२०८३ भाद्र ४
२०८३ भाद्र ४
  काठमाडौँ मंसिर १९,/

भारतको कर्नाटकस्थित एक अन्न भण्डारमा सोमबार साँझ दुर्घटना हुँदा कम्तीमा ७ मजदुरको ज्यान गएको छ।

यो दुर्घटनामा ज्यान गुमाउने सबै ७ जना मजदुर बिहारका हुन्। कर्नाटकको आलियाबादमा एक विशाल अन्न प्रशोधन मेसिनको एक भाग खस्दा उक्त दुर्घटना भएको हो।

करिब १०० टनको उक्त मेशिनको एक भाग खस्दा मजदुरहरू त्यसभित्र दबिएका थिए। दबिएका ती सबै मजदुरको घटनास्थलमै ज्यान गएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ।

विजयपुराका एसपी सोनवाने ऋषिकेश भगवानले समाचार एजेन्सी पीटीआईलाई बताए अनुसार यस घटनामा तीनजना घाइते भएका छन्।

उक्त अन्न भण्डाभित्र दबिएकामध्ये एकजनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ।

 

काठमाडौं,मंसिर १९, 

अवैध रूपमा औषधि बिक्री गरेको आरोपमा बुढानिलकण्ठमा रहेको एक फर्मामा सिलबन्दी गरेको छ।

मंगलबार बुढानिलकण्ठ नगरपालिका-१०स्थित आदर्शनगर चोक नजिकै रहेको लाइफ केयर फर्मा सिलबन्दी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

उक्त फर्माले अवैध रूपमा औषधि बिक्री गरिरहेको भन्ने सूचना पाएको थियो। सूचनापछि खटिएको औषधि व्यवस्थापन विभाग बिजुली बजार काठमाडौं, स्थानीय जनप्रतिनिधि र स्थानीयबासीले उक्त फर्मा बन्द गराएका हुन्।

टोलीले स्थानीय चार वटा औषधि पसलको अनुगमन गरेको थियो। त्यस क्रममा लाइफ केयर फर्माले ३६ प्रकारका औषधिहरू अवैध रूपमा बिक्री गरिरहेको खुलेको हो।

अवैध रूपमा औषधि बिक्री गरेको आरोपमा बुढानिलकण्ठमा रहेको एक फर्मामा सिलबन्दी गरेको छ।

मंगलबार बुढानिलकण्ठ नगरपालिका-१०स्थित आदर्शनगर चोक नजिकै रहेको लाइफ केयर फर्मा सिलबन्दी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

उक्त फर्माले अवैध रूपमा औषधि बिक्री गरिरहेको भन्ने सूचना पाएको थियो। सूचनापछि खटिएको औषधि व्यवस्थापन विभाग बिजुली बजार काठमाडौं, स्थानीय जनप्रतिनिधि र स्थानीयबासीले उक्त फर्मा बन्द गराएका हुन्।

टोलीले स्थानीय चार वटा औषधि पसलको अनुगमन गरेको थियो। त्यस क्रममा लाइफ केयर फर्माले ३६ प्रकारका औषधिहरू अवैध रूपमा बिक्री गरिरहेको खुलेको हो।

 

१९ मंसिर, काठमाडौं ।

ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार निषेध गर्ने भएको छ । २४ मंसिरदेखि फुटपाटमा राखेर सामान बिक्री गर्न नदिने ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

फुटपाथ व्यवसायीहरुको अत्याधिक भीड भएका कारण हिँडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न लागेको ।

‘काठमाडौं महानगरपालिकाले फुटपाथ बन्द गरेपछि ३ सय भन्दा धेरै फुटपाथ व्यवसायी मंगलबजारबाट लगनखेलसम्म आएका छन् । पहिले ५०–६० वटा फुटपाथ व्यवसाय हुने ठाउँमा अहिले ३/४ सय पुगेको छ’, हाछेथुले अनलाइनखबरसँग भने ।

उनले मंगलबजारदेखि लगनखेलसम्म सटरमा व्यवसाय गर्ने व्यापारीहरुले आफ्नो पसल अगाडि मासिक २० हजारसम्म लिएर व्यापार गर्न दिएको पाइएको पनि बताए ।

‘यहाँका व्यवसायीहरुले आफ्नो पसल अगाडि खाली सार्वजनिक ठाउँ नै किनबेच गरिरहेको पाइएको छ । यसलाई रोक्न पनि महानगरले यो कदम चाल्न बाध्य भएको हो’, हाछेथुले अनलाइनखबरसँग भने ।

फुटपाथको कारण सर्वसाधारणलाई हिँड्न समेत नसक्ने स्थिति भएको भन्दै हाछेथुले थपे, ‘अहिले एम्बुलेन्स, दमकल समेत हिँड्न सक्दैन, मेला जस्तै हुने गरेको छ । त्यसपछि १२ नम्बर वडा र १९ नम्बर वडाले संयूक्त रुपमा मिलेर फुटपाथ निषेधित क्षेत्र बनाउन लागेका हौं ।’

ललितपुर महानगरपालिकाले मंगलबारदेखि माइकिङ र ब्यानर टाँसेर २४ गतेसम्म फुटपाथ व्यापार हटाउन आग्रह गरेको छ ।

 

 

काठमाडौँ मंसिर १९,/

महिला स्वयंसेविकाहरूले सेवानिवृत्त हुँदा पाउने सुविधामा सरकारले शोषण गरेको आरोप लगाएका छन्।

२०औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनीहरूले यस्तो गुनासो गरेका हुन्।

कार्यक्रममा बोल्दै स्वयंसेविका संघकी अध्यक्ष गीता थिङले २० वर्षअघि दिएको सेवा निवृत्त सुविधा बढाउनुपर्ने माग गरिन्।

‘महिला स्वयंसेविकालाई बिदाइमा २० हजार रुपैयाँ दिने गरिएको छ। यो त २० वर्षअघि दिएको रकम हो। आजसम्म पनि त्यही २० मात्र दिने कुरा मान्य हुँदैन,’ थिङ भन्छिन्, ‘हामीलाई लिए लि नलिए नलि भन्ने खालको व्यवहार छ।’

आज पनि महिला स्वयंसेविकाहरूलाई २० वर्षअघिकै २० हजार रुपैयाँ दिने गरेको भन्दै उनले असन्तुष्टि जनाइन्। सरकारले महिला स्वयंसेविकाहरूलाई सेवा निवृत्त सुविधाका रूपमा २० हजार रुपैयाँ मात्रै दिनु शोषण भएको थिङ बताउँछिन्।

कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले महिला स्वयंसेविकाहरूको कामले सरकारलाई थप शक्ति मिल्ने गरेको बताए। उनले महिला स्वयंसेविकालाई सहयोग गर्न मन्त्रालय तयार रहेको बताए।

‘महिला स्वयंसेविकाहरू दियो मात्रै होइन सिङ्गै उज्यालो हो। उहाँहरूको कामले हामीलाई थप शक्ति प्रदान गर्छ। उहाँहरूलाई मन्त्रालयको तर्फबाट सहयोग गर्न तयार छु,’ सिंहले भने।

त्यस्तै, कार्यक्रममा बोल्दै सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले महिला स्वयंसेविकाहरूले उठाएको माग जायज रहेकाले सरकारले सम्बोधन गर्नुपर्ने बताए। स्वयंसेविकाहरूलाई विभिन्न तालिम दिई थप सशक्त बनाउनुपर्नेमा डा.बास्तोलाको जोड छ।

‘उहाँहरूको आवाज बिल्कुलै सही छ। राज्यले यसलाई व्यवस्थित गर्नुपर्छ।’ डा. बास्तोलाले भने।’ दूरदराजमा महिला स्वयंसेविकाहरूले गरेको योगदान अतुलनीय रहेको डा. बास्तोला बताउँछन्।

 

 

काठमाडौँ मङ्गलबार, १९।

नेपालको युवा टोलीले आगामी मंसिर २२ गतेदेखि सुरु हुने एसिसि यु–१९ एसिया कपको सेमिफाइनलमा पुग्ने लक्ष्य राखेको छ ।

नेपाली यु–१९ क्रिकेट टोलीका कप्तान देव खनालले मंगलवार एक कार्यक्रममा टेस्ट राष्ट्रलाई हराउँदै समूह चरण पार गर्ने बताएका छन् । आगामी शुक्रवारदेखि सुरु हुने एसिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा छ । तर पनि नेपाली टोली यो समूहबाट सेमिफाइनलमा पुग्ने आशा गरेको छ । समूह ए मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् ।

नेपाली युवा टोलीका कप्तान देव खनालले यसअघि पनि नेपालले भारतको यु–१९ टोलीलाई हराएको स्मरण गर्दै आफूहरू पनि त्यो इतिहास दोहोर्‍याउन आतुर रहेको बताए । उनले सिनियर टोलीले पनि राम्रो गरिरहेको र आफूहरू पनि एक एक खेलमा ध्यान दिएर अगाडि बढ्ने बताए । भारत र पाकिस्तानविरुद्ध राम्रो रन बनाउनु वा विकेट लिनु भनेका सबै यु–१९ टोलीका लागि राम्रो अवसर पनि रहेको कप्तान खनालले धारणा राखे । त्यसैले सबै जना यो समूहमा राम्रो नतिजासँगै राष्ट्रिय टोलीको यात्रा बनाउन पनि आतुर रहेको बताए ।

यु–१९ एसिया कपमा मंसिर २२ देखि पुस एक गतेसम्म संयुक्त अरब इमिरेट्स(युएई) मा सुरु हुँदैछ । यो एसिया कपको अर्को समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, जापान र युएई छ । त्यसैले समूह ‘बी’ को तुलनामा समूह ‘ए’ नेपालजस्तो एसोसिएट राष्ट्रका लागि निकै चुनौतीपूर्ण हो । यु–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतीपूर्ण रहनेछ । यद्यपि, यो उमेर समूहमा भारतलाई हराएको इतिहास रहेकाले पनि नेपाली युवा टोली उच्च आत्मबलका साथ एसिया कपको यात्रा थाल्दै छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार आयोजना गरेको बिदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान देवसँगै प्रशिक्षक जगत टमटाले बिना दबाबमा राम्रो प्रदर्शन गर्ने धारणा राखे । उनले सिनियर टोलीबाट राम्रो खेलेका गुल्सन झा पनि टोलीमा समावेश रहेकाले आफ्नो टोली थप उत्साहित रहेको बताए । यो यात्रा अगाडि नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग अभ्यास खेलले पनि युवा टोलीले राम्रो एक्सपोजर पाएको उनको विश्वास छ ।

यो तयारीका लागि नेपालले दुई हप्ताको अभ्यास गरेको छ । यस क्रममा नेपालले फरक फरक पिचमा आफूलाई अभ्यस्त बनाएको पनि प्रशिक्षक टमटाले बताए । युद्धमा जाँदै सबै जित्नकै लागि जाने उल्लेख गर्दैै प्रशिक्षक टमटाले राम्रो क्रिकेट खेल्दै जित निकाल्ने विश्वास व्यक्त गरे । युवा टोलीका विदाईको क्रममा क्यानका सचिव पारस खड्काले सिनियर टोलीले पाएको सफलतालाई पछ्याउँदै युवा टोलीले पनि राम्रो नतिजा ल्याउनेमा सबै आशावादी रहेको बताए ।

 

काठमाडौं, १९ मंसिर ||

पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्ने क्रममा छ । केही दिन यताको सुनको बजार भाउ हेर्ने हो भने नेपालको इतिहासमै सर्वाधिक रह्यो । सोमवार सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँको नयाँ रेकर्ड कायम गरेको थियो । तर मंगलवार तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । तर सुनको मूल्य अझै बढ्ने व्यवसायीहरु बताउँछन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलवार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँ रहेको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ । नेपाली बजारमा गत कात्तिकमा सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरे पनि त्यसपछि लगातार रुपमा सुनको मूल्यमा गिरावट हुँदै आएको थियो ।

तर पछिल्लो दुई हप्ता लगातार रुपमा सुनको मूल्य उच्च रुपमा बढिरहेको छ । तर मंगलवार भने २ हजार ४ सय रुपैयाँले एकै दिन गिरावट आएको छ । मंगलबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ५ रुपैयाँ कायम भएको छ । विश्वव्यापी अर्थतन्त्रमा मन्दि बढ्दै गइरहेको अवस्थामा सुनको मूल्यमा निरन्तर उतारचढाव छ । विश्वका लगानीकर्ताहरुले अन्य क्षेत्र भन्दा सुन सुरक्षित लगानीको रुपमा लिदाँ विश्व बजारमा सुनको मूल्य वृद्धि भएको जानकारहरु बताउँछन् ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय युद्ध, व्यापारमा मन्दि, मूल्यवृद्धि र उद्योगधन्दा समस्या परेको कारण लगानीकर्ताहरुको ध्यान सुनमा गएकाले सुनको मूल्य उच्च रुपमा वृद्धि भएको बताउनु भयो । उहाँले दुई, तीन हप्तादेखि उच्च रुपमा सुनको मूल्यमा वृद्धि हुनु रुस र युक्रेन युद्धको असर अन्तर्राष्ट्रिय अर्थतन्त्रमा कायम रहनु, अमेरिका र चीनबीचको व्यापारीक युद्धको असर र प्यालेस्टाइन र इजरायलको युद्ध प्रमुख कारण देखिएको बताउनु भयो ।

उहाँले विश्व ठूला लगानीकर्ताले विभिन्न क्षेत्रमा लगाएको लगानी डुब्ने चिन्ताले अन्य क्षेत्रमा लगाएको लगानी झिकेर सुरक्षित लगानीका रुपमा सुनमा लगानी गरेको बताउनु भयो । उहाँले विश्वका लगानीकर्ताहरुले सुनमा लगानी गर्दा सुरक्षित देखेर लगानी वृद्धि गरेकाले सुनको मूल्य उच्च रुपमा बढेको दाबी गर्नुभयो । संस्थापक अध्यक्ष शाक्यले अमेरिकी फेडरल रिजर्व बैंकले कही दिन अगाडि निक्षेपको ब्याजदर बढाउन नसक्ने निर्णयपछि निक्षेपमा भएको पैसा पनि बैंकबाट निकालेर सुनमा लगानी लगाए थालेको बताउनु भयो।

उहाँले अहिले विगतमा सस्तोमा किनेको सुन मूल्य वृद्धि भएकाले विश्वभर नै बजारमा सुन किन्ने भन्दा बेच्ने वृद्धि भएकाले मंगलवार मूल्यमा गिरावट आएको बताउनु भयो । उहाँले नेपाली बजारमा पनि त्यसैको असर देखिएको बताउनु भयो । उहाँले नेपाली बजारमा मंसिर महिनाको विवाहको लगनको बेलामा विगतमा दैनिक ६० किलो खपत हुने गरेकोमा अन्तर्राष्ट्रिय बजार मूल्यको असरका कारण २० किलोबाट अहिले दैनिक १० केजी मात्रै खपत रहेको बताउनु भयो ।

नेपालगञ्ज,मंसिर १९,/     
– बर्दियाकाे बढैयाताल गाउंपालिका वडा नम्बर ८ बाट प्रहरीले ठूलाे मात्रामा ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेकाे छ ।
भे ३ प २६९६ नम्बरकाे माेटरसाइकलमा रहेका बांके काेहलपुर नगरपालिका वडा नम्बर १५ का निराजकुमार थारुलाई प्रहरीले २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेकाे हाे ।
भारतबाट आउँदै गरेका थारुलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेलीले पक्राउ गरेकाे हाे ।
पक्राउ गरिएका थारुलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय, मैनापाेखर बर्दियामा बुझाइएकाे छ ।

 

 आरके श्रीवास्तव,राैतहट,मंसिर १९ गते ।

राैतहटमा भन्सार छली ल्याउदै गरेको सरसामान सहित मोटरसाईकिल बरामद गरेको छ ।आइतबार जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ति गर्दै जाने क्रममा फेला पारेको हाे ।

जिल्लाकाे गौर नगरपालिका वडा नम्बर १ र ईशनाथ नगरपालिका वडा नम्बर ८ स्थितबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी / निकासी गरी बिआर५५डि ३५८३ र बिआर३०सि०५९७ नम्बरकाे माेटरसाइकिल किराना, लत्ताकपडा र सोफी लगायतका सर सामान ओसार पसार गर्दै गरेको अबस्थामा प्रहरी टोलीलाई देखि मोटरसाइकिल सहित सामान फाली भागी फरार भएकोले सो स्थानमा प्रहरी टोली गई बेबारिसे अबस्थामा रहेको उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी निरिक्षक झलक प्रसाद शर्माले जानकारी गराएका हुन्

साे क्रममा मोटरसाइकिल २ थान, किराना, लत्ताकपडा र सोफी गरी जम्मा मुल्य रु.दुई लाख अड्तिस हजार एक सय पचास बराबरको सामान र मोटरसाइकिल नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि साेमबार गौर भन्सार कार्यालयमा बुझाईएको शर्माले बताए ।

 

काठमाडौं,मङ्गलबार, १९।

सर्वोच्च  अदालतका  प्रस्तावित  छ मध्ये  तीन  न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने समयसीमा  सोमबार  सकिएको छ  । समितिमा ११ उजुरी दर्ता भएकोमा १० जनाको नाम किटिएको छ  । एक उजुरी सैद्धान्तिक  विषय  केन्द्रित छ । समितिमा पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपालविरुद्ध पनि समितिमा उजुरी परेको छ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले ११ उजुरी प्राप्त भएको जानकारी दिए । उनले प्राप्त उजुरीको अध्ययनपछि समितिले थप प्रव्रिmया  अघि  बढाउने  बताए । समितिले  उजुरी अध्ययनकै व्रmममा रहेकाले विषयवस्तु भने सार्वजनिक गरेको छैन ।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशमध्ये शारङ्गा सुवेदी, टेकप्रसाद ढुङ्गाना र अब्दुल अजिज मुसलमानविरुद्ध उजुरी परेको हो । तीन न्यायाधीशका लागि नौ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये सबैभन्दा बढी उजुरी न्यायाधीश सुवेदीविरुद्ध परेका छन् ।

सुवेदीविरुद्ध पाँच उजुरी दर्ता भएका छन् । सबै उजुरी उजुरीकर्ताले समितिमै उपस्थित भएर दर्ता गराएका हुन् । यस्तै न्यायाधीश  ढुङ्गानाविरुद्ध तीन वटा उजुरी दर्ता भएका छन् । जसमा दुई  प्रत्यक्ष  र  एउटा इमेलबाट प्राप्त भएको समिति सचिवालयले जनाएको छ । न्यायाधीश मुसलमानविरुद्ध भने एउटा उजुरी परेको छ ।

समितिमा प्राप्तमध्ये एक उजुरी भने व्यक्तिकेन्द्रित नभई सैद्धान्तिक विषयको छ । प्रस्तावित  न्यायाधीश  महेश  शर्मा  पौडेल,  सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध भने कुनै पनि उजुरी परेका छैनन् । छ न्यायाधीशमध्ये चार जना उच्च अदालतको न्यायाधीशबाट सर्वोच्चमा सिफारिस भएका हुन् ।

पोखरेल र ढकाल भने कानुन व्यवसायीबाट सर्वोच्चको  न्यायाधीशमा  सिफारिसमा परेका हुन् । समितिले अब प्राप्त उजुरीमा पहिले अनुसन्धान गर्ने छ । समितिले आवश्यकता अनुसार उजुरीकर्तालाई समितिमा बोलाएर छलफल गर्ने छ । उजुरीबारे तथ्य प्रमाण पनि समितिले माग गर्न सक्ने छ । उजुरीकर्तासँगको छलफलपछि समितिले   प्रस्तावित पदाधिकारीलाई सुनुवाइका लागि आमन्त्रण गर्ने छ ।

सुनुवाइ प्रव्रिmया प्रारम्भ भएको ४५ दिनभित्र समितिले प्रस्तावित पदाधिकारीबारे निर्णय गर्नुपर्ने छ । ४५ दिनभित्र कुनै पनि निर्णय नभए नियुक्तिका लागि वाधा नपर्ने व्यवस्था छ । समितिको दुई तिहाइ बहुमतले प्रस्तावित  पदाधिकारीलाई  अस्वीकृत  गर्न  सक्ने  छन् र १५ सदस्यीय समितिमा प्रस्तावित पदाधिकारी अस्वीकृतका लागि १० जनाको आवश्यकता पर्ने छ । यो समाचार गोरखापत्र दैनिकमा छ

 

काठमाडौं १९ मंसिर।

–कसरी आयो १८ हजार लिटर रूसी मदिरा ?
–केही व्यापारी र बिचौलियाद्वारा कर्मचारीसँग सेटिङको प्रयास
–छानबिन गर्न भन्सारलाई अख्तियारको ताकेता

वीरगञ्जस्थित सुक्खा बन्दरगाहबाट ठुलो परिमाणमा अवैध रूपमा मदिरा, सुपारी, छोकडा, मरिच भित्रिरहँदा समेत त्यस्ता अवैध कार्यलाई रोक्ने मुख्य जिम्मेवारीमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयजस्ता निकायहरू बेखबरजस्तै देखिएका छन् । विगत केही महिनादेखि वीरगञ्जस्थित सुक्खा बन्दारगाह हुँदै सुपारी, मदिरा, छोकडा, मरिचजस्ता मालसामानहरू अवैध रूपमा तेस्रो मुलुकबाट नेपाल भित्रने र सेटिङमा तस्करी हुने क्रम बढिरहेको छ । स्रोतका अनुसार अहिले पनि त्यहाँ तस्करी गरेर ल्याइएको सुपारी ३० देखि ४० ट्रकसम्म रहेको बताइन्छ । यसै गरी प्रतीतपत्र (एलसी) नै नखोली अवैध रूपमा ल्याइएको झण्डै १८ हजार लिटर रूसी मदिरासमेत सेटिङ गरेर तस्करी गर्ने प्रयास भइरहेको स्रोतको दाबी छ ।

यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले आवश्यक छानबिन गर्न भन्सार विभागलाई निर्देशन दिएको छ । अख्तियारको निर्देशनपछि मात्रै भन्सार विभागले वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा राखिएका अवैध मालसामानहरूका बारेमा छानबिन थालेको जनाएको छ । अख्तियारका एक अधिकारीका अनुसार भन्सार विभागको नेतृत्वलाई बारम्बार निर्देशन दिएपछि मात्रै वीरगञ्ज भन्सारमा ल्याएका तस्करीका मालसामानका बारेमा छानबिन थालिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूका अनुसार विरगञ्जलगायत विभिन्न भन्सार नाकाबाट तस्करीका सामानहरू आउने क्रम बढ्दासमेत उच्च राजनीतिक तथा प्रशासनिक तहमा त्यसलाई रोक्ने विषयमा कुनै छलफल र वास्ता हुने गरेको छैन । त्यसै गरी अर्थ मन्त्रालयले समेत यस विषयमा कुनै चासो दिएको देखिँदैन । प्रधानमन्त्री कार्यालय तथा अर्थ मन्त्रालयलमा दैनिकजसो विभिन्न विषयमा कैयौं बैठकहरू हुने भए पनि मुलुकमा हुने तस्करी, राजस्व छली र त्यसलाई रोक्ने प्रभावकारी उपायको बारेमा कुनै छलफल नै नहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले बताए ।

ती अधिकारीले नेपाल समाचारपत्रसँग भने – ‘तस्करी रोक्ने र राजस्व छली रोकेर राजस्व वृद्धि गर्ने विषय राजनीतिक र प्रशासनिक नेतृत्वको प्राथमिकतामा पर्दैन । त्यसैले त्यस्तो विषयमा गम्भीरतापूर्वक छलफल हुने गरेको छैन ।’ प्रत्येक महिना मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बस्ने सचिव बैठकले पनि तस्करी रोक्ने र राजस्व छलीका विषयलाई खासै प्राथमिकता दिन सकेको देखिँदैन ।

अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले भने अवैध सामानको तस्करी रोक्न आवश्यक उपायहरू अवलम्बन गरिएको दाबी गर्नुभयो । उहाँले वीरगञ्ज सुक्खा बन्दरगाहमा थुप्रिएर रहेका पुराना मालसामानहरू ‘क्लियर’ गर्न आवश्यक निर्देशन दिइएको बताउनुभयो । घिमिरेले विभिन्न समयमा हुने तस्करी रोक्न समेत भन्सार विभागलाई बारम्बार निर्देशन दिने गरिएको दाबी गर्दै सोअनुसार भन्सार विभागले आवश्यक टोली परिचालन गरेको बताउनुभयो ।

भन्सार विभाग आफैंले पनि वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा अवैध मालसामान आएको विषयलाई स्वीकार गरेको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले ड्राइपोर्टमा भित्रिएका अवैध मालसामान बारेमा छानबिन गर्न आवश्यक टोली बनाइएको र छानबिन शुरू गरिएको जानकारी दिनुभयो । उहाँले अवैध रूपमा सुपारी, मदिरा भित्रिएको भन्ने सूचना विभागमा पनि आएको र त्यस्ता अवैध मालसामान बरामद गरिने दाबी गर्नुभयो । स्रोतका अनुसार वीरगञ्ज भन्सारस्थित सुक्खा बन्दरगाहमा ल्याइएका अवैध सुपारी, मदिरा, छोकडा, मरिचलगायतका वस्तुहरू केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी तस्करी गर्ने प्रयास गरिरहेको बताइन्छ । तस्करी हुने सम्भावना बढेसँगै यस विषयमा अख्तियारले समेत आवश्यक निगरानी गरिरहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।