काठमाडौँ । झापामा चोरीका मोटरसाइकलसहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कनकाई नगरपालिका-४ बस्नेहरू १९ वर्षीय प्रियङक कडेल, १९ वर्षीय कृष्ण घिमिरे, १९ वर्षीय नबिन बस्नेत तथा १९ वर्षीय दिपक भुजेल र सोही नगरपालिका-३ बस्ने १९ वर्षीय सम्रिक चुडाल रहेका छन् ।
पाँचथर जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मितिमा मोटरसाइकलहरू चोरी गरी झापाको सुरुङ्गा एरियामा चलाई रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी भएको प्रदेश ३-०२-००९ प ५२२१ नम्बर र मे.९ प ६४६१ नम्बरका २ थान मोटरसाइकलसहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको छ । न्युज कारखाना
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशका सांसद विनोदकुमार शाह पुनः मन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री यमलाल कँडेलले शाहलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका हुन् । शाहले यसअघि गत वैशाख १८ गते कृषि मन्त्रालयमा चित्त नबुझेको भन्दै शपथ बहिष्कार गरेका थिए ।
तर शपथ बहिष्कार गरेको २२ औं दिनमा फेरि शाहले सोही मन्त्रालयको शपथ लिएका छन् । उनले आजै प्रदेश प्रमुख तिकल परियारसमक्ष शपथ लिएका छन् ।न्युज कारखाना
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्ने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली भजनी गाउँपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३६ वर्षीय बिशाल हमाल, काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित र सप्तरी कोईलाली गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने ४५ वर्षीय सैलेश कुमार झा रहेका छन् ।
पक्राउमध्ये बिशालले अमेरिका पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट १६ लाख ७० हजार रूपैयाँ, प्रशान्तले अष्ट्रेलिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ र सैलेशले युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ४० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बिशाललाई काठमाडौं लाजिम्पाटबाट, प्रशान्तलाई काठमाडौं बागबजारबाट र सैलेशलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।न्युज कारखाना
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले म्याद थप गरेको छ ।
बुधबार अदालतमा दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको हो ।
सिरोहियालाई प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेस गरेको थियो । प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै गिरफ्तार गरेको थियो ।
जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।न्युज कारखाना
काठमाडौँ । नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरले आफ्नो देशले प्यालेस्टाइनलाई राज्यको रुपमा मान्यता दिने बताएका छन् । उनले मे २८ मा नर्वेले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने बताए ।
नर्वेपछि अब आयरल्याण्ड र स्पेनले पनि प्यालेस्टाइनलाई राष्ट्रको रुपमा मान्यता दिन सक्ने विश्वास गरिएको छ । यस निर्णयको विरोधमा इजरायलले आयरल्याण्ड र नर्वेबाट आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ ।
नर्वेका प्रधानमन्त्री स्टोरले गाजामा जारी युद्धले शान्ति र स्थायित्व हासिल गर्न प्यालेस्टाइन समस्याको समाधान आवश्यक रहेको कुरा ‘पूर्ण रूपमा स्पष्ट’ गरेको बताएका छन् । उनले नर्वेले दुई राज्य समाधान इजरायलका लागि राम्रो हुने विश्वास व्यक्त गरे ।
स्टोरले यो कदमले अन्य देशहरूलाई पनि त्यही बाटो पछ्याउन ‘बलियो सन्देश’ पठाउने बताएका छन् । यो निर्णय लगत्तै इजरायलले वार्ताका लागि आयरल्याण्ड र नर्वेबाट आफ्ना राजदूतहरूलाई तुरुन्त फिर्ता बोलाउने बताएको छ ।
इजरायलका विदेशमन्त्री इजरायल काइट्जले ट्विट गर्दै भने, ‘मैले आयरल्यान्ड र नर्वेलाई स्पष्ट सन्देश पठाइरहेको छु । इजरायलको सार्वभौमसत्तामा आँच पुर्याउने र यसको सुरक्षालाई खतरामा पार्नेहरूका सामु झुक्ने छैन । चुप लागेर बस्ने छैन । यदि स्पेनले पनि प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिएको छ भने, तिनीहरू विरुद्ध कदम चालिनेछ ।
इजरायली विदेशमन्त्रीले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने निर्णयले विश्वलाई ‘आतंकवादलाई इनाम दिइन्छ’ भन्ने सन्देश दिएको पनि बताएका छन् ।न्युज कारखाना
काठमाडौं । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने ३६ वर्षीय पासाङ भन्ने सोनम तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक संजाल फेसबुक मार्फत विभिन्न आईडिहरूबाट सामान अडर्र गरी ग्राहकहरूसँग बार्गेनिङ गर्दै सामान देखाई रकम लिएर आउछु भनि ल्यापटप, मोबाइल क्यामेरा समेतका सामानहरूको जम्मा ७ लाख ९९ हजार रूपैयाँ मूल्य बराबरको सामानहरू लिई फरार भएका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलबाट पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।
न्युज कारखाना
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा जाने निर्णय गरेको छ ।
सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ । जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा सहभागी गराउने निर्णय गरेको छ ।
केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सदनमा संसदीय छानबिन समिति गठनको मागलाई उठाउदै पहिलो चरणमा शुक्रबार काठमाडौँ केन्द्रित प्रदर्शन गरेको जानकारी दिएकी छन् ।न्युज कारखाना
काठमाडौँ । युक्रेन युद्धको बीचमा रुसी सेनाले इस्कान्डर र किन्जल मिसाइलको प्रयोग गरी रणनीतिक आणविक परीक्षण सुरु गरेको छ । रुसी रक्षा मन्त्रालयले मंगलबार यी परीक्षणहरू युक्रेनको दक्षिणी सैन्य क्षेत्रमा भइरहेको बताएको छ । यो क्षेत्र एकदम ठूलो छ। रुसले परीक्षणहरू कहाँ भइरहेको छ भन्ने ठ्याक्कै बताएको छैन ।
अल्जाजीराका अनुसार रुसले यो क्षेत्र युद्धको सुरुवाती दिनमा कब्जा गरेको थियो । बेलारुस पनि यस परीक्षणमा सहभागी हुने अपेक्षा गरिएको छ। गत वर्ष रुसले बेलारुसमा सामरिक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेको थियो ।
रुसले यो परीक्षणबाट पश्चिमी देशहरूको धम्कीको जवाफ दिने प्रयास गरिरहेको छ । गत महिना मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियार अभ्यास गर्न आदेश दिएका थिए । यसमा उनले युक्रेनी सीमा नजिक तैनाथ नौसेना र सैनिकलाई पनि सहभागी हुन आग्रह गरेका छन् ।
रुसले यस्तो परीक्षण गरिरहेको छ जब केही दिन अघि नाटो र पश्चिमी देशहरूले युक्रेनलाई सहयोग गर्न सेना पठाउने कुरा गरेका थिए । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गत महिना युक्रेनले सहयोग मागेमा त्यहाँ आफ्ना सेना पठाउन सक्ने बताएका थिए ।
बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले पनि युक्रेनले चाहेमा रुसमाथि आक्रमण गर्न बेलायती हतियार प्रयोग गर्न सक्ने बताएका थिए ।
अमेरिकाले अप्रिलमा युक्रेनलाई १२ एटीएसीएमएस मिसाइल दिएको थियो । यसको दायरा ३०० किलोमिटर छ, जसको मतलब यदि यसलाई युद्धमा प्रयोग गरियो भने, यसले रूस भित्र ३०० किलोमिटरसम्म आक्रमण गर्न सक्छ ।
यसपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत हप्ता मात्रै युक्रेनको भ्रमण गरेका थिए । रुस र युक्रेनबीचको युद्ध फेब्रुअरीमा तेस्रो वर्षमा पुगेको थियो । न्युज कारखाना
भक्तपुर- स्वदेशमा केही पनि हुन्न, केही गर्न सकिन्न भन्ने निराश युवाहरूको लागि एक जना उदाहरणीय व्यक्तित्व हुन्, भक्तपुरका युवा इन्जिनियर कृष्णभक्त दुवाल।
भक्तपुर नगरपालिका वडा नम्बर १० महालक्ष्मीस्थान निवासी इन्जिनियर दुवालले पछिल्लो नौ वर्षको छोटो अवधिमा पाँच वटा ठूला उद्योगहरू सञ्चालन गर्न सफल भएका छन्। ती उद्योगहरूमा उनले सयौं नवयुवाहरूलाई रोजगारी उपलब्ध गराइरहेका छन्।
‘केही काम गर्नका लागि सवैभन्दा पहिलो प्यासन (लगाव) हुनुपर्छ,’ उनको अनुभव छ, ‘लगाव नै नभएपछि चाहिँ केही पनि गर्न सकिन्न। त्यस्ता युवा विदेशीको नोकर नै हुन जाने हो।’
त्यसकारण निरासा पालेर होइन, गरे के हुन्न भन्ने उत्साहका साथ मिहनेत गर्नुपर्ने खाँचो उनी औंल्याउँछन्। उदाहरण दिँदै उनी थप्छन्, ‘पानी खानका लागि सबैभन्दा बढी आफू तिर्खाएको महसुस गर्नुपर्यो, जब तिर्खाको महसुस नै गर्दैनन्, उसको अगाडि कसैले पानी अगाडि राखे पनि उसले खानेवाला छैन।’
यही कारण युवाहरूमा केही गर्ने हुटहुटी पहिलो आवश्यकता रहेको उनको बुझाइ छ।
ख्वप कलेज देकोचा भक्तपुर, नेपाल इन्जिनियरिङ कलेज नेक दुवाकोट चाँगुनारायण भक्तपुरमा प्राध्यापनरत् उनी नयाँ सोधखोज अर्थात् इनोभेसनमा जोड दिन्छन्।
यही स्वभावका कारण परम्परागत इँटाभटा व्यवसायमा संलग्न उनले परम्परागत पेशाबाटै माथि उठेर केही नयाँ उत्पादन थाले। इँटाको विकल्पमा उनले लामो अनुसन्धान, देशविदेश भ्रमणपछि इको प्यानकाले उत्पादन थाले सन् २०१४ मा।
भौतिक निर्माणमा इँटाको विकल्पमा प्रयोग गर्न सकिने इको प्यानल उनकै नेतृत्वमा नेपालमै पहिलो पटक उत्पादन थालेको थियो। अहिले यही उत्पादन उनले देशैभरि दिइरहेका छन्। विदेशबाट आउने यस्तो निर्माण सामाग्रीसँग पैठाजोरी खेल्दै उनी संघर्षरत् पनि छन्। इको प्यानल भनेको स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो।
इको प्यानलबाट थालिएको उनको व्यापार व्यवसाय निर्माण सामग्रीमै केन्द्रित छन्। पछिल्लो वर्ष सन् २०२३ मा उनको नेतृत्वमा पोखरामा पोखरा इको रेड ब्रिक्सको उत्पादन थालिएको छ। उनले यससँगै प्रिफ्याब एण्ड विण्डोरलगायतका निर्माणसँग सम्बन्धित उत्पादन उद्योगहरू सञ्चालन गरेका छन्। यी उद्योगहरूबाट उनले मनग्य कमाइ पनि गरिरहेका छन्।
‘अवसर समात्नका लागि जहिले पनि उफ्रिरहने हो,’ उनको विश्लेषण छ, ‘अवसर आउँला र त्यो बेला मात्रै उफ्रुँला भनेर बस्यो भने त्यो जीवनभरमा पनि त्यो आउँदैन।’
जे होस् युवाहरुले केही न केही गर्नेपर्ने उनको अनुरोध छ। सुरुवात कम रिस्क र सानो पुँजीबाट थाल्दै त्यसैलाई विस्तारै विस्तार गर्दै अगाडि बढ्न सकिने सुझाव उनको छ। युवाहरूको केही गर्न चाहने यो हुटहुटीलाई इन्टरनेटको यो जमानाले पनि धेरै सहज बनाइदिएको उनको बुझाइ छ।
इन्टरनेटबाट देशविदेशका कुराहरू थाहा पाउने भएकाले धेरै कुरा सिक्न सकिने उनको बुझाइ छ।
नेपालमा रोजगारी नपाएको भन्दै विदेश जाने युवाहरूको लर्को केही वर्षयता थेगिनसक्नु छ।
पैसा भएकाहरू अमेरिका अष्ट्रेलिया त नभएकाहरू कतार, मलेसिया, युनाइटेड अरब इमिरेटस् अनि साउदी अरबजस्ता खाडी मुलकहरूमा कामका लागि निस्कने युवाहरू ठूलो जमात छ।
अध्यागमन विभागका अनुसार सन् २०८० मा मात्रै ८ लाख ७ हजार ६ सय ९३ नेपाली रोजगारीका लागि विभिन्न देश गएका छन्। यसरी विदेश जानेमा ७ लाख १८ हजार ९ सय ३० पुरुष र ८८ हजार ७ सय ६३ महिला छन्। अहिले पनि एयरपोर्टबाट दैनिक सयौं नागरिकहरू विदेशिने क्रम जारी छ। उनीहरुले स्वदेशमा रोजगारी नपाएपछि बाध्य भएर विदेश जानुपरेको गुनासो पोख्ने गरेका छन्।
विभागका अनुसार गत एक वर्षमा रोजगारीलगायत विभिन्न उद्देश्यले विदेश जाने नेपालीको संख्या भने १६ लाख २१ हजार ५ सय ६६ रहेको थियो। त्यसरी एक वर्षमा विदेश जाने नेपालीमध्ये स्थायी बसोबासका लागि जानेको संख्या ६८ हजार ३ सय ९३ रहेको छ।
यसैगरी, अध्ययनका लागि जाने पनि ठूलो संख्यामा रहेका छन्। गत एक वर्षमा मात्रै विभिन्न देशमा अध्ययनका लागि जानेको संख्या १ लाख ११ हजार २ सय ८९ छ। गत वर्ष विदेशमा घुमघाम तथा तीर्थयात्रा गर्न जानेको संख्या २ लाख १२ हजार ३ सय ६० जना रहेको छ।
यसैगरी, सो अवधिमा स्वास्थ्य परीक्षण गर्न जानेको संख्या २० हजार ५ सय ३ रहेको छ। यस्तै, सो अवधिमा व्यापारको सिलसिलामा विदेश जानेको संख्या २० हजार ४९ रहेको छ।
यस्तै, विगत एक वर्षमा विदेशमा बसेका आफ्ना परिवारका सदस्यहरूलाई भेटघाट गर्न जानेको संख्या १ लाख ६३ हजार ३ सय ८४ रहेको छ।
के का लागि कति विदेशिए?
रोजगारी : ८ लाख ७ हजार ६ सय ९३
अध्ययन : १ लाख ११ हजार २ सय ८९
घुमघाम एवम् तीर्थयात्रा : २ लाख १२ हजार ३ सय ६०
स्वास्थ्य परीक्षण : २० हजार ५ सय ३
स्थायी बसोबास : ६८ हजार ३ सय ९३
परिवारका सदस्यलाई भेट्न : १ लाख ६३ हजार ३ सय ८४
स्रोत : अध्यागमन विभाग
न्युज कारखाना
रौतहट- यही जेठ १३ गते आइतबारदेखि राष्ट्रिय अभियानको रूपमा सञ्चालन हुन गइरहेको ‘आइपीभी खोप कार्यक्रम २०८१’ पूर्ण रूपमा सफल बनाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताहरूले बताएका छन्।
जिल्ला स्वास्थ्य कार्यालय रौतहटद्वारा बुधबार गौरमा आयोजित ‘आइपिभी खोप अभियान २०८१ जिल्ला खोप समन्वय समिति तथा सञ्चारकर्मीहरू’ बीच एक दिने अभिमुखLकरण गोष्ठीका वक्ताहरूले उक्त विचार राखेका हुन्। गोष्ठीमा आइपिभी खोप अभियान २०८१ दुई चरणमा सञ्चालन गरिने जनाइएको छ।
पहिलो चरणमा फतुवा विजयपुर, मौलापुर, गढीमाई, चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा नगरपालिका र दुर्गा भगवती, यमुनामाई गाउँपालिकामा यही जेठ १३ देखि १७ गतेदेखि सञ्चालन हुने जिल्ला खोप संयोजक अनिल कर्णले बताएका छन्।
त्यसैगरी, दोस्रो चरणमा राजपुर, इशनाथ, गौर राजदेवी, देवाही गोनाही, कटहरिया, बौधीमाई, माधवनारायण र परोहा नगरपालिकामा २१ देखि २६ गते सम्म सञ्चालन हुने संयोजक कर्णले जानकारी दिएका छन्।
२०७३ वैशाख १ गतेदेखि २०७५ असोज मसान्तभित्र जन्मिएका बालबालिकाहरूलाई आइपिभी खोप लगाउने योजना अनुसार रौतहट जिल्लामा ३७ हजार ८४७ लक्ष्य रहेकोमा ३९ हजार डोज खोप आइसकेको उनले बताए।
देशैभरि एक साथ सुरू हुने यस अभियानलाई पूर्ण रूपमा सफल बनाउन सञ्चारमाध्यमको अति नै महत्वपूर्ण भूमिका रहेकाले सकारात्मक भई समाचार सम्प्रेषण गरिदिन वक्ताहरूले आग्रह गरेका थिए।
कार्यक्रममा विश्व स्वास्थ्य संगठन जनकपुरधामका फिल्ड अफिसर डाक्टर सुरेश शुक्लाले नेपालमा आइपिभी खोप सेवा अभियान २०७१ असोज मसान्तदेखि सुरू गरिएकोमा २०७३ वैशाखदेखि २०७५ असोज मसान्तसम्म उक्त खोपको चरम अभाव भएको बताएका थिए।
उनले अभावलाई पूर्ति गर्न यो कार्यक्रमलाई देशैभरि खोप अभियानको रूपमा सञ्चालन गरिएको बताएका थिए।
सो अवधिमा आइपिभी खोप लगाउन छुटेका बालबालिकाहरूलाई पोलियो लाग्ने जोखिम रहको हुँदा ती बालबालिकाहरूलाई अनिवार्य रूपमा यो खोप दिन जरुरी रहेको डाक्टर शुक्लाले जानकारी दिएका छन्। ८० प्रतिशत पूर्ण, १६ प्रतिशत आंशिक र ४ प्रति लगाउन नसकेको खोपको समग्र अवस्था नेपालमा रहेको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख विपिन कुमार साहले बताएका छन्।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नरेश यादव, जिल्ला समन्वय समितिका सभापति एवम् जिल्ला खोप समन्वय समितिका अध्यक्ष रामअयोध्याय यादव, नेपाल पत्रकार महासंघका सभापति प्रेमचन्द्र झा, रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरे, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक अभियन कुमार सिंह, युनिसेफका प्रतिनिधि सुरेश गुप्ता लगायत सञ्चारकर्मी र स्वास्थ्यकर्मीसहितका वक्ताहरूले यस अभियानलाई पूर्ण रूपमा सफल बनाउन सबैले आ-आफ्नो स्थानबाट सक्दो योगदान दिन आग्रह गरेका थिए।न्युज कारखाना