कराँची ९ मङ्सिर।
पाकिस्तानको कराँची सहरको एक सपिङ मलमा भएको आगलागीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको पुष्टि भएको छ । कराचीका मेयर मुर्तजा वहाब सिद्दीकीले सोसल मिडिया साइट एक्समा आगलागीको जानकारी दिएका छन्।
कराँचीको जिन्नाह अस्पतालका प्रवक्ता जहाँगीर इजाजका अनुसार अस्पतालमा आठ जनालाई ल्याइएको थियो जसको पहिले नै मृत्यु भइसकेको थियो। तीन जना घाइते र खतरामुक्त रहेको पनि उनले बताए ।
अस्पतालको रेकर्ड अनुसार आरजे मलमा आगलागीपछि उद्धार कार्यमा पहिलो शव पाकिस्तानी समय अनुसार बिहान ८:३९ बजे अस्पताल ल्याइएको थियो ।
अभिलेख अनुसार आगलागीमा परी मृत्यु हुने र घाइते हुनेहरुको उमेर २२ देखि ४३ वर्ष रहेको छ ।
२०८० मंसिर ९,जनकपुरधाम ।
एक महिलालाई बलात्कार गरेको आरोप लागेका सप्तरीका नेपाली कांग्रेसका नेता दीपेन्द्र चौधरी पक्राउ परेका छन् ।
कांग्रेस नेता चौधरीलाई शुक्रवार सप्तरी प्रहरीले पक्राउ गरेको हो । ३५ वर्षीया एक महिला बलात्कारको प्रयास सम्बन्धी जाहेरी दिएको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।
जिल्ला अदालतबाट म्याद थप गराई चौधरीमाथि थप अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताए । उनका अनुसार अदालतले अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ ।
स्थानीय तहको निर्वाचनमा चौधरी नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार बनेका थिए । नेपाल प्रेस
वासुदेव पौडेल,गण्डकी, ९ मङ्सिर :
भनिन्छ, संसद् प्रतिपक्षको सत्ता हो । सत्तापक्ष अर्थात् सरकारले दिन नसकेको ‘डेलिभरी’ का लागि संसद्मा प्रतिपक्षी दलहरुले सरकारको ध्यानाकर्षण गराउँछन् र जनताको आवाज संसद्मार्फत सरकारसमक्ष पु¥याउँछन् । सरकार स्वेच्छाचारी भयो भने पनि सरकारलाई काम गर्न बाध्य बनाउँछन् । त्यसैले प्रजातान्त्रिक संसदीय शासन प्रणालीमा संसद्लाई प्रतिपक्षको सत्ता मानिन्छ ।” कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित नेकपा (एमाले) का सांसद मनबहादुर गुरुङ यस विषयमा फरक मत राख्दै भन्नुहुन्छ, “होइन, संसद् प्रतिपक्षको मात्र होइन, सरकारको पनि हो । किन भने संसद्लाई ‘बिजनेस’ सरकारले दिने हो । प्रतिपक्षले त जनताको आवाज उठाउने हो । संसद्लाई कामयवी र खासमा जनताका प्रतिनिधिको थलो बनाउने काम सरकारले दिएको बिजनेसबाट नै हुने हो ।” उहाँ संसदीय शासन प्रणालीमा संसद्जस्तो बलियो र जनताप्रति उत्तरदायी संस्था अर्काे केही छैन भन्नुहुन्छ । सरकार बनाउने, सरकारले गर्नुपर्ने काम सही ढङ्गले गरे नगरेको हेरेर ‘वाचडग’ को भूमिका निर्वाह गर्ने, यदि राम्रो काम गर्न सकेन भने त्यो सरकारको विकल्प दिने तथा जनप्रतिनिधिका रुपमा जनताको आवाज राज्यका सबै निकायमा पु¥याउने काम संसद्कै हो भन्नुहुन्छ सांसद गुरुङ । संसद्लाई सक्रिय, कामयवी या जनताप्रति उत्तरदायी कसरी बनाउने भन्ने कुरा सरकारले दिएको बिजनेसमा भरपर्ने उहाँको तर्क छ । सरकारले बिजनेस नै दिएन, कानुन निर्माणका रुपमा सरकार सक्रिय भएन भने विधायिका कम प्रभावकारी हुन जान्छ । विधायिकाको प्रभाव घट्नु भनेको जनताको आवाज पनि कमजोर हुनु हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कास्की जिल्लाका अध्यक्षसमेत रहनुभएका गुरुङ समाजसेवाबाट राजनीतिमा लाग्नुुभएको हो । गुरुङले तत्कालीन साविक पार्चे गाउँ विकास समितिको अध्यक्ष र त्यसपछि गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । उहाँसँग स्थानीय र प्रदेश सरकारमा रहेर काम गरिसकेको अनुभव छ । सङ्घीय संसद्को एक वर्षे कार्यकाल कस्तो रह्यो ? गुरुङ यो एक वर्षमा त्यति सन्तुुष्ट हुनुुहुन्न । यस अवधिमा केही विधान तथा नियमावली संशोधन गरिए पनि कानुन निर्माण अति नगण्य मात्रामा हुनुलाई सन्तोष मान्न नसकिने बताउनुहुन्छ । संसारको सबैभन्दा उत्कृष्ट प्रणाली यही व्यवस्था यही प्रणाली हो भनेर हामीले अवलम्बन गरेर आए पनि हाम्रो सोच, विचार र चिन्तन त्यस व्यवस्थाबमोजिमको उत्कृष्ट हुन नसकेको उहाँको अनुभव छ । “सांसद कानुन बनाउने मान्छे मात्र हो कि जनताका गुनासा सुन्ने र विकास निर्माणका काम गर्ने ?” यो प्रश्नमा आफू सधैँ दुविधामा रहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “आफूलाई सधैँ गाउँमै, जनताकै बीचमा रहन मन लाग्छ । किन भने जनताका सुखदुःखमा साथमा नहुँदा र उनीहरुका बाटो, पानी, बिजुलीका काम नगर्दा निर्वाचन जित्न गाह्रो पर्छ । तर सैद्धान्तिक रुपले हेर्दा संसद् राष्ट्रका लागि कानुन बनाउने थलो भएकाले राजधानी छोड्न पनि मिल्दैन । नेपालमा सांसदको भूमिका अलिक फरक पो भयो कि ?” निर्वाचनका क्रममा जनताको घरदैलोमा मत माग्न जाँदा जनताको आधारभुत आवश्यकता पूरा गर्छुु भनेर अठोट लिएर आएको भए पनि अपेक्षित काम गर्न नसकेको उहाँको अनुुभव छ । सबैभन्दा उत्कृष्ट व्यवस्था अवलम्बन गरिरहँदा हामीले हाम्रो सोच, चिन्तन र विचारलाई प्रगतिशील बनाउन सकेनौँ की भन्ने प्रश्न उठेको उहाँको भनाइ छ । “व्यवस्था परिवर्तन भयो जनताको अवस्था परिवर्तन भएन”, उहाँले भन्नुुभयो, “जनताको अवस्था परिवर्तन हुन नसक्नाको मुख्य कारण हामी र हाम्रो चिन्तनका कारण होकी भन्ने मलाई लागेको छ ।” आफूूहरूले सदनमा बोलेका कुरा लागू नभएको उहाँको अनुुभव छ । “सदनमा शून्य समयमा एक मिनेट हामीले पाउँछौँ । विशेष समय हामीले संसद्को प्रतिनिधित्वका आधारमा पाउँछौँ । आकस्मिक समय हामीले पाउँछौँ”, उहाँले भन्नुुभयो, “यी कुनै पनि समयमा बोलेका कुरा न उत्तर आउँछ, न कार्यान्वयन हुन्छ ।” सदनमा उठेका मुद्दाको कार्यान्वयन हुन नसकेको उहाँले बताउनुुभयो । हामीले अवलम्बन गरेको संसदीय व्यवस्था भनेको अङ्क गणितको खेल भएको उल्लेख गर्दै उहाँले राम्रो कुरालाई बहुमतले पारित गर्नु ठीक भए पनि सत्ता पक्षले ल्याएको कुरा राम्रो नराम्रो जेसुकै भए पनि अङ्क गणितका हिसाबले पास हुनु भने राम्रो होइन । उहाँले प्रश्न गर्नुभयो, “सत्तापक्षले कुनै नराम्रो कुरा ल्यायो र बहुमतले पारित या पास भयो, अब त्यसलाई राम्रै मान्नुपर्ने ?” सरकार नेपाली जनताको तथा मुलुकको हुन नसकेको बताउँदै उहाँले बजेटको विनियोजन व्यक्ति विशेषको प्रभावका आधारमा समन्यायिक रुपमा वितरण हुन सकेको उल्लेख गर्नुुभयो । संसद्मा प्रतिपक्षले आवाज उठाएको भरमा योजना काटिने गरेको अनुुभव सुनाउँदै उहाँले संसद्मा कटाक्ष, गालीगलौजबाहेक सही ढङ्गले बहस हुन नसक्नु समस्याका रुपमा रहेको बताउनुुभयो । बजेटअगावै विनियोजन विधेयक र प्राथमिकता आदिका छलफल, नीति तथा कार्यक्रमका सम्बन्धमा छलफल एवं संशोधन प्रस्तुत भए पनि बहुमतले पारित गर्दा ती छलफलको औचित्य हुने नगरेको गुरुङको ठम्याइ छ । भन्ने बेलामा सांसदले कानुन, नीति बनाउने हो, बजेट बनाउने हो, पूूर्वाधार विकासका काम सरकारले गर्ने हो भनिए पनि जनअपेक्षाअनुुरुप काम नहुँदा जनतामा भने निराशा छाउने गरेको उहाँले बताउनुुभयो । बजेट ल्याउनभन्दा अघि गरिने छलफलको निर्णय बजेटमा आउनुुपर्ने भए पनि त्यो हुन नसकेको उहाँले बताउनुुभयो । संसद्लाई बिजनेस सरकारले दिने भए पनि बिजनेस दिन नसक्दा हप्तामा दुई दिन मात्रै संसद् चल्ने गरेको उहाँले बताउनुुभयो । सरकारले ल्याएको कुरामा आँखा चिम्लेर पास गर्नुपर्ने, जनताको पक्षमा नहुँदा पनि पास गर्नुपर्ने जस्ता कुराले समग्र व्यवस्थाप्रति नै प्रश्न उठ्ने गरेको उहाँको भनाइ छ । आफूू प्रदेशसभामा हँुुदा विधायन समितिमा रहेको बताउँदै गुुरुङले त्यस समयमा राजनीतिक नियुक्तिको कुरा आउँदा १० वर्षे अनुभव चाहिने कुुरामा आफ्नो भिन्न मत राखेको सुनाउनुुभयो । “मैले के भने भने कसरी १० वर्षे ? अहिले २७ वर्षमा पिएचडी गर्छन् हाम्रा बाबु नानीले । पिएचडी गरेको १० वर्षसम्म त यहाँ बस्दैनन् नि ।” काममा युवालाई प्राथमिकता दिनुपर्ने उहाँको मत छ । एक वर्षे अवधिमा हामीले कति उद्योग खोल्यौँ, कति कलकारखाना सञ्चालनमा ल्यायौँ, कति उत्पादन ग¥यौँ र कतिलाई रोजगारी दियौँ भन्ने विषयमा आफूले आगामी संसद् अधिवेशनमा सरकारसँग प्रश्न गर्ने उहाँले बताउनुुभयो । उहाँले स्वदेशी उत्पादनलाई जोड दिने किसिमको कानुन र वातावरण चाहिएको बताउनुभयो । समाजसेवासँगै राजनीतिमा सक्रिय गुुरुङले २०४३ सालदेखि अखिलबाट आफ्नो राजनीतिबाट यात्रा सुुरु गर्नुभएको हो । उहाँ विसं २०५४ मा साविक पार्चे गाविसको अध्यक्ष र विसं २०७४ मा प्रदेश सभासदस्य निर्वाचित हुनुभयो । एमाले नेता गुरुङको राजनीतिबाहेकको अर्काे पहिचान संरक्षणकर्मी हो । सुरुमा समाजसेवासँगै संरक्षणका क्षेत्रमा क्रियाशील गुरुङ आफूलाई एक संरक्षणकर्मीका रुपमा परिचित गराउन पाउँदा बढी खुसी हुनुहुन्छ । संरक्षणका क्षेत्रमा गरेको योगदानकै कारण गुरुङले राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औँ वार्षिकोत्सवका अवसरमा रु एक लाख २५ हजार राशिको संरक्षक संरक्षण पुरस्कार प्राप्त गर्नुभएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको कार्यक्षेत्रअन्तर्गत मादी गाउँपालिका–१ सिक्लेसमा जन्मनुुभएका उहाँले उक्त आयोजनाको स्थापनादेखि विस्तारमा समेत उल्लेख्य भूमिका खेल्नुुभएको थियो । उहाँले २०५४ सालमा पार्चे गाविसको अध्यक्ष हुँदा संरक्षण क्षेत्र व्यवस्थापन समितिको पदेन सदस्य र आयोजनाको मूल्याङ्कन तथा अनुगमन समितिको अध्यक्षसमेत भएर काम गर्नुुभएको थियो । सिक्लेस इलाकाको तत्कालीन सात गाविस समितिले समेट्थ्यो । सन् २०१४ मा समितिले राम्रो काम गरेका कारण उहाँ नेतृत्वको समितिले युनएनडिपीको पुरस्कारसमेत हात पारेको थियो । अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रकृति संरक्षणका काममा अलग्गै पहिचान बनाउनुभएका उहाँले कैयाँै शिकारीलाई अहिले संरक्षणकर्मी बनाउनुभएको छ । जनप्रतिनिधिका रुपमा रहेर पनि उहाँले गर्नुभएको यस कार्यका लागि उहाँलाई यो राष्ट्रिय संरक्षण पुरस्कार प्रदान गरिएको थियो । रासस
काठमाडौँ, ९ मङ्सिर :
भारतको पिथौरागढमा नेपाल–भारत संयुक्त सैन्य अभ्यास शुक्रबारदेखि प्रारम्भ भएको छ । नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘सूर्यकिरण’को १७औँ संस्करणमा नेपाली सेनाको तारा दल गणका प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा तीन सय ५४ सदस्यीय फौज र भारतीय सेनाको कुमाउ गणका तीन सय ५४ जना सहभागी छन् । हरेक वर्ष नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ । गत पुसमा रुपन्देहीको सालझण्डीमा उक्त अभ्यास भएको थियो । यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासअन्तर्गत विषम परिस्थिति, पहाडी एवं विकट स्थानमा मानवीय सहयोग परिचालन तथा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ खटिने फौजले अपनाउनुपर्ने पूर्वसतर्कता, चित्कित्सकीय प्रशिक्षण, वायुसेवा तथा उड्यनका विविध पक्ष, पर्यावरण संरक्षण, प्रतिविद्रोह तथा प्रतिआतङ्कवादलगायत जङ्गल युद्धकलासम्बन्धी व्यावहारिक ज्ञान दिइने छ । द्विपक्षीय सैन्यअभ्यासबाट नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन तथा दुवै मुलुकका सेनाको सहकार्य, साझेदारी एवं साझा सुरक्षा चासो सम्बोधन गर्न योगदान पुग्ने विश्वास नेपाली सेनाले गरेको छ । रासस
काठमाडौँ, ९ मङ्सिर :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नका लागि अन्तर्राष्ट्रियरूपमा नेपाललाई प्राप्त हुने अनुदान/सहयोग महिला, बालबालिका, आदिवासी, जनजातिलगायत उच्च जोखिममा परेका समुदायलाई उपलब्ध गराउन प्राथमिकता दिने बताउनुभएको छ । साथसाथै फाउन्डेसनको प्रतिनिधिमण्डलसँगको भेटमा आज प्रधानमन्त्री दाहालले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै यसबापत अन्तर्राष्ट्रिय रूपमा प्राप्त हुने अनुदान/सहयोगलाई जोखिममा परेका समुदायमा वितरण गर्न प्राथमिकता दिइने धारणा व्यक्त गर्नुभएका हो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “महिला, आदिवासी, जनजाति, अल्पसङ्ख्यकलगायत समुदायलाई सशक्तीकरण गर्ने ‘एजेन्डा’ मैले पहिलेदेखि नै भन्दै आएको हो । यसको परिणामस्वरुप मुलुकमा महिला सशक्तीकरण भएको छ र नेतृत्वमा समेत महिला स्थापित भएका छन् ।” भेटका क्रममा प्रधानमन्त्री दाहाललाई जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) का सन्दर्भमा सुझावपत्र बुझाउँदै साथसाथै अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनको क्षतिपूर्तिका अवसरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यकलगायत उच्च जोखिममा परेका समुदायलाई ५० प्रतिशत सुनिश्चितता गर्नुपर्ने माग गर्नुभयो । उहाँले कोप–२८ सम्मेलनका क्रममा नेपालको ‘पेभेलियन’मा साथसाथैले दुईवटा ‘साइड इभेन्ट’ गर्न लागेको बताउँदै आगामी डिसेम्बर ४ को इभेन्टमा कतारका राजकुमारी शेख आश्मा अल थानी प्रमुख अतिथिका रूपमा आउने सुनिश्चित भएको जानकारी गराउनुभयो । प्रधानमन्त्री दाहालले कतारका राजकुमारी अल थानी अतिथिका रूपमा आउने विषयका सम्बन्धमा परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोही अवसरमा परराष्ट्रमन्त्री एनपी साउदले नेपालको पेभेलियनमा हुने कार्यक्रममा कतारकी राजकुमारी अतिथिका रूपमा आउने विषय नेपालका लागि खुसीको कुरा भएको उल्लेख गर्दै यसमा कतारको दोहा र युएईको आबुधाबीस्थित नेपाली दूतावासहरूले आवश्यक समन्वय गर्ने बताउनुभयो । प्रधानमन्त्री दाहाललाई बुझाइएको सुझावपत्रमा जलवायु परिवर्तनका कारण हिमालका हिउँ पग्लिने क्रम बढेको र हिमताल फुटेर प्राकृतिक विपद्का घटनामा बढोत्तरी हुने जोखिम बढेको उल्लेख छ । यसैगरी सुझावपत्रमार्फत जलवायुजन्य विपद्का कारण स्थानीय समुदायको जीवनयापन, स्वास्थ्य, शिक्षा र रोजगारी लगायतमा गम्भीर असर पुगिरहेकाले जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज उठाउनुपर्ने ध्यानाकर्षण गराइएको छ । भेटमा परराष्ट्रमन्त्री साउदका साथै प्रधानमन्त्रीका जलवायु सल्लाहकार डा पपुलर जेन्टल भुसाल र साथसाथैका तफर्बाट अध्यक्ष कार्कीको नेतृत्वमा खुम्बु पासाङल्हामु गाउँपालिकाका उपाध्यक्ष टासील्हामु शेर्पा, महिला तथा जलवायुविज्ञ सरु जोशी श्रेष्ठ, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका कार्यकारी सदस्य बद्री सिग्देल, साथसाथैका सल्लाहकार सरिताश्री ज्ञवाली, कोषाध्यक्ष प्रदा कार्की जोशीलगायत हुनुहुन्थ्यो । रासस
काठमाडौँ, ९ मङ्सिर :
शुक्रबार साँझ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा एक हजारभन्दा बढी गीतमा स्वर दिनुभएकी लोकगायिका तीर्थकुमारी थापा एकल साँझमा प्रस्तुत हुनुभएको छ । ‘तीर्थकुमारी स्वर्णिम साँझ–२०८०’ नाम दिइएको उक्त कार्यक्रममा उहाँले आफ्ना लोकप्रिय १९ गीत गाउनुभयो । एकल र युगल गायनमा प्रस्तुत हुनुभएकी गायिका थापाले आफ्नो एकल साँझमा गाउने सपना पूरा भएको भन्दै सहभागीलाई धन्यवाद दिनुभयो । “मेरो गीतहरू पुनः गाउने अवसर पाएँ । मेरो यो इच्छालाई पूरा गर्न सहयोगी भूमिका खेल्नु हुने सम्पूर्णप्रति आभारी छु”, उहाँले भन्नुभयो, “केही दिन अभ्यास गरेर गीत गाएँ । यो खुसीलाई शब्दमा व्यक्त गर्न सकिरहेकी छैन ।” विसं २०२८ मा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन यात्राको सुरुआत गर्नुभएकी ७३ वर्षीया गायिका थापालाई युगल गायनमा उहाँका छोरा सुरज थापा, ध्रुवराज खड्कालगायतले साथ दिनुभयो । “देश तथा विदेशमा मैले धेरै साङ्गीतिक कार्यक्रम गरेकी छु । विविध कारणले एकल साँझमा प्रस्तुत भएकी थिइन् । यो उपस्थितिले गायनलाई निरन्तरता दिन हौसला थपेको छ”, उहाँले भन्नुभयो । गायिका थापाका छोरा सुरजले आमाको इच्छालाई पूरा गर्न पाउँदा आफ्नो जीवन सफल भएको आभास गरेको बताउनुभयो । उहाँ गायक तथा सङ्गीतकार पनि हुनुहुन्छ । “मैले एकल साँझ गर्ने उद्देश्यले केहीसँग छलफल गरेँ । उहाँहरूले पुराना गीतसङ्गीत र स्रष्टालाई प्रवद्र्धन गर्न हामी तत्पर छौँ भनेपछि यसको सुरुआत भयो”, उहाँले भन्नुभयो, “आमाले देख्नुभएको सपना पूरा गर्ने मेरो सपना आज पूरा भएको छ । यसलाई पूरा गर्न पाउँदाको खुसी शब्दमा व्यक्त गर्न सक्दिन ।” अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजना तथा काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भवन कन्स्ट्रक्सनको सहआयोजनामा सम्पन्न कार्यक्रममा गायिका थापाले ‘डाँडामा माथि बिहानै…’ गीतबाट साँझको सुरु गरेर आफ्ना लोकप्रिय गीतहरू ‘म त खाँदिन कुवाको पानी हो…’, ‘ढुङ्गे बगर माया…’,‘झम्के फूली नाकैमा बुलाकी…’,‘उकालीमा पनि हजुर…’,‘बारीको डिलमा ओखरबोट…’,‘माछी मार न हे दाइ हो…’ लगायत गीत नेपाली र नेपाल भाषाकमा गाउनुभएको थियो । उपस्थित दर्शकको अनुरोधपश्चात् उहाँले ‘माछी मार न हे दाइ हो…’ दुईपटक गाउनुभयो । कार्यक्रममा वरिष्ठ सङ्गीतकार रञ्जित गजमेर, गायिका ज्ञानु राणा, गीतकार दिनेश अधिकारी, गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यलगायत गीतसङ्गीतसँग जोडिनुभएका व्यक्तित्वको उपस्थिति थियो । रासस
काठमाडौँ, ९ मङ्सिर :
जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुनःगठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको लिम्बूवान राष्ट्रिय समिति आज पुनःगठन गर्न लागिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले सञ्चालन गरेको तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत सङ्गठन गठन, पुनःगठन तथा रुपान्तरणको कार्यअन्तर्गत बाँकी रहेका प्रदेश र राष्ट्रिय समिति पुनःगठन हुन लागेको हो । यसैगरी पोखरामा हुन लागेको गण्डकी प्रदेश समिति पुनःगठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं गण्डकी प्रदेश समिति इञ्चार्ज शिवलाल थापामगर र पाँचथरको फिदिममा हुन लागेको लिम्बूवान राष्ट्रिय समिति पुनःगठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ प्रमुख अतिथि रहनुहुने केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख बस्नेतले बताउनुभयो । रासस
सीता भट्टराई,काठमाडौँ, ९ मङ्सिर :
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचक मण्डलका सदस्यहरूको मतभार कायम भइसकेपछि राष्ट्रिय सभा निर्वाचनको मितिबारे सरकारसँग परामर्श भइरहेको जानकारी दिए । निर्वाचन कहिले गर्ने भन्ने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा जाने व्यवस्था छ । थपलियाले मतभार कायम गरिएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग राष्ट्रिय सभाको आगामी निर्वाचनबारे बुधबार नै छलफल गरेका छन् ।
राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचनका विषयमा आयोगले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि छलफल गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी माघ १५ भित्र राष्ट्रिय सभा निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेस गरिसक्ने गरी तयारी भइरहेको जानकारी दिएका छन् । ‘माघ दोस्रो हप्ता निर्वाचन गर्ने तयारी छ । आजमात्रै लाइन मिनिस्ट्री भएकाले गृहमन्त्रीसँग भेटेर छलफल गरिसकेको छु । अब सरकारसँग परामर्श गरेर मितिबारे छलफल हुन्छ,’ उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनको मतदान माघ ९ देखि १२ सम्म गरिसक्ने भन्ने छलफल चलेको थियो । माघ ११ गते बिहीबार मतदानको मिति घोषणा गर्ने कि भन्नेमा छौं ।’ उनले राष्ट्रिय सभाका लागि आयोगले सम्पन्न गर्नुपर्ने कामहरू भइराखेको जानकारी दिए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि २०८० फागुन २० मा समाप्त हुन लागेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम सभाका सदस्यको पदावधि सकिनु ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । फागुन २० मा पदावधि समाप्त हुनेमा एमालेका ७ सांसद छन् ।
पदावधि सकिन लागेका राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना २०७४ मा एमालेबाट निर्वाचित भएका थिए । त्यसबाहेक इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ, रामचन्द्र राईको पनि पदावधि सकिन लागेको हो । राष्ट्रिय सभामा कांग्रेसबाट निर्वाचित पाँच सांसदको पनि पदावधि सकिन लागेको छ । त्यसमा अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजंग रायमाझी र दृगनारायण पाण्डे रहेका छन् ।
माओवादीका तीन जनाको पनि पदावधि सकिन लागेको छ । जसमा महेशकुमार महरा, बिना पोखरेल र हरिराम चौधरी छन् । एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्माको पदावधि सकिन लागेको छ भने जसपाकी प्रमिला कुमारीको पनि पदावधि सकिन लागेको छ ।
त्यस्तै, स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटाको पनि पदावधि सकिन लागेको छ । राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि पदावधि सकिन लागेको छ । पौड्यालको ठाउँमा मन्त्रिपरिषद्को सिफारिसमा एक जना मनोनीत हुनेछन् भने बाँकी १९ सांसदका लागि निर्वाचन हुन लागेको हो । कान्तिपुर
९ मंसिर,बारा
बारामा एक शिक्षकको हत्या भएको छानविन पुरा हुन नपाउदै पुनः अर्को एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन् ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा न–८ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत प्राथमिक बिद्यालय कचोर्वामा कार्यरत शिक्षक नरेन्द्र पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दधीराम न्यौपानेले बताउनु भएको छ ।
अत्यधिक मादक पदार्थ सेवन गरी मृत अवस्थामा फेला परेका उनको हत्या हो होईन छानविन भईरहेको उनले बताउनु भएको छ ।
शुक्रवार साँझ सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ नयाँ बजारको पुर्वपर्टी उनी मृत अवस्थामा फेला परेका हुन् । उनको शव परिक्षणका लागि प्रदेशिक अस्पताल कलैयामा राखिएको छ ।
सिन्धुपाल्चोक घर भएका शिक्षक पराजुली चैत्र महिनामा बिद्यालयमा हाजिर भई कामकाज गर्दै आएका थिए ।
सिम्रौनगढ नगरपालिकामा अहिलेसम्म नगर परिषद बैठक बस्न सकेको छैन । नगरपरिषद् बैठक बस्न नसक्दा शिक्षकहरुले बिगत चार महिनादेखि तलब भत्ता नपाएको कारणले गर्दा मृतक शिक्षक पराजुली मानसिक तनावमा रहँदै आएको स्थानियहरुको भनाई छ ।
स्थायी, अस्थायी, करार, ज्यालादारी कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी समेतले दशैमा समेत तलब खान पाएका छैनन । छठ बितिसक्दा पनि तलब कहिले खुवाउने भने अन्यौल कायमै रहेको छ भने शिक्षक कर्मचारी ३९ दिन देखि दैनिक धर्ना दिदै आएका छन् ।
