काठमाडौं,३० गते भादो ।
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथ लिएपछि उनले पदभार सम्हालेका हुन् ।
पदभार ग्रहण गर्दै उनले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेका छन्। मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि उनले गरेका छन् ।
कार्की नेतृत्वको अन्तरिम सरकारमा तीन जना मन्त्रीहरु नियुक्त भएका छन् । ऊर्जा र भौतिक तथा सहरी विकासमा कुलमान घिसिङ, अर्थमा रामेश्वर खनाल र कानुन तथा गृहमन्त्रीमा ओमप्रकाश अर्याल मन्त्रीमा नियुक्त भएका हुन्। सभार आर्थिक न्यूज
काठमाडौं,३० गते भादो ।
अन्तरिम सरकारका तीन मन्त्रीले सोमबार (भदौ ३०) पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार (भदौ २९) राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत अधिकारी सहभागी थिए ।
सभार १२ खरी
काठमाडौं ,३० गते भादो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानविन गर्न समिति गठन हुने बताएका छन्। सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा देशभर घटेका हिंसात्मक घटनाको छानविनका लागि समिति गठन हुने बताएका हुन्।
उनले भने,’जेनजी आन्दोलनका नाममा देशभर हिंसात्मक घटना भएका छन्। उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन समिति गठन हुन्छ।’ गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने जानकारी दिए।
उनले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गएको बताए। आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए।
यही भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको जेनजी समूहको आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ भने सयौंजना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। आन्दोलनका क्रममा देशभर ठूलो जनधनको क्षति भएको छ।
संसद भवन,सिंहदरबार,राष्ट्रपति भवन,सर्वोच्च अदालत,व्यापारी भवनलगायत आगजनीबाट ध्वस्त भएका छन्। सभार अन्नपुर्ण
काठमाडौं, भदौ ३० गते ।
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हाल्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उहाँले पदबहाली गर्नुभएको हो । उहाँ पूर्व अर्थसचिव पनि हुनुहुन्छ ।
राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उहाँलाई आइतबार साँझ अर्थमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
काठमाडौं ,३० गते भादो ।
प्रधानमन्त्री सुशीला कार्कीलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरूले विविधताको पहिचानसहित मर्यादा र आत्म–सम्मानपूर्वक जीवनयापन गर्ने अधिकार सुनिश्चित गर्न माग गरेका छन्।
नेपालको संविधानमा व्यवस्था गरिएका अधिकारहरूको उपभोग गर्ने अवसरबाट लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय वञ्चित भइरहेका भन्दै अधिकारकर्मी कोनिका लामाले प्रधानमन्त्री कार्कीलाई पत्र बुझाएको जानकारी दिइन।
पत्रमा भनिएको छ,“समाजमा रहेका आर्थिक रूपले विपन्न, सामाजिक वा सांस्कृतिक दृष्टिले पछाडि पारिएका महिला, दलित, आदिवासी, जनजाति, खस–आर्य, मधेसी, थारु, किसान, मजदुर, उत्पीडित वर्ग, मुस्लिम, अल्पसङ्ख्यक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त वा असहाय र पिछडिएको क्षेत्रका नागरिकको संरक्षण, सशक्तीकरण तथा विकासका लागि कानुनअनुसार राष्ट्रिय महिला आयोग, दलित आयोग र समावेशी आयोग गठन गरिएको छ। तर पीडित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि कुनै आयोग छैन।”
त्यसैले, पत्रमार्फत समुदायका लागि छुट्टै राष्ट्रिय आयोग गठन गर्न नसकिने भए पनि कम्तीमा राष्ट्रिय समावेशी आयोगमा समावेश गर्न माग गरिएको छ।
लामाले बुझाएको पत्रमा नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) भित्र व्यापक भ्रष्टाचार भएको गम्भीर आरोप उल्लेख गरिएको छ।
युएसएआइडीले एचआइभी परियोजनाका लागि दिएको ८ करोड रुपैयाँ गायब भएकोबारे राज्यका निकायमा उजुरी परेको भए पनि अहिलेसम्म छानबिन हुन सकेको छैन। सोसाइटीले समेत उक्त रकम गायब भएको हिसाब सार्वजनिक नगरी गुपचुप राखेको छ।
त्यसैगरी, सोसाइटीकी पूर्वअध्यक्ष तथा हाल वरिष्ठ सल्लाहकार पिंकी गुरुङले केही वर्षअघि विवेकशील आदर्श इन्भेस्टमेन्ट प्रा.ली. को नाममा लाखौँ रुपैयाँ उठाएकोबारे प्रहरी कार्यालयदेखि सरकारी वकिलको कार्यालयमा समेत उजुरी परेको छ।
पिंकीले इनर्जी इन्जिनियर को नाममा किर्ते सेयर प्रमाणपत्र देखाएर समुदायका सदस्यहरूबाट लाखौँ रुपैयाँ ठगी गरेको विवरण पनि प्रधानमन्त्री कार्कीलाई बुझाइएको पत्रमा अधिकारकर्मी लामाले उल्लेख गरेकी छन्।
पत्रमा भनिएको छ,“सोसाइटीभित्र भ्रष्टाचार गर्ने नियतले संस्थापक अध्यक्ष सुनिल बाबु पन्तलाई कहिले सदस्यबाट हटाइएको, कहिले नभएको भन्ने आधारहीन आरोप लगाएर चरित्र हत्या गरिएको छ। संस्थासम्बन्धी कुनै जानकारी नदिई संस्थालाई अपारदर्शी बनाएर करोडौँ रुपैयाँ घोटाला गरिएको छ।”
जेनजी पुस्ताको आन्दोलन नै भ्रष्टाचार विरोधी भएको भन्दै पत्रमार्फत सोसाइटीसहित यस समुदायको हकहितका नाममा खोलिएका अन्य संस्थाहरूमा पनि छानबिन गरी, भ्रष्टाचार र ठगी गर्ने व्यक्ति तथा संस्थामाथि कडा कारबाही गर्न माग गरिएको छ।
नागरिकता र परिचयपत्रबारे माग
संविधानसभा सदस्य सुनिल बाबु पन्त र राष्ट्रिय मानव अधिकार आयोगलाई समेत बोधार्थ पठाइएको उक्त पत्रमा, नेपाल सरकारले केही गैरसरकारी संस्थाको सुझावमा ‘तेस्रोलिङ्गी’ नामकरण गरेर अन्य लिङ्गी नागरिकता जारी गरे पनि यसले समुदायलाई सन्तुष्टि दिन नसकेको उल्लेख गरिएको छ।
पत्रमा भनिएको छ,“केही व्यक्तिहरू आफ्नो जैविक लिङ्गभन्दा फरक महिला वा पुरुषको नागरिकता पाउने भन्दै वकिललाई पैसा खुवाएर पदको दुरुपयोग गरी जथाभाबी नागरिकता लिएका छन्। यसरी जथाभाबी नागरिकता लिने व्यक्ति वा संस्थाविरुद्ध कडा कानुनी व्यवस्था गरिनुपर्छ।”
यससँगै, यौनिक अभिमुखीकरणलाई आधार बनाएर नागरिकता मात्र नभई विशेष परिचयपत्र समेत उपलब्ध गराउनुपर्ने माग गरिएको छ।
प्रधानमन्त्री कार्कीलाई पत्र दिएका लामाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्ने अधिकार दिलाउन, सार्वजनिक सेवा तथा सुविधामा समान पहुँच सुनिश्चित गर्न र कानुनी मान्यता प्राप्त समलिङ्गी विवाहलाई अन्तरिम सरकारले निरन्तरता दिनुपर्ने मागसमेत राखेकी छन्।
त्यस्तै, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि छुट्टै राष्ट्रिय आयोग गठन गर्नुपर्ने, यस समुदायको जनगणना घरदैलोमा गएर सरकारी निकायमार्फत मात्र गर्नुपर्ने र गैरसरकारी संस्थाले दिएको झुट्टा तथ्याङ्कलाई नमान्नुपर्ने मागसमेत पत्रमा समावेश छ।
लामाले दुई लाख ८० हजार नेपाली लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको प्रतिनिधित्व गर्दै पत्र बुझाएको उल्लेख गर्दै पीडित समुदायलाई न्याय दिलाउन प्रधानमन्त्री कार्की र नेपाल सरकारसँग तत्काल कदम चाल्न आग्रह गरेकी छन्।
लामाले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले जेनजी युवाहरूले सुरु गरेको आन्दोलनमा सहिद भएका होनहार युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
चन्दन यादव, रौतहट २९ गते भदौ ।
गरुडामा भीषण तोडफोड र आगजनी ः मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष पूर्णरूपमा ध्वस्त भएको हो । रौतहटको गरुडा नगरपालिकाको कार्यालयमा व्यापक तोडफोड, लुटपाट र आगजनी भएको छ । जेनजीहरुले आक्रमण गर्दै नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा आगो लगाएका हुन् । भीषण आगलागीका कारण दुवै कोठा जलेर पूर्णरूपमा ध्वस्त भएका छन् ।
यता उपमेयरको कार्यकक्षमा भने सामान्य तोडफोड मात्र भएको देखिएको छ । आगलागीका कारण तीनै कोठाको पर्खालमा ठूलो क्षति पुगेको छ । अन्य शाखाहरूमा समेत तोडफोड र आगजनी हुँदा कार्यालयभित्रका कागजात, सामग्री र फर्निचर जलेर नष्ट भएको छ । प्रारम्भिक अनुमान अनुसार करोडौं रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
स्थानीयको भनाइ अनुसार, आकस्मिक रूपमा सुरु भएको घटनाले करिब सबै शाखा प्रभावित पारेको छ । आगलागी नियन्त्रणमा ल्याउन प्रयत्न भए पनि क्षतिको परिमाण निकै ठूलो भएको देखिएको छ ।
हाल गरुडा नगरपालिकाको कार्यालय पूर्ण रूपमा अवरुद्ध बनेको छ र सेवाग्राहीलाई कुनै सेवा दिन नसक्ने अवस्था उत्पन्न भएको छ ।
नगर प्रमुख र प्रशासनिक अधिकृतको कोठा जलेर नष्ट भएको भिडियो सार्वजनिक भएको छ । यस घटनापछि स्थानीय निकायमा सुरक्षाको सवाल फेरि उठेको छ । अनुसन्धान र दोषी पहिचानको प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँ, २९ भदौः
सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासोको तत्काल सम्बोधन गरी यातायात व्यवस्थापनमा सहजीकरण गर्न उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।
आज बसेको बैठकले यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गर्नेसहित छबुँदे निर्णय गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो ।
आज उहाँको अध्यक्षतामा बसेको बैठक बसेको थियो । उक्त समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखा प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख तथा यातायात व्यवसायी राष्ट्रिय महासङ्घ अध्यक्षलगायत सरोकारवाला सहभागी हुनेछन् ।
यस्तै बैठकले चाडपर्वको समयमा उपत्यकाबाट बाहिर जाने सवारीसाधनको प्राविधिक जाँच एवं आवश्यकताअनुसार यात्रु सहायता कक्ष निर्माण गर्ने निर्णय पनि भएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले राससलाई बताउनुभयो ।
उहाँका अनुसार बैठकले वर्तमान परिस्थिति एवं चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुलाई सहजै गन्तव्यस्थलसम्म जानसक्ने गरी यातायातको व्यवस्थापन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलगायत सरोकारवाला सबैलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन एवं कार्यालयको यकीन गरी उचित क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने, ट्राफिक प्रहरीका लागि अत्यावश्यक पर्ने सामग्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक सुरक्षा परिषद्लगायतबाट उपलब्ध गराउने निर्णय भएको छ ।
बैठकले आन्दोलनका क्रममा लुटपाट गरिएका हतियारलगायत सामग्री सवारीसाधनबाट ओसारपसार हुन नपाउनेगरी तत्काल सूचना जारी गर्ने निर्णय पनि गरेको सिटौलाले बताउनुभयो ।
- वर्णन
सुनसरी :
सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट ५ हजार केजी प्रतिबन्धित लागू औषध गाँजा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल,नेपाल नं। १ बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको कमाण्डमा खटिएको २१ जनाको टोलीले विशेष सूचनाका आधारमा शनिबार राति उक्त गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरीले गस्ती गर्दै जाने क्रममा ना ४ ख २७११ नं। को ट्रक र बा ५ ख १९६९ नं। को मिनी ट्रक नियन्त्रणमा लिएर चेकजाँच ५ हजार केजी गाँजा बरामद गरिएको कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी कुमार न्यौपानेले जानकारी दिएका छन् ।
चेकजाँच गर्दा ठूलो ट्रकमा लोड गरिएको १३४ बोरा र मिनि ट्रकमा २४ बोरा भित्र गरी जम्मा ५ हजार केजी गाँजा बरामद भएको डीआईजी न्यौपानेले बताए । प्रहरीका अनुसार हाल देशभर जेनजी आन्दोलनका कारण कर्फ्यु र निषेधाज्ञा जारी भएको मौका छोपी धनकुटाबाट तस्करहरूले ठूलो परिमाणमा गाँजा भारततर्फ लैजान खोजेका थिए। तर सशस्त्र प्रहरीको गस्ती टोलीले समयमा नै नियन्त्रणमा लिएर ठूलो मात्रामा गाँजा भारततर्फ जानबाट रोकिएको हो।
घटनाका बेला दुवै गाडीका चालक र संलग्न व्यक्ति फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। डीआईजी न्यौपानेले बरामद भएको ट्रक सहितको गाँजा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाउने बताए ।
आइतबार, भदौ २९, २०८२
यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण अनिश्चितकालका लागि बन्द गरेको छ । विभागले एक सूचना जारी गर्दै, हालको परिस्थितिमा सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने जानकारी दिएको हो ।
विभागका अनुसार हालैको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका कारण विभागको संरचनामा गम्भीर क्षति पुगेको छ । विशेष गरी इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भर नष्ट हुँदा सवारीचालक अनुमतिपत्र तथा विद्युतीय सवारीसाधन दर्ता (EDLVRS) सम्बन्धी सेवा पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ ।
‘विभागको सूचना प्रविधि प्रणाली पुनःसञ्चालनमा ल्याउन समय लाग्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवारीचालक अनुमतिपत्र छपाइ, वितरण तथा सम्बन्धित अन्य सेवा बन्द रहनेछ,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
सार्वजनिक सेवामा आएको यो अवरोधले लाइसेन्स प्राप्त गर्ने प्रक्रिया अगाडि बढाइरहेका हजारौँ सेवाग्राही प्रभावित भएका छन् । विभागले सेवा पुनः सुचारु गर्नका लागि आवश्यक प्राविधिक मर्मत र पुनर्संरचनाको काम अगाडि बढाइने जनाएको छ ।

शिलापत्र
आरके श्रीवास्तव,राैतहट,भदौ २८ गते ।
पछिल्लो सुरक्षा विश्लेषणका आधारमा रौतहट जिल्लामा जारी निषेधाज्ञा क्रमशः हटाउन थालिएको छ । जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार आज मिति २०८२/०५/२८ गतेदेखि जिल्लाका केही क्षेत्रहरूमा निषेधाज्ञा हटाइएको छ भने, जिल्लाको मुख्य क्षेत्र गौरमा भने निषेधाज्ञा यथावत् राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय, गौरबाट जारी अत्यन्त जरुरी सूचनामा उल्लेख भएअनुसार, नेपाल लज (पूर्व), कृषि ज्ञान केन्द्र (उत्तर), गौर घण्टाघर (पश्चिम) र श्री जुद्ध उच्च मावि (दक्षिण) ले घेरिएको क्षेत्रभित्र निषेधाज्ञा यथावत् जारी रहनेछ । सो क्षेत्रभित्र मिति २०८२/०५/२८ गते बेलुका ५:०० बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू हुने जनाइएको छ ।
जिल्लाका अन्य क्षेत्रहरूमा भने आजैदेखि निषेधाज्ञा र कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काद्वारा हस्ताक्षरित सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(ख) बमोजिम उक्त आदेश जारी गरिएको उल्लेख गरिएको छ ।
जनजीवन सामान्य बन्दै गएको अवस्थामा सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले यस्तो निर्णय लिएको हो । स्थानीय बासिन्दाहरूलाई निषेधाज्ञा लागू रहेको क्षेत्रको जानकारी लिएर मात्र आवतजावत गर्न तथा प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।