गाजा, २३ कार्तिक ।
खान युनिसमाथि इजरायलको पछिल्लो हमलामा चार जनाको मृत्यु भएको छ ।
दक्षिणी गाजा पट्टीमा इजरायली तोपको गोली र गोलाबारीमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् ।
वाफा रिपोर्टका अनुसार खान युनिसको पूर्वमा बानी सुहैला सहरमा एउटा घरमा प्रहार भएको थियो, जसको परिणामस्वरूप हताहत भएको थियो।
एक इजरायली विमानले अल शुजैया छिमेकमा रहेको बेकरी र बेट लाहियाका धेरै लक्ष्यहरूमा पनि बमबारी गरेको हो।
अल शाती शरणार्थी शिविरको आकाशमा पनि ज्वालाहरू निस्किएको बताइएको छ । जबकि, इजरायली नौ सैनिक जहाजहरूले पश्चिमी गाजातर्फ राउन्ड फायर गरेका छन्।
काठमाडौं, २३ कार्तिक ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न साथै क्रमिक रुपमा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।






काठमाडौं, २२ कात्तिक ।
सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा पुगेको छ ।
सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।
२८८ स्टकको ३० हजार ३६४ पटकको कारोबारमा ७८ करोड २७ लाख ४३ हजार २६४ रुपैयाँ बराबरको ३१ लाख ५७ हजार ६२ कित्ता सेयर किनबेच भएको छ ।
ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य सर्वाधिक ८.०७ प्रतिशत बढ्दा पिपुल्स हाइड्रोपावर कम्पनी र नेपाल एसबिआई बैंकको सेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।
१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। बाँकी १ उपसमूहको परिसूचक स्थिर रहेको छ।
काठमाडौं, २१ कार्तिक ।
नेकपा एमालेले जिल्ला अधिवेशन गर्ने समय ४ महिना थप गर्ने निर्णय गरेको छ।
आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी जेठ मसान्तसम्म जिल्ला अधिवेशनको समयावधि थप गर्ने निर्णय गरेको हो।
सचिवालय बैठकले मंसिर ६ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ। आसन्न केन्द्रीय कमिटीको बैठकमा एमालेले मंसिर १४ गतेबाट सुरु हुने मध्यपहाडी लोकमार्ग विशेष अभियानलाई प्रभावकारी र नतिजामूलक बनाउन आवश्यक कार्य तय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
यस्तै एमालेले पूर्वको चिवाभञ्ज्याङदेखि पश्चिमको झुलाघाटसम्म ३ हप्ता लामो अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
काठमाडौं, २२ कात्तिक ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुगेका छन्।
भूकम्पपीडितले राहत नपाएको गुनासो आएपछि उपप्रधानमन्त्री खड्का आफैँ राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे गाउँपालिका पुगेका हुन्।
उपप्रधानमन्त्री खड्काले राहत सामग्री गाउँपालिकाको वडा नम्बर ३ मा पुगेर हस्तान्तरण गरेका छन्। सो अवसरमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ पनि उपप्रधानमन्त्री खड्काको साथमा थिइन्।
गत शुक्रबार राति भूकम्प गएयता उपप्रधानमन्त्री भूकम्पपीडितको उद्धार, राहतलगायतका काममा खटिएका छन्। भूकम्प गएयता उपप्रधानमन्त्री खड्का सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी प्रभावितहरूको उद्धार र राहतमा खटिएका हुन्। राहत वितरणपछि पुनःस्थापनाको काम सुरु नहुँदासम्म उनी सोही स्थानमै रहने उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ।
रक्षामन्त्री समेत रहेका खड्काले सरकारले यतिबेला सम्पूर्ण शक्ति भूकम्पपीडितको उद्धार, राहत वितरण र पुनःस्थापनामा केन्द्रित गरेको बताउँदै यस संकटको समयमा साथ दिने सबैलाई हार्दिक धन्यवाद समेत दिएका छन्।
‘नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हो । म आफै पनि घाइतेको उद्धारदेखि उनीहरुको उपचार र राहित वितरणमा सक्रिय छु । सरकारलाई प्राथमिकताका साथ भूकम्पपीडितका लागि काम गरिरहेको छ’, उपप्रधानमन्त्री खड्काले भने।
सप्तरी, २२ कात्तिक ।
खडक नगरपालिका-११ बनौलीबाट थ्रिनटथ्री राइफलको गोली ५ राउण्ड, अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २ ट्याब्लेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-२ बस्ने १९ वर्षीय धर्मजित कुमार यादव र सप्तरी खडक नगरपालिका-११ बनौली बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले धर्मजितलाई ५ राउण्ड गोली र किशोरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
पाल्पा, २२ कात्तिक ।
१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मी ईस्मा गाउँपालिका-६ बस्ने २६ वर्षीय जिज्ञाश दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।
तानसेन नगरपालिका-८ तल्लो डुम्रे बस्दै आएकी ती किशोरीलाई दाहालले सोही ठाउँस्थित बारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
काठमाडौं, २२ कात्तिक ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड भन्दाबढी रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गरेका छन् ।

बुधबार बिहान बालुवाटारमा पर्यटन मन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ लाई भेटी सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

यसरी सहयोग गर्नेहरुमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ, लुम्बिनी विकास कोष रहेका छन् । त्यसैगरि गोरखा ब्रअरी प्रा.लि. ले पनि राहत कोषमा १ करोड सहयोग गरेको छ ।
