाडौँ, १८ कात्तिक :

 

 

सांसद कृष्णकुमार श्रेष्ठले संसदीय समितिले प्रभावकारीरुपमा काम गर्नसक्नुपर्ने धारणा राख्नुभएको छ । स्वार्थको टकराव (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) र केही व्यक्ति तथा समूहको लाभका लागि संसदीय समिति परिचालिन हुनसक्नेबारे चनाखो हुनुपर्ने उहाँको भनाइ छ । अघिल्लो चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट संसद्मा प्रतिनिधित्व गर्नुभएका सांसद श्रेष्ठ गत निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभयो । अघिल्लो पटक र यस पटकसमेत उहाँ प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्य हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद श्रेष्ठ प्रतिनिधिसभा र आफू रहेको समितिमा खरो, तार्किक र स्पष्ट विचार राख्ने नेताका रुपमा चिनिनुहुन्छ ।

संसदीय समितिबाट हुने निर्णय र विधेयकमाथिका छलफलले कुनै व्यक्ति वा समूह विशेषलाई लाभ पुग्नसक्नेबारे ख्याल पु¥याउन जरुरी रहेको उहाँ बताउनुहुन्छ । “म भएको समिति मात्र होइन, अन्य समितिमा पनि कोही व्यक्तिको लाभमा निर्णय गर्ने अवस्था पटक–पटक देखिएका छन् । यो हुनुहुँदैन”, सांसदसँग रासस संवादका क्रममा उहाँले भन्नुभयो, “काँचो (अप्रशोधित) सुपारी निर्यात गर्न दिनेबारे उद्योग समितिमा निर्णय भइसकेकोमा मैले विस्तृत अध्ययन र विश्लेषण बिना अहिले निर्णय नगरौं भनेर सभापतिलाई यो विषयको वास्तविकता बुझाएपछि रोकियो । त्यस्तै, अरु समितिमा पनि कुनै न कुनै विषय स्वार्थ बाँझिएर आएका हुनसक्छन् ।

” संसद् अधिवेशन अन्त्य भएको तथा नचलेको अवस्थामासमेत समितिले आफ्नो काम गर्नसक्ने भएकाले यो बेलामा थप समय दिएर र जिम्मेवार भएर काम गर्नुपर्ने उहाँको बुझाइ छ । सङ्घीय संसद्का दुवै सदनको बजेट अधिवेशन बिहीबार अन्त्य भइसकेको छ । हिउँदे अधिवेशन सुरु नहुञ्जेलसम्मको अवधिमा सांसदले समितिमा आएका विषय र विधेयकका मस्यौदामाथिको छलफललाई प्राथमिकता दिनुपर्ने श्रेष्ठको बताउनुहुन्छ । “संसद् नभएको बेला पनि संसदीय समिति त चल्छन् नै । समितिहरु गम्भीर भएर अघि बढ्नुपर्छ भनेर हामी सबैले बुझ्न जरुरी छ”, उहाँ भन्नुहुन्छ ।

संसद् र संसदीय समितिको भूमिकामाथि बारम्बार प्रश्न उठ्ने गरेका छन् । विधायिकी भूमिका कमजोर भएको तथा निकै कम सङ्ख्यामा विधेयक पारित भएको, पटक–पटक अवरुद्ध भएर जनजीविकासँग जोडिएका महत्वपूर्ण कुरा संसद्मा आउन नसकेको, संसदीय मर्यादा उल्लङ्घन हुनेगरी गतिविधि हुने गरेकोलगायतका प्रश्न अहिले पनि संसद र सांसदमाथि उठिरहेका छन् । यस्ता प्रश्नले आफूलाई लज्जाबोध हुने गरेको सांसद श्रेष्ठ बताउनुहुन्छ ।

“विधायिकामाथि अहिले लागिरहेका आक्षेपसँग म सहमत छैन । संसद्ले मात्रै चाहेर भएन । सरकारले विधेयक ल्याउन प¥यो, बिजनेस दिनप¥यो”, उहाँ भन्नुहुन्छ, “संसद्मा रहेका दलहरुले महिनौँसम्म अवरोध गर्नेजस्ता विषयले हामीलाई पनि लज्जाबोध भएको छ । आमनागरिकले संसद्बारे जे सोचिरहनुभएको छ, त्यसमा म पनि दोषी र जिम्मेवार छु ।” नियम कानुन बनाउने विषयमा सरकारले विजनेस दिनुपर्ने र त्यसमा सरकारपक्ष तथा प्रतिपक्ष मिलेर विधेयक बनाउनतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ । संसद्को प्रभावकारिताका लागि कुनै एउटा दलको एउटा सांसदले धेरै गर्नसक्ने ठाउँ नरहने उहाँको बुझाइ छ । जनताले दिएको काम गर्न जिम्मेवार भएर काम गर्न पनि उहँले सबै दलका नेतालाई आग्रह गर्नुभयो । आगामी अधिवेशनमा यस्तो नहोस् भनेर आफ्नै दलमा पनि कुरा उठाउने र अन्य दललाई समेत आग्रह गर्ने उहाँले स्पष्ट पार्नुभयो । सांसदको विधायिकी भूमिका र विकास निर्माणका काममा लिनुपर्ने नेतृत्वदायी भूमिकालाई समानान्तर रुपमा अघि बढाउनुपर्ने आवश्यकता र बाध्यता दुवै रहेको श्रेष्ठको बुझाइ छ ।

“सङ्घीय संसद्को सदस्यका रुपमा के–के काम गर्नुपर्छ भनेर संविधानले नै तोकिदिएको छ । संविधानको कार्यान्वयन, सङ्घीय कानुन निर्माण गर्नेलगायतका भूमिका छन्”, उहाँ भन्नुहुन्छ, “तर प्रत्यक्ष निर्वाचित जनप्रतिधिका रुपमा हाम्रो बाध्यता के पनि छन् भने, निर्वाचनमा जानेक्रममा पानीको धारा दिन्छौँ, सिँचाइ दिन्छौँ, सडक दिन्छौँ, स्कुल–अस्पताल बनाउँछौँ, रोजगारी सिर्जना गर्छौं भनेर भोट मागेका हुन्छौँ । त्यसमा जनताले आशा गरेका हुन्छन् र ती काम गर्नु स्वभाविक छ ।” जनतासँग प्रतिबद्धता गरेर निर्वाचित भई आएपछि ती विकास आवश्यकताको पूर्ति गर्न लाग्दा ऐन कानुन बनाउनेजस्ता विधायिकी भूमिका कम भएको होकि भन्ने लाग्नु स्वभाविक रहेको उहाँ बताउनुहुन्छ । “विधायिकी भूमिका कमजोर भएको हो कि भन्ने लागेको हुनसक्छ ।

तर हामीले सँगसँगै जनताका काम पनि गर्नुप¥यो । कानुन मात्रै बनाएर हाम्रो जिम्मेवारी पूरा हुन्छ भन्ने होइन । सांसदलाई एउटा वडाध्यक्षले चलाउनसक्ने जति पनि बजेट छैन ।” चालु आवको बजेटमा सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम ल्याएको थियो । तर सर्वोच्च अदालतको अन्तरिम आदेशपछि त्यसको कार्यान्वयन रोकिएको छ । यो कार्यक्रमलाई सांसदले पैसा मागेको नभई विकास मागेको रुपमा बुझ्नुपर्ने उहाँको तर्क छ । “मतदातासमक्ष गरेको प्रतिबद्धता क्रमशः पूरा पनि गर्दै जानुप¥यो नि । हामीलाई कम्तीमा पनि पाँच सातवटा योजना छान्न दिनुपर्यो । हामीलाई पैसा चाहिएको होइन, योजना चाहिएको हो”, सांसद श्रेष्ठले भन्नुभयो, “मेरो निर्वाचन क्षेत्रको विकास आवश्यकता के कति हो भन्ने मलाई थाहा हुन्छ । जनतालाई अनुभूति हुने गरी हामीले पनि विकास निर्माणका काम गर्नुपर्ने हुन्छ ।

जनतासँग गरेका सबै प्रतिबद्धता पूरा गर्न नसके पनि अधितकम प्रयास त गर्नुपर्यो नि ।” पुराना र लामो समय संसदीय अभ्यास गरेका दलका सांसदको तुलनामा भर्खरै संसदीय अभ्यास थालेका दलको प्रस्तुति र उपस्थिति संसदमा दर्बिलो देखिने गरेको छ । तर उनीहरु पनि विवादमुक्त हुन नसकेको र केही सांसदका कारण राम्रो तथा जिम्मेवार भएर काम गरिरहेका आलोचित हुनुपरेको उहाँको भनाइ छ ।

“मन्त्री बन्नलाई पैसा दिएको भनेर कुनै अमुक दलको सांसदको विषय आयो । यो हामी सबै सांसदका लागि लाजमर्दो विषय हो । केही सांसदको क्रियाकलाप र अभिव्यक्तिले साँच्चै देशको सेवामा लागेका, सुशासनको पक्षमा लागेका, विकास गर्छौं भनेर लागेका सांसदलाई त त्यसले असर गर्छ”, उहाँले भन्नुभयो । प्रतिनिधिसभा निर्वाचनबाट सांसद चुनिएर आएको करिब एक वर्ष पुग्न लाग्यो । के सांसद श्रेष्ठलाई पछिल्लो एक वर्षमा आफूले गरेका काम सन्तोषजनक लागेका छन् त ? “पक्कै पनि सन्तोषजनक छैन ।

म तनहुँमा जन्मेको मान्छे, बारामा आएर निर्वाचन जिते । जनताका गुनासो सुनेर कस्तो समस्या कुन निकायमार्फत् समाधान गर्न सकिन्छ भनेर बुझ्न बढी समय निर्वाचना क्षेत्रमै हुन्छु । जनताले मलाई काम गर्न दिएको समय खेर जान दिन्न”, सांसद श्रेष्ठले भन्नुभयो, “अर्कोतर्फ संसद्मा पनि आफ्ना कुरा स्पष्टरुपमा राख्छु । वर्षौं वर्षदेखिको नागरिकताको समस्यादेखि विकास निर्माणका कुरामा पनि हामीलाई योजना चाहियो भनेर आवाज उठाएको छु ।” रासस

 

काठमाडौं, १८ कात्तिक ।

मान्डु हाइड्रो पावरले साधारणसभा आह्वान गरेको छ ।

साधारणासभाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेकाो छ ।

 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले मंसिर १५ गते ११ बजे साधारणसभा बोलाएको हो ।

 

नेपालगञ्ज, १८ असोज ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा आज नेपालगञ्जमा सम्बोधन गर्दैछन् ।

 

राप्रपा नेपाल बाँकेले शनिबार नेपालगञ्जमा गर्ने विरोध सभालाई थापाले आज सम्बोधन गर्न लागेका हुन् ।

राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभूमि निर्माण गर्न जिल्ला केन्द्रित कार्यक्रममा लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

२०६२/६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु अधिराज्य र संघीयता खारेज गर्दै सुदृढ स्थानीय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ।

सभालाई अध्यक्ष थापासहित उपाध्यक्ष तारानाथ लुइँटेल, महामन्त्री राजाराम बर्तौला, सह-महामन्त्री रमेश अर्याल, हिक्मत ढकाल, दिपु सिंहलगायतले सम्बोधन गर्ने र विभिन्न व्यक्तिहरू पार्टी प्रवेस गर्नेसमेत पार्टीले जनाएको छ।

काठमाडौँ, १८ कात्तिक :

राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ । रासस

त्रिवेणी (रुकुम पश्चिम), १८ कात्तिक :

भूकम्पका कारण आठबीसकोट र सानीभेरी गाउँपालिकामा हालसम्म २७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार आठबीसकोट नगरपालिकामा अहिलेसम्म २० जनाको मृत्यु भएको छ भने सानीभेरी गाउँपालिका–२ चाइनाबगरमा सात जनाको मृत्यु भएको छ । उहाँका अनुसार हालसम्म ४६ जान घाइते भएको विवरण प्राप्त भएको छ । प्रहरीका अनुसार आठबीसकोट नगरपालिकाको वडा नम्बर ११, १२, १३ र १४ मा र सानीभेरी–२ मा ठूलो मानवीय क्षति भएको छ । तत्कालका लागि मानिसको उद्धारमा ध्यान दिएकाले भौतिक संरचनामा पुगेको क्षतिको विवरण त्यसपछि मात्रै सङ्कलन गरिने सूचना अधिकारी प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । हाल नेपाल प्रहरी, नगर प्रहरी, जनप्रतिनिधिलगायत टोली उद्धारमा खटिएको छ । घाइतेहरुको जिल्ला अस्पताल सल्ले, आठबीसेकोट¬–९ राजी नगर अस्पतालमा उपचार भइरहेको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादीले जानकारी दिनुभयो । भूकम्पका कारण सानिभेरी गाउँपालिकाको वडा नं १ मा पर्ने पक्कीपुलमा क्षति भएकाले उद्धारमा भएको समस्या भए पनि अहिले सहज बनाइएको आठबीसेकोट नगरपालिकाका प्रमुख रवि केसीले बताउनुभयो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः४७ मा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । रासस

जाजरकोट, १८ कात्तिक :

गए राति गएको भूकम्पमा परी जाजरकोटमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभएको छ । उहाँका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएका विवरण प्राप्त भएका छन् । उहाँका अनुसार भूकम्पमा परी २७ महिला र १० पुरुषको मृत्यु भएको छ । भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्‍याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए लगत्तै उद्धारका लागि कर्णाली प्रदेश र प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको छ । जिल्लाका सबै सुरक्षा अङ्गहरु परिचालन भएको प्रजिअ सुनारले बताउनुभयो । जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाका अनुसार भूकम्पमा परी नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पका कारण यहाँ विद्युत सेवा समेत अवरुद्ध भएको छ । सडक सञ्चालनमा पनि समस्या भएकाले घाइतेको उद्धार कठिन भइरहेका उहाँको भनाइ छ । रातिको समय भएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रविन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको हो । रासस

त्रिवेणी (रुकुम पश्चिम) १८ कात्तिक :

गए राति गएको भूकम्पमा परी रुकुम पश्चिमको सानी भेरी गाउँपालिका पाँच जनाको मृत्यु भएको छ । जाजरकोटको रामिडाडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेमा वडा नम्बर २ परियार टोलका महावीर दमाईकी छोरी १२ वर्षीया मनिषा परियार, वडा नम्बर १ चाईनाबगरका ३१ वर्षीय धनविर पुन, सोही वडाकै २८ वर्षिया चुम्निमा पुन, आठ वर्षका यमराज पुन र दुई वर्षे सितम पुन भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । भूकम्पमा परी हालसम्म १० जना घाइते भएको विवरण प्राप्त भएको छ । त्रिवेणी, बाफीकोट गाउँपालिका र मुसीकोट नगरपालिकामा मानवीय क्षती भएको विवरण हालसम्म आएको छैन । चौरजहारी नगरपालिकामा भूकम्पमा परी घाइते भएकाको उद्धार भइरहेको र मानवीय क्षती नभएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । जिल्लाको आठविसकोट नगरपालिका भने ठूलो मानवीय क्षती भएको बताइएको छ । तर प्रहरीले हालसम्म कति जनाको मृत्यु भयो भन्ने यकिन जानकारी नआएको बताएको छ । रासस

काठमाडौं, १८ कार्तिक ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

 

दिउँसो देशको पहाडी भू-भागहरूमा आशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न साथै दैनिक क्रमिक रुपमा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

पर्सा १७ कार्तिक

जनता समाजबादी पार्टी नेपाल को बृहत पार्टी प्रबेश कार्यक्रम पर्साको कालिकामाई गाँउपालिका वडा नं २ भेडियारीमा भएको कार्यक्रम मा बिभिन पार्टी परित्याग गरि सयौ को संख्या मा पार्टी प्रबेश गरेका छन। जसपा नेपाल कालिकामाई गाउँपालिका कमिटि ले अायोजना गरेको कार्यक्रम मा कांग्रेस, नेकपा एस , लोसपा, लगायत ले जसपा नेपाल मा प्रबेश गरेका छन। जसपाले आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा संजय साह कानु,मोतिलाल साह, तबरेज खा, लालमहमद गदि, सुबास साह कानु, अबास मिया, मनइ पासवान, प्रदिप पसवान, सीता देवि, हिरामती देवी, मुनि देवि, माया देवि, रमिता देवि, सुनील साह तेली , सुनिल साह कानु, हरिकिशोर पासवान, लालमहम्मद राउत लगायतका सयौ को संख्या मा पार्टी प्रबेश गरेका छन। जसपाका गाँउ ईकाइ अध्ध्यक्ष तैयब खाँ को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी समेत रहेका मधेस प्रदेश सरकारका उर्जा,सिंचाइ तथा खानेपानी मन्त्री सिंहासन साह कलवारले नवप्रवेशीहरुलाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरेका छन। कार्यक्रममा जसपाका केन्द्रिय सदस्य फिरोज मन्सुर, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचीव तबरेज अहमद, जिल्ला कार्याकारिणी समिति सदस्य इन्द्रासन साह कलवार, श्यामबाबु चौरसीया, कालिकामाइ गाँउपालिकाका जसपा अध्यक्ष दिनेश साह कलवार, कालिकामाइ गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ता वडाध्यक्षाहरु लालबाबु चौरसिया, जयनारायण कुर्मी संजय पटेल, मन्त्रीका स्वकिय सचिव सचिन सिंह , गाउँपालिका सलाहकार अारमान खाँ, लगायतको सहभागीता रहेको थियो । कार्यक्रम संचालन रामबालक चौरसिया ले गर्नु भएको थियोे ।

राजेन्द्र महतो सिरहा १७ कार्तिक ।

सिरहामा प्रहरीले लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने मा त्रियुगा नगरपालिका वडा नं. ११ का ३३ बर्शिय सन्तोष चौधरी रहेका छ्न। जिल्ला को भगवानपुर गाउँपालिका वडा नं. ०१ भगवानपुर स्थित हुलाकी मार्गमा अ.प्र.पोष्ट भगवानपुर सिरहाबाट प्र.स.नि. मुना साहको कमाण्डमा खटिएको चेकिङ टोलीले पश्चिमबाट पुर्वतर्फ जादै गरेको स ९ प ८२५१ नं.को मोटरसाईकल लाई शंका लागी चेकजाँच गर्ने क्रममा चौधरीले मोटरसाईकलको सिट मुनि कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेकोDIALEX-DC लेखिएको– १ बोतल,फेनरगन लेखिएको ३० एम्पुल,डाईजेपाम लेखिएको ३० एम्पुल ,ब्रुफेनोरफिन लेखिएको ३० एम्पुल लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। लागूऔषध र मोटरसाईकल सहित निज चौधरी लाई नियन्त्रणमा लिई ई.प्र.का. लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।