पुष ०५ गते
मौलापुर नगरपालिकाले विपन्न परिवारलाई निशुल्क विद्युत उपलब्ध गराएको छ। ‘फ्री बिजुली, फ्री पानी’कार्यक्रमअन्तर्गत घरेलु तथा कृषि सिंचाई मिटरको सम्पूर्ण विद्युत महशुल नगरपालिकाले भुक्तानी गरेको हो।
मेयर रीना कुमारी साहले यस आर्थिक वर्षको मंसिरसम्मको २ करोड ६६ लाखको चेक विद्युत प्राधिकरण मौलापुर शाखा प्रमुख दिनेश यादवलाई बुझाएकी हुन् । मेयर साहको पहलमा करिब चार वर्ष अघिदेखि सुरू भएको यो कार्यक्रमले विपन्न परिवारलाई ठूलो राहत पुगेको बताइएको छ ।
पुस ०५ गते
सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्न माग गरिइएको छ । उपमहानगरपालिकाका बहुमत कार्यपालिका सदस्यको बैठकले राजपत्रमा प्रकाशित भइसकेको उक्त कार्यविधि खारेज गर्ने निर्णय गरेपछि जग्गासम्बन्धी कार्यविधि विवादमा पनि परेको हो । कार्यपालिका बैठकमा उपमहानगर प्रमुख गोपाल हमालले पर्याप्त छलफल र पारित नभइकनै एकलौटी ढङ्गले उक्त कार्यविधि राजपत्रमा प्रकाशन गर्न लगाएको जनाउँदै कार्यपालिकाका बहुमत सदस्यले विरोध गरेका छन् । “मङ्सिरमा बसेको कार्यपालिका बैठकमा उक्त विषयमा छलफल हुन नपाई गरिएको निर्णयले कार्यपालिकाको अर्थ रहेन”, कार्यपालिका सदस्य एवं वडाध्यक्ष मानबहादुर विष्टले भने, “कार्यविधिलाई गहनरूपमा अध्ययन, छलफल गरेर अर्को बैठकबाट पारित गर्नुपर्छ भन्ने आफूहरूको सुझाव थियो, तर प्रमुख हमालबाट पर्याप्त छलफल र कसैको पनि सहमतिबिना भोलिपल्टै कार्यविधिलाई राजपत्रमा प्रकाशित गर्ने काम भएको छ ।” उपमहानगरपालिकाका वडाध्यक्षसहितका २७ कार्यपालिका सदस्यको बैठकले उक्त कार्यविधि खारेजीको निर्णय गरेको उनले बताए । कार्यविधिलाई खारेज गर्नुपर्ने निर्णयसम्बन्धी प्रस्ताव उपमहानगरपालिकाको सचिवालयमा आज दर्ता गराएको छ । प्रमुख हमालले भने आफ्नो फेसबुक पेजमार्फत आफूविरुद्ध गुटबन्दी भएको भन्दै निर्णयबाट पछि नहट्ने बताएका छन् ।
उपमहानगरपालिकाले ल्याएको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० मा नयाँ प्लटिङ गर्दा सडकको चौडाइ कम्तीमा १० मिटर हुनुपर्ने व्यवस्था गरिएको छ । जग्गा प्लटिङ गर्न इजाजत पाएको जग्गामा १० मिटर चौडा बाटो, सडकको दुवैतर्फ नाला निर्माण, विद्युत् पोलको व्यवस्था, तार जडान, पुलेसा निर्माण, ट्रान्सफर्मर जडान र खुला जग्गा अनिवार्य राख्नुपर्ने तोकिएको छ ।
कार्यविधिमा नयाँ जग्गा प्लटिङ गर्दा सडकको घुम्ती वा मोडको अर्धव्यास बाटोको चौडाइभन्दा २० प्रतिशतले बढी हुनुपर्नेलगायतका मापदण्ड पनि तोकिएको छ । सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०८०, बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को आधारमा उपमहानगर क्षेत्रको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० बनाएको बताइएको छ ।
कार्यविधि राजपत्रमा प्रकाशन भएलगत्तैबाट धनगढीका जग्गाधनी र व्यवसायीले यस्तो कार्यविधिबाट जग्गाधनीको उठीबास हुने र यसबाट गम्भीर समस्या निम्तिने जनाउँदै विरोध गरेका छन् । उनीहरूले यो कार्यविधि खारेज गर्न सङ्घर्ष समिति गठन गर्नुका साथै निर्णयविरुद्ध अदालतसम्म पुग्ने निर्णय पनि गरेका छन् ।
काठमाडौँ पुस ५,
काठमाडौँ उपत्यकामा आज (बिहीबार) यो वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको हो।
‘यो न्यूनतम तापक्रम यो वर्षको हालसम्मकै कम हो’, उनले भने।
यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८४५ बजे आउने उनले बताए। ‘त्यतिबेला अझ केही प्वइन्ट घट्छ कि’, उनले भने।
हिजो बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने यसअघि योभन्दा माथि थियो।
यस्तै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसभित्र रहने अनुमान रहेको मौसमविद् अधिकारीले बताए।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।
देशभरकै तापक्रम दिनप्रतिदिन ओरालो लाग्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन्।
मौसमविद् अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा अहिले हुस्सु पनि लागिरहेको छ। ‘उपत्यकामा बिहान ५ बजेदेखि हुस्सु लागिरहेको हो’, उनले भने, ‘अहिले यहाँको भिजिबिलिटी (पारदर्शिता) ५ किलोमिटर छ, अझै हुस्सु बढेर भिजिबिलिटी घट्ने सम्भावना छ।’
मौसमविद् अधिकारीका अनुसार बिहान ९ बजेदेखि भने घाम लाग्ने र हुस्सु हट्दै जाने सम्भावना छ।
यतिबेला काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहेको मौसमविद् अधिकारीले बताए।
‘माथि-माथि अलि-अलि बादल लागेको छ, तर यो पानी पार्ने खालको बादल होइन’, उनले भने, ‘आज दिनभर काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीकै अवस्थामा रहने अनुमान छ।’ मौसम आंशिक बदली हुँदा घाम लाग्छ।
पुस ०५, गते
नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन आज हुँदै छ । प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो ।
प्रदेश राजधानी जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरूले पनि सभालाई सम्बोधन गर्नेछन् ।
सहमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरी मधेसकै हुन् । त्यस्तै, पूर्वउपसभापति विमलेन्द्र निधिको गृह प्रदेश समेत हो । सम्मेलनमा पार्टीका प्रतिपक्षी नेता शेखर कोइराला भने सहभागी नहुने भएका छन् ।
यसअघि लुम्बिनी र गण्डकी प्रदेशका सम्मेलनमा निरन्तर सहभागी कोइराला बिहीबार भने प्रदेश सम्मेलन छोडेर सुनसरीमा हुने कार्यक्रममा सहभागी हुन जाँदैछन् । प्रदेश कार्यसमितिले कोइरालालाई विशेष अतिथिका रुपमा नबोलाएपछि उनीनिकट नेताहरूले प्रदेश कार्यसमितिको बैठकमै नोट अफ डिसेण्ट लेखेका थिए ।
बिहीबार हुने मधेस सम्मेलनमा नेता कोइराला सहभागी नहुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी गराएका छन् ।
‘मिति ०८० पौष ५ गते बिहीबार कांग्रेस सुनसरीको बृहत् कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न नेता डा। शेखर कोइराला त्यसतर्फ जानुहुने जानकारी गराउँदछु,’ थपलियाले सामाजिक सञ्जालमा लेखेका छन् ।
मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले भने बिहीबारदेखि हुने प्रदेश सम्मेलनका लागि केन्द्रीय कार्यसमितिका सभापतिसहित पदाधिकारी र केन्द्रीय समितिका नेताहरूलाई निमन्त्रणा गरिएको बताए । ‘पार्टीको निर्वाचित केन्द्रीय कार्यसमिति छ । हामीले केन्द्रीय समितिका पदाधिकारीसहित अन्य केन्द्रीय सदस्यहरूलाई पनि निमन्त्रणा गरेका छौँ,’ उनले भने, ‘सभापतिजी, उपसभापतिजी र पदाधिकारीहरू आउनुहुन्छ, अरूको विषयमा थाहा भएन ।’ सम्मेलनमा मधेस प्रदेशका आठ जिल्लाबाट आठ सय २५ जना प्रदेश प्रतिनिधिहरू सहभागी हुनेछन् । सभार रातोपाटी
पुस ५, गते
सरकारले युक्रेनी सेनाको कब्जामा रहेका चार जना नेपालीको रिहाइका लागि कुटनीतिक पहल थालेको छ । अस्ति मङ्गलवार युक्रेन मामिलासमेत हेर्ने जिम्मेवारी पाएको जर्मनीको नेपाली दूतावासले त्यहाँ रहेको युक्रेनी पक्षसँग यस विषयमा कुरा गरेको हो ।
भेटमा युक्रेनी पक्षले नेपालीहरु कब्जामा रहेकोबारे औपचारिक जानकारी प्राप्त नभएको र नेपाली युद्धबन्दी भएमा रिहाइको पहल हुने आश्वासन दिएको छ । परराष्ट्र मन्त्रालयले उनीहरुको रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र अरु कुटनीतिक माध्यमहरुबाट पनि पहल भइरहेको जनाएको छ ।
बर्दियाका विवेक खत्री, काभ्रेका सिदार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुन युक्रेनी सेनाको कब्जामा रहेका मन्त्रालयले पुष्टि गरेको छ ।
यसैबीच रुसी सेनामा कार्यरत रहेर ज्यान गुमाउने नेपालीको सङ्ख्या ७ पुगेको छ ।
रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको ज्यान गएसँगै ज्यान गुमाउने नेपालीको सङ्ख्या ७ पुगेको हो । पछिल्लो पटक परराष्ट्र मन्त्रालयले नेपाली राहदानी भएका कुन्दन सिंह नागलको ज्यान गएको जनाएको हो ।
मन्त्रालयका अनुसार नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भएर निधन भएका नेपाली नागरिकहरुको शव नेपाल पठाउन र घाइतेलगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनः आग्रह गरिएको छ ।
यस्तै, मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल फर्काउन राजदूतमार्फत रुसी सरकारलाई आग्रह पनि गरेको छ । सभार उज्यालो
०५ पुस
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज काठमाडौं रेज्र्स एफसी र वीरगन्ज युनाइटेड एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । खेल दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।
यसअघि हिजो साँझ भएको खेलमा झापा एफसीले धनगढी एफसीलाई पराजित गरेको थियो । झापाले धनगढीमाथि २–० गोलको जित निकाल्दै विजयी भएको हो । झापाका लागि अञ्जन विष्ट र समिराज ठोकरले गोल गरे ।
यो जितसँगै झापा सात खेलमा १० अङ्कसहित अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छभने हारसँगै समान सात खेल खेलेको धनगढी १२ अङ्कका साथ अङ्क तालिकामा दोस्रो स्थानमा छ । सभार रातोपाटी
पुष,०५
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा गएराति ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । राडी बजारबाट घर्तीगाउँ जाँदै गरेको ट्याक्टर वडानम्बर(१० मा दुर्घटना भएको नगरप्रमुख रबि केसीले जानकारी दिनुभयो
उहाँका अनुसार कोट इर्जाखोला नजिकै भएको दुर्घटनामा अन्य ८ जना व्यक्ति घाइते भएका छन् । दुर्घटना लगत्तै घटनास्थलमा एम्बुलेन्स, प्रहरी र नगरप्रहरी खटिएको नगरप्रमुख केसीले बताउनुभएको छ । सभार नेपाल टेलिभिजन
४ पुस, जनकपुरधाम ।
नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन बिहीबार जनकपुरधाममा सुरु हुँदैछ । जनकपुरधामको तिरहुतियागाछीमा हुने प्रदेश सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।
सम्मेलनको उदघाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने छन् । उनीसँगै अरु शीर्ष नेता पनि सम्मेलनमा सहभागी हुन आउने उनले बताए ।
बुधबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सभापति यादवले बिहीबार उद्घाटन सत्र र शुक्रबार बन्द सत्र सञ्चालन हुने जानकारी दिए । उदघाटन सत्रमा मधेश प्रदेशको आठवटै जिल्लाबाट नेता कार्यकर्ता सहभागी हुनेछन् । बन्दसत्रमा भने ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन बुधबार बसेको मधेश प्रदेश समितिको पूर्ण बैठकबाट पारित भएको छ ।
तनहुँ पुस ४,/
–इलाका प्रहरी कार्यालय आँबुखैरनीले १९५ थान लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले डाइजेपाम, फेनेरागन र नुफिन गरी ६५ एम्पु लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चितवन रत्ननगर नगरपालिका–३ निवासी ३६ वर्षीय कृष्णबहादुर लोप्चनलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा सवारी साधन जाँच गर्ने क्रममा प्रहरीले लोप्चनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।
सिन्धुलीबाट पोखरातर्फ गइरहेको बसमा सवार लोप्चनले लुकाइछिपाइ ल्याएको लागुऔषध बरामद भएको हो ।
प्रहरीले अभियुक्तलाई तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर हिरासतमा राखेको छ । निजमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।
काठमाडौं पुष ४ ।
रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी पाएको परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।
मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ ।
त्यसैगरी, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन राजदूत मार्फत रुसी सरकारलाई पुन:अनुरोध गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरुको अवस्थाका बारेमा यथाशीघ्र जानकारी गराउन पनि मन्त्रालयले रुसी सरकारलाई आग्रह गरेको छ ।
रुस युक्रेन युद्धमा संलग्न ४ जना नेपाली बन्दी अवस्थामा रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । बर्दियाको राजापुर गाउँपालिका-१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका-२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका-८ का प्रतिक पुन बेपत्ता छन् ।
युक्रेनमा बन्दी बनाइएका यी चार जनालाई फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको छ । साथै उनीहरुको रिहाइ र नेपाल फिर्तीको लागि रेडक्रसको अन्तर्राष्ट्रिय संस्था र अरु माध्यमबाट पनि कुटनीतिक पहल गरिएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न बाहेक अरु नेपालीले रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर लिएर मात्र जान आग्रह गरेको छ । नो अब्जेक्सन लेटर परराष्ट्रको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिन्छ ।
नेपालबाट मात्र नभई भारत, बंगलादेश, श्रीलंका, संयुक्त अरव इमिरेट्स, साउदी अरविया, कुवेत, कतार र बहराइनबाट रुस यात्रा गर्दा पनि ती देशमा रहेका नेपाली राजदूताबास तथा महावाणिज्यदूताबासबाट नो अब्जेक्सन लेटर लिएर मात्र यात्रा गर्न परराष्६र मन्त्रालयले आग्रह गरेको छ ।