काठमाडौँ । बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समावेश गरिएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ ।
त्यस्तै बैठकमा उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ । संसद्को अवरोध खोल्ने विषयमा पटक पटक छलफल भएपनि अहिलेसम्म ठोस सहमतिमा भने पुगेको छैन न्युज कारखाना
काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस बुधबार अपराह्नमा सकिएको हो ।
मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो । मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो । बुधबार सन्दीपका कानुन व्यवसायीले जवाफ दिएलगत्तै बहस सकिएको हो ।
बहस सकिएपछि न्यायाधीशहरू फैसलाको तयारीमा लागेका छन् । उनीहरू बहसका क्रममा उठेको काठमाडौँको होटलको सीसीटीभी फुटेज पनि हेरिसकेका छन् ।
सरकारी पक्षले लामिछाने र पीडित गौशाला २६ बसेको भनिएको होटलको सीसीटीभी फुटेज पनि पेस गरेको थियो ।न्युज कारखाना
काठमाडौँ । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् ।
आइसीसीले सार्बजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १०औं स्थानमा उक्लिएका हुन् । दिपेन्द्र आइसीसीको वरियतामा शिर्ष १० मा पर्ने पहिलो खेलाडी समेत बनेका छन् ।
टी-२० को अलराउण्डर वरियताको शिर्ष स्थानमा बंगलादेशका अल हसन रहेका छन् भने दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन् । त्यस्तै अफगानिस्तानका मोह्माब नाबी तेस्रो स्थानमा छन् भने जिम्बाबेका सिकन्दर राजा चौथो स्थानमा रहेका छन् ।
त्यसैगरी दक्षिण अफ्रीकाका एडन मार्क्रम पाँचौं, अस्ट्रेलियाका मार्क्स स्टोइनिस छैटौं, भारतका हार्दिक पाण्डेय सातौं, इङल्याण्डका लियाम लिभिङस्टोन आठौँ र इङल्याण्डकै मोइन अली नवौं स्थानमा रहेका छन् ।न्युज कारखाना
काठमाडौँ । अमेरिकाले इजरायललाई एक अर्ब डलर बराबरको हतियार पठाउने तयारी भइरहेको छ । ह्वाइट हाउसले कांग्रेसलाई इजरायललाई एक अर्ब डलरभन्दा बढीको हतियार पठाउन चाहेको बताएको अमेरिकी मिडियाले उल्लेख गरेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यो प्याकेजमा ट्याङ्क, मोर्टार र बख्तरबंद सवारीसाधन समावेश हुनेछन् । तर यो योजना अमेरिकी कांग्रेसबाट पारित हुन आवश्यक छ ।
गत हप्ता मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाको रफाहमा इजरायलले आफ्नो सैन्य कारबाही जारी राखेमा इजरायललाई हतियारको आपूर्ति बन्द गरिने बताएका थिए ।
यस अघि बाइडेनले गत हप्ता इजरायलमा ९०० किलोग्राम बमको ढुवानी पठाउन रोकेका थिए । उनले यी बम इजरायलले गाजामा प्रयोग गर्ने आशंका भएपछि रोकिएको उनले बताए ।न्युज कारखाना
सुनसरी । सुनसरीको देवानगंज गाउँपालिका-५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४ सय ४० किलोग्राम, १ लाख ५० हजार भारतीय रूपयाँ र ५२ हजार नेपाली रूपैयाँसहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी नगरपालिका-१४ बस्ने २५ वर्षीय चन्द्र बहादुर पाख्रिन, मोरङ लेटाङ नगरपालिका-६ बस्ने बल बहादुर लिम्बु र सुनसरी देवानगंज गाउँपालिका-४ बस्ने ३० वर्षीय अरबिन्द पाल रहेका छन् । इलाका प्रहरी कार्यालय साहेबगंजबाट खटिएको प्रहरीले राजगंज सिनबारीबाट साहेबगंजतर्फ जाँदै गरेको को.१ ख ७१२३ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा १३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक चन्द्र बहादुर तथा ट्रकमा सवार बल बहादुर र अरबिन्दलाई पक्राउ गरेको हो ।
त्यस्तै मोरङको बिराटनगर महानगरपालिका-१७ आइसिपी रोडबाट अवैध लागूऔषध गाँजा २ सय ५० किलोग्रामसहित धनकुटा सहिदभुमी गाउँपालिका-३ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा प्रदेश १-०२-०२ च. ६३३१ नम्बरको पिकअप भ्यानमा गाँजा अनलोड गर्दै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पिकअपका चालक ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।न्युज कारखाना
काठमाडौँ । शसस्त्र प्रहरी बलको (एपिएफ) क्लब ललितपुर मेयरर्स कप क्रिकेटको फाइनलमा पुगेको छ । बुधवार भएको खेलमा आयोजक ललितपुर मेयर्स–११ लाई पराजित गर्दै एपिएफ फाइनलमा पुगेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरलाई ८ विकेटले पराजित गर्दै एफिएफ एक खेलअघि नै फाइनलमा पुगेको छ ।
यस खेलमा ललितपुरले दिएको ७२ रनको लक्ष्य पछाएको एपिएफले ९.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै ७१ रन बनाएको थियो ।
एपिएफले ३ खेलमा सबैखेल जितेर ६ अङ्कसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै सुदूरपश्चिमले २ खेलमा ४ अङ्क बटुलेको छ भने ललितपुरको ३ खेलमा २ अङ्क रहेको छ भने कोशी प्रदेश र बागमती प्रदेश २-२ खेल खेलेर अङ्कविहीन रहेका छन् ।न्युज कारखाना
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर बोल्न नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन् ।
पार्टीको संसदीय दलको बैठकमा सम्बोधन गर्ने क्रममा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्याउनको लागि कांग्रेसका नेताहरुलाई चेतावनी दिएका हुन् ।
उनले भने,‘जहाँसम्म गिरिबन्धु टि स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विघाह, एक पटक १९ विघा कमिशन खाएर सट्टापटट गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ । त्यही टि स्टेटको, पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेशबमोजिम ऐन बनाएका हौं । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ।’
उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गरेका छन् । उनले कांग्रेसले पाखुरा देखाएको र मसलको राजनीति गरेको भरमा आफूहरु नलतिर्ने चेतावनी दिए । उनले रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने पहिलो शर्त रहेको बताए ।न्युज कारखाना
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकमा छलफलका लागि सङ्गठनात्मक प्रतिवेदन पेश गरेका छन् । उनले आफ्नो प्रस्तावमा संगठनमा देखिएका मुख्य समस्यालाई विभिन्न १२ बुँदामा पार्टीको वर्तमान चुनौती पेश गरेका छन् ।
संगठनात्मक प्रस्तावमा उनले एकीकृत समाजवादीको उद्देश्य आजको पुँजीवादी समाजको ठाउँमा समाजवादी समाजको स्थापना गर्नु रहेको उल्लेख गरेका छन् । उनले पुँजीवादलाई आजका समस्त सामाजिक समस्याहरुको जरोका रुपमा चित्रण गरेका छन् ।
चुनौतीहरु:
१- एकै समयमा देशैभरी कमिटीहरु बनाउनु पर्ने अवस्थामा कसलाई कुन जिम्मेवारी दिने भन्ने मापदण्ड बनाउँदा विद्रोहको बेला देखिएको तात्कालिक सक्रियतालाई ध्यान दिनु स्वाभाविक थियो । तर विद्रोहको समयको सक्रियता विचार, सिद्धान्त र राजनीतिक तथा साब्गठानिक योग्यता र अनुभव बिना लामो समय टिकाउन सजिलो हुँदैन । विद्रोहलाई व्यवस्था र विधिमा ढाल्नु पर्ने अवस्थामा ती कमजोरीहरु विभिन्न क्षेत्रमा देखिँदै गएका छन्। त्यसले गर्दा कतिपयमा कमिटीमा नकारात्मक प्रभाव परेका छन् ।
२- नेकपा एमालेमा रहेको गुटबन्दीले किनारामा परेका कार्यकर्ताहरुको ठूलो सब्ख्या हाम्रो पार्टीमा आएको थियो । लामो समयसम्म उपयुक्त जिम्मेवारीमा नहुँदा त्यसमध्ये कैयौँ कमरेडहरुको क्षमताको स्तर वर्षौँ पुरानो छ तर अहिले उहाँहरु पार्टीकोमहत्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । जिम्मेवारी र क्षमतामा तालमेल नहुँदा माथिल्लो पद र हैसियतमा रहेका कैयन्कमरेडहरुले साब्गठानिक जिम्मेवारी पूरा गर्न नसक्ने अवस्था देखिएको छ ।
३- तुलनात्मकरुपले कनिष्ठ तर सक्रिय वा जिम्मेवारी पाउँदा धेरै काम गर्न सक्ने नयाँ तथा नौजवान कमरेडहरु र तुलनात्मक रुपले पुराना तर जिम्मेवारीअनुसार सक्रिय हुन नसकेका कमरेडहरुका बीचमा हुने अन्तरविरोधहरुले पनि माथिदेखि तल्ला कमिटीहरुमा समस्या देखिएका छन् ।
४- हामीले पार्टीको निर्माण माथिबाट गर्नु पर्ने थियो । धेरैजसो कमिटीहरु सम्पूर्णरुपले नयाँ बनाउनु पर्ने थियो । तर कसलाई कुन पद वा जिम्मेवारी दिने वा को कुन कमिटी वा कुन पदमा रहने भन्ने कुनै वस्तुगत आधार उपलब्ध थिएन । जसले गर्दा व्यक्तिको मूल्याब्कन मनोगत हुने अवस्था आयो ।
५- निर्वाचनमा उम्मेदवारी र राजनीतिक नियुक्तिमा माथिल्लो कमिटीमा रहेकाहरुले प्राथमिकता पाउने परिपाटी सबैजसो पार्टीमा छ, जुन एक हिसाबले स्वाभाविक पनि हो । त्यसको समाधान लोकतान्त्रिक पद्धतिको अभ्यास र त्यस क्रममा स्थापित मापदण्डबाट हुन्छ । तर हाम्रो पार्टीले त्यस्तो अभ्यास शून्यबाट सुरु गर्नु पर्ने भएको हुँदा माथिल्लो कमिटी वा पदमा पुग्नका लागि हुनेप्रतिस्पर्धालाई अझै व्यवस्थित गर्न सकिएको छैन ।
६ – पार्टी स्थापनाको समयको राजनीतिक तथा संवैधानिक आवश्यकताले हामी चुनावसम्मै जानेगरी गठबन्धन सरकारमा सामेल भयौँ । उक्त गठबन्धनमा बढि निर्भरता हुँदा पार्टी निर्माणको काम ओझेलमा पर्ने अवस्था आयो । स्थानीय र संघीय निर्वाचनमा हामीले अपेक्षित उपलब्धी हासील गर्न सकेनौँ ।
७- पार्टीमा उर्जा र आकर्षण कम हुँदै गयो । त्यसलाई चिरेर नयाँ उर्जा सिर्जना गर्न अझै धेरै परिश्रम गर्नु पर्नेछ ।
८- पार्टीको निर्माण माथिबाट गरिएको हुँदा समस्याको जरो पनि माथि नै थियो । सब्गठनको माथिल्लो तहमा नै समस्या भएपछि तल्ला कमिटीहरुलाई जनवादी केन्द्रियताअनुसार सञ्चालन गर्न कठिनाइहरु छन् ।
९- एउटा राम्रो पार्टी अनेकौँ कामहरुको एउटा सिब्गो प्रणाली हो । प्रणाली सुचारु नहुँदासम्म कमिटीमा व्यक्ति हावी हुने अवस्था आउँछ । हाम्रो पार्टी प्रणाली निर्माणकै क्रममा छ । त्यसैले कमिटी र पद्धतिमाथि व्यक्ति र तदर्थवाद हावी हुने अवस्था अझैसम्म कायम छ ।
१०- पार्टीमा रहेका उपरोक्त समस्याहरुको नकारात्मक प्रभाव जनसब्गठनमा पर्नु स्वाभाविक छ । केहि जनसब्गठनहरुले सन्तोषजनक काम गरेका छन्, केहि औपचारिकरुपमा चलेका छन् भने अरु समस्याग्रस्त छन्। सबैभन्दा चलायमान युवा र विद्यार्थीलाई जुन महत्वका साथ सञ्चालन गर्नु पर्थ्यो त्यो सकिएको छैन । आजको राजनीति र समाजका जटीलतालाई बुझ्न र चिर्न सक्ने युवा तथा विद्यार्थीहरुको राष्ट्रव्यापी परिचालन बिना पार्टीलाई अगाडि बढाउन असम्भवजस्तै कुरा हो । यसमा हाम्रा गम्भीर कमजोरी रहेका छन्।
११- संसद र संविधानको रक्षाका लागि उभिएको हुँदा राजनीतिक चेतना भएको जमात र सञ्चारमाध्यममा हाम्रो पार्टीप्रति पर्याप्त आकर्षण थियो । तर पार्टीमा विद्यमान साब्गठानिक तथा राजनीतिक कमजोरीहरुले गर्दा त्यो आकर्षण क्रमशः कमजोर हुँदै गएको छ ।
१२- सरकार र संसदमा हाम्रो उपस्थितिलाई मुलुकले एउटा क्रान्तिकारी विद्रोही पार्टीको रुपमा हेरेको थियो । यसबारे पार्टी नेतृत्वमा बेलाबेलामा गम्भीरतापूर्वक छलफल भएका छन्। तर संसद र सरकारमा पार्टीको अपेक्षित भूमिकालाई हामीले अझैसम्म स्थापित गर्न सकेका छैनौँ ।न्युज कारखाना
काठमाडौं । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरुले आज भेटवार्ता गर्दै छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच संसदको अवरोध हटाउने विषयमा भेटवार्ता हुन लागेको हो ।
अहिले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच छलफल शुरु भएको र एमाले अध्यक्ष ओली केहीबेरमा नै बैठकमा पुग्ने बताइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरिरहेको छ ।
कांग्रेसले संसदीय छानबिन समितिलाई बटमलाइन बनाएर संसदको अवरोध जारी राखेपछि सरकार अप्ठ्यारोमा परेको छ ।
प्रतिनिधिसभाको बैठक भोलि विहान (विहिबार) ११ बजेको लागि बोलाईएको छ । प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई चित्त बुझाउने गरि सहकारी ठगी प्रकरणको छानबिनको लागि संसदीय समिति बनाउन सकिनेमा लचिलो भएपनि एमाले र रास्वपा विपक्षमा भएकाले सरकार अप्ठ्यारोमा परेको हो ।न्युज कारखाना
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ ।
ललितपुरको बालकुमारीमा मङ्गलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्न १२ वटा समूह बनाइएको छ ।
राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख गरिएका छन् । देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ ।
समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा समाजवादको स्वरुप, अन्तर्राष्ट्रिय अभ्यास, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय समावेश छन् । विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ ।
साङ्गठनिक दस्तावेजमा देशभर पार्टी सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन् । समूहगत छलफलबाट आएका निष्कर्षलाई टोलीनेताले प्रस्तुत गरेपछि प्रतिवेदनमा समावेश गरी त्यसलाई अन्तिम रुप दिइने तयरी गरिएको छ ।
पार्टीले आगामी असार १६ देखि २० गते काठमाडौँमा राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ ।न्युज कारखाना