काठमाडौं, १९ कात्तिक ।
राप्रपाले भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले जाजरकोट भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
बैठकले जाजकोट भूकम्पबाट प्रभावित परिवारलाई राहत पुर्याउन पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुको एक महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रुपैयाँ नेपाल सरकारलाई प्रदान गर्ने निर्णय गरेको पार्टी प्रवक्त मोहन श्रेष्ठले जानकारी दिए । ।

जाजरकोट भूकम्पले जाजरकोट तथा रुकुम पश्चिममा भएको जनधनको क्षतिप्रति राप्रपाले दुःख व्यक्त गर्दै भूकम्पका कारण ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
साथै उद्धार, खोजतलासका कार्यहरु गर्न, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न र राहत एवं पुनःस्थापनाका कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारको राप्रपाले ध्यानाकर्षण गराएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोट जिल्लाका लागि प्रतिनिधि सभासदस्य ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) को संयोजकत्वमा र रुकुम पश्चिम जिल्लाका लागि पार्टीका सहायक महामन्त्री सौरेन्बहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय गरिएको छ।
सो को लागि प्रभावित जिल्लाभित्रका र अन्य जिल्लाबाट जाने राप्रपाका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले जाजरकोटको हकमा ज्ञानेन्द्र शाहीसँग र रुकुम पश्चिम जिल्लाको हकमा सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहँंग समन्वय गरी उद्धार कार्यमा सहयोग पुरÞ्याउन सकिने व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
राप्रपाले भूगोल केन्द्रित जिम्मेवारी कार्यक्रममध्ये जाजरकोट र रुकुम पश्चिम जिल्लाका कार्यक्रमहरू आगामी १५ मंसिरसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । साथै पार्टीले गर्ने आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रमहरु कार्तिक मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
काठमाडौं, १९ कात्तिक ।
काठमाडौंमा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य ओमानले पछ्याउन थालेको छ ।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमाम कप्तान रोहितकुमार पौडेल र गुल्सनकुमार झाको अर्धशतक सहयोगमा नेपालले ओमानविरुद्ध १८५ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनायो ।
ओमानका बिलाल खानले तीन विकेट लिए । अकिब इल्यासले दुई र जिसान मक्सुदले एक विकेट लिए ।
लमजुङ १९ कात्तिक ।
उत्तरी लमजुङ र हिमाली जिल्ला मनाङकाे लाईफलाईनसंग जाेडिएकाे बेंसीसहर–चामे सडक कालाेपत्र गर्न सुरू गरिएकाे छ ।
बेसीसहर-चामे सडकअन्तर्गत खुदी जलकिनेसम्मकाे खण्डमा कालाेपत्र सुरू भएकाे हाे । निर्माण कम्पनी आशिष अनेष्ट जेभी चितवनले मर्स्याङ्दी गाउँपालिका-९ गैरीफाँटमा बिहिबारदेखि अमेरिकी प्रविधिकाे अस्फाल्ट कालाेपत्र गर्न सुरू गरेकाे हाे । अस्फाल्ट प्रविधिकाे कालाेपत्र बलियो, महँगो र टिकाउ मानिन्छ ।
सडक निर्माण भएकाे २९ वर्षपछि कालाेपत्र हुँदा स्थानीय खुसी भएका छन् । स्थानीयले कालाेपत्र भएकाे फाेटाे सामाजिक सञ्जालमा राख्दै खुसी ब्यक्त गरेका छन् ।
डुम्रे–बेँसीसहर–चामे सडक योजनाका अनुसार यसवर्ष बेँसीसहरको मनाङे चौतारा नजिकै एक सय मिटरदेखि खुदीसम्म सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गरिनेछ ।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख रविन्द्रलाल दासका अनुसार कालाेपत्रका आशिष अनेस्ट जेभी चितवनले विसं २०८० असार २९ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्यसहित २०७८ असार ३० गते ठेक्का सम्झौता गरेको थियो ।
कूल रु ५२ करोड ९६ लाख १६ हजार अनुमानित लागत रहेकामा रु २५ करोड ३२ लाख १३ हजार लागतमा कालोपत्र गर्ने सम्झौता गरिएको थियो । तर समयमा काम सम्पन्न हुन नसकेपछि पुन: एक वर्ष म्याद थप गरि काम अघि बढाईएकाे छ ।
यो सडक मनाङको मेरुदण्ड र उत्तरी लमजुङवासीका लागि प्रमुख मार्गका रुपमा रहेको छ । विसं २०५१ मा ट्याक खन्न सुरू गरिएकाेमा पछि नेपाली सेनाकाे कार्यदल गणले मनाङको सदरमुकाम चामेसम्म सडक निर्माण गरी २०६९ मा हस्तान्तरण गरेको थियो । अहिले सडक माथिल्लो मनाङको खाङसारसम्म पुगेको छ ।
डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार यस सडकको ‘क्यारिज वे’ (भार बोक्ने सडक) पाँच दशमलव पाँच मिटरको हुनेछ । यो मध्यम लेनको सडक मानिन्छ ।
अहिलेपनि कालाेपत्र संगै वाल कटिङ गर्ने, चौडाइ बढाउने, कल्भर्ट बनाउने, नाली बनाउने काम भइरहेको उनले बताए ।
काठमाडौं, १९ कात्तिक ।
चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक घटेको छ ।
आइतबार प्रि–ओपन सेसनमा ०.९५ अंक घटेर १८४६.७५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२१ अंक घटेको छ।
यो सेसनमा १८ स्टकको ४ लाख ४१ हजार ६८७ रुपैयाँ बराबरको १ हजार ८५० कित्ता शेयर कारोबार भएको छ । जसमध्ये ४ स्टकको मूल्य सो सेसनमा बढेको छ भने १० स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
काठमाडौं, १९ कात्तिक ।
काठमाडौंमा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा ओमनविरुद्ध पहिले नेपालले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलको टस जितेर नेपालले ब्याटिङ रोजेको हो ।
आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको दुवै नेपाल र ओमान उपाधिका लागि भिड्न लागेका हुन् ।
नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउँदै विश्वकप यात्रा पक्का गरेको थियो।
काठमाडौँ, १९ कात्तिक ।
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘ सुन न तिमी राम्रो लाग्यो’ बाेलकाे गीत सार्वजनिक गरिएकाे भएको छ । प्रतिमा श्रेष्ठको शब्द रहेको सार्वजनिक गीतको भिडियोमा कलाकार मदनकृष्णकी छोरी सराना श्रेष्ठले निर्देशन गरेकी हुन् ।
गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको रोमाञ्चक प्रेम कहानी देख्न सकिन्छ । अनिल शाहीको सङ्गीत रहेको गीत ब्लूबेरी स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडियाे लिंक : https://www.youtube.com/watch?v=J8aQOLCGFc0
काठमाडौं, १९ कात्तिक ।
सरकारले जाजरकोट भूकम्पबाट घाइते भएका सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले गत शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट घाइते भएका सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।
भूकम्पपीडितहरुको उद्धार कार्य सकिएकाले अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ ।
काठमाडौंमा वीर, ट्रमा, टिचिङ, गंगालाललगायतका अस्पताल अलर्ट अवस्थामा राखिएको स्वास्थ्यमन्त्री बस्नेतले नभएको बताए ।
गाजा, १९ कार्तिक ।
मध्य गाजा पट्टीको अल मगाजी शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा कम्तिमा ३३ जनाको मृत्यु भएको छ ।
इजरायली सेनाले गरेको सो आक्रामणमा परी अन्य १०० जना घाइते भएका छन् ।
देर अल बालाहको अल अक्सा सहिद अस्पतालका नर्सिङ प्रमुख डाक्टर खलील अल डाकरानले सीएनएनलाई बताए अनुसार सो घटनामा इजरायललाई जिम्मेवार ठहराएका छन ।
तर, इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले यस क्षेत्रलाई लक्षित गरेको हो कि भनेर गरिएको प्रश्नमा तत्काल कुनै टिप्पणी गरेको छैन् ।
डाक्टर अल डाकरानले धेरै पीडित महिला र बालबालिका रहेको र अस्पतालमा थप शव ल्याउने क्रममा मृत्यु हुनेको संख्या बढ्ने बताएका छन् ।
अल अक्सा अस्पतालमा खिचिएको भिडियोमा सेतो तार पाल मुनि राखिएको धेरै शव र पाँच बालबालिकाको देखाइएको छ।
अल मगाजी शिविरका निवासी जमाल अल अलौलले भने कि उनी सुतिरहेका थिए जब अचानक पूरै भवन हामीमाथि खस्यो। सो घर खस्दा आफ्ना दुई बालबालिकाको मृत्यु भएको उनले बताएका छन । उनले भवनमा धेरै मानिस रहेको र अरु कत्ति जनाको हत्या भएको छ ? त्यो अहिले नै एकिन गर्न नसकिने जनाएका छन् ।
‘मैले रातो बत्ती देखेँ, त्यसपछि हामी सोफामा हल्लिरहेका थियौं, मैले मेरा सबै दिदीबहिनीहरू चिच्याइरहेको थिए, जब मैले आफूलाई जिउँदै पाएँ, मैले अझै पनि कोही जीवित छन् क िभनी हेरेका थिएँ तर कोही जीवित थिएनन,’ अर्का शिविर निवासी समह शाकौराले भने।
अल मगाजी शरणार्थी शिविर वादी गाजाको दक्षिणमा तटीय एन्क्लेभको मध्य भागमा अवस्थित छ। संयुक्त राष्ट्रको राहत र कार्य एजेन्सीका अनुसार शिविर साँघुरो गल्लीहरू र ०.६ वर्ग किलोमिटर भन्दा बढी क्षेत्रमा बसोबास गर्ने ३३ हजार भन्दा बढी मानिसहरूको साथ उच्च जनसंख्या घनत्व रहदैँ आएको छ ।
उता, इजरायली सेनाले गाजा शहर र उत्तरी गाजामा आफ्नो हवाई र जमिन आक्रमणलाई तीव्र पारेकोले गाजाका नागरिकहरूलाई वादी गाजाको दक्षिणतिर जान बारम्बार आह्वान गरिरहेको छ ।
भक्तपुर, १९ कार्तिक ।
नुशीलन नेपालले प्रकाशन गरेको चूडाप्रसाद चौलागाईः व्यक्तित्व र कृतित्व नामक (समीक्षा संग्रह) शनिबार भक्तपुरको मध्यपुर थिमिमा एक कार्यक्रम गरी विमोचन गरिएको छ ।

वरिष्ठ साहित्यकार डा इन्दुल केसीलगायतका विशिष्ट अतिथिहरुले पुस्तकको संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

पुस्तकमा विभिन्न १५ जना विद्धान चूडाप्रसाद चौलाईको जीवनका विबिध पक्षहरुबारे लेखिएका लेखहरु समावेश गरिएका छन् । पुस्तकमा ८६ पृष्ठको रहेको छ । पुस्तकको मूल्य दुई सय ५५ रुपैयाँं तोकिएको छ । साथै पुस्तकमा एउटा कविता पनि समावेश गरिएको छ ।

२००४ साल चैत ९ गते चौरी देउराली ६ बोक्से काभ्रेमा जन्मेका चूडाप्रसाद चौलागाई ४५ वर्षसम्म शिक्षण कार्यमा लागेर निबृत शिक्षक हुन् । उनी प्रभा बहुमुखी क्याम्पस काभ्रेका क्याम्पस प्रमुख पनि थिए । उनको यसअघि पनि विभिन्न पुस्तकहरु सार्वजनिक भइसकेका छन् ।

पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि डा केसी, लेखक चूडाप्रसाद चौलागाई, प्रकाशक अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारी, सचिव टीका श्रेष्ठ, पदम दाहाल, डा रवीन्द्र गिरी, डा महेन्द्र सापकोटा, डा ङेमा लामालगायतले साहित्यका विबिध पक्षबारे चर्चा गरेका थिए । कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो ।

प्रकाश पाक्साँवा,तेह्रथुम, १९ कार्तिक ।
तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका ७ र ९ को सगम स्थलमा रहेको लसुने बजारमा दिपावली मेलाको अवसरमा पुरुष आमन्त्रित पुरुष फुटबल तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । रियल लसुने युवा क्लबको आयोजना तथा लालीगुराँस नगरपलिकाको सहयोगमा कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा फुटबल कार्तिक २० गतेदेखी २५ गतेसम्म प्रतियोगिता हुने भएको खेल संयोजक सुमन लिम्बुले जानकारी दिए । प्रतियोगितामा विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ दिपावली कप, मेडल प्रमाणपत्र प्राप्त गर्ने छन । त्यस्तै उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गर्ने रियल लसुने क्लबका अध्यक्ष रतन लिम्बुले बताए ।
त्यस्तै कार्तिक २५ गते राष्ट्रिय कलाकार एलिना चौहान, निशान भट्टराई ,केहेर सिं लिम्बुका साथै स्थानीय कालाकारहरुको प्रस्तुति रहने भएको छ । कार्यक्रममा विभिन्न जातजातीहरुको भेषभुषासहितको झाँकीहरु समेत प्रस्तुत गरिने भएको क्लबका सल्लाहकार हिम थापाले बताए फुटबल प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १२ टिमको सहभागीता रहनेछ ।