२०८३ भाद्र ४
२०८३ भाद्र ४

 

काठमाडौँ मंसिर ८,/

– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवक संघले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुक्रबार साँझ राँके जुलुस निकालेको छ।

दुर्गा प्रसाईँको आन्दोलनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका पार्टीका नेता कार्यकर्तालाई निसर्त रिहाइको माग गर्दै राँके जुलुस निकालेको हो।

युवक संघका पूर्व अध्यक्ष राजु लोहनीको नेतृत्वको जुलुस निकालेको एक नेताले जानकारी दिए। प्रसाईँको आन्दोलनमा सहभागी भएको आरोपमा राप्रपा युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, नेता बसन्त पाण्डे,राप्रपा प्रदेश सदस्य चिना कोइरालालाई पक्राउ गरी प्रहरीले दरवारमार्गमा वृत्तमा राखेको छ।

यस्तै प्रहरीले शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का, आभास खड्का (झापा), अनुपविक्रम शाही, सतीश न्यौपाने लगायतलाई सिंहदरवार प्रहरी वृत्तमा राखेको छ।

नरेन्द्र प्रसाद भेटवाल, राजिव अर्याल, सरोज क्षेत्री, विश्वास भट्ट, रजिन अर्याल,मणी सिम्खडा, मिना शाही, सावित्री क्षेत्रीलगायत नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै निसर्त छोडीदिन माग गर्दै पार्टी निकट संघ शुक्रबार साँझ विरोध प्रर्दशनमा उत्रिएको हो।

राप्रपाका कार्यकर्ता र अभियानमा सहभागीलाई घरबाटै धरपकड गर्ने निरंकुश सरकारको विरुद्धमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा राँके जुलुस निकालेको एक नेताले देश सञ्चारसँग बताए।

 

 

 

काठमाडौं मंसिर ८,।

इन्टरनेट नचले राउटर अफ गरेर अन गर्न नेपाल टेलिकमले सुझाव दिएको छ । सामाजिक सञ्जालमा एक जानकारी सहितको पोस्ट गर्दै कम्पनीले यस्तो सुझाव दिएको हो ।

पोस्टमार्फत टेलिकमले इन्टरनेट सेवा नचलेमा वा समस्या भएमा नमस्ते वाई-फाई (नमस्ते वाई-फाई/डब्लूबीबी डिभाइस) सेवाका ग्राहकले नमस्ते वाई-फाई सेवाको राउटर अफ गरेर अन गर्न आग्रह गरेको हो ।

“नेपाल टेलिकमका नमस्ते वाई-फाई (नमस्ते वाई-फाई/डब्लूबीबी डिभाइस) सेवाका ग्राहकहरूको इन्टरनेट सेवा नचलेमा वा समस्या भएमा नमस्ते वाई-फाई सेवाको राउटरलाई अफ गरेर अन गर्नुहुन अनुरोध छ,” कम्पनीले लेखेको छ ।

टेलिकमको नमस्ते वाई-फाईबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

कञ्चनपुर  मंसिर ८,

— राप्रपा कञ्चनपुरले शुक्रबार महेन्द्रनगरमा गरेको प्रदर्शनका सहभागीले किसान नेता सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेका छन् । महेन्द्रनगरस्थित पार्कभित्र रहेको सालिक शुक्रबार तोडफोड गरिएको हो ।

राप्रपा कञ्चनपुरले राजतन्त्र र हिन्दु धर्मका पक्षमा र्‍याली निकालेको थियो । र्‍यालीका सहभागीहरुले भीम वाटिकाको नाम मेटाउनुका साथै पार्कभित्र रहेको सालिकमा तोडफोड गरेका हुन् । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले २ महिलासहित १८ जना राप्रपाका नेता, कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । भीडलाई तितरवितर पार्न प्रहरीले २ सेल अश्रुग्याससमेत प्रहार गरेको थियो ।

तोडफोडमा संलग्न रहेकाहरुलाई भिडियोका आधारमा नियन्त्रणमा लिइएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले भने, ‘कारबाही गर्ने विषयमा छलफल भइरहेको छ ।’

राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्रबहादुर चन्दले सालिक तोड्ने कुनै योजना नरहेको र अनियन्त्रित भीडले एकाएक तोडफोड गरेको बताए । उनले पार्क नजिकै कोणसभा गरेर र्‍याली समापन गर्ने योजना भए पनि भीडले सालिक तोडेको बताए ।

 

नवलपरासी  मंसिर ८,/

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन नगरपालिकालाई पत्राचार गरेको हो ।

आयोगको बुटवल कार्यालयले नवलपरासीको सुनवल नगरपालिकालाई शुक्रवार पत्र लेख्दै नगरपालिका क्षेत्र अन्तर्गतको जनसेवा माविको जग्गामध्ये १५ कठ्ठा नम्बरी जग्गा गैरैले दर्ता गरी बिक्री गरेको खुल्न आएको दाबी गरेको छ । अख्तियारले छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइ आफ्नो निर्णय कार्यान्वयन गराउन भनेको छ ।

गैरे एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । उनी गत प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी क्षेत्र नं. २ ‘क’बाट एमालेबाट पराजित भएका थिए ।

विद्यालयका नाममा साविक सुनवल गाविस–६ ‘ख’को कित्ता नम्बर ११ को ४ बिघा १८ कठ्ठा १८ धुर जग्गा रहेको छ । सोही जग्गामध्ये १५ कठ्ठा जग्गा गैरेले अतिक्रमण गरेको भन्ने उजुरी आयोगमा परेको थियो । सोही उजुरीका आधारमा आयोगले छानबिन गर्दा उक्त जग्गा उनले अतिक्रमण गरी बिक्री गरेको भन्ने खुल्न आएको भन्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ र ९७ बमोजिब छानबिन गरी कारबाही गर्न नगरपालिकालाई आयोगले पत्राचार गरेको हो ।

गैरेले अतिक्रमण गरी बिक्री गरेको भनिएको जग्गा सोधखोज गर्दा उक्त जग्गा गैरेकी श्रीमती लीलादेवी गैरेले सुकुम्बासी समस्या समाधान आयोगबाट दर्ता गरी लिएको मालपोत  कार्यालयको श्रेस्तामा देखिएको छ । श्रेस्ताअनुसार विद्यालयसँगै जोडिएको ८ कठ्ठा जग्गा गैरेकी श्रीमती लीलादेवीको नाममा तत्कालीन लुम्बिनी बसोबास कम्पनीको मिति २०४६ जेठ ९ को निर्णयअनुसार सुकुम्बासी समस्या समाधान आयोग नवलपरासीले २०५८ असार २० गते दर्ता गरेको देखिएको छ ।

विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम तिमिल्सिनाले विद्यालयका नाउँमा रजिष्ट्रेसन पास भइसकेपछि खोजबिन गर्ने क्रममा उक्त जग्गा अतिक्रमण भएको पाइएको बताए । २०३४ सालदेखि उक्त जग्गा विद्यालयले भोगचलन गर्दै आएको छ । २०७४ चैतको मन्त्रिपरिषद्को निर्णयले उक्त जग्गा विद्यालयको नाममा रजिष्ट्रेसन पास भएको हो ।

आयोगको निर्णय कार्यान्वयनबारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले कार्यपालिकाको बैठक बसेर त्यसबारे निर्णय गर्ने बताए । विद्यालयका प्रधानाध्यापक रमेश पौडेलले करिब ५ बिघा जग्गामध्ये अहिले विद्यालयले २ बिघा मात्रै भोगचलन गरेको जानकारी दिए ।

 


 

मंसिर ८,

गणतन्त्र विरोधी आन्दोलनको बाछिटा तल्लो तहसम्म पुगेको छ। ‘राष्ट्र, राष्ट्रियता, राजसंस्थासहितको बैद्धिक, सनातन हिन्दु राष्ट्र पुर्नस्थापना अभियान’ले शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा गणतन्त्रविरुद्ध प्रदर्शन गरेको छ।

उनीहरूले महेन्द्रनगरस्थित भीमदत्त वाटिकामा रहेको किसान नेता भीमदत्त पन्तको सालिक तोडफोड पनि गरेका छन्।

तत्कालीन राज महेन्द्रले निर्माण गरेको वाटिकाको अहिले भीमदत्त नामाकरण गरिएको भन्दै आक्रोशित राजावादी समर्थनले शालिक तोडफोड गरेका हुन।

वाटिकाको मूल प्रवेशद्धारमा उल्लेखित भीमदत्त वाटिका मेटाएर उनीहरूले महेन्द्र पार्क लेखेका छन्।

गणतन्त्रविरोधी नारा लगाउँदै स्थानीय मदनचोक हुँदै महेन्द्रनगर बजारभरी उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका विषयमा पनि चर्का नाराबाजी गरिएको छ। यो प्रदर्शनमा राप्रपाका नेता कार्यकर्ता सहभागी थिए।

 

  ८ मंसिर, काठमाडौँ/

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपाल भ्रमणमा रहनुभएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ताम उहाँहरुबीच दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै उहाँहरुबीच लगानी र श्रम सहयोगबारे पनि विचार आदानप्रदान भएको बताइएको छ ।

यसअघि विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीले  परराष्ट्रमन्त्री एन पी साउदसँग उहाँको कार्यकक्ष सिंहदरवारमा भेटवार्ता गर्नु भएको थियो  ।

भेटमा साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहनुभएका नेपाली विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नु भएको थियो ।

 मंसिर ८

स्टार कलाकार कास्ट गर्यो भने फिल्म लगानी उठ्ने निर्माताहरूको विश्वास छ। कलाकारको स्टारडमले फिल्म बिक्छ।

तर दक्षिण भारतीय फिल्म ‘मलिकापुरम’ मार्फत ८ वर्षकी बालिकाले बक्स अफिसमा तहल्का मच्चाएकी थिइन्। उनी हुन् देवा नन्दा। फिल्ममा उनले ‘कल्लू’ नामकी पात्रको भूमिका निर्वाह गरेकी थिइन्।

उनी फिल्ममा सबरीमाला मन्दिर गएको देखिन्छिन्। उक्त मन्दिरमा १० देखि ५० वर्षको महिलाले प्रवेश गर्न नमिल्ने हुन्छ। तर उनको भक्तिको कारण बालिका मन्दिरमा जान्छिन्।

महिलाको प्रवेश निषेध गरेकै कारण यो मन्दिर विवादमा छ। यही मन्दिरको बारेमा फिल्ममा देखाइएको छ। फिल्मको मुख्य भाग नै यही मन्दिर रहेको छ। त्यसैले फिल्मलाई दर्शकले धेरै मनपराएका थिए।

१० करोड भारू बजेटमा बनेको फिल्म सन् २०२२ मा प्रदर्शन भएको थियो। फिल्मले ५२ करोड ९ लाख भारू कमाएको थियो।

विष्णु शशी शंकरले निर्देशन गरेको फिल्मको कथा अभिलाष पिल्लईले लेखेका हुन्। फिल्ममा देवा नन्दासँगै उन्नी मुकुन्दन, श्रीपथ, सैजु कुरूप, रमेश पिशारोडी, टिजी रविलगायत कलाकारको अभिनय छ।

यो फिल्मलाई ओटिटी प्लेटफर्म डिज्नी प्लस हटस्टारमा देख्न सकिन्छ।

 

८ मंसिर, गाजा ।

हमास–इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वातै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बिहीबार बताएका छन्।

नसरी अबु जैशले एक प्रेस विज्ञप्ति जारी गरी भने, “हामीले दशौं हजार भवन र आवासीय एकाइहरूमा लगातार हिंस्रक बम विष्फोटको परिणाम स्वरूप हजारौं कार्यबल र रोजगारदाताहरू गुमायौँ ।” “हाल ३६ लाखभन्दा बढी प्यालेस्टिनी कामदारहरू बेरोजगार भएका छन्, जसमध्ये ठूलो हिस्सा घरबारविहीन छन्,”जैशले भने ।

उनले भने, “यसबाहेक, इजरायलले गाजाबाट चार हजार कामदारहरूलाई गिरफ्तार ग¥यो, हजारौँ कामदारहरूलाई बर्खास्त ग¥यो, र धेरैलाई थुनामा र अनुसन्धानको अधीनमा परेपछि अन्य धेरैलाई वेस्ट बैंकमा निष्कासित गरेको थियो ।”

अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको एक्कासी आक्रमणको बदलास्वरूप इजरायलले तत्काल गाजामा व्यापक हवाई तथा स्थल आक्रमण सुरु गरेको छ । इजरायलले प्यालेस्टिनी तटीय क्षेत्रमा कडा नाकाबन्दी लगाएको छ भने गाजामा बिजुली, पानी र खाद्यान्नको आपूर्ति बन्द गरेको छ ।

८ मंसिर

पोखरामा जारी केपी ओली कप टी–२० प्रतियोगितामा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई ४ विकेटले हराएको छ ।

शुक्रबार भएको खेलमा एपिएफले दिएको १ सय २ रनको लक्ष्य गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि मुस्कान थापा, दिनेश बुढामगरले २५/२५, गौरव विक र अभिषेक थापाले ११/११ रन बनाए ।

एपिएफका अभिनाश बोहराले दुई, इर्शद अहमद, अमर रौटेला र अरुण ऐरीले एक/एक विकेट लिए । त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ १८.४ ओभरमा १ सय १ रनमै अलआउट भयो ।

उसका लागि कप्तान प्रदीप ऐरीले २०, भुवन कार्की, सुमित महर्जनले १४/१४ आसिफ शेख र लोकेश बमले १२/१२ रन बनाए ।

 

 

काठमाडौँ

— एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गरे ।

पार्टी मुख्यालय च्यासलमा शुक्रबार राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले कतिपय देशहरुले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसाबले पनि राजतन्त्र हुनै नसक्ने तर्क गरे । एउटा मान्छेको छोरो जन्मिँदै राष्ट्र प्रमुख हुन जन्मिने कुरा चेतना नभएका मुर्खहरुले मात्रै गर्ने ओलीको भनाइ थियो ।

‘कि त चेतना नै नभएका मुर्खहरुले राजतन्त्र मान्छन् । एउटा मान्छेको छोरा, जन्मिदै राष्ट्रप्रमुख हुन नन्मिन्छ । लाटो जन्मिन्छ कि गजडी जन्मिन्छ कि । ड्रगिष्ट भएर जन्मिन्छ कि । कस्तो भएर जन्मिन्छ ? लफंगा भएर जन्मिन्छ कि ? थाहा छैन,’ उनले भने, ‘जन्मिदै राजा हुने रु त्यो कुरालाई पनि मान्छु, त्यही हुनुपर्छ भन्ने कठैबरी ! नागरिक सर्वोच्चता स्वीकार नगर्ने । देशभरिका जनतामा सार्वभौमसत्ता भनेर मान्न नसक्ने । एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने । त्यो चेतना, चेतना हो र । त्यो त मूर्खता हो नि !’

उनले बिहीबार दुर्गा प्रसाईंको नेतृत्वको काठमाडौंको बल्खुमा भएको प्रदर्शनप्रति संकेत गर्दै एउटा मरेको प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिस लागेको बताए ।

अध्यक्ष ओलीले बल्खुमा बिहीबार भएको प्रदर्शनमा ५/७ हजार मान्छे रहेको जिकिर गर्दै वर्तमान सरकार भने त्यसबाट थर्कमान भएको बताए । कुनै जग नभएकाले वर्तमान सरकार माग, नारा के हो ? केही पनि थाहा नभएकोहरुको प्रदर्शनबाट पनि थर्कमान भएको उनको टिप्पणी थियो । अध्यक्ष ओलीले जनतालाई निराश हुन नदिने काम एमालेले गर्नुपर्ने भएकाले त्यस काममा लाग्न पनि युवा संघ, नेपाललाई सचेत गराए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।