काठमाडौं,मंसिर १६
महानगरपालिकाले करारमा काम गर्न २३० कर्मचारी मागेको छ।
शनिबार सूचना प्रकाशन गर्दै महानगरले महानगरभित्रका गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन कार्यका लागि २१ सुपरीवेक्षक र २०९ गणक मागेको हो।
महानगरले इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ६ गतेसम्म दरखास्त दिइसक्न भनेको छ। दरखास्त महानगरको वेभ साइटबाट दिन सकिने र शुल्क नलाग्ने महानगरले जनाएको छ।
सुपरीवेक्षकको पारिश्रमिक मासिक ३४ हजार ७३० रूपैयाँ र इन्टरनेट खर्च २ हजार तोकिएको छ। गणकलाई मासिक ३२ हजार ९०२ रूपैयाँ पारिश्रमिक र २ हजार रूपैयाँ इन्टरनेट खर्च तोकेको छ।
काठमाडौं महानगरपालिकाका बासिन्दा, यसअघि जनगणना वा सर्वेक्षणमा काम गरेको र महानगरपलिकाबाट विगतमा पनि सोही कार्यक्रममा छनोट भएकाहरूलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

काठमाडौं मंसिर १६,
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।
विभागका अनुसार राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागल बताएको छ।
काठमाडौँ मंसिर १६,
— रिंकु सिंहको आक्रामक ४६ रन र अक्षर पटेलको स्पिन आक्रमणको मदतले भारतले शुक्रबार अस्ट्रेलियालाई चौथो ट्वान्टी-२० मा २० रनले हराउँदै पाँच खेलको सिरिज जितेको छ । यस जितसँगै भारत सिरिजमा ३–१ ले अगाडि रह्यो ।
पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो । त्यसमा रिन्कुले २९ बलको मात्र सामना गरेका थिए । जवाफमा अस्ट्रेलियाले सात विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो ।
अक्षरले १६ रन खर्चेर तीन विकेट लिए । यस्तै लेग स्पिनर रवि विश्नोइले आफ्नो पहिलो बलमै विकेट लिए । उनले त्यही विकेटसँगै १७ रन मात्र खर्चे । अब सिरिजको अन्तिम खेल आइतबार बेंगलुरुमा हुनेछ ।
चितवन शनिबार, १६।
भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा शय्या थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार शय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्याइएको हो ।
अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलले बिरामीको चापअनुसार शय्या अभाव भएपछि थप गरिएको बताए । उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ । एउटा शय्या सर्पदंशका बिरामीका लागि छुट्याइएको छ ।
उनका अनुसार निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा रु १५ हजार हाराहारी खर्च हुने गर्दछ भने सरकारी अस्पतालमा एक दिनको शय्या शुल्क रु दुई हजार मात्र पर्दछ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार यसका अतिरिक्त २० शय्याको बाल सघन उपचार कक्ष र छ शय्याको पिआइसियु सञ्चालनमा छन् । अस्पतालमा छ सय शय्या छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् । यो सङ्घीय अस्पताल हो । यहाँ दैनिक तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी उपचारका लागि आउने गरेको तिवारीले जानकारी दिए ।
सङ्घीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ ।
काठमाडौँ,मंसिर १६,
युद्धविराम अन्त्यसँगै गाजा क्षेत्रमा इजरायलले आक्रमण तीव्र बनाएको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पछिल्लो आक्रमणमा कम्तीमा एक सय ७८ जना मारिएका दाबी गरेको छ ।
गाजामा सात दिने युद्धविराम हिजो बिहान सकिएलगत्तै इजरायलले आक्रमण थालेको थियो । इजरायल र हमास लडाकु समूहले एकअर्कालाई युद्धविरामको समय विस्तार गर्न सहमत हुन नसकेको आरोप लगाएका बीबीसीले जनाएको छ ।
इजरायलले दक्षिणी गाजाका केही इलाकाका बासिन्दालाई इजिप्टको सिमाना नजिकै रहेको रफाहतर्फ जान र दक्षिणतर्फ जान आग्रह गर्दै पर्चाहरू छोडेको छ । गएको अक्टोबर ७ तारिखदेखि शुरु भएको लडाइँ एक हप्ता रोकिएको थियो ।
युद्धविराम अवधिमा दुई पक्षले सहमतिअनुसार बन्धक बनाएका केही नागरिकलाई रिहा गरेका थिए ।
मङ्सिर १५ शुक्रबार
नेपाल आयल निगम लिमिटेडले पेट्रोलमा दुई रुपैयाँ र डिजेल तथा मट्टितेलमा समान चार रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाएको छ ।
निगम संचालक समितिको बिहीबार साँझ बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । मूल्य घटेपछि काठमाडौंमा पेट्राल एक सय ७० रुपैयाँ र डिजेल तथा मट्टितेल एक सय ६० रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
मंगलबारदेखि आयल निगम ऋण र बक्यौतालगायतका सबै दायित्वबाट मुक्त भएकाले यसपटक थोरै दरमा नाफा राखेर ठूलो अन्तरले मूल्य घटाउनुपर्ने दबाब थियो ।
निगमले ३१ असारदेखि लागू गरेको ‘पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, ०८०’ अनुसार पेट्रोलमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा राख्ने व्यवस्था छ ।
पत्रकार महासंघमा महिला नेतृत्व
विस २०१२ सालमा कृष्णप्रसाद भट्टराईको सभापतित्वमा पत्रकार संघ स्थापना भयो र २०१९ साल असोजमा पशुपतिदेव पाण्डेको सभापतित्वमा गठीत सात सदस्यीय कार्यसमितिमा शशिकला शर्मा पहिलो महिला सदस्य बन्नुभयो । त्यसपछि लामो समय महिला सदस्य बनेको देखिन्न ।
एकैपटक २०४३ सालमा मणिराज उपाध्यायको सभापतित्वमा गठित कार्यकारी समितिमा चन्द्रकला आँचल’ महिला सदस्य मनोनित गरिनुले नेतृत्व तहमा महिलाको स्थान निकै दुर्लभ पाईन्छ । त्यस्तो अवस्थामा पनि पत्रकार आँचलले पत्रकारको हितका लागि पत्रकार कल्याण कोष स्थापना गरि १० हजार १० रुपैयाँ योगदान गर्नुभएको देखिन्छ ।
पत्रकारिताको इतिहासमा महिला पत्रकारलाई फाट्फुट रुपमा महासंघमा मनोनित गरिने क्रम २०४६ मा गठित १५ सदस्यीय कार्यसमितिमा पनि एकजना प्रेमकुमारी पन्त तेस्रो महिला पत्रकारका रुपमा मनोनित भएको र हरिकला अधिकारी सदस्यमा निर्वाचित हुनुभएको देखिन्छ ।
त्यस्तै २०४९ मा २१ सदस्यीय कार्यकारी समितिमा महिला पत्रकारलाई स्थान नै दिईएन । २०५२ मा हरिहर विरहीको सभापतित्वमा राधा बुढाथोकी उपसभपातिमा निर्वाचित हुनुभयो । १८ सदस्यीय सोही कार्यसमितिले महिला पत्रकार बबिता बस्नेत र जसुदा प्रधानसमेतलाई योजना तथा कार्यक्रम समितिमा मनोनयन गरेको पाइन्छ ।
नेपाल पत्रकार महासंघमा आबद्ध पत्रकारहरुको संख्या १३ हजार ७७ मध्ये १० हजार ६ सय ६९ पुरुष र २ हजार ४ सय ८ जना महिला पत्रकार भएको पाइन्छ । तर महासंघको सदस्यता नलिएका पत्रकारहरु पनि थुप्रै संख्यामा हुनुहुन्छ र महिला पत्रकार ४ हजारको हाराहारीमा भएको आकलन गरिएकोछ । यसमा पनि सदस्यता सुद्धिकरणका नाममा धेरै कृयाशिल पत्रकारहरु कटौति हुने क्रममा महिला पत्रकार धेरै रहेका छन् ।
अन्तमा महिला पत्रकार पुरुष पत्रकारको दाँजोमा स्रोतमा पुग्न कठीन हुने, घर व्यवहारको जिम्मेवारी र पत्रकारिता पेसाको जिम्मेवारी दुबै सँगसँगै गर्नुपर्ने र साँझ विहान पुरुष सरह खुल्ला भएर समाचारको खोजीमा स्रोतसँग समय बिताउँने, चिया, कफी खाने र आन्तरिक बिषयमा गहिराईमा पुग्न कठीनछ । यसका बाबजुद् पत्रकार महिलालाई सूचना दिन हिचकिचाउँने परम्परा अझै कायमै छ । सूचना दिने निकायले पुरुष पत्रकारलाई एकछिन भेटेरै चिया, कफी खाँदै कुरा गरौं न भन्दा सबै पत्रकार महिलाले भेट्न बोलाएको ठाउँमा जानसक्ने अवस्था नहुन पनि सक्ने चुनौति उत्तिकै छ ।
समग्रमा सूचनाको पँहुच पत्रकार महिलामा भन्दा पुरुषमा बढी हुनु सामाजिक, आर्थिक र कानूनी व्यवधान पनि हुन् । कतिपय अवस्थामा पत्रकार महिलाले बच्चा जन्माउँदा पाउँने बिदामा समेत समस्या हुने र पेशा छोड्नुपर्ने बाध्यता छन् यस्ता बिषयमा महासंघले सहजीकरणका लागि पहल गर्नुपर्ने देखिन्छ ।
राधा बुढाथोकीकै नेतृत्वमा धनकुटामा महिला पत्रकारको तालिम सञ्चालन गरियो भने नेपाल पत्रकार संघको इतिहासमा पहिलोपल्ट महिला सम्मेलन गर्नु महिला पत्रकारका लागि निकै ठूलो र महत्वपूर्ण थियो । यसरीनै विसं. २०५४ सालमा किशोर नेपालको सभापतित्वमा गठित समितिमा दुई महिला पत्रकार जसुदा प्रधान र शोभा गौतम मनोनित हुनुभयो । त्यतिबेलै अमृता बास्कोटा, रमिता लामालाई आचार संहिता अनुगमन र भोजन उपसमितिका सदस्यमा मनोनयन गरेको थियो ।
विसं २०५६ मा सुरेश आचार्यको नेतृत्वमा चयन भएको कार्यसमितिमा महिला पत्रकार रमा सिंहलाई मनोनित गरियो । २०५९ सालमा तारानाथ दाहालको कार्यसमितिमा महिला पत्रकार निर्मला शर्मा खुल्ला प्रतिस्पर्धाबाट निर्वाचित हुनुभयो । शर्माको पालानमा महिला समिति बनाउने परम्पराको थालनी भयो ।
जसमा निर्मला आचार्य, यशोदा तिम्सिना, गंगा बराल, कोमल वली, शुभेक्षा विन्दु, हरिकला अधिकारी, तारा रावल, अनुराधा पौडेल लगायतलाई समितिमा मनोनयन गरियो । दोश्रो महिला पत्रकार सम्मेलन पनि गर्यो । समितिमा विद्युतीय सञ्चार माध्ययम प्रवर्द्धन तर्फ रमा सिंह र स्थानीय पत्रकारिता प्रवर्द्धन उपसमितिमा पार्वती श्रेष्ठलाई मनोनयन ग¥यो । त्यसैगरि विसं. २०६२ दुर्गा कार्की २०६५ मा महिला आरक्षणबाट यशोदा तिम्सिना निर्वाचित हुनुभयो भने गौरी कठायत मनोनित हुनुभयो ।
पत्रकार महासंघमा महिला सदस्य कोटाबाट आएपछि ३ जना महिला पत्रकारका लागि आरक्षण लगायतका समावेशी अभियानले पूर्णता पाएको देखिन्छ । यसकै प्रतिफल विसं. २०६८ सालमा कार्यसमितिमा खुल्ला प्रतिस्पर्धाबाट महिला पत्रकार यशोदा तिम्सिना उपाध्यक्ष पदमा निर्वाचित हुनुभयो । दुर्गा भण्डारी, संगीता खड्का, शान्ता बस्नेतलगायत महिला कोटामा महिला पत्रकार सदस्यहरु निर्वाचित हुनुभयो । दलित कोटाबाट निशा विश्वकर्मा निर्वाचित हुनुभयो र महिला पत्रकारहरुको निर्वाचित संख्या ५ पुग्यो । यो कार्य समिति नेपाल पत्रकार महासंघमा महिला पत्रकारहरु उल्लेख्य संख्यामा निर्वाचित भएको पहिलो थियो भने महिला कोटाको शुरुवात पनि यतिबेलैबाट भएको हो ।
२०७१ सालमा यहि क्रमअनुसार उपाध्यक्षमा अनिता विन्दु निर्वाचित हुनुभयो भने महिला सचिवमा संगीता खड्का, महिला कोटामा पवन वर्षा शाह, सरिता ढकाल तथा निलिफा सुब्बा निर्वाचित हुनुभयोे । त्यस्तै पहिलोपल्ट लेखा समितिमा रञ्जना पौडेल निर्वाचित हुनुभयो । खुल्ला प्रतिस्पर्धाबाट सुस्मा पौडेल निर्वाचत हुनुभयो र समितिमा महिला पत्रकारको संख्या ६ पुग्यो ।
अहिले हरेक जिल्ला र प्रदेशमा अनिवार्य महिला उपाध्यक्ष र महिला सदस्यहरुको प्रावधान राखेकोछ । अब बन्ने हरेक समिति नीतिगत रुपमै सम्बोधन भएकाले महिला पत्रकारको स्थान थप सुरक्षित भएको महसुस गर्न सकिन्छ ।समग्रमा नेपाल पत्रकार महासंघको गरिमामय इतिहासका शुरुवाती दिनहरुमा महिला पत्रकारहरुको उपस्थिति झिनो भएता पनि विगतको तुलनामा अहिले महिला पत्रकारको उपस्थितिमा सुधार आएकोछ । अझै सुधार गरि हरेक क्षेत्रमा महिलाको भूमिका समान बनाउँने तर्फ नीतिगत रुपमै अघि बढ्नुपर्ने चुनौति कायमैछ ।
महिला पत्रकारका हित र व्यवसायिक सुरक्षा आदिका लागि पत्रकार महासंघमा आकर्षण बढेको छ भन्ने उदाहरणका रुपमा यस्ता कार्यक्रमले पनि प्रष्ट पार्छ । अझैपनि महिला पत्रकारको नेतृत्वमा राज्यले दिएको ३३ प्रतिशतको अनिवार्य उपस्थितिलाई नेपाल पत्रकार महासंघले आत्मसात गर्न सकेको छैन भन्दा अतियुक्ति नहोला । महासंघको कुल नेतृत्वमा महिला पत्रकारकारको नेतृत्व १२ प्रतिशत रहनुले खासै उदार हुन नसकेको प्रमाणित हुन्छ । आशा गरौं भोलीका दिनमा विधान संशोधन गरि केन्द्र तहमानै अनिवार्य महिला उपाध्यक्ष लगायत दलित, आदिवासी जनजाति तथा मधेसी एवं सीमान्तकृत वर्ग समुदायका महिलासमेतलाई समेट्ने छ ।
नेपालमा महिला पत्रकारहरुको आधिकारीक संस्था संचारिका समूहमा हाल बिमला तुम्खेवाको अध्यक्षतामा सातै प्रदेशमा गरि १ हजार ५ सय को हाराहारीमा सदस्य आवद्ध छन् । डब्लु लब्लु जे मा पनि पत्रकार महिलाहरुको आवद्धता त्यतिकै छ ।नेपाल सरकारले पहिलोपट न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पत्रकार महिला संगिता खड्कालाई अध्यक्ष नियुक्त गरेकोछ । सरकारको ध्यान यस्ता निकायमा पुग्छ र पुग्नुपर्छ भन्ने आशा यस्ता कार्यले जगाएकैछ । संंचार माध्यमको अनुगमन गर्ने निकाय नेपाल प्रेस काउन्सिलको अध्यक्षमा पनि पत्रकार महिलालाई स्थान दिनुपर्छ । त्यस्तै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमा पनि पत्रकार महिलालाई अध्यक्ष स्वीकार्ने अवस्था सृजना हुनुपर्छ । परिवर्तन अरुबाट होईन आफैबाट खोजौ भन्ने सिद्धान्तलाई पत्रकार स्वयमले अपनाउँनुपर्ने अवस्था छ ।
वीरगञ्ज, १४ मङ्सिर :
सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयको स्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि पछिल्लो समय वीरगञ्जस्थित सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको हो । वीरगञ्ज महानगरपालिकाको सामुदायिक विद्यालयको पूर्वाधारको विकाससँगै अङ्ग्रेजी माध्यमबाट समेत शिक्षण सिकाइ थालिएपछि नीजि विद्यालय छोडेर सामुदायिक विद्यलायमा अध्ययन गर्न आउने विद्यार्थीको सङ्ख्या बढेको विद्यालयका शिक्षकले बताएका छन् । महानगरपालिकाको पहलमा वीरगञ्जस्थित त्रिजुद्ध महाविरप्रसाद रघुवीर राम प्रविधिक मावि, माईस्थान मावि, नरसिंह मावि र सिद्धार्थ माविले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएका छन् । “केही वर्ष अघिसम्म अधिकांश विद्यार्थी र अभिभावकको रोजाइ निजी विद्यालय थियो”, वीरगञ्जस्थित त्रियुद्ध माविका प्राधानाध्यापक नवीन मिश्रले भन्नुभयो, “तर पछिल्लो केही वर्षदेखि निजी विद्यालय छाडेर विद्यार्थी हाम्रो विद्यालयमा आउन थालेका छन्”, निजी विद्यालयकै जस्तै अङ्ग्रेजी माध्यममा पठन पाठन र शैक्षिक गुणस्तरीयतामा सुधार ल्याएकाले विद्यार्थी र अभिभावकको हाम्रो विद्यालयतर्फ आकर्षण बढेको हो, उहाँको भनाइ छ । विद्यालयमा विद्यार्थीको चाप बढ्दै गएकाले प्रवेश परीक्षाको माध्यमबाट मात्र विद्यार्थी भर्ना लिन थालिएको प्रअ मिश्रले बताउनुभयो । “पहिला पहिला यहाँका सामुदायिक विद्यालयमा विद्यार्थी पढ्नै मान्दैनथे, तर अहिले सामुदायिक विद्यालयमा भर्नाका लागि तछाडमछाड चल्छ”, वीरगञ्ज महानगरपालिका–६ का कृष्णकुमार कानुले भन्नुभयो, “त्रियुद्ध मावि, माईस्थान माविलगायतका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अत्यधिक दबाब छ ।” पछिल्लो समय सामुदायिक विद्यालयमा भएको शैक्षिक सुधारले थोरै लगानीमा गुणस्तरीय पठन पाठन गराउन पाएपछि अभिभावकसमेत उत्साहित भएको छ, उहाँले भन्नुभयो । पूर्वाधार विकाससँगै दक्ष शिक्षकबाट नियमित शिक्षण सिकाइ हुन थालेपछि सामुदायिक विद्यालयमा अध्ययन लागि आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो । वीरगञ्ज महानगरपालिकाको ३२ वडामा हाल ९१ सामुदायिक र एक सय ३८ संस्थागत विद्यालय सञ्चालनमा छन् । उहाँका अनुसार सामुदायिक विद्यालयमा ४३ हजार पाँच सय ६४ र संस्थागत विद्यालयमा ३३ हजार चार सय २४ जना विद्यार्थी अध्ययनरत छन् । स्थानीय तहमा आफू निर्वाचित भएर आएपछि सामुदायिक विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरमा सुधारका लागि प्रयास गरिरहेको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो । विद्यलाय भवन, छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, शुद्ध खानेपानी, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, विज्ञान प्रयोगशाला, कालो बोर्डलाई हटाई सेतो बोर्डको व्यवस्थादेखि डिजिटल मध्यमबाट पठनपाठनको व्यवस्था गरिएको उहाँको भनाइ छ । विद्यालयमा अङ्ग्रेजी माध्यमबाट शिक्षण सिकाइ सुरु गरिएको छ । सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन महानगरपालिकाले पछिल्लो छ वर्षमा रु ३० करोडभन्दा बढी लगानी गरेको जनाएको छ । रासस
सर्लाही, १४ मङ्सिर :
सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । जिल्लामा रहेका उखु मिलमध्ये हरिवन नगरपालिका–११ स्थित रहेको इन्दुशङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी गरेको छैन । यसबाट समस्यामा परेको जिल्लाका उखु उत्पादक किसानले उत्पादन गरेको उखु सस्तोमा सक्खर उद्योगलाई बेच्न थालेका हुन् । जिल्लामा रहेका चिनी मिल पनि समयमा सञ्चालन नहुने र उखु बेचेको लामो समयसम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका जिल्लाका उखु उत्पादक किसान स्थानीय सक्खर उद्योगलाई आफूले उत्पादन गरेको उखु सस्तैमा भए पनि समयमै बेच्दा खाली भएको जमिनमा मुसुरो, गहुँ र धनियाँ लागाउन पाइने भएकाले पनि हतारमा देखिएका छन् । उखु मिलमध्ये हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग यही मङ्सिर २२ गतेबाट सञ्चालन गर्ने तयारी भए पनि अन्नपूर्ण र महालक्ष्मी सुगर मिल कहिले सञ्चालन हुन्छन् भन्ने पत्तो छैन । जिल्लाका उखु उत्पादक किसानले समयमै आफ्नो खेत खाली हुँदा अन्य बाली लगाउन पाउने भएकाले पनि सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले चालु सिजनको उखुको मूल्य निर्धारण गरेको छैन । उहाँले चिनी मिल समयमै सञ्चालन नहुने चिन्तामा रहेका जिल्लाका उखु उत्पादक किसान उखु समयमै बेच्न नपाउने र बेचेको उखुको पनि समयमै भुक्तानी नपाउने चिन्तामा रहेकोे बताउनुभयो । नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले सुगर मिल कहिले सञ्चालनमा आउँछन् र गत वर्ष बेचेको उखुको भुक्तानी कहिले हुन्छ भन्ने दोधारमा रहेका जिल्लाका उखु उत्पादक किसान सस्तैमा भए पनि सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका बताउनुभयो । बरहथवा नगरपालिका–११ का रत्नबहादुर घिमिरेले सस्तोमै सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका बताउनुभयो । नगदे बालीका रूपमा रहेको उखु बेच्ने अन्य कुनै विकल्प नभएकाले सक्खर उद्योगलाई सस्तैमा भए पनि उखु बेच्न थालेको बसबरिया गाउँपालिका–२ का उखु उत्पादक किसान रामविलाश महतोले बताउनुभयो । जिल्लाका सक्खर उद्योग सञ्चालकले पनि सक्खरको मागअनुसार उखुको मूल्य निर्धारण गर्दै आएका छन् । उत्पादित सक्खरको खपत कम भयो भने उखुको मूल्य पनि कम दिने र माग बढेमा सोहीअनुसार मूल्य बढाएर दिने गरिएको बरहथवा–११ का सक्खर उद्योग सञ्चालक शत्रुधन रायले बताउनुभयो । उहाँका अनुसार अहिले उखु उत्पादक किसानलाई किसामको मूल्य निर्धारण गरिएको छैन । एघार क्विन्टल उखु पेल्दा एक क्विन्टल सक्खर उत्पादन हुने बरहथवा–११ का सक्खर उत्पादक व्यवसायी रायले बताउनुभयो । उहाँका अनुसार उत्पादित सक्खरमध्ये कालो सक्खरको रु पाँच हजार र सेतो सक्खरको रु पाँच हजार पाँच सयदेखि छ हजार दुई सय प्रतिक्विन्टल बजार मूल्य छ । आफ्नो उद्योगमा प्रत्यक्षरूपमा छ जनाले दैनिक ज्यालीदारीमा रोजगारीसमेत पाएका रायले बताउनुभयो । “भारतबाट अवैधरूपले आउने सक्खरका कारण व्यवसाय नै धरासायी बन्दै गएको छ, सक्खरले बजार मूल्य नपाउँदा किसान र व्यवसायी दुवै समस्यामा छन्”, बरहथवा–११ स्थित सञ्चालनमा रहेको सक्खर उद्योगका सञ्चालन शिवचन्द्र रायले बताउनुभयो । उहाँले भारतबाट आएको सक्खर सस्तो मूल्यमा बिक्री हुँदा आफूहरूले पनि सोहीअनुसार बेच्नुपरेकाले लगानीअनुसारको मूल्य नपाएको गुनासो गर्नुभयो । रासस
काठमाडौँ, १४ मङ्सिर ,कालिका खड्का :
राष्ट्रियसभाका सांसद दिलकुमारी रावल थापा ‘पार्वती’लाई सांसदले योजनाका फाइल बोकेर मन्त्रालयपिच्छे बजेट माग्न धाउने परिपाटीको अन्त्य गर्नुपर्छ भन्ने लागेको छ । मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएर तीन तहको सरकार बनिसकेको अवस्थामा फेरि सङ्घीय सांसदले विकासका लागि योजनाका फाइल बोकेर बजेट माग्दै हिँड्नु ठीक होइन भन्ने उहाँको ठम्याइ छ । “तीन तहको सरकार छ, विकासका लागि केन्द्रले योजना बनाउने हो, तर अहिले पनि प्रतिनिधिसभाकै सांसद विकासकै लागि पैसा खोज्न मन्त्रालय धाउने काम रोकिएको छैन”, उहाँले भन्नुभयो, “योजनाको फाइल बोकेर योजना माग्दै सांसद हिँड्ने परिपाटीको अन्त्य गर्नुपर्छ, सांसदको नाममा बजेट दिने काम ठीक होइन, यो रोक्नुपर्छ”, सांसद रावललाई सांसद विकास कोषको पनि जरुरी छैन भन्ने लाग्छ । “सङ्घ, प्रदेश र स्थानीय तहमा बजेट बनाउँदा सहभागी हुन सकिन्छ”, उहाँले थप्नुभयो । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन हुँदै २०५२ सालदेखि राजनीतिको यात्रा तय गर्नुभएकी नेतृ रावलले जनताको प्रतिनिधि भएर २०७४ फागुन २० गते राष्ट्रियसभा सदस्यका रुपमा सपथ लिनुभएको थियो । आगामी फागुन २० गते छ वर्ष पुग्दैछ । नेत्री रावललाई विद्यार्थी आन्दोलन र समाज परिर्वतनको आन्दोलनमा लाग्दा यति महत्वपूर्ण स्थानमा पुगेर काम गर्ने अवसर मिल्ला भन्ने लागेको थिएन । तर उहाँलाई एमालेमा आबद्ध भएर जनप्रतिनिधिको संस्था संसद्मा आएर छ वर्ष काम गर्ने अवसर मिल्यो । उहाँलाई राष्ट्रियसभामा काम गर्ने अवसर पाउनुभन्दा अघि पहिलो संविधानसभा २०६४, दोस्रो संविधानसभा २०७१ र उपनिर्वाचन २०७१ प्रत्यक्ष निर्वाचन लड्ने अवसर समेत पार्टीले दिएको थियो । नेत्री रावलले झण्डै साढे पाँच वर्ष राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति भएर काम सक्रियरुपमा काम गर्नुभएको छ । समितिको सभापति भएर काम गर्दा सधँै जनता र राष्ट्रको हितमा कानुन कसरी निमार्ण गर्न सकिन्छ भन्ने कुरामा उहाँको ध्यान केन्द्रित भयो । “कानुन निर्माणको क्षेत्रमा कसरी मुलुकको हितमा बनाउन सकिन्छ भनेर सम्पूर्ण ध्यान त्यही केन्द्रित भयो, संसद्को निगरानीलाई प्रभावकारी बनाउनका लागि काम गरियो”, उहाँले जोड्नुभयो, “पहिलो पटक संसद् भएर सभापतिको जिम्मेवारी पूरा गर्न कुशलतापूर्वक गर्न सक्छु कि सक्दिन भन्ने थियो तर मैले पूर्णरुपमा प्रयत्न गरे ।” राष्ट्रियसभामा उहाँलाई छ वर्ष काम गर्ने अवसर मिल्यो । विसं २०३७ मङ्सिर २५ गते भरतपुर महानगपालिका–१६ ब्रह्मपुरमा जन्मनुभएकी नेत्री रावलले २०५५ सालमा एमालेको वडा कमिटी हुँदै गाउँ कमिटी सदस्य भएर काम गर्नुभयो । त्यस्तै, २०५५ सालदेखि २०५८ सम्म अखिल नेपाल महिला सङ्घ जिल्ला चितवन जिल्ला कमिटी सदस्य, तत्कालीन प्ररायु सङ्घको जिल्ला सचिव हँुदै अध्यक्ष, महिला जिल्ला समन्वय समितिको उपाध्यक्ष भएर काम गर्नुभयो । पार्टीको जिल्ला सदस्य, उपसचिव हँुदै सचिवको जिम्मेवारी जिल्लामा रहेर निर्वाह गर्नुभयो । संविधान जारी भएको यतिका वर्ष बितिसक्दा पनि संविधानअनुकुलका कानुन नै बनाउन सकेको छैनन् । सांसद रावललाई सरकारले सदनलाई विजनेस नदिएकै कारण कानुन निर्माणमा ढिलाइ भएको भन्ने लाग्छ । “संविधानअनुकूलका कानुन बनाउन ढिलाइ हुनुमा दोषी सरकार हो, त्यसको दोषी संसद् र सांसद होइन”, नेत्री रावलले थप्नुभयो, “विधेयक अधिवेशनमा जम्मा एउटा मिटरब्याजीसम्बन्धी कानुन बन्यो, राष्ट्रियसभामा मर्यादासम्बन्धी नीति विधेयक ल्यायाँै, राष्ट्रियसभाले सर्वसम्मत पारित गरेको विधेयक प्रतिनिधिसभामा रोकिएर शून्यतामा गयो, राज्यको त्यत्रो लगानी खेर गयो, जुन गम्भीर विषय हो ।” सदनलाई विजनेस नभएपछि शून्य समय र विशेष समयमै एकले अर्कालाई आरोपप्रत्योरोप गर्दै बित्ने गरेको उहाँले बताउनुभयो । नेत्री रावललाई राष्ट्रको महत्वपूर्ण नीतिहरु एकरुपता बनाउन जरुरी छ भन्ने लाग्छ । “सरकार परिर्वतन हुने बित्तिकै परराष्ट्र नीति, आर्थिक नीति वा स्वास्थ्य नीति पनि परिर्वतन हुने गरेका छन्, जुन असाध्यै दुःखद् कुरा हो”, नेत्री रावलले भन्नुभयो, “स्थायी खालको नीति बनाउन जरुरी छ, जुन सरकार आए पनि नीति र पूर्वाधार विकासमा एकरुपता र ध्यान दिन जरुरी छ, राष्ट्रिय महत्वको विषयमा एकताबद्ध हुँदा प्रणाली पनि बलियो हुन्छ ।” अरुले झट्ट हेर्दा सांसदले काम गरेनन भन्नेजस्तो देखिए पनि सांसदले मात्र केही गर्न नसक्ने नेत्री रावलको बुझाइ छ । बोली र व्यवहारमा एकरुपता ल्याएर काम गरेमा सांसदले बेकारको गाली खान नपर्ने उहाँको बुझाइ छ । जनताका प्रतिनिधिले संसदीय मूल्य र मान्यताको ख्याल गर्नुपर्ने हुन्छ । “जनप्रतिनिधिले बोल्दा प्रत्यक्ष प्रसारण हुन्छ, संसारभर जान्छ, बोली र गोली चाँहि फर्काउन सकिँदैन”, नेत्री रावलले भन्नुभयो, “रेर्कडबाट हटाउनुपर्ने गरी किन बोल्ने ? त्यो राम्रो होइन, त्यसरी बोल्नुहुँदैन, शिष्ट र मर्यादित भएर पनि आफ्ना कुरा राख्न सकिन्छ, जनप्रतिनिधिले मर्यादालाई ध्यान दिनुपर्छ, नत्र जनताले के सिक्ने ?” एउटा विधायक भएर जति काम सकियो त्यसमा उहाँलाई खुसी लागेको छ । कानुन बनाउने, अझ राम्रो बनाउनका लागि संशोधन हाल्नेदेखि लिएर समितिको सभापति भएर निकै मेहनतपूर्वक काम गरेको उहाँमा अनुभव छ । “संसद्मा सक्तापक्ष र प्रतिपक्ष भए पनि समितिमा सबै सर्वसम्मत तरिकाले सौहार्दपूूर्ण वातावरणमा काम गर्ने अवसर पाउँदा मलाई खुसी छ”, उहाँले हर्षित मुद्रामा भन्नुभयो, “साझा उद्देश्य थियो, कुनै पनि दलको असहयोग भएन, हरेक निर्णय सर्वसम्मत भयो, सधैँ हार्दिकताका साथ काम गरियो ।” उहाँलाई जनता र देशका लागि अझ धेरै गर्न बाँकी छ जस्तो लागेको छ । सांसदको भूमिका तत्काल लागि सकिए पनि जनताको सवालमा अझै केही गर्न मन छ । रासस