काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ र तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भू-भागमा तातो दिन हुने सम्भावना रहेको छ ।
आज राती कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा बाँकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बागमती र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन वा सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै महासंघले पछिल्ला केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण डिजेल र पेट्रोलको मूल्य निरन्तर बढ्दै जाँदा यातायात व्यवसाय सञ्चालन गर्न कठिन भएको जनाएको छ । मूल्यवृद्धिले यात्रुवाहक तथा मालवाहक सवारी साधन सञ्चालनमा प्रत्यक्ष असर परेको महासंघको भनाइ छ ।
सरकारले विगतमा लागू गरेको स्वचालित मूल्य प्रणालीका आधारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा त्यसअनुसार भाडा समायोजन नगर्दा व्यवसायीहरू मारमा परेको महासंघका महासचिव डेकनाथ गौतमले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
महासंघले २०७९ सालयता लागू वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार मूल्य समायोजन हुनुपर्ने माग गरेको छ। वर्तमान परिस्थितिमा पेट्रोलियम पदार्थको खपत घटाउने र सेवा सञ्चालनलाई प्रभावकारी बनाउने प्रयास गरिए पनि लागत अत्यधिक बढेकाले तत्काल समाधान आवश्यक रहेको जनाएको छ।
महासंघले नेपाल आयल निगममार्फत भइरहेको पटक-पटकको मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गर्दै यथाशीघ्र निर्णय लिन आग्रह गरेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । नेपाली कांग्रेसले भरत खड्कालाई संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति बनाउने भएको छ ।
रास्वपाले लेखा समितिको सभापति कांग्रेसले पाउने भएपछि पार्टीले खड्कालाई अघि सारेको हो । खड्काले संघीय संसद सचिवालयमा आफ्नो उम्मेदवारी समेत दर्ता गरेका छन् ।
खड्कालाई सत्ता पक्ष रास्वपा र विपक्षी दल एमाले र नेकपाको समेत समर्थन रहेकाले उनी निर्बिरोध निर्वाचित हुने देखिएको छ ।
यस अघि मोहन आचार्यलाई लेखा समितिको सभापति बनाउने बताइएको थियो ।
लेखा समितिमा काँग्रेसका चार सांसदहरु मोहन आचार्य, भरतबहादुर खड्का, जनकराज गिरी र योगेश गौचन थकाली सदस्य रहेका छन् । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण-सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल सन्देशका साथ मध्य पूर्वी पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गत मधेसका जिल्लाहरूमा भूतपूर्व सैनिक सम्मेलन-२०८२ सञ्चालन भएको छ ।
मुख्य सम्मेलन केन्द्र, मध्य पूर्वी पृतना, बर्दिबासमा प्रधान सेनापति अशोक राज सिग्देल र अन्य २ वटा उपकेन्द्रहरूमा ज्येष्ठ अधिकृतको प्रमुख आतिथ्यमा सञ्चालन भएको यस सम्मेलनमा उक्त क्षेत्रमा बसोबास गर्ने करिब दुई हजार पाँच सय अवकाश प्राप्त सैनिक तथा परिवारजनको उपस्थिति रहेको थियो ।
नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा सञ्चालन भएको सम्मेलनमा ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिला र ४ जना सन्ततिलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने १ जना अभिभावकलाई सम्मान गर्नुका साथै सर्वोत्कृष्ट र उत्कृष्ट उद्यमीहरूलाई प्रशंसा-पत्र एवं पुरस्कार वितरण गरिएको थियो । सोही क्रममा फरक क्षमता भएका तथा अशक्त ८ (आठ) जना भूतपूर्व सैनिकहरूलाई व्हिल चेयर तथा बैसाखी वितरण गरिएको थियो ।
यस प्रकारको कार्यक्रमले सेवारत र अवकाश प्राप्त सैनिकहरू बिचको सम्बन्धलाई निरन्तरता दिँदै कल्याणकारी कोषको स्थायित्व एवं गुणात्मक सेवा प्रदान गर्न उपयुक्त तथा व्यवहारिक सुझाव सङ्कलन गरी हिताधिकारीहरुलाई शिक्षा, स्वास्थ्य, सहुलियत र स्वरोजगारका क्षेत्रमा समयानुकूल सुविधा प्रदान गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को भूतपूर्व सैनिक सम्मेलन मध्ये मध्य पूर्वी पृतना अन्तर्गतका हिमाली तथा पहाडी जिल्लाहरूमा मिति २०८३ वैशाख ५ गते आयोजना हुने कार्यक्रम रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । बेलायतको सार्वजनिक प्रसारण संस्था बीबीसीले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने निर्णय गरेको छ ।
आगामी दुई वर्षभित्र करिब दुई हजार कर्मचारी हटाइने जनाइएको छ, जसले कुल कर्मचारीको झण्डै १० प्रतिशतलाई असर पार्नेछ । यो निर्णय करिब पाँच अर्ब पाउण्ड बराबरको खर्च बचत गर्ने उद्देश्यले लिइएको हो ।
बीबीसीका कार्यवाहक महानिर्देशक रोड्री टेल्फन डेविसले बुधबार यसबारे जानकारी दिएका हुन् । उनका अनुसार सन् २०११ पछि यो सबैभन्दा ठूलो कर्मचारी कटौती हुनेछ । हाल बीबीसीमा करिब २१ हजार पाँच सय कर्मचारी कार्यरत छन् ।
डेविसले यो निर्णयले कर्मचारीमा चिन्ता र अनिश्चितता बढाउने स्वीकार गर्दै वर्तमान आर्थिक अवस्थाका कारण यस्तो कदम चाल्न बाध्य भएको बताएका छन् । बढ्दो महँगी, लाइसेन्स शुल्कबाट घट्दो आम्दानी, व्यापारिक आम्दानीमा गिरावट र विश्व आर्थिक अस्थिरताले खर्च कटौती गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
खर्च घटाउन बीबीसीले नयाँ भर्नामा नियन्त्रण गर्ने, यात्रामा हुने खर्च कम गर्ने, व्यवस्थापन परामर्शमा खर्च घटाउने तथा कार्यक्रम र भेलामा हुने खर्च कटौती गर्ने योजना बनाएको छ ।
यसका साथै लागत घटाउन प्रविधिको प्रयोग बढाउनेतर्फ पनि बीबीसीले ध्यान केन्द्रित गरेको छ । बीबीसीको मुख्य आम्दानी बेलायतका घरधुरीबाट उठाइने वार्षिक लाइसेन्स शुल्कबाट आउने गर्छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ ।
पराजुली काठमाडौँ- ७ बाट प्रत्यक्षतर्फ लगातार दोस्रो पटक निर्वाचित सांसद हुन् ।
त्यस्तै विहिबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतकमा महामन्त्री कविन्द्र बुर्लाकोटी र सचेतकहरुमा सांसद प्रकाशचन्द्र परियार र सांसद क्रान्तिशिखा धिताललाई चयन गरेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल बैठक आज बस्दैछ ।
रास्वपाको संसदीय दलको बैठक आज सिंहदबारस्थित संसदीय दल कार्यालयमा मध्याह्न १२: १५ बजे बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
महामन्त्री बुर्लाकोटीकाअनुसार संसदीय समितिका सभापतिहरू चयनको विषयमा छलफल हुन बैठक बोलाइएको छ ।
प्रतिनिधि सभाअन्तर्गतका विषयगत १० समितिका सभापतिको निर्वाचन बैशाख ४ गते शुक्रबार हुने कार्यतालिका रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गरेका छन् ।
प्रधानमन्त्री कार्यालयमा आज भएको छलफलमा उहाँले समानुपातिक सांसदहरूको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायको सेतुको रूपमा व्याख्या गरेका थिए । प्रधानमन्त्री शाहले सांसदहरूलाई भने- ‘तपाईंहरूको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, त्यसपछि राष्ट्रिय कानुन निर्माणमा केन्द्रित हुनुहोस् र समग्र देशको विकासमा ध्यान दिनुहोस्। प्रत्यक्ष निर्वाचित एउटा क्षेत्रमा बाँधिएका हुन्छन्, तर तपाईंहरू देशभरका आफ्ना क्लस्टरका लागि आशाको केन्द्र हुनुहुन्छ ।’
प्रधानमन्त्री शाहले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्यको प्रतिबद्धता जनाउँदै समस्या समाधानमा प्रविधिको प्रयोगमा जोड दिए ।
छलफलमा उठेका तात्कालिक विषयमा फलोअप गरिने र आगामी दिनमा आवश्यक सुझाव तथा समन्वयका लागि ‘डिजिटल माध्यम’ बाट सधैं खुला रहने उनको भनाइ थियो । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । सरकारले राष्ट्रिय प्राथमिकता निर्धारणका लागि तयार गरिएको ‘राष्ट्रिय प्रतिबद्धता’ मा सातै प्रदेशमा अत्याधुनिक र पूर्णता:पहुँचयुक्त खेल पूर्वाधारहरु निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।
राजनीतिक दलहरुसँग सुझाव मागिएको राष्ट्रिय प्रतिबद्धता पत्रमा विद्यालयस्तर देखि नै प्रतिभा पहिचान कार्यक्रम मार्फत स्कूल स्पोर्टसलाई पाठ्यक्रमको अभिन्न अङ्ग बनाइने उल्लेख छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । सरकारले राष्ट्रिय प्राथमिकता निर्धारणका लागि तयार गरिएको ‘राष्ट्रिय प्रतिबद्धता’ मा पाँच वर्षमा प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने लक्ष्य राखेको छ ।
राजनीतिक दलहरुसँग सुझाव मागिएको राष्ट्रिय प्रतिबद्धता पत्रमा औसत आर्थिक वृद्धिदर ७ प्रतिशत हासिल गरी प्रतिव्यक्ति नेपालीको आय ३ हजार डलर पुर्याउने लक्ष्य राखिएको छ ।
त्यस्तै सरकारले नेपालको कूल ग्राहस्थ उपत्पादन १०० अर्ब पुर्याउने लक्ष्य राखेको छ । मुलुकभित्र रोजगारीको विस्तार, सामाजिक सामन्जस्यता, अवसरको समानता र पर्यावरणीय सन्तुलनमा गुणात्मक सुधार आर्थिक विकासमा बाधक रहेका तथा असान्दर्भिक कानुन संशोधन तथा नयाँ कानुन निर्माण गरी समग्रमा व्यावसायिक वातावरणमा सुधार गरिने राष्ट्रिय प्रतिवद्धता पत्रमा उल्लेख छ। एभरेष्ट न्यूज एजेन्सी,