काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सबै संकायको स्नातक तहका प्रश्न पत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद स्थायी समितिको बैठकले बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायको स्नातक तहका प्रश्न पत्रहरु अंग्रेजी र नेपाली भाषामा तयार गर्ने निर्णय गरेको हो ।
त्रिविले आगामी प्रथम बर्षको परीक्षा देखि नै लागु गरि क्रमश: दोस्रो, तेस्रो र चौथो बर्षमा लागु गर्ने जानकारी दिएको छ । न्युज कारखाना
न्युयोर्क, १७ चैत । तालिवानको आदेशमा अफगानिस्तानको जेलमा रहेका अमेरिकी मानवतावादी रायन कोर्बेटको पछिल्लो स्थीति डरलाग्दो भएको जनाइएको छ ।
अगस्ट २०२२ देखि अफगानिस्तानका तालिबान शासकहरूको जेलमा थुनिएका अमेरिकी मानवतावादी रायन कोर्बेटको परिवारले यस हप्ता उहाँबाट आएको ‘छोटो तर विचलित फोन कल’ले उनको घट्दो मानसिक र शारीरिक स्वास्थ्यको बारेमा थप चिन्ता बढाएको छ ।
रायनकी श्रीमती अन्ना कोर्बेटले एक विज्ञप्तिमा भनिन् , ‘उनी र उनीहरूका तीन छोराछोरीले मङ्गलबार रायानबाट गहिरो विचलित अवस्थामा १२ मिनेट फोन कल गरे, जसमा रायनको मानसिक अवस्था एकदमै बिग्रिएको अनुभुती भएको छ, उनका अपहरणकर्ताहरूले उनलाई बताए अनुसार उनले देशले बिर्सेको छ र अब उसले आफ्नो देश प्रति विश्वास गर्न पनि छाडेको छ ।’
न्यु योर्कमा बसोबास गर्ने परिवारले भने कि रायनले उनीहरूलाई कलमा भने कि उनी गत हप्ता उच्च ज्वरोबाट पीडित थिए, जुन कुन कारणले आएको थियो, अहिलेसम्म पत्ता लागेको छैन ।
अन्ना र दम्पतीका तीन छोराछोरी, १८ वर्षीय केत्सिया, १६ वर्षीय मिरियम र १३ वर्षीय कालेबलाई अफगानिस्तानमा हिरासतमा राखेपछि रयानबाट जम्मा ४४ मिनेटमा जम्मा पाँचवटा छोटो फोन कल भएको थियो। अगस्ट २०२२ मा तालिबान इस्लामिक चरमपन्थीहरूले देशमा पुनः नियन्त्रण लिएको र अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सैन्य गठबन्धन फिर्ता लिएको एक वर्ष पछि उनी पक्राउ परेका थिए । न्युज कारखाना
काठमाडौँ ।
बैशाख १५ गते इलाम- २ मा हुने उपनिर्वाचनमा दलहरुले उम्मेदवार छान्ने क्रम जारी रहेको छ ।
अहिलेसम्म नेकपा एमालेले सुहाङ नेम्वाङलाई, रास्वपाले मिलन लिम्बुलाई, राप्रपाले लक्ष्मी गुरुङलाई र एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । त्यस्तै कोशी प्रदेशको नाम सच्याउन माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएका छन् ।
अब नेपाली कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार चयन गर्न बाँकि रहेको छ ।
२०७९ को आम निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर विजयी बनेका थिए । उनी केवल ११४ मत अन्तरले विजयी भएका थिए ।
उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । कांग्रेसका उम्मेदवारलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन रहेको थियो ।
त्यस्तै यस क्षेत्रमा रास्वपाका प्रकाश सापकोटाले एक हजार ३८० मत ल्याएका थिए । त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनका मणि बहादुर लिम्बुले १३६३, राष्ट्रिय जनमुक्तिका खड्ग प्रसाद पालुवाले १२७२, जसपाका यम प्रसाद लिम्बुले ७२४, राप्रपाका गणेश प्रसाद दुलालले ५१० मत प्राप्त गरेका थिए ।
त्यसैगरी समानुपातिकतर्फ एमालेले २६ हजार ५६२, कांग्रेसले २२ हजार ३३३, माओवादीले ५ हजार १५३ र रास्वपाले ४ हजार ६८६ मत ल्याएका थिए । त्यस्तै राप्रपाले ११९१ मत, जसपाले ९०६ मत, एकीकृत समाजवादीले ५८६ मत प्राप्त गरेका थिए । न्युज कारखाना
काठमाडौं, १७ चैत ।
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमा कार दुर्घटनामा परेका छन् ।
सो कार दुर्घटनामा परे पनि उनी भने सकुशल रहेको अफ्रिकन सञ्चारमाध्यमले जनाएका छन् ।
मादक पदार्थ सेवन गरेका एक ड्राइभरले आधिकारिक सशस्त्र सुबिधासहितको गाडीसँग ठक्कर दिएको प्रहरीले जनाएको छ। तर, उनका पार्टीका एक प्रमुख सदस्यले जुमालाई जानी जानी निशाना बनाएको आरोप लगाएका छन् ।
अफ्रिकी नेसनल कांग्रेस (एएनसी)को निलम्बन परेका उनी माथी कार टक्कर दिने ती ड्राइभरलाइ भने गिरफ्तार गरिएको छ ।
त्यतिबेला जुमा आफ्नो आधिकारिक सुरक्षा टोली सहित कारमा थिए । यो दुर्घटना उनको गृह प्रान्त क्वाजुलु नातालको सडकमा भएको थियो ।
‘राष्ट्रपति संरक्षण सेवाका सदस्यहरू लगायत कोही पनि घाइते भएनन्। पूर्व राष्ट्रपतिलाई बाहिर निकालेर उनको निवासमा लगिएको थियो,’ प्रहरीको संक्षिप्त विज्ञप्तिमा भनिएको छ।
मादक पदार्थ सेवन गरी सवारी चलाएको र लापरवाही र लापरवाहीपूर्वक सवारी चलाएको आरोपमा ५१ वर्षीय ती व्यक्ति माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
न्युज कारखाना
न्युयोर्क, १७ चैत ।
रुसले उत्तर कोरियामाथिको प्रतिबन्धको निगरानी गर्ने राष्ट्रसंघीय निगरानी संस्था बन्द गरेको छ ।
उत्तर कोरियाविरुद्धको प्रतिबन्धको वर्षौंदेखि निगरानी गरिरहेको संयुक्त राष्ट्रसंघका विज्ञहरूको प्यानल रूसले बन्द गरेको हो ।
रुसले युक्रेनमा प्रयोगका लागि ब्यालेस्टिक मिसाइलजस्ता उत्तर कोरियाली हतियारहरू खरिद गरेर नियम उल्लंघन गरेको रिपोर्टको छानबिन गरिरहेको प्यानलले गत हप्ता मात्रै जानकारी गराएको थियो । त्यसको बदलामा रूसले संयुक्त राष्ट्र संघमा भिटो प्रयोग गरेर खारेज गरिदिएको हो ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले प्योङयाङमाथि सन् २००६ देखि आणविक हतियार कार्यक्रमका लागि विभिन्न प्रतिबन्धहरू लगाएको छ।
ती प्रतिबन्धहरू अझै पनि लागू छन्, तर उल्लङ्घनहरू अनुगमन गर्न स्थापना गरिएको विशेषज्ञ समूह अब खारेज हुने भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बिहीबार सुरक्षा परिषद्को मतदानमा रुसले स्थायी सदस्यको रूपमा आफ्नो भिटो शक्ति प्रयोग गरी नवीकरण रोक्नको लागि प्रयास गरेको थियो । जबकि उपस्थित अन्य १४ सदस्य राष्ट्रहरू मध्ये १३ ले यसको पक्षमा मतदान गरे। प्योङयाङको सबैभन्दा नजिकको सहयोगी चीन भने रूसको यस प्रयोगबाट त्यसबाट अलग रहेको थियो ।
रुसको ब्लकले अमेरिका, बेलायत, दक्षिण कोरिया र अन्य पश्चिमी सहयोगीहरूबाट निन्दाको लहर चलाएको छ र मस्को र प्योङयाङ नेताहरू बीचको उच्च(प्रोफाइल सार्वजनिक बैठकको एक वर्ष पछि आएको छ।
यो पहिलो पटक रुसले प्यानल अवरुद्ध गरेको हो, जुन १४ वर्षको लागि संयुक्त राष्ट्र सुरक्षा परिषद द्वारा वार्षिक रूपमा नवीकरण गरिदै आएको थियो ।
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सामाजिक सञ्जालमा रुसको भिटो युद्धमा उत्तर कोरियाली हतियार प्रयोग गरेको ‘दोषी निवेदन’ जस्तै भएको बताएका छन् ।
अमेरिका, बेलायत र फ्रान्स सबैले काउन्सिललाई भने कि रसियाले निगरानीलाई मौन बनाएको छ किनभने यसले नियमहरूको मस्कोको आफ्नै उल्लङ्घनको बारेमा रिपोर्ट गर्न थालेको थियो, विशेष गरी युक्रेनको युद्धभूमिका लागि उत्तर कोरियाबाट हतियारहरू खरीद गरेको भन्ने सबालमा ।न्युज कारखाना
काठमाडौँ ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ७ विकेटले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बैंगलुरुले दिएको १८३ रनको लक्ष्य कोलकोताले १६.५ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो ।
कोलकोताको जितमा सुनिल नारन आक्रामक ४७ र वैंकटेस अय्यरले अर्धशतक बनाएका थिए । त्यस्तै कप्तान श्रेयस अय्यरले अविजित ३९ रन बनाए भने फिल साल्टले ३० रन बनाएका थिए ।
त्यसैगरी यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहलीको ८३ रनको मद्दतले २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनाएको थियो ।
यो जितपछि कोलकोताले लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै बैंगलुरुले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ ।न्युज कारखाना
विराटनगर ।
त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एनआरटी विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।
विराटनगरस्थित शहिद रङ्गशालामा जारी विराट गोल्डकपको आठौँ संस्करणमा गएराती सम्पन्न खेलमा एनआरटीले आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
एनआरटीको जितमा विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले एक एक गोल गरेका थिए ।
जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम डेगानसँग प्रतिस्पर्धा गर्नेछ ।
शनिबार पहिलो क्वाटरफाइनल खेल घरेलु टिम सङ्ग्रिला मोरङ फुटबल क्बल र भुटानको आरटीसी एफसी क्बलबीच हुनेछ ।
यही चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेका छन् । गोल्डकपको विजेताले रु ११ लाख र उपविजेताले पाँच लाख ५० हजार पाउनेछन् ।
काठमाडौँ ।
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ ।
शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो ।
यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सार्बजनिक गरेको नयाँ तालिका अनुसार शुक्रबार पहिलो खेल भएको थियो ।
नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग आज दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।
टी-२० सिरिज खेल्ने नेपाली ए टिम :
विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।न्युज कारखाना
काठमाडौं, १७ चैत ।
हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।न्युज कारखाना
आजमिति २०८० साल ,चैत्र १८ गते
तदअनुसार मार्च ३०, २०२४ शनिवार, कृष्पक्षको पञ्चमी तिथि, अनुराधा नक्षत्र, सिद्वि योग । वृश्चिक राशिमा चन्द्रमा । यो शुभ योग हो ।
• अभिजित् मुहूर्त: बिहान ११:४४ देखि १२:३३ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:५७
• सुर्यास्त: बेलुका ०६:२१ बजे
मेष
समय मध्यम छ । स्वास्थ्यको लागि समय दिनुहोस्। आर्थिक सुधारका लागि उचित प्रयास गर्नुहोस् र अनावश्यक खर्चबाट जोगिदै बचत गर्नुहोस्। प्रेममा साथीसँग आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारको साथमा समय बिताउनुहोस् । स्थिर मनबाट फाईदा हुनेछ ।
• शुभ रंग: निलो
• शुभ अंक – ५
वृष
समय मध्यम छ । स्वस्थ जीवनशैली अनुसरण गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। साथीसँग संबंध विकसित गर्नुहोस् र उनीसँग समय बिताउनुहोस्। परिवारसँग समय दिनुहोला ।
• शुभ रंग: पहेलो
• शुभ अंक – ८
मिथुन
समय ठिक छ । शारीरिक र मानसिक स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ, ध्यान दिनुहोस् र निजी क्षेत्रमा आराम लिनुहोस्।आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। प्रेमका लागि साथीसँग भ्रमण गर्नुहोस् र उनीसँग सम्बन्ध बढाउनुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। ठुलो र एकल निर्णय गर्दा विचार पुर्याउनुहोला ।
• शुभ रंग: रातो
• शुभ अंक – ३
कर्कट
समय राम्रो छ । स्वास्थ्यको लागि समय दिनुहोस् र कार्यमा आनन्द लिनुहोस्। आर्थिक संकटहरूको समाधान हुने समय हो। वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूलाई समर्थन गर्नुहोस्।
• शुभ अंक – ९
• शुभ रंग : सेतो
सिंह
समय ठिकै छ । शारिरिक र मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् खर्च बढ्नेछ यसर्थ आर्थिक वचत गर्नुहोस्। प्रेम संबंध बलियो बनान समय दिनुहोस् । परिवारसँग आत्मियता देखाउनुहोस् ।
• शुभ रंग: निलो
• शुभ अंक – ३
कन्या
समय मध्यम छ ।
धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।
• शुभ रंग: निलो
• शुभ अंक – ७
तुला
आज समय राम्रो छ । ध्यान र नियमित व्यायाममा समय बिताउनुहोस्। आर्थिक स्थिति सुधार हुने संकेत छ। साथीसँग बिछोड नगर्ने र मनोबल बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् र सम्बन्ध सुधार्नुहोस्।
• शुभ रंग: कालो
• शुभ अंक – २
बृश्चिक
समय मध्यम छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि समय दिनुहोस् र आराम लिनुहोस्। आर्थिक संगठन र निवेश गर्नुहोस्। वित्तीय सावधानी राख्नुहोस्। प्रेम संबंध बलियो बनाउनुहोस् र आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारसँग धेरै समय बिताउने प्रयास गर्नुहोस्।
• शुभ रंग: निलो
• शुभ अंक – ५
धनु
समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।
• शुभ रंग: हरियो
• शुभ अंक – ६
मकर
समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।
• शुभ रंग: रातो
• शुभ अंक – १
कुम्भ
समय मध्यम छ । मनलाई शान्त बनाउनुहोस् । आर्थिक स्थिति सुधार हुन सक्छ। बचतमा विचार गर्नुहोस्। साथीसँग आत्मीयता र समर्थन बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् ।अनावश्यक खर्चबाट बच्नुहोस।
• शुभ रंग: वैजनी
• शुभ अंक – ४
मिन
समय मध्यम छ। अती रिसबाट बच्नुहोस् । शारीरिक र मानसिक स्वास्थ्यको ध्यान गर्नुहोस्। काममा ध्यान दिनुहोस् । आर्थिक योजना बनाउनुहोस् र वित्तीय सम्पत्ति विकसित गर्नुहोस्। साथीसँग आत्मीयता र सहजताको साथमा संबंध बढाउनुहोस्। परिवारसँग समय बिताउदै उनीहरूको समर्थन गर्नुहोस्।
• शुभ रंग: सुन्तला
• शुभ अंक – ९
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युज कारखाना