हेटौडा । मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मकवानपुर प्रहरीका अनुसार आज पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित हुँदा सडकबाट करिब १०० मिटर तल चण्डी खोलामा खसेको हो ।
दुर्घटनामा राक्सिराङ–९ निवासी ३६ वर्षीय अर्जुन कार्कीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको छ भने २३ वर्षीय रञ्जित कार्कीको दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी
कैलाली । ३२ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भजनी नगरपालिका-५ बस्ने ५२ वर्षीय सिताराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
सितारामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
विराटनगर । गत आइतबार सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा प्रहरीको गोली लागेर घाइते भएका २७ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको छ ।
विराटनगर न्युरो अस्पतालमा उपचारका क्रममा मेहताको मृत्यु भएको हो । जयप्रकाशको पेटमा गोली लागेको थियो । गत सोमबार उनको शल्यक्रिया गरिए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको शव हाल न्युरो अस्पतालमै राखिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
यसअघि आइतबार राति भएको घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि अस्पताल पुर्याइएलगत्तै राति १०:४० बजे मृत्यु भएको थियो । उनको शव पनि अझै अस्पतालमै रहेको प्रहरीले जनाएको छ ।
कप्तानगन्जमा दुई पक्षबीच भएको विवाद आइतबार राति हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । उक्त घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए । आठ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।एभरेष्ट न्यूज एजेन्सी
झापा । २१ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-३ बस्ने ५० वर्षीय ज्ञान बहादुर घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
ज्ञान बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन नजिकैको खहरे खोलामा फेरि सुख्खा पहिरो खस्दा सवारी आवागमन पुनः दुवैतर्फ अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालयका अनुसार थप पहिरो नखसेको अवस्थामा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन करिब दुईदेखि तीन घण्टा लाग्ने अनुमान गरिएको छ ।
यसअघि आज बिहान पनि सोही स्थानमा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको थियो । पहिरो हटाएपछि केही समयका लागि सवारी आवागमन पूर्ण रूपमा सञ्चालनमा आएको भए पनि फेरि पहिरो खसेपछि यातायात सेवा पुनः प्रभावित भएको हो ।
सडक डिभिजनले पहिरो हटाउने कार्य जारी रहेको जनाएको छ । यात्रु तथा सवारी चालकलाई सुरक्षित स्थानमा बसेर धैर्य गर्न र सम्बन्धित निकायको सूचनालाई ध्यान दिन आग्रह गरिएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । सोमबारदेखि कोरियन भाषा परीक्षाको आवेदन दिन सकिने भएको छ । ईपीएस कोरिया शाखाका अनुसार सन् २०२६ का लागि प्रथम चरणको आवेदन सोमबारदेखि खुला हुने भएको हो ।
आवेदन जुलाई २७ देखि अगस्ट २ सम्म आवेदन दिन सकिने र आवेदन अनलाइनमार्फत दिन सकिने शाखाले जनाएको छ ।
शाखाका अनुसार पोइन्ट बेस्ड सेलेक्सन सिस्टमबाट अनुमानित उत्तीर्ण संख्या ७२ सय हुने उल्लेख छ । जसमा सबैभन्दा बढी उत्पादनमुलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ हजार र वन क्षेत्रमा पनि १ हजार कोटा तोकिएको छ ।
प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण संख्याका आधारमा कटलाइन निर्धारण हुने साथै कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या थपघट हुनसक्ने शाखाले उल्लेख गरेको छ ।
शाखाले प्रथम चरणको परीक्षामा उतिर्णहरुलाई दोस्रो चरणको सीप परीक्षण र कार्यक्षमता मुल्यांकन मा सहभागी भइ उतिर्ण भएपछि मात्र अन्तिम छनौटमा पर्न सक्ने जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १२४ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश र लुम्बिनी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १२४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २० जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २७ जना, बागमतीमा ५ जना घाइते भएका छन् भने लुम्बिनीमा २१ जना, सुदूरपश्चिममा १३ जना र कर्णालीमा ६ घाइते भएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
मोरङ । मोरङमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-६ सीसौबारी टोल बस्ने २३ वर्षीय प्रतिक राईलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । एभरेष्ट न्यूज एजेन्सी
रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ चिलिमे पुलस्थित पासाङ ल्हामु सडकखण्डमा (ईभी) भ्यान त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।
शनिबार साँझ करिब १७:४० बजे स्याफ्रुबेँसीबाट धुन्चेतर्फ आउँदै गरेको ‘अन टेस्ट’ भ्यान सडकबाट करिब २५ मिटर तल त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो ।
दुर्घटनामा परेको गाडीका चालकको नाम, थर र ठेगाना खुल्न नसकेको र गाडीमा अन्य व्यक्ति थिए वा थिएनन् भन्ने तथा मानवीय क्षतिको यकिन विवरणसमेत प्राप्त हुन सकेको छैन ।
बेपत्ता चालक तथा नदीमा खसेको ईभी गाडीको खोजी तथा उद्धार कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौं । नक्सालस्थित नेपाल बाल संगठनको बाल मन्दिरमा पुनःसंरचना तथा पूर्वाधार सुधारको काम सुरु गरिएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको समन्वयमा आयोजना प्रमुख, निर्माण कम्पनी तथा प्राविधिक टोलीको उपस्थितिमा ढल निर्माण कार्यबाट पुनःसंरचनाको औपचारिक सुरुवात गरिएको हो ।
गत साता मन्त्रालयले प्राप्त उजुरी तथा सार्वजनिक भएका भिडियो सामग्रीका आधारमा गरेको स्थलगत अनुगमनका क्रममा बाल मन्दिरको भौतिक अवस्था अत्यन्त जीर्ण रहेको, भवनभित्र पानी जम्ने, प्रभावकारी ढल निकासको व्यवस्था नहुँदा दुर्गन्ध फैलिएको, शौचालय तथा स्नानगृह प्रयोगयोग्य नरहेको, सरसफाइ अत्यन्त कमजोर रहेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको अवस्था फेला परेको थियो । बालबालिकाको स्वास्थ्य, सुरक्षा र संरक्षणमा गम्भीर जोखिम देखिएपछि मन्त्रालयले तत्काल हस्तक्षेप गर्दै पहिलो चरणमा दुई वर्षमुनिका २० जना बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो ।
बाल मन्दिरको भौतिक अवस्था तत्काल सुधार गरी बालबालिकाका लागि सुरक्षित, स्वच्छ र व्यवस्थित वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो। सोही निर्देशन कार्यान्वयनस्वरूप आजदेखि पुनःसंरचनाको काम सुरु गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पहिलो चरणमा ढल व्यवस्थापनको काम अघि बढाइएको छ । त्यसपछि भवन मर्मत, क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, शौचालय तथा स्नानगृह स्तरोन्नति, सरसफाइ व्यवस्थापन, सुरक्षित खानेपानीको व्यवस्था तथा बालमैत्री पूर्वाधार निर्माणका काम क्रमिक रूपमा अघि बढाइनेछ ।
आयोजना प्रमुख र निर्माण कम्पनीलाई आगामी दशैँअघि सम्पूर्ण पुनःसंरचना तथा पूर्वाधार सुधारका काम गुणस्तरीय रूपमा सम्पन्न गरी बाल मन्दिरलाई सुरक्षित, स्वच्छ, व्यवस्थित र बालमैत्री संरक्षण केन्द्रका रूपमा सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बाल संरक्षणसँग सम्बन्धित पूर्वाधारमा देखिएका कमजोरीलाई सुधार गर्दै राज्यको संरक्षणमा रहेका प्रत्येक बालबालिकाले सुरक्षित, सम्मानजनक र गुणस्तरीय वातावरणमा हुर्किन पाउने अधिकार सुनिश्चित गर्ने प्रतिबद्धताअनुसार सुधारका कामलाई निरन्तरता दिइने जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी