२०८३ भाद्र १
२०८३ भाद्र १

तेल अहिब, ८ फागुन ।

इजरायली सेनाले दक्षिणी लेबनानको तटीय सहर गाजियाहमा कम्तिमा दुईवटा हवाई हमला गरेको छ ।

 

इजरायली सेना र लेबनानी सरकारी मिडियाका अनुसार इजरायली हमलामा के कति हताहत भए अहिलेसम्म खुलेको छैन ।

 

लेबनानी सशस्त्र समूह हिज्बुल्लाह र इजरायलले अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणको जवाफमा गाजामा आक्रमण सुरु गरे देखि सीमानामा  दैनिक गोलीबारी गर्दै आएका छन्।

 

‘इजरायली युद्धक विमानहरूले गाजियाह सहरमा आक्रमण गरे,’ राज्य संचालित राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले भनेको छ । थप विवरणहरू प्रदान नगरी एउटा गाडीलाई लक्षित गरी एम्बुलेन्सहरू घटनास्थलमा पुगेको तर सो हमलाबाट हताहत भए नभएको तत्काल स्पष्ट हुन सकेको छैन ।

 

यो सहर दक्षिणी बन्दरगाह सहर सिडोनबाट करिब ५ किलोमिटर (३ माईल) टाढा र इजरायलको सिमानाबाट करिब ६० किलोमिटर (३७ माइल) उत्तरमा अबस्थित रहेको छ ।

 

इजरायली सेनाका प्रवक्ता भने, “हामीले आज दिउँसो टिबेरियास क्षेत्र नजिकै भेटिएको शत्रुको जहाजको विस्फोटको प्रतिक्रियामा सिडोन नजिकै हिजबुल्लाह हतियार भण्डारहरूलाई निशाना बनायौं। हामी हिजबुल्लाह हमलाहरूको जवाफमा बलपूर्वक कार्य जारी राख्नेछौं। ”

 

हिजबुल्लाहबाट भने तत्काल कुनै प्रतिक्रिया आएको छैन।न्युज कारखाना

प्योङयाङ, ८ फागुन ।

उत्तर कोरियाली शाषक  किम जोङ उनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कार उपहार दिएका छन् ।

पुटिनले राष्ट्रपति उनलाइ ‘विशेष व्यक्तिगत सम्बन्ध’को कदरस्वरूप कार उपहार दिएको कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ।

 

रुसी निर्मित कारको निर्मित समय र मोडल खुलासा गरिएको छैन । तर, उत्तर कोरियाली नेताको व्यक्तिगत प्रयोगको लागी किमको बहिनी किम यो जोङ लगायतका शीर्ष सहयोगीहरूलाई फेब्रुअरी १८ मा डेलिभर गरिएको थियो ।

 

राज्य संचालित कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) का अनुसार किम यो जोङले विनम्रतापूर्वक पुटिन र रुसी पक्षलाई धन्यवाद दिएका छन । ‘यस उपहारले उत्तर कोरिया र रुसका शीर्ष नेताहरू बीचको विशेष व्यक्तिगत सम्बन्धको स्पष्ट प्रदर्शनको रूपमा काम गर्दछ र सबैभन्दा राम्रो हो,’  केसीएनएले भनेको छ ।

 

पुटिनको उपहारले प्योङयाङ विरुद्ध मस्को समर्थित संयुक्त राष्ट्र प्रतिबन्धहरूको उल्लङ्घन गरेको देखिन्छ, जसले उत्तर कोरियालाई सबै यातायात सवारीको आपूर्तिलाई निषेध गर्दछ।

 

किम उच्च स्तरका कारहरूको विस्तृत संग्रहको स्वामित्वमा रहेको विश्वास गरिन्छ । र, मर्सिडीज मेब्याक एस ६००, रोल्स रोयस फ्यान्टम र लेक्सस ५७० लगायतका लक्जरी मोडेलहरूमा यात्रा गरेको देखिन्छ।

 

सेप्टेम्बरमा रूसको सुदूर पूर्वको आफ्नो भ्रमणको क्रममा किमले पुटिनको राष्ट्रपतिको ओरस सिनेट लिमोसिनको प्रशंसा गरेका थिए र रूसी नेताले उनलाई पछाडिको सिटमा बस्न आमन्त्रित गरेका थिए ।न्युज कारखाना

 

काठमाडौं, ८ फागुन।

एसियन लाइफ इन्स्योरेन्सको फागुन १८ गते वार्षिक साधारण सभा बस्ने भएकोछ। सभामा कम्पनीले सेयरधनीहरूलाई ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्नेछ। सभा, होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे सुरु हुनेछ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्नेछ। साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेकोछ। त्यसैगरी, बोनस सेयर वितरणपश्चात कायम हुने पुँजीमा ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा पनि विशेष प्रस्ताव पेश हुनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले आज मंगलबार फागुन ८ गते बुक क्लोज गरेको छ।,फागुन ८ भन्दाअघिसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।न्युज कारखाना

काठमाडाैं, ८ फागुन ।

क्यानडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ टीमले पहिला फिल्डिङ गर्ने भएको छ ।

 

मुलपानी क्रिकेट मैदानमा क्यानडाविरुद्ध नेपाल ‘ए’ टीमका कप्तान सन्दीप जोराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

यो खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९ः ३० बजेदेखि शुरु हुने जनाइएकाे छ ।

यस अघि सम्पन्न पहिलो खेलमा क्यानडा– ११ ले नेपाल ए लाई ४ विकेटले पराजित गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ‘ए’ टिम बनाएर खेल शुरु गरेको पहिलो पटक हो ।

क्यानडाले पनि आफ्नो आगामी लिग-२ को तयारी स्वरूप नेपाल ए सँग खेलिरहेको छ ।

 

क्यानडाले यहि फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग-२ को यात्रा शुरु गर्दै छ । नेपाल ए र क्यानडाले तेस्रो खेल २२ फेब्रुअरीमा खेल्ने तालिका रहेको छ । त्यसपछि क्यानडा युएई जाने छ ।

क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ ।

नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् । न्युज कारखाना

काठमाडाैं, ८ फागुन ।

अनेसास पोर्चुगलले ८ औ अनेसास विश्व सम्मेलन, अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन विश्व नारी दिवसको अवसर पारेर मार्च ८- १० पोर्चुगलको लिस्बोनमा हुने भएकाे छ ।

 

 

नेपाली भाषा साहित्यको सबैभन्दा ठुलो सञ्जाल रहेको संस्था “अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज” (अनेसास) ले पोर्चुगलमा ८ औ सम्मेलन “अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन”को आयोजना गर्न लागेको हो । हरेक वर्ष विभिन्न देशमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्दै आएको अनेसासले यो पटक पोर्चुगलमा गर्न लागेको हो ।

 

आगामी मार्च ८ देखि १० तारिख अर्थात फागुन २५ देखि २७ गतेसम्म तीन दिन आयोजना हुने सम्मेलनलाई अनेसासको पोर्चुगल च्याप्टरले संयोजन तथा ब्याबस्थापन गर्दैछ ।

 

सम्मेलनमा अनेसास केन्द्रीय कार्यसमिति, अनेसास बोर्ड अफ ट्रष्टी, अनेसासका च्याप्टर साथै उपसमितिका अध्यक्ष तथा प्रतिनिधि, अनेसास आजिवन सदस्य, साहित्यकार, भाषा सेवी, कलाकर्मी, संस्कृतिविद लगायत विश्वभरबाट साहित्यिक कर्ममा सक्रिय व्यक्तिहरूको सहभागिता रहने अनेसास केन्द्रीय अध्यक्ष गोबर्धन पूजाले बताए ।

 

सम्मेलन आयोजनाको संयोजन तथा ब्यावस्थापन गरिरहेको अनेसास पोर्चुगललाई आयोजनामा अनेसास पोर्चुगल च्याप्टरलाई डेनमार्क, बेल्जियम, बेलायत, स्पेन, पोल्याण्ड, जर्मनी, इटाली, नर्वे लगायत युरोपमा रहेका अनेसासका अन्य च्याप्टरहरुले पनि सहयोग गरिरहेको अनेसास पोर्चुगलका महासचिव एन बी अन्जानले बताए ।

 

सम्मेलनमा नेपाली साहित्यमा महिला सहभागिता बारे छलफल, अनेसासका बारेमा छलफल, डायस्पोरा साहित्यबारे छलफल, सम्मान कार्यक्रम, पुरस्कार वितरण, पुस्तक लोकार्पण, बहुभाषिक साँस्कृतिक कार्यक्रम तथा बहुभाषिक काव्य गोष्ठीको साथै विभिन्न भाषा, साहित्य र संस्कृति माथी कार्यपत्र प्रस्तुत तथा छलफल रहने अञ्जानले जानकारी दिए ।

 

सामन्यतया अन्तर्राष्ट्रिय सम्मेलनहरुमा नेपाली भाषालाई मात्र प्राथमिकता दिइँदै आएकोमा पोर्चुगल सम्मेलनमा भने सम्भव भएसम्म नेपालका अन्य मातृ भाषाका साहित्य र सर्जकहरुलाई पनि समेट्ने योजना रहेको, यसका साथै सम्मेलनमा नेपाली भाषा साहित्यसँग सम्बन्धित विविध विषयमा छलफलको कार्यक्रम पनि रहने जनाए ।

 

युरोपमा रहेर लामो समयदेखि नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा काम गरिरहनु भएका व्यक्तिहरुलाई पनि सम्मान गर्ने महासचिव अञ्जानले बताए ।

 

पोर्चुगलको राजधानी लिस्वनमा हुने सम्मेलनको पहिलो दिन मार्च ८ तारिख विश्व नारी दिवस विशेष कार्यक्रम राखिएको छ । त्यसैगरी दोस्रो दिन मार्च ९ तारिख विशेष साहित्य सम्मेलन तथा बहुभाषिक काव्य गोष्ठी राखिएको छ । जसअन्तरगत विभिन्न विषयमाथिको छलफल, कार्यपत्र प्रस्तुति सहित सम्मेलनका सम्पूर्ण गतिविधि रहने छ । त्यसैगरी अन्तिम दिन मार्च १० तारिख काव्यिक भ्रमणको कार्यक्रम तय गरिएको छ । जसमा सम्मेलनमा सहभागी साहित्यकारहरुलाई पोर्चुगलका ऐतिहासिक तथा विशेष स्थानहरुको भ्रमण गराइने छ ।

 

सम्मेलनलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नको लागि विश्वभर रहेका अनेसाससङ आवद्ध ब्यक्तित्व, कवि, लेखक, पत्रकार तथा सम्पुर्ण संघसंस्था प्रती सहयोगको अपिल समेत गरिएको छ । विशेष गरि पोर्चुगलमा रहेका विभिन्न संघ सस्थाहरुलाई यो साहित्यको महाकुम्भलाई सफल बनाउन साथ सहयोगको लागि आब्हान गरिएको छ ।

 

सन १९९१ मा स्थापना भएको अनेसासको मुख्यालय अमेरिकाको वासिङ्टन डिसीमा रहेको छ । विश्वभरि ८० भन्दा धेरै यसका शाखाहरु रहेको र त्यसमार्फत हालसम्म २ हजार ६ सय जनाभन्दा धेरै नेपाली भाषी साहित्यकारहरु अनेसासमा आवद्ध रहेका छन ।न्युज कारखाना

काठमाडाैं, ८ फागुन ।

कीर्तिपुर नगरपलिका-४ स्थित नेपाल एपीएफ स्कुलको खेल मैदानमा जारी प्रथम अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनल खेल आज खेलाइँदैछ ।

 

५० हजार रुपैयाँ पुरस्कार राशीको प्रतियोगिताको फाइनलमा आयोजक नेपाल एपीएफ स्कुलको क टिम र नेपाल पुलिस स्कुल मध्यान्ह १२ बजे प्रतिस्पर्धा गर्नेछन् ।

 

आयोजक नेपाल एपीएफ स्कुलको क टिमले प्रतियोगिताको सेमिफाइनल खेलमा मनकामना सेकेण्डरी स्कुल जोरपाटीलाई ४-० गोल अन्तरले पराजित गरेको थियो । यसैगरी नेपाल पुलिस स्कुलले सेमीफाइनलमा सैनिक आवासीय महाविद्यालय, सल्लाघारीलाई सडेन डेथमा स्तब्ध बनाउँदै उपाधि नजिक पुगेको हो ।

 

माघ २२ गतेबाट सुरु भएको प्रतियोगितामा काठमााडाैं उपत्यकाका १७ र काभ्रे जिल्लाबाट एक गरी कुल १८ वटा विद्यालयहरुका १९ टिमबीच लिग कम नकआउट आधारमा खेलहरु सञ्चालन भएको थियो ।

 

प्रतियोगिता समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको समेत उपस्थिति रहने नेपाल एपीएफ स्कुलले जनाएको छ । न्युज कारखाना

रौतहट, ८ फागुन ।

चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ मा वडा अध्यक्ष कप नगरस्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

 

चन्द्रपुर वडा नम्बर ४ मा रहेको तुलसीलाल स्मृति रङ्गशालामा सो प्रतियोगिता आयोजना हुन लागेको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको चन्द्रपुर ४ का वडा अध्यक्ष रवि रानामगरले जानकारी दिएका छन् ।

 

चन्द्रपुर नगरपालिकाका १० वटै वडाका फुटबल टिमको सहभागितामा यही फागुन १८ गतेदेखि २८ गतेसम्म सो प्रतियोगिता आयोजना हुनेछ । वडामा रहेका विभिन्न खेलको विकासलाई मध्यनजर गर्दै वडाले विभिन्न खेलकुद प्रतियोगितामा सहयोग गर्दै आएको वडा अध्यक्ष मगरको भनाइ रहेको छ ।न्युज कारखाना

 

काठमाडौं, ८ फागुन ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, किवी ४००, आभोकाडो ३००, अम्बा १२० र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय सानो गोलभेडा २५, अदुवा २००, रातो आलु ३० र रातो भारतिय आलु ३२ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २५, लौका ५०, कागती २५०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला ३० र रातो मूला २५ रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ९०, राजमा घिउ सिमी १००, हरियो फर्सी लाम्चो ६० र हरियो डल्लो फर्सी ७० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७२, हरियो प्याज १०० र पुदीना २२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन ३००, हरियो लसुन १३० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ५०, भिण्डी ९० र हरियो धनिया ७० रुपैयाँ पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।न्युज कारखाना

मस्को, ८ फागुन ।

अलेक्सी नाभाल्नीकी श्रीमती युलिया नवल्नायाले आफ्नो पतिको मृत्युको खबर सार्वजनिक भएपछि आफनो धारणा इन्स्टाग्राममा पोस्ट गरेकी छिन । जसमा उनले ‘आई लभ यू’ लेखेकी छन् । उनले श्रीमान्सँगको सुन्दर तस्विर पनि सेयर गरेकी छिन् ।

 

श्रीमानको आकस्मिक मृत्युबाट दुखी युलियाले एलेक्सीको मृत्यु पुष्टि भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका सहयोगीलाई कारबाही गरिने बताएकीसमेत छन् ।

 

युलियाले पनि एलेक्सीको मृत्युको खबरमा शंका व्यक्त गरेकी छिन् किनभने यो खबर रुसी सरकारी स्रोतबाट आएको हो । उनले अन्तर्राष्ट्रिय समुदायलाई पुटिनविरुद्ध दृढतापूर्वक उभिन आग्रह गरेकी छिन् । समाचार अनुसार युलियाले भनेकी छिन् कि ‘म यस दुष्टलाई परास्त गर्न सम्पूर्ण विश्वलाई एकजुट हुन अपील गर्छु।’ नभाल्नीको मृत्युको बारेमा रूसी जेल अधिकारीहरूले शुक्रबार औपचारिक जानकारी दिएका थिए।

 

युलियाले पछिल्लो दुई वर्षदेखि पुटिनका कट्टर आलोचक नाभाल्नीलाई देखेका थिइनन् किनभने नाभाल्नीलाई आर्कटिकको जेलमा राखिएको थियो। आफ्नो
श्रीमानको मृत्युको खबर पाएपछि युलियाले म्युनिख सुरक्षा सम्मेलनमा भनिन, ‘यदि यो सत्य हो भने पुटिन, उनको सरकार र उनका सहयोगीहरूले हाम्रो देश, मेरो श्रीमान् र मेरो परिवारलाई जे जे गरे, त्यसको जिम्मेवारी लिनुपर्छ। त्यो दिन चाँडै आउँदैछ।’

 

अब नाभाल्नीको मृत्युपछि युलियाले राजनीतिमा प्रवेश गरी पुटिनलाई चुनौती दिने अनुमान गरिएको छ । तर, युलियाले आफू पहिलो आमा र श्रीमती भएको र राजनीतिमा कुनै चासो नभएको बताउँदै आएकी छिन् । तर रुसी राजनीतिमा लगभग लोप भइसकेको विपक्षीलाई नयाँ जीवन दिने क्षमता यदि कसैसँग छ भने त्यो युलिया हो भन्ने विज्ञहरू विश्वास गर्छन्। देशका छरिएका र नेतृत्वविहीन प्रतिपक्षलाई एकताबद्ध गर्न सक्ने उनीहरूको भनाइ रहेको छ ।

 

सन् २०२० मा युलियाले साइबेरियामा विष सेवन गर्दा पतिको मृत्युको नजिक देखेकी थिइन् । एलेक्सी कोमामा हुँदा र डाक्टरहरूले उनलाई जान दिएनन्, उनले कुनै न कुनै तरिकाले एलेक्सलाई रूसबाट बाहिर निकाल्न सफल भइन्। पाँच महिना पछि एलेक्सई फेरि जेल पठाइने छ भनेर थाहा पाएर आफ्नो पतिसँग मस्को फर्केकी थिइन्। अलेक्सी नाभाल्नी पासपोर्ट नियन्त्रण गरे लगत्तै गिरफ्तार गरिएको थियो।न्युज कारखाना

रौतहट, ८ फागुन। 

 

भारतीय सीमासँग जोडिएको रौतहटको दक्षिणी क्षेत्र ईशनाथ नगरपालिकामा चार दिनको प्रहरीको प्रयासपछि सरस्वतीको मूर्ति विसर्जन गरिए पनि कर्फ्यू भने यथावत रहेको छ। उक्त विषयलाई लिएर सोमबार वीरगञ्जमा दुई समुदायबीच द्वन्द्व हुनसक्ने भन्दै स्थिति सामान्य बनाउनका स्थानीय प्रशासनले साँझ ५ बजेदेखि कर्फ्यू आदेश जारी गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ।

पर्साका सिडियो दिनेश सागर भुसालका अनुसार वीरगञ्जमा नेपाल प्रहरीबाट ५ सय र सशस्त्र प्रहरीबाट ५ सय गरी एक हजार प्रहरी परिचालन गरिएको छ।

वीरगञ्ज महानगरको पावरहाउस, मूर्ली, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, माइस्थान, आदर्शनगर, भन्सार एरियालगायतका मुख्य चोक तथा गल्लीमा सुरक्षाकर्मी खटाइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले बताए।

ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा गत शुक्रबारदेखि थन्किएको सरस्वतीको मूर्ति सोमबार अपरान्ह कर्फ्यू अवधिभित्रै विसर्जन गरिएको छ। मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञबिनोद पोखरेलको सक्रियतामा सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णय अनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो।

साविक स्थान घिउरा गाउँको उत्तरपट्टी विद्यालय छेउको सार्वजनिक पोखरीमा मूर्ति सेलाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन्। तर, गत शनिबार स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू भने हालसम्म यथावत रहेको छ। त्यसैगरी उक्त क्षेत्रमा शान्ती सुरक्षा कायम राख्न ५०० नेपाल प्रहरी र २०० सशस्त्र गरी परिचालन गरिएको ७०० प्रहरी हालसम्म फिर्ता भएका छैनन्।

ईशनाथ ७ घीउरा गाउँमा डिजे बाजासहितको ट्याक्टर साविक बाटो हुँदै लैजाने र सरस्वतीको मूर्ति अर्को बाटो हुँदै गाउँ छेउ विद्यालय नजिकैको सार्वजनिक पोखरीमा विसर्जन गर्न लैजाने स्थानीय प्रशासनको रोहवरमा गत सनिबार दुई पक्षीय सहमति भएको थियो।

सहमती अनुसार  मूर्ति सेलाउन लैजाने समूहमाथि घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा कैयौं मानिस घाइते भएपछि स्थिति नियन्तरणमा लिन सिडिओ हिरालाल रेग्मीले एक सूचना जारिगर्दै सोहिदिन साँझ ५ बजेदेखि लागू हुनेगरी वडा ६ र ७ मा कर्फ्यू आदेश जारी गरेका थिए। कर्फ्यू अवधिमै उश्रृंखल गतिविधि भएपछि भोलिपल्ट आइतबारदेखि कर्फ्यू क्षेत्र फराकिलो बनाएको थियो।

सिडिओ रेग्मीले एक सूचना जारिगर्दै ईशनाथ नगरपालिका वडा २, ३, ४, ५, ६ र ७ मासमेत अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका थिए।

पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैयादेखि जयनगरसम्म चारकिल्लाभित्र जारिभएको कर्फ्यू हालसम्म यथावत छ।

मधेश प्रदेश नेपाल प्रहरी संगठन प्रमुख डिआईजी पोखरेलका अनुसार ईशनाथको ठूलो विवाद मूर्ति बिसर्जन गर्ने काम भएको छ। हाल अवस्था सामान्य हुँदै गएको छ। पूर्ण रुपमा सामान्य भएपछि क्रमसः त्यहाँ तैनाथ प्रहरी फिर्ता बोलाइने उनले जानकारी दिए। त्यहाँ केन्द्रित भएका नेपाल प्रहरीका डिआइजी पोखरेल, सशस्त्र प्रहरीका डिआईजी दीपेन्द्र शाह, राष्ट्रिय अनुसंधानका डिआइजी सञ्जय यादव तीन दिनपछि सोमबार साँझ फर्किसकेका छन्।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।