नेपाल धितोपत्र बोर्ड
(सेबोन)ले जलविद्युत् कम्पनीको साधारण सेयर (आइपिओ) र हकप्रद सेयर निष्कासन रोकेको विषयलाई लिएर जलविद्युत् उद्यमीले सरकारको ध्यानाकर्षण गराउने भएका छन्।
बोर्डले आइपिओ र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिन आलटाल गरेपछि ऊर्जा उद्यमीहरूले प्रधानमन्त्री कार्यालयदेखि अर्थ मन्त्रालयसम्मको ध्यानाकर्षण गराउने तयारी गरेका हुन्।
धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएपछि सकारात्मक कार्य भई धेरै कम्पनीको धितोपत्र निष्कासन गरेकोमा त्यसको सराहना गरे पनि यतिवेला भने बोर्ड खुला बजार नीतिविपरीत जान लागेको इप्पानका महासचिव बलराम खतिवडाले बताए।
कुनै कम्पनीबाट ऐन–नियमविपरीत कार्य भएको भए त्यस्ता कम्पनीलाई आवश्यक सुपरिवेक्षण तथा छानबिन गरी कारबाही गर्नुपर्नेमा समग्र ऊर्जा क्षेत्रलाई नै बदनाम गराउने प्रयास भएको भन्दै बोर्डको पछिल्लो गतिविधिप्रति ऊर्जा उद्यमीहरूले असन्तुष्टि जनाएका छन्।
केही कम्पनीका संस्थापकहरूले धितोपत्र बिक्री गरेको भन्ने आधारमा सम्पूर्ण कम्पनीलाई धितोपत्र निष्कासन गर्न रोक्न नहुने र यसो गरेमा यो क्षेत्र नै धराशायी भई अर्थतन्त्रमा नकारात्मक असर पर्ने महासचिव खतिवडाको भनाइ छ।
नेपाल धितोपत्र बोर्डबाट विगतमा सहज रूपमा धितोपत्र निष्कासन भइरहेको र हाइड्रोपावर कम्पनीहरूले सहज रूपमा निष्कासन अनुमति पाएपछि यस क्षेत्र उत्साहित भई धेरै कम्पनीले निष्कासनका लागि निवेदन दिन थालेका थिए। तर, हाल धितोपत्रको आपूर्ति बढी भएको भन्ने बहानामा धितोपत्रको सार्वजनिक तथा हकप्रद निष्कासनमा ढिलाइ गरेकोमा उद्यमीहरूको आपत्ति छ।
हाइड्रोपावर कम्पनीहरूले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको अवस्थामा यसको योगदानलाई कदर गरी आवश्यकताअनुसार धितोपत्र जारी गर्न दिनुपर्ने महासचिव खतिवडाले बताए।
पुँजी बजारमा आउने सबै कम्पनीलाई समान रूपमा एकै प्रकारको व्यवहार हुनुपर्नेमा हाइड्रोपावर कम्पनीका लागि मात्र कडा व्यवस्था गरी आइपिओ तथा हकप्रद सेयर निष्कासन गर्न रोक्न नहुने ऊर्जा उद्यमीहरूको माग छ।
काठमाडौँ, ८ मङ्सिर :
संसदीय समिति सञ्चालनका लागि साधनस्रोत अपुग भएको भन्दै सांसदहरूले बजेट बढाउन आग्रह गरेका छन् । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सांसदले आवश्कताअनुसार बजेट प्राप्त नभएको गुनासो गर्नुभएको हो । समितिका सभापति जयन्तीदेवी राईले बजेट अभावका कारण समितिअन्तर्गत तय गरिएका वार्षिक कार्यक्रम सञ्चालन गर्न गाह्रो पर्ने गरेको बताउनुभयो । ‘संसदीय समितिका लागि वार्षिक कार्यक्रम बाँडफाँट विवरण २०८०/८१’ प्रस्तुत गर्नुहुँदै सभापति राईले न्यून बजेटका कारण समितिका गतिविधि प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको बताउनुभयो । समितिका सदस्य डा खिमलाल देवकोटाले सरकारको प्रतिनिधि गर्ने संसदीय समितिको आर्थिक अवस्था कमजोर रहेको प्रस्ट्याउनुभयो । उहाँले समितिमा बजेट अभावका कारण तोकिएको कार्यक्रममा लक्ष्यअनुसार काम गर्न नसकिएको बताउनुभयो । समितिका अर्का सदस्य देवेन्द्र दाहालले संसद् सचिवालयलाई पर्याप्त बजेटसँगै निर्धारित वार्षिक कार्यक्रमको प्रभावकारिताबारे समेत प्रश्न उठाउनुभयो । गत वर्ष समितिलाई रु १५ लाख बजेट विनियोजन भएको भए पनि उक्त रकम खर्च गर्न नसकेको बताउँदै सांसद दाहालले धेरै बजेट हुनुभन्दा कार्यक्रम छनोट गर्दा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । समितिका सदस्य जितेन्द्रनारायण देवले विधायन व्यवस्थापन समितिले सन्तोषप्रद काम गरेको बताउनुभयो । उहाँले अन्य समितिभन्दा यो समितिले निर्धारण गरेका कार्यक्रमको नतिजा लक्ष्यअनुसार प्राप्न गर्न सकेको र अब आर्थिक वर्ष २०८०/८१ को योजनाअनुसार नै सफल हुने विश्वास व्यक्त गर्नुभयो । सांसद गङ्गाकुमारी बेल्वासेले समितिमार्फत चार वटा प्रदेश अवलोकन गरिसकेको र बाँकी रहेका कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेश पनि अवलोकन गर्ने योजना तय गर्न सभापतिसँग अनुरोध गर्नुभयो । सङ्घीय संसद्अन्तर्गतका विभिन्न १६ वटा विषयगत समितिको कार्यसञ्चालनका लागि सङ्घीय संसद् सचिवालयमार्फत सरकारले चालु आव २०८०/८१ का लागि एकमुष्ट रु दुई करोड आठ लाख बजेट बिनियोजन गरेको छ । प्रत्येक समिति सचिवालयले आ–आफ्नो समितिको कार्यक्षेत्रका अनुगमन कार्यक्रम सञ्चालनका लागि रु १० लाखको दरले कूल रु एक करोड ६० लाख विनियोजन गरिएको छ । पहिलो, दोस्रो, तेस्रो र चौमासमा सो रकमको एक तिहाइ बराबरको रकम खर्च गर्नुपर्ने रहेको छ । विज्ञ/परामर्श सेवाका लागि प्रत्येक समितिका लागि रु ६२ हजार पाँच सयका दरले कूल रु १० लाख बराबर रकम विनियोजन गरिएको छ । समितिका कार्यक्षेत्रबमोजिम अन्तक्र्रिया सञ्चालन गर्न एकमुष्ट रु ३० लाख र पूर्वबजेट छलफलका लागि रु आठ लाख बजेट राखिएको छ । रासस
०८ मङ्सिर,काठमाडौँ ।
धेरैजसो पुरुषहरु आफ्नो छालाको हेरचाह गर्दैनन् । तयार हुने, चिरिच्याट्ट परेर हिँड्ने, छाला वा कपालको स्याहार गर्ने कुराहरुलाई धेरैले केटी वा महिलासँग मात्रै जोडेर हेर्ने गरेका छन् । तर छालाको स्याहार अर्थात् स्क्रिन केयर स्त्रीसँग मात्रै सम्बन्धित कुरा होइन । हुन त यो कहिले पनि स्त्रीसँग मात्रै सम्बन्धित छँदै थिएन । हामीले नै यसलाई केटीसँग मात्रै जोडेर हेरिरह्यौँ ।
तर छालाको स्याहार महिलाका लागि जति जरुरी र आवश्यक छ, पुरुषका लागि पनि त्यत्तिकै छ । तर यसको अर्थ तपाईँले श्रीमती वा बहिनी वा छोरीको स्किन केयर प्रडक्ट लगाउनुपर्छ भन्ने होइन । पुरुषको छाला महिलाको भन्दा मोटो हुन्छ । बजारमा पुरुषका लागि पनि छाला सुहाउँदो स्क्रिनकेयर प्रडक्ट धेरै छन् । हर्मोनको भिन्नता, जीवनशैली र वातावरणसँगको एक्सपोजरका कारण पनि पुरुषमा छाला सम्बन्धी चिन्ता र चासो महिलाको भन्दा फरक हुन्छ ।
टेस्टोस्टेरोनको उच्च मात्राका कारण पुरुषको छाला महिलाको भन्दा बढी चिल्लो हुन्छ । टेस्टोस्टेरोनले सिबम उत्पादनलाई बढाउँछ । अत्यधिक सिबमका कारण खासगरी किशोरावस्था र युवावस्थाको शुरुआती बेलामा डन्डीफोर आउन थाल्छ । दाह्री काट्दा रेजर बर्न हुन्छ । दाह्री काट्ने मेशिनका कारण छाला रातो हुन्छ, चिलाउन थाल्छ । पुरुषहरुको छाला चिल्लो भएपनि अनुहार र हातका छाला सुख्खा हुन्छन् ।
कडा खालको साबुन, डिटर्जेन्ट र मौसमका कारण छालामा सुख्खापन बढाउन सक्छ । पुरुषहरुले छालाको हेरचाहमा त्यति समय नदिने भएकोले महिलाका तुलनामा उनीहरुमा छिटै बुढ्यौलीका संकेत देखिन थाल्छ । पुरुषहरुमा एष्ट्रोजेन कम हुने, घाममा छाला डढ्ने र धुम्रपानका कारण पनि उनीहरुको छालामा छिटै चाउरी देखिन थाल्छ । नियमित रुपमा छालाको हेरचाह गर्ने हो भने सबै उमेर समूहका पुरुषहरुले आफ्नो छालालाई स्वस्थ र जवान राख्न सक्छन् ।
क्लिन्जः हरेक दिन दुई पटक जेन्टल क्लिञ्जर प्रयोग गरेर छालामा भएको फोहोर, चिल्लो र पसिना हटाउन मुख सफा गर्नुस् ।
एक्सफोलियशनः हप्तामा एक वा दुई पटक राति सुत्नु अघि स्क्रब प्रयोग गरेर छालामा रहेको मृत कोषहरु हटाउनुस् ।
मोइष्चराइजः छालालाई हाइड्रेटेड राख्न नियमित रुपमा मोइष्चराइजरको प्रयोग गर्नुस् । छाला सुहाउँदो मोइष्चराइजर प्रयोग गर्नुस् ।
सनस्क्रिनः घामको हानिकारक परावैजनी किरणबाट जोगाउन छालामा ३० वा सोभन्दा बढी एसपीएफको सनस्क्रिन लगाउनुस् ।
तपाईको छाला संवेदनशील छ वा चाँडै डाबर आउने खालको छ भने छालाको सफाई झनै जरुरी छ । रातोपाटि
काठमाडौँ, ८ मङ्सिर (रासस) :
बिहीबार काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा पशुपति खड्का, मुनेन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही तथा आवास खड्का रहेका जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार दुर्गा प्रसार्इं नेतृत्वको समूहले बल्खुमा गरेको आन्दोलनमा अराजक गतिविधि गर्नुका साथै प्रहरीमाथि ढुङ्गामुढा गरेका कारण पक्राउ गरिएको हो । उनीहरुलाई काठमाडौँका विभिन्न ठाउँबाट आज नियन्त्रणमा लिइएको थियो । रासस
काठमाडौँ, ८ मङ्सिर :
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल रु चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार बराबरको व्यापारघाटा व्यहोरेको हो । भन्सार विभागका अनुसार गत आर्थिक मसान्तसम्ममा कूल रु पाँच खर्ब ६३ अर्ब छ करोड ८८ लाख ५४ हजार बराबरको वैदेशिक व्यापार गर्दा रु पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख बराबरको आयात गरेको छ भने रु ५० अर्ब ५६ करोड ५३ लाख बराबरको मात्रै निर्यात गरेको छ । गत आवको पहिलो चौमासिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात तीन दशमलव ७९, निर्यात सात दशमलव ६८, व्यापार घाटा तीन दशमलव ३४ र समग्र वैदेशिक व्यापार चार दशमलव १५ प्रतिशतले घटेको छ । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारत हो । चालु आवको पहिलो चौमासिक अवधिमा नेपालले भारतसँग कूल रु तीन खर्ब ४७ अर्ब तीन करोड बराबरको व्यापार गर्दा रु दुई खर्ब ८१ अर्ब दुई करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । रासस
अजयकुमार साह,धनुषा, ८ मङ्सिर :
८ मंसिर २०८०,काठमाडौं।
केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ।
पोखरा रंगशालामा जारी प्रतियोगितामा बागमतीले कर्णालीलाई ९० रनले पराजित गरेको हो।बागमती सेमिफाइनलमा यससँगै बागमती सेमिफाइनलमा पुगेको हो।
१९० रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको कर्णाली १७.३ ओभरमा ९९ रनमा अलआउट भयो। कर्णालीको लागि अर्जुन घर्तीले २४ र कप्तान रविन्द्र शाहीले २० रन जोडे। बागमतीको लागि सन्दीप लामिछानेले ४, दिपेश श्रेष्ठले २ तथा प्रतिस जिसी, रिजन ढकाल, सुबास खत्री, ईशान पान्डेले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको बागमतीले पुरै ओभर खेलेर ६ विकेटको क्षतिमा १८९ रन बनायो। बागमतीको लागि रित गौतमले ५९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ८२ रन बनाए। ईशान पान्डेले ३८ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७० रन जोडे। कर्णालीको लागि दिनेश अधिकारीले ३ तथा अनुज चनारा र दिवान पुनले १–१ विकेट लिए। नेपाल भ्युज
०८ मङ्सिर २०८०,कतार ।
कतारको एउटा अदालतले भारतीय नौसेनाका ८ जना अधिकारीहरूलाई मृत्युदण्डको सजायविरुद्ध भारत सरकारले दिएको अपिल स्वीकार गरेको छ ।
अक्टोबर २८ मा जासुसी गरेको मामिलामा कतारले ती अधिकारीहरूलाई मृत्यु दण्डको सजाय सुनाएको थियो । यस मामिलामा छिट्टै सुनुवाइ हुने अदालतले बताएको छ ।
यो फैसलालाई अहिलेसम्म गोप्य राखिएको बताइएको छ । सन् २०२२ को अगस्टमा अल दाह्रा नाम गरेको निजी कम्पनीमा काम गर्ने ८ भारतीय नागरिकहरूलाई जासुसीको आरोपमा समातिएको थियो । मार्च २५ मा उनीहरू विरुद्ध मुद्दा चलाइएको थियो । गत महिना यिनीहरूलाई मृत्युदण्ड दिने फैसला सुनाइएको थियो । रातोपाटि
२०८० मंसिर ८ गते,काठमाडौं ।
बलिउड अभिनेता रणवीर कपुरले नेपाली गायिका मेनुका पौडेललाई ‘संगीतकी देवी’ भन्दै प्रशंसा गरेका छन् । इण्डियन आइडलको पछिल्लो एपिसोडमा रणवीरले मेनुकाको पाउ छोएर सम्मान दर्शाए ।
आगामी फिल्म ‘एनिमल’ प्रवर्द्धनका लागि रणवीर र अभिनेत्री रश्मिका मन्दाना इण्डियन आइडलमा पुगेका थिए । मेनुकाले रणवीरकै अघिल्लो फिल्म ‘अगर तुम साथ हो’ गाएर मन्त्रमुग्ध तुल्याएकी थिइन् ।
मेनुकाको गीतमा भावविह्वल रणवीर र रश्मिकाले स्टेजमा गएर मेनुकालाई सम्मान दर्शाए । रणवीरले साक्षत देवी भन्दै निहुरिएर मेनुकाको पाउ छोए । मेनुकालाई अँगाल्दै उनले भने, ‘मेनुकाजी मेरो नाम रणवीर हो । म तपाईंबाट आशिर्वाद लिन चाहन्छु । जब श्रेयाजीले ठूलो मञ्चमा गाउँदा दर्शकलाई यस्तै महसुस भएको हुन सक्छ । श्रेयाजीलाई देवी भन्छौं । देवी नम्बर २ हाम्रो साथमा साक्षात् रुपमा उपस्थित हुनुहुन्छ ।’
साथै रणवीरले मेनुकाको लागि भोट पनि मागे । मेनुकाले इण्डियन आइडलमा पछिल्लो समय चर्चा बटुलिरहेकी छन् । अनलाइनखबर
८ मंसिर २०८०,गाजा
गाजा क्षेत्रमा अस्थायी युद्धविराम सम्झौता कार्यान्वयनमा आएको छ । स्थानीय समयअनुसार शुक्रबार ७ बजेबाट युद्धविराम सम्झौता कार्यान्वयनमा आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
सम्झौताअन्तर्गत प्यालेस्टाइनी लडाकु समूह हमासले प्रथम चरणमा १३ जना बन्धक रिहा गर्ने जनाएको छ । उनीहरुलाई स्थानीय समयअनुसार आजै ४ बजेभित्र रिहा गरिसक्ने तय भएको छ । त्यसैगरी, इजरायली जेलमा रहेका केही बन्दीहरुलाई पनि रिहा गरिने छ ।
आगामी ४ दिनसम्म हमासले ५० जना इजरायली बन्धक रिहा गर्नेछ । हमासले रिहा गर्ने बन्धकमा महिला र केटाकेटी रहेको जनाइएको छ ।
युद्धविराम सम्झौता कार्यान्वयनमा आएसँगै उत्तरी गाजामा इजरायली हवाई आक्रमण रोकिएको लेबनानी टेलिभिजन च्यानल अल मयादिन टेलिभिजनले जनाएको छ ।
यससँगै पछिल्लो ४८ दिनदेखि जारी युद्धबाट इजरायल र प्यालेस्टाइनी जनताले केही राहतको महसुस गरेका छन् ।