२०८३ भाद्र ४
२०८३ भाद्र ४

 

काठमाडौँ ८ मंसिर,

– भारतले अस्ट्रेलियाविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । बिहिबारदेखि शुरु भएको ५ खेलको टी-२० सिरिजको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको २०९ रनको लक्ष्य पछाएको भारतले १९.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि यस सिरिजमा कप्तानी गरिरहेका सूर्यकुमार यादवले ४२ बलमा ८० रन बनाएका थिए भने इशान किशनले ५८ तथा रिंकु सिंहले १४ बलमा २२ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ३ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । अस्ट्रेलियाका लागि जोश इन्लिसले ५० बलमा ११० रन बनाएका थिए भने स्टिभ स्मिथले ५२ रन बनाएका थिए ।

यो जितपछि भारतले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने तालिका रहेको छ ।

 

काठमाडौं

सरकारले बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचनाजारी गर्दै निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेलबाहेकको जंगली बँदेललाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी घोषणा गरिएको छ ।

जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानि–नोक्सानी पुर्‍याएमा किसान एक्लै वा सामूहिक रूपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा मार्न पनि पाउनेछन् ।

जंगली बँदेललाई पक्रिएको खण्डमा सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्षण, सिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन कार्यालयमा बुझाउनुपर्ने र उक्त सूचना स्थानीय वडा कार्यालयमा समेत दिनुपर्ने राजपत्रमा उल्लेख गरिएको छ ।

बँदेललाई धपाउने वा लखेट्ने क्रममा मृत्यु भएमा सम्बन्धित वडाको एकजना प्रतिनिधिसहित कम्तीमा पाँचजना स्थानीय व्यक्तिको रोहबरमा मुचुल्का खडागरी गाड्न वा तौलका आधारमा मूल्य तोकी उक्त रकम राजस्वमा दाखिला गर्न सकिने उल्लेख छ । यसबारे वन्यजन्तु आरक्ष कार्यालय, सिकार आरक्ष, डिभिजन वन कार्यालयमा जानकारी दिनुपर्ने उल्लेख छ ।

मारिएको बँदेल वन्यजस्तुलगायत कार्यालयले प्रत्येक महिना नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग तथा सम्बन्धित प्रदेश सरकारको सम्बन्धित मन्त्रालयमा बुझाउनुपर्ने उल्लेख छ । तर, राजपत्रमा उल्लेख भएअनुसार राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सिकार, संरक्षण क्षेत्र वा राष्ट्रिय वन क्षेत्रमा जंगली बँदेललाई धपाउन, लखेट्न, पक्रन वा मार्न पाइनेछैन ।

 

मंसिर ८,काठमाण्डाै

– सरकारले नगर क्षेत्रमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विज्ञप्ति निकालेर महानगर, उपमहानगर र नगरपालिकालाई कार्यक्षेत्र बनाइ बचत तथा ऋण परिचालनको उद्देश्य बोकेका कुनै पनि सहकारी संस्था दर्ता नगर्न सङ्घ, प्रदेश र पालिकालाई निर्देशन दिएको हो ।

देशभर ठूलो सङ्ख्यामा रहेका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुबाट पछिल्लो समयमा नागरिकबाट बचत स्वीकार गर्ने र उच्च जोखिमयुक्त क्षेत्रमा लगानी गर्दा बचत डुब्ने समस्या विकराल बन्दै गएको भन्दै मन्त्रालयले कडाइ गरेको हो ।

पछिल्लो समयमा ठूला सहकारी संस्थाहरू सदस्य तथा बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । सहकारी क्षेत्रको सङ्कटले सम्पूर्ण वित्तीय क्षेत्र नै प्रभावित हुन सक्ने जोखिम बढ्दै गएकाले यस क्षेत्रको समस्या समाधानका लागि अर्को व्यवस्था गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

समस्या समाधानको अर्को व्यवस्था नभएसम्मका लागि महानगर, उपमहानगर र नगरपालिकालाई कार्यक्षेत्र बनाइ बचत तथा ऋणको मुख्य काराबोर गर्ने सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्र स्वीकृतिमा रोक लगाउने निर्णय भएको हो ।

 

काठमाडौं,मंसिर ७ ।

नेपाल सरकारको सञ्चित कोषमा गत आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै योगदान गर्ने करदाताहरूलाई सरकारले सम्मान गरेको छ ।

बिहीबार आन्तरिक राजस्व विभागले आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने करदातालाई सम्मान गरेका हुन् ।

यसअन्तर्गत सार्वजनिक संस्थाको सूचीमा सर्वाधिक कर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अर्थात् नेपाल टेलिकम सम्मानित भएको छ । आर्थिक वर्ष २०७८/७९ मा पनि याे विधामा टेलिकमले सबैभन्दी कर तिरेकाे थियाे । टेकपाना

 काठमाडौँ,०७ मङ्सिर ।

चालु आर्थिक वर्षको चार महिनामा १३ अर्ब रुपैयाँ बढीको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कार्तिकमा १३ अर्ब १६ करोड ४१ लाख ७० लाख रुपैयाँको खाद्यान्न आयात भएको हो ।

चार महिनामा मात्रै भारत, चीनबाट ७९ हजार ७ सय टन धान आयात भएको छ । सो बापत करिब ३ अर्ब रुपैयाँ बाहिरिएको छ ।

यस्तै, ब्राउन राइस, बासमती लगायत तयारी चामल चीन, भारत, थाइल्यान्ड लगायत राष्ट्रबाट ३३ हजार टन भित्रिएको छ । ३ अर्ब बढी रुपैयाँको तयारी चामल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै, मकैको पिठो, गहुँको पिठो, फापर, जुनेलो र अन्य खाद्यान्न पाँच हजार आठ सय टन भित्रिएको छ । २९ करोड बढी रुपैयाँ खर्च भएको छ । चार महिनामा आलु, भटमास, विभिन्न तयारी खाद्यान्न २७ हजार बढी टन आयात भएको देखिन्छ । सो बापत करिब ५ अर्ब हाराहारीमा रुपैयाँ बाहिरिएको छ । रातोपाटी

७ मंसिर २०८०

कास्की – पोखरामा जारी केपी ओली कप टि २० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी शुरुआत गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा १ सय ८५ रनको लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रेड’ १४ ओभर २ बलमा ७५ रनमा अलआउट भयो ।

एकेडेमी ‘रेड’ का लागि कप्तान अमर मिश्र र विजय प्रजापतिले सर्वाधिक समान १३–१३ रन बनाए । सन्तोष यादवले १२ रन बनाउँदा निर्मल थापाले १० रन बनाए ।

बागमतीका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । प्रतिश जिसीले २, सुभाष खत्रीले ३ विकेट र रिजन ढकालले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । बागमतीका लागि ओपनर रित गौतमले सर्वाधिक ७४ रन बनाए । शुभ कंसाकारले २७, सन्दीप लामिछानेले १८, गौरव खड्काले अविजित १७ र प्रतीक श्रेष्ठले १४ रनको योगदान दिए ।

बलिङतर्फ एकेडेमी ‘रेड’ का विपर्सन केसीले ३ विकेट लिए । सन्देश थापा र सन्तोष यादवले १-१ विकेट लिए ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रीकेट मैदानमा आजबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन्

खबरहब

काठमाडौं,मंसिर ७, २०८० ।

नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड नाघेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक तथ्यांकले यस्ताे देखाएको हो ।

केन्द्रीय बैंककाे तथ्याङ्क अनुसार असोज २०८० सम्म नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या दुई करोड दुई लाख ७६ हजार १६१ पुगेको छ । गत भदौ मसान्तसम्म डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ९९ लाख २२ हजार ४४३ रहेको थियो ।

गत वर्ष असोजसम्म नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ४८ लाख ३९ हजार ८२० थियो । यो तथ्याङ्क हेर्दा एक वर्षको अवधिमा डिजिटल वालेट प्रयोगकर्ता ५४ लाख ३६ हजार ३४१ ले बढेका छन् ।

त्यस्तै मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या पनि पछिल्लो एक महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ । भदौ २०८० मा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या दुई करोड १९ लाख ५७ हजार ६९२ थियो । असोज २०८० मा भने उक्त सङ्ख्या बढेर दुई करोड २२ लाख ८४ हजार ६२२ पुगेको छ ।

यही अवधिमा गत वर्ष नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या एक करोड ९१ लाख दुई हजार ६५२ थियो । एक वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या ३१ लाख ८१ हजार ९७० ले बढेको छ ।

पछिल्लो समय इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या भने निरन्तर घट्दो छ । भदौ २०८० सम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १८ लाख ८८ हजार ३४५ थियो । असोज मसान्त सकिँदा सो सङ्ख्या घटेर १६ लाख २५ हजार ९ पुगेको छ । गत वर्ष यही अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १७ लाख ३७ हजार ८०३ थियो । एक वर्षको अवधिमा उक्त सङ्ख्या एक लाख १२ हजार ७९४ ले घटेको छ ।

राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्क अनुसार असाेज महिनासम्म कनेक्ट आईपीएस प्रयोगकर्ताको सङ्ख्या ११ लाख ६० हजार ९५६ पुगेको छ । गत वर्ष यही अवधिमा कनेक्ट आईपीएसका प्रयोगकर्ताको सङ्ख्या नौ लाख ४६ हजार २९३ थियो ।

कारोबार सङ्ख्या र रकम

वालेट प्रयोगकर्ताको वृद्धिसँगै यसबाट हुने कारोबार सङ्ख्या र रकम पनि उल्लेखनीय रूपमा बढेको छ । भदौ २०८० मा वालेटबाट दुई करोड २४ लाख १४ हजार ५७६ पटक कारोबार भएको थियो । असोज २०८० मा वालेटबाट दुई करोड २६ लाख २२ हजार १७० पटक कारोबार भएको देखिन्छ । यही अवधिमा गत वर्ष वालेटबाट एक करोड ५७ लाख तीन हजार ४२ पटक कारोबार भएको थियो ।

वालेटबाट कारोबार भएको रकमको सन्दर्भमा असोज २०८० मा मात्रै २२ अर्ब ७९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्ष यही अवधिमा वालेटबाट १६ अर्ब ५६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । एक वर्षको अवधिमा वालेटबाट हुने कारोबारको रकम छ अर्ब २२ करोड ८० लाख रुपैयाँले बढेको छ ।

यता मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या वृद्धि भए पनि कारोबार सङ्ख्या भने एक महिनाको अवधिमा घटेको छ । भदौ २०८० मा मोबाइल बैंकिङबाट तीन करोड ४४ लाख ९३ हजार २५२ पटक कारोबार भएकोमा असोजमा तीन करोड २७ लाख ७२ हजार ८३९ पटक कारोबार भएको छ । अर्थात एक महिनाको अवधिमा मोबाइल बैंकिङबाट हुने कारोबारको सङ्ख्या १७ लाख २० हजार ४१३ ले घटेको छ । गत वर्ष सोही अवधिमा मोबाइल बैंकिङ अन्तर्गत दुई करोड नौ लाख नौ हजार ३६१ पटक कारोबार भएको थियो ।

मोबाइल बैंकिङ मार्फत हुने कारोबारको रकमको तथ्याङ्क हेर्ने हो भने उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ । भदौ २०८० मा मोबाइल बैंकिङबाट दुई खर्ब ४२ अर्ब २६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । असोज २०८० मा सोही माध्यमबाट दुई खर्ब ७७ अर्ब ८२ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । गत वर्ष सोही अवधिमा मोबाइल बैंकिङबाट एक खर्ब ६२ अर्ब १३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

इन्टरनेट बैंकिङको सन्दर्भमा भने पछिल्लो समय प्रयोगकर्ता, कारोबार सङ्ख्या र कारोबारको रकम घट्दो छ । तथ्याङ्क अनुसार भदौ २०८० मा इन्टरनेट बैंकिङबाट तीन लाख २९ हजार ८८६ पटक कारोबार भएको थियो । असोज २०८० मा सोही माध्यमबाट दुई लाख ७७ हजार ६०६ पटक कारोबार भएको थियो । सोही अवधिमा गत वर्ष दुई लाख ४८ हजार ६२२ पटक कारोबार भएको थियो ।

इन्टरनेट बैंकिंङमार्फत भएको कारोबार हेर्ने हो भने भदौ २०८० मा १२ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो । असोज २०८० मा सोही माध्यमबाट ११ अर्ब ८० करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गत वर्ष सोही अवधिमा इन्टरनेट बैंकिङबाट ११ अर्ब ९५ करोड ९० लाख रुपैयाँको कारोबार भएको थियो ।

यसैगरी एक वर्षको अवधिमा क्यूआरबाट हुने कारोबारको सङ्ख्या आकर्षक रूपमा वृद्धि भएको देखिन्छ । भदौ २०८० मा क्यूआरबाट एक करोड १७ लाख ९९ हजार १७५ पटक कारोबार भएको थियो । असोज २०८० मा क्यूआर माध्यमबाट एक करोड १८ लाख ८३ हजार १०० पटक कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गत वर्ष सोही अवधिमा क्यूआर माध्यमबाट ३५ लाख ६५ हजार ४५५ पटक कारोबार भएको थियो ।

क्यूआरबाट भएको कारोबार रकमका सन्दर्भमा असोज २०८० मा ३६ अर्ब २१ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्ष सोही अवधिमा क्यूआर माध्यमबाट १५ अर्ब ७८ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो । टेकपाना

 

काठमाडौं, मंसिर ७

विद्युतीय गाडीको आयात तीन गुणाले बढेको छ।

चालु आर्थिक वर्षको चार महिना (साउनदेखि कात्तिक)मा दुई हजार ७ सय ८७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको छ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा जम्मा एक हजार १८ वटा यस्ता विद्युतीय गाडी आयात भएको थियो।

गत वर्षभन्दा यस पटक विद्युतीय गाडीको आयात १७३ प्रतिशतले बढेको हो। पछिल्लो समय व्यवसायी र सरकारले नै विद्युतीय गाडी आयातलाई प्राथमिकता दिँदै आएको छ। विद्युतीय सवारी साधन सञ्चालनलाई प्रोत्साहन गर्ने नीतिहरूका कारण आयात बढेको भन्ने बुझिन्छ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिक महिनामा मात्रै छ सय ५२ वटा विद्युतीय गाडी आयात भएको छ।

चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म ५० किलोवाटसम्म मोटर क्षमता भएको १२ सय ७९ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएको छ। ५१ देखि एक सय किलोवाटसम्म मोटर क्षमता भएको १४ सय ८१ वटा, १०१ किलोवाटदेखि दुई सय किलोवाटसम्म मोटर क्षमता भएको १७ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाट मोटर क्षमता भएका १० वटा विद्युतीय कार आयात भएका छन्।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा ६ अर्ब ७३ करोड २७ लाख ५० हजार बराबरको विद्युतीय कार, जीप र भ्यान आयात हुँदा सरकारले दुई अर्ब ९६ करोड ९९ लाख हजार बराबरको राजस्व संकलन गरेको छ।

तथ्यांक अनुसार सो आवधिमा चीनबाट ५० किलोवाटसम्म मोटर क्षमता भएका दुई सय ५ वटा, भारतबाट एक हजार ६२ वटा र इन्डोनेसियाबाट १२ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्।

त्यस्तै, ५१ देखि १ सय किलोवाटसम्म मोटर क्षमता भएकामध्ये १३ सय ४९ वटा चीनबाट, एक सय ३१ वटा भारतबाट आयात भएका छन्।

एक सयदेखि दुई सय किलोवाटसम्म मोटर क्षमता भएकामध्ये १३ वटा कार, जिप र भ्यान चीनबाट आयात गरिएको छ। दुई सयभन्दा बढी क्षमता भएको १० गाडीमध्ये ७ वटा चीन र ३ वटा अमेरिकाबाट आयात गरिएको छ।

यसर्थ, नेपालमा सबैभन्दा धेरै गाडी चीन र त्यसपछि क्रमश: भारत, इन्डोनेसिया, अमेरिका, जर्मनी र कोरियाबाट भएको तथ्यांकले देखाएको छ।

सेतोपाटी 

७ मंसिर, काठमाडौं

निर्वाचन आयोगले माग ११ गते राष्ट्रियसभाको निर्वाचन मिति तोक्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर निर्वाचन आयोग सदस्य निर्वाचनका लागि माघ ११ गतेको मिति प्रस्ताव गरेको हो ।

बिहीबार माघ ११ गते निर्वाचन गर्नेगरी मिति तोक्न सिफारिस गरेिएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगका पदाधिकारीहरूले बिहीबार प्रधानमन्त्री प्रचण्ड समक्षलाई भेटेर मिति प्रस्ताव गरेका हुन् । प्रधानमन्त्रीले पनि आयोगले तोकेअनुसार नै मन्त्रिपरिषदबाट निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

फागुन २० गते राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुँदैछ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम रिक्त हुने समयभन्दा ३५ दिन पहिले नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था छ ।

सो अनुसार आयोगले सरकारलाई आज मिति प्रस्ताव गरेको हो । माघ १५ गतेभित्रै राष्ट्रिय सभा सदस्यको पदपूर्ति गर्न आयोगले त्यसदिन मिति तोकेको हो । नेपालभस

२०८० मंसिर ७,

केहीदिन पहिले बलिवुड अभिनेत्री रश्मिका मण्डनाको डिपफेक भिडियो भाइरल भएको थियो। उक्त घटनापछि भारतमा डिपफेकविरुद्ध कडा नियम बनाउनुपर्ने बहस छेडिएको छ।

भारत सरकारले डिपफेक प्रविधिमाथि कडा नियमन गर्न कानून निर्माण गर्न लागेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार केन्द्र सरकारले गुगल, फेसबुक, युट्युबलगायत अनलाइन प्लेटफर्मसँग छलफल गरेको थियो। उक्त बैठकपछि केन्द्रीय मन्त्री अश्विनी वैष्णवले महत्त्वपूर्ण विषयमा सहमति भएको बताए।

डिपफेक लोकतन्त्रका लागि नयाँ खतरा बन्दै गएको बताइन्छ। त्यही भएर पनि भारत सरकारले यसको विरुद्ध तत्काल कदम उठाउन लागेको मन्त्री वैष्णवले बताएका छन्। डिपफेकबाट सिर्जित चुनौतीसँग जुध्न कडा नियम बनाउने उनको भनाइ छ। यस विषयमा अर्को बैठ डिसेम्बर पहिलो हप्ता बस्ने तय भएको छ।

‘डिपफेक’ प्रविधिले निम्त्याउँदै संकट, सुविधाका नाममा बढ्दो चुनौती

केही दिन पहिले बलिवुड अभिनेत्री रश्मिका मण्डनाको डिपफेक भिडियो भाइरल भएको थियो। पछि उक्त भिडियो वास्तविक नभएको र डिपफेक गरेर रश्मिकाको अनुहार राखिएको पुष्टि भएको थियो। त्यो घटनासँगै डिपफेकलाई लिएर भारतमा यसलाई नियन्त्रण गर्नुपर्ने बहस छेडिएको छ।

उकालो

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।