२०८३ भाद्र ४
२०८३ भाद्र ४

 

काठमाडौं 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ७८ हजार ८६५ कित्ता शेयर आज ९पुस ४ गते० देखि बिक्री खुला गरेको जनाएको छ ।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न इच्छुक जो–कोहीले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी न्यूनतम ५ हजार र अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत कबोल गरी बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल, बबरमहल काठमाडौंमा पुस १३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

 

सर्लाही, पुस ४ गते । 

नवलपुर–मलङ्गवा सडक खण्ड अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा मङ्गलबार साँझ मिनिट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा हरिपुर नगरपालिका–७, चिताईनका ५० वर्षीय रुदल कुमार दनुवारको मृत्यु भएको हो । नवलपुरबाट साइकलमा घरतर्फ जाँदै गरेका कुँवरलाई सडकमा साइकलसहित लडेपछि उठ्न खोज्दा पछाडिबाट तीव्र गतिमा आएको प्रदेश २–०४–००१ क ००१४ नम्बरको मिनिट्रकले ठक्कर थियो ।

दुर्घटना लगत्तै कुँवरलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । दनुवार सासपुरको डाबरीस्थित इँटा भट्टामा मजदुरी गरेर घर फर्किँदै गर्दा दुर्घटनामा पर्नुभएको हो ।

साइकल यात्रीलाई ठक्कर दिएर फरार भएको मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोज्दै जाँदा उक्त मिनिट्रक दुर्घटना भएको करिब चार घण्टापछि जुट पानी पानी फ्याक्ट्रीको रहेको खुलेको र राति नै फ्याक्ट्रीभित्रै राखिएको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

रौतहट  पुष ३,/        

जिल्लाको वृन्दावन नगरपालिका-१ स्थित बागमती नदी उकास जमिन अतिक्रमण हुँदै आएको छ। केही वर्ष अघिदेखि त्यस क्षेत्रको सयौ विगाहा जमिन अतिक्रमण हुँदै आएको छ। मधेस प्रदेशको सर्लाही र रौतहटको सिमाना भएर बग्ने बागमती नदीको उकास जमिन  अतिक्रमण भएको हो।

यसको एकातर्फ रामलाल वृन्दावन साझेदारी वन व्यवस्थापन समूह र अर्कोतर्फ बागमती नदीको पानी बग्ने क्षेत्र छ। बयरघारी क्षेत्रमा भूमिहीन, विपन्न मात्र नभएर हुनेखाने समेतले जंगल-झांडी,खरघारी फाँडेर धमाधम खेत बनाइरहेका छन्।

सरकारी जमिन तीव्र रूपमा अतिक्रमण भइरहँदा समेत कुनै निकायले ध्यान नदिएको सरोकारवाला बताउँछन्। उक्त क्षेत्रमा वृन्दावन नगरपालिका-१,२,३ र ४ वडाका वासिन्दाने बढी जमिन अतिक्रमण गरेका छन्। त्यसबाहेक अन्य ठाउँबाट आएकाहरूले अतिक्रमण गरेका छन्।

अतिक्रमित क्षेत्रभन्दा करिब २ किलोमिटर टाढा सब डिभिजन वन कार्यालय भए पनि  वन कर्मचारीले संरक्षणप्रति चासो देखाएका छैन। जनशक्ति अभावका कारण त्यस क्षेत्रमा जान नसकेको सब डिभिजन प्रमुख अनिलकुमार महतोले बताए। कार्यालयबाट अतिक्रमणको  प्रतिवेदन माग भएको र  प्रतिवेदन बनाउने क्रममा रहेको महतोले जानकारी दिए।

संरक्षण गर्नुपर्ने ठाउँमा अतिक्रमण बढ्‌दै जानु दुःखद भएको वृन्दावन नगरपालिका-२ का वडाध्यक्ष सिकेन्द्र पटेलले बताए। उनले‍ डिभिजन वन कार्यालय रौतहटले  ठोस कदम चाल्नुपर्ने वडाध्यक्ष पटेलको भनाइ छ।

कार्यालयका डीएफओ शैलेन्द्र मिश्रले अतिक्रमण हटाउन सक्रिय रहेको दावी गरेका छन्। सो क्षेत्रको अतिक्रमण हटाउन सबैको साथ आवश्यक रहेको डीएफओ मिश्रले बताए। उक्त क्षेत्रमा वडा सदस्य रामगणेश प्रसाद पटेल (बच्चु)ले सरकारी जग्गा अतिक्रमण गरेको विषयमा अख्तियारमा उजुरी परेको छ। वृन्दावन नगरपालिका-१ बलेरी क्षेत्रमा पर्ने सरकारी वन क्षेत्रको जमिन अतिक्रमण गरी पर्खाल समेत निर्माण र गुम्बा बनाउन लगाएर आर्थिक अनियमितता गरेको भन्दै  उजुरी परेको हो।

गत साउन २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता नम्बर २२९ रहेको उजुरीका आधारमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले वडा सदस्य पटेललाई डिभिजन वन कार्यालयमा हाजिर हुन पत्र काटेको थियो। पटेलले वनको सरकारी जमिनमा गुम्वा बनाउने नाममा अतिक्रमण गर्नुका साथै नगरपालिकाबाट निकासा भएको बजेटमा समेत आर्थिक अनियमितता गरेको उजुरीमा उल्लेख छ।

अतिक्रमित क्षेत्रमा केहीले पशुपालन समेत गरेका छन्। अतिक्रमित क्षेत्रमा किसानले मकै, गहुँ, मुसुरो, तोरी लगायतको बाली लगाउँदै आएका छन्।

 

काठमाडौं  पुस ३,           

 अमेरिकन डलर साँट्ने भन्दै लुटपाट गर्ने आठ जना पक्राउ परेका छन्। काठमाडौंको विभिन्न स्थानमा गएर अमेरिकन डलर साँट्ने भनी प्रलोभनमा पारी पैसा लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरिएको हो।

प्रहरीका काठमाडौंको विभिन्न स्थानमा अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारी समूहमा आई डलर देखाई पैसा लुटपाट गर्ने गिरोह सक्रिय रहेको छ भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी परिसर, काठमाडौं र काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा धादिङको नेत्रावती गाउँपालिका–३ सेमजोङ घर भइ हाल सामाखुसी बस्ने ३४ वर्षीय खड्कबहादुर तामाङ, मोरङको लेटाङ नगरपालिका–२ घर भइ सामाखुसीमै बस्ने ३६ वर्षीय अशोक लिम्बू, सिन्धुपाल्चोकको बाह्रबिसे–३ लामाटोल घर भइ हाल गोकर्णेश्वर बस्ने रामबहादुर लामा र सिन्धुपाल्चोककै रिसंगु गाउँपालिका–७ ठूलोपाखा घर भइ हाल भक्तपुरको दुवाकोट बस्ने ३६ वर्षीय सुब्बा तामाङ रहेका छन्।

यस्तै, काठमाडौंको तारकेश्वर नगरपालिका–३ देवीस्थान बस्दै आएका ४५ वर्षीय चन्द्रबहादुर तामाङ, बाह्रबिसे–३ घर भइ हाल गोकर्णेश्वर बस्ने ३६ वर्षीय रेलबहादुर तामाङ, यस्तै बाह्रबिसेकै देवराज तामाङ र बाह्रबिसे–३ की मञ्जु भनिने कृष्णकुमारी तामाङ रहेका छन्।

पक्राउ परेकाहरुको साथबाट सक्कली अमेरिकन डलर ५० को १६ थान, राहदानी २ थान, तिलहरी १ थान, र बा ३८ प ६१३२ नम्बरको प्लेजर स्कुटर एक थान बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुविरुद्ध अनुसन्धान जारी छ।

 

 

 सिराज खान नेपालगन्ज, पुस ३ गते । 

धेरै आगलागी हुने जिल्लामध्ये पर्ने बाँके जिल्लामा आगलागीका अधिकांश घटना विद्युत सर्टबाट हुनेगरेको पाइएको छ ।विपद व्यवस्थापनमा निजी क्षेत्रको भूमिकाका विषयमा यहाँ आयोजना गरिएको छलफल कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका बारुण यन्त्र शाखा प्रमुख झइनबहादुर खड्काले जिल्लामा भएका कूूल आगलागीका घटनामा विद्युत सर्टका कारण मात्र ४१.३७ प्रतिशत आगलागीका घटना भएको बताउनुभयो ।

उहाँले बाँकेमा चार वर्षको अवधिमा ३४८ वटा आगलागीका घटना भएकोमा १४४ घटना विद्युत सर्टका कारण भएका छन् । आगोबाट २५.५७, र अज्ञात २१.८३ प्रतिशत, ग्यासबाट ६.६० प्रतिशत आगलागी भएको पाइएको छ ।

सो कार्यक्रम निजी क्षेत्रको अगुवा संस्था नेपालगन्ज उद्योग वाणिज्य संघ र विपद् व्यवस्थापन समिति बाँकेको सहकार्यमा आयोजना गरिएको थियो । नगर कार्यपालिका सदस्य एवम् पूर्वाधार विकास संयोजक वसन्त कनौजियाको अध्यक्षतामा विपदमा खोज, उद्दार र राहत व्यवस्थापनमा निजी क्षेत्रले विगतदेखि नै सहयोग र सहकार्य गर्दैआएको कार्यक्रममा जनाइएको छ ।

बारुणयन्त्र शाखा प्रमुख खड्काले विपद प्रतिकार्यमा सहयोगी भावना, सहभागिता, निगरानी र मूल्याङ्कन हुनसके निजी क्षेत्रको भूमिका अझ प्रभावकारी हुने बताउनुभयो ।

नेपालगन्ज उद्योग बाणिज्य संघका विपत संयोजक टीकामणि उपाध्यायले व्यवसायीहरु विपदमा सधैं हातेमालो गर्न तत्पर रहेको प्रतिबद्धता जनाउँदै आगलागी न्युनीकरणका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडीपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडीएम नेपाल र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि सचेतना प्रवर्धन गरिरहेको छ । परियोजनाले विपदविरुद्ध जुध्न दक्ष जनशक्ति समेत उत्पादन गरिरहेको छ ।

नेपालगन्ज पश्चिम क्षेत्रको हब र ट्रान्जिट प्वाइन्ट भएकाले विपद प्रतिकार्यमा निजी क्षेत्रको भूमिका सधैं अपरिहार्य हुने भन्दै नेपालगन्ज आफैं पनि सुरक्षित हुनुपर्नेमा अधिकांशको जोड छ ।

आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली र युनिसेफका प्राविधिक अधिकृत नरेश निदालले पश्चिम नेपालमा भूकम्पको जोखिम, अन्य सम्भावित विपद, पूर्वतयारी, प्रतिकार्य र यो प्रक्रियामा निजी क्षेत्रको भूमिकाका विषयमा सहजीकरण गर्नुभएको थियो ।

 

महोत्तरी पुस ३,/  

— भएको सम्पत्ति धितो राखेर छोरीको विवाह गर्न ऋण लिएकी महोत्तरी रामगोपालपुरकी हिरादेवी मण्डल अहिले ऋणको भारले थिचिएकी छिन् ।  ३ वर्षअघि जनपुरको राजश्री फाइनान्सबाट उनले लिएको १५ लाख ऋणले दुई छोरीको विवाह त गरिन् । तर छोरीको विवाहपछि ऋण तिर्न नसक्दा उनले धितो राखेको २ कठ्ठा १६ धुर जग्गा लिलाम भएको पत्र संस्थाले उनलाई पठाएको छ ।

त्यतिमै उनलाई ऋणले छाडेको छैन । मिटरब्याजमा ४ लाख रुपैयाँ ऋण लिएर उनका जेठा छोरा वैदेशिक रोजगारीका लागि कुबेत गए । कान्छो छोरा पनि थप २ लाख रुपैँया ऋण लिएर ५ महिनाअघि मलेसिया गएको उनले बताईन् । तर वैदेशिक रोजगारिमा गएका दुवै छोराले समस्यामा फसेको सुनाउने गरेको उनले बताइन् ।

‘दुवै छोराले काम पाएका छैनन्, पैसा पठाएका छैनन्’ उनले भनिन्,’साहुले यता बस्न दिएको छैन’ । घरमा खाने उपाय समेत नभएपछि ऋण थपिँदै गएको र अहिले ऋण १७ लाख पुगेको उनले सुनाईन् । ‘घरमा बस्न नसकेर आन्दोलनमा हिंडेको हुँ,’ उनले भनिन्,‘घरमा बस्नै हुँदैन साहु र संस्था आएर हप्काउँछन् धम्काउँछन्’ । लघुवित्त संस्था विरोध संघर्ष समितिले गरेको जिल्ला भेलामा उपस्थित उनीजस्तै अधिकांसको समस्या उनको जस्तै छ ।

महोत्तरीकै सम्सी-५ का दिनेशप्रसाद यादव पनि ऋण लिएर छोरीको विवाह गरेपछि ऋणले आफुलाई नछाडेको बताउँछन् । ‘तिलक नदिए छोरीको विवाह नै हुँदैन,’ उनले भने,‘ऋण नै लिएर दुई छोरीको विवाहमा २५ लाख खर्च गरेको छु’ । जेठी छोरीको विवाहमा १५ लाख खर्च भएकोमा ५ लाख नगद,मोटरसाईकल,दराज,फ्रिज लगायत सबै घरमा चाहिने सामाग्री केटापक्षलाई दिएको उनले बताए । ‘कान्छी छोरी अलि राम्री थिईन्,’उनले भने, ‘केटी मन परेकाले जे दिनुहुन्छ भैहाल्छ भनेपछि १० लाखमै विवाह भयो ।’

साढे ४ कठ्ठा जग्गा बेचिसकेको उनले सुनाए । तर अहिले पनि ३३ लाख ऋण तिर्न बाँकी भएकाले आए उपायको खोजीमा आफू रहेको यादवले बताए । ऋण तिर्न कुनै उपाय नै नभएकाले तिर्न नसकेको तर संस्थाहरुले आफूले लिएको भन्दा डब्बल तिर्नपर्ने भएको भन्दै तिर्न दबाब दिईरहेको उनले बताए ।

बर्दिवास-८ कर्मटोकी घर भएकी सरु चौधरी ६० वर्षकी भइन् । १ सालदेखि उनले कुनैपनि संस्थाको किस्ता तिर्न नसकेको बताईन् । उनको कूल ऋण २५ लाख बढी छ । तर उनलाई अहिले घरमा के खाउ के लाउको अवस्था भएको उनी बताउँछिन् । विभिन्न लघुवित्त संस्थाबाट लिएको ऋणबाट ऋण बढ्दै गएको उनले बताईन् । स्वाबलम्बन बैंक लिएको ३ लाख ऋण पटक पटक तिर्दा पनि अहिले ५ लाख पुगेको भन्दै तिर्न दबाब दिएको उनले बताईन् । छोरीको विवाह गर्न ६ लाख र छोरालाई विदेश पठाउन ३ लाख विभिन्न संस्थाबाट ऋण लिएको उनले सुनाईन् ।

गएको ६ महिनामै मलेसियाबाट श्रीमान फर्किएपछि कर्मटोकी महोत्तरीकी इन्द्रकुमारी कलवारलाई ऋणले सास्ती दिएको छ । ससुराको मृत्युपछि घर फर्किएका श्रीमानको खुट्टा भाँचिएको र आफू बिरामी परेकाले ऋणमाथि ऋण बढ्दै गएको उनले बताईन् । ‘के खाने कसरी बाँच्ने पनि थाहा छैन,’ उनले भनिन्, ‘अब सरकारले हेर्ला की भनेर आन्दोलनमा आएको’ । २० लाख बढी ऋणको भारीले आफूलाई थिचेको उनले सुनाईन् ।

गरिबलाई उठाउनै नसक्ने गरि ऋणको बोझ बोकाएर लगातार दबाब र धम्की दिने साहु र संस्थाविरुद्ध आफूहरुको संघर्ष जारी रहेको लघुवित्त संस्था विरोध संघर्ष समितिकी महोत्तरी अध्यक्ष शिलम यादव बताउँछिन् । अशिक्षा र गरिबीकै कारणपछि परेका समुदायलाई लघुवित्तीय संस्थाहरुले समेत मनोमानी नियम लगाएर अवैध कारोबार गरेको उनले आरोप लगाईन् । आफ्नो हिसाबले नियम लगायर गरिबहरुको शोषण संस्था र महाजनहरुले गरिरहेकाले त्यसको विरुद्धमा जिल्ला भेला गरेको उनले बताईन् । भेलामा महोत्तरीबाट १ सय ३५ जना पीडितहरुको उपस्थिति भएको उनले जानकारी दिईन् ।

लघुवित्त संस्थाहरुको मनोमानीमा राज्यले नै संरक्षण गरेका कारण गरिबहरु दिन दिनै उठाउनै नसक्ने ऋणको भूमरीमा परिरहेका पीडित संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष युवराज रसाईली बताउँछन् । नेपाल राष्ट्रबैंकको नीति विपरीत एक अर्कामा हानाथाप गर्दै हिजो ऋण लगाउने संस्थाहरुले अहिले पीडितलाई विभिन्न दबाब र धम्की दिन नमिल्ने उनको भनाई छ । आवश्यकता र क्षमता हेरेर प्रतिव्यक्ति ७ लाखसम्म मात्र ऋण दिन पाउने राष्ट्र बैंकको नीति विपरीत लगानी लगाएका लघुवित्तहरुको ऋण र लाखौं रकम चुक्ता गर्दापनि धितो लिलाम भएकाहरुको सम्पत्ति फिर्ता हुनुपर्ने र ऋण मिनाहा हुनुपर्ने मुख्य माग आफूहरुको भएको उनले बताए ।

आन्दोलन र पटक पटकको सरकारसँग वार्तापछि पीडितलाई धम्क्याउने र अवैध कारोबार गर्ने कार्यमा केही सुधार आएको भएपनि यतिमै आफूहरुको आन्दोलन नसकिने उनले बताए । पीडितहरुलाई एकजुट भएर बस्न,घर छाडेर नहिँड्न र आफ्नो जीवनलाई क्षति पुर्‍याउने गतिविधि नगर्न भेलाबाट प्रोत्साहन गरिरहेको उनले बताए ।

 

 

 

काठमाडौं, ३ पुस ।

सामाजिक सञ्जालमार्फत एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले गुल्मी जिल्ला सत्यवति गाउँपालिका वडा नं. ७ स्थायी वतन भएका वर्ष ४४ को डिल बहादुर गलामीलाई पक्राउ गरेको हो ।

म्यासेजिङ एपमा साथी बनी कुराकानी हुने क्रममा भएका वार्तालापको स्क्रिन रेकड गरी राखेको तथा उक्त स्क्रिन सट सम्पादन गरी सामाजिक सञ्जालमा अश्लील सन्देश सहित पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा उनीविरुद्ध मुद्दा परेको थियो ।

उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा गत भदौ २६ गते मुद्दा दर्ता गरी खोजतलास गर्दा फेला नपरी फरार रहेको र गत असोज १९ गते काठमाडौं जिल्ला अदालतमा फाइल पेस भएको प्रहरीले जनाएको छ ।

उनी जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा पुस २ गते बाँकेबाट पक्राउ परेका थिए । उनलाई आज काठमाडौं जिल्ला अदालतमा अदालती कारबाहीको लागि पेस गरिएको प्रहरीले जनाएको छ । File photo/RN

 

 

कञ्चनपुर पुस ३,/          

— भारतबाट मजदुरी गरेर घर फर्किन लागेका एक नेपाली कामदार फेरि बाटोमै लुटिएका छन् । भारत उत्तराखण्डको हरिद्वारमा लुटिएपछि अलपत्र परेका उनी मंगलबार गड्डाचौकी नाकामा पुगेका हुन् ।

भारतको कर्णप्रयागमा ज्याला मजदुरी गर्ने सुर्खेतको बराहताल गाउँपालिका–६ का ३७ वर्षीय विष्णु विक हरिद्वारमा लुटिएका हुन् ।

मंसिर ३० मा कर्णप्रयागबाट घर हिँडेका उनी सोही दिन पुस १ गते हरिद्वार पुगेका थिए । बसपार्कमा झर्ने बित्तिकै ३ जना सुर्खेत घर बताउने नेपालीले नै बेहोस बनाएर लुटेको विक बताउँछन् ।

‘बसर्पाकमा झर्ने बित्तिकै तीन जना नेपाली आए, हाम्रो घर पनि सुर्खेत नै हो, सँगै जाउला भने,’ मंगलबार बिहान गड्डाचौकी पुगेका विकले भने, ‘चिसो पिउँ भनेर ड्यु ल्याए, चारैले सँगै पियौं, म त एकै छिनमा बेहोस भएछु ।’ दोस्रो दिन होसमा आउँदा मोबाइल, झोला र पैसा केही नभेटिएको उनले बताए ।

कर्णप्रयागमा ज्याला मजदुरी गरेर कमाएका २५ हजार भारु लुटिएको उनले बताए । एक थान मोबाइल र लुगाकपडा सबै लुटेको उनले बताए । हरिद्वार बसपार्कमा प्रहरीसँग सहयोग मागेर बनबासासम्म आएको उनले बताए ।

मंगलबार बिहान गड्डाचौकी पुगेका विकलाई सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने व्यवस्था गरेका छन् । उनलाई बाटो खर्च र टिकट दिएर घर पठाएको हो ।

दसैंयता भारतबाट घर फर्किने क्रममा लुटिएका ११ जना नागरिक सहायता कक्षको सम्पर्कमा आएका छन् । जसमध्ये १० जना हरिद्वारमै लुटिएका छन् ।

 

 

काठमाडौँ  ३ पुस।

जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा  मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै पार्टी निकटका पत्रकारले संघीयता सम्बन्धी समाचार नलेखेको गुनासो गरेका छन् ।

जसपा निकट प्रेस मञ्च नेपाल मधेस प्रदेश समितिले आयोजना गरेको तीन दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री यादवले आफू संघीय सरकारसँग संघीयताका लागि लडी रहेपनि आफ्नै पत्रकारले त्यसबारेमा समाचार नलेखेको गुनासो गरेका हुन् ।

उनले भने, ‘तपाईहरुसँग मेरो एउटा मात्र आग्रह छ कि यतिका सञ्चारकर्मी हामीसँग हुँदा हुँदै पनि संघीयताको विषयमा कहिल्यै कुनै न्युज लेखेको छैन । जो समाचार आउँछ प्रदेश सरकारकै विरुद्धमा आउँछन् । योभन्दा पहिले पनि यस्तै थियो, अहिले पनि त्यस्तै छ ।’

यसअघिका सरकारले पनि अरू प्रदेशभन्दा राम्रा काम गरेको भन्दै उनले कुनै पनि पत्रकारले प्रचार नगरेको गुनासो गरे ।

मुख्यमन्त्री यादवले एनसिएल काण्डमा जति पैसा खाएका छन् त्यति प्रदेश सरकारको बजेट पनि नरहेको बताए । उनले यसबारेमा पनि कसैले समाचार नलेखेको गुनासो गरे । मधेस सरकारलाई गाली गरिरहेको गुनासो गर्दै उनले यसमा दुःख लागेको बताए ।

मुख्यमन्त्री यादवले अहिलेको सबैभन्दा आवश्यक संघीयता बचाउनु रहेको भन्दै जसपाले मात्र बचाउन नसक्ने दाबी गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग संघीताको पक्षमा कोही नरहेको बताएको जानकारी दिए ।  प्रधानमन्त्री प्रचण्डले आफूसँग मिडिया एक्टिभ गरेमात्रै संघीयता बाँच्ने बताएको जानकारी दिए । उनले पुस १३ गते सात वटै प्रदेशका मुख्यमन्त्रीको बैठकपछि पुनः प्रधानमन्त्रीलाई भेटेर अल्टिमेटसहितको ज्ञापनपत्र बुझाउने बताए ।

 

३ पुस, काठमाडौं ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमबाट फर्किएका नेपाली विद्यार्थीहरुलाई इजरायलले रोजगारीका लागि लैजान प्रस्ताव गरेको छ ।

आफ्नो पढाइ अन्तर्गत नै इजरायलको कृषि क्षेत्रमा छोटो समय काम गरेर फर्किएका विद्यार्थीलाई कृषि क्षेत्रमा कामदारका रुपमा लैजान इजरायलले नेपालसमक्ष प्रस्ताव गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताए ।

कृषि अध्ययन अन्तर्गत इजरायलमा लर्न एण्ड अर्न (सिक र कमाऊ) कार्यक्रम अन्तर्गत गएका विद्यार्थी छोटो अवधि काम गरेर नेपाल फर्किने गरेका थिए । फर्केकामध्ये इच्छुक विद्यार्थीहरुलाई श्रम स्वीकृति दिएर पठाउन प्रस्ताव गरेको पोखरेलको भनाइ छ ।

तर इजरायलमा हाल युद्ध नरोकिएका कारण तत्काल पठाउने कि नपठाउने भन्ने विषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ ।

‘इजरायलमा युद्ध जारी भएकाले अहिले नै पठाउने भन्ने छैन’, पोखरेलले भने, ‘यसबारे छलफल हुन बाँकी छ । त्यसपछि मात्र सुरक्षाको संवदेनशीलता हेरेर पठाउने कि नपठाउने निर्णय गर्छाैं ।’

उनका अनुसार इजरायलबाट सुरुमा एक हजार श्रमिकको माग भएको छ । पछि यो संख्या बढाउन सक्ने पनि बताएको पोखरेलले बताए ।

गत ७ अक्टोबरमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो । उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने कञ्चनपुरका विपिन जोशी अझै बेपत्ता छन्, त्यस्तै ४ जना घाइते भएका थिए ।

उनीहरु सबै सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायलस्थित कृषि फार्ममा काम गर्न गएका थिए ।

यो कार्यक्रमका लागि इजरायलले सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालको कृषि संकायका विद्यार्थी लैजाने गरेको थियो । तर ७ अक्टोबरको आक्रमणपछि विद्यार्थी इजरायल गएका छैनन् ।

हालसम्म ३२०० विद्यार्थी यो कार्यक्रम अन्तर्गत इजरायल गइसकेका छन् ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।