२०८३ भाद्र ४
२०८३ भाद्र ४

 

४ पुस, काठमाडौं ।

भारतले विस्फोटक पदार्थको आपूर्ति रोक्दा काठमाडौं–तराई द्रुतमार्ग निर्माण ५ महिना पूर्ण रुपमा प्रभावित भएको नेपाली सेनाले जनाएको छ ।

बुधबार प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा सैनिक मुख्यलयको तर्फबाट प्रधान सेनापति प्रभुराम शर्माले प्रस्तुत गरेको आयोजनाको प्रगतिबारेको प्रस्तुतिमा सो विषय उल्लेख छ ।

‘छिमेकी मित्रराष्ट्र भारतबाट बिस्फोटक पदार्थको आयात हुन नसक्दा ५ महिना द्रुतमार्ग निर्माणको काम पूर्णरुपमा प्रभावित भयो,’ जंगी अड्डाको प्रतिवेदनमा भनिएको छ ।

२०७९ भदौदेखि माघसम्म भारतले विस्फोटक पदार्थका आपूर्ति रोकेको प्रधान सेनापति प्रभुराम शर्माले बताए ।

भारतको अवरोधका कारण विस्फोटक पदार्थ आपूर्तिको विकल्प खोज्ने प्रक्रियामै थप ५ महिना बितेको पनि उनले दाबी गरे ।

२०७९ माघदेखि सहज रुपमा विस्फोट पदार्थ आपूर्तिका लागि पहल गर्दा २५ असार २०८० मा मात्रै चीनबाट विस्फोटक पदार्थको आपूर्ति गर्ने अवस्था बनेको नेपाली सेनाले जनाएको छ । हाल चीनतर्फबाट विस्फोटक पदार्थको सहज आपूर्ति भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

विस्फोटक पदार्थ आयात रोकिएको ५ महिना र वैकल्पिक रुपमा विस्फोटक पदार्थ आपूर्तिको सहजीकरण प्रयासको थप झण्डै ६ महिना गरेर ११ महिना द्रुतमार्गको काम प्रभावित बनेको नेपाली सेनाको भनाइ छ । जसमा ५ महिना भने पूर्ण रुपमै परियोजना प्रभावित भएको सैनिक मुख्यालयको भनाइ छ ।

 

 

 

लीलाधर वली घोराही, पुस ४ गते । 

दाङमा ट्याक्टरबाट खस्दा एक किशोरीको मृत्यु भएको छ । ट्याक्टरमा सवार घोराही उपमहानगरपालिका –१८ प्रगतिटोल निवासी १७ बर्षीया माया घर्तीमगरको मृत्यु भएको हो ।

ट्याक्टरबाट खस्दा घाइते हुनुभएकी मायालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका लागि लगिएको थियो । उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार मंगलबार दिउँसो घोराही –१८ रानीजरुवाबाट घोराहीतर्फ जाँदैगरेको रा १ त १६५५ नम्बरको ट्याक्टरबाट खस्दा घर्तीको मृत्यु भएको उहाँले बताउनुभयो ।

प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएको छ भने ट्याक्टर चालक फरार रहेका रहनुभएको छ । फरार ट्याक्टर चालकको खाजी भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो ।

 

वीरगन्ज  पुस ४    

— लामो समयदेखि वीरगन्ज सुक्खा बन्दरगाह यार्डमा थन्किएका कन्टेनरको भौतिक परीक्षण हुँदा अधिकांशमा सडेको छोकडा बरामद भएको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयले तेस्रो मुलुकबाट आयात गरिएका २ सय १८ वटा कन्टेनरको भौतिक परीक्षण थालेको हो । सुक्खा बन्दरगाह यार्डमा ५ वर्षदेखिका कन्टेनर जाँचपास नगराई आयातकर्ताले राखेका थिए ।

मंगलबार साँझसम्म १ सय ३० कन्टेनरको भौतिक परीक्षण सकिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताए । ‘१ सय ३० कन्टेनरको भौतिक परीक्षण सकिएको छ,’ उनले भने, ‘जाँच गरिएका अधिकांश कन्टेनरमा सडेका छोकडा बरामद भएको छ ।’ अहिले भौतिक परीक्षणमात्र गरिएकाले थप विवरण पछि आउने भन्सार कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन, कोष तथा लेखा नियन्त्रण, प्रिस्टीन भ्यालीलगायतका प्रतिनिधिको रहोबरमा पुराना कन्टेनरको भौतिक परीक्षण भइरहेको छ । सिमित जनशक्तिका कारण २ सय १८ वटा कन्टेनरको भौतिक परीक्षणमा समय लाग्ने भएकाले भन्सार कार्यालयले विभागलाई पत्राचार गरी थप कर्मचारी माग गरेको थियो ।

आयातकर्ता र कन्टेनरमा भएका मालवस्तुको विवरणसहित कार्यालयले गत मंसिर १० मा सार्वजनिक सूचना जारी गरी जाँचपास गराई लैजान आह्वान गरेको थियो । ‘विभिन्न आयातकर्ताले आयात गरेका तर नियमानुसार तोकिएको अवधिभित्र छुटाई नलगेका ६० दिन भन्दा बढी समयदेखि कार्यालयको भन्सार क्षेत्रमा रहेका विभिन्न प्रकारका मालवस्तु भन्सार ऐन २०६४ बमोजिमको नियमानुसार जाँचपास गरी नलगेमा कानुन बमोजिम कारबाही अगाडि बढाईने छ,’ भन्सारको सूचनामो उल्लेख छ ।

स्रोतका अनुसार लामो समयदेखि जाँचपास नभई भन्सार यार्डमा राखिएका कन्टेनरभित्र कोटाविपरीत ल्याइएका मालवस्तु भएकाले आयातकर्ताले ‘सेटिङ’ नमिलेसम्म जाँचपास नगराएका हुन् । ‘यही सूचना भन्सारमा पुगेपछि अहिले पुराना कन्टेनरको जाँचपास गर्न आयातकर्तालाई आह्वान गरी भौतिक परीक्षण थालिएको हो,’ एक व्यापारी भन्छन्, ‘ग्रिन च्यानलबाट पास हुने कन्टेनरको संख्या अहिले घटेको छ, पुरानो कन्टेनरहरुको ग्रिन च्यानलबाट जाँचपास निषेध गरिएको छ ।’

कार्यालयका अनुसार ग्रिन च्यानलमा घोषणा गरिएका मालवस्तुको जाँचपास गर्ने क्रममा भौतिक परीक्षण गरिँदैन । ग्रिन च्यानलबाट पुराना कन्टेनर फुत्किन सक्ने भएकाले उनीहरुको भौतिक परीक्षण गरेर मात्र जाँचपास गर्ने गरिएको छ ।

मागभन्दा अत्यधिक परिमाणमा मालवस्तु आयात गरी भारततर्फ चोरी निकासी बढेकाले सरकारले वैदेशिक मुद्रा सञ्चितिमा असर पुगेकाले आयात नियन्त्रित गरेको थियो । लामो समयदेखि जाँचपास नभई रोकिएका अधिकांश कन्टेनरमा आयात रोक्का भएको बेला सेटिङमा वा सरकारबाटै खुला गराउने उद्देश्यले मालवास्तु आयात गरेका व्यापारीको सेटिङ मिल्न नसकेपछि यार्डमा कन्टेनर थन्किएको हुन सक्ने भन्सारका अधिकृत बताउँछन् ।

आयातकर्ताका अनुसार कोभिडको समयमा सरकारले छोकडा, मटर, कालो मरिचको आयातमा रोक लगाएको थियो । ‘सरकारले मटर, कालो मरिचको जाँचपास पछि खुलाए पनि छोकडाको भने खुलाएन्,’ वीरगन्जका एक आयातकर्ता भन्छन्, ‘तर, छोकडाको जाँचपास सरकारले खोलाएन् । करोडौं मूल्य बराबरको छोकडा सडेर खेर गयो ।’

 

पोखरा पुस ४,       

– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सञ्चार माध्यमले खराब समाचारलाई प्राथमिकता दिने बताएका छन्।

‘पत्रकारिताको सम्बन्धमा एउटा भनाइ छ, ब्याड न्युज इज गुड न्युज अफ मिडिया भनेर। भिडियाको लागि ब्याड गुज न्युज थाहा हुँदै हुँदैन’, उनले भने।

‘एक पटक बेलायतमा भर्खर पढ्दै थियौँ। पढ्दाखेरि नेपाली एम्बेसीमा जुलुस निकाल्छौँ आइदिनुस् भनेर त्यहाँको बिबिसीलाई भनेँ मैले। कहाँ यस्तो बम पड्काउनुस! उसो भए आउँछौँ, नभए आउँदिन भने’, उनले सुनाए।

बुधबार नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेको देउवाले त्यतिबेला बिबिसीले यस्ता कति वटा कार्यक्रम जाने भनेर प्रश्न गरेको सम्झिए।

पूर्व सांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीको परिवारले स्थापना गरेको कीर्ति स्मृति वृत्ति सम्मान प्रदान गरिएको छ। ३ जना पत्रकारलाई देउवाले सम्मान गरे।

नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष डा. सुरेश आचार्य, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षद्वय माधव शर्मा र कृष्णप्रसाद बास्तोला सम्मानित भएका हुन्। तीनै जना जनही १ लाख ११ हजार १११ रुपैयाँ नगदसहित सम्मानित भए।

 

काठमाडौं ।

काठमाडौंका मुख्य पाँच वटा स्थल आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सूचना जारी गर्दै राष्ट्रपति कार्यालय शीतल निवासदेखि प्रधानमन्त्री निवास बालुवाटार, संघीय संसद भवन, सिंहदरबार हुँदै उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मलाई दुई महिनाका लागि निषेधित क्षेत्र तोकेको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच वटा क्षेत्रलाई आगामी दुई महिनासम्मका लागि निषेधित क्षेत्र तोकिएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार उक्त क्षेत्रमा दुई महिनासम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

 

४ मंसिर, काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडले एनसेलमा रहेको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्न गरेको ‘सेयर खरिद सम्झौता’को दस्तावेज एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको छ ।

एनसेलले बुधवार खरिद बिक्रीसम्बन्धी कागजात प्राधिकरणलाई बुझाएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । ‘कागजात प्राप्त भएको छ, त्यसमा के छ भन्नेबारे अब प्राधिकरणले अध्ययन गर्छ,’ उनले भने ।

गएको २९ सेप्टेम्बर २०२० (१२ असोज २०८०) मा आजियाटाको बोर्डले एनसेलबाट बाहिरिने निर्णय गरेको थियो । तर, त्यसबारे कम्पनीले कुनै पनि जानकारी दिएको थिएन ।

१३ मंसिर (२९ नोभेम्बर)मा आजियाटाले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा उसले एनसेलको सेयर बिक्रीमा राखेको विषय बाहिरिएको थियो ।

त्यसको दुई दिनपछि १५ मंसिरमै आजियाटा र बेलायतमा दर्ता भएको सतिशलाल आचार्य सञ्चालक रहेको स्पेक्ट्रलाइट यूकेबीच सेयर खरिद बिक्री भएको जानकारी आजियाटाले गराएको थियो । स्पेक्ट्रलाइटले एनसेलमा ८० प्रतिशत लगानी रहेको रेनोल्ड्स होल्डिङको शतप्रतिशत सेयर किन्ने सम्झौता भएको छ ।

एनसेलले बुधवार यही खरिद बिक्रीसम्बन्धी सम्झौताका कागजात दूरसञ्चार प्राधिकरणलाई बुझाएको जानकारी दिएको छ ।

आजियाटाले ८ वर्षअघि १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको ८० प्रतिशत सेयर आचार्यको कम्पनीलाई ६ अर्ब ६५ करोडमा विक्री गरेको जनाएपछि यो कारोबारलाई शंकास्पद रुपमा हेरिँदै आएको छ । यस विषयको छानबिन तथा न्यायनिरुपणमा सरकार, संसद तथा न्यायपालिका गरी राज्यका तीनवटै अंग सक्रिय भएका छन् ।

 

 

 

सोल ४ पुस।

दक्षिण कोरियामा विद्यार्थीहरुको एक समूहले त्यहाँको सरकारमाथि नै मुद्दा हालेका छन् । कलेजमा भर्ना हुने बेलामा दिनुपर्ने परीक्षा तय समयभन्दा ९० सेकेन्ड छिटो सकिएपछि मुद्दा हालिएको छ ।

विद्यार्थीहरुले परीक्षा दोहोर्‍याएर दिनु पर्दा लागेको खर्च बराबर २ करोड येनको क्षतिपूर्ति मागेका छन् । यो त्रुटिका कारण विद्यार्थीहरुको बाँकी परीक्षा पनि प्रभावित भएको तिनीहरुको वकिलले बताएका छन् । दक्षिण कोरियामा कलेजको भर्ना परीक्षा कुख्यात छ । सनेङ भनेर चर्चित यो परीक्षा ८ घण्टासम्म चल्छ ।

यसमा कयौँ विषयको परीक्षा एक पछि अर्को गर्दै दिइन्छ । सनेङलाई विश्वको सबैभन्दा गाह्रो परीक्षा हो । यसले विश्वविद्यालयमा भर्ना र जागिर मात्रै होइन भावी सम्बन्धहरुलाई पनि निर्धारित गर्छ । परीक्षामा विद्यार्थीहरुले ध्यान लगाउन सकुन् र उनीहरुको एकाग्रता भंग नहोस् भनेर दक्षिण कोरियाले हवाई क्षेत्र बन्द गर्ने शेयर बजार खुल्ने समयमा ढिलाई गर्ने लगायत अनेकौँ उपायहरु अपनाउने गरेको छ । यो वर्षको परीक्षाको नतिजा डिसेम्बर ८ मा सार्वजनिक गरिएको थियो ।

मंगलबार दर्ता भएको मुद्दामा कम्तीमा पनि ३९ विद्यार्थीले राजधानी सोलमा पहिलो विषयको परीक्षामा छिटो घण्टी बजेको दाबी गरेका छन् । केही विद्यार्थीहरुले तत्कालै विरोध गरेका थिए । तर सुपरीवेक्षकहरुले आफ्नो कपी खोसिहालेको उनीहको भनाई छ । शिक्षकहरुले अर्को विषयको परीक्षा सुरु हुनुअघि आफ्नो गल्ती महसुस गरेर लञ्च ब्रेकमा डेढ मिनेटको समय पनि दिएका थिए ।

यो घटनाका कारण आफूहरुले अरु विषयको परीक्षामा ध्यान लगाउन नसकेको विद्यार्थीहरुको भनाई छ । केही त परीक्षा छाडेर घर फर्किए । चाँडै घण्टी बजेको भन्दै दक्षिण कोरियामा मुद्दा परेको यो पहिलो पटक भने होइन । यसअघि सोलको एउटा अदालतले सन् २०२१ को सनेङ परीक्षामा २ मिनेट छिटो घण्टी बजेको भन्दै मुद्दा हाल्ने विद्यार्थीहरुलाई ७० लाख वन दिने निर्णय गरेको थियो ।

 

डडेल्धुरा पुष ४,  

: डडेल्धुराको आइतबजार नजिक जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। बुधबार बेलुका जिल्ला सदरमुकामको बागबजारदेखि भागेश्वर गाउँपालिकाको बगरकोट जोड्ने सडकमा सुदूरपश्चिम प्रदेश ०४ ००१ च १८८ नम्बरको जिप दुर्घटना भएको हो।

दुर्घटनामा चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुसुम नायकले जानकारी दिए। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ। दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ।

 

४ पुस, काठमाडौं ।

सरकारी सवारी साधनमा आगामी फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल सरकारका मन्त्रालयहरुलाई पत्र लेख्दै फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले १ मंसिर २०७९ मै सरकारी कार्यालयहरुलाई पत्र लेखी इम्बोस्ड नम्बर जडान गर्न भनेको थियो ।

तर, अधिकांश सरकारी तथा सार्वजनिक संस्थानका सवारी साधनले इम्बोस्ड नम्बर जडान नगरेका कारण अल्टिमेटम तोक्नु परेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले २८ मंसिरमा सो मिति तोकेर अन्य मन्त्रालयहरुलाई कार्यान्वयनका लागि पत्र काटेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्था हुने तथा दर्ता कायम रहेका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने गरी २२ कात्तिक २०७८ मा राजपत्रमा सूचना प्रकाशन भएको थियो ।

पुस ४,काठमाडौँ

युएईबाट आएको जहाजको शौचालयमा शिशुको शव फेला परेको छ।

सारजहाबाट बुधबार बिहान आएको एयर अरेवियाको जहाजको शौचालयमा शिशुको शव फेला परेको हो।

जहाजबाट सबै यात्रु निस्किएपछि सरसफाइका कर्मचारीले शौचालयमा सालनालसहितको शिशु फेला पारेका थिए। लगतै प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले तत्काल त्रिवि शिक्षण अस्पताल लगेपनि अस्पतालले मृत घोषणा गरेको थियो।

अनुसन्धानका क्रममा उक्त शिशु सोही जहाजमा आएकी नवलपरासीकी एक महिलाको भएको खुलेको छ। करिव साढे तीन वर्ष पहिले रोजगारीका लागि गएकी महिलाले शिशु फालेको खुलेको हो। उनलाई विमानस्थल कार्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको छ।

महिलालाई उपचारका लागि केएमसी अस्पताल सिनामंगलमा भर्ना गरिएको प्रहरीले जनाएको छ। घटनाको गौशला वृत्तले अनुसन्धान थालेको छ।

महिला प्रसव पीडामा रहेकाले अहिले उनको उपचार भइरहेको र थप अनुसन्धान उनी डिस्चार्ज भएपछि हुने काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।