काठमाडाैं पुस ४,
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तय गरेको कृषि उपजको मूल्यसूचीअनुसार प्याज सुकेको (भारतीय)को अधिकतम थोक मूल्य प्रतिकिलो १४५ रुपैयाँ रहेको छ ।

काठमाडौं पुस ४/
– श्रीलंकाका विदेशमन्त्री आज बुधबार नेपाल भ्रमणमा आउँदैछन्। मन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री तीन दिने भ्रमणका लागि आज आइपुग्न लागेका हुन्।
उनी नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुने कार्यतालिका छ। साथै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेट गर्नेछन्। मन्त्री उवैस शुक्रबार स्वदेश फर्किनेछन्।
बारा ४ पुस ।
बारामा आज बिहान २ बजे भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । घटनामा २७ जना घाइते भएका छन्।
झापा,पुस ४,
– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड गरेको आरोपमा मंगलबार राति पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालयमा २० हजार रुपैयाँ धरौटी तिरेर उनी रिहा भएका हुन्।
उनीमाथि मुख्यमन्त्रीको गाडीमा भएको तोडफोडको ५ लाख रुपैयाँको बिगो हालिएको थियो। अभद्र व्यवहारसम्बन्धी मुद्धा दायर गरिएका चौधरीमाथि अनुसन्धान गर्न प्रहरीले दुईपटक म्याद थपेको थियो ।
पहिलो पटक पाँच दिन र त्यसपछि तीन दिन म्याद थप गरिएको थियो। ८ दिनको म्याद सकिएकाले अब म्याद थप नगरी रिहा गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।
काठमाडाैं पुस ४,
संसदीय सुनुवाई समितिले बुधबार सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जना न्यायाधीशहरूको नियुक्तिबारे निर्णय गर्न लागेको छ ।
चितवन पुष ४।
पूर्वी नवलपरासीको कावासोतीमा ४० वर्षको पुरुषसँग १६ वर्षकी छोरीको विवाह गराइदिएको आरोपमा प्रहरीले बालिकाकी आमासहित पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले बालिकाको भाउजूले दिएको उजुरीको छोरीलाई दबाब दिएर विवाह गराउने आमा, दुई जना सानीमा र एक जना सानोबुबासहित विवाह गर्ने पुरुषलाई पनि समातेको हो ।
मंसिर २९ गते आफ्नो घरबाट केही पर रहेको सानीमाको घर लगेर १६ वर्षकी छोरीलाई उनकी आमाले विवाह नगर्ने भए आफू झुण्डेर मर्ने भन्दै विवाह गर्न दबाब दिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुर प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार आमा र दुई सानीमा सानोबाको दबाबका कारण किशोरी विवाहको लागि राजी भएकी थिइन् ।
आफ्नो घर नै नलगी कावासोतीमै रहेको सानीमाको घरबाट छोरीको टिकोटालो गरेर विवाह गराइदिएर आमा घर फर्किएकी थिइन् ।
सानीमाको घर गएकी नन्द घर नफर्किएपछि सोधी खोजी गर्दा ४० वर्षको पुरुषसँग विवाह गरिदिएको थाहा पाएपछि भाउजूले प्रहरीमा जाहेरी दिएकी इन्स्पेक्टर शर्माले जानकारी दिए । सोही जाहेरीका आधारमा प्रहरीले हिजो मङ्गलवार आमासहित बालिका विवाहमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको हो ।
४० वर्षका पुरुषले बालिकासँग दोस्रो विवाह गरेका हुन् । उनलाई नियन्त्रणमा लिएपछि बालिकालाई भाउजूको संरक्षणमा पठाइएको प्रहरीले जानकारी दिएको छ । १६ वर्षकी बालिका ७ कक्षा पढेर छोडेकी थिइन् ।
१२ वर्षअघि नै उनको बाबुको मृत्यु भएको, परिवारमा दुई दाइ, भाउजू र आमा रहेका छन् । तर, दुई दाइ भने वैदेशिक रोजगारीमा रहेका जनाइएको छ ।
काठमाडौं पुस ४,
– नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा कार्यरत डा मेघनाथ धिमाल इन्टरनेशनल साइन्स काउन्सिलको फेलोमा मनोनित भएका छन्। काउन्सिलले डा धिमाल सँगै विश्वभरका विज्ञान र अनुसन्धानको क्षेत्रमा काम गर्ने एक सय जनालाई मनोनित गरेको छ।
प्रमुख सिनियर रिसर्च अफिसर डा धिमालले अन्तर्राष्ट्रिय विज्ञान परिषद्को फेलोमा मनोनित भएकोमा खुसी व्यक्त गर्दै भने, ‘निकै खुसी लागेको छ। यो विज्ञानका क्षेत्रमा काउन्सिलले दिने उच्च सम्मान हो।’
काउन्सिलले नयाँ फेलोहरूबाट विज्ञानको दृष्टिकोणलाई विश्वव्यापी सार्वजनिक हितको रूपमा अगाडि बढाउन मद्दत गर्ने विश्वास लिएको छ।
मनोनित भएका नयाँ फेलोहरूमा विज्ञान र समाजमा प्रभावकारी योगदान गरेका सामाजिक र प्राकृतिक वैज्ञानिकहरू, इन्जिनियरहरू तथा अन्य योगदानकर्ता रहेका काउन्सिलद्वारा जारी सूचनामा उल्लेख छ।
४ पुस, काठमाडौं ।
काठमाडौंका केही ठाउँमा फरकफरक दिन केही घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले त्यस क्षेत्रमा केही दिन साढ ४ घण्टा विद्युत सेवा बन्द हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार आज बुधबार चपली तथा बूढानीलकण्ठ, बिहीबार गोङ्गबु बसपार्क, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोटमा आपूर्ति बन्द हुनेछ ।
मौसम खराब भई काम नहुने अवस्थामा भने विद्युत सेवा अवरुद्ध नहुने प्राधिकरणले जनाएको छ ।
जनकपुरधाम पुष ४,/
: पछिल्लो समय मधेसका गाउँहरूमा चोरी, डकैतीसहित आपराधिक गतिविधि बढेपछि स्थानीय आतंकित बनेका छन्। अधिकांश घटनाहरूमा डाका र चोरहरूको समूहले घरेलु हतियारका साथै पेस्तोल समेत बोकेर आउने र घरमा पसेर बन्धक बनाएरै डकैती गर्ने गरे पनि प्रहरी प्रशासन बेखबर बनेको छ।
सिंह चूपचाप झ्यालको छेऊमा उभिए। झ्यालबाट एक युवकले पेस्तोल छिराउँदै फेरी धम्क्याए। तर, सिंहले हिम्मत गर्दै झ्याल बन्द गरिदिए। तीनचार जनाको संख्यामा रहेका हतियारधारीहरू सिंहको बुहारी सुतेकी कोठातिर हानिए र कोठा ढकढक्याउँदै खोल नत्र ज्यानले मार्छौं भन्ने धम्की पनि दिइरहेका थिए। सिंह हिम्मत गरी जोरजोरले हल्ला गर्न थाले। घरका सबै सदस्यहरू सहयोगको लागि हल्ला गर्न थालेपछि छरछिमेकी पनि उठे। जाग्राम भयो र गाउँलेहरू जुट्ने थाहा पाएपछि हतियारधारीहरू फरार भए।
त्यो भन्दा एकदिन अगाडि मात्रै सोही ठाउँका सुजित सिंहलाई हतियारधारी डाँकाहरूको समूहले बन्दुक देखाई बन्धक बनाएर घरबाट सरसामानहरू लुटेर लग्यो। प्रहरी प्रशासनलाई यस विषयमा खबर गर्दा पनि कतैबाट कुनै सुनवाई वा अनुसन्धान भएन।
सोमबार राति महोत्तरीकै जलेश्वर नगरपालिका —७, बखरी भाटमा डाँकाहरूले स्थानीय ललन प्रसाद शर्माको घरमा कोठाको ताल्चा फुटाई सरसामान लुटे। घरमा कोही नभएको मौका छोपी घटना घटाइएको थियो। गाउँघरका अधिकांश युवाहरू पढाइलेखाइ र रोजगारीका लागि सहरमा बस्न थालेपछि गाउँहरूमा वृद्ध र महिलाहरूनै बढी बस्ने गरेका छन्। यस्तोमा डाँकाहरूलाई प्रतिकार गर्ने वा सुरक्षाको लागि बोल्नेहरू समेत घरमा नहुँदा आपराधिक गतिविधि सहजै हुने गरेको नेपाली कांग्रेस मधेस प्रदेश सदस्य कृष्णा सिंह बताउँछन्।
‘हतियारसहित नै आउने चोरडाँकाहरूको प्रतिकार गर्न युवाहरूको समूह पनि गाउँघरमा छैन, प्रहरी प्रशासनलाई शान्ति सुरक्षाबाट मतलबनै नभएको जस्तोदेखिन्छ। गाउँघरमा प्रतिदिन आपराधिक गतिवीधि भईराखेको छ र हामीले पटक–पटक प्रहरीलाई सुरक्षा गस्ती बढाउन आग्रह गरे पनि आश्वासन बाहेक केही पाएका छैनौं,’ कृष्णाले बताए।
भारतीय सीमाक्षेत्रसँग जोडिएका गाउँहरूमा आपराधिक गतिविधि गरेपछि अपराधीहरू भारततर्फ भाग्ने गरेको स्थानीयहरू बताउँछन्। यता, सीमा सुरक्षाको जिम्मेवारी बोकेर सीमा क्षेत्रमा तैनात सशस्त्र प्रहरी बलले पनि यस्ता घटनाहरू नियन्त्रण गर्न खासै पहल गरेको देखिँदैन। मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख डीआईजी दिपेन्द्र साह आफूहरूलाई यस्ता घटनाहरूको विषयमा वा गाउँघरमा हुने गरेको शंकास्पद गतिविधिका सन्दर्भमा सहि समयमा सूचना नै नआउने हुनाले शान्ति सूरक्षाको सवालमा सकेजति योगदान पुर्याउन नसकेको स्वीकार गर्छन्।
उनी भन्छन्, ‘हाम्रा बोर्डर आउट पोस्टहरू सीमामै अवस्थित भए पनि हामी जनतासँग धेरै घुलमिल हुन सकेका छैनौं। हाम्रो काम गर्ने प्रवृत्ति पनि अलि फरक भएर होला जनताले हामीसँग समन्वय खासै गर्दैनन्। जनता र सशस्त्र प्रहरी बीचको दूरी कम गर्न भर्खरै हामीले सीमावासीसँग कार्यक्रम पनि गर्यौं यदि हामीलाई सही समयमा सूचना प्राप्त भयो भने यस्ता आपराधिक गतिविधिहरूलाई सकेसम्म नियन्त्रण गर्न सकिन्छ।’
काठमाडौं
: पश्चिमी वायुको आंशिक प्रभावका कारण अहिले देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ।
बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।
यस्तै राति पनि देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले आफ्नो नियमित बुलेटिनमा उल्लेख गरेको छ।
महाशाखाले शुक्रबारसम्मै मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ।
महाशाखाले सामान्यतया तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेको छ। त्यसकारण पनि शुक्रबारपछिको मौसम पूर्वानुमानकका लागि पर्खनै पर्ने हुन्छ।