बज्जिकाञ्चल संवाददाता,जनकपुर,१७ गते मंसिर ।
२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत पाउने छाँट नदेखेपछि उनले मुख्यमन्त्री पदबाट प्रदेशसभाको बैठकमा नै राजीनामा गरेका छन् ।
यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
बर्दिबासको पानस कटेजमा झिसमिसेमै मुख्यमन्त्रीमा यादवलाई नियुक्त गरेपछि विवाद बढेको थियो । त्यही निहुँमा संघीय सरकारले मधेशका तत्कालीन प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरेर जनकपुरका सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुखमा नियुक्तिको सिफारिस गरेको थियो ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिने क्रममा विपक्षी सात दल भने प्रदेश सभाको बैठकमा सहभागी भएनन् । विपक्षी बेन्च पूरै खाली थियो । बैठकमा एमालेका सांसद मात्र उपस्थित छन् । राप्रपाबाट मन्त्री बनेकी कञ्चन बिच्छा र नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री बनेकी बिमला अन्सारी तुरुन्नम पनि बैठकमा उपस्थित थिइन् । कान्तिपुर

आरके श्रीवास्तव,राैतहट,मंसिर १६ गते ।
रौतहट — जेनी २.० का जिल्ला अध्यक्ष सोनु कुशवाहाको नेतृत्वमा परोहा नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयहरूको मंगलबार दोस्रो चरणको अनुगमन गरिएको छ । कुशवाहा नेतृत्वको टिमले विद्यालयमा देखिने कमजोर व्यवस्थापन, सरसफाइ र शैक्षिक वातावरण सुधारका लागि निरन्तर निगरानी जारी राखेको जनाएको छ ।

पहिलो अनुगमनमा विद्यालयमा फोहोर व्यवस्थापन कमजोर, शौचालय अस्वच्छ, कक्षा कोठा अव्यवस्थित जस्ता समस्या पाइएको थियो । दोस्रो अनुगमनमा केही सुधार देखिए पनि अझै समाधान खोज्नुपर्ने मुद्दाहरू रहेको अध्यक्ष कुशवाहाले बताए । उनका अनुसार, “शिक्षा सुधार निरन्तर प्रक्रियासँग जोडिएको छ। विद्यालय व्यवस्थापनमा देखिने लापरबाही असह्य हुन्छ । हामी विद्यालय सुधारका लागि गम्भीर रूपमा लागिरहेका छौँ।”

कुशवाहा नेतृत्वको टोलीले मावि तेजापाकड, अन्होतिलाल मावि,आवि भेडियाही,ओम मावि नरकटिया र प्रावि नमनगरामा स्थलगत निरीक्षण गरेको थियो । कतिपय विद्यालयमा शौचालय अभाव, व्यवस्थापन समिति गठन नभएको, प्रयोगशाला सरसफाइ कमजोर रहेको र विद्यार्थीका लागि सेनेटरी प्याडको अभाव रहेको टिमले देखेको छ ।

अनुगमनका क्रममा विद्यार्थीहरूले प्रतिनिधिमण्डलसँग खेलकुद सामग्री अभावका बारे चिंता व्यक्त गर्दै उपलब्ध गराईदिन आग्रह गरेका थिए । विद्यार्थीहरूको मागलाई प्राथमिकता दिंदै अध्यक्ष कुशवाहाले तत्कालै समस्या समाधानमा समन्वय गर्ने आश्वासन दिएका थिए ।

त्यसपछि अनुगमनमा सहभागी परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महफुज आलमले पनि खेलकुद सामग्री उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “विद्यालयको आवश्यकता पूरा गर्न नगरपालिका तयार छ । शिक्षा सुधार हाम्रो साझा दायित्व हो।”


कुशवाहा र उनकाे टिमले विद्यालय सुधारका लागि आवश्यक कदमहरू निरन्तर अघि बढाइने बताउँदै स्थानीय तह र विद्यालय व्यवस्थापनबीचको समन्वय अझै बलियो बनाउन आग्रह गरेका छन् ।

अनुगमनका क्रममा कुशवाहाका सहयोगी जितेन्द्रराज प्रजापति,पवन पटेल,सागर गुप्ता,सचिन्द्र यादव, जयचन्द्र कुशवहा लगायत जेनजी युवाहरूकाे सहभागीता रहेको थियो । साेही क्रममा स्वास्थ्य चाैकी तेजापाकडकाे पनि अवस्था बुझेका थिए । र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने आश्वासन दिएका थिए ।
काठमाडौँ,१६ गते मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा नगरपालिकाको जनचेतनामूलक डकुमेन्ट्री निर्माण गर्ने बहानामा नक्कली काम देखाई सरकारी रकम करिब १० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारमा उजुरी परेपछि गरिएको अनुसन्धानका क्रममा कटहरिया नगरपालिकाले वार्षिक स्वीकृत कार्यक्रम र बजेट बिना नै बदनियतपूर्ण ढङ्गले ‘सरिता फाउन्डेसन’ नामक संस्थालाई डकुमेन्ट्री बनाउन दिएको खुलेको जनाएको छ । सम्झौता विपरीत जनचेतनामूलक डकुमेन्ट्रीमा मेयरको गुणगान मात्रै गाएको भिडियो बनाएको, उक्त भिडियो कतै प्रसारण समेत नभएको र नक्कली कागजात खडा गरी ९ लाख ९८ हजार ९ सय २१ रुपैयाँ भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारको भनाइ छ ।
अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिएकाहरूमा तत्कालीन प्रशासकीय अधिकृत साह, लेखापाल विवेक कुमार सहनी, सहायकस्तरका कर्मचारीहरू राम नरेश प्रसाद यादव, उमेश कुमार दास तत्मा, खरिदारद्वय कौशल किशोर चौधरी र छोटेलाल मिश्र तथा सरिता फाउन्डेसनकी निर्देशक सरिता कुमारी साह रहेका छन् ।
उनीहरू सातै जनाविरुद्ध ९ लाख ९८ हजार ९ सय २१ रुपैयाँ बिगो कायम गर्दै बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सभार ः मधेश खबर
बज्जिकाञ्चल संवाददाता,राैतहट,मंसिर १४ गते ।
रौतहट । कटहरिया नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा माधवेन्द्र चौधरीले जिम्मेवारी सम्हालेका छन्। आइतबार मेयर अजय प्रकाश जैसवाल र लेखा अधिकृत कामेश्वर सहनीले चौधरीलाई स्वागत गर्दै औपचारिक रूपमा हाजिर गराएका हुन्।
नव नियुक्त अधिकृत चौधरीसँग नगरवासीले विशेष अपेक्षा राखेका छन्। लामो समयदेखि तलबविहीन अवस्थामा रहेका करार कर्मचारीहरूको समस्याको समाधान गर्ने र सर्वसाधारणलाई पारदर्शी, छिटो–छरितो सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।
यसअघि कटहरिया नगरपालिकामा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, उपसचिव गणेश नेपालीले सहज वातावरण नभएको कारण देखाउँदै करिब एक महिना अघि मन्त्रालय फिर्ता भएका थिए। त्यसपछिको रिक्ततामा अब चौधरीले नेतृत्व सम्हालेका हुन्।
नगरपालिका तथा स्थानीयबासीले नयाँ नेतृत्वले प्रशासनिक सक्रियता बढाई नगरको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा राखेका छन्।
बज्जिकाञ्चल संवाददाता,राैतहट,मंसिर १४ गते ।
मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव, सदस्य रिंकु मिश्रा (गायत्री) तथा साथ आएका पदाधिकारीहरूको टोलीले आज बजिकान्चल मिडिया प्रा.लि.द्वारा सञ्चालित www.ebajjikanchaldainik.com को कार्यालयमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा अनलाइन मिडिया सञ्चालनको वर्तमान अवस्था, सुधारका सम्भावना तथा नीतिगत आवश्यकता सम्बन्धी विषयमा विस्तृत छलफल भएको बताइएको छ । मिडिया काउन्सिलका प्रतिनिधिहरूले अनुगमनपछि अनलाइन मिडियाहरूको वर्गीकरण प्रक्रिया शीघ्र सुरु गरिने जानकारी दिँदै पारदर्शी तथा जिम्मेवारीपूर्ण पत्रकारितालाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बजिकान्चल मिडिया प्रा.लि.का सञ्चालक एवम् कार्यकारी सम्पादक राजु कुमार श्रीवास्तव(आरके श्रीवास्तव)ले अनुगमन टोलीप्रति आभार व्यक्त गर्दै व्यावसायिक, पारदर्शी र उत्तरदायी पत्रकारितामा निरन्तर प्रतिबद्ध रहने बताएका छन् ।
अनुगमन कार्यक्रममा बजिकान्चल मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक सरिता कुमारी श्रीवास्तव,सम्पादक रामआधार प्रसाद यादव,स्थानीय न्यूज मिडिया प्रा.लि.का सञ्चालक आरएन पटेल, कटहरिया वडा नं. ४ का वडा अध्यक्ष चन्दन कुशवाहा, कटहरिया बहुमुखी क्याम्पसका लेखाप्रमुख रामनिवास प्रसाद यादव तथा अर्जुन यादवको सक्रिय उपस्थितिलाई सराहना गरिएको थियो ।
अर्जुन कुमार यादव,मंसिर,१३ गते ।
रौतहट जिल्लाको इशनाथ नगरपालिका क्षेत्रमा पछिल्ला केही दिनयता तस्करी गतिविधि असाधारण रूपमा बढिरहेको छ। जयनगरदेखि रामपुर खाप, लतमरी हुँदै महुलिया नाका बोडरसम्मको क्षेत्रमा प्रत्येक रोहबरमार्फत निरन्तर रूपमा अवैध सामानको आवत–जावत भइरहेको स्थानीयवासीहरूले बताए । सो सीमावर्ती क्षेत्रको कमजोर निगरानी र रातिराति हुने गतिविधिले तस्करी झन् सहज भइरहेको भन्दै नागरिकहरू चिन्तित छन्।
स्थानीय स्रोतका अनुसार, भारतसँग जोडिएका यी नाकाहरूबाट दैनिक रूपमा विभिन्न प्रकारका उपभोग्य तथा प्रतिबन्धित वस्तुहरू अवैध रूपमा भित्रिने र बाहिरिने क्रम बढ्दो छ। सीमावर्ती बस्तीमा बसोबास गर्ने बासिन्दाले तस्करहरू समूहमा आयोजना गरेर नियमित रूपमा रोहबर प्रयोग गर्ने गरेको उल्लेख गरेका छन्। यसको असर बजार व्यवस्थापन, राजस्व सङ्कलन र स्थानीय सुरक्षामा प्रत्यक्ष रूपमा परेको जनाइएको छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले तस्करीले समग्र सामाजिक–आर्थिक संरचना प्रभावित बनाइरहेको भन्दै चाँडोभन्दा चाँडो कडा कदम चाल्न सरकारी निकायलाई आग्रह गरेका छन्। उनीहरूले सीमावर्ती नाकाहरूमा प्राविधिक निगरानी, नियमित गस्ती र स्पष्ट प्रशासनिक कडाइ लागू गरे मात्र समस्या नियन्त्रणमा आउन सक्ने धारणा व्यक्त गरेका छन्।
आरके श्रीवास्तव,राैतहट,मंसिर ११ गते ।
राजपुर — लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा राजपुर नगरपालिकामा आज विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिकाको आयोजनामा विभिन्न सरोकारवालाको सक्रिय सहभागितामा सचेतना कार्यक्रम, प्रतिबद्धता घोषणाहरू तथा किशोरी पदयात्रा गरिएकाे थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख डा. मो. राजिक आलमले आफ्नो कार्यकालमा आरडिसी,ईस्लामिक रिलिफ लगायतका संस्थाहरूको सहकार्यमा निरन्तर रुपमा महिला सशक्तिकरणका कार्यक्रम सञ्चालन हुँदै आएको बताए । उनले बालविवाह न्यूनीकरणदेखि लिएर महिला–किशोरी लक्षित सीप तथा तालिम कार्यक्रमहरू ६ वटा वडामा विस्तार गरिएको जानकारी दिए ।

डा. आलमले सामाजिक सञ्जालमार्फत पनि महिलामाथि हुने दुर्ववहार बढ्दो अवस्थामा रहेको भन्दै मोबाइल तथा इन्टरनेटको सुरक्षित प्रयोगबारे सचेत हुन आग्रह गरे । महिलामाथि कुनै पनि प्रकारको हिंसा भएमा वडा अध्यक्षमार्फत वा सिधै उपप्रमुख तथा न्यायिक समितिमा उजुरी दिन सकिने स्पष्ट गर्दै, नगरपालिकाले कठोर रूपमा कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले महिला भएकै कारण हुने भेदभाव समाजका लागि गम्भीर समस्या भएको बताउँदै “महिलामाथि कुनै पनि प्रकारको हिंसा सहिँदैन, सामूहिक रूपमा रोकथाममा उभिनु हाम्रो दायित्व हो” भने ।
त्यसैगरी राैतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रबिन कार्की, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारी लगायत सुरक्षाकर्मी, कर्मचारी तथा स्थानीय सरोकारवालाले अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले नगरपालिकाले लैङ्गिक हिंसा न्यूनीकरणलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
“किशोरी तथा युवतीहरूलाई आत्मविश्वासी, सक्षम र जागरूक बनाउनु हाम्रो पहिलो लक्ष्य हो । यसका लागि नगरपालिकाले सीप विकास, सूचना प्रविधि, आत्मरक्षा तथा जीवन कौशल तालिमहरू निरन्तर रूपमा विस्तार गर्दै आएको छ,” ठाकुरले भने ।
उनले लैङ्गिक हिंसा रोकथाममा सामुदायिक सहभागिता अत्यावश्यक रहेको भन्दै विद्यालय, अभिभावक, युवा समूह र स्थानीय निकायबीच समन्वय अझ मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रमअन्तर्गत आयोजित किशोरी पदयात्राले समाजमा महिला अधिकार र सुरक्षित वातावरण निर्माणकाे सन्देश प्रवाह गरेको आयोजकले बताएका छन् ।
अर्जुन कुमार यादव,रौतहट,मंसिर ०८ गते ।
भारतबाट भन्सार छली गुजरा नगरपालिकाको मैरा हुँदै चन्द्रपुरतर्फ ल्याइँदै गरिएको २२ बोरा रासायनिक मलसहित चार वटा मोटरसाइकल रौतहट प्रहरीले बरामद गरेको छ। अवैध रूपमा मल ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले विशेष निगरानी बढाइरहेको समयमा रंगपुर चौकीबाट खटिएको टोलीले सो सामान नियन्त्रणमा लिएको हो।

प्रहरी सहायक निरीक्षक जीवनराम धितालको कमाण्डमा गएको प्रहरी टोलीले ना.२४ प.६२३२, बिआर.300N,बिआर,33Y र बिआ.05 N 8983 नम्बर प्लेट भएका चार मोटरसाइकलसहित भारतीय रासायनिक मलका २२ बोरा बरामद गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। बरामद गरिएको मल नेपाल भित्र्याइने क्रममा सीमा क्षेत्र हुँदै गुजरा नगरपालिका पार गराई चन्द्रपुरतर्फ लैजाने तयारी भइरहेको प्रहरीको भनाइ छ।

उता, प्रहरीले रोकेर जाँच गर्न खोज्नेबित्तिकै मोटरसाइकलका चालकहरू फरार भएका छन्। उनीहरूलाई खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अवैध मल तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाइ गरिएको प्रहरीले बताएको छ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,मंसिर ०८ गते ।
राैतहटको फतुवा बिजयपुर नगरपालिकामा कार्यवाहक मेयर अम्बेया खातुनविरुद्ध वडाअध्यक्षहरूले सोमबार संयुक्तरूपमा व्यापक विरोध प्रदर्शन गरेका छन् । उनीहरूले बिजयपुर बजार परिक्रमा गर्दै नाराबाजीसहित र्याली निकालेका थिए । प्रदर्शनका क्रममा ‘कार्यवाहक मेयरको एकल निर्णय बन्द गर’, ‘नगरलाई बन्धक बनाउन पाइदैन ’, ‘करार कर्मचारी व्यवस्थापन गर’ जस्ता नारासहित कोणसभामा परिणत भएको थियो ।

कोणसभामा वडाअध्यक्षहरूले कार्यवाहक मेयर खातुन र उनका श्रीमान् माेहमद सेराजका कारण नगरपालिकामा प्रशासनिक काम ठप्प भएको आरोप लगाए ।
वडा नं २ का अध्यक्ष अनिरुद्ध प्रसाद यादव (सञ्जय) ले सबै वडाको कार्यालयमा तालाबन्दी हुनुपरेको र सेवाग्राही मारमा परेको बताए । उनका अनुसार पहिले नै कालोपत्रे भइसकेको सडकमा फेरि बजेट देखाएर माटो पुर्याई ग्राभेल गरिएको देखाइ नक्कली बिल तयार गरी भुक्तानीको दबाब दिइएको थियो । प्रमुख प्रशासकीय अधिकृत भरत यादवले अस्वीकार गरेपछि उनीहरूलाई सरुवा गरी नयाँ सीएओ मदन थापालाई ल्याइएपछि विवाद थप चर्किएको दाबी गरियो ।

वडा नं १ का अध्यक्ष विजय यादव ले कार्यवाहक मेयरले कार्यपालिकाको बैठक कहिल्यै नबोलाउने, बारम्बार आग्रह गर्दा पनि निर्णय प्रक्रियालाई पन्छाउने गरेको आरोप लगाए । निर्णयबिनै विभिन्न योजना अघि बढाइएको दाबीसमेत गरिएको छ ।
त्यस्तै, वडा नं ६ का अध्यक्ष रामएकवाल यादव ले कार्यवाहक मेयर कार्यालयमा उपस्थित नहुने र सेवाग्राहीलाई कार्यालयकाे साटो आफ्नै निवासमा बोलाउने गरेको बताएका छन् ।
वडा नं १० का अध्यक्ष मञ्जय कुमार चौधरी ले नगरपालिकामा कार्यरत ८७ करार कर्मचारीको तलब कार्यपालिका निर्णयअनुसार दिनुपर्ने भए पनि सेराजको दबाबमा तलब रोकेर कर्मचारीलाई आन्दोलनतर्फ धकेलिएको बताए । तलब रोकिँदा कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गरेपछि सेवाप्रवाह पूर्ण रूपमा प्रभावित भएको उल्लेख गरियो ।
वडा नं ११ का अध्यक्ष ज्ञानेन्द्र चौधरी ले विद्युत् खर्च भुक्तानी गर्न नगर परिषद्ले निर्णय गरिसक्दा पनि सेराजको हस्तक्षेपका कारण प्रक्रिया अवरुद्ध भएको बताए।
विरोध प्रदर्शनमा सयौँ स्थानीयहरूको उपस्थिति रहेको प्रत्यक्षदर्शीले बताएका छन् । वडाअध्यक्षहरूले नगरपालिकामा “करोडौँको अनियमितता भएको” दाबी गर्दै कार्यवाहक मेयर अम्बेया खातुनको राजीनामा माग गरेका छन् ।