२०८३ भाद्र १
२०८३ भाद्र १

काठमाडौं, २९ माघ ।

चितवनको माडी नगरपालिका–९ बाँदरझुला (हनुमानझुला)मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघिनै साढे २ करोड रुपैयाँ बजेट विनियोजन गरी टेण्डर आह्वान गरेको थियो । तर, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलले आफ्नो मध्यवर्ती क्षेत्रमा रहेको अव्यवस्थित बस्तीलाई प्रोत्साहन गरी अतिक्रमणलाई बढावा मिल्ने गरी कुनै योजना सञ्चालन नगर्न पत्राचार गरेपछि  विद्युतीकरणका लागि गरिएको टेण्डर प्रक्रिया रोकिएको थियो । निकुञ्जले बाँदरझुला क्षेत्रमा कुनै योजना सञ्चालन नगर्न र विनाअनुमति गरेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन,२०२९ र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली,२०५२ बमोजिम कारबाही हुने जानकारी गराएको थियो । चितवनको बिकटमा पर्ने बाँदरझुला क्षेत्र पर्साको ठोरी र भारतीय सीमासँग जोडिएको क्षेत्र हो ।


चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्र दावी गरेको बाँदरझुलामा  करिब ८ सय घरपरिवारका ३ हजार पाँच सयजनाभन्दा बढी जनसङ्ख्या बसोबास गर्दै आएका छन् । निकुञ्चले भने आफ्नो क्षेत्र अतिक्रमण गरेर बस्ती बसेकाले उक्त बस्तीलाई अन्यत्रै स्थानान्तरण गर्नु पर्ने बताउँदै आएको छ । उक्त क्षेत्रमा २०४७ साल कात्तिकबाट बसेकाले वर्षोंदेखि आफूले भोगचलन गर्दै आएको जग्गामा स्थानीयले आफ्नो दावी गर्दै आएका छन् । राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न नसकेपछि केहीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका छन् । उक्त क्षेत्रभन्दा करिब २ किलोमिटर दूरीमा पर्ने पर्साको ठोरीसम्म विद्युत् पुगिसकेको छ ।


विद्युतीकरणको समस्या देखिएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, हेटौंडा प्रदेश डिभिजन कार्यालयका प्रमुख, चनौली वितरण केन्द्र प्रमुखलगायत सम्मिलित टोलीले आइतबार बाँदरझुला क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीयहरुसँग अन्तक्रिया गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बाँदरझुला क्षेत्रमा विद्युत् पुर्याउन बजेट विनियोजन गरी काम गर्न टेण्डर आह्वान गरी प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा निकुञ्जको कानुनी व्यवस्था र प्रक्रियाका कारण विद्युतीकरण गर्न नसकिएको बताए ।  बाँदरझुलाको बस्ती स्थानान्तरण गरिएमा विद्युत्का संरचना पनि हट्ने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले घर/बस्ती भएको क्षेत्रमा विद्यु्त् पुर्‍याउनु प्राधिकरणको दायित्व भएकाले यसका लागि बजेट सुनिश्चित गरी प्रारिम्भिक काम भइसकेको बताए ।

 

‘विदेशी शरणार्थीलाई त राज्यले न्यूनतम सुविधा दिनु पर्छ भने आफ्नै देशका नागरिकलाई विद्युत्जस्तो आधारभूत सुविधाबाट बञ्चित गर्न मिल्दैन, बस्ती स्थानान्तरण गर्ने नगर्ने/राज्यको विषय होला, पूर्ण विद्युतीकरण गर्न लागिरहेको अवस्थामा  घर÷बस्ती भएको त्यसमा पनि गर्मी हुने ठाउँमा बसिरहेका नागरिकलाई जसरी पनि विद्युत् उपलब्ध गराउनुपर्छ’, घिसिङले भने, ‘आगामी दिनमा बस्ती स्थानान्तरण गरिएमा विद्युतका संरचना सार्न सकिहालिन्छ, त्यसैले बाँदरझुलामा चाँडो विद्युत् पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

उनले बारामा प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका कारण जितपुर सिमरा उपमहानगरपालिका–१६स्थित टाँगियाबस्तीबा बासिन्दा पनि वर्षौंदेखि अँध्यारोमा बसिरहेको अवस्थामा पछि बस्ती हटाएमा विद्युत्का संरचना पनि सोहीअनुसार हुने गरी विद्युतीकरण गरिएको उल्लेख गरे ।


माडी नगरपालिका–९का वडाध्यक्ष घनश्याम दुवाडीले निकुञ्जले सहज रुपमा काम गर्न नदिंदा नदिंदै पनि  व्यवाहारिक रुपमा सङ्घ, प्रदेश र स्थानीय तहबाट बाँदरझुला क्षेत्रको विकासमा लगानी भइरहेकाले विद्युतीकरण तत्काल अगाडी बढाउन आग्रह गरे । उनले भने, ‘बाँदरझुलामा एउटा माध्यमिक, २ वटा आधारभूत विद्यालय,सशष्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट, स्वास्थ्य संस्था छन्, तर विद्युत् अभावमा विद्यालयका विज्ञानप्रयोगशाला र स्वास्थ्य चौकीमा स्थापना गरिएको वर्थिङ सेन्टर (प्रसूति गृह) सञ्चालन गर्न सकिरहेका छैनौं,त्यसैले तत्काल विद्युत् जोडिदिनु पर्छ ।’

स्थानीय बासिन्दा दिलिप विकले भारतसँग सीमा जोडिएको बाँदरझुलाबासीले विनावर्दीका सिपाइको रुपमा सीमा रक्षकको रुपमा काम गरिरहेको अवस्थामा मध्यवर्ती क्षेत्र घोषणा हुनुभन्दा पहिलेको बस्तीलाई स्थानान्तरणका नाममा विद्युत् सुविधाबाट वञ्चित गराइएको बताए । न्युज कारखाना

काठमाडौं, २९ फागुन ।

गृहमन्त्रालयले १ फागुनका लागि तय गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ ।

१ फागुनको सार्वजनिक बिदाबारे आममानिसमा अन्यौल भइरहेका बेला सोमबार गृहमन्त्रालयले उक्त दिनको बिदा कायम नरहेको स्पष्ट पारेको छ ।

सरकारले १ फागुनमा जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने निर्णय गरे पनि उक्त निर्णयलाई सर्वाेच्च अदालतले खारेज गरिदिएपछि बिदा कायम नरहेको हो ।

 

‘सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल मन्त्रिपरिषद्को मिति २०८०÷१०÷२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९÷१२÷०२) मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ,’ सोमबार गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । न्युज कारखाना

काठमाडौं, २९ माघ –

प्रहरीले सुनसरीबाट ठूलो परिमाणमा नक्कली नोट बरामद गरेको छ।

 

भारतबाट नेपाल आएको स्कारपियोबाट प्रहरीले एक करोड ८२ लाख ५१ हजार रुपैयाँ बरामद गरेको हो।

 

इनरुवा नगरपालिका-४ सुनसरी खोलाको पुलनजिकबाट आइतबार साँझ प्रहरीले नक्कली नोट बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक विपीन रेग्मीले बताए।

 

बिआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको चेकजाँच गर्दा स्कारपियोको पछाडिको भागमा लुकाएर ल्याइएको नक्कली नोट बरामद भएको उनले बताए।

 

गाडी चालक भारत सुपौलका २२ वर्षीय मोहम्मद सैयदलाई पक्राउ गरिएको रेग्मीले बताए। उक्त स्कारपियो भारतको कुन ठाउँबाट आएको हो भन्नेबारे अनुसन्धान भइरहेको रेग्मीले बताए।

 

‘ट्राफिक प्रहरीले चेकजाँचका क्रममा रोक्दा शंका लागेर हेर्दा नक्कली नोट बरामद भएको हो,’ रेग्मीले भने। बोराभित्र झोलामा लुकाएर र ल्याइएको अवस्थामा नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

 

प्रहरीले नक्कली नोटबारे पत्रकार सम्मेलन गरी सोमबार दिउँसो जानकारी दिने जनाएको छ। न्युज कारखाना

काठमाडौं, २९ माघ ।

राष्ट्रियसभा बैठक बस्दैँछ ।

 

संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्न लागेको हो । बैठक आज बिहान ११ बजेबाट सुरु हुदैँछ ।

आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७९÷८० पेस गरिने छ भने सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ ।

 

साथै,  शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ । न्युज कारखाना

वासिंगटन डिसी, २९ माघ ।

पछिल्लो समयमा भारतीय नागरिकहरू अमेरिकामा बस्न निकै रुचाउँछन्।

 

हालै एक रिपोर्टमा सन् २०२३ मा ५९ हजारभन्दा बढी भारतीयले अमेरिकी नागरिकता पाएको देखिएको छ ।

यसलाई हेर्दा अमेरिकाले भारतप्रति निकै दयालु व्यवहार गरेको छ । एक रिपोर्टका अनुसार सन् २०२३ मा सबैभन्दा बढी मेक्सिकन नागरिकले अमेरिकी नागरिकता लिएका छन् भने भारत यो सूचीमा दोस्रो स्थानमा परेको छ ।

 

युएससीआईएसको रिपोर्ट अनुसार सन् २०२३ मा विश्वभरबाट करिब ८.७ लाख मानिसले अमेरिकी नागरिकता लिएका छन् । जसमध्ये १ लाख १ हजार मेक्सिकन र ५९ हजार १ सय भारतीय नागरिक छन् । यो सूचीमा फिलिपिन्स र डोमिनिकन रिपब्लिक तेस्रो र चौथो स्थानमा छन् ।

 

अमेरिकी नागरिकता  प्राप्तीका लागि एक आवेदकले अध्यागमन र राष्ट्रियता ऐन (आईएनए) मा तोकिएका केही योग्यता आवश्यकताहरू पूरा गर्नुपर्छ।

 

अमेरिकी नागरिकता प्राप्त गर्न सामान्यतया कम्तिमा ५ वर्षको लागि कानूनी स्थायी निवासी हुनु समावेश छ। युएससीआईएस प्रतिवेदनले बताउँछ कि त्यहाँ अन्य विशेष प्राकृतिकीकरण प्रावधानहरू पनि छन्। पति वा पत्नी अमेरिकी भए वा सेनामा आवेदन दिने कोही सैनिक सेवामा संलग्न भएमा त्यस्ता व्यक्तिले पनि केही सहुलियत पाउँछन् ।

 

युएससीआईएसको रिपोर्ट अनुसार सामान्यतया एक गैर–नागरिकले स्थायी बासिन्दाको हैसियतको लागि योग्य हुन वैध स्थायी बासिन्दाको रूपमा कम्तिमा ५ वर्ष बिताउनु पर्छ, जबकि अमेरिकी नागरिकको पति र पत्नीले वैध स्थायी बासिन्दाको रूपमा कम्तिमा कम्तिमा ३ वर्ष बिताउनु पर्छ ।

 

यो उल्लेखनीय छ कि अमेरिका भारतीयहरूको पहिलो रोजाइ हो। धेरै भारतीयहरूले अमेरिकामा आफ्नो प्रभुत्व स्थापित गरेका छन्। संसारभरका सबै आईटी कम्पनीहरू अमेरिकामा मात्र छन्। न्युज कारखाना

काठमाडौं, २९ माघ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेल्दै छ ।

 

यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् ।

 

यस अघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले र दोस्रो खेल ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो ।

 

नेपालले अब अन्तिम खेलमा जित हासिल गरेर सिरिज क्लीन स्वीप गर्ने प्रयास गर्ने छ भने क्यानडाले सिरिजमा सान्त्वना जित हासिल गर्ने प्रयास गर्ने छ ।

 

यस खेलबाट नेपालका हेमन्त धामीले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्दै छन् । आजको खेलमा नेपालले कुल चार परिवर्तन गरेको छ । नेपालले सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेखलाई बाहिर राखेर उनीहरुको ठाउमा आरिफ शेख, ललित राजवंशी, कुशल भुर्तेल र हेमन्त धामीलाई टिममा समावेश गरेको छ ।

 

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल भुर्तेल, देव खनाल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी र ललित राजवंशी । न्युज कारखाना

काठमाडौं, २९ माघ ।

एक करोड ८२ लाख ५१ हजार नक्कली नोटसहित प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडी नियन्त्रणमा लिएको छ।

सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो।

आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद गरिएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले बताए। नक्कली नोटसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएको छ।

सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेकोमा शंका लागेपछि खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोट बरामद भएको रेग्मीले बताए।

बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन्।

गाडीमा सवार अर्का व्यक्ति भने फरार छन्। गाडी भारतबाटै आएको देखिएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। न्युज कारखाना

दोहा, २९ माघ ।

जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाएका भारतीय नौसेनाका ८ जना पूर्व कर्मचारीलाई कतारले रिहा गरेको छ ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको भारत सरकारले ठूलो कूटनीतिक जित हासिल गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

 

यसअघि नयाँ दिल्लीको कूटनीतिक हस्तक्षेपपछि दोहाले भारतीय नौसेनाका पूर्व कर्मचारीको मृत्युदण्डको सजायलाई रोकेर जेलमा राखेको थियो । तर, कतारका अमिरको आदेशमा भारतीयलाई रिहा गरिएको हो ।

 

यसअघि आठ भारतीयलाई मृत्युदण्ड दिइएको थियो । पुनरावेदनपछि मृत्युदण्डको सजाय ५ देखि २५ वर्षसम्म कैदमा परिणत भएको थियो । दोस्रो पुनरावेदनको सुनुवाई चलिरहेको बेला कतारका अमिरको आदेशमा उनीहरूलाई रिहा गरिएको हो । रिहा लगत्तै त भारतीय स्वदेश फर्किएका छन् । भारतले कतारका अमिरलाई धन्यवाद दिएको छ ।

 

आठ पूर्व नौसेना कर्मचारीहरू अगस्त २०२२ मा जासुसीको आरोपमा पक्राउ परेका थिए र कतारी अदालतले अक्टोबरमा उनीहरूलाई मृत्युदण्डको सजाय सुनाएको थियो। यी सबै भारतीय नागरिक दहरा ग्लोबल कम्पनीमा काम गर्दै आएका थिए ।

यसअघि कतारको अदालतले उक्त मुद्दामा आठ पूर्व सैनिकको मृत्युदण्डको सजाय घटाएर विभिन्न अवधिको जेल सजाय तोकेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेकाे थियाे । निर्णयको स्पष्टीकरण दिँदै परराष्ट्र मन्त्रालयले भन्यो,  ‘दहरा ग्लोबल मुद्दामा कतारको पुनरावेदन अदालतको आजको फैसलालाई हामीले ध्यानमा राखेका छौं, जसमा सजाय घटाइएको छ ।’ परराष्ट्र मन्त्रालयले पनि उक्त मुद्दामा विस्तृत निर्णय आउन बाँकी रहेको र कतारमा रहेको कानूनी टोलीसँग घनिष्ठ सम्पर्कमा रहेको बताएको थियो ।

 

परराष्ट्र मन्त्रालयका नवनियुक्त प्रवक्ता जैसवालले कतारको सर्वोच्च अदालत ‘कोर्ट अफ क्यासेशन’ मा पुनरावेदन गर्न आफूले ६० दिनको समय पाएको बताएका थिए । राज्य विभागको कानूनी टोलीसँग मृत्युदण्डको सजायलाई जेल सर्तमा रूपान्तरण गर्ने विवरण दिने गोप्य अदालतको आदेश पनि छ। कतारको अदालतले २८ डिसेम्बर २०२३ मा मृत्युदण्डको सजायलाई जेलमा परिणत गर्ने निर्णय गरेको थियो ।

 

रिहा भए लगत्तै उनीहरू भारत फर्किएका छन् । न्युज कारखाना

काठमाडौं, २९ माघ ।

नेकपा माओवादी केन्द्र कोशी प्रदेश कमिटीका कोषाध्यक्ष गगन भनिने रेवतराज पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतले आइतबार फैसला गर्दै पुरीलाई मुद्दामा कसुरदार ठहर गरेको हो। उनको सजाय निर्धारणका लागि अर्को इजलास बोलाइने विशेष अदालतले जनाएको छ।

विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरीलाई दोषी ठहर गरेको हो।

पुरीविरूद्ध २०७७ माघमा १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगोसहित विशेष अदालतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

पुरीले ३० बिगाहा सरकारी जग्गा किर्ते गरी आफ्नो नाममा पारेर विभिन्न व्यक्तिहरूलाई बेचबिखन गरेर सम्पत्ति बढाएको आरोप लागेको थियो। उक्त विषयमा सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विशेष अदालतमा पुरीसहित उनकी श्रीमती केशावती, दिदी मनमाया, नातेदार देवकुमार, कृष्णकुमार र संगीता पुरीविरुद्ध पनि मुद्दा दायर भएको थियो। विशेष अदालतले उनीहरू सबैलाई कसुरदार ठहर गरेको विशेष अदालतले जनाएको छ।

विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा चलिरहेकै बेला उनी झापाको क्षेत्र नम्बर ५ को प्रदेश सभा (२) बाट उम्मेदवार बनेका थिए।

पुरीमाथि विभागले १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगो माग्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा विचाराधीन भएको अवस्थामै पुरीलाई टिकट दिएर माओवादीले पुरस्कृत गरेको थियो।

पुरीसँगै विभागले उनकी श्रीमती केशावती, दिदी मनमाया, नातेदार देवकुमार र संगीता पुरीविरूद्ध पनि मुद्दा दायर गरेको थियो।

केशावतीविरूद्ध १२ करोड १३ लाख ६२ हजार रुपैयाँ बिगो मागिएको छ। दिदी मनमायाविरूद्ध ९९ लाख ४ हजार रूपैयाँ बिगो मागिएको थियो।

देवकुमार पुरीविरूद्ध ४६ लाख २४ हजार रुपैयाँको बिगो छ। सम्पत्ति जफत प्रयोजनका लागि संगीताविरूद्ध मुद्दा दायर भएको थियो।

दमक नगरपालिका-८ (साबिक १३ र १४) मा रहेको ३४ बिगाहा सरकारी जग्गा पुरीले आफू, श्रीमती, दिदी र आफन्तका नाममा ल्याएको विभागको अनुसन्धानमा देखिएको छ।

त्यसमध्ये ३० बिगाहा जग्गा बिक्री गरिसकेको पाइएको एक अनुसन्धान अधिकृतले बताए। बाँकी चार बिगाहा जग्गा रोक्का राख्न मालपोतलाई चिठी लेखिएको उनले जानकारी दिए।

पुरीले २०६६ सालयता सरकारी जग्गा किर्ते गरी आफ्नो र आफन्तको नाममा ल्याएर बिक्री-वितरण गरेको विभागको अनुसन्धानले देखाएको छ। मुद्दामा सरकारी जग्गा बेचेर आर्जित र बढे बढाएको केही सम्पत्ति जफत गर्न माग गरिएको थियो।

विभागका अनुसार पुरीकी श्रीमती केशावतीको नाममा रहेको ११ हजार ८४६ वर्गमिटर जग्गा, दुई वटा घर, बा १५ च ७०७६ नम्बरको गाडी, देवकुमारको नाममा रहेको ३९१ वर्गमिटर जग्गा, उनको नामको घर, संगीता र कृष्णकुमार पुरीको नाममा रहेको बिर्तामोडको ३५९३.५२ वर्गमिटर जग्गा जफत गर्न माग गरिएको थियो। न्युज कारखाना

काठमाडौं, २९ माघ ।

आर्टिफिसियल इन्टेलिजेन्सको संसार द्रुत गतिमा विकसित हुँदैछ र दिग्गजहरू बीच आमनेसामने टकरावको चरणबाट गुज्रिरहेको छ।

 

एप्पल र माइक्रोसफ्ट जस्ता विश्वका ठूला कम्पनीहरूदेखि लिएर एलन मस्क र मार्क जुकरबर्गजस्ता विश्वका ठूला अरबपतिहरूसम्म सबैजना एआईको संसारमा आफ्नो प्रभुत्व बढाउन प्रयास गरिरहेका छन्। यस दौडमा अगाडि बढ्न एप्पलले आक्रामक अभियान सुरु गरेको छ ।

 

स्टैटिस्टाकाे हालैको अध्ययनले देखाएकाे छ कि एप्पलले अन्य प्रतिस्पर्धीहरूको तुलनामा एआईमा खर्च निकै बढाइरहेकाे छ । एप्पलले धेरैजसो पैसा एआईमा काम गर्ने नयाँ कम्पनीहरू किन्नमा खर्च गरेको छ। अध्ययनका अनुसार एप्पलले २०२३ मा मात्रै ३० भन्दा बढी स्टार्टअप कम्पनीहरू अधिग्रहण गरेको थियो। माइक्रोसफ्ट, गुगल, मेटा, ओपनएआई आदि जस्ता एआई क्षेत्रका अन्य दिग्गजहरूको तुलनामा यो निकै आक्रामक रणनीति हो।

 

एआईकी दुनियामा अहिले ओपनईआईको प्रोडक्ट च्याट जीपीटीका दबदबा छ। पछिल्लो महिनामा एक स्टडीमा खुलासा भएको थियो कि च्याट जीपीटीको एकमात्र ५० भन्दा बढी एआई ट्राफिक मिलिरहेको छ। यो काउन्टर गर्नको लागि तमाम बिग टेक प्रयास गरिरहेछन्। विश्वको सबैभन्दा धनी ब्यक्ति एलन मस्क पनि एआईमा काम गरिरहेका छन र मार्क जुकरबर्गकाे मेटाले पनि एआईमा काम गरिरहेकाे छ ।

 

गुगलले भर्खरै आफ्नो एआई बार्डलाई जेमिनी नामको नयाँ अवतार दिएको छ र च्याट जिपिटीसँग प्रतिस्पर्धा गर्न नयाँ सदस्यता योजनाहरू सुरू गरिएको छ। माइक्रोसफ्टले को–पाइलट एआइ एप ल्याएको छ ।

 

एप्पल सुरुमा आर्टिफिसियल इन्टेलिजेन्सको दौडमा अन्य प्रतिस्पर्धीको तुलनामा पछि परेको थियो। यसको क्षतिपूर्तिको लागि एप्पलले इन हाउस आर एन्ड डिमामा काम बढायो र एआई स्टार्टअपहरू आक्रामक रूपमा किन्नको लागि रणनीति पनि बनायो, जस अन्तर्गत १२ महिना भित्र ३० भन्दा बढी एआई स्टार्टअपहरू खरिद गरेको छ । एप्पलले पनि आफ्नो एआई क्षमता विस्तार गर्न अझै धेरै काम गरिरहेकाे छ ।

 

यसअघि एप्पलले च्याट जिपिटी जस्ता आफ्नै एआई एपमा काम गरिरहेको बताएको थियो । तर, यस सम्बन्धमा हालसम्म कुनै ठोस अपडेट आएको छैन । स्टैटिस्टाको एक अध्ययन अनुसार एप्पल अधिग्रहणको सहयोगसँग आफ्नो पकड बलियो बनाउन कोशिस गरिरहेको छ, जस अन्तर्गत २०२३ मा ३० स्टार्टअपहरु खरिद गरिएको थियो।

 

टेक संसारका अन्य दिग्गजहरू पनि पछाडि छैनन्। गत वर्ष गुगलले २१ स्टार्टअपहरू प्राप्त गर्यो। जहाँ मेटाले १८ स्टार्टअपहरू र माइक्रोसफ्टले १७ स्टार्टअपहरू खरिद गरेका थिए । न्युज कारखाना

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।